हिमालयको मुटुमा रहेको रहस्यमय ठाउँ मानिन्छ चेर्दुङ डाँडा। जुन रहस्य र आध्यात्मिकताले ढाकेको छ चेर्दुङ डाँडा। वर्षायाम सुरू हुने बित्तिकै हरियालीले ढाकिएको चेर्दुङको चुचुराहरूमा पाइला टेक्दा मन त्यसै त्यसै फुरूङ्ग हुन्छ।
हिउँदमा सूर्य उदाउने बित्तिकै चेर्दुङको चुचुराहरूमा स्वर्णिम किरणहरूले छाएको देख्दा जोकोही पर्यटकहरू दंग पर्ने गर्छन्। यहाँबाट आँखा नजिकै देखिन्छ गौरीशंकर हिमाल। अझ वर्षायाममा रंगीविरङ्गी फूलहरूले बाटो नै ढाकेको हुन्छ। कतिपय ठाउँहरूमा त फूलको बगैचाझैं लाग्छ। विभिन्न प्रजातिको सुनखरीले रूख नै ढकमक्क ढाकेको हुन्छ। यस्तै यस्तै प्राकृतिक सुन्दरताले न उकालो हिँडेको महसुस हुन्छ न ओरालो नै।
चेर्दुङको यही विशेषताले गर्दा वर्षायाममा पनि जाऊँ जाऊँ लाग्यो र योजना बुनेँ। योजना पत्रकार चिरञ्जीवी मास्केलाई सुनाउने बित्तिकै 'हुन्छ' भन्नुभयो।
एउटा गाडीमा ४/५ जनासम्म अट्ने भएकाले पत्रकारहरू दिलबहादुर केसी र गोकर्ण भण्डारीलाई पनि प्रस्ताव राखेँ। उहाँहरू दुवै जना हिँड्न तयार हुनुभयो।
जिरीबाट नगर उपप्रमुख कृष्णमाया बुढाथोकी हामीलाई साथ दिने तयारीमा हुनुहुन्थ्यो। तर जिरीमा पुगेर फोन गर्दा उहाँ मिटिङमा व्यस्त भएकाले समय दिन सक्नु भएन। चरिकोटबाट जिरीसम्म ५५ किलोमिटर गाडीमा गएपछि जिरीमा खाना खायौं। जिरीबाट क्याङ्से डाँडा (जेठापोखरी) सम्म गाडीमा गयौं। वर्षायामको बाटो भएकाले खाल्डाखुल्डी छल्दै अगाडि बढ्यौं। यही क्याङ्से डाँडाबाट अगाडि बढ्यौं। हामीलाई बाटोको भन्दा पनि पानीले भिजाउँछ कि भन्ने डर थियो। त्यसैले हतार हतार उकालो चढ्यौं।
चेर्दुङको विविधता छ। प्राकृतिक सुन्दरताको बयान गरी साध्य नै छैन। वर्षायाममा मेरो पनि पहिलो यात्रा हो। यही प्राकृतिक सुन्दरताले थकाइ नै मेट्यो। न पानीको प्यास लाग्छ न थकाइ नै। चेर्दुङ डाँडा पुग्नको कतै घुमाउरो बाटोहरू त कतै ठाडै उकालो। जिरी नगरपालिकाले पैदलमार्गीहरूलाई हिँड्न सजिलोको लागि पदमार्गहरू प्रशस्तै बनाएका छन्। ठाउँ ठाउँमा विश्रामस्थल र घरहरू पनि बनाएका छन्। हरियाली जंगल र अग्ला अग्ला डाँडाहरू छिचोल्दै करिब साढे दुई घण्टाको हिँडाइपछि चेर्दुङ डाँडामा पुगेपछि महादेवको दर्शन गरेँ।
यहाँ पुग्दा ३५/३६ डिग्रीको गर्मीमा बसेको ज्यानले शितलता पायो। ३७०० मिटर उचाइमा रहेको चेर्दुङमा चिसो हावा चलेको थियो। चारैतिर हुस्सु र कुहिरोले बेला बेलामा तहल्का मच्चाइरहन्थ्यो। जसले गर्दा नजिकै नियाल्न पनि हम्मेहम्मे हुन्थ्यो।
यहाँको करिब १ घण्टाको बसाइँले एक हप्तालाई पुग्ने चिसो शरीरले पाएको महसुस गरेँ। यहाँबाट टाढा टाढा रहेका हिमश्रृङ्खला, गाउँबस्ती र खोलानालालाई नियाल्न नसकेता पनि नजिकै देखिएका रंगीविरङ्गी फूलहरू, हरियाली पहाडहरू र पोखरीहरूले मनलाई एकैछिन भए पनि आनन्द दिलायो। केही छिन, केही दिन भए पनि गर्मी छल्नलाई यही सुन्दर चेर्दुङको भ्रमण गर्ने कि?
तस्बिरहरू: