नियात्रा
धेरैले जीवन यात्रा हो भन्दछन्। तर मलाई यात्रा जीवन हो भन्न मन लाग्छ। किनकि यात्राले जीवन जिउने तौरतरिकाका नयाँ–नयाँ किस्सा सिकाएको हुन्छ। यात्राका क्रममा हरेक ठाउँ, परिवेशका बारेमा अध्ययन–अनुसन्धान र त्यसमा प्रकृतिले दिएका अनेकन सौन्दर्यको आनन्दानुभूति र अनुभव बटुल्न सकिन्छ। व्यक्तिगत, संस्थागत, पारिवारिक लगायत यात्राका प्रबन्ध पनि अलग नै हुन्छन्। मैले यतिखेर पछिल्लो साहित्यिक टोलीसँगको छरितो यात्राका टिपन–टापन सम्झनाहरू शब्दमा उन्ने आँट गरेको छु।
१. साहित्यिक यात्रा
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले २०८० पुस २७–२८ मा खुला साहित्यिक यात्रा सम्पन्न गर्यो। यात्राका लागि सबैलाई पूर्व सूचना गरिए पनि अनुकूल नमिलेर हो या निजी लगानीको यात्रा भएर हो टोली छरितो बन्यो। भ्रमण टोलीमा हामी १ दर्जन मात्र भयौं।
दुई दिने साहित्यिक यात्रा टोलीमा विभिन्न पेसा र क्षेत्रमा आबद्ध सदस्यहरू सहभागी हुनुहुन्थ्यो। यात्राको अवधिभर हामी साहित्यिक प्रश्नोत्तर, चकलेटी क्विज र विभिन्न प्रसङ्गका रोमाञ्चक कुरामा होस्टेमा हैंसे गर्दै हाँसो ठट्टामा व्यस्त भयौं। हाम्रो औपचारिक यात्रा पुस २७ गते बिहान ५ बजे पाल्पाको तानसेन नगरपालिका–३ मा रहेको सित्तलपाटीबाट सुरू भयो।
प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मी, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह, प्रतिष्ठानका उपाध्यक्ष रोहित ज्ञवाली, पाल्पा साहित्य समाजका सदस्य रामजी ढुङ्गाना, प्रतिष्ठानका सदस्य तथा पत्रकार, साहित्यकार भोजराज भट्टराई, साहित्यकार आयाम कार्की, गम्भीर रायमाझी सहयात्री हुनुहुन्थ्यो। यात्रामा नयाँ पुस्तालाई केही अनुभव बटुल्ने अवसर जुटोस् भन्ने हेतुले अभिनवपुस्ताका बालसाहित्यकार राजिव गोपाल सिंह, एलिसा रेग्मी, अस्तित्व रेग्मी, आविष्कार भट्टराई र गृष्मा रायमाझीलाई सहभागी गराइएको थियो। चालक शिव घर्तीमगरले यात्रा धेरै सहज बनाइदिनुभयो।
२. स्याङ्जा मिर्दी र साहित्यकार शम्भु अर्याल
सित्तलपाटीबाट करिब २ घण्टाको यात्रामा हामी स्याङ्जाको वालिङ पुग्यौं। चिसो मौसमले होला सडक वारिपारि सिरेटो र फाँको (तुवाँलो) कायमै थियो। झिसमिसे अँध्यारोमै सित्तलपाटीबाट हिँडेका हामी वालिङ पुग्दासम्म फाँको फारिसकेको थियो। वालिङ् पुग्नुअगाडि हामी स्याङ्जाको तस्वीर खिच्नको लागि भाइरल बनेको ठाउँ भालुपहाडलाई पृष्ठमा राखेर तस्वीर खिचिसकेका थियौं।
वालिङ न.पा.–६ मिर्दी बजारको बीचमा अर्यालको नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेण्ट छ। साहित्यकार शम्भु अर्याल शब्दलाई सिल्पी शैलीमा उनेर लेख्ने युगचेत भएका असल साहित्यकार हुनुहुन्छ। अर्याल वैकल्पिक बाटो पृथक पाइलाका अभियन्ता समेत हुनुहुन्छ। अर्याल निबन्ध र कवितामा विशेष कलम चलाउनुहुन्छ। अर्यालका ‘मौन आवाज’, ‘सेतो सुनाखरी’ लगायतका कृति प्रकाशित छन्। अर्यालले रेष्टुरेण्टको सिरान तलामा साहित्यिक पुस्तकसहित कार्यक्रम गर्ने सभाहलको राम्रो प्रबन्ध गर्नुभएको रहेछ।
वर्तमानमा व्यवसायमा परेको समस्या, यस क्षेत्रको पर्यापर्यटन र भौगोलिक आकर्षणका बारेमा अर्यालले सहभागी साथीहरूलाई बेलिविस्तार लगाउनुभयो। साहित्यकार शम्भु अर्यालसँग साहित्यिक भलाकुसारी, कृति साटासाट, चियापानपश्चात त्यहाँबाट बिदा भयौं।
३. हेमराज पहारी प्रतिष्ठान र रिता पहारी
केही समयको यात्रापश्चात् हामी पोखरा पुग्यौं। पोखरा लेकसाइडमा हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रिता पहारी हाम्रो स्वागतमा जुट्नुभयो। त्यहाँ साहित्यिक विमर्श, कृति साटासाट, भोजन र केही यात्राका सन्दर्भ जोडेर गफियौं।
पोखरा–५ बैदाममा रहेको साहित्यिक संस्था हेमराज पहारी स्मृति प्रतिष्ठानले पहारीको स्मृतिमा उहाँका कृति र योगदानको प्रचारप्रसार एवम् नेपाली वाङ्मयको सेवामा योगदान गर्ने उद्देश्यले हेमराज स्मृति पुरस्कार प्रदान गर्दै आएको छ। प्रतिष्ठानकी अध्यक्ष रिता न्यौपाने (पहारी) का अनुसार उक्त पुरस्कारको राशी नगद एक लाख र ताम्रपत्र रहेको छ।
पोखरा–६, लेकसाइडमा जन्मिनु भएका साहित्यकार हेमराज पहारीको यात्रा संस्मरण ‘उत्तरी गोलार्धको एक फन्को’ कविता सङ्ग्रह ‘देशको अभिभारा’ र हेमराज पहारीका गीतहरू लगायतका कृति प्रकाशित छन्। साहित्यकार एवम् पर्यटन व्यवसायी हेमराज पहारीको बारेमा योगदानको चर्चा र पोखरा क्षेत्रमा रहेर साहित्यिक गतिविधिलाई चलायमान बनाउन सक्रिय रिता पहारीले विशेष भूमिका खेल्नु भएको छ। सक्रिय, सहयोगी र सरल स्वभावकी रिता पहारी एक अनुकरणीय व्यक्तित्व भएकी नारी साहित्यिक अभियन्ता हुनुहुन्छ।
४. पोखरामा रानीमहलको झल्को मेटाउने पाल्पा हाउस
व्यक्तिगत, पारिवारिक र साथीहरूसँग म धेरै पटक पोखरा पुगेको छु। यसपालि साहित्यिक यात्रा भएकोले पोखराको यात्रा अलि फरक प्रकृतिको रह्यो। हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रिता पहारीसहित हामी पोखरा न्यरोडमा रहेको पाल्पा हाउस पुग्यौं। पाल्पामा जन्मभई विभिन्न पेशा व्यवसाय र जागिरको सिलसिलामा पोखरा पुगेका पाल्पाली व्यक्तिहरूले पोखरा न्यूरोडमा पाल्पा हाउस स्थापना गर्नुभएको छ। पोखरामा रहेका पाल्पालीहरूले पाल्पाली समाज पोखरा गठन गरी विभिन्न सामाजिक क्षेत्रमा कार्यक्रम गर्दै आउनुभएको हो।
पाल्पाली समाजले रानीमहलको झल्को दिने पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था, ट्राभल एजेन्सी, पाल्पाली छें, बाराही चोकमा डिजिटल बोर्ड, पाल्पा चिनाउने वृत्तचित्र लगायतका थुप्रै कार्यक्रम गरेको पाल्पा हाउस प्रा.लि.का अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिनुभयो। पाल्पाली समाज पोखराका पूर्वअध्यक्ष रेशम रचक थापा, सल्लाहकार समितिका सदस्य दामोदर बस्याललगायत अन्य पदाधिकारीहरूको सहभागितामा संक्षिप्त भलाकुसारी भएको थियो।
पाल्पा हाउस प्रा.लि.का अध्यक्ष कुल प्रसाद घिमिरेले पोखरामा पाल्पाली समाज २०५१ सालदेखि दर्ता भए पनि भेला, बैठक २०३२ सालदेखि नै सुरू भएको र २०५९ सालमा पुनर्गठन भई सञ्चालन भएको जानकारी दिनुभयो। पोखराको न्यूरोडमा करिब २ करोड लागतमा सञ्चालित रानीमहलको ढाँचामा रहेको पाल्पा हाउसबाट रानीमहल रेष्टुरेण्ट, पाल्पाली बहुउद्देश्यीय सहकारी संसथा, ढाका तथा करुवा बिक्री कक्ष, काठमाडौं टप टेलर्स, विस्रोम अप्टिकल, सुविता फेसन कर्नर, एसएम क्लससेट, सरिना फेसन क्रियसन एण्ड बुटिक सप लगायतले पनि कारोबार शुभारम्भ गरेका छन्।
मूलतः पाल्पाका उत्पादन पोखरामा एकै थलोमा बिक्री गर्ने उद्देश्यले सञ्चालित पाल्पा हाउसमा १७ सटरमा विभिन्न खालका पसल सञ्चालित रहेछन्। पाल्पाली ढाका, करुवा यहीँ पाइने रहेछ। कम्पनीले पाल्पा हाउसबाट पाल्पाली परिकार चुकाउनी, बटुक, छोइला लगायत पाल्लाली छें रेष्टुरेण्टबाट उपलब्ध गराएको रहेछ। अध्यक्ष घिमिरेका अनुसार नयाँ र नौलो पाल्पा हाउस निर्माणका लागि पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले पहल गरेका हुन्। पाल्पा हाउसमा ७० जना शेयर सदस्य छन्। पाल्पा हाउसमा पाल्पाली कलाकार भेटघाट, सम्मानका साथै पाल्पाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिसँग अन्तर्क्रियात्मक सभा, समारोह लगायत तानसेन नगरपालिकाको कार्यपालिका बैठक समेत सञ्चालन गरेको छ।
पाल्पा हाउसमा भएको हाम्रो साहित्यिक भेटमा विभिन्न समयमा भ्रमणमा रहने पाल्पालीहरूसँग स्नेह मिलनले पाल्पा पोखराविचको सद्भाव बढाउने गरेको पाल्पा साहित्य समाजका अध्यक्ष राजेन्द्र गोपाल सिंहले बताउनुभयो। उहाँले पाल्पालीहरूसँगको भेटघाटमा सधैं हार्दिकता जनाउन आग्रह गर्दै पाल्पाको प्रचार प्रसारमा निरन्तर सक्रियताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले पोखरामा बसेका पाल्पालीहरूबाट पाल्पाको प्रवर्द्धनमा सहयोग रहेको बताउनुभयो।
पाल्पाली समाजका सल्लाहकार चिरञ्जवी श्रेष्ठले पोखराको रानीमहलले पाल्पा चिनाएको र पाल्पाली सूचना पाउने घरकोरूपमा पाल्पा हाउसलाई लिइएको बताउनुभयो। उहाँले स्मारिका प्रकाशन, चेलीबेटी दर कार्यक्रम हुँदै संगठित भएर पाल्पाली बहुउद्देश्यीय सहकारीसम्म पुगेको गतिविधि सुनाउनुभयो। शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाका अध्यक्ष सहमति, सहकार्य र एकतामा पाल्पाली समाजसँगै साथसाथमा लाग्ने वचन दिएर बसाइलाई बिट मार्नुभयो। त्यहाँ सामूहिक तस्बिर लिएर हामी अर्को कार्यक्रमकै लागि अगाडि बढ्यौं।
५. जनकवि केशरी धर्मराज थापाको कविघरमा काव्य सभा
पुस २७ गते राष्ट्रिय एकता दिवस हो। पहिले विवाद रहे पनि यस वर्ष नेपाल सरकारले यो दिन सार्वजनिक बिदा दियो। यही सन्दर्भ पारेर जनकवि केशरी धर्मराज–सावित्री थापा प्रष्ठिान पोखराले कविघर बाटुले चौरमा पाल्पा–पोखरा कविता कार्यक्रम आयोजना गरेको रहेछ। प्रतिष्ठानले कविघर बाटुले चौरमा हाम्रो समूहलाई रैथाने किर्तनसहित स्वागत गर्यो। केहीबेर जनकवि केशरी धर्मराज थापाको आँगनीमा पोखरा–पाल्पाका स्रष्टा छमछमी नाच्यौं।
धर्मराज थापाका सुपुत्र मदनराज थापा र शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाका अध्यक्ष पुष्कर अथक रेग्मीको सह अध्यक्षतामा सिर्जना वाचन कार्यक्रम सुरू भयो। मदनराज थापा परिवारको सहभागितामा सोही अवसरमा पृथ्वी जयन्ती र धर्मराज थापा विशेषका सिर्जनाहरू गाइए, सुनाइए। शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पुञ्जराज थापाको स्वागत, सचिव दुर्गा बस्नेतको सञ्चालनमा कार्यक्रम चल्यो। शुक्ला साहित्य प्रष्ठिानका पूर्वअध्यक्ष नेत्रबहादुर बानियाँ, हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रिता पहारी लगायतले मन्तव्यसहित साहित्यिक चर्चा गर्नुभयो।
हाम्रो भ्रमण टोलीबाट पनि विभिन्न सिर्जना सुनाइयो। जनकवि केशरी धर्मराज थापाले १४ अञ्चल घुम्ने क्रममा पाल्पा धवल पुस्तकालयसँगको सम्बन्ध, पाल्पासँग साइनो जोडिएका विभिन्न लोकगीत लगायतका प्रसंगमा चर्चा चल्यो। बाटुले चौर असाध्यै रमाइलो, समथर र मनोरम थियो। त्यहाँ हामी सबैले व्यक्तिगत तथा सामूहिक फोटोहरू खिच्यौं। भिडिओ बनायौं। केही समय भजनमा नाच्यौं र रमायौं। जनकवि केशरी धर्मराज थापा कविघरमा पाल्पा पोखराका कृति साटासाट र केही समयको रमाइलोपछि हामी गाडी चढ्यौं।
६. आहा घान्द्रुक!
बाटुले चौरपछि हाम्रो गन्तव्य पोखरौ पर्यटकीय गाउँ घान्द्रुक पुग्ने थियो। पोखराको अन्नपूर्ण गाउँपालिका–१० मा पर्ने घान्द्रुक घुम्ने र त्यहाँको बारेमा प्रत्यक्ष पुगेर जान्ने इच्छा थियो। हिमाल नजिकै देखिने क्षेत्रका घान्द्रुक आसपासका गाउँहरू जो अझै पनि विकास र समृद्धिको दृष्टिमा पछाडि नै छन् तर प्राकृतिक सौन्दर्यता र सम्पत्तिको दृष्टिले अब्बल यो ठाउँको भ्रमण गरी वास्तविकता जान्ने धोको मनमा थियो।
साँझ पर्न लागेका बेला बाहिर पुस महिनाको शिरिरी चिसो बतास चलिरहेको थियो। पोखरा पछाडि पारेपछि अन्य रमाइला डाँडाहरूले हामीलाई स्वागत गरिरहेका थिए। यात्रामा हामीले आ–आफ्ना अनुभूति साट्यौं। राति अबेर हुन्छ कि भनेर हामी हतारिएका थियौं। बीच बाटामा धेरै भुल्ने समय थिएन। बिदाको समय र यो पर्यटक विशेष सिजन भएकोले होमस्टे/होटलहरू प्याक होलान् कि भन्ने हाम्रो आकलन थियो। घान्द्रुक पुग्नेगरी यात्रालाई निरन्तरता दियौं। राति सात नबज्दै हामी त्यहाँ पुग्यौं। हाम्रो आकलनजस्तै पर्यटकहरूको भीडभाड रहेछ। बासको लागि होमस्टे चहार्दै सोधपुछमा ढुंगेनी डहरबाट रातमा हामीले एक घण्टा फन्को मार्यौं। अन्त्यमा रेष्टुरेण्टमा हामी बसाइको लागि कोठा बुक गर्यौं।
नौ वर्ष पुत्रसँगै म पनि हिमाल हेर्न उत्साही थिएँ। मभन्दा ऊ र उनको सहयात्री साथी गृष्मा रायमाझी हिमाल हेर्न आतुर थिए। किनकि उनीहरू दुवै कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थी हुन्। कक्षा ४ को नेपाली विषयमा आहा! घान्द्रुक शीर्षकको नियात्रा समावेश छ। यो नियात्रा अगाडिको पाठ सकेर परीक्षा दिएपछि दुवै जना हामी अभिभावकसँगै भ्रमणमा सहभागी भएका थिए। घान्द्रुक २६०० मिटर उचाइमा रहेछ।
बिहानी यात्रामा हामीले गुजुमुजु परेर पूर्व फर्किएको ढुंगेनी बस्ती रमाइलो देखियो। पारि माछापुच्छ्रे, गंगाचुली, हिमचुली, अन्नपूर्ण हिमाल लहरै देखिए। पुत्रले भन्यो, ‘पिताश्री हिमाल त हातैले छोइएला जस्तै छ है?’ मैले उसको उत्साहलाई खुम चाख दिएर नियाली रहेको थिएँ। घान्द्रुकमा घर, डहर र अन्य संरचना सजावट ढुङ्गगाका थिए।
बिहान हामी गुरूङ संग्रहालय, पुरानो दरबार लगायतका क्षेत्रमा तस्बिर लियौं। हामी हिँड्दै गरेका बाटो नजिकैका बारीभरी हरिया सागसब्जी थिए। यस्तो लाग्थ्यो ती उब्जनी सबै पर्यटककै लागि हो। घान्द्रुकमा गुरूङ संस्कृति, रैथाने स्वाद, होमस्टे बसाइ, हिमाल अवलोकन, मनमोहक पर्यापर्यटन हामीलाई रोचक लागेको थियो। घान्द्रुकमा एक बिहान घुमफिर गर्दागर्दै समय गएको पत्तै भएन। बिहानको खाना खाएर सामूहिक तस्बिर लिई भारी मनका साथ बिदाइका हातहरू हल्लाउँदै अर्को गन्तव्यतर्फ मोडियौं।
७. ३४ घण्टामा सात जिल्ला
साहित्यिक यात्रा पाल्पा–पोखरा–पर्वत–म्याग्दी–बाग्लुङसम्मको भए पनि हामीले गुल्मी, स्याङ्जाका केही भूगोलमा पनि पाइला टेक्यौं। घान्द्रुकबाट झरेपछि पर्वत सदरमुकाम कुश्मा बजार, मालढुंगा, म्याग्दी सदरमुकाम बेनी बजारमा हाम्रो भ्रमण रह्यो। बेनी नगरपालिका–९ मा रहेको विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरधाममा हामी दर्शनको लागि पुग्यौं। त्यहाँ विशाल ढुंगामाथि निर्मित मन्दिर र चट्टानमा देखिएका भगवानका पाइलाहरूलाई विशेष महत्त्वका साथ दर्साइएको थियो। बेनी बजारमा बिहानी खानापछाडि हामी अर्को गन्तव्यमा मोडियौं। बेनीमै तत्कालीन माओवादी आक्रमणमा धेरै प्वाल परेको विद्युत पोल नगरपालिका भवन परिसरभित्र नियालौं। त्यसले तत्कालीन बेनी आक्रमणको त्रासदी झल्काउँथ्यो।
बेनीपछि हामी मालढुङ्गगा हुँदै बाग्लुङ कालिका मन्दिर पुग्यौं। भगवती मन्दिर र कालिका मन्दिरलाई दिदीबहिनीको रूपमा हेरिए पनि मन्दिर निर्माण संरचना केही अलग विशेषता बोकेको देखिन्छ। पाल्पा भगवती मन्दिर भन्दा त्यहाँको मन्दिर थप व्यवस्थित देख्दा पाल्पालीहरू हामी त्यहाँ पुग्दा केही लाचार भएको अनुभूत गर्यौं। बाग्लुङ कालिका दर्शन, गरेपछि कालीगण्डकी करिडोरको बाटो हुँदै बलेवा विमानस्थल, गुल्मी पूर्तिघाट गाउँपालिकामा रहेको झोलुंगे पुल (पर्वत र गुल्मी जोड्ने पुल) मा सामूहिक तस्वीर र नजिकै रहेको सानो बजारको एक पसलमा जलपान लिएर गाडी चढ्यौं।
समग्रमा यात्रा अत्यन्तै रमाइलो रहेको थियो। विस्तारै साँझ पर्न लागेको थियो। बाटोमा हामीले बाग्लुङ र पर्वत जोड्ने थुप्रै झोलुङ्गे पुल, मनमोहक पहाडी गाउँहरूको दृश्यावलकन गर्दै अगाडि बढ्यौं। स्याङ्जाको मिर्मीमुनि काली थुनेको भाग हुँदै स्याङ्जा जैपते, जिरोबाट सिद्धार्थ राजमार्गमा जोडियौं। भ्रमण दलमा विभिन्न क्षेत्र, पेशा व्यवसायमा संलग्न सदस्यहरू भए पनि सबै वातावरण र परिस्थितिसँग भिज्न सक्ने, सबै कुराहरू पचाएर रमाउन सक्ने भएको कारण यात्रा झनै रमाइलो भयो।
भ्रमण खाली रमाइलोको लागि मात्र हुँदैन। नयाँ नयाँ ठाउँको भूबनोट, रहनसहन, वेशभूषा, कला, संस्कृति, पेशा व्यवसाय, परम्परा आदिको बारेमा समग्रतामा सिक्ने बुझ्ने अवसर प्राप्त हुन्छ। हामीले यो अवसर पाएको अनुभूत गर्यौं। बाटोमा साहित्यिक यात्राको भलाकुसारी गर्दै अगाडि बढेका थियौं। यात्राकै क्रममा पाल्पा तानसेन आएपछि आयोजक र सहभागी साथीहरूलाई विदाई र धन्यवाद ज्ञापन गर्दै सबै आ–आफ्नो गन्तव्यमा लाग्यौं।
(लेखक बगनासकाली साहित्य परिषद्, पाल्पाका अध्यक्ष र पत्रकार हुन्।)