एउटा हिउँदे यात्रा: हरिहरपुरगढीतिर (भाग-२)
अब हामी कथाको लागि क्यानखोला (साबिक क्यानेश्वर गाविस र हालको हरिहरपुरगढी गापा वडा न. ६,७ र ८ वडाहरू) जानेछौं।
यताको लागि 'न्यारेटर' हुनुहुन्छ बालकृष्ण नेपाल (पूर्ववडाध्यक्ष, वडा न.७ ) र भलाद्मी चालक भाइ पेमा थिंग।
पालिकाबाटै सरसर्ती ब्रिफिङ साथी राजु कुमार उप्रेतीले गर्नुभो भने प्राकृतिक कुण्ड घुमाएर ब्रिफिङ गर्ने काम भाइ सुवास मैनालीले गर्नुभो। क्यानखोलाको बालुवा, जंगार पार/तराई, चुरेको घनाजंगल, ढुंगाविहीनता, क्यान्शिरको तीर्थ, पत्रैपत्रको बस्ती/खेत, पान्तलेको ढुंगा पार्क र क्यानखोला बगर/किनाराका ठूल्ठूला चौरहरू सम्भवत: म सकुशल वर्णन गर्न असमर्थ हुनेछु।
यसको स्वाद त प्रत्यक्ष उपस्थितिका नयन, मन र मस्तिष्कले मात्र महसुस गर्न सक्लान्। आफू नघुमिकन यो अपूर्व, अद्भूत र गोप्य पत्रेस्थलको स्वाद यो सानो लेखको अक्षरहरूबाट दिन खोज्नु र लिने आँट गर्नु भनेको लोटा लगेर समुद्र ल्याउँछु भन्नु जस्तै वा सेतो बाघ उपन्यास पढेर नेपालको इतिहास बुझे भन्नु जत्तिकै हुने ठान्छु म। क्षमा व्यक्त गरेँ ल।
-1740035619.jpg)
हजारौं वर्ष अघिदेखि क्यान्शिर (चुरे) बाट उत्पत्ति भएर भुताहा झरेको क्यानखोला ब्राजिलमा अमेजन नदीझैं मनमौजी मिन्डरिङ (नागबेली) भएर बग्दा ती बालुवै बालुवाका पत्रहरूमा कति भासियो होला, कति उचाल्लियो होला र कति आफ्नो बाटो परिवर्तन गर्यो होला? र त त्यति अनुपम, आकर्षक र करिब ८ बिगाहामा फैलिएको प्राकृतिक कुण्ड बन्न पुग्यो होला।
ढुंगाविहीन बालुवाका लाप्सै लाप्साको चुरे खस्दा उसको नियमित पथमा अवरोध आयो होला र त उसले बाटो मोड्यो, त्यो थुनिएको पानीलाई त्यहीँ छोडेर। अनि त त्यो विशाल ताल बन्यो होला। त्यो पत्र चाहार्दै, लुक्दै र डराउँदै पछि पो केही आँटिला वा बाध्यताले बेरिएका केही मान्छेहरू पुगे होलान्, त्यता। नत्र त त्यो चुरेमा सिर्फ नदी/पानी, जंगल र जल/स्थलचर सरिसृप वा शक्तिशाली स्तनधारीहरूको मौन संवाद त हुँदो हो नि। शुद्ध प्राकृतिक मिलन। ओगट्नु/हडप्नु/सम्पत्ति जोड्नु वा थोपर्नु नपरेका प्राकृतिक यायावर र सन्तोकीहरू। केही प्रयासहरू त भएकै रछन् संरक्षणका। तर संरक्षणको गतिभन्दा ताल खेत हुने गतिको मिटर छिटो कुदेजस्तो देखिएकोले, पूरै खेत बन्नुअघि नै त्यो ताल संरक्षित होस्।
पेमा भाइले बिहान ९:३० बजे नै गाडीको हर्न लगाउनुभयो। एउटा इच्छाइएको र अद्भूत ठाउँ जानु थियो, म तयार भैहालेँ। मदन भण्डारी लोकमार्ग छोडेर स्थानीय रिङरोड हुँदै हामी पूर्व-दक्षिण लाग्यौं। अलिपर पुगेपछि हिजो यादव भाइले लानुभएको ठाँउमा पो पुगिएछ। हिजो मरिन-बागमती दोभान हेर्न जाउँ न भन्दा प्रिय भाइले किन्चित अल्छी नमानी त्यो चौरमा लगेको थियो मलाई। त्यहाँबाट उसले बताउँदै गर्दा मैले आँखाभरी प्रिय मरिण ठाकुर र बागमतीलाई हेरेको थिएँ। ठ्याकै दुधौली पुछारबाट देखिने तावा र कमलाको दोभान जस्तै। उसैगरी मिलेर दक्षिण लागेका, उस्तै चौर र उस्तै गाउँको पुछार। त्यतिखेर मैले सोधेको थिएँ- भाइ क्यानखोला कता पर्छ? त्यो यहाँबाट देखिँदैन दाइ। चुरेबाट आउने हो र तल बागमतीमै मिसिन्छ। हुन पनि के देखियोस्, त्यो घना जंगल र बालुवेपत्रको पात्तालेखोला?
हो आज म उतै जाँदै थिएँ, पेमा भाइसँग। बखबरमा पुल नबनेकोले गाडीले मरिनको पानी ठेल्दै पार गर्यो। मैले सोधेँ- अब कतिखेर पुगिन्छ भाइ? धेरै छ सर-उसले यति भन्यो।
बिहानको सवा १० बजेछ, मरिन तर्दा। यतिखेर मलाई लाग्यो- सिन्धुली आफैमा अद्भुत र भाग्यमानी छ, जल, जमिन, जंगल, सडक, उत्पादन र सुविधामा। सबभन्दा उत्तरको गडतिर सुनकोशी र रोशीको कोरिडोर, पूर्वमा कमलाखोंच (कोरिडोर), पश्चिमको यो मरिन कोरिडोर, अनि यो क्यानाखोला कोरिडोर। पूर्व-पश्चिम तन्किएका चुरे र महाभारत पर्वत शृंखलाहरू। बिपी, मध्यपहाडी (पुष्पलाल) र मदन भण्डारीजस्ता राष्ट्रिय राज/लोकमार्गहरूले घेरेका।
सिन्धुली सदरमुकाम सिन्धुलीमाढी बजारबाट करिब ३७ किमी तल महेन्द्र राजमार्ग अनि पृथ्वीनारायण शाहकालीन लडाइँका सिन्धुलीगढी, हरिहरपुरगढी विजयकिल्ला/दरबारहरू। अर्थात् यो मुलुकका सबै कालखण्डका ठूला,असल र आँटिला मान्छेका नामहरू यही जिल्ला भएर अरूतिर फैलिएका। ती नामहरू सम्झिँदै र ढोग्दै यात्रीहरू आफ्ना गन्तव्यतिर कुद्छन दिनरात।
चुरेको चिउरी, तामा, कागती र महाभारतका तरकारी, जुनार, सुन्तलाहरू देश विदेश पुगेका छन्। पहाड र दुनमा फल्ने कोदो, धान, मकै र गहुँका रोटी र भातसँग मरिनका माछा र लेकाली सागका स्वादहरू संघीय राजधानीमा बसेर सम्झिने मात्रै हो।
-1740035618.jpg)
ओहो हो, फेरि मन त अन्तै मोडिएछ।
फर्कौं यात्रा तिरै। मैले पेमातिर हेरेँ, ऊ निरन्तर घुम्तीयुक्त साँघुरो र धुलो बाटोमा सतर्कतापूर्वक स्टेयरिङ घुमाउँदै थियो। शनै: शनैः उबडखाबड र घुर्मैलो बाटो अकस्मात मोडिएर ओरालो लाग्यो। पांग्रा डुब्ने धुलो थियो। एउटा पक्की पुल देखियो घना जंगल र गहिरो खोल्सीमा। लम्बाई ५८.० मि., क्यानखोला पुल लेखिएको थियो, संकेत बोर्डमा। मैले पेमालाई सोधेँ-यही हो क्यानखोला? उसले हो भन्यो। बस् यति नै छोटो जबाफ थियो उसको।
साँघुरो गल्छी र अग्ला रूखहरूका छायाबीचबाट सङ्लो पानी लिएर एउटा खोलो बागमती भेट्न पश्चिमतिर ओरालिएको थियो। केही मान्छेहरू खोलामा (माछा) जाल खेल्दै गरेका देखिए। अब बाटो दुइटा भो।
मैले पेमालाई सोधेँ- यो बाटो कहाँ जान्छ? उसले भन्यो-कर्मैया। यहाँबाट जम्मा १० किमी, बागमती किनारै किनार, दक्षिण। हामी क्यानखोला समाएर पूर्व-दक्षिण लाग्यौ,चिसो/चिप्लो र भत्किएको बाटैबाट।
बस्ती र घरहरू छन् र जस्तो? कतै केही देखिएन करिब १ घण्टा जतिको यात्रामा। केहीबेरमा एउटा अलि फाँटिलो र उज्यालो क्षेत्र देखियो, धेरैबेरको जंगल यात्रापछि। कुशेश्वोर मावि ढप्सार लेखेको संकेत बोर्ड आँखा अघि आयो। हामी चुपचाप अगाडि बढ्यौं। अब केही बाक्ला घरहरू देखिए। सुरूमा स्वास्थ्य चौकी देखियो- कौवा सामुदायिक स्वास्थ्य इकाई। अनि आयो वडा कार्यालय भवन।
यो वडा न. ६ को केन्द्र रहेछ- रांगेदोभान। मलाई गज्जब थियो- किनकि पुग्ने ठाउँ कति पर छ पनि थाहा थिएन, कति वर आइयो पनि थाहा थिएन। अन्जान यात्रा यसकारण पनि उत्साहित र रमाइलो हुँदोरहेछ- निदाउन नदिने। केही महत्वपूर्ण र नयाँ कुरा छुटिहाल्छन् कि भन्ने।
हामी पुग्ने ठाउँको बाटो एक्वारै पनि रछ, तर खोलो सानो र बाटो छोटो पर्ने भएकोले पेमाले गाडी खोलातिर मोड्यो। मैले खोला क्रसिङका पटकहरू गन्न सुरू गरे।
वडा न.८ को केन्द्र पान्तले पुग्दा १४ चोटि खोला तरिएछ। पान्तले अलि ठूलो र बाक्लो बजार थियो। अलि पर दाहिनेतिर ढुंगैढुंगा ठड्याइएको एउटा पार्क देखियो। गेट पनि ढुंगाकै थियो। यो पटक यसै भो, मैले केही सोधिनँ। १५ औं पटक खोलो तरेर गाडी एक्वारे पाखा बाटोतिर लाग्यो। अब पेमा बोल्यो-तपाईंलाई छोड्ने भनेको ठाउँ आइपुग्न लाग्यो सर। हामी केहीबेर दक्षिण कुदेपछि सानो ओरालो समाएर पूर्व फर्कियौं। पारि लामो पक्की पुल र राम्रा ठूला घरहरू देखिए। कुन ठाउँ हो त्यो, मैले पेमालाई सोधेँ -क्वाटर सर।
अचम्म के नाम हो त्यस्तो? पहिले त्यहाँ हाकिमका क्वाटरहरू रहेछन्, अनि नामै क्वाटर रहेको रे, पछि उसले स्पष्ट पार्यो। क्यानखोलामाथिको ८५.० मि. लामो पक्की पुलले मरिन-पथराइ- हरिवन (सर्लाही) जोड्ने रहेछ। यही हो सर तपाईं ओर्लने-पेमाले भन्यो र एउटा ठूलो घरको अगाडि गाडी रोक्यो।
-1740035618.jpg)
मैले आज भेट्नुपर्ने न्यारेटरको घर यही रहेछ। बालकृष्ण नेपाललाई भेट्न म उहाँको घरमा पर्खिएँ। पेमा झन्झने फर्कियो। अब म वडा न. ७ मा थिएँ।
बालकृष्णजी घर हुनुहुँदोरैनछ। पेमा फर्किएपछि म एकछिन मेडमसँग गफिएँ- बालकृष्ण नेपालकी श्रीमती बिमला नेपाल मेडमसँग। उहाँलाई क्रोनिक एलर्जीको समस्या रहेछ। ठूलो घर र पर्याप्त जग्गाजमिन अनि कन्स्ट्रक्सन कम्पनी। तर छोराछोरी हुर्किएर आ-आफ्नो पढाइ र कर्मतिर पखेँटा हालेकाले घरमा बुढीआमासहित उहाँहरू तीन जना मात्र हुनुहुँदो रहेछ। मेडमले फोन गर्दिनुभो।
केही समयपछि कामले हरिवन पुग्नुभाको बालकृष्णजी आइपुग्नुभो। परिचय र कुशल/क्षेम सोधपुछ भो। केहीबेरमै हामीहरू कथा खोज्न हिँडिहाल्यौँ।
अब हामी चुरे उक्लिँदै थियौं।
आफू वडाध्यक्ष हुँदाका बखतका गफहरू धेरै सुनाउनुभो उहाँले। पालिका भवन नहुँदा चौरमा मिटिङ गरेको, कानूनहरू बनाएको, पालिका केन्द्र सारेको, नागरिकता विहीनहरूको नागरिकता बनाइदिएको आदि आदि। चुरेको बाटो उकालो हुने नै भयो, तै पनि ग्रेड मिलेकै थियो। त्यो बाटो खन्दा धेरै दु:ख पाइएको, वन मुद्दा खेप्नुपरेको तर नागरिकहरूको काम गर्न निरन्तर लागिपरेको कुराहरू सुन्दै, खोल्सा/उकालो/केही तर्पयान/केही हिलो र चिप्लो बाटो काट्दै हामी स्थानीय चुरेको सर्वाधिक अग्लो स्थान केवलचुली (करिब १२०० मि) पुग्यौं। घडीले अपराह्नको ३:१५ बजाएछ।
केवलचुलीमा उभिएर दक्षिण हेर्दा सर्लाहीको लालबन्दी बजार नजिकै देखियो।
केवलचुलीलाई मैले काभ्रेको साँगा भन्ज्याङसँग दाँजेँ। केवलचुलीमा उभिएर एक अम्खोरा पानी खन्याउने हो भने केही पानी सर्लाहीतिर बग्थ्यो भने केही पानी सिन्धुलीको क्यानखोलातिर बग्थ्यो, जसरी साँगामा पोख्दा केही पानी बागमतीतिर जान्थ्यो भने केही पानी रोशी हुँदै सप्तकोशीतिर जान्थ्यो। देख्दा सामान्य लागे पनि त्यो पानीले फरक फरक क्षेत्रको स्वाद र अनुभव संगाल्दै लामो दूरी पार गर्नुपर्थ्यो- त्यही पहिलाको पानी भेट्न, जसरी मानसरोवर छेउछाउबाट सँगै निस्किएका कर्णाली, गंगा र ब्रम्हपुत्रहरू धेरै लामो दूरी र हण्डर/ठक्करपछि आफैमा भेटिन्छन् वा एकैपटक बङ्गालको खाडीमा अनन्त बिलाउँछन् वा सतलजजस्तो पश्चिम दिशा समाउँदै अरब सागरतिर लाग्छन् र नाम हराउँछन्।
यतिखेर मलाई लाग्यो- नामको पनि समय र सीमा हुने रहेछ- नत्र कर्णाली 'घाघरा', गंगा 'पद्मा', ब्रम्हपुत्र 'जमुना',अनि फेरि विलय बेलामा 'मेघना' वा सतलज 'सिन्धु' बन्ने थिएन, जसरी घरगाउँमा जेठा/ठूले/कान्छा भनी सम्बोधित हामीहरू विद्यालय/विश्वविद्यालय/राजधानी वा सिमापार मुलुकपछि अर्कै बोलिन्छौं/लेखिन्छौं। त्यसैले त केवलचुली स्थानीय कैलाश पर्वत थियो र दुई जिल्लाको सीमा र पानीढलो थियो। अर्थात् यतिखेर हामी युएसए र मेक्सिकोको जस्तो एक पर्खाल/तारजालीले छुट्ट्याएको सीमा वा नेदरल्याण्ड र बेल्जियमको जस्तो घर/कोठा भित्रको सीमा वा मलेसिया र इन्डोनेसियाको जस्तो बस्ने कोठा मलेसियामा र भान्छा इन्डोनेसियामा पर्ने सीमामा थियौं अर्थात् केवलचुली हाम्रो सीमा थियो। सिमानाहरू पनि मन त रछन् नि, मान्दिए हुने। मन नमिले सिमानाहरूको के अर्थ र? हिँड्दै जाँदा अनेक विचार र तर्कनाहरू आउने। म चाहन्छु- अनन्त विचार/तर्कनाहरू आइनै रहुन्।
-1740035619.jpg)
उहाँकै कार्यकालमा त्यहाँ बाटो, बिजुली र लिफ्टपानी पुर्याएर सेवा दिएको रे। बाटोमा धेरै मान्छेहरू भेटिए। धेरैले खुसीसँगै नमस्कार गरे उहाँलाई। म हेर्दै र सुन्दै गएँ। त्यहीँ चुली नजिकैबाट एउटा ग्राभेल बाटो सर्लाहीतिर ओरालियो। हिउँदमा सिन्धुलीको मरिन बजारदेखि लालबन्दीसम्म गाडी चल्दोरहेछ। हामी अघि बढ्यौं। देखिएसम्मको चुरे हरियो त देखिन्थ्यो, तर ठूला र अग्ला सालहरू थिएनन्। झाडी बेसी, विकसित रूखहरू कम। ठाउँ ठाउँ भीमकाय पहिरोहरू देखिए। यस्तो लाग्थ्यो, हामी बस्न चुरेको शिखर पुग्यौं, हामी अग्लियौं तर चुरे हार्दै, होचिँदै र नदेखिने गरी हराउँदै थियो। लाग्थ्यो- चुरे केही नभनी नभनी पाताल जाँदैछ। अग्लिएका खोला, थुप्रिएका गेग्र्यान र बालुवाका खातहरू घट्दै र खिइँदै गएको चुरेकै अवयवहरू त थिए। विश्वकै कान्छो र कमजोर यो पहाड लाखौं आश्रितहरूको लागि वरदान थियो, जल/जंगल/जडीबुटी र समग्र जीवनकै हिसाबमा। मलाई लाग्यो- नचलाउनुपर्थ्यो। छुनै हुँदैन थियो। तल बसेर उसले दिएको लिनु र खानुपर्थ्यो। क्रमशः गल्ती हुँदैछ।
घुमिएको धेरैजसो चुरेमा बस्तीहरू थिए। बारीभरि पहेँलपुर तोरी फुलेका, सनातन जंगललाई लगभग बैरी ठानिएका, अनि खुला र ओभानो ठाउँ खोजिएका। बस्ती भएपछि यी सब त भै नैहाल्छ। तर मैले अँध्यारो छाया देखेँ। हुन त ती मान्छेहरू पनि अनन्त शोक/पीडा र असह्य कष्टपछि त्यहाँ पुगेका हुन्। मैले भूगोलको कालो छाया देखेँ। तर त्योभन्दा अति बाक्लो र गाढा कालोछाया उनीहरूको जीवनमा थियो र त त्यो अनकन्टार क्षेत्रमा पुगे हुनन्- त्यो दर्द लुक्छ कि भनेर। त्यो शायद- 'मर्नु भन्दा बहुलाउनु निको' को फर्मूला थियो। वा सुरूदेखि नै मानव जाति यायावर थियो। कोही दु:खबाट लुक्न र उम्किन हिँडिरहन्छन् भने कोही चरम सुखपछि चैतन्य आनन्दको खोजीमा। जे होस्, खोजी हो, निरन्तर चलिनै रहेको थियो/छ/र रहनेछ। अफ्रिकाकै जंगलमा वा चीनको व्हांगहो किनाराबाट चौतर्फी चल्न आनाकानी गरेको भए अहिलेको सेपिएन्स पनि बन्ने थिएन शायद। बाबुको काख नपाएर ध्रुब जंगल गए। दिक्क भएर औषधि खोज्न सिद्धार्थ गौतम जंगल गए। ज्ञान लिन ऋषिमुनिहरू जंगल गए र अहिलेका दु:खीहरू दु:ख बिर्सिन जंगल गए, शायद। समग्रमा अन्तिम सत्य र आधार त जंगल नै रहेछ।
हाम्रो बाटो थोरै ओरालिएर तेर्सो लाग्यो। सालका एक नासका पोथ्राहरू देखिए, आकाश छुन अग्लिएका। मैले सोचेँ, कहिल्यै आगलागी नभइदियोस् यस्ता निर्दोष जंगलहरूमा। यी पोथ्राहरू अग्लिरहुन् मन लागुन्जेल।
यो पनि:
एउटा हिउँदे यात्रा