अछाम जिल्लाको पूर्वीत्तरमा अवस्थित रामारोशन पर्यटकीय क्षेत्रको प्राकृतिक सौन्दर्यताले खुबै मोहित बनाउँछ।
यस क्षेत्रमा प्रकृतिको अनुपम उपहारका रूपमा रहेका मनोमहक बाह्र वटा तालहरू र अठार वटा चउरहरू स्पर्स गर्न र सुन्दर दृष्यको एकैपटक अवलोकन गर्न सकिन्छ। यहाँ पुग्ने जो कोहीलाई यति सहजै रूपमा पुग्न सकिने यस्तो रमणीय पर्यटकीय स्थलमा अहिलेसम्म किन आइनछु भनेर महसुस गराउने ठाउँ हो रामारोशन।
यात्रा र रमाइलो
रामारोशन क्षेत्रको अवलोकन तथा भ्रमण गरेर २०८२ सालको नयाँ वर्ष मनाउने मौका मिल्यो। अछाम जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार, कर्मचारीद्वय उमेशसिंह विष्ट र खम्म बहादुर बोगटी, बिक्रम भूलसहित पाँच जनाको टोली नयाँ वर्षको अघिल्लो साँझ झण्डै पाँच बज्नै लाग्दा मंगलसेन बजारबाट गाडीमा यात्रा तय गरियो।
मंगलसेन बजारबाट ओली गाउँ, जुपु, काला गाउँ र गजड बजार पार गरेर कैलास खोलाको किनारै किनार रामारोशन गाउँपालिका केन्द्र मुजाबगर र अलिक अगाडि बढेर सैनीबजार पुगेपछि कैलास खोला छोडेर उकालो बाटोतिर मोडियौं। केही माथि पुगेपछि नेटाकोटको सानो बस्तीमा पुगियो। त्यहाँबाट उत्तरतिर देखिने भाटाकाटिया गाउँ र दक्षिणतर्फ देखिने बाटुलासेन गाउँको सुन्दर दृष्यले मनै लोभ्यायो।
गाउँका रमाइला दृष्यहरूसँग भलाकुसारी गर्दै जाँदा साँझ आठ बजे रामारोशन पर्यटकीय क्षेत्रमा पुगियो। त्यस दिनको हाम्रो बास सीता होटलमा तय भएको थियो। अलिक चिसो हुने भएकोले होटलमा दाउराको आगो बाल्ने ठाउँ र त्यसको वरिपरि नहल्लिने गरी डेक्स बेन्च राखेर खाना खाने र आगो ताप्ने व्यवस्था गरिएको रहेछ। हामी जाँदा एउटा टोली नवराज पराजुलीका मुक्तकहरू सुन्दै आगोको तापसँगै माछा र पेयपदार्थको चुस्की लिइरहेको थियो। हामी पुगेको केहीबेरमा नै खाना खाइहाल्ने भन्ने कुरा भयो। स्थानीय रातो चामलको भात, अल्लोको दाल, पदम चालको अचार, चिसो पानीका माछाको स्वाद मुखैमा झुण्डिने रहेछ। यस ठाउँबाट किनिमिनी चउर र दलेना ताल तर्फबाट जाने एउटा बाटो र बाटुल्ला ताल हुँदै जाने अर्को बाटो रहेछ। भोलिपल्ट बिहान सबेरै हामी बाटुल्ला ताल तर्फबाट जानेतिर लाग्यौं। गाडी बाटो अलिक माथिसम्म मात्र रहेछ। त्यहाँ पनि केही पसलहरू रहेछन्। त्यहीँ भेटिए स्थानीय राजनीतिक दलका एक जना नेता र साँफेबगरबाट गएका स्थानीय साथीहरू।आडैको एउटा पसलमा चिया अडर गरियो। चिसो ठाउँमा हरहरी बाफ आउँदै गरेको चिया देख्दै पिइहालौं जस्तो भइहाल्यो। एक सुरूप्प चिया लिँदै स्वाद र बास्ना छुट्टै लाग्यो। यस्तो मीठो बास्ना आउने चियामा के राख्नु भयो भनेर चिया पसलमा सोध्दा पो भन्नुभयो गदाल्नु राखेको हो सर। यसको बास्ना निकै सुगन्धित हुँदोरहेछ। यो हिमाली जडिबुटी भएकोले स्वास्थ्यकर नहुने कुरै भएन। त्यहाँबाट झण्डै एक घण्टा हिँडेपछि पुगिन्छ बाटुल्ली ताल जुन रामारोशनको माथिल्लो तालखण्ड प्रवेशद्वारको रूपमा रहेको छ।
जिंगले तालमा डुंगा।कस्तो छ रामारोशन, के छ महत्व
रामारोशन पर्यटकीय क्षेत्र धार्मिक र प्राकृतिक दुवै दृष्टिले भरिपूर्ण छ। यो क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिकाको माथिल्लो भागमा समुद्री सतहबाट २५४६ मिटरको उचाइमा रहेको छ। यो क्षेत्र अछाम हुँदै बुढीगंगामा मिसिने कैलाश खोलाको मुहानको रूपमा रहेको छ। पूर्वमा कालिकोट, पश्चिममा अछाम जिल्लाको साविकको भाटाकाटिया गाविस, उत्तरमा अछाम जिल्लाको सबभन्दा अग्लो चुचुरो चाका डाँडा र दक्षिणमा रामारोशन गाउँपालिकाको अल्लेडी भन्ने क्षेत्र रहेका छन्।
यहाँ साना ठूला गरी १२ वटा तालहरू (बाह्र वण्ड) र १८ वटा रमणीय मैदानहरू (अठार खण्ड) रहेका छन्। यसलाई स्थानीय भाषामा बाह्र वण्ड अठार खण्ड पनि भन्ने चलन छ। बाह्रवटा तालहरूमा सबभन्दा ठूलो ताल जिंगले ताल हो। यसको लम्बाई झण्डै दुई किलोमिटर रहेको छ भने चौडाइ सय मिटरको हाराहारीमा छ र गहिराइ पैंतालिस मिटर रहेको छ। यो ताल कुना-कुना आकारमा रहेको छ। यो तालको नाम कसरी रहन गयो भन्नेमा दुई थरी बुझाइ छन्। कसैले यो जिँगलो अर्थात् सुरूवाल जस्तै आकारको भएकोले जिंगले भनिएको हो भन्ने गर्छन्।
कसैले कुना-कुना चोसाचोसीमा फैलिएको हुनाले जिंगले भनिएको हो भन्ने गर्छन्। वरिपरि हरियारली जंगलको बीचमा रहेको यस तालको बायाँतर्फ पैदल मार्ग बनाइएको छ। विभिन्न आकारका ढुङ्गै ढुङ्गाले घेरिएको तालको फेरो हेर्दा प्रकृति आफैले तालको घेराबार गरेको आभाष हुन्छ। विभिन्न प्रजातिका वनस्पति र चैत महिनामा फुलेका गुराँसको छाया तालको पानीमुनि देखिँदा मन रोमाञ्चित बनाउँछ।
जलहाँस र पानी भ्याकुरको क्रीडास्थल पनि हो यो ताल। डुब्दै निस्किँदै गर्दै कहिले पौडिने र कहिले पानी नजिकै माथिबाट उडेका जलहाँसले बेग्लै आनन्द दिलाउँछन्। अनि सानो टाउको टुप्लुक-टुप्लुक देखाउँदै पौडिरहेका पानी भ्याकुरले थप उत्सुकता जगाउँछ। किनकि प्राय: अन्य तालहरूमा भ्याकुर पौडिरहेको बिरलै देख्न सकिन्छ। यस तालमा विभिन्न प्रजातिका माछा पनि खेलेको देख्न सकिन्छ। माछाको लागि कुनै तयारी चारो लिएर जानुपर्दैन यहाँ, ढुङ्गमा र पानीभित्रका विभिन्न झारमा लागेको लेउ नै माछाको आहारा पर्याप्त छ। तालका यी दृष्यहरू बाहिरबाट मात्र हैन डुङ्गा सयर गर्दै नियाल्न सकिन्छ।
तालको अवलोकन गर्दै अगाडि बढ्दै जाँदा तालको अन्तिम विन्दुमा पुग्दा एउटा सानोसानो खोला बग्दै आएको देखिन्छ तर त्यो खोला तालमा मिसिएको देखिँदैन। बग्दाबग्दै त्यही अलप भएको जस्तो लाग्छ। सायद भित्रभित्रै तालमा मिसिन्छ होला!
जिंगले ताल पुग्नुभन्दा अलिक अगाडि बाटुल्ला ताल छ। जिंगले तालको तुलनामा अलिक मधुर देखिएता पनि प्राकृतिक सौन्दर्यको दृष्टिले यो ताल पनि खुबै मनमोहक छ। अलिक लेउले ढाकिएको र वरिपरि विभन्न आकारका ढुङ्गाले आफैं घेरिएको छ। तालको बायाँतर्फ जिंगलेमा जस्तै पैदल मार्ग बनाइएको छ। यस तालको छेउमा माई देवीको मन्दिर पनि रहेको छ। यस मन्दिरमा पूजा गर्न र बाटुल्ला तालमा पितृकर्म गर्ने भक्तालुहरू आउने गर्छन्। यहाँ आएर अस्तु सेलाउँदा र पितृकर्म गर्दा मोक्ष प्राप्त हुन्छ भन्ने जनविश्वास छ। विशेष गरेर माघीको अवसरमा यहाँ छिमेकी देश भारतबाट पनि तिर्थालुहरू आउने गरेको स्थानीयहरू बताउँछन्। जिंगले ताल पार गरेर एक किलोमिटर जति जंगलको बाटो हिँडेपछि ठूलो चउर आउँछ। यसको नाम रोशन चउर हो। यसको केही तल किनीमिनी चउर छ। चउरहरूमध्येमा किनीमिनी चउर सबभन्दा ठूलो चउर हो। जसको बीच भएर कैलाश खोला बग्दछ। रामारोशन क्षेत्रका सबै ताल र चउरका खास आकर्षण, विशेषता र मान्यताहरू छन्। सबै तालतलैया र चउरको वर्णन गर्दा निकै लामो दृष्टान्त बन्छ। यस क्षेत्रको भ्रमण र अवलोकन गरेर अनुभव लिँदा यहाँको प्रकृतिक छटा मानसपटलमा झल्झली आइरहने बिम्बको रूपमा रहन्छ।
जिंगले तालमा रमाउँदै मेघराज शंकर, नरेन्द्र परियार, खम्म बहादुर बोगटी र उमेश सिं विष्ट। फोटो: बिक्रम भुलपौराणिक कथा र किंवदन्ती
रामारोशन क्षेत्रको महत्व तथा पहिचान थाहा भएको र प्रचारप्रसार भएको त्यति लामो समय नभएकोले यससँग सम्बन्धित खोज अनुसन्धानमा आधारित बृहत् सामग्री प्रकाशन भएका विरलै छन्। यद्यपि प्रकाशन भएका केही संक्षिप्त सामग्रीमा रामारोशन नाम कसरी रहन गयो भन्नेबारे मौलिक पौराणिक कथा र किंवदन्ती रहेको पाइन्छ।
यो क्षेत्र परापूर्वक कालमा महादेव र पार्वतीको वासस्थानका रूपमा रहेको थियो।
प्राचीन समयमा यस क्षेत्रमा रमा र रोशन नाम भएका आमा र छोरा बस्थे। उनीहरू यही बसेर गाई, बाख्रा पाल्ने गर्थे। एक दिन रमा र रोशन दुवै गोरू गोठबाट बेलुका अँध्यारो भइसकेको बेला घर फर्किरहेका थिए। बाटोमा आउँदै गर्दा एउटा ठूलो राक्षस कराइरहेको थियो। त्यो राक्षस अति नै भयानक र हिंस्रक थियो र भेट्यो भने मान्छे मारेर खान्थ्यो। त्यसले मानिसहरूलाई सधैंजसो दुःख दिइरहन्थ्यो। रमा र रोशन उक्त राक्षसको आवाज सुनी डरले काप्न थाले र छिटोछिटो उनीहरू शिव र पार्वती बस्ने ठाउँ गए र राक्षस पछाडि उनीहरूलाई पछ्याउँदै थियो।
उनीहरूले शिव पार्वतीलाई धेरै पुकार गरे र जसबाट प्रसन्न भै महादेव प्रकट हुनु भयो र किन मलाई पुकारेको मनुष्य भनेर रमा र रोशनलाई सोध्नु भयो। महादेवलाई देखेर रमा र रोशन खुसी भए र हाम्रो ज्यान खतरामा छ, एउटा राक्षसले हामीलाई पछ्याउँदै छ। हजुरले हामीलाई बचाइदिनु पर्यो भनेर बिन्ती गरे। सो बिन्ती सुनी महादेव प्रसन्न भै सो राक्षसलाई समाती ठूलो फलामको डोरीले ठूलो चउरमा बाँधिदिनुभयो र त्यस चौरमा पानी भरिदिनु भयो। जसले गर्दा त्यो राक्षस हलचल गर्न पाएन र रमा र रोशनले सदाका लागि सो राक्षसबाट मुक्ति पाए र कालान्तरमा सो ठाउँ रामारोशन भनेर चिनिन थाल्यो। उसो त राजा वीरेन्द्रले पनि यस ठाउँको भ्रमण गरेका थिए र उनले यस ठाउँलाई शान्ति वन नाम दिएका थिए भन्ने गरिन्छ। तर उक्त नाम चलनचल्तीमा आएन।
आस्थाको सम्मान र प्रकृतिको संरक्षण
हामी रामारोशन घुम्दै गर्दा यहाँको संरक्षणको बारेमा पनि चर्चा गर्यौं। यति सुन्दर ठाउँमा आगामी दिनमा मान्छेको आवतजावत झनै बढ्छ। प्रकृतिको यो सौन्दर्यता र मौलिकता कसरी जस्ताको तस्तै राख्न सकिएला? मनन गर्नुपर्ने पक्ष के छ भने धार्मिक र पर्यटकीय महत्व बोकेको रामारोशन क्षेत्र स्थानीय समुदायको आस्था र विश्वासको प्रतिक हो। यस क्षेत्रमा गरिने विकास र संरक्षणको प्रयास पनि सोही विश्वासलाई नै आधार बनाएर गर्नु उपर्युक्त हुन्छ। अहिलेसम्म विशुद्ध प्राकृतिक वरदानमा रहेको यस क्षेत्र आगामी दिनमा मान्छेको चहलपहल र कृत्रिम विकासको प्रयास हुन थालेपछि संरक्षणमा आउन सक्ने चुनौतीका बारेमा स्थानीयहरू पनि चिन्तित देखिन्छन्।
रामारोशन गाउँपालिकाका स्थानीय वडा जनप्रतिनिधि भन्नुहुन्छ- बाहिरबाट आउनेहरू त हाम्रा पाहुना हुन्, उनीहरू आउँछन् रमाइलो गर्छन् अनि जान्छन् तर स्थानीयहरूले नै पो प्रकृतिको वरदान बिगार्छन् भन्ने डर छ। नाफाको लोभमा तालका माछा मारेर बेच्ने, जडिबुटी जरै उखेलेर बेच्ने र ताल छेउछाउका खाली ठाउँहरू व्यापारिक प्रयोजनका लागि अतिक्रमण गरेपछि भोलिको हालत के होला?
संकटमा रहेका दलेना ताल जस्ता तालको जग्गा समेत अतिक्रम हुनसक्ने चिन्तामा छन् केही स्थानीयहरू। त्यसैले यसको रैथाने उपाय नै निकाल्नु उपर्यक्त हुन्छ। यसका लागि पौराणिक आस्थालाई नै उपयोग गरेर प्रकृतिको सौन्दर्यता बाँच्न सक्छ। जस्तै: ती तालमा रहेका माछाको संरक्षणको लागि धार्मिक आस्थाको रूपमा यस तालमा रहेका माछा खाएमा, यहाँका फूल टिपेमा वा जडिबुटी लगेमा, ताल छेउछाउ घर बनाएमा वा बसोबास गरेमा अनिष्ट हुन्छ भनेर ठाउँ ठाउँमा सूचना पो राख्ने हो कि? यस प्रकारको सूचना स्थानीयहरूबाटै प्रचारप्रसार गर्न सकिन्छ। जसले गर्दा मान्छेलाई स्वत:स्फूर्त सजग गराउँछ। यसो भनिरहँदा धेरैले भन्न सक्छन् अन्धविश्वासलाई प्रचार गरियो। यदि त्यसो हो भने धार्मिक आस्थामा भौतिक प्राप्ति चाहिँ के हुन्छ त? यहाँको विकासमा धार्मिक,अध्यात्मिक, प्राविधिक र आधुनिक विकासको मान्यतालाई रैथाने तरिकाले लागु गर्न सक्नुपर्छ। अहिले देखिनै रामारोशन क्षेत्रको कहाँसम्म बस्ती बसाल्न दिने र कहाँसम्म मोटरबाटो पुर्याउने भन्ने लक्ष्मण रेखा कोर्नु आवश्यक छ। यसो गरिएन भने मान्छेहरूले आफ्नो सजिलोका लागि प्रकृतिलाई असजिलो पार्न सक्छन्।
बाटुल्ला ताल। फोटो: नरेन्द्र परियार
रैथाने विकासको रूपमा महादेवको मूर्ति
हामी जिंगले ताल पार गरेर रोशन चौउर पुग्दा चउरको दृष्यसँगै उत्तरपूर्व कालिकोटतर्फ रहेको चट्टानको पहाडले पनि मनमा अनेक जिज्ञास र उत्सुकता जगायो। सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले उक्त पहाडमा हेरेर भने हेर्नुहोस् त यो पहाड त मान्छे बसे जस्तै देखिने रहेछ यसलाई त महादेवको मूर्ति कुद्ने हो भने निकै आकर्षक देखिन्छ अनि यहाँको पर्यटन पनि झनै बढ्छ। यसो गरियो भने यहाँ भारतीय पर्यटकको ओइरो लाग्न सक्छ। हामी कुरा गर्दैगर्दा अघि हामीसँगै उकालो लागेका अछाम जिल्लाका नेता आइपुगे।
नरेन्द्र परियारले निकै फूर्ति गरी मूर्तिको कुरा सुनाए। नेताले बडो खुसी हुँदै भने मैले त यहाँ यस्तो सोचेकै थिइनँ, वास्तवमा यो चाहिँ यहाँ सुहाउने विकास हो किनभने यस क्षेत्रको पौराणिक कथा नै महादेव र पार्वतीमा आधारित छ। अब म यसलाई राजनीतिक एजेण्डा नै बनाउँछु। हुन पनि रामारोशन क्षेत्रको विकासको लागि बनाइएका योजना तथा कार्यक्रममा यस क्षेत्रमा बन्जी जम्प र प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने भन्ने रहेछ। यसरी धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने भन्ने कम प्राथमिकतामा रहेछ।
कसरी पुग्ने त रामारोशन?
हिजोआज सडकको सञ्जाल विस्तार भएसँगै विभिन्न मार्ग हुँदै रामारोशन पुग्न सकिन्छ। धनगढी, दिपायल, डोटी, साँफेबगर, बान्नीगढी जयगढ हुँदै रामारोशन मार्गबाट जान सकिन्छ। कैलालीको चिसापानीबाट कुइने हुँदै सुर्खेतको बाबियो चौर पुगिन्छ। बाबिया चौरबाट बड्डीचौर आएर बेलखेत र अछामको पञ्चदेवल विनायक हुँदै मंगलसेन बजार पुगेर जान सकिन्छ। अर्को छोटो मार्ग पनि छ।सुर्खेतको बाबिया चौरबाट जंगलघाट, तुर्माखाँद, कमलबजार हुँदै मंगलसेन सदरमुकाम पुग्ने।
हाल यो मार्ग पूर्ण रूपले सञ्चालन भएको छैन। यो मार्गबाट अहिले मोटरसाइकलमा मात्र आवतजावत गर्न सकिन्छ। कर्णाली नदी जंगल घाटमा पुल बनेपछि मंगलसेन हुँदै रामारोशन पुग्ने यो सबभन्दा छोटो मार्ग हुनेछ। त्यस्तै, कोहलपुरबाट सुर्खेत बड्डी चौर हुँदै मंगलसेन आउन पनि सकिन्छ। साथै, काठमाडौंबाट आउन धेरैलाई सहज लाग्ने सुर्खेतबाट दैलेख हुँदै मंगलसेन आएर पनि पुग्न सकिन्छ रामारोशन।
जिंगले तालको किनारामा फुलेको गुराँस। फोटो: नरेन्द्र परियार
रोशन चउर र सँगै रहेको पहाड। फोटो: नरेन्द्र परियार.
सबभन्दा ठूलो चउर किनीमिनी जाने बाटो। फोटो: नरेन्द्र परियार.