भारतको अयोध्यामा निर्माण गरिएको राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएसँगै नेपालमा पनि भक्तजनहरूले उत्सव मनाइरहेका थिए। देशका प्रमुख सहरमा दीप प्रज्वलन गरिएको थियो भने शोभा कलश यात्रा निकालिएको हामीले देखेका थियौं।
काठमाडौं उपत्यकामा पनि राम मन्दिर, हनुमान मन्दिरमा भक्तजनहरूले उत्सव मनाएका हामीले पत्रपत्रिकामा देख्यौं। धेरै लामो समय देखिको यो हाम्रो योजना बनेकै थियो अयोध्या जाने।
खासमा हाम्रो योजना पाटन मन्दिरपछि अयोध्यामा कपाल मुण्डन गर्ने साथै मन्दिर दर्शन गरेर फर्किने एक वर्ष देखिकै योजना थियो। तर विविध कारणले मिलिरहेको थिएन। तर संयोग नै भन्नुपर्छ वैवाहिक यात्रामा जाने अवसरले अयोध्यामा जाने पनि मौका मिल्यो। भारतीय दूतावासबाट आफ्नै सवारीमा जान अनुमति जो मिलेको थियो। जसले गर्दा यात्रा अविस्मरणीय बन्न सफल भयो।
अयोध्या धार्मिक पर्यटनको एउटा गज्जब गन्तव्य रहेछ जब अयोध्या पुगियो मन नै हर्षित भयो। पछिल्लो समय निर्मित राम मन्दिरले यसलाई थप सुशोभित बनाएको रहेछ।
आखिर के छ अयोध्यामा?
करिब दुईदेखि तीन किलोमिटरको बाटोमा नै सर्यु नदीलगायत हनुमानगढी, कनक भवन, दशरथ महल र अहिलेको विशाल राम मन्दिरको दर्शन गर्न सकिन्छ। यसै बाटोमा अयोध्याको कोसेली, प्रसाद आदि किनमेल गर्न सकिन्छ। यसबाहेक अयोध्यामा मणि पर्वत, नागेश्वरनाथ मन्दिर, तुलसी स्मारक भवन आदिको अवलोकन रमाइलो अनेक प्रकारका झाकी, जतिसुकै बेलामा पनि मन लाग्ने रोजी रोजी प्रसाद ग्रहण गर्ने हजारौं तीर्थयात्रीलाई नि:शुल्क खानाको प्रबन्ध गरिएको छ।
खाने मात्र होइन, शौचालयको समेत राम्रो व्यवस्थापन भएको देख्दा हाम्रा तीर्थस्थलहरूमा शौचका लागि भौंतारिनु परेको पनि सम्झिन बाध्य भयौं। नुहाउनका लागि पनि आवश्यक प्रबन्ध गरिएको छ। खोला जस्तो देखिने नुहाउनको लागि खोलामा पौडी खेल्ने जस्तो देखिने पानीलाई फिल्टर गरी निकै सुव्यवस्थित तरिकाबाट एकै पटक हजारौं जनाले नुहाउन मिल्ने व्यवस्था गरिएको रहेछ। मानसरोवर तालबाट उत्पत्ति भएको सर्यु शारदा नदी हुँदै अयोध्या विशाल र शान्त छ। पवित्र नदीका रूपमा पुजिने यो नदीपछि गंगामा मिसिन्छ। यसमा नुहाउनु पनि अयोध्या भ्रमणको एउटा महत्वपूर्ण पक्ष रहेछ।
राम मन्दिर परिसरमा प्रवेश गर्दा मनमा छुट्टै आनन्द आउने। मोबाइल, घडीलगायत धातु, फूल-प्रसाद केही पनि लिएर जान नपाउने यस मन्दिर प्रवेश गर्दा निःशुल्क लकरको व्यवस्था गरिएको छ।
हजारौंको संख्यामा रहेको लकरमा सामान राख्दा बहुमूल्य सामान देखाएर उल्लेख गरेर राखिने रहेछ न त हराउला भन्ने डर न त चिन्ता नै बैंकको लकरभन्दा सुरक्षित छ भन्दा ढुक्क हुँदो रहेछ।
दुई पटक कडा सुरक्षा जाँचपछि विशाल भवनमा प्रवेश पाइन्छ। चार लाइनमा प्रवेश गरिने मन्दिरभित्र कतै बस्न, उभिन पर्दैन र लाइन बिस्तारै बिस्तारै अगाडि बढिरहेको हुन्छ। जय श्रीरामको नारा गुन्जायमान हुँदो रहेछ। न फूल-प्रसाद चढाउनुपर्ने, नछोएर ढोग्नुपर्ने, ३–४ फिट दूरीबाट दर्शनमात्र गर्न पाइने भएकाले खासै समय लाग्दैन रहेछ।
कति लाग्छ खर्च?
धेरै खर्चिलो छैन। होटलहरूमा एक हजारदेखि दुई हजार ५०० भारुसम्ममा कोठा पाइन्छ भने धर्मशालाहरूमा ३०० देखि ६०० सम्ममा कोठा पाइने रहेछ। पैसा हुनेका लागि आवश्यक होटल रोजी खान पाउने व्यवस्था रहेछ। खाना भने महङ्गो पर्दोरहेछ। पैसा नहुने अथवा लाइन बस्न चाहनेहरूको लागि शाकाहारी खाना लाइनबाटै बाटोमै नि:शुल्क पाइन्छ। अयोध्या क्षेत्रमा माछा-मासु पाइँदैन र अधिकांश होटलमा लसुन-प्याज प्रयोग गरिएको हुँदैन रहेछ। होटलहरूले खाना पकाउँदा हिन्दु परम्परालाई ख्याल गर्दै खाना शुद्ध खाना खुवाउनुपर्छ भन्ने संस्कारको विकास र धार्मिक मान्यता ताजै रहेछ।
कसरी पुग्ने?
कपिलवस्तुको कृष्ण नगर भन्सार हुँदै जाँदा अयोध्याको बसाइँ निकै सस्तो हुन्छ। आफ्नो सवारी हुनेलाई भन्सार सुविधा लिएर नेपाली फ्लेट गाडी आफैं सवार गर्न सकिन्छ भने अयोध्या धेरै टाढा छैन नेपालबाट। नेपालको पश्चिम तराईसँग भारत उत्तरप्रदेश जोडिएको छ। त्यसैले पश्चिम तराईबाट निकै नजिक छ। त्यहाँ पुग्न एक मात्र बाटो छैन। भारतसँग जोडिएका सबै नाकाबाट अयोध्यासम्म पुग्न सकिन्छ। भैरहवाबाट कपिलवस्तु जान मात्रै एक घण्टा लाग्छ भने कृष्णनगरबाट मात्रै २७५ भारूमा अयोध्या पुग्न सकिन्छ जसको दूरी मात्र ८० किलोमिटर रहेको छ।
जनवरी २२ मा राम जन्मभूमि अयोध्यामा भव्य उत्सव थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको प्राण प्रतिष्ठा तथा उद्घाटन गरेर विश्वभरका हिन्दुहरूको ध्यान केन्द्रित गरे। भन्न त धेरैले राजनीतिक पनि भने भन्लान् तर हामी आफ्नो धार्मिक यात्रा कपाल मुन्डन कार्यक्रम लिएर अयोध्या पुगेका थियौं। करोडौं मानिस खाली खुट्टाबाट यात्रामा होमिएको देख्दा एउटा आस्था र भरोसाको प्रतीकको रूप पायौं।
बाँदरको आतंक
अयोध्या सेरोफेरोमा हामी पुग्दा आधुनिक हनुमानको चित्रकला पनि रोचक रहेछन्। काँधमा बसेर हामीले लगाएको चस्मा खोस्ने अनि चस्मा लगाउन खोज्ने कस्तो गज्जब! अयोध्या क्षेत्रमा ठूलो जंगल छैन। सोही कारण बाँदरले बस्तीमै अड्डा जमाएका छन्। रातभर खान नपाएर भोकाएका बाँदरले बिहान मानिसमा आक्रमणको प्रयास पनि गर्दा रहेछन्। विशेष गरी बस्तीमा नयाँ देखिएकालाई। त्यहाँ बाँदरको लुटबाट बच्न पसलमात्र होइन ससना बालबालिकाहरूको खेलौनादेखि सबै समान खोस्न आउँदा रहेछ। त्यसो त पशुपतिमा पनि नभएको होइन यहाँ चिथार्ने कोपर्ने हुन्छ तर त्यहाँ त न कुनै डर! निर्धक्क, यहाँ राम मन्दिर बनेपछि र लाखौं भक्तजन आउने भएपछि अब हनुमानका सेनारूपी बाँदरहरू पनि आहारा खान पाइने भएकाले पक्कै खुसी हुने रहेछन् तर परेवा कहीँकतै देखिएनन्।
चोरको बिगबिगी!
अयोध्या धार्मिक पर्यटन प्रवर्द्धनको केन्द्रको रूपमा विश्वले हेरिरहेको छ। तर यहाँ पनि चोरहरू पाइला पाइलामा चोर्ने कामका लागि तल्लीन हुँदा रहेछन्। हामीसँगै यात्रा गर्ने ६४ वर्षीया आमाको सामान्य झोलासम्म आधा काटिएको पायौं तर जब हनुमान गढीको भीडमा कसैको केही नहराएको भन्ने सुनिएन। हनुमानको दर्शन चोरको लागि त केन्द्रबिन्दु नै रहेछ आफ्नो समान सुरक्षित गर्न सकिएन भने सबभन्दा खल्लोपना त्यहीँनेर हुँदोरहेछ। यात्रामा सबभन्दा जोखिम भने धार्मिक यात्रामा कसैले नसोचेको काम चेन पर्स, झोला खल्ती काटिने चोरिने हुने हुँदा यो कुरा पूर्ववत जानकारी नहुनेहरूको लागि सबभन्दा घातक हुँदो रहेछ। बहुमूल्य चिजहरू हुनेले त अझ भन्नुपर्दा यो यात्रा नरोज्दा नै बेस!
शीर्षक सम्पादन गरिएको-सम्पादक