जेठ २४ गते, श्रीलंकन एयरलाइन्सको विमान श्रीलंका प्रस्थान गर्यो।
हामी पत्रकारहरूको टोली काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको साढे तीन घन्टामा कोलम्बोको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौं।
अध्यागमन प्रक्रिया पूरा गरेर केही समय विमानस्थल घुम्यौं। निकै ठूलो विमानस्थलमा भीडभाड कम थियो। विमानस्थलमा हामीलाई स्थानीय संस्कृति झल्किने माला लगाएर स्वागत गरियो।
हाम्रो साथमा श्रीलंकन एयरलाइन्सका कन्ट्री-म्यानेजर निलिना पाथिरना पनि थिए। यो यात्रामा हामीलाई श्रीलकंनसँगै जेटविङ ट्राभलको पनि साथ थियो। जेटविङकै गाडी लिएर गाइड सम्पथ हामीलाई लिन विमानस्थल आइपुगे। यो दिन हामीलाई दाम्बुला सहर पुग्नु थियो। विमानस्थलबाट दाम्बुला एक सय १६ किलोमिटर दुरीमा रहेछ।
करिब चार घन्टामा हामी दाम्बुलास्थित होटल जेटविङ लेक पुग्यौं। जेटविङ श्रीलंकाको पाँचतारे लक्जरी होटल हो। स्थानीय खानाको साथमा जेटविङले पस्केको आतिथ्यता खुबै राम्रो थियो।
भोलिपल्ट हाम्रो श्रीलंका भ्रमण सुरू भयो। पहिलो पटक श्रीलंका घुम्न पुगेका हाम्रो टोलीलाई गाइड सम्पथले सहज बनाइदिए। उनी व्यावसायिक पर्यटन गाइड रहेछन्। १६ वर्षदेखि विभिन्न मुलुकका पर्यटकलाई श्रीलंकाका पर्यटकीय स्थल घुमाइरहेका रहेछन्। अन्य मुलुकको तुलनामा नेपालबाट श्रीलंका घुम्न जानेहरू कम हुने सम्पथ बताउँदै थिए। उनका लागि भने हामी पहिलो नेपाली पर्यटक रहेछौं। नेपालीहरूलाई घुमाउन पाउँदा खुसी लागेको बताउँदै थिए।
सिगिरिया अर्थात् रावणको दरबार
श्रीलंकालीहरू रावणको दरबारभन्दा पनि यो ठाउँलाई सिगिरिया भनेर चिनाउँछन्। श्रीलंकाको पर्यटकीय गन्तव्यमा सिगिरिया पहिलो नम्बरमा मै पर्ने रहेछ। युनेस्कोले पनि यो ठाउँलाई विश्व सम्पदा सूचीमा राखेको छ।
दाम्बुला सहर नजिकै मताले जिल्लामा रहेको ऐतिहासिक महत्त्व बोकेको सिगिरिया हेर्न नजिकैको पिदुरङ्गला रक चढ्नुपर्छ। यो रक चढ्न हामीले श्रीलंकाली एक हजार रूपैयाँ शुल्क तिरेर टिकट लियौं। सानो छँदा रावणको कथा सुनेका हामी रावणकै दरबार भनेर चिनिने ठाउँ पुग्दा उत्साहित भयौं।
नजिकबाट रावणको दरबार हेर्न घाम झुल्किनुअघि नै हामी पिदुरङ्गला रक उक्लियौं। झट्ट हेर्दा गुफा जस्तै देखिने चट्टानको भित्र पार गर्नुपर्ने। बाटो केही असहज थियो। एक घन्टाको ठाडो उकालोपछि देखियो सिगिरिया किल्ला।
बिहानको सूर्योदयसँगै सिगिरिया हेर्न थुप्रै पर्यटक पुगिसकेका थिए। त्यस दिन मौसम खुलेको थिएन। त्यसकारण सूर्योदय हेर्न पाइएन। तर रावणको दरबार मज्जाले हेर्न पाइयो।
क्यान्डी सहरमा टेम्पल अफ टुथ
सिगिरियाबाट करिब ७२ किलोमिटरको दुरीमा श्रीलंकाको पुरानो सहर क्यान्डी पुगिन्छ ।
यहाँ बुद्ध धर्मावलम्बीहरूको पवित्रमध्येको एक मन्दिर ‘टेम्पल अफ टुथ’ छ । बौद्धमार्गीहरूका लागि श्रीलंका ठूलो तीर्थस्थल पनि हो। आन्तरिक पर्यटकको पनि गन्तव्य हो यो। मानिसहरू आफ्नो आस्था पूरा होस् भनेर कमलको फूल बोक्दै यहाँ आवतजावत गरिरहेका थिए।
बुद्धको दाँत यही मन्दिरमा सुरक्षित राखिएको भन्ने जनविश्वास रहेछ। युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको यस पवित्र स्थलमा नेपालसहित १७ वटा देशले आ–आफ्नो देशको बौद्ध धर्म र संस्कृतिसँग सम्बन्धित संग्रहालय स्थापना गरेका छन्। यहाँ प्रवेशका लागि पर्यटकलाई एक हजार पाँच सय रूपैयाँ शुल्क लाग्ने रहेछ।
काठमाडौंको पशुपतिनाथमा सुनको गजुर राखे जस्तै टुथ रेलिक टेम्पलको छानामुनि सुनको कमलको फूल रहेछ।
नुवारा इलिया अर्थात् चियाको प्रख्यात ठाउँ
श्रीलंकाको पहाडमा रहेको सानो सहर हो नुवारा इलिया। यो ठाउँ चियाको केन्द्र मानिन्छ। चीन, भारत र केन्यापछि श्रीलंका चिया उत्पादनमा चौथो स्थानमा पर्छ। खासगरी मध्यपूर्वका देशहरू रसिया, चीन, युरोपेली मुलुकसँगै अमेरिका र जापान श्रीलंकाको चियाको मुख्य बजार रहेछ।
उच्च स्थान र ताजा हावापानी भएकाले यो ठाउँ इलामजस्तै लाग्ने रहेछ। मौसम पनि उस्तैउस्तै, छिनमै हुस्सु र कुहिरोले धपक्कै। छिनमै झलमल्ल घाम।
नुवारा इलिया पुगेर हामी ‘दाम्रो टी’ घुम्न गयौं। किसानले टिपेर ल्याएका चिया पातहरू प्रशोधन गर्दै विभिन्न प्रकिया पूरा गरेर चिया बनाइने रहेछ।
श्रीलंकास्थित चिया बोर्डका अनुसार पछिल्लो वर्ष श्रीलंकाको चियाको बिक्री ४३ प्रतिशतले बढेको छ।
यही चियामा लाखौं किसान र तिनका परिवार आश्रित छन्। चियाको ब्रान्डिङ पनि श्रीलंकाले राम्रो गरेको रहेछ।
सीता भेटिएको स्थानमा भव्य मन्दिर
इलियामा पर्यटन तानिरहेको अर्को गन्तव्य रहेछ सीताको मन्दिर।
यसलाई सीता फेला पारेको पवित्र धार्मिक स्थलका रूपमा मानिने रहेछ। यस मन्दिर इलियाबाट एला जाने सडकको बाटोमै पर्छ। यो मन्दिरमा हिन्दु धर्मावलम्वीहरूको आस्था राखेर पूजा गर्नेको भीड थियो। मन्दिर प्रवेशका लागि श्रीलंकाली एक सय रूपैयाँ शुल्क तिरेर टिकट लिनुपर्छ।
रामायण कथा अनुसार लंकाका राजा रावणले सीतालाई हरेर लगेका थिए। रामले सीता खोज्न हनुमानलाई लंका पठाएका थिए। रावणले सीतालाई ओडारमा लुकाएर राखेको अवस्थामा हनुमानले फेला पारेको बताइन्छ। त्यही ठाउँ मान्दै यहाँ आकर्षक मन्दिर बनाइएको रहेछ।
पहाडको छुकछुके रेल
श्रीलंकाको अर्को आकर्षण हो छुकछुके रेल।
क्यान्डी सहरबाट एलासम्मको ट्रेन यात्रा पर्यटकका लागि रोमाञ्चक र लोकप्रिय रहेछ। उहाँ पहाडको बाटोमा छुकछुके रेलमा करिब पाँच किलोमिटर दुरी सरर पार गर्दा फरक अनुभव भयो। एला सडकमै पर्ने रावना झरना र रावना गुफा यहाँको अर्को आकर्षण रहेछ।
समुद्रको साथमा ऐतिहासिक गल सिटी
गल सिटी र कोलम्बोमा रहेको समुद्र जल पनि यहाँको पर्यटनका लागि आकर्षक गन्तव्य रहेछन्। श्रीलंकाको दक्षिणी भागको समुद्री किनारमा अवस्थित गल सिटी ऐतिहासिक महत्त्वले भरिपूर्ण छ। गाइड सम्पथले हामीलाई यहाँको इतिहासबारे बताए। १६ औँ शताब्दीमा पोर्चुगाली शासकले यो सहर बसालेका रहेछन्। १६ औँ शताब्दीदेखि १८ औँ शताब्दीसम्म पोर्चुगाली डच र ब्रिटिसहरूले पालैपालो शासन गरेको यो इलाकामा तत्कालीन समयमा सामुद्रिक युद्धहरूमा प्रयोग गरेका किल्ला तथा युद्ध स्थलहरू देखिए।
समुद्र किनारमा ढुंगाका पर्खाल, युद्धका लागि तयार गरिएका लाइट हाउस लगायत संरचना छन्। समुद्र छेवैमा मरिनटाइम संग्रहालय पनि छ।
सडक र कोलम्बो सहर
श्रीलंकाका चिल्ला र फराकिला सडक सफा पनि रहेछन्। श्रीलंकामा आन्तरिक हवाइ सेवा रहेनछ। जति पनि भूभाग छ, सबै सडक राजमार्ग र सहरसँग जोडिएका रहेछन्। यसैले पनि श्रीलंकाले सडक पूर्वाधारमा ठूलो लगानी गरेको रहेछ। फराकिला राजमार्गका वरिपरि हरियाली पनि। श्रीलंकालीहरूले यी रूख तथा बिरूवा संरक्षण गरेर दिगो पर्यटनमा जोड दिएको गाइड सम्पथले बताए।
त्यस्तै कोलम्बो सहरमा विहार महादेवी पार्क, केलनिया राजा महाविहार, कोलम्बो फोर्ट, लोटस टावर, बेइरा ताल, कैलेश्वरम मन्दिर लगायत पर्यटकीय स्थल छन्।
हस्पिटालिटी र क्यासिनो
हामी बसेको जेटविङका होटलहरू फरक ठाउँमा फरक विशेषतासहितका रहेछन्।
यिनमा स्थानीय मौलिक र रैथाने खानाको स्वाद पाइयो। श्रीलंकाको विशेषता नरिवल रहेछ। खानादेखि अचार र चकलेटमा पनि नरिवल मिसाइएको। होटलहरूमा नरिवलकै विभिन्न परिकार पाइयो।
पछिल्लो समय यहाँ विदेशी पर्यटकको आकर्षण बनेको रहेछ क्यासिनो। कोलम्बो सिटी क्यासिनो हबकै रूपमा स्थापित रहेछ। मुख्यगरी भारत र बेलायतबाट आउने रहेछन्।
यसरी हामीले पाँच रात, ६ दिनमा कोलम्बोबाट दाम्बुला, पिदुरङ्गला रक, क्यान्डी, नुवारा इलिया, एला, गल हुँदै सडकमार्गबाट कोलम्बोसम्म फर्किँदा समुद्रदेखि पहाडको भौगोलिक विविधिता र सुन्दरता अवलोकन गर्ने अवसर पायौं।