शे-फोक्सुण्डो ताल पुग्ने कयौं मान्छेको रहर हुन्छ त्योभन्दा ठूलो सपना। यो सपना कतिपयको सपनामै सीमित भएको हुन्छ त कतिपयले सपना पूरा गर्ने मौका खोजिरहेका हुन्छन्। कतिपयले सपना पूरा गर्ने अठोटले यात्रा प्रारम्भ गरेका हुन्छन्। अन्य ठाउँको तुलनामा, अन्य सपनाभन्दा यो सपना पूरा गर्ने कार्य त्यति सजिलो पनि छैन र बाहिर चल्ने हल्लाझैं अप्ठ्यारो पनि छैन।
बस् रहरभन्दा माथि उठेर सपना पूरा गर्न मनैदेखि आँट्न चाहिँ सक्नुपर्छ। मैले पनि रारा ताल पुगेपछि देखेको एक अर्को सपना डोल्पाको शे-फोक्सुण्डो ताल पुग्ने थियो। नभन्दै त्यो सपना पूरा हुने एक समय आयो। जुन मैले खोजेकोभन्दा समयले मलाई खोजेको जस्तो उपयुक्त मौसम, साथी र मौका मिलेको थियो। त्यसैले मैले उक्त सपना पूरा गर्ने एक सुनौलो अवसर पाएँ।
सो अवसर कक्षामा साथीहरूबीच अबको हाम्रो टुर अर्थात् शैक्षिक भ्रमण तथा अवलोकन कुन ठाउँ हुने भनेर छलफलबाट सुरू भयो।
कसैले डोल्पा त कसैले मनाङ मुस्ताङ भन्न थाले। कक्षामा बढीजसोले डोल्पा जाने विचार राखे। जसले गर्दा डोल्पाको शे-फोक्सुण्डो ताल हाम्रो गन्तव्य बन्न पुग्यो। डोल्पा शे-फोक्सुण्डो पुग्नलाई अघिल्लो दिन २८ जना साथीहरू तयार भए पनि डोल्पा पुग्ने अप्ठ्यारो बाटो, चिसो मौसम, हिँड्नुपर्ने चुनौती जस्ता विविध कारण जनाएर साथीहरूले मनस्थिति बदल्दा भोलिपल्ट यात्रा गर्ने साथीहरूको संख्या घटेर २२ जना पुग्यो। यसरी नै शे-फोक्सुण्डो पुग्ने रहर गर्ने व्यक्तिहरूले जाऊँ कि नजाऊँको स्थितिमा रहेर भौगोलिक, आर्थिक, प्राविधिक, विविध कारण बनाएर योजना क्यान्सिल गर्ने गर्छन्। तर २२ जना हामीले शे-फोक्सुण्डो पुग्ने दृढ आत्मबल राखेर सुर्खेतबाट डोल्पाको निम्ति २०८१/०२/१४ गते दिउँसो २ बजे यात्रा प्रारम्भ गरेका थियौं। हामीमा शे-फोक्सुण्डो पुग्ने रहरभन्दा ठूलो सपना रहेकोे छर्लङ्ग देखिन्थ्यो।
पहिलो दिन हामी सुर्खेतबाट छिन्चु, सल्लीबजार, छेडा हुँदै जाजरकोटको तल्लु बगरमा पुगेर बेलुका बास बस्यौं।
सडक बाटो भेरी नदीको किनारतिर हुँदै बनेको रहेछ। तल्लु बगर जाजरकोटसम्म पुग्दा भेरी सुसाउँदै बगिरहेको सुनिन्थ्यो भने डाँडापाखामा हरियो पालुवा पलाएर हरियालीपन छाएको थियो। बाटोमा कतै मकै बारी देखिन्थे भने छेडाबाट अगाडि जाजरकोटतिर बढ्दै गर्दा भूकम्पले ध्वस्त पारेका संरचना त्यसका नजिकै निर्माण भएका नयाँ अस्थायी टहरा देखिन्थे।
कतै नयाँ घर निर्माण हुँदै गरेका त कतै किसान जोतखन गर्दै गरेका दृश्य देखिन्थ्यो। त्यस्तै सडक, घरका पेटीमा बालबालिका खेलिरहेका दृश्य पनि देखिन्थ्यो। यसले भूकम्प पछिको कर्णालीको यथार्थ जनजीवन तथा चित्र झल्किरहेको थियो।
दोस्रो दिन; बिहानै तल्लु बगर जाजरकोटबाट यात्रा प्रारम्भ भयो। पहिल्यै त्यहाँका स्थानीय मान्छेहरूसँग सोधपुछ गर्दा हाम्रो गाडी डोल्पा पुग्न सक्दैन होला। बाटो अप्ठ्यारो छ भनेर सुनाएका थिए। जसले गर्दा समयमै सहज गरी पुगिने हो कि होइन भन्ने डर मनमा पैदा भएको थियो। यात्रा गर्दै जाँदा तल्लु बगरबाट अगाडि बाटो पिच नभए पनि फराकिलो थियो। भेरीको नजिकै किनाराबाट निर्माण भएको बाटो हुँदा कर्णाली राजमार्ग जस्तो कुनै डर थिएन। डाँडाकाँडाको सुन्दर दृश्य देखिने, नदीको बहनको आवाज सुनिने सहज बाटो थियो। तर रूकुम पश्चिमको आठबिसकोठको त्रिवेणी बजार पुग्न आधा घण्टा अगावै एक ठाउँमा ढुंगाको पहिरो गएको थियो। उक्त पहिरोलाई हाम्रा साथीहरू र ट्रक चालक , सहचालक मिलेर ढुंगा फोडी बाटो बनाए। जहाँ हामी सवार गाडी ३ घण्टापछि त्रिवेणीतिर पास भएको थियो।
तीन दिन अगाडि त्यहाँ पहिरो गएता पनि स्थानीय सरकार तथा सडक विभागले जेसिबी लगाएर बाटो नबनाएको देख्दा कर्णालीमा राज्यको गैर जिम्मेवारीपनको हद कहाँसम्म छ भन्ने कुरा प्रष्ट झल्केको थियो।
बिहानको खाना त्रिवेणी बजारमा खायौं। त्यसपछि फेरि ठूला ठूला पहाड र भेरी नदीलाई गाडीको झ्यालबाट नियाल्दै हामी दिउँसो २:३० बजे सुलिगाड सैनिक क्याम्प डोल्पा पुग्यौं। अनि हामी गाडीबाट झर्यौं। अब भने हिँड्नुपर्ने थियो।
सुलिगाड यस्तो ठाउँ रहेछ जहाँ शे- फोक्सुण्डो तालबाट बग्ने निलो शे-फोक्सुण्डो खोला जसलाई सुलिगाड झरना तथा खोला भन्दा रहेछन्। उक्त सुलिगाड खोला र दुनैबाट आएको ठूलो भेरी मिसिने घाट थियो। जहाँ शे-फोक्सुण्डोबाट आएको निलो पानीले ठूलो भेरीको धमिलो पानीलाई निलो बनाउन प्रयास गरिरहेको देखिन्थ्यो। तर अगाडि बढ्दै जाँदा स्वच्छता पहिचान बढाउने प्रयत्न गरेको निलो रंगको पानी तलसम्म देखिन्थ्यो। त्यसपछि साथको संगतको प्रभाव भनेझैं ठूलो भेरीकै रंग बोकेर कालै, धमिलै बनेर बगेको थियो। हामिले भने निलो पानी बग्ने शे-फोक्सुण्डो खोलातिर सुलिगाडको पुल चढेर पाइला अगाडि बढ्यौं। सुलिगाड खोलाको तिरैतिरै काठका पुल चढ्दै अगाडि बढ्दै गर्दा मनै फुरूंग हुन्थ्यो। साथीभाइहरू फोटा खिच्न थाल्थे।
हामी प्रकृतिसँग रमाउँदै, आफ्नै झोलाको भरिया आफै भएर हिँडयौं। श्वासप्रश्वास फेर्न गाह्रो नहोस् भन्ने डरले चकलेट मुखमा हाल्दै कागेनी हुँदै बेलुका साङ्ग्टा पुगेका थियौं। हामी हिँड्ने बाटो फोक्सुण्डो खोलाको तिरैतिर हुँदा खोलाको उद्गम स्थल पुग्ने रहरले खुट्टा अगाडि तानेको थियो। सुलिगाडबाटै लेक लाग्छ कि भन्ने डरले चकलेट खाएर गरेको यात्रामा हामी तलबाट नै त्यसरी डराउनुपर्ने थिएन। त्यो एक भ्रम थियो। तर भ्रम भए पनि हाम्रो लागि सजगता भने अवश्य थियो। यो डर सैनिक क्याम्पका सैनिकले हाइ अल्टिच्युडले माथि शे-फोक्सुण्डोतिर मान्छे मरेको घटना सुनाउँदा उब्जेको डर थियो।
हामी साङ्ग्टा पुगेर सबै साथीभाइहरू वरिपरि बसेर काठको घरको बीचमा आगो बलेको अनि आगो ताप्दै टेबुलमा रहेको थालमा भात, सिमीको दाल, आलुको तरकारी, रायो तथा भाजीको साग , भाँगोको चट्ट चट्नी अनि गाँजर राखिएको खाना थपी थपी क्या मज्जाले खायौं। उक्त खानाले हाम्रो कर्णालीको अर्गानिक खाना निकै स्वादिलो रहेको जिब्रोले बडो सानका साथ स्वीकार गरेको थियो।
तेस्रो दिन; बिहानै हामीले ६ बजे ट्रेकिङ सुरू गर्यौं। हिड्दै गर्दा बाटोमा शे-फोक्सुण्डोबाट फर्केका पर्यटक, भरिया, यर्सागुम्बा टिपेर फर्कने व्यापारीहरू भेटिन्थे। शे-फोक्सुण्डो खोलाको स्वच्छन्द बहनलाई पछ्याउँदै हामी उक्त खोलाको तिरैतिरै छेप्का, टी हाउस हुँदै रेचिँ पुगेर खाना खायौं। बाटोमा हिँड्दै गर्दा दुनैबाट अपर डोल्पालाई मालसामान बोकेका खच्चड अनि मालसामान पुर्याएर फेरि लिनलाई फर्किएका खच्चरहरूका लस्कर भेटिन्थे।
खच्चडले सरिया, सिमेन्ट, जालि, बालुवा, चामल, ग्यास, चाउचाउ,बिस्कुट, खाने तेल, चिनी इत्यादि करिब ५० देखि ७० किलो सम्मका भारी बोकेका देखिन्थ्यो। बाटोमा शे-फोक्सुन्डो खोलाको तिरमा जाली लगाएर बाटो बनाएको देख्दा, घरका धाराहरू सिमेन्ट प्लास्टर गरेको देख्दा खच्चडले डोल्पालाई पालेको मात्र थिएन भौतिक विकास पनि दिएको झल्किन्थ्यो।
डोल्पाको निम्ति खच्चड हिँड्ने बाटो बन्नु भनेको सहरमा घर अगाडि पिच बाटो हुनु बराबरको खुसी त्यहाँको स्थानीय मान्छेमा थियो। रेचीबाट शे-फोक्सुण्डोतिर लम्कँदै गर्दा निगाल घारी, खोला, जंगल पर्थ्यो। कहीँकतै मृगहरूले बाटोबाट हाम फाल्दा हामी तर्सिए पनि नजिकबाट देख्दा बढो प्राकृतिक आनन्द आउँथ्यो।
मज्जाले हिँड्न सक्ने व्यक्ति सोही दिन शे-फोक्सुण्डो पुग्न सक्थे। मैले टिमको नेतृत्व गरेको हुँदा हाम्रा १४ जना हिँड्न सक्ने साथीहरूलाई सोही दिन अगाडि पठाएँ।
सो समूह सोही दिन बेलुका समयमै शे-फोक्सुण्डो पुग्यो। बाँकी पछाडि रहेको हिँड्न नसक्ने टोलीलाई उकालोमा हिँड्न गाह्रो हुने ठानेर झरना होटल निरको पुल नजिक पर्खी बसेँ र हामी ८ जनाको टोली सोही झरना होटलमा बास बस्यौं।
सुर्खेतको गर्मीले पोलेको शरीरले डोल्पाको शे-फोक्सुण्डो आसपासमा पुगेर चिसो हावा लिन पाउँदा आनन्दको अनुभूति भएको थियो। बढी चिसो चाहिँ नहोस् भनी तातोपानीको घुट्की लिएर चिसोलाई सन्तुलन राख्ने कार्य भने जारी राखेको थिए। सो होटलमा अन्य पर्यटकहरूसँग चिनजान गर्दै, गीत गाउँदै, नाच्दै रमाउँदै हामी बास बस्यौं।
चौथो दिन; बिहानै तातोपानी पिएर यात्रा प्रारम्भ भयो। हिजो बेलुका नै होटल साहुजी र शे-फोक्सुण्डो पुगेका साथीहरूलाई सोधेको हुँदा बाटो उकालो र अप्ठ्यारो भिर छ भन्ने कुरा जानकारीमा थियो।
चुनेवारसम्म पुग्दा सजिलो बाटो हिँडेका पर्यटकहरू त्यसपछि उकालो र भिर छ भन्ने कुराले अलि कमजोर बन्दा रहेछन्। तर पनि साथीहरूको मनोबल कमजोर नहोस् भन्ने ठानेर सजिलो छ भनी म अगाडि लम्केँ।
मसँग उकालोमा हिँड्ने सशस्त्र प्रहरी बल जुम्ला गणका एस.एस.पि सर पनि साथमा हुनुहुन्थ्यो। हामीले भारी बोकेका खच्चरका लस्करलाई पछ्याउँदै उकालो काटियौं। दुई वटा उकालो एक घण्टामै कटायौं। त्यसपछि तेर्सो अगाडि हिँड्दा सुलिगाड झरना छरछर गर्दै संगीतको लयम झरेको देखिन्थ्यो। त्यसपछि अलि अगाडि बढेको 'डेन्जर जोन' लेखेको प्लाकार्ड थियो।
करिब ६० देखि १०० मिटर सम्मको बाटो निकै जोखिमपूर्ण थियो। माथिबाट पहिरो, बालुवा जस्तो माटो झर्ने तल निस्म्मको भिर, त्यसैमा तल झरनाले छरछर स्यासुस्यासु गर्दै गीत गाइरहेको, हिँड्नलाई साँघुरो बाटो बढो कठिन थियो।
यो बाटो हिँड्दै गर्दा बल्ल डोल्पा पुगेको भान भएको थियो। यो भिर सकुशल पार गरेर अगाडि बढेपछि एक जीवन बाँचेझैं महसुस भएको थियो। साँच्चिकै भन्ने हो भने रिंगटा लाग्ने व्यक्तिलाई अन्त जताततै सहज भए पनि यहाँनिर निकै चुनौतीपूर्ण छ। यहाँनिर तल-माथि कतै नहेरी सिधा अगाडि बाटो हेरेर पाइला चाल्नुपर्छ। भिर पार गरेर अगाडि बढियो भने रिग्मो गाउँ आउँछ। जहाँ चिसो हावा चल्छ। पूर्वतिर कान्जिरवा हिमालले खिसिक्क हाँसेर स्वागत गर्छ। पश्चिम तिरको पहाडले दाँत देखाएर खित्काको हाँसोले स्वागत गर्दा क्या आनन्द प्राप्त हुन्छ।
जब शे-फोक्सुण्डो निरको हिमालयन होटल पुगिन्छ तब अघिसम्म धैर्य गरेको मुटुको धड्कन बढ्छ। जतिसक्दो छिटो शे-फोक्सुण्डो ताल हेरौं लाग्छ। हामीसँग सो दिनभरको पर्याप्त समय हुँदा पनि सटपट्ट झोला राखेर हातखुट्टा धोएर, कपडा चेन्ज गरेर म तालसँग साक्षात्कार गर्न हौसिएर अगाडि बढेँ।
अगाडि जाँदा मेरो सपनाको एक सुन्दर गन्तव्य विशाल निलो ताल पहाडहरूको बीचमा सौन्दर्यताको सुगन्ध दिएर मेरै पर्खाइमा बसेको देख्दा मलाई इन्लाइटमेन्ट प्राप्त भयो। म शे-फोक्सुण्डको मनमोहक दृश्यले विक्षिप्त भएर एक धाप स्वार्थी दुनियाँबाट एक्लै सुन्दर संसारमा हराएँ। सो दिन फाइनल्ली शे-फोक्सुण्डो पुग्ने सपनाले सफलता हासिल गरेको थियो।
चिसो हावाको वेगमा मेरो मन पनि भित्रभित्र फुरफुर गर्दै नाचिरहेको थियो। ओठका मुस्कानले, अनुहारको चम्कताले, शरीरको गतिशीलताले मैले शे-फोक्सुण्डोलाई मनभित्र सजाएर राखेको सहजै देखिन्थ्यो। त्यहाँबाट देखिने दृश्यले मात्र कहाँ त्यत्रो दुख गरी आएको तन र मनले सान्त्वना दिन्थ्यो र! अनि तालको किनारातिरै लम्किएँ। शे-फोक्सुण्डो तालको किनारा पुगेर स्वच्छ, चिसो पानीलाई छुँदै सुन्दरताको अमृत जल मुखमा छल्किँदै शे-फोक्सुण्डोको चरम स्पर्श लिन पाएँ।
बिहानको खाना खाएर दिउँसोभरी कहिले भ्यूपोइन्ट त कहिले गुम्बा पुगेर शे-फोक्सुण्डोलाई हेरेँ। शे-फोक्सुण्डोलाई जहाँबाट हेर्यो त्यहाँबाटै हेरौं हेरौं लागि रहन्थ्यो। ती विभिन्न कोणबाट देखिने दृश्य मेरा आँखाले खिचेर मन र मस्तिष्कमा जीवन्त नबिर्सने गरी सजाएर राखे। अझै पनि यादमा झल्किरहेको छ उही शे-फोक्सुण्डो ताल!
शे-फोक्सुण्डो पुगेर शे-फोक्सुण्डोलाई हेरेपछि म मात्र होइन हरेक मान्छे मन्धमुग्ध हुन्छ। शे-फोक्सुण्डोसम्म आउँदै गर्दा बाटोको दुख, महंगी, जोखिमपूर्ण भिर सबैलाई बिर्साउने चरम सुखको अनुभूति प्राप्त हुन्छ।
नदी, खोलाको तिरैतिर, पहाडै पहाडैको यात्रा गरेरे शे-फोक्सुण्डो तालमा पुग्दा कर्णालीको भौगोलिक विकटतालाई भुलाउँछ। साँच्चिकै कर्णाली सुन्दर छ भन्ने विश्वास जोसुकैलाई गराउने सामर्थ्य शे-फोक्सुण्डो तालसँग छ। वाइ आकारमा सजिएको समुद्री सतहबाट करिब ३९०० मिटरको उचाइमा रहेको, ४.८ किलो मिटर लम्बाइ, १.६ किलो मिटर चौडाइ र ६५० मिटर गहिराइ रहेको नेपालको सबभन्दा गहिरो ताल शे-फोक्सुण्डोले कर्णालीको सुन्दरता प्रकृतिको गहिराइबाट हामी जस्तै पर्यटकको हृदयको गहिराइसम्म मज्जाले देखाउँछ।
तर शे-फोसुण्डो ताललाई चिनिने अर्को नाम रिग्मो ताल हो। उक्त रिग्मो गाउँमा नै पुगेर अध्ययन गर्दा अधिकांश घरमा मान्छे थिएनन्। युवाहरू यार्सागुम्बा टिप्न अपर डोल्पा पुगेका त केही बालबच्चा काठमाडौं, नेपालगञ्जतिर पढाउनलाई पठाएको पाइयो। सधैं खच्चरले पालेर बस्नुपर्ने महंगी ठाउँबाट सहरतिर सेटलमेन्टलाई मान्छेहरूले बाटो रोजेको चित्र देखिन्थ्यो।
भिर नै भिरको बाटो खच्चरको आश र भरमा जीवन गुजार्नुपर्ने चित्र भने डोल्पाको निम्ति सामान्य जस्तै भए पनि राजधानीको जीवनयापन गर्ने शैलीको नजरबाट भयानक नै थियो। रु.२० पर्ने चाउचाउ रु.७० पर्ने, एक गिलास चिया रु.१०० पर्ने ठाउँमा पुग्दा एक छुट्टै देशमा पुगेको महसुस हामीमा थियो।
भूगोलले नेपालको ठूलो जिल्ला, जनसंख्याले कर्णालीको सबभन्दा कम जनसंख्या रहेको जिल्ला डोल्पा हो। तर महँगी झेलेर जिउनुपर्ने, नेटवर्क समस्या, राज्यबाट पाहुने सेवा सुविधाको अभाव, पहुँचविहीन भएर जीवनयापन गरेका डोल्पालीले सहरिने क्रम जारी राखे डोल्पा विस्तारै रितिँदै जानेछ। सभ्यता र समाज रितिँदै जाने संकेत इतिहासको लागि भयानक हुनेछ।
पाँचौं दिन; डोल्पाको शे-फोक्सुण्डो तालबाट साङ्ग्टा झर्ने क्रममा एक जना खच्चर मालिक तथा व्यापारी दाइसँग हिँड्दै गर्दा कुराकानी भयो।
प्रति केजी न्यूनतम ३० देखि ४०/५० सम्मको दरले शे-फोक्सुण्डो तालसम्म सामान ढुवानी गर्ने रहेछन्। खच्चरहरू भारी बोक्न र आफूलाई तल माथि हिँड्न गाह्रो हुने हुँदा आफूलाई बोक्ने घोडा साथमा हिँडाउँदा रहेछन्। उनले शे-फोक्सुण्डो झरना नजिकै पूर्वतिरको भिरमा एक गुफा देखाउँदै भनेका थिए- त्यो पारिको देखिने गुफा भीमसेन गुफा हो।
उनी सोही दिन दुनै पुग्ने योजनामा हुँदा अप्ठ्यारो भिर काटेपछि घोडामा बसेर खच्चर दौडाए र हामीभन्दा निकै टाढाको दुरी बनाउँदै अगाडि बढे। सो दिन भने हामी रेचीमा खाना खाएर साङ्ग्टा बास बसेका थियौं।
छैठौं दिन; शे-फोक्सुण्डो खोलाको तिरैतिर, घोडा खच्चरका घाँडो, घन्टीको ध्वनमा सुलिगाड हुँदै सदरमुकाम दुनै पुगेपछि। मनमा एउटा विकासको योजना फुरेको थियो। सुलिगाडबाट चुनेवारसम्म व्यवस्थित ट्रेकिङ रूट र चुनेवारबाट शे-फोक्सुण्डो तालसम्म केबलकार मार्ग बनाउन सकियो भने पर्यटन व्यवसायले ठूलो फड्को मार्थ्यो। कर्णालीले आफ्नो सुन्दरता विश्वसामु अझै चिनाउन सक्थ्यो।
औपचारिक अवलोकनको कार्य उद्देश्य अनुरूप सम्पन्न भएपछि हामीले दिउँसो २ बजे दुनै बजारबाट जाजरकोट खलंगाको निम्ति यात्रा गर्यौं। सो दिन हामी खलंगा जाजरकोट बास बस्यौं।
सातौं दिन; बिहानै उठेर जाजरकोट दरबार अवलोकन गर्यौं। जब जाजरकोट दरबारको अवलोकन गर्यौं तब दरबारलाई शिथिल र अशक्त देखियौं। जाजरकोट दरबारले राज्यबाट उपचार तथा पुनर्निर्माणको आशा बोकेर बसेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यलय जाजरकोटमा अध्यन तथा अन्तर्क्रिया गर्यौं। जहाँ भूकम्पपछि असुरक्षित बासले गर्दा जबर्जस्तीकरणी सम्बन्धी मुद्दा बढेको तथ्यांक थियो।
भूकम्पले तहसनहस पारेको जनजीवन त्यसमाथि जबर्जस्तीकरणी सम्बन्धी अपराधको बढ्दो घटनाले समाजको भयानक संकेत देखाएको थियो। त्यस्तै, बालबालिकाहरूले चोरी गर्ने, लागुऔषध सेवन तथा ओसारपसार गर्ने दर विस्तारै बढ्दै गरेको देखिन्थ्यो। जुन भूकम्पले ल्याएको भयानक स्थिति हो भन्ने कुरामा दुविधा थिएन। त्यसपछि हामीले भेरी नगरपालिकाका मेयर चन्दप्रकाश घर्तीसँग अन्तर्क्रिया गर्यौं।
स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्दैगर्दा संघीय इकाई तथा कार्यालयले हस्तक्षेप गर्ने गरेको कुरा मेयरबाट व्यक्त भएको थियो। जस्तै: आधारभूत तहको शिक्षा नि:शुल्क र अनिवार्य, माध्यमिक तहको शिक्षा नि:शुल्क संविधानले गरेको र स्थानीय तहलाई शिक्षा सम्बन्धी अधिकार रहेता पनि शिक्षक सरूवादेखि व्यवस्थापनमा शिक्षा समवन्य इकाईले प्रभाव पार्ने गरेको हुँदा संघीयताको स्वच्छ अभ्यासमा संघले प्रभाव पारेको कुरा व्यक्त गर्नुभएको थियो।
यस कुराको अध्ययनले संघीयताको अभ्यासमा कमीकमजोरीको प्रश्न उठेको थियो। सो दिन खाना खाएर खलंगा जाजरकोटबाट सुर्खेतलाई यात्रा गर्यौं र बेलुका म्याङ्गो रेष्टुरेन्ट भेरिगंगा न.पा -२ सप्तरीमा खाना खाएर वीरेन्द्रनगर सुर्खेत पुगी आ-आफ्नो घर तथा कोठातिर लागेर हाम्रो शैक्षिक भ्रमण सम्पन्न भएको थियो।
अन्ततः सुर्खेतदेखि डोल्पा शे-फोक्सुण्डो तालसम्म पुग्दै गर्दा शे-फोक्सुण्डो तालबाट देखिने कर्णाली प्राकृतिक तथा सांस्कृतिक रूपले सम्पन्न र सुन्दर देखिन्छ। तर सामाजिक जनजीविका तथा भौगोलिक कठिनाइ र भौतिक विकासको हिसाबले डोल्पा र भूकम्पको क्षतिले रूकुम पश्चिम र जाजरकोटको स्थिति भने भयानक नै देखिन्थ्यो। यसलाई विकासको ग्रीन सिग्नल दिएर सहजता दिने कार्य तथा योजना राज्यले सञ्चालन गर्नुपर्छ।
भूकम्पले शिथिल रहेकोे कर्णालीलाई आवासीय संरचनाको पुनर्निर्माणले खुसीको छुट्टै अनि छिट्टै रंग भर्नुपर्छ। जसले कर्णालीको सुन्दरतामा सुगन्ध थप्ने छ।