सुनौलो रंगको घुम्टी ओढेर मेरो सामुन्नेमा नै उनी उभिरहेकी थिइन्। सिँगारपटार साथ स्वयंबरका लागि आतुर राजकुमारी दुलहीझैं । सुनैसुन जडितझैं लाग्ने त्यस पहिरनमा उनी औधी सुन्दर देखिन्थिन्।
हिन्दू धर्मशास्त्रमा वर्णन गरिएकी सुन्दर परीको बिम्ब उनमा देखिन्थ्यो।
सफा र सुन्दर मौसम, शान्त वातावरण।
एकटक लगाएर नियालिरहेँ। तर नि:शब्द। पहिलो पटक डेटिङ गएको प्रेमीजस्तै। मशहुर शायरझैं सायरीको लागि उनको वर्णनमा मनोभाव उकुसमुकुस भएर मनभित्र कैद थियो।
शनैः शनैः सूर्यको किरणसँगै जब उनको सुनौलो घुम्टी उघ्रिँदै गयो, मस्त जवानी रूपमा झैं उनी प्रकट हुँदै गइन्, पोखराको बिजी वि रेष्टुराँमा मदिराको नशामा, संगीतको धूनमा मस्त ती सुन्दरीहरूझैं। वरिपरि मादकता छरिरहिन्। फरक यति थियो उनीहरू आफ्नै धूनमा मस्त थिए तर उनी चाहिँ मलाई नै एकटक लगाएर नियालिरहेझैं थिइन्। म आफ्नो जीवनकै अविस्मरणीय क्षणको अनुभूति गरिरहेको छु।
उनकै वर्णनमा उकुसमुकुस भावहरू शब्दहरूमा अभिव्यक्त हुन थालेका थिए। प्रत्येक क्षणहरूलाई अविस्मरणीय बनाउन हातका औंलाहरू मोबाइलमा व्यस्त भैसकेका थिए।
नेपालको हिमाली भेग बाल्यकालदेखि नै बालमानसमा ढुंगाको अक्षरले लेखिएको थियो तर जीवनको उत्तरार्ध सम्ममा पनि कुनै नेपालीले हिमालसँग न साक्षात्कार गर्ने अवसर पाएको हुन्छ न जमर्को नै गरेको हुन्छ। त्यसमा म पनि अपवाद थिइनँ। हिमालसँग साइनो लाउने र धित मरून्जेल हिउँसँग खेल्ने मनोआकांक्षाले नै हामीलाई मार्दी हिमाल वेस क्याप ट्रेकको लागि काठमाडौंबाट पोखरातिर डोर्याएको थियो। पाँच जना साथीहरूको टोली पोखरातर्फ गाडीमा प्रस्थान गरेका थियौं त्यस्तै दिनको १ बजेतिर।
पर्यटकहरूको गन्तव्यको हिसाबले पोखरा आफैंमा रोमाञ्चकताको प्रतिमूर्ति जस्तो लाग्ने। यस अर्थमा पोखराको यात्रा उत्सुकता र रोमाञ्चकताको कल्पनाले भरिपूर्ण थियो। बाटामा भोगेका यात्राका आरोह अवरोहले (नागढुगां सडक तथा पृथ्वी राजमार्ग स्तरोन्नति कार्य) हामीमा कुनै शिथिलता पैदा गरेको थिएन बरू ऊर्जा नै प्रदान गरिरहेको थियो।
रातको ९ बजेतिर पोखराको लेकसाइडमा हाम्रो गाडी रोकियो। हाम्रो यात्रा मार्दी हिमाल बेस क्याम्प रहेकोले ट्रेकिङका लागि आवश्यक केही सामान जोहो गर्न लागियो। साथीहरूले ट्रेकिङ स्ट्रिक, पानी बोतल लगायतका सामान खरिद गरेपश्चात हामी धम्पुसको लागि ९:३० बजे प्रस्थान गर्न तयार भयौं। तर त्यहाँको होटलवालालाई फोन गर्दा उनले राति १० बजे नै होटलहरू बन्द हुने तर हामीलाई त्यहाँ पुग्न २ घण्टा लाग्ने जानकारी दिएपछि हामीले आजको मुकाम पोखरालाई नै बनाउने निधो गर्यौं।
होटलको व्यवस्था गरेपछि हामी पोखराको मादकता अनुभूत गर्न फेवातालको किनारतिर भौंतारिन थाल्यौं। तर अफसोस्! रातको १० बजे नै सुनसान थियो फेवा किनार। कोरोना कहरको कारण पर्यटन व्यवसाय अझै तङ्ग्रिएको थिएन। यसले हामीमा सन्नाटा नै छायो।
रातको समय छेउमै मट्का चियावाला धुनी जगाएर अरू चार पाँच जना ग्राहकसहित अन्य ग्राहकको प्रतीक्षामा बसिरहेका थिए। हामीले त्यही धुनीमा आसन जमाउने विचार गर्यौं।
मट्का चियाको स्वाद त्यो पनि रातको चिसो चिसो सुवानी माहौलमा। केही क्षण भुलाउने बहाना त मिल्यो, चिया चुरोटले मात्र भोको पेटमा रात त त्यहाँ कट्नेवाला थिएन। त्यही भोको पेटको करामत हुनुपर्दछ हामीलाई खुट्टाले होइन नाकले एकटा रेष्टुराँतर्फ डोहोर्यायो। ग्राहकहरूको कम चहलपहलको कारणले हुनुपर्दछ हाम्रो प्रवेशसँगै रेष्टुराँवाला फुरुङ्गै भएका देखिन्थे। अर्डर लिन र हामीलाई सेवा गर्न आतुर। फेवातालकै माछा रे ग्रिल गरेको। भोको पेटलाई शान्त बनाइसकेपछि विजी वि रेष्टुराँ हाम्रो गन्तव्य बन्यो। फेवा किनारका रेष्टुराभन्दा त्यहाँ केही चहलपहल थियो केही स्वदेशी र केही विदेशी पर्यटकको पातलो नै सही उपस्थिति देखिन्थ्यो। उनीहरूजस्तै हामी पनि मदिराको नशामा रमाउन थाल्यौं। सुराको नशा चढेसँगै संगीतको धूनमा मस्त युवायुवतीको जमातमा समाहित हुन पुग्यौं। मध्यरात भएको पत्तै भएन। भोलिको योजनामा असर पुग्न सक्ने हुँदा हामी रातको १ बजे होटलतिर लाग्यौं।
बिहान ५ बजे नै हामी धम्पुससम्मको गाडी यात्राका लागि तयार थियौं। जहाँबाट हाम्रो मार्दी हिमाल बेस क्याप सम्मको पैदल यात्रा सुरू हुनेवाला थियो। धम्पुस पुगेर चिया नास्ता गरेपछि ८ बजेतिर पैदल यात्रा सुरू गर्यौं।
ढुगां बिछ्याइएका गोरेटो बाटो, हरियाली जंगल, चराहरूको चिरबिर चिरबिर आवाज। देखिने ल्याडस्केप कुनै चित्रकारले रंगाएको क्यानभासजस्तै। नवीन कल्पनाको अनुभूति दिने। पैदल यात्रीहरूको लस्कर। पारी क्षितिजसम्म नै देखिने हरियाली र आँखामा ठोक्किन आइपुग्ने निश्चल निर्मल हिमाल।
पाहुनालाई सेवा सत्कार गर्न आतुर गोरेटो किनारमा रहेका होटल रेष्टुराँहरू।
अन्य पैदलयात्रुहरूसँगै कहिले उनीहरूको चालमा चाल मिलाउँदै, कहिले उनीहरूभन्दा केही चाँडो त कहिले केही ढिला हाम्रो यात्रा पनि अनवरत रूपमा अगाडि बढी नै रहन्छ। यात्राको क्रममा होटल, रेष्टुराँहरूमा चियाको चुस्की लिँदै चाउचाउको सुपसँग ज्यानलाई स्फूर्ति प्रदान गर्दै अगाडि बढी नै रहन्छ गुराँसै गुराँसको घनघोर जंगल बीचैबीचको यात्रा।
कुहिरोसँग लुकामारी खेल्दै, हिमालसँग आमनेसामने हुँदै पर क्षितिजमा देखिने हिमालतर्फ यात्रा अगाडि बढी नै रह्यो। उकालो देख्दा अत्यासलाग्ने। तेर्पाइँ तेर्पाइँ आउँदा गोडाका चाल आफैं बढ्ने हामी तराईतिर जन्मे हुर्केका मानिसहरूको चाल।
फागुनको दिन त्यस क्षेत्रको मौसम न धेरै जाडो न गर्मी तर पनि उकाली ओराली सँगै शरीरको तामक्रम बढी नै रहेको थियो।
आजको पहिलो दिनको हाम्रो गन्तव्य भनौं वा बास बसाइँ रेष्ट क्यापमा हुने पूर्वनिर्धारित नै थियो। फरेष्ट क्यापको ठाडो उकालोले गोडाको चाल धिमा बनाइसकेको थियो। झमक्कै साँझ पर्न लागेको त्यस क्षण बास बस्ने होटल आउन कति समय लाग्ने हो, अझै कति समय हिँड्नु पर्ने हो, अत्तो पत्तो थिएन। पैदलयात्रीहरूको लस्कर लगभग देउरालीदेखि नै कम भइसकेको थियो बाटामा कोही नभेटिने अफ सिजनको बेला।
त्यस्तै आधा घण्टाको उकालो यात्रापछि भनिएको होटल हाम्रो सामुन्ने नै। लखतरान भइसकेका हाम्रा लागि त्यो मरूद्यान नै थियो।
होटलवाला भाइको सत्कार अनुकरणीय। उनको होटल आज पूरै भरिभराउ हुने गरी बुक भइसकेको रहेछ हामी पहिलो पाहुना, अन्य आउन नै बाँकी। हुन त त्यस क्षेत्रका सबै होटल / रेष्टुराँ सञ्चालकहरूको अतिथि सत्कार स्वागतयोग्य नै थियो। खानाभन्दा अगाडिको सत्कारजस्तै उनले पस्केका व्यञ्जनहरू स्वादिष्ट थिए। त्यहाँ होटल खोल्न अनुमति लिनुपर्ने र सञ्चालकहरूलाई तालिमको व्यवस्था पनि हुने रहेछ क्यारे। केही समय अगेनामा जिउ सेकाएपछि कोठा लागियो। एउटा कोठामा पाँच जनाको लागि पाँच वटा खाट सहितको ओछ्यान। केही समय यात्राको गनथन र मीठो निदरीमा मस्त।
बिहानको नित्य कर्म सँगै चिया नास्ताको कार्यक्रम सुरू भयो। एकमुष्ट १६०० सयमा खाना, बास र नास्ताको प्रबन्ध हुने रहेछ। मूल्यमा एकरूपता। प्रतिस्पर्धाको गुन्जाइस नाइँ। उकालो लाग्दै गएपछि होटल बास र चिया नास्ताको मूल्यमा बढोत्तरी हुँदै जाने। ज्यानमा कष्ट थपिँदै जाने, यात्रामा कौतुहलता बढ्दै जाने यात्रा अझ रोमाञ्चक हुँदै जाने। हिमाल पदयात्राको नियम।
अनकन्टार घना जंगल बीचैबीचको यात्रा। भीर पाखामा देखिने झार र बुट्यान। कुहिरोसँग लुकामारी खेल्दै, गुराँसको रूखमा अडेस लाग्दै, ढुंगामा थचक्क बस्दै, झारमा लडिबुडी मार्दै यात्रा अगाडि बढिरह्यो। बादलुको घुम्टोले देखिने हरियाली र हिमालसँग लुकामारी खेल्दा हिमाली पदयात्रा केही खल्लो महसुस हुने तर जसै बादलुको घुम्टोले आफ्नो पर्दा उघार्दा देखिने हरियाली डाँडा र हिमालको दृश्यले दिने खुसी वर्णन गरी नसक्नु। आजको गन्तव्य हाई क्याप। यहाँ चाहिँ रु २००० प्रति रात खाना, बास र भोलि बिहानको नास्ताको।
भोलि बिहान सखारै ४ बजे नै हाम्रो अन्तिम गन्तव्य मार्दी बेस क्याप यात्रा सुरू गर्नुपर्ने हुन्छ। मनमा रोमाञ्चकता, कौतुहलता तथा अलिकति डर मिश्रित भय। कतै लेक लाग्ने पो हो कि, हिँड्न पो नसकिने हो कि। भोलीको रोमाञ्चक यात्राको कौतुहलताले ज्यानलाई चाँडै ओछ्यान जान बाध्य बनायो। तातो पानीको चुस्कीले भित्री ज्यान र अगेनाको तापले बाहिरी ज्यानलाई केही समय सेकाएर बेलुकाको भोजनपश्चात आजको रातलाई सुन्दर बिहानीको आशामा विस्तरामा बिट मार्ने जमर्को। चिसो सिरेटोले कोठालाई आफ्नो बाहुबलीमा कसेको रहेछ ओछ्यान तताउन र निदाउन संघर्ष नै गर्नुपर्यो।
बिहान ४ बजेको हुँदो हो उठ्न त उठियो अब हिँड्नलाई तयारी गर्नुपर्ने। त्यो पनि नौलखा ताराको मधुरो प्रकाशमा।
हामीसँग टर्च लाइट थिएन। मोबाइलको लाइट बालेर उकालो लागियो। बाटामा अन्य यात्रीहरूसँग पनि भेट हुने आशामा। तर हामी केही ढिला भएछौं। धेरै पर उकालोतिर बाटाभरि लाइट बलेको देखिन्थ्यो। जो जीवनको अविस्मरणीय क्षणको अनुभूति गर्न आतुरका साथ निरन्तर उकालो यात्रामा अगाडि लम्किरहेका होलान्। कष्टप्रद यात्रालाई भुलाउन र आफू नेपाली भएको महसुस गर्ने क्षणको प्रतीक्षामा।
होसियारपूर्वक निर्माण गरिएको गोरेटो बाटो, कहालीलाग्दो भीर भएका ठाउँमा राखिएका फलाममा बार, हरियालीविहीन भीरपाखासँग माया पिरती गाँस्दै तीन घण्टाको अनवरत यात्रापछि भ्यू पोइन्टको आगमन।
मानिसहरूको बाक्लो चहलपहल, अनुभूत हुने क्षणहरूलाई मन मस्तिष्कमा कैद गर्न आतुर आँखाहरू, फोटो खिच्न र टिकटक बनाउन व्यस्त युवायुवतीहरू। जहाँ अरूको बारेमा मतलब नहुने। मतलब हुने त केबल त्यहाँको सौन्दर्यताको।
हिमाललाई सामुन्ने पारेर त्यो पनि पोखराको पर्याय रहको माछापुच्छ्रे हिमाललाई, मोबाइलमा अविस्मरणीय क्षणहरूलाई कैद गर्न लालयित थिए। जसैजसै पूर्वी दिशामा सूर्यनारायणको आवागमन हुन थाल्यो यात्रुहरूका खुसी शब्दमा व्यक्त हुन थाल्यो। उनीहरू (माछापुछ्रे, अन्नपूर्ण प्रथम र हिउँचुलीलगायत) चाहिँ दुलहीझैं सुनौलो घुम्टी उघार्दै हामीलाई देखेर मुस्कुराएजस्तै भान हुने।
हामीले पनि धित मरून्जेल त्यस अलौकिक सौन्दर्यताको रसास्वादन गरेर, अलौकिक क्षणहरूलाई मनमस्तिष्क अनि मोबाइलमा बाचुन्जेलसम्मका लागि कैद गर्यौं। हिमपातको कमीले धित मरुन्जेल हिउँसँग खेल्ने मनोकांक्षा फेरि एकपटकलाई अधुरै रह्यो। सामुन्नेमा उभिरहेको अन्नपूर्ण, माछापुच्छ्रे हिमालहरूले पनि यस पटकलाई सरी भनेर आफ्नो प्राकृतिक रंगविहीन तर शालिन र सुन्दर स्वरूपमा हामीलाई बिदा गरेको ठानी हामी ओरालो लाग्यौं।
बास बसेको होटलमा नास्ता तयार भयो। नास्ता सेवन गरेर हामी निरन्तर ओरालो लागिरह्यौं।
उही गुराँसै गुराँसको घनघोर जंगल। आक्कल झुक्कल भेटिने केही पैदल यात्री अनि केही ठाउँमा गोरेटो बाटोमा ढुगां बिछ्याउन तल्लीन देखिएका श्रमवीरबाहेक सिदिनसम्मको अनकन्टार लाग्ने जंगलको अटुट ओरालो यात्रा, जहाँ केही गाडीहरू यात्रुहरूको प्रतिक्षामा कुरिरहेका छन्। गलेको, थाकेको ज्यानमा गाडीको दर्शनले नै प्राणवायु सञ्चार हुने। यहाँबाट यात्रा सुरू हुन्छ पोखरातर्फ गाडीमा। जहाँ हामी उही विजी वि रेष्टुराँमा ती हिमालझैं सुन्दर देखिने, उन्मुक्त जवानीले मस्त वरिपरिको वातावरणमा मादकता छाडेर संगीतको धूनमा झुमिरहेका युवायुवतीको जमातमा समाहित हुने उत्कट आशाका साथ।
निरन्तर यात्राका कारण थकित शरीरहरूका लागि पोखरा निश्चय नै 'हिलिङ होम' हो।
हाम्रा लागि मादकता, रोमाञ्चकता, अविस्मरणीयताको हिसाबले पोखरा हुँदै मार्दी हिमाल वेस क्याप यात्रा अनुपम र अविस्मरणीय रह्यो।