नुवाकोटको धुलोमा हिँड्दै छौं तेर्सो तेर्सो। गीत गाउँदै गफ गर्दै थापागाउँसम्म आयौं। खानाको व्यवस्था थानापती सेवा समाजले गरेको छ।
‘सफल पाहुना घरमा’ आजको भान्सा तयार छ। मामा घर गएको जस्तै मेजमानी देख्दै छु। खाना हेर्दै जिब्रो रसाउने छ। खाना देखेपछि पो हतार भयो त खानलाई। होटलको ठीक पछाडिपट्टि बसेर खाना खाँदैछौं। पर देखिएको छ तादी खोला। मध्य पहाडी लोकमार्ग पनि देखिँदै छ। निकै स्वादिलो भोजन ग्रहण गर्दैछौं। तातो भात, साग, पनिर, गुन्द्रुक, टमाटरको अचार ठेकीको दही बयान गर्न लायक छ बिहानको खाना। साँच्चै मैले त मेरो मामा घरको भान्सा नै सम्झिएर बढो आनन्दले खाएँ।
खाना खाएपछि पहिलो चरणको कविता वाचन कार्यक्रम सम्पन्न भयो।
पहिलो चरणमा केही कविता र गीत वाचन भए। अब खेतको आली नाप्दै सोझै उकालो उक्लदै छौं। देखिँदै छ नुवाकोटे गाउँहरू। साना साना गराहरू। कोदालाले ताछेका कान्लाहरू। बढो कलात्मक देखिएको छ तहतह परेको भूखण्ड। साना साना गरा, आलीहरू चित्र झैं लाग्छन्। कतै हरिया गहुँ लहलह देखिन्छन्। तरेली परेका गरामा हरियो, पहेँलो रङ कुशल चित्रकारले निर्माण गरेको जीवित चित्र जस्तो लाग्छ। बिछट्टै सुन्दर देखिएको छ नुवाकोटे प्रकृति।
पहेँलपुर तोरी फुलेका गराहरू देखेपछि मैले फेरि भिमान सम्झिएँ।
सिन्धुलीको भिमान मेरो जन्मघर हो। चिरस्मरणीय छ मेरो जन्मघर हो। पूर्ण आनन्दमा बाँचेको मेरो अमूल्य समय। त्यसैले बाल्यकाल भुलेर पनि भुल्न सक्दिनँ। नुवाकोटे भूमिमा घुम्दा मेरो बाल्यकाल नाच्दै छ आँखामा। म यस्तै वातावरणमा हुर्किएकी हुँ। तोरी फुलेपछि मौरीहरू मात्र होइन हामी भुराहरू पनि असाध्यै रमाउँथ्यौं। यताका भुराहरू कसो गर्दा हुन्? यताको चलन कस्तो छ होला? थाहा छैन।
यहाँका बच्चाहरूलाई पनि आधुनिक संस्कृतिले पक्कै छोएको छ होला। हामी जसरी अबका भुरा प्रकृतिसँग के नजिक हुन्थे होलान् र? मोबाइलले तोरीबारीमा जान दिन्छ कि दिँदैन होला ? मौरीहरूलाई पनि कतै सहरीकरणले बसाइँसराइ त गराएन! पर्यावरणीय असरले मौरीलाई प्रभावित त गरेको छ कि छैन होला ? मनमा कुरा खेलाउँछु। पग पगमा अतीत नाचिरहन्छ।
लिखु खोला पर बगिरहेको छ। यता मन बगेकोछ लिखुको पानीसँगै। तर लिखुको पानी छुने रहर यो यात्रामा अधुरै रह्यो। आँखा भागेका छन् सुदूर क्षितिजतिर अनि आँखालाई तान्छु हिँड्ने बाटोतिर। खेतका आली आली हामी दगुरेका छौं छापामार शैलीमा। उकालो चढ्दा गोडा फतक्कै गल्छन्। नजिकै देखिन्छ खोरिया जस्तो बारी त्यहीँबाट लठ्ठी भाँच्छु। बल्ल लठ्ठीको शक्तिले गोडामा बल आउँछ। उकालोमा यात्रा सहज हुन्छ।
बाटामा आउँछन् बाँस र अम्रिसोको झाङ। भिमानकै डगर हिँडेकोजस्तो लाग्छ। आफ्नै बगैंचा डुलेकोजस्तो लाग्छ। अलि माथि पुगेपछि गाडी गुड्ने बाटो भेटिन्छ। आनन्दले बेपर्वाह हिँडेका छौं शान्त वातावरणमा। न गाडीको धुलो, न धुवाँ, न घाइँघाइँ घुइँघुइँ बढो आनन्दको पदयात्रा हुँदैछ। बाटैमा भेट भयो सोही वडाका वडा अध्यक्षज्यू र गाविस अध्यक्षज्यूसँग।
हाम्रो स्वागतमा दुई शब्द बोलेर उहाँहरू आफ्नो गन्तव्यमा हिँडिहाल्नुभयो। हामी पनि थानापती प्राथमिक विद्यालय थापागाउँको प्राङ्गणमा उभिएका छौं। स्थानीय स्रष्टा निकै मिठो स्वरमा दोहोरी गाउन थाल्नुभयो। हामी स्कुल परिसरमा बसेका छौं। स्कुल खाली छ। घाँसले घेरेको छ वरिपरि। बडो दुःखलाग्दो अवस्था रहेछ स्कुलको। विद्यार्थी सङ्ख्या नभएर विद्यालयको ढोकामा ताल्चा झुन्डिएको छ। भौतिक पूर्वाधार यति राम्रो भएको विद्यालयको यस्तो अवस्था देखेर शिक्षा क्षेत्रका चुनौतीले गम्भीर पार्छ। स्थानीय कृष्ण थपलिया र राधिका थपलियाको घरमा हामीलाई हार्दिक स्वागत गरिएको छ। बाटैमा दुई वटा पित्तलका गाग्रीहरू राखिएका छन्। गाग्रीमा अबिर अबिर, फूल र पानी राखेर आत्मीय स्वागत गरिएको छ। मन त्यसै त्यसै आह्लादित हुँदैछ। एकतीस जनाको डफ्फालाई ठेकीको मीठो दही पेटभरि खुवाएर हर्षित भएका छन् ती दम्पती। उनीहरूलाई देखेर माया, प्रेम, मानवता, सेवा र हार्दिकता भन्ने कुरालाई पुँजीवादले पखालिसकेको रहेनछ भन्ने विश्वास जाग्दै छ।
काठमाडौं नजिकैको यो गाउँमा असली आत्मीयपन र मनको मिठास अझ जीवित रहेछ भन्ने कुराले निकै आनन्दित भएँ। दही त्यसरी खाँदा मैले मेरी आमालाई बारम्बार सम्झिएँ। आमाले पनि गाउँमा आउने पाहुनाहरूलाई यसैगरी सेवा गर्नुहुन्थ्यो। रेन्जरदेखि हाकिमसम्म। ढाक्रेदेखी चुरौटिनीसम्म। संसारीदेखि जोगीसम्म हाम्रो घरमा आएर बास बस्थे, खान्थे र सन्तुष्ट भएर जान्थे।
व्यापारमा नैतिकता भएन भने मानवता मर्ने रहेछ। म सम्झिँदै छु घोरेपानीबाट घान्द्रुक जाँदा टाडापानीमा पानीमा गरेको व्यापार। तीन सय पचासको चिसो र तातो पानी खाँदा पनि आधा गिलास पानी माग्दा अँधेरिएको अनुहार। नुवाकोटको यात्रामा दहीको खोलो बगेको छ। प्रार्थनामा हात जोड्छु विकासले विनाश मात्र ननिम्त्याओस् चाहे त्यो प्राकृतिक विनाश होस् या मानवीय संवेदनाको विनाश।
हृदयभरि थपलिया परिवारको स्नेहलाई समेटेर अब हामी हिँड्दै छौँ कोप्चे झरना हेर्नलाई। सल्लाको जङ्गल बढो मनोरम छ। बाटो बन्दै छ ठाउँ ठाउँमा। स्थानीयहरू बडो उत्साहले लागिपरेका छन् आफ्नो गाउँको विकासमा। नयाँ नयाँ योजनाहरू ल्याएका छन्। आफ्नोपन झल्किएको छ उनीहरूको व्यवहारमा। माटोलाई चिनेका छन्। प्रकृतिको अमूल्य वरदानलाई संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न दिलोज्यानले लागिरहेका छन्। गाउँका सबै बुद्धिजीवीहरू भेला भएका छन् अमर कार्यका लागि। मानव निर्मित सिँढी उक्लिएर पुग्यौँ पातले कोप्चे झरना।
दुई पहाडको माझमा आफ्नो सौन्दर्य लुकाएर बसेकी झरना लुकेर के लुक्न सक्थिन् र! आवाज नै झरनाको पहिचान हो। दुब्ली पातली हुँदा त यिनको गर्जन यस्तो भीषण छ। म सम्मोहित भएकी छु झरनाको रूप देखेर।
आहा! हेर्न लायक छ झरनाको विमुग्धकारी सौन्दर्य। फागुनको महिना पानी सुक्ने समय हो। तर झरनाको सौन्दर्य देखेर हृदय अत्यन्तै रसाएको छ। मन कल्पिन्छ असार, साउनमा झरनाको भव्य रूप हेर्न।
कल्पनामै रोमाञ्चित हुन्छु नदेखिएको झर्नाको त्यो भव्य रूप हेर्दै मखलेल हुन पुग्छु। पोज पोजले फोटो, भिडियो खिचाएका छौं। जति हेरे पनि भरिँदैन मन। उमङ्गकारी झरना हृदयमा आएर सुटुक्क बस्छ। झरनालाई पछाडि पारेर टाइटानिक पोजमा फोटो खिच्छौं। घरी ठूलो ढुंगामा उक्लिएर कराउँछौं। घरी नजिकैको दहमा रमाउँछौं। समय कुदेको छ निरन्तर। हामी पनि दगुर्नु परेको छ समयको पुच्छर समाएर। अनि पुनः आउने वाचा गर्दै ओरालो झर्छौं।
स्रष्टाहरूको लहरो माथिबाट हेर्दा मनोहारी देखिन्छ। बाटोमा ठाउँ ठाउँमा बार लगाएको छ। भिरालो ठाउँ कतै खतरनाक छ। खोलाघरे साइँला रूखमा थपक्क चढेका छन्, पूर्खालाई सम्झेर। देख्ने जति हाँस्दै छन्। बढो विनोदी छ दृश्य। अरू स्रष्टाहरू बडो आनन्द मानेर हेर्दै छन् खोला घरेलाई। कोही उहाँकै फोटो खिच्न हतारिँदै छन्। अर्का स्रष्टा पुष्टकारी बाँड्दै छन्। त्यो घना जङ्गलको ओरालोमा मुख रसिलो भएको छ। अझ ओरालो झरेर हिँड्दै छौं लौके झरनाको मोहनी रूप हेर्न। नुवाकोट र काठमाडौंको सिमानामा रहेछ यो लौके झरना। ककनीबाट आउने बाटो पनि देखिँदै छ। हामी नुवाकोटतिर छौं। वर्णनातीत छ प्रकृतिको स्वरूप। धन्य भएको छ हृदय। फिँजारिएको छ झरनाको स्वरूप। पानी सुकेर अहिले निकै दुब्लाएको रहेछ लौके झरना।
भदौ महिनामा खिचेको लौके झर्नाको विराटस्वरूपको भिडिओ देखाएका छन् स्थानीय भाइले लौके झरनाकै अगाडि। लौके झरना आफ्नो क्षमताको बयान आफैं गर्दैन। मान्छेलाई सिकाउँदै छ झरनाले दिव्य ज्ञान। म छक्क परेकी छु।
ए मेरा बा! कत्रो हो पानी पहाडै बगाएर लैजाला जस्तो। सेतो पानीको विशाल मुस्लो आकाशैबाट ओइरिएको जस्तो देखिएको छ भिडिओमा। केहीबेर लौके झरनाको काखमा थकाइ मारेर प्रकृतिको आवाज सुनिरह्यौं। लौके झरनालाई हृदयको गर्तमा लुकाएर पुनः आउने वाचा गर्दै उकालिएका छौं।
केहीबेरको हिँडाइपछि चियाको तातो सुर्पो तान्दैछौं स्थानीयको आँगनमा। बडो आनन्दायी मौसम छ। स्रष्टाहरू चिया पिउँदै रमाएका छौं। देख्दैछु स्रष्टाहरूको तालु प्रदर्शनी। तालु खुइलिएका स्रष्टाहरू सबैले टोपी खोलेर सामूहिक तस्बिर खिच्दै छन्। घरको पेटीभरि लहरै बसेका तालु खुइलिएका स्रष्टाहरूको हाँसो निकै त्रिप्तिकर आतृप्त छ। उहाँहरूले ठट्यौली गरेको समय कैद हुँदैछु क्यामरामा।
चियाको आतिथ्य समापन गरेर हामी थानापती मन्दिरतिर उक्लिन्छौं। बाटो पदमार्गको लागि निकै उत्तम छ। हजार जिब्रा भएका शेषनागले पनि वर्णन गर्न नसक्ने प्रकृतिको लीला र रूप देख्दै छु। आँखाले चारैतिरको सौन्दर्यलाई पान गरिरहेको छ। सल्लोको जङ्गल कटेर तोरी बारीमा हराएका छौं हामी। नयाँ नयाँ योजनाहरू कानमा पर्दैछन्। आन्तरिक र बाह्य पर्यटनको लागि यो गन्तव्य निकै उपयुक्त रहेछ। काठमाडौंबाट यति नजिकै यति राम्रो ठाउँ देखेर म त प्रफुल्ल भएकी छु। स्थानीयहरूले आफू र आफ्नो ठाउँलाई कति राम्रोसँग चिनेका रहेछन्। प्रकृतिको वरदानलाई देखाउन चाहन्छन् नुवाकोटबासीहरू। प्रकृतिको अनुपम सौन्दर्य र सम्पन्नतालाई सबैका अगाडि उजागर गर्न कटिबद्ध भएर लागेका छन् यहाँका पूर्वप्रशासक, शिक्षक, स्थानीय बुद्धिजीवी र युवाहरू। उनीहरूको चेतनास्तर देखेर हर्षित भएकी छु। आफ्नो गाउँको विकासमा खटिएका युवाशक्तिहरूलाई नमन गर्छु। सबै ठाउँका मान्छेमा यस्तै चेतना जागृत होस् भन्दै प्रार्थना पनि गर्दैछु।
अब हामी थानापती मन्दिरको प्राङ्गणमा छौं। मन्दिर हेर्न लायक छ। सरस्वती पूजाको दिन छ। मन्दिरमा निकै चहलपहल छ। थानापती सेवा समाजले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य छ। तर समय निकै सीमित छ। कार्यक्रम निकै छोटो गर्नुपरेको छ। समयले डाँडो काटेको देखिँदै छ। घर फर्किन हतारो भएको छ सबैलाई।
खैँजेडीमा निकै मिठो भजनहरू प्रस्तुत गरिएको छ। स्थानीय स्रष्टाहरूको यो क्षमता निकै लोभलाग्दो छ। एक जना बुवाको अनुहारमा मेरो आँखा बारम्बार गएर टाँसिन्छन्। सेतो कुर्तासुरूवाल लगाउनुभएका बुवाको अनुहारमा अपार ऊर्जा पोखिएको छ। जति उहाँको मुहार हेर्छु उति मलाई पनि सकारात्मक ऊर्जा संप्रेशित भएको महसुस गर्छु। खैंजेडीको धुनले मलाई अतीतमा पुनः पुर्याउँछ। आफ्नो बाल्यकालमा बारम्बार पुगेकी छु यस यात्रामा। वर्तमानको यात्रा वर्तमानमा मात्र कहाँ सीमित हुँदोरहेछ र? यात्रामा त भूत र भविष्यको यात्रा पनि जोडिएर आउने रहेछ।
सम्झना र कल्पना नै जीवनको सौन्दर्य रहेछ। स्थानीय बुवाहरूले गाएको भजन सुनिरहन मन छ। हेरिरहन मन छ, वृद्ध बुवाहरूका ऊर्जाशील मुहार। मान्छेको मन नै शक्ति केन्द्र रहेछ। मनको शक्ति नै शरीरको उत्साह रहेछ। मन्दिरका पुजारीले हामी सबैलाई दक्षिणासहित टीका लगाइदिएर प्रसाद पनि दिनुभयो। सन्तोष र आनन्दले टम्म भरिएकी छु।
१२ औं शताब्दीभन्दा अगाडिको इतिहास बोकेको मन्दिरले आफ्नो गजुरमा सोह्र तोला त सुनै बोकेको रहेछ। स्थानीय होमनाथ थपलियाले मन्दिरको इतिहास बताउँदै हुनुहुन्छ- 'थपलियाहरूको कुल देवता हो थानापती देवी। तर शिवपुरी, लिखु र पञ्चकन्या गाउँपालिकाको संयुक्त रूपमा यो मन्दिर पहिचानको धरोहर भएको छ। उत्पत्तिको बडो कारूणिक कथा रहेछ थानापती दामाचन्द्रमाला देवीको। दामा र चन्द्र दुई छोरालाई आफ्नो बिर्ता दिएपछि कान्छो छोरालाई लिएर चितामा जलेकी देवी थानापती रहिछन्। चिताको धुवाँ राजाको दरबारसम्म पुगेको अनि राजाको दरबारमा अनिष्ट सुरू भएको कथा रहेछ। थानापतीको शक्ति थाहा पाएर पछि राजाले सबै बिर्ता फिर्ता दिएका रहेछन्। चोरहरूलाई पनि देवीले दण्ड दिने गरेकी रहिछन्। थानापतीबाट चोरले कुनै सामान चोर्न खोज्दा हात जहाँको त्यहीँ अडिन्थ्यो रे।'
कुरा सुन्नु पाकाको भन्थे तर के गर्नु समयले लखेटेको छ निरन्तर। त्यहीँ बसिरहन हामीलाई समयले नै दिएन। हतार हतार प्रसाद खाएर ओरालो झर्यौं। घडीले ५:५५ ठोकिसकेको छ। बिहानको भन्दा गाडी अलि नजिक आएको छ अहिले। गीत गाउँदै हिँडेका छौं। समयलाई कागती निचोरे जसरी निचोरेका छौं। गाडी अब काठमाडौंलाई छोप्न गुडिरहेको छ। अँध्यारोले ढपक्कै ढाकिसक्यो। उकालोमा गाडीले पुनः आफ्नो पुरानो पाटपुर्जा घ्यारघ्यार गर्न थाल्यो। मुटुबाट डरको सिरा मस्तिष्कमा पुनः पुगेको छ। अत्यास र डरले गर्दा मुखबाट भजन निस्किन थाल्यो। आफ्नै मृत्यु देख्दैछु भीरभरीतिर। कल्पनाले कहाँसम्म पुर्यायो भन्नै सक्दिनँ। गाडी धुकधुक गर्न थालेपछि आँखाबन्द गरेर गाएको भजन सामाखुसी चौकसम्म निस्किरह्यो।
यो पनि:
बन्द गर्नुस् मोबाइल कि खोसौं!
(अनिता कोइरालाका अरू लेख पढ्न यहाँ क्लिक गर्नुस्।)