थाइल्यान्डमा गत एक वर्ष बिताउँदा मैले नेपाल र थाइल्याण्डको तुलना कहिल्यै गरिनँ किनभने दुवै देशको परिवेश एकदमै फरक छ तर थाइल्याण्ड, भियतनाम, कम्बोडिया र चीनको सिमाना जोडिएको भूपरिवेष्ठित देश लाओसको यात्राले मभित्र आफै एउटा तुलनात्मक भाव सृजना भयो।
लाओसको यात्राले त्यहाँको विकासलाई नजिकैबाट नियाल्ने अवसर प्राप्त भयो र नेपाल र लाओसबीच भएका समानता र विविधताबीच तुलना गर्न पुगेँ।
भौगोलिक क्षेत्रफलका हिसाबले लाओस नेपालभन्दा ठूलो छ तर जनसंख्याका हिसाबले नेपालको जनसङ्ख्या ठूलो छ।
लाओस एक दलीय कम्युनिस्ट राज्य हो तर नेपाल र लाओसबीच समानताहरू साझा गर्दा दुवै देश भूपरिवेष्ठित साना देश हुन् र दुबै देशको सिमाना शक्तिशाली राष्ट्रहरूसँग जोडिएको छ। पर्यटनको दृष्टिकोणले दुवै देशसँग आकर्षक पर्यटकीय गन्तव्यस्थल छन् तर प्राकृतिक सम्पदा र हावापानीको कुरा गर्ने हो भने लाओसको तुलनामा नेपाल अग्रस्थानमा छ।
हाम्रो यात्रा बैंककबाट थाइल्यान्ड र लाओसबीचको सीमावर्ती सहर नोङ खाईसम्म रातभरको रेल यात्राबाट सुरू भयो।
नोङ खाईबाट हामी लाओसको राजधानी, भेन्टियानमा प्रवेश गर्यौं।
काठमाडौंको तुलनामा भेन्टियानमा फराकिलो सडक, राम्ररी मर्मतसम्भार गरिएका भवनहरू देखेँ तर अचम्मको कुरा भेन्टियानमा मैले कहीँकतै पनि सुकुम्बासी बस्तीहरू देखिनँ तर काठमाडौंका लागि यी क्षेत्रहरू सामान्य दृश्य हुन्।
भेन्टियानबाट हामी दूर्त मार्ग हुँदै २ घण्टामै मुआङ फुआङ पुग्यौं र सुरूका केही दिन हामीले त्यहाँका शान्त मन्दिरहरू, मुआङ फुआङ र नामलिक नदीको मनमोहक आकर्षण र वाङ भिएङको मनमोहक परिदृश्यहरूको आनन्द लिँदै बितायौं।
सोङक्रान (जुन थाइल्याण्ड, लाओ, म्यानमार, कम्बोडियासहित धेरै देशहरूको नयाँ वर्ष हो) को बेलामा यी देशहरूमा आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमनको चाप बढ्छ।
हाम्रो भ्रमण पनि यही सोङक्रानको समयमा भएको कारणले हामीले लाओस-चीन उच्च-गतिरेल जसले लाओसको राजधानी भेन्टियानलाई चीनको युनान प्रान्तको उत्तरी सिमानामा रहेको बोटेनसँग जोड्छ त्यसको टिकट पाउन सकेनौं।
त्यसकारण हामीले भांग भिएङदेखि लुआंग प्राबाङसम्मको भ्यान रोज्यौं। भ्यानमा चढ्ने बितिकै मेरो सम्झनाले मलाई तुरून्तै नेपाल फर्कायो। धुलो सडक, बिग्रेको गाडी, गाडीभित्र मान्छेको कोचाकोच, गर्मी पनि त्यस्तै– त्यो अवस्था एकदमै परिचित लाग्यो।
रेलको ४५ मिनेटको आरामदायी यात्रा हाम्रो लागि भ्यानमा १० घण्टा लामो संघर्षपूर्ण यात्रा बन्यो अझ कतिपय उकालो बाटोमा भ्यान उकालो चढ्न सकेन भनेर भ्यानबाट ओर्लिएर केहीबेर हिँड्नु पनि पर्यो।
त्यो अनुभवले मलाई लाओसमा हाई स्पीड ट्रेन हुनुका धेरै फाइदाहरू महसुस गरायो। युनेस्कोको विश्व सम्पदास्थल लुआंग प्रावाङमा सडकमा कष्टकर दिनको सट्टामात्र ४५ मिनेटमा पुग्ने कल्पना गर्नुहोस्।
यो सुविधा पर्यटकहरूका लागि महत्त्वपूर्ण आकर्षण हो, यदि यस्तो सुविधा नेपालमा हुने हो भने नेपाल आउने पर्यटकको संख्या एकदमै तीव्र गतिमा बढ्नेछ र यसबाट नेपालले धेरै फाइदा लिन सक्छ।
अचम्मको कुरा, भ्यान र हाई-स्पिड ट्रेन बीचको मूल्य भिन्नता ठूलो थिएन। नेपालमा, हवाई भाडा, हेलिकप्टर सवारी, र भ्यान यात्रा बीचको अन्तर एकदमै धेरै हुन्छ, जसले वैकल्पिक विकल्पहरू बजेट यात्रीहरूका लागि कम पहुँचयोग्य बनाउँछ।
यो पहिले फ्रान्सेली उपनिवेश थियो। २० औं शताब्दीको अन्तमा समाप्त भएको फ्रान्सेली उपनिवेशले लाओसमा आफ्नो उल्लेखनीय छाप छोडेको छ।
फ्रान्सेली उपनिवेशको अवधिमा लुआंग प्रावाङ देशको राजधानी थियो त्यसैले त्यहाँका भवनहरूमा अझै पनि सुन्दर फ्रान्सेली औपनिवेशिक वास्तुकला देखिन्छ। लाओसमा लगभग सबै भवन, क्याफे र होटलहरूको नाम लाओटियन र फ्रेन्च भाषामा देख्न सकिन्छ अझ पुरानो पुस्ताका मानिसहरू फ्रेन्च भाषा राम्रोसँग बोल्न पनि सक्छन्।
लुआंग प्रावाङबाट भेन्टियान फर्किंदा चाहिँ हामीले हाईस्पिड ट्रेनको टिकट पायौं र केवल २ घण्टामै भिएन्टियान पुग्यौं। यात्राभरि मैले सोचिरहेँ, नेपालमा यस्तो पूर्वाधार विकास कहिले होला?
मनमोहक हिमालय र विविध संस्कृति भएको नेपालले पर्यटकलाई आकर्षित गर्ने अपार सम्भावना छ। उच्च गतिको रेल, द्रूत मार्ग, सुधारिएका पूर्वाधारले थुप्रै प्राकृतिक सौन्दर्यले भरिपूर्ण दुर्गम क्षेत्रहरू खोल्नेछ, जसले पर्यटकहरूलाई ती ठाउँहरू भ्रमण गर्न र नेपालको विविध परिदृश्यहरू अनुभव गर्न सजिलो बनाउने छ।
लाओसको मेरो यात्रा रमाइलो र सम्झनाले भरिएको थियो तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो एउटा भोगाइ र सिकाइ थियो।
नेपालमा लाओसजस्तै सुन्दर दृश्य र संस्कृति छ, तर पर्यटकका लागि अझै सहज सुविधा छैन, सुविधाको लागि मूल्य पनि धेरै उच्च छ। त्यसैले नेपालले पर्यटकका लागि यात्रा सहज र सस्तो बनाउन आवश्यक छ किनभने अधिकांश ब्यागप्याकर पर्यटकहरू सीमित बजेटमा आउँछन् र उनीहरू यात्राको लागि मात्र ठूलो रकम खर्च गर्न चाहँदैनन्। पर्यटक भन्ने बित्तिकै डलरको वर्षा हुन्छ भन्ने जस्तो नेपाली मानसिकताबाट माथि उठ्न सकियो भने मात्र नेपालमा पर्यटन विकास सम्भव छ।
अन्तत: पर्यटनका लागि लाओसजस्तै नेपालले पूर्वाधार विकासका लागि छिमेकी मुलुकसँगको साझेदारी अगाडि बढाउनु पर्छ यसले देशमा पर्यटन सेवालाई थप प्रभावकारी बनाउन सक्छ।