मानिसलाई मानसिक र शारीरिक रूपमा स्वस्थ र सक्षम हुन आवश्यक छ। यी दुवै पक्षलाई सबल बनाउन बालाजु योग केन्द्रले योग, ध्यान र प्राणायाम जस्ता क्रियाकलाप गर्दै हामी साधक–साधिकामा जुन ऊर्जा र साहस थपिदिएको छ। त्यसका लागि श्याम गुरूलाई विशेष धन्यवाद! सधैँ उही समय, उही काम र उही परिवेशलाई निरन्तरता दिँदै गर्दा हामीमा जुन दिग्दारीपन आउँछ त्यसलाई स्फूर्तिमा परिणत गर्दै ऊर्जा थप्ने हाम्रो यस बालाजु योग केन्द्रका आदरणीय गुरू जो सबैको मनमस्तिष्कमा श्याम गुरूको नामले परिचित हुनुहुन्छ।
आफ्ना हरेक कुरामा अडिक रहने गुरूको नेतृत्वमा पृथ्वी जगतका प्राकृतिक र भौगोलिक भूबनोटलाई नजिकबाट नियाल्ने अवसर पाइरहन्छ बालाजु योग केन्द्रले।
यसै सिलसिलामा २०८० फागुन २५ गते धार्मिक र आध्यात्मिक रूपमा परिचित खोटाङको हलेसी जाने निर्णयसहित हाम्रो योग परिवार उक्त दिन बिहान ६ बजे बालाजु–बाइपासबाट हिँड्यो।
एउटै गाडीमा जाने भनेर तय गरिएको यात्रा भए पनि कारणबश दुई वटा गाडीको व्यवस्था गर्नुपरेकाले गाडी चढ्ने बेलामा तँछाडमछाडको स्थिति सिर्जना भयो।
स्थितिलाई सहज बनाउँदै सानो–ठूलो गाडीमा कोही खुसी हुँदै त कोही रिसाउँदै यात्राको तय भयो। साथीहरूको ढिलाइले गर्दा गाडी केहीबेर ढिलो गरी हिँड्यो। काठमाडौंबाट भक्तपुर हुँदै गाडी नमोबुद्ध चोकभन्दा केही अगाडि एउटा सानो चउरमा गएर रोकियो। यात्राको सुरूआतमा केही नरमाइलो लागेता पनि बिस्तारै परिस्थिति सहज बन्दै गयो।
म सानो गाडीमा थिएँ र मसँगै अत्यन्तै मिल्ने साथीहरू पनि थिए। गाडीको झ्यालबाट दायाँबायाँका प्राकृतिक दृश्यलाई नियाल्दै केहीबेरमा हामी पनि गाडीबाट ओर्लेर तातो चिया पिउँदै फोटो खिच्नतिर लाग्यौं। अघि काठमाडौंबाट हिँड्दा केही मलिन अनुहारहरू त्यहाँ पुग्दा भने निकै प्रशन्न देखिन्थे।
नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण मुलुक हो। जहाँ जता गए पनि सुन्दरताले आकर्षित गरी नै रहने ती दृश्यहरू अवलोकन गर्दै हाम्रो गाडी बि.पी. राजमार्ग हुँदै हुँइकियो।
गाडी कहिले डाँडाको माथि त कहिले खोलाको किनार हुँदै अगाडि बढिरह्यो। हामीले खाना खाएका थिएनौँ। खाना बनाउने जिम्मा गाडी सञ्चालक मोहन दाइको समूहलाई भएकाले अर्को गाडी भने केही अगाडि नै थियो। हामी पनि पछिपछि नै थियौं। विस्तारै विस्तारै हाम्रो गाडीको चार्ज सकिँदै थियो। खुर्कोटमा गएर चार्जमा राख्ने ठाउँ भेटेको हुँदा हामीले करिब ४० मिनेट जति गाडीलाई चार्जमा राख्यौँ र हामी त्यहाँ वरिपरिका दृश्यहरू नियाल्न थाल्यौँ।
सुनकोशीपारि देखिएका रामेछापतिरका केही दृश्यहरू उजाड देखिन्थे यद्यपि सुनकोशीको लहरले त्यसलाई बिर्साउँथ्यो।
केही समयको बसाइँपछि गाडी चार्ज भयो र रमाइला गफ गर्दै हाम्रो यात्रा क्रमशः अगाडि बढ्यो।
शिवरात्रिको सांस्कृतिक प्रभावले हाम्रो गाडीले त्यति तीव्र गति लिन सकेको थिएन। गाडी गुडिरह्यो। पहाडी भूभाग भएता पनि सडकपेटीका दायाँबायाँका रूखहरू भने हाम्रो स्वागतका लागि नै उभिरहेको भान हुन्थ्यो।
करिब दिउँसो १२ बजेतिर हामी पनि खाना बनाएको ठाउँमा पुग्यौँ। साथीहरू सुनकोशीको चिसो हावा र पानीसँग रमाउँदै फोटो खिच्दै थिए। यत्तिकैमा बालाजु योग केन्द्रलाई यहाँसम्म ल्याउनको लागि अहम् भूमिका निर्वाह गर्नुहुने केन्द्रका अत्यन्तै शालीन, भद्र र प्रखर व्यत्तित्व श्याम गुरूको उपस्थितिले त्यहाँको रौनक नै बदलियो।
उहाँसँगै सबै जनाले थकाइलाई बिर्साउँदै नाचगानमा व्यस्त भए। वातावरण निकै रमाइलो बन्दै थियो। यत्तिकैमा मोहन दाइले खाना पाकेको सङ्केत गर्नुभयो। सुनकोशीको बगर, हल्का तातेका बालुवा र ढुङ्गा, खोलाको निलो पानी अनि पानीको बहाव र मन्दमन्द चलेको हावाको स्पर्शसँगै खाना खानुको आनन्द बेग्लै थियो।
खाना पनि निक्कै स्वादिस्ट भएकोे तारिफ सबैले गरेका थिए। सुनकोशीको किनारमा खाएको यो खानाको भिन्न स्वाद यात्राभरी नै यादगार बनिरह्यो। यो योजना तय गर्ने आयोजक टिम लगायत यसमा सहयोग पुर्याउने सबैलाई हृदयदेखि नै धन्यवाद दिन मन लाग्यो।
खाना खाएर हामी आफ्नो गन्तव्यमा पुग्नको लागि दिउँसो २ बजेतिर त्यहाँबाट हिँड्यौं। गाडी आफ्नै रफ्तारमा हुँइकिँदै थियो। गाडीभित्रका हामी भने प्राकृतिक छटाहरूलाई नियाल्दै मिठामिठा गफमा व्यस्त थियौं। गाडी कोही बेला एक्कासि झ्याप्प ब्रेक लाग्दा भने आङ सिरिङ्ग हुन्थ्यो। यसरी बाटोमा देखिएका अनेकौं दृश्यहरूलाई अवलोकन गर्दै हामी अगाडि बढिरह्यौं।
गाडीले उदयपुरको घुर्मी छोड्दै सुनकोशी तरेर ओखलढुङ्गा छोयो। ओखलढुङ्गा छुनेबित्तिकै हर्कपुर पुग्न नपाउँदै गाडीलाई फेरि चार्जमा राख्नुपर्ने भयो। गाडी चार्जमा राख्नको लागि गाडीको लाइनसँगै बेलाबेलामा बत्ती जाने समस्याले त्यहाँको गर्मी खप्दै थप केही समय बस्नुपर्ने भयो। बस्ने क्रममा चिसोसँगै केही साथीले गर्मीलाई चुनौती दिँदै तात्तातो चियासमेत पिएको दृश्यले मनमा फरक अनुभूति हुँदै थियो। बसाइँ लामो समय नै भएकाले सबै आ–आफ्नै गफमा व्यस्त थियौं।
मेरो मोबाइलमा एक्कासि फोन आयो। फोन मेरो पुरानो मित्रको थियो तर फोनले दिएको खबर भने दुःखद् थियो जुन खबर सुनेर म स्तब्ध भएँ। मन आत्तियो। कसैलाई देखाउन सकिनँ। रूँन सकिनँ। बोल्न सकिनँ। मनभरि विगतका यादहरू ताजा भएर आए। मेरा हरेक दुःखसुखमा साथ दिने अभिभावक समान देवकुमार सरको मृत्युको खबर पत्याउन निक्कै गाह्रो भयो। आँखा चिम्म गरेँ। सबै कुराहरूलाई बिर्संदै चुपचाप गाडीमा बसेँ। केही बेरमा गाडी गुड्यो। अलि ढिलो भएको कारण हामी केही डराएका पनि थियौं। गाडीले कहिले सुनकोशीलाई छोड्दै त कहिले नजिकबाट नियाल्दै आफ्नै रफ्तारमा हुँइकिरह्यो। पहाडी बाटो हुनाले मनमा कताकता डर सिर्जना हुन्थ्यो।
भिन्न र रमाइलो अनुभूतिका साथ यात्रा अगाडि बढिरहेको थियो। यस क्रममा राष्ट्रिय गीतका सर्जक व्याकुल माइलाको घरलाई तल पार्दै गाडी अगाडि बढिरह्यो। साथीहरूले अनेक किसिमका गफ गरेर हाँस्दै थिए। मेरो मन भने एकतमासको भइरहेको थियो। ठाउँठाउँमा गाडी चार्जमा राख्नुपर्ने हुनाले अर्को गाडीभन्दा हाम्रो गाडी अलि पछाडि नै थियो। हाम्रो गन्तव्य ४७३६ फिटको उचाइमा अवस्थित हलेसी मन्दिर नजिक थियो। लामो दुरीको यात्रापछि साँझ ६ः३० बजेतिर गाडी विश्रामस्थलमा पुग्यो। अगाडि जाने साथीहरूले खानासँगै बासको व्यवस्था गरिसक्नुभएको थियो। हामीले पनि त्यहाँ पुगेर आफ्नो बसाइँलाई व्यवस्थित गर्यौँ।
शिवरात्रिको दिन भएकाले केही समयको विश्रामपछि हामी पनि त्यस दिन नै हलेसी मन्दिरमा पूजा गर्नका लागि निस्कियौं। गुराँसे, तुवाचुङ, मालाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार र हरियाली छाइरहने डाँडाको काखमा अवस्थित महादेवको मन्दिर साँच्चिकै विश्वको अनौठो मन्दिरको रूपमा प्रख्यात हो भन्ने लाग्यो।
बौद्ध र हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेको यस मन्दिर परिसरमा पुग्दा वातावरण साँच्चै अनौठो र रमणीय थियो। त्यहाँ दर्शनार्थीहरूको निक्कै घुइँचो पनि थियो।
टाढाटाढाका मानिसहरू पनि त्यहाँ दर्शन गर्न आएका थिए। आफ्ना पितृहरूको आत्मशान्तिको कामना गर्दै बत्ती बाल्ने मानिसहरूको पनि उत्तिकै भीड थियो। यसरी आफ्ना पित्तृको आत्मशान्तिको कामनाका लागि रातभरि जागराम बस्दै बत्ती बाल्नेहरू, साँझ आरतीको समयमा मन्दिर परिसरमा बजेका घण्टीका आवाजहरू, बाजागाजाको धुन र मानिसहरूको भीडभाड यी सबै दृश्यहरूलाई नजिकबाट नियाल्दै गर्दा दिनभरि गाडीको यात्रा अनि त्यो थकान भुलेर हामी पनि केही समयको लागि महाशिवरात्रिको पर्व विशेषमा आत्मलिन हुन पुग्यौँ।
फागुनको अन्तिमतिर भएता पनि साँझ छिप्पिँदै गर्दा चिसोको महसुस भने भइरहेकै थियो। हामीसित गएका साथीहरू कोही निलाहार भगवान् शिवको दर्शन गर्न भनेर पुगेका थिए। त्यसैले गर्दा पनि मन्दिर परिसरमा केही समय बिताएर पुनः हामी बासस्थानतिर फर्कियौँ र खानपिन सकेर आ–आफ्नो कोठामा लाग्यौं। दिनभरिको थकानले होला सायद सबै साथीहरू छिट्टै निदाए। म भने फागुन २५ को यो साँझ पटक्कै निदाउन सकिरहेको थिइनँ।
फागुन २६ को बिहानीपख मन्दिरमा बजेको घण्टीको आवाजसँगै हाम्रो निन्द्रा खुल्यो। नित्यकर्म सकेर हामी पुनः दर्शनको लागि मन्दिर परिसर पुग्यौँ। संयोगवश सोही दिन शिला दिदी र राजु दाइको बैबाहिक वर्षगाँठ परेको हुनाले सबैले बधाईका साथै शुभकामना पनि दियौं। त्यसपछि नजिकै रहेको अद्भुत र अलौकिक गुफा हेर्नका लागि हामी तल झर्दै थियौँ। केही सिँढी ओर्लिएपछि आँखै अगाडिपट्टी पूरै डाँडाभरि नै रङ्गीविरङ्गी लुम्टाहरू फर्फराएको देख्दा साँच्चै यहाँ बौद्ध धर्मावलम्बीहरूको पनि उत्तिकै आस्था र विश्वासको केन्द्र रहेछ हलेसी भन्ने लाग्यो। वरिपरिका दृश्यहरूलाई नियाल्दै गुफाभित्र छिर्दै गर्दा लामा गुरूहरूलाई मन्त्र उच्चारणका साथ ध्यानमा लीन भएको देख्दा एकैछिन भए पनि हाम्रो मनमा पनि शान्तिको आभाष भयो।
किंवदन्तीअनुसार त्यहाँ भष्मासुरको आक्रमणबाट भगवान शिवले आफू बच्नका लागि आफ्नो त्रिशूलले जमिन छेडेर अर्को गुफामा गएको भन्ने भनाइ रहेछ। त्यहाँ पुगेर नियाल्दा हो जस्तै लाग्यो। यी र यस्तै प्राकृतिक र भौगोलिक अवस्थालाई नियाल्दै पुनः हामी काठमाडौंका लागि फर्कियौं। अघिल्लो दिन साँझ परेर नदेखिएका पहाडी भेगका भीरपाखाहरूलाई नजिकबाट नियाल्दै ठाउँठाउँका साँघुरा बाटाहरू र गाडीको तीव्र गतिको हुइँकाइले बेलाबेलामा मन सिरिङ्ग हुन्थ्यो। यसरी यी विविध क्षणको अनुभूत गर्दै हाम्रो गाडी निरन्तर गुडिरहेको थियो। जतिजति गाडी अगाडि बढ्थ्यो त्यतित्यति देशको भौगोलिक अवस्था र त्यहाँ बसोबास गर्ने मानिसहरूको जीवनशैली देख्दा मनमा कताकता देशका नेतृत्वहरूको असक्षमता प्रदर्शित भएको भान हुन्थ्यो। यसरी कतै पहाड र कतै खोलाको किनार हुँदै हाम्रो यात्रा पुनः काठमाडौँमै पुगेर टुङ्गियो।