वर्षको अन्तिम दिनलाई स्मरणीय बनाउनका लागि हामी सपरिवार आमा याङ्ग्रीतिर घुम्न जाने योजना बनाएका थियौं। तर पानी परिरहेकाले त्यतातिर नजाउँ होला भन्दै बाबाले अलिक सजिलो हुने भनी दोलखाको शैलुङतिर जाउँ भन्नुभयो। बाबाले सेतोपाटीको लेख पढेर त्यस्तो भन्नुभएको रहेछ।
शैलुङ दोलखा र रामेछाप जिल्लामा पर्ने सुन्दर प्राकृतिक स्थल हो। घाँसे पहाडका थुम्काहरू भएकाले शैलुङ भनिने रहेछ।
हामी मात्रै जाने भने पनि योजना बनाउँदै जाँदा हजुरआमा, हजुरबुवा, सानिमा लगायत १४ जनाको टोली पो बन्यो। पुरूषोत्तम काकाले इभी गाडी रिजर्भ गर्नुभयो। पहिलो पटक इभीमा चढ्न पाइने भयो भनेर हामीमध्ये कति जना उत्साहित भयौं।
गाडी बिहान सबेरै आयो र हामी ६ बजेतिरै भक्तपुरबाट बाटो लाग्यौं। आफ्नै रिजर्भ गाडी भएकाले हजुरआमाले चिउरा, मकै, फलफुलहरू पनि बोक्नुभएको रहेछ। शैलुङतिर चिसो हुन्छ भनेर न्याना लुगा पनि लगायौं। धुलिखेलसम्म बाटो बनाउँदै गरेकाले असजिलो रहेछ। त्यहाँबाट अगाडि खावा भन्ने ठाउँमा त झनै नराम्रो। तर पाँचखाल नजिकैबाट बाटो सजिलै थियो। म चाहिँ अन्तिमको सिटमा झ्यालतिर बसेँ। अरूहरूले बेला बेला सिट साट्नु पनि भयो।

सुनकोशी किनारको सुकुटे भन्ने ठाउँमा गाडी चार्ज गर्न रोकियो। त्यहीँ हामी सबैले चिया र खाजा खायौं। 'खाना चाहिँ खाडी चौरमा माछासँग खानु पर्छ' भनेर सानुबाबाले भन्नुभएको थियो। तर खाडी चौरमा गाडी रोक्न अलिक साँघुरो भएको र खाना खाने समय जोगाउने भन्दै गाडी सुनकोशीको पुल तरेर अगाडि बढ्यो। सबै जना रमाइला गफ गर्दै थियौं। फुपू दिदीकी ८ महिनाकी छोरी पनि सँगै लगेको हुनाले उसलाई खेलाउन मज्जा भयो। इभी गाडीमा धेरै आवाज नआउँदो रैछ, झनै रमाइलो।
दोलखातिर लागेपछि बाटो उकालो लाग्दो रैछ। जंगलमा सल्ला अनि लालीगुराँसका बोटहरू देखिए। बिस्तारै चिसो बढ्न थाल्यो अनि बाटोका छेउतिर राता, सेता रङका गुराँसहरू, ऐंसेलु पनि देखिन थाले। हामी लोभियौं तर खानका लागि गाडी रोकिएन।
गाडी मुडे बजारभन्दा पनि अलिक अगाडि लगेर एउटा होटलमा रोकियो। त्यहाँ चाहिँ यात्रुहरूले खाना खान्छन् भनेर चार्ज गर्न नि:शुल्क दिने नियम रहेछ। सानु बाबाको रहर अनुसार नै माछा र भात मगायौं तर माछाको स्वाद चाहिँ सोचेजस्तो थिएन। त्यही पनि जबरजस्ती नै खाइयो।
बाटोले गर्दा मुडे पुग्न नै १२ बजिसकेको थियो। कतिबेला पुग्ने, कतिबेला घुम्ने कतिबेला फर्किने भन्ने तनावमा हुनुहुन्थ्यो कोहीकोही। तर म, बहिनी र अरू कोहीकोही चाहिँ जे भए पनि घुमेर आउने त हो नि भन्दै थियौं।
त्यसपछि मुडेबाट चरिकोटतिर जाने बाटो छाडेर दाहिनेतिर ओरालोतिर राम्रो पिच सडकतिर हाम्रो इभी गाडी मोडियो। राम्रो बाटोमा स्पिड गर्दा त इभी गाडीमा उडेजस्तै आवाज आउँदो रैछ, कस्तो रमाइलो!
एकछिनको पिचपछि बाटो फेरि कच्ची जस्तै भयो, तर राम्रै थियो।
सानो बाटो, ठाउँठाउँमा गाउँहरू, खेती गरेको, आलु बारीहरू, गुराँसहरू, घरिघरि कुहिरो लाग्दै सिमसिम पानी पर्दै अघि बढ्दै जाँदा मेरा आँखा भने बढिजसो समय बाहिरको दृश्य हेर्नै लोभिए।
बहिनीले पनि झ्यालतिर बस्न गनगन गरिरहेकी थिई। ऊ घरिघरि काकासँग चल्ने, घरि सानी बहिनीसँग खेल्ने गर्दै थिई। गाडीमा धेरै झ्याल भएकाले बीचमै बस्दा पनि बाहिर देखिने थियो।
शैलुङ पुग्नको लागि गाडी रोकिने अन्तिम ठाउँ कालापानी भन्ने गाउँ रहेछ। शैलुङको गेटभन्दा तल पार्किङ गर्ने ठाउँ अनि त्रिपाल टाँगेर बनाइएका पसलहरू थिए। भिडभाड हुने बेलामा मात्र ती पसल त्यहाँ हुने होला। पानी मज्जाले परिरहेको थियो। हामी सबैले छाता बोकेका थिएनौं, रेनकोट पनि सबैलाई पुग्ने थिएन। एकछिन त तिनै टहरातिर यताउता ओत लाग्यौं। बिस्तारै पानी अलिक सानो भएजस्तै भयो, अनि जे पर्ला-पर्ला भनेर हिँड्न लाग्यौं।
भिड निकै नै थियो। गाउँ-गाउँका मान्छेहरू, बुढाबुढीहरू पनि लठ्ठी टेक्दै माथि जाँदै तल आउँदै गरेका देखिन्थे। कति मान्छेहरू पसलमा खानेकुरा खाँदै, आगो ताप्दै, गफ गर्दै थिए।

शैलुङको गेटपछि २ पट्टि पर्खाल लगाएर बनाएको सिँढीको बाटो। त्यसैलाई मिनी ग्रेट वाल भनेको रहेछ। त्यो बाटो फराकिलो थियो। थोरै समय हिँडेपछि हजुरबुवाले गाह्रो मान्नुभयो। फुपू दिदीले पनि सानी छोरी लिएर माथि जान गाह्रै मान्नुभयो। अनि हजुरबुवा र हजुरआमा, फुपु दिदी र सानी बहिनीलाइ छाडेर हामी सिँढीको बाटो उकालो लाग्यौं।
सुरूमा सजिलो सिँढी पछि त ठाडै भयो। स्वाँ स्वाँ गर्दै माथि चढेपछि तेर्सो भयो, अनि मिनी ग्रेटवाल सक्किइ त हाल्यो। त्यसपछि ढुङ्गाले बनाएको सिँढीको बाटो, अनि धेरैजसो ठाउँ चाहिँ बिना सिँढीको बाटो रहेछ। वरिपरि जंगल, सेता राता गुराँसहरू अनि बाटोको छेउमा कतै कतै त्रिपालले बनाएको पसल र पसलमा झुरूप्प बसेका मान्छेहरू। कोही कोही मान्छेले गुराँसको फूल बोकेका थिए।
नयाँ सिँढी सकिएपछि एकैछिनको हिँडाइपछि शैलुङ देखिन थाल्यो। हरिया र सुकेका घाँसैघाँसका डल्लाजस्तै डाँडाहरू। डाँडाको एकछेउतिर गुराँसको जंगल, अर्को छेउतिर फेरि घाँसकै मैदान। बाटो हल्का उकालो हुनाले सबैलाई अलिअलि गाह्रो भएको थियो होला। तर मेरी बहिनी संज्ञा चाहिँ एकदमै फुर्तिली, उफ्री उफ्री हिँड्दै थिई। कहिले को अघि, कहिले को गर्दै हिँड्दै थियौं। सानीमाको छोरा प्रबल भाइको पहिलो लामो हिँडाइ भएकाले उसलाई गाह्रो होला कि भनेर एकछिन हामीले सँगै हिँडायौं। ऊ पनि दङ्ग थियो।
हामीले एउटा डाँडाको टुप्पामा रहेको महादेवको मन्दिर देब्रेपट्टि छाडेर अघि बढ्यौं। उकालो टन्नै बाँकी रहेछ। अलिक अघि गएपछि निकै टाढा डाँडाको टुप्पामा सेतो गुम्बा अनि भ्यू टावर देखियो।
ओहो, कति बेला पुगिएला जस्तो भयो।
निकै बेर हिँडेपछि भिमसेनको तरबार भनेर ढुंगाले बारेर बनाइएको पवित्र स्थल भेटियो। त्यहाँ तरबार त थिएन, तर पूजा गरिएको, अनि ढुंगामाथि ढुंगाहरू राखिएको थियो। घाँसे डाँडै डाँडामा हामी अघि बढिरह्यौं। दायाँ, बायाँ, अगाडि पछाडि चारैतिर शैलुङका थुम्काहरू। हामी रमाउँदै, फोटो खिच्दै उकालो हिँडिरह्यौं।
फेरि शैलुङको अर्को डाँडा चढियो। पर पर गाउँहरू, सडकहरू अनि जंगल। अनि बेलाबेलामा कागहरू काँ काँ गर्दै यता उता उडिरहेको। कस्तो रमाइलो!
ठाउँ ठाउँमा त्रिपालका पसलहरू भेटिन्छन्, छेउमा आगो बालेको छ, मान्छेहरू आउँदै छन्, जाँदै छन्। कसैलाई अप्ठ्यारो छ, कसैलाई रमाइलो।
अझ माथि पुगेपछि 'पृथ्वीको नाइटो' भन्ने बोर्ड देखियो। त्यहाँ पनि ढुंगाका पर्खालले घेरिएको। अनि 'बुद्धको पाइला' लेखिएको ठाउँ पनि थियो। त्यहाँबाट भने टुप्पाको गुम्बा नजिकै थियो, पाँच मिनेट जतिको उकालोमा पुगिने। त्यो नै शैलुङको सबभन्दा अग्लो डाँडा थियो क्यारे। चिसो हावा सिर्रर चलिरहेको थियो, सिमसिम पानी र पातलो असिना पानी पर्न थाल्यो। हामी हिउँ पर्यो भनेर रमायौं। हल्का रूझ्दै भिज्दै, स्वाँ स्वाँ गर्दै हामी माथि पुग्यौं।
फराकिलो ठाउँ, ढुंगाले बनेका पुराना स्तुपहरू अनि एउटा नयाँ सेतो सफा गुम्बा। अनि शैलुङेश्वर महादेवको मन्दिर। अनि एउटा तीन चार तल्ला ठूलो भ्यू टावर। भ्यू टावरको फलामे सिँढीमा रङ लगाउँदै थिए काम गर्ने मान्छेहरू। गड्याङगुडुङ भएर बिजुली चम्किरहेको थियो घरिघरि।
-copy-1746865072.jpg)
भ्यूटावर माथि चढ्यौं। आहा! कस्तो रमाइलो। चारैतिर शैलुङका थुम्काहरू। अनि परपर गाउँहरू, दोलखा र रामेछाप दुवै जिल्लाका गाउँहरू रहेछन्। अनि अरू थुम्काहरूमा पनि पुराना पुराना ढुंगाका स्तुपहरू, त्रिशूलहरू ठड्याइएको, अनि ठूलो ढुंगामाथि सानो ढुंगा अनि त्यसमाथि अझ सानो ढुंगा राखेर बनाइएको, त्यो धार्मिक आस्था हो क्यारे। यो ठाउँ हिन्दु र बौद्ध दुवै धर्म मान्ने मान्छेहरूका लागि पवित्र स्थल रहेछ। मलाई फरक आस्थाका मान्छेहरू एकै ठाउँ मिलेको देख्दा सारै खुसी लाग्छ।
सिमसिम पानी परिरहेकोले धेरै बेर खुलामा बस्न पनि सकिएन। तै पनि, फोटो भिडिओ खिच्ने र सकेसम्म रमाउने त गर्नै पर्यो। आखिर ७ घण्टा गाडीमा बसेर पुगेको ठाउँ। हामीले माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई भन्ने गीत गाएर नाच्यौं, एकदमै रमाइलो भयो। वरिपरि अरू सबै मान्छेहरू रमाइलो मान्दै थिए, सबैजना खुसी देखिन्थे।
हामी माथि लगभग १ घण्टाजति त घुम्यौं होला। त्यसैबेला सानीमाले आफूलाई चट्याङ परेजस्तो लागेको भन्नुभयो। अरू एक दुई जनाले पनि त्यस्तै भनेको सुन्दा मलाई त डर लाग्यो। अनि कति मान्छेको कपाल ठाडै भएको देखेँ, चिसो हावाले हो कि के ले हो एउटा दुइटा रौं ठाडो भएको। मेरो पनि त्यस्तै भएको रैछ। छक्क परेँ म त।
अनि तल झर्न थाल्यौं। झर्दै गर्दा बहिनी एकचोटि मज्जाले चिप्ली, हल्का रोई पनि। तर चाँडै हाँसिहाली।
तल झर्न खासै समय नलाग्ने रैछ। रमाउँदै फोटो खिच्दै झर्दा पनि १ घण्टा पनि लागेन होला। पाँच बज्न लागेको थियो होला तल आइपुग्दा। तल झर्दै गर्दा एक ठाउँमा एक जना मान्छे गुराँसको फूल टिप्न रूखमा चढेको देख्दा मलाई एकदम नराम्रो लाग्यो। आखिर उनले फूल टिपेपछि उनीभन्दा पछाडि आउने मान्छेले फूल देख्न पाउँछ त?
त्यतिबेला पनि धेरै मान्छे माथितिर जाँदै नै थिए। नयाँ वर्षको दिन जात्रा पूजाहरू हुन्छ रे। त्यसैले त्यो दिन त बास पाउन पनि मुश्किल हुन्छ रे।
जे होस्, ३ घण्टा जति त एकदमै रमाइलो भयो। कता कता टाढा पुगेजस्तै भयो।
५ बजेतिर हामी फर्किन लाग्यौं। गाडीमा चढ्नेबित्तिकै थकान लाग्न थाल्यो र कोही कोही त निदाउनु भयो होला। म चाहिँ गफ गर्दै यता उता हेरिरहेँ। फर्किंदा बहिनीले झ्यालतिरको सिट कब्जा गर्न पाई, ऊ मख्ख परी।

फर्किंदा त सुकुटेतिर झलमल्ल थियो। कोशीभन्दा पारी होटलले बनाएका साना साना झुप्राहरू, टेन्टहरू, रूखहरूमा डोरीको बत्ती बाँधेर बालेको र त्यही उज्यालोले कोशीको पानी मज्जाले टल्किरहेको। न्यू इयर इभले गर्दा सबै होटलहरू तिहारजस्तै झलमल्ल थिए। भीडभाड पनि थियो क्यारे। सडकमा, रूखमा उस्तै बत्तीको झिलिमिली। मैले केही समय अगाडि लाइट प्रदूषण बारेमा प्रोजेक्ट गरेको हुनाले मलाई त्यो सम्झना पनि आयो। यस्तो कृत्रिम उज्यालोले आकाशका प्राकृतिक ताराहरूको चमक कम हुन्छ।
फर्किंदा पनि बिहान चार्ज गरेकै ठाउँमा गाडी रोकियो। त्यहाँ हामीले फेरि चिया, कफी, खाजा आदि खायौं।
दोलालघाटको इन्द्रावती नदीको पुलमा पनि डोरीको बत्ती लगाएको रैछ, पुलभरि नै झलमल्ल थियो।
अँध्यारो भैसकेकोले अरू धेरै ठाउँ चाहिँ मैले थाहा पाउन सकिनँ। तर खै कता आइपुगेपछि भने हाम्रो गाडी टिपरको लस्करसँगै गुड्न थाल्यो। ए बाबा! कत्ति हो टिपर। काका र सानु बाबाहरू 'रेल बनाए हुने, रोपवे भए नि हुने' यस्तै केके कुराहरू गर्दै हुनुहुन्थ्यो। उहाँहरूको कुरा एकदम मिलिरहेको थियो, तर मेरो ध्यान भने टिपरको लाइन र बत्ती र हर्नतिर बढी थियो।
बाटो गड्याङ गुडुङ हुन थालेपछि खावा आइपुगिएछ भन्ने थाहा भयो। दिउँसो पानी परेपछि हिलो भएको बाटोमा टिपरहरू त हामीलाई दायाँ, बायाँ बनाउँदै जताबाट पनि गुड्दा रहेछन्। कस्तो डरलाग्दो।
अचानक हिलो बाटोको बीचमा हाम्रो गाडीको टायर पञ्चर भएछ। १० बजिसकेको थियो। अब हाम्रो बिजोक सुरू भयो। दायाँ बायाँ भिरालोजस्तै बाटो, हाम्रो गाडी बीचमा, दायाँ बायाँका गाडीहरू हिलोमा चिप्लेर, ढल्केर हाम्रो गाडीलाई छुन लाग्छन्। त्यसमाथि टिपरहरूको घ्वाँ घ्वाँ र हर्नको आवाज झनै डरलाग्दो। हामी त आत्तिएर झर्यौं। अनि हिलै हिलो बाटो हिँडेर अलिक परको फराकिलो ठाउँमा बस्यौं।
पछि बाबाहरूले कसैगरी गाडीलाई ठेलठाल पारेर हामी भएकै ठाउँमा ल्याउनु भयो। अनि अर्को गाडीसँग सहयोग मागेर हाम्रो गाडीको टायर पनि फेरियो। त्यति बेला त ११ बजिसकेको थियो। दिक्क त लागेको थियो तर पनि हामी सबै रमाइलो पनि मानिरहेका थियौं। किनभने जे हुनु भइसकेपछि पीर गरेर के पो हुन्छ त!
हामी सूर्यविनायकतिर आइपुग्दा १२ बज्न लागेको थियो। गाडीभित्रै हामीले जोडजोडले कराएर सबैले ह्याप्पी न्यू इयर भन्यौं।
घर आइपुग्दा साढे १२ बजेको थियो होला।
यसरी हाम्रो अघिल्लो वर्षको अन्तिम दिन एकदमै अविस्मरणीय भएर बित्यो।




-copy-1746865072.jpg)





