पहाडको प्राकृतिक छटा, लेकबस्तीको स्वाभलम्बी अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरूको कथा चिनाउने माध्यम बनेको मिलेनियम ट्रेक अर्थात् सहस्राब्दी पदयात्रा अहिले धेरैको रोजाइमा पर्न थालेको छ।
तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर लामो पदयात्रामा गुरूङ र मगरको संस्कृतिसँगै विभिन्न इतिहास, परम्परा, गाउँले जीवनशैलीका साथै भूगोल जान्ने अवसर पनि हो।
पदयात्राका क्रममा लाहुरबाट फर्किएर डाँडामा जीवन बिताइरहेका बुढापाकाहरू र रोजगारीको खोजीमा युवाहरू सहर र विदेश पुग्दा रित्तिएका गाउँ बस्तीका कथा पनि सुन्न पाइन्छ।
‘पानी र जवानी पहाडमा टिक्दैन’ भनेझैं पहाडमा युवाहरूको सङ्ख्या घट्दो देखिन्छ। यद्यपि देशमै केही गर्छु भनी वैदेशिक रोजगारबाट फर्केका युवाहरू पनि कतै–कतै भेटिन्छन् पनि। यो पदमार्ग नेपालको ग्रामीण समाज एवम् सभ्यताको चिनारी बुझ्नका लागि र प्राकृतिक एवम् संस्कृतिक सुन्दरतामा रमाउनका लागि उपयुक्त गन्तव्य हो भन्न सकिन्छ।
देशभित्र र विदेशमा यस पदमार्ग गुरूङ तथा मगर संस्कृति बुझ्नका साथै मध्य नेपालका पहाडको प्राकृतिक सुन्दरतामा रमाउनका लागि उपयुक्त विकल्पका रूपमा प्रचारप्रचार पनि भइरहेको छ। यस पदमार्गमा यात्राका क्रममा कान्जिरोवा, धौलागिरी, अन्नपूर्ण, मनास्लु र गणेश हिमशिखर एवम् विभिन्न पर्वतहरूको अवलोकन गर्न सकिन्छ।
करिब चार सय मिटरदेखि एक हजार आठ सय मिटरसम्मको उचाइमा पर्ने यो पदमार्ग अत्यन्तै सुमधुर पदमार्गमा पर्दछ। हिन्दू, बौद्ध र बोन धर्महरूको अभ्यास र प्रचलनलाई नजिकसँग बुझ्ने मौका समेत यस यात्राका क्रममा गर्न पाइन्छ।
पदमार्गको अधिकांश हिस्सा विकट स्थानबाट गुज्रिए पनि कहीँ कतै मोटर गुड्ने बाटो पनि भेटिने हुनाले आकस्मिक परिस्थितिका लागि पनि गाडीको सहजै व्यवस्थापन गर्न सकिन्छ।
पदयात्राका क्रममा १० वर्षे जनयुद्धका क्रममा मुलुकले भोगेको घटनाक्रम पनि बुझ्न सकिन्छ। साथै राजनीतिक विकासक्रमलाई बुझ्न पनि यो पदमार्ग गन्तव्य बन्न सक्छ।
पाका पुरानाहरूबाट तत्कालीन समयमा भीडन्तका कथाहरू सुन्न पाइन्छ। त्यति मात्रै होइन स्याङ्जास्थित माझकोट मनकामनाबाट देखिने मनमोहक दृश्यले सबैको मन लोभ्याउँछ। संघीयता विकासपछि तीन वटै तहका सरकारले गरेको विकासलाई नजिकबाट नियाल्न सकिन्छ।
पूर्वाधार विकासमा भएको लगानीबाट बनेका मोटर गुड्ने बाटो, लिफ्टिङ प्रविधिमार्फत् पानीको आपूर्ति र २४ सै घण्टाको विद्युत् आपूर्तिका कारण गाउँमा पुगेको सुविधाले आएको परिवर्तनबारे जानकारी लिन पाइन्छ।
पदमार्गमा झरना, खोला, गुफा, मन्दिर एवम् विभिन्न भ्यू प्वाइन्ट लगायतका आकर्षक पर्यटकीय गन्तव्यले थकाइ महसुस गर्न दिँदैनन्।
मिलेनियम ट्रेककै नाममा नामकरण गरिएको मिलेनियम गुफा, कैलाश गुफा जस्ता साना ठूला रमणीय गुफाहरू पदमार्गमै पर्छन्। बाइसे र चौबीसे राज्य हुँदाका दरबारहरू र कोट तथा किल्लाका भग्नावशेषहरू पनि पदमार्गमा अवलोकन गर्न पाइन्छ।
नेपालको आधुनिक इतिहास खण्डमा नै बाइसे–चौबीसे राज्यकाबीच हुने निरन्तर युद्ध र आक्रमणका कारण यी क्षेत्रका डाँडाहरूमा धेरै दरबार तथा किल्लाहरू बनाइएका थिए।
आज ती दरबार, कोट र किल्लाहरू सबै यस पदमार्गबीच ऐतिहासिक धरोहरको आकर्षणको भएर ठडिएको छ। यी ऐतिहासिक र पुरातात्विक महत्वका यी भग्नावशेषहरूलाई क्रमागत रूपमा स्थानीय जोडबलमा संरक्षण गरिँदै आइएको छ।
पदमार्गमा लोभ्याउने यस्तै ऐतिहासिक दरबार हो भिरकोट दरबार।
नेपालको आधुनिक इतिहासमै सफल कूटनीतिज्ञ मानिने ऋषिकेश शाहसँग जोडिएको यस भिरकोट दरबारको भग्नावशेषहरू आज पनि देख्न र छुन सकिन्छ। राज रजौटा उन्मूल पूर्व राजकाज नै सम्हालेका हुनाले यस ठाउँका बासिन्दाहरू विशेष आत्मीयता राख्छन्। माथिल्लो किल्लाबाट स्थानान्तरण गरी तल्लो फाँटमा लगेर ऋषिकेश शाहले नयाँ दरबार स्थानान्तरण गरेको भन्ने तथ्य स्थानीयहरूले भन्न छुटाउँदैनन्।
हरिया पहाडको अत्यन्तै मनमोहक दृश्यावलोकन गर्न पाउनु यो पदमार्गको विशेषता नै हो। पदमार्गका कैयौं ठाउँमा चट्टानै चट्टानले बनेका भिरहरू देख्दा जो कोहीको आङ जिरिङ् हुन्छ। साहसिक पर्यटकका लागि गरिने प्याराग्लाइडिङ, क्यानोनिङ र रक क्लाइम्बिङ जस्ता गतिविधि पनि पदमात्रामा प्रशस्तै भेटिन्छन्।
हाल व्यावसायिक रूपमा यस्ता गतिविधि नभए पनि साहसिक पर्यटन पारखीहरू भने ठाउँठाउँमा रमाइरहेको देख्न सकिन्छ। भिरकोटको कोखे झरना र भिरकोटकै केगा देउरालीबाट हुने प्याराग्लाइडिङ जस्ता साहसिक पर्यटकीय गतिविधिमा रम्न सकिने स्थानका रूपमा विकास हुँदै गइरहेको देखिन्छ। यस क्षेत्रमा चाँडै नै यसले व्यावसायिक रूप लिन सक्ने पनि देखिन्छ।
पदमार्गमा साइक्लिङ तथा मोटरबाइक एड्भेञ्चरका लागि समेत उपयोगी छ। केही वर्ष पहिले पनि यस पदमार्गमा साइक्लिङ प्रतियोगिता समेत गरिएको थियो। त्यसैले पनि नेपाल आउने विदेशी पर्यटकमाझ पदमार्गमा यात्रासँगै साहसिक गतिविधिमा समेत संलग्न गराउन सकिने यथेष्ट सम्भाव्यता छ।
यो पदमार्ग ‘बर्ड वाचिङ’ का लागि उच्च कोटीमा पर्दछ। त्यसो त सबै खाले पदमार्ग बर्ड बाचिङ्गका लागि अत्यन्तै उपयुक्त भए पनि तनहुँको रायपुरबाट सुरू हुने बर्ड बाचिङ क्षेत्र विशेष मानिन्छ। स्याङ्गजाको भैँसैगौडा र चन्द्रकोट पनि बर्ड वाचिङ्गका लागि उपयुक्त थलो मानिन्छ।
एक हजार चार सयदेखि एक हजार आठ सय मिटरसम्मको उचाइमा रहेका टाकुरामा समेत चराचुरुङ्गीको चिरबिर, उनीहरूको लोभलाग्दो रङ्ग र आकार नजिकैबाट देख्दा हरकोही मन्त्रमुग्ध नै हुने गर्दछन्।
पदमार्गको अर्को आकर्षण हो, होमस्टे ट्रेक।
यस पदमार्ग प्रायः गुरूङ समुदायको बसोबास पर्छ। स्याङ्गजा नेपालको ग्रामीण पर्यटन तथा होमस्टे सुरूआत गर्ने अग्रणी जिल्लामा परिचित छ। यही घरबास अर्थात् होमस्टे यस पदमार्गको सबभन्दा महत्वपूर्ण पक्ष हो।
विशुद्ध गुरूङ तथा मगर बासस्थानमा पाउने आतिथ्यताले पदयात्रालाई विशेष बनाउँछ। प्रायः विदेशीहरू यही संस्कृति र जीवनशैलीमा रम्नकै लागि भए पनि यस पदमार्गमा आउँछन्। स्थानीय अग्र्यानिक उत्पादनबाटै पर्यटकलाई खानपान गराइन्छ। स्वदेशी होस् या विदेशी यस प्रकारको स्वच्छ अन्न खान पाउँदा खुसी नै हुन्छन्।
पदमार्गमा पर्ने चन्द्रकोट होमस्टे र साँधखोला होमस्टेमा देखाइने विभिन्न साँस्कृतिक नृत्यु र गीतले पदयात्राको थकान मेटाउँछ। सोराठी, घाटु नाच, सालै जे, झ्याउरे, झोर्रा नाच, कौडा नृत्य तथा कृष्ण चरित्र जस्ता संस्कृतिलाई यो मिलेनियम ट्रेकमार्फत् नजिकैबाट अवलोकन र अनुभव गर्न सकिन्छ।
गाउँले परिवेशको जीवनशैलीलाई नियाल्न त्यसैले मिलेनियम ट्रेकले छुट्टै नाम कमाएको छ।
स्याङ्गजाको कोल्माकोट र भैंसेगौडा तथा सुन्तलाबारी–गहते जस्ता स्थलमा मिलेनियम ट्रेक पदयात्रामार्फत् आउने पर्यटकका साथै स्थानीयहरु पनि राम्रो उपस्थिति हुने गरेको पाइन्छ। यसको ज्वलन्त उदाहरण हो स्याङ्गजाको कोल्माकोट जुन व्यावसायिक रूपमा फस्टाउँदै गएको हुनाले निजी तवरबाट आधुनिक तथा सुविधायुक्त लज तथा होटलमा समेत लगानी भएको छ।
पदयात्रीलाई लक्षित गरी स्याङ्गजाकै भैँसेगौडामा सामुदायिक होमस्टे भवन बनाएर अत्याधुनिक लज सरह सुविधायुक्त बासको दिइरहेको पाइन्छ। पदमार्गको विभिन्न स्थलमा विकट गाउँदेखि आधुनिक सुविधायुक्त घरबासको व्यवस्था छ।
नेपालभित्रको प्रथम मिड हिल ट्रेकका रूपमा विकसित यस मिलेनियम ट्रेकको सामुदायिक स्तरमा सकारात्मक प्रभाव छाड्न सफल भएको छ।
पदमार्गका विभिन्न गाउँहरू पर्दछन्। यद्यपि सीमित गाउँहरू मात्र मिलेनियम ट्रेकमा आबद्ध छन्। मिलेनियम ट्रेकसँग आबद्ध भएसँगै व्यापार र आयस्रोतको बाटो मात्र खुलेको छैन यसले गर्दा सरसफाइमा ध्यान दिने, पाककला तथा शैलीमा रूपान्तरण गर्ने र विदेशी भाषा समेत सिक्ने मौका गाउँ लेकका बासिन्दाले ज्ञान पाएका छन्। मिलेनियम ट्रेकसँग जोडिएसँगै पर्यटकीय पूर्वाधार विकासका निम्ति स्थानीय सरकार र प्रदेश सरकारको समेत नजरमा पर्ने भएको हुनाले जनस्तरमा यस पदमार्गको प्रभाव निक्कै सकारात्मक परेको देखिन्छ।
यसैगरी पदमार्ग भएर गुज्रने विभिन्न छहरा तथा झरनामा क्यानोनिङ र विभिन्न भिर र पाखाहरूमा रक क्लाइमिङ जस्ता साहसिक पर्यटन गतिविधि समेत भइरहेको पाइन्छ। प्याराग्लाइडिङ पनि यस ट्रेकमा पर्ने अर्को विशेषता हो।
ढोरफिर्दी–माझकोट मनकामना ग्रामीण पर्यटन विकास समितिलाई सन् २००० मा हालका राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गरिएपश्चात यस पदमार्गको नामकरण मिलिनयम ट्रेक गरिएको हो।
यस पदमार्गले सन् २०२५ मा रजत जयन्ती मनाउन लागेको छ। सशस्त्र जनयुद्धकालको बीचमा सुरूआत भएको यो पदमागको प्रवर्द्धनमा त्यसपछिका दिनमा केही कम भएको समेत पाइन्छ। यद्यपि निरन्तरको प्रयास र दृढतामा जुझ्ने समुदायहरूले आजको दिनसम्म यस पदमार्गलाई सफल पार्न लागिपरेका छन्।
विदेशी पल्टनबाट अवकाश लिएर फर्केका लाहुरे–बादेखि वैदेशिक रोजगारको अनुभव बटुलेर 'गाउँमा नै केही गर्छु' भन्ने युवाहरूका लागि मिलेनियम ट्रेक टुरिजम डलर कमाउने अवसरका रूपमा बढेको छ। कूल ७२ किमी लामो यस पदमार्गले दिने मनमोहक अनुभव जिन्दगीभर यादगार रहने गरी छाप बसाउन सफल नै रहेको छ।
पदमार्गले सरकारी र निजी दुवै स्तरबाट विश्व बजारमा सगरमाथा र अन्नपूर्ण पदमार्गको जस्तै बजारीकरणको अपेक्षा गरेको छ। रासस