सधैं भेटिरहने, देखिरहने वस्तुको खासै महत्व नबुझ्दा रहेछन्। हुन त सबै वस्तु, व्यक्तिमा त्यस्तो नहोला। मलाई पनि सबैमा त्यस्तो लाग्ने होइन। मैले सधैं हिँडिरहने र देखिरहने ठाउँको बारेमा भन्न खोजेको यहाँ।
चरिकोटबाट सिंगटी बजारसम्म डेढ घण्टामै यातायातबाट पुग्न सकिन्छ। तर झ्याँकु जानलाई सुरू सुरूमा सिंगटीबाट गाडीको सुविधा नहुँदा हिँडेरै घर जानुपथ्र्यो।
सिंगटीबाट मेरो घर झ्याँकु पुग्न करिब २/३ घण्टा नै लाग्थ्यो। हिँड्नुको विकल्प थिएन डेढ दशकअघि। तर गाडीमा गुड्नु र हिँड्नुको छुट्टै मज्जा। अहिले म हिँड्न रूचाउँछु। महिनामा एक/दुई पटक कुनै कुनै ठाउँमा पुगेकै हुन्छु। यस पटक म ती बाटोहरूमा हिँडेकै कारण केही नयाँ महसुस गरेको छु।
झ्याँकुको उकालो टोपी नै खस्लाझैं ठाडो उकालो हिँड्दै घर। तर सिंगटीबाट जत्ति उकालो चढ्दै गयो उत्तिनै आनन्द आउने ठाउँहरू पनि छन्। २/३ घण्टाको अवधिमा १ एक ठाउँ गोदुममा मात्र पानी पिउन पाइन्छ। तर पनि सुन्दर वातावरण, चराचुरूङ्गीको चिरबिर आवाज, विभिन्न प्रजातिको सिजनल फूल, वनस्पतीहरू, सिरसिर चल्ने चिसो हावा, आँखै अगाडि ठोकेलाझैं लाग्ने सेताम्मे गौरीशंकर हिमाल, आफ्नै सुरमा सलल बगिरहने तामाकोशी नदी, कालिञ्चोक मन्दिर, हनुमन्तेडाँडा, चरिकोट बजार, विगु गुम्बालाई नियाल्दा नियाल्दै बाटो कटेको पत्तै हुँदैन। न थकानको महसुस हुन्छ। न पानी प्यास, भोक नै लाग्छ।
सिंगटी बजारबाट उकालो लागेपछि यस्तै यस्तै प्रकृतिसँग रमाउँदै, जिस्किँदै गौरीशंकर गाउँपालिका–४, झ्याँकुमा पुग्न सकिन्छ।
गुमु खोलाबाट उकालो लाग्दा ठाउँ ठाउँमा चौतारो, लहरेमाने र वरपिपलको शितल लिँदै जान पाइन्छ। तर सिंगटीबाट उकालो लाग्दा जंगल सफारी गरेझैं अनुभूति गर्न सकिन्छ। सिंगटी बजारमा तराईको गर्मी जस्तै लाग्छ भने उकालो चढेपछि होचा होचा हिमाल चढेजस्तै आनन्द लिन सकिन्छ। झ्याँकु यार्सा तामाङ, शेर्पा, जिरेल, दलित र क्षेत्री बाहुनको बस्ती हो। मिश्रित बस्तीकै कारण फरक फरक संस्कृति, धर्म र भाषाको कारण झ्याँकु अन्य ठाउँभन्दा फरक र नयाँ अनुभूति ग्रहण गर्ने थलोको रूपमा लिन सकिन्छ।
यहाँ पाइलै पिच्छे लस्करै ठडिएका माने, चौतारो र गुम्बाले मनलाई शान्त र सुन्दर बनाउँछ। एकै थलोको बसाइले सिङ्गो जिल्लालाई नियाल्न सकिन्छ। झ्याँकुले नै जिरी नगरपालिका, वैतेश्वर गाउँपालिका र विगु गाउँपालिकालाई जोडिने पुलको काम गरिएको छ। यही झ्याँकुबाट कोठे, गोर्पाङ, ज्याङबारिङ, घटेपु, बासा, फेदी हुँदै छहरे गुफा र चेर्दुङ डाँडा जान सकिन्छ।
यस पटकको यात्रा झ्याँकुलाई एक फन्को लगाउनु नै थियो। सधैं आँखाले मात्र नियाल्ने झ्याँकुलाई क्यामराबाट नियाल्दा फरक र नयाँ खालको देखेँ। झ्याँकुमा रहेका सुन्दर डाँडाकाँडा र समथर भूभाग, मठमन्दिर, गुफा र गुम्बााले झ्याँकुलाई अझ सुन्दरता थपिएको मैले महसुस गरेँ।
भूकम्पपछि बनेका घरहरू। तीनधारा नजिकै रहेको बुद्धको मूर्ति, राम्बुले मन्दिर, लटरम्म फलेका किवी फलले पनि अझ झ्याँकु एउटा उत्कृष्ट र सुन्दर गन्तव्य बनाउन पो सकिन्छ कि? चौंरी गोठ र फेदीमा रहेको दुध डेरीले पनि आन्तरिक पर्यटक तान्नलाई टेवा पुर्याएको छ।
यहाँ रहेका गोर्पाङ, सर्सेपू, सेराकाप्ती, पुरानो गाउँ र तल्लो झ्याँकुमा होमस्टेको व्यवस्था गर्न सकेमा अझ पर्यटकलाई सुविधा दिन सकिन्थ्यो कि? सिंगटी बजारदेखि झ्याँकु हुँदै चेर्दुङ पुगिरहँदा हेर्न र देख्न अझै धेरै बाँकी रहेछन् भन्ने लाग्यो।
पछिल्लो अवस्थामा सामाजिक सञ्जाल र सञ्चार माध्यमकै कारण यी यस्ता सुन्दर र धार्मिक, साँस्कृतिक सम्पदाहरू ओझेलमा परेको छ जस्तो लाग्यो।
पहिला देश अनि विदेश घुमौं त्यसै भनेको होइन रहेछ। यस पटक झ्याँकुलाई नजिकबाट नियाल्ने मौका पाएँ।
तस्बिरहरू: