कोटेश्वरमा जम्मा हुने सल्लाहअनुसार समयमै पुगेर बस कुरेर बसिरहेथेँ। सोही समय अस्ट्रेलियाबाट छोरीको फोन आयो उनले भनिन्- मम्मी म पन्ध्र मिनेटमा कल गर्छु अर्जेन्ट छ फोन रिसिभ गर्नुहोस् है।
त्यो पन्ध्र मिनेट कुर्न साह्रै छटपटी भयो।
केही समयपछि फोन आयो हत्तपत्त रिसिभ गरेँ। म्यासेन्जरमा फोन आएकोले अनुहार देख्न पाइएको थियो अनुहार उज्यालो देख्नेबित्तिकै मन हल्का भयो। छोरी ज्वाइँको पिआर आएको सुखद खबर रहेछ तर पर्खाइ कति पीडादायी हुन्छ, त्यही समय महसुस हुन्छ जब कुनै कुराको पर्खाइ हुन्छ।
शैलुङ्ग यात्राको सुरूआत सुखद् खबरबाट सुरू भयो। यात्रामा हामी छ भाइ बहिनीका काठमाडौंमा उपलब्ध स-परिवारको यात्रा थियो मन कतै डराइरहेको थियो किनकि बेलाबखत स-परिवार चढेको मोटर दुर्घटनाको समाचार सुनिने गरिन्छ। हामी पनि सपरिवार यात्रारत थियौं मनभित्र डरसँगै यात्रा निकै रमाइलो वातावरण बनिरहेको थियो।
सबै परिवार साथै रहे पनि यो माया भन्ने कुरा अचम्मको हुने जुन चिज आफूभन्दा पर छ, जुन चिज प्राप्त हुँदैन उसैको बढी महत्व रहने। यस्तै भयो यो पटकको चाड मेरो निम्ति।
खोला उँधो नै बग्छ र माया पनि उँधो नै बढी भने झैं यो वर्ष पहिलोपटक नितान्त एक्ली थिएँ सन्तान सबै परदेश भएर।
एक्लो मनले अनेक माया खोज्ने रहेछ। दसैं मान्नेगरी अमेरिका सन्तान भए ठाउँ पुगेकी थिएँ दसैं मान्नुअघि फर्किएँ। केही आफ्नोपनको जिम्मेवारी र प्रेमले गर्दा फर्किएकी थिएँ।
जति जति दसैं नजिकिँदै थियो त्यति त्यति एक्लोपनले दुखिरहेकी थिएँ सो अवस्था देखाउन सहज थिएन। दुखेको हृदयले यात्रा गर्दा पनि जताततै आफै जस्तो प्रकृतिका सबै दृश्य दुखेझैं लाग्ने रहेछ। फूलहरूमा झुम्ने पुतली बादल छुनेगरी आकाशमा उडेको देखें बसभित्रबाट। मनमा लाग्यो एक्लो पुतली कस्लाई भेट्न उडिरहेकी होली। मनमा अनेक तरङ्ग उठे म स्वयं पुतलीसँगै उडेछु। आफैलाई झल्याँस्स भएझैं भयो।
हामी धुलिखेल, पाँचखाल हुँदै जिरोकिलोबाट अर्को बाटो छुट्टियौं। तल खोला बगिरहेको थियो, हामी चढेको बस बाटैबाटो माथि भएर कुदिरहेको थियो। खोलाको ढिकैनेर एउटा सानो बाँदरले हाम्रै बसलाई हेरेझैं माथि हेरिरहेथ्यो। त्यो बाँदरलाई देख्दा यो पनि म जस्तै एक्लै पो रहेछ भनेर म अनायास मुस्कुराउन पुगेछु।
बाटोभरि हामीलाई स्वागत गरिरहेका उत्तिस, निगालो, अम्रिसोका बिरूवाहरू र तिहारको आगमनमा बाटोभरि मखमली फूलहरूले स्वागत गरिरहेका थिए। बेलाबेला बसको ड्राइभरले बसको हर्न बजाउँदा गीतको भाकामा बजाइदिन्थे केटाकेटी रमाएर गीतसँगै उफ्रन्थे।
हामी दिउँसोको ४:३० बजे मुडे पुग्यौं। बेलुकी हुँदै थियो बेलुकीसँगै कुहिरो उकालिँदै र पत्रपत्र हुँदै पहाड होचिँदै थियो। चिसोले हामीलाई सेक्ने सुर कस्न थाल्यो। साँझको ६:३० बजेतिर हामी शैलुङ्गको कालापानी पुग्यौं र पहिले नै बुक गरिएको गेस्ट हाउसमा हामी बास बस्यौं।
भोलिपल्ट बिहान सूर्योदय हेर्ने सल्लाहअनुसार बिहान ४ बजे नै उठेर केटाकेटीसहित हामी उकालो उक्लन सुरू भयो। धेरै छिटो हिँड्न नसक्ने हामी र केटाकेटीसहित सुस्त सुस्त हिँड्दा चार बजे हिँडेको ६ बजे बिहान शैलुङ्गको थुम्को टेकियो।
सूर्यले पनि हामीलाई नियाल्ने सुर कस्दै थियो। हामी हिँडेको उकालोको थकाइ सबै बिर्सिएर खुसीले रमाउन थाल्यौं। एकातिर सूर्य उदाइरहेको, अर्कोतर्फ हिमाल सुनौलो हुँदै गएको दृश्य मनमोहक बन्यो ।
हामी सूर्योदय पश्चात अगाडि बढ्यौं। शैलुङ्ग थुम्कै थुम्काको सहरबाट तल खोंच नियाल्दा कतै बादलको भुइँ कतै कुहिरोमा परेको घामले जन्माएको सप्तरंगी इन्द्रेणी त्यो इन्द्रेणीको माझमा आफ्नो छाया देख्न पाउँदा अत्यन्तै खुसी बन्यौं। हिँड्दै गर्दा बाटोमा यसरी इन्द्रेणी माझ आफ्नो प्रतिबिम्ब देख्न विरलै पाइन्छ त्यो सौभाग्य हामीले प्राप्त गर्यौं।
पर गुम्बा देखियो गुम्बासम्म पुग्ने योजनाले अगाडि बढ्यौं। गुम्बा नजिक सानो सानो बोर्ड बनाएर बुद्धका पाइला, पृथ्वीको नाइटो लेखिएका बोर्ड राखिएका थिए। त्यहाँको दर्शनपश्चात् हामी केहीबेर गुम्बा छेउमा रहेको टावर उक्लियौं र वरपरका दृश्य अवलोकन गर्यौं।
टावरमाथि पनि गुरू रिम्पूछे, मन्जुश्री सहितको पाँच वटा देवताहरूको मूर्ति राखिएको रहेछ। मलाई पृथ्वीको नाइटो, बुद्धका पाइलाबारे बुझ्ने जिज्ञासा भयो। टावर छेउमै रहेको स्तुपामा विगत दश वर्षदेखि रहेका गुरू सोनम लामालाई भेटेर शैलुङ्गको विषयमा केही जानकारी लिएँ।
सन् २०१७ देखि पहिलो गुरू बनेर शैलुङ्गको 'गुम्बा' अर्थात् बौद्ध भाषामा 'छोर्तेन' अर्थात् भगवानको मुटुको रूपमा रहेको गुम्बामा सोनाम लामा गुरू बनेर रहेका रहेछन्। गुरू सोनामका अनुसार खाचे, साचे, सैच्य यो तीनवटा ठाउँ स्वर्ग हुने कुरा सुनाए। 'खा' को अर्थ आकाश 'चे' को अर्थ देवता बस्ने ठाउँ।
यसरी तीन वटै नाउँको विस्तृत वर्णन गरे।
गुरू रिम्पुछेले जिलाप अर्थात् ध्यान गरेको ठाउँ शैलुङ्गको थुम्काहरू नै स्वर्ग रहेको कुरा सुनाए। वास्तवमा शैलुङ्गको थुम्काहरूमा पुग्दा प्रकृतिको छुट्टै आनन्द र छुट्टै सुखानुभुति प्राप्त भएको महसुस हुन्छ।
स्तुपाहरू माथि माथि जहाँ सहज तरिकाले पुग्न नसकिने ठाउँहरूमा मात्र किन राखिन्छ भन्ने प्रश्नमा गुरू सोनाम भन्छन् (सबै मानिसहरूमा स्तुपा, गुम्बाहरूको छाँयाले भए पनि उनीहरूलाई छोओस् र सबैलाई छोर्तेनले देख्न सकून् भन्ने उद्देश्यले यसरी माथि माथि राखिने गरिन्छ।)'
मानिसहरू माथि उक्लन गाह्रो भए पनि छोर्तेन अर्थात् गुम्बाको छायाले भेटेपछि उनीहरूमा शान्ति छाउँछ भन्ने जनविश्वास रहेको रहेछ।
गुरू सोनामले सो स्थानसम्म आइपुग्नेहरूलाई जडीबुटी राखेको कालो चिया अत्यन्त मिठो चिया नि:शुल्क पिलाउने बन्दोबस्त गरेका रहेछन्। हामीले पनि चिसोमा सो सुविधा लियौं।
सोनामले सो स्थानमा पानीको कमी भएको र आउनेहरूलाई चियाको व्यवस्था गर्दा महिनामा कम्तीमा सय किलो चिनीको आवश्यकता रहेको सो व्यवस्था आफूहरूले नै गर्ने गरेको र कुनै माध्यमबाट सहयोग नरहेको गुनासो पनि पोखे।
हामी केही समय बादलसँग लुकामारी खेलेझैं क्षणभरमै घाम लाग्ने क्षणभरमै कुहिरो आउने क्षणभरमै बादलले ढपक्क ढाकिने गरी लुकामारी खेलेर रमायौं।
ओर्लिएर नजिकैको महादेव गुफामा पनि पुग्यौं। सो गुफाका पुजारी मगर दर्लामी थरका रहेछन्। महादेवको दर्शन गरेर बिहान चार बजे हिँडेका हामी दिउँसो दुई बजे मात्र गेष्ट हाउस पुग्यौं र बस चढेर गन्तव्यतर्फ लाग्यौं।
हामी ओर्लंदै गयौं होंचा भएका पहाड अग्लिँदै गए। लुकामारी खेलेका बादलले जीवन जोसँग जोडिए पनि जोसँग नजिकिए पनि यसरी नै लुकामारी खेल्दै टाढा हुने हो भन्ने सन्देश दिएर टाढा भयो।
हिजो आफ्ना लाग्नेहरू आज टाढा हुँदा रहेछन्, कोही भौतिक रूपमा कोही मानसिक रूपमा। वास्तवमा वर्तमानसँग रमाउनु नै त जीवन रहेछ।