मनको चाहना जहाँ व्याप्त हुन्छ त्यहाँ हरेक अप्ठ्यारो पनि सहज बन्छ। हो त्यस्तै भयो यो पटक थोरै समयको मातृभूमि बसाइँ।
केही समयदेखि मेरो अष्ट्रेलिया बसाइँ रह्यो तन परदेश भए पनि मन चाहिँ घरदेशमा नै रहँदोरहेछ। सन्ततिको प्रेम अघिल्तिर केही हार्न सकिँदैन। सन्तान ममताका खानी आँखाका दुई नानी उसै भनिएको पनि होइन। यति हुँदाहुँदै पनि स्वदेश र साथी संगीसँगको रमाइलोले मन आफ्नै माटोमा तानिइरहने रहेछ।
परदेश बसाइँ रहँदा पनि साथीहरूबाट कार्यक्रमको निम्ता पाइरहन्थें। यसै क्रममा साहित्यकार किशोर पहाडी, मुरारी सिग्देलसँग रारा जाने, धाप ड्याम जाने जस्ता योजना बनिरहेका थिए।
थोरै समयमा सक्नुपर्ने धेरै जिम्मेवारी र निजी कामहरू लिएर नेपाल गएकी थिएँ अति व्यस्त हुँदाहुँदै पनि हाम्रो साहित्यिक यात्राको मिति तय भयो।
हाम्रो यात्रा २०८१ वैशाख १० गते। हामी धाप ड्यामका निम्ति ६ जना साहित्यकार यात्राका यात्री बन्यौं। योजनानुसार १० गते बिहान स्कोर्पियोबाट साढे ६ बजे हाम्रो यात्रा सुरू भयो। मलाई स्वास्थ्यले त्यति साथ दिएको थिएन रातभरको ज्वरो शरीर दुखाइ हुँदाहुँदै पनि साहित्यप्रतिको प्रेमले यात्रा रोकेन र गोकर्णेश्वरको चर्चित धाप ड्याम हाम्रो मुख्य गन्तव्य बन्यो।
बिहानको समय केही खाजा खान अण्डा, चना, समोसा चिया जस्ता खाजाको पर्खाइमा बसिरहेका हामीलाई साथी उषाले मुक्तक सुनाएर अझै रमाइलो बनाइन्। हाम्रो यात्राको उद्देश्य विशुद्ध स्थान अवलोकन गर्ने भएकोले अरू रचना वाचन गरेनौं।
खाजा खाइवरी हाम्रो यात्रा अगाडि बढ्यो। बाटोमा सुन्दरीजल माईको मन्दिर आयो जीपबाट ओर्लिएर दर्शन गर्न जाने कि नजाने भन्ने चर्चा हुँदै थियो। दाजु भीमफेदियाले सेतो सिलाजीत पेटभित्र चढाइ सकियो नजाऊँ होला भनेपछि एकछिन हाँसो भयो। सेतो सिलाजित भनेको त अण्डा पो रहेछ सबैलाई चित्त बुझेछ क्यारे हामी सबैले जीप भित्रैबाट मनमनै दर्शन गरेर हाम्रो यात्रालाई निरन्तरता दियौं।
बिहानीको समय हल्का चिसो चिसोले शरीरलाई छोएर ओहोरदोहोर गरिरहेकोले मन चंगा भइरहेको थियो। वारिपारि हेर्दै गफ्फिँदै थियौं यात्रा गरेको दुई तीन घन्टा बितेपछि शरीरको पानीले बाहिर निस्कन हतार गर्न थाल्यो। दायाँबायाँ पहाड र रूखहरू बीचमा कच्ची मूल बाटो यात्रु र यात्रारत साधनको लुकामारी जस्तो गरी घरी घरी आउने जाने भइरहेको ठाउँमा शरीरको पानी हलुङ्गो बनाउने न त कुनै घरहरू न त कतै शौचालय कहीँ केही भेटिएन। मणीचुड पुग्यौं। मणीचुड उक्लन ढुङ्गाको भर्याङ्ग बनाइएको रहेछ। हामी जिपबाट ओर्लिएर शरीर हलुङ्गो बनाउन बाटोको कुना खोज्न बाध्य भयौं।
धाप ड्याम जाने बाटोमा पर्ने मणीचुड अति सुन्दर रहेछ त्यो सुन्दरताले युवा पुस्ता निकै आकर्षित बनेको देखियो, यात्रा गरिरहेका धेरै जसो युवा पुस्ता थिए। यति सुन्दर र आकर्षक ठाउँमा कतै पनि शौचालय र पिउने पानी नभेटिनु दुखद् हो। हामी मणीचुड पुग्न उकालो उक्लियौं। बाटोमा दायाँबायाँ गुराँस फुलेर मणीचुड मनमोहक बनेको रहेछ। हामी बाटोमै गुराँससँग पिरती गाँस्न थाल्यौं। हामीले गुराँसलाई कसैले हातमा, कसैले झोलामा, कसैले मुटुमा सुरक्षित गरेर उकालो उक्लियौं। माथि डाँडामा सम्म परेको चौर रहेछ। चौरलाई लुंदरहरूले दुलहीझैँ सजाएको देखेर हामी साना बालकझैँ डाँडामा उफ्रँदै, कराउँदै रमायौं। यसरी रमाउनेमा सबभन्दा धेरै त मुरारी सिग्देल थिए। उनलाई देख्दा बाल्यकालको सम्झना आँखै अघिल्तिर आएर उभियो। चौरबाट थोरै तेर्सो हिँडेपछि अति सुन्दर मणीचुड पोखरी, पोखरी छेउ सानो मन्दिर र बिसाउने पाटी थियो। पाटीमा हामीले पनि आफूलाई एकछिन बिसायौं। केही क्षण पोखरीमा रमाएर ओर्लियौं। सडकमा पुगेपछि कथाकार किशोर पहाडीले लालीगुराँस समातेर मिठो स्वरमा 'म त लालीगुराँस भएछु' भन्ने गीत गाउँदै भिडिओ बनाउन थाले। हामी मन्त्रमुग्ध भएर सुनिरह्यौं, हेरिरह्यौं र केही क्षणपश्चात् चिसापानी धाप ड्यामतर्फ लाग्यौं।
सबैको आकर्षक केन्द्र बनेको धाप ड्याम सन् २०१५ मा सुरू भएको र २०२१ मा खुला गरिएको रहेछ। खासगरी यस धाप ड्यामको निर्माण सुख्खा याममा बागमतीको पानी सुक्न गएमा यो ड्याममा जम्मा गरिएको पानी सुस्तरी छोडेर बागमतीलाई सुख्खा हुनबाट रोक्ने र बागमतीको सुन्दरता कायम राख्ने उद्देश्यले बनाइएको धाप अहिले यात्रीहरूको मनोरञ्जनको गन्तव्य बनेको छ।
ड्याम पोखरी सफा सुग्घर रहोस् भन्ने हेतुले प्लास्टिक बोतल जताततै फ्याँक्न मनाही गरिएको साइनबोर्ड र तपाईं सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ भन्ने बोर्ड राखिएको छ।
ड्याममा केही तस्बिर लिएर ड्यामको अवलोकनपछि दिउँसो दुई बजे मेलम्ची नगरपालिकाको चिसापानी पुगेर बिहानको खाना खाइवरी फर्कियौं।
फर्कंदा मुरारी सिग्देलज्यूको घरमा खाजाको आतिथ्य ग्रहण गरेर हामी बिपी संग्रहालय पुग्यौं। सुन्दरीजलस्थित बिपी संग्रहालय पुग्दा त्यहाँका अध्यक्ष परशुराम पोखरेलले सबै स्रष्टाको स्वागत गरेर केहीबेर परिचय र साहित्यिक अन्तर्क्रिया पनि भयो।
अध्यक्ष पोखरेलले 'बिपी संग्रहालय संरक्षण गर्न आफू गोठालो रहेको छु। राज्य सत्तामा पुगेपछि संगठनले यो संस्थालाई बचाउन रूचि देखाएनन्' भनेर असन्तुष्टि व्यक्त गरे।
बिपी संग्राहलय २०७२ को भूकम्पपछि पुनर्निर्माण गरिएको रहेछ। सबै सामग्री भण्डारमा राखेर निर्माणलाई निरन्तरता दिइरहेको रहेछ बिपीका सामग्री निर्माण पूरा भएपछि राखिने कुरा बताए। पोखरेल जीले संग्रहालयको अवलोकन गराउँदै त्यहाँका हरेक स्थानबारे जानकारी दिँदै हामीसँगै उनी हिँडिरहे।
२०३० सालमा अपहरणमा परी फारबेसगन्ज लगिएको प्लेन २०७० मा पश्चिम नेपालमा दुर्घटनापछि संग्रहालयमा राखिएको रहेछ। पोखरेलजीले यसरी सुनाए प्लेन अपहरणका मुख्य डिजाइनर सुशील कोइराला थिए। उनले हाँस्दै सुनाए -'रकम अपहरण पछि उहाँहरूलाई निक्कै बियर खान मन लागेछ र त्यही पैसाबाट निकालेर सुशील जीहरूले बियर खानु भएछ,' उनले हाँस्दै सुनाए।
यसैगरी 'विराटनगर जुट मिल आन्दोलनमा प्रयोग भएको डोजर, बिपीले चढेको गाडी' भन्दै आफैले स्रष्टाहरूलाई सबै अवलोकन गराउँदा हामी स्रष्टाहरू भावुक बन्यौं।
संग्रहालय वरिपरि सुन्दर बगैंचाहरू निर्माण भएको रहेछ। ठाउँ ठाउँ भित्ताहरूमा बिपीका ठूला तस्बिर र बगैंचा बीचमा बिपीका स्मारक राखिएको रहेछ।
सङ्ग्रहालयभित्र बिपीले जेल जर्नल, आत्मकथा लेख्दा बसेका कपुरको विशाल वृक्ष देख्दा बिपीलाई सम्झिएर मन साँच्चै नतमस्तक बन्यो।
बिपी संग्रहालय अवलोकनपछि पोखरेलजीलाई हृदयत: धन्यवाद दिएर हामी फर्कियौं। फर्कने क्रममा गोकर्णेश्वर महादेवछेउस्थित हास्यव्यङ्ग्य लेखक भैरव अर्यालले जीवनलीला समाप्त गरेको ऐतिहासिक खोंचको अवलोकन गर्न पनि छुटाएनौं।
अर्याललाई सम्झिएर गह्रौं मन लिएर फर्कियौं। अब भने हामी स्रस्टा छुट्टिने समय भएकोले आआफ्नो स्थान पुगी एक एक गरी छुट्टियौं।
यात्रा हो मीठा नमीठा र भावुक बन्ने त भई नै हाल्छ र यात्रामा ढुङ्गा, माटो, फूल, बतास, आकाश, जमिन सबै चिजहरूसँग मन यसरी जोडिन्छ कि प्रत्येक यात्राले हृदयमा घर गरेर बसिरहन्छ।