हामी ३ जना साथी, म, रोशनजी र भरतजी, काठमाडौंबाट रोशनजीको गाडीमा टोखाको बाटो हुँदै नुवाकोटसम्म गाडीमा गयौं।
गाडीलाई नुवाकोटको एउटा साथीको घरमा छाडेर हामी तीन जना नुवाकोटबाट स्कार्पियो भाडामा लिई स्याफ्रुबेंशी लाग्यौं। करिब ४ बजेको हुँदो हो त्यहाँबाट हामी बीचमा फोटो खिच्दै रमाइलो गर्दै स्याफ्रुबेंशी लाग्यौं। म त पहाड घर भएको मान्छे उकाली ओराली गर्दै हुर्केको।
धुन्चे पुगेपछि खाजा खानलाई गाडी रोक्यो। त्यहाँ पाइने चिया र सेलरोटी सारै मीठो रहेछ। खाजा खाइसकेपछि हाई नलाग्ने, रिंगटा नलाग्ने औषधि किन्यौं। सबै औषधि किनिसकेपछि हामी अगाडि बढ्यौं। यसपालि त गाडी चलाउने ड्राइभर भाइ पनि सारै रमाइलो रहेछन्। हामीलाई यति राम्रो राम्रो गाना गाएर सुनायो कि बाटो अगाडि बढेको पत्तै पाइएन।
हामी करिब ७ बजेतिर स्याफ्रुबेंशी पुग्यौं। बाटो राम्रो नभएकोले हामीलाई ३ घण्टा जति लाग्यो नुवाकोटबाट स्याफ्रुबेंशी पुग्न।
हामीले पहिल्यै होटल बुक गरेको भएर हामीलाई धेरै सजिलो भयो। होटल नयाँ भएकोले गेष्ट हामी ३ जना र गाडी चलाउने ड्राइभर भाइबाहेक कोही थिएन। रिफ्रेस भएर हामी स्याफ्रुबेंशी घुम्नतिर लाग्यौं। तिहारको समय भएर देउसीभैलो र लाइटका बत्तीले धपक्क बलेको स्याफ्रुबेंशी सारै राम्रो अनि चिसो थियो।
भोलिपल्ट हामी बिहानै हिँड्नुपर्ने भएकोले होटलमा खाना खाएर सबै ब्याग प्याक गरी आराम गर्न लाग्यौं।
भोलिपल्ट बिहान बसेको होटलमा चियानास्ता गरी हामीलाई थोरै माथिसम्म गाडीले छोडिदिने भएकोले हामी गाडीमा लाग्यौं। करिब १० मिनेटपछि पैदलयात्रा सुरू भयो।
तर हामी पनि नयाँ गाडी चालक पनि नयाँ, बाटो पत्ता लगाउन नसकेर हामी ६ बजे होटलबाट निस्केका १० मिनेटको बाटोमा हामीलाई २ घण्टा यताउता बाटो गर्दैमा समय बित्यो। अन्त्यमा लाङटाङ गएर फर्किरहेको मान्छेलाई सोधेपछि मात्र बाटो पत्ता लाग्यो।
अन्त्यमा हामी हाइड्रोसम्म गाडीमा पुग्यौं अब सुरू हुन्छ हाम्रो लाङटाङ यात्रा। मन फुरूङ्ग पनि छ हामीमध्ये भरतजी कहिल्यै नहिँडेको पहिलो पल्टनै लाङटाङ यात्रामा निस्किएको छ, उसको हिम्मतलाई मान्नै पर्छ।
हाइड्रोबाट अगाडि बढ्दै छौं। विस्तारै शरीर पनि तात्दैछ, अगाडि बढ्दैछौं हामी विभिन्न चराहरूको चिरविर आवाज सन्दै। खोलाको आवाज सन्दै,अगाडि बढ्दैछौं। हामी ब्याम्बो आइपुग्यौं ट्रेकको सामान बिसाइ खाना अर्डर गर्यौं। हामी चाहिँ फोटो खिच्नतिर व्यस्त भयौं। खाना पनि पाकिसकेछ। 'दाइ खाना पाक्यो आउनुहोस् सेलाउँछ फेरि' खानावाला दाइले बोलाउनुभयो।
मौसम पनि चिसो खाना चाहिँ साहै मीठो। कति धेरै खाइयो भने खाना खाइसकेपछि हामी आफ्नो गन्तव्यतिर लाग्यौं।
हामी ३ जनामध्ये रोशनजी अगाडि म चाहिँ बीचमा फोटो खिच्दै वरिपरिको वातावरणसँग रमाइलो गर्दै अगाडि बढिरहेको छु, भरतजी चाहिँ कहाँ पछाडि हुनुहुन्छ थाहा नै छैन।
रोशनजी अगाडि पुलमा पर्खिराख्नु भएको रहेछ। म पनि पुगेँ। रोशनजी र म पुलमा फोटो खिच्नतर्फ लाग्यौं एकछिनपछि भरतजी पनि आइपुग्नुभयो। हामीले एकछिन विश्राम लियौं।
आजको हाम्रो गन्तव्य घोडा तबेलासम्म हो। त्यहाँबाट अब उकालो सुरू हुन्छ। हामी केही घण्टापछि लामा होटल पुग्यौं। लामा होटलमा तातो तातो चिया र कोकोनट बिस्कुट खाएर अगाडि बढ्यौं। बीचमा भरतजीको खुट्टामा समस्या देखिन सुरू भयो। कहिल्यै नहिँडेको मान्छे 'मसल क्रयाम्प' भयो एकछिन खुट्टाको मसाज गरिसकेपछि बिस्तारै-बिस्तारै अगाडि बढ्यौं। रात पनि निकै परिसकेको थियो। मनमा डर लिँदै अगाडि बढ्यौं। करिब ५ बजेपछि जङ्गलको बाटो नहिँड्नु भनिँदो रहेछ। हामी करिब ५ बजे घोडा तबेला पुग्यौं।
घोडा तबेला पुग्दा त राति भइसकेको थियो। हामीले स्याफ्रुबेंशीबाट नै होटल बुक गरिसकेको भएर सजिलो भयो। नत्र होटल पाउन निकै मुश्किल पर्ने रहेछ। हामीले होटलमा २ वटा रूम भनेकोमा गेष्टहरू धेरै भएकोले १ वटा मात्र रूम राखिदिएको रहेछ।
करिब ९ बजेतिर खाना खाई रोशनजी र भरतजी रूममा सुत्नुभयो म चाहिँ किचेन रूमको खाटमा एक्लै सुत्न गएँ।
करिब १२ बजेको हुँदो हो म सुतेको ठाउँमा बँदेलले आएर ड्याम्म ड्याम्म गर्दै लगातार हानी रहेकोले मलाई सारै डर लागेर साथीको रूममा गई साथीलाई उठाएँ। फेरि उठेर ढोकाको चुकुल, गेटको चुकुल सबै चेक गरी सुत्न गएँ। करिब ३ बजेतिर निन्द्रा खुल्यो फेरि त्यस्तै ड्याम्म ड्याम्म आवाज आइरहेको थियो झ्याल फोडेरै भित्र नै आउलाजस्तो।
बिहान उठेर चिया खाजा खायौं। भरतजी त हिँड्नै नसक्ने हुनुभएछ। होटल साउजीलाई भनेर लाङटाङ भ्यालीबाट घोडा मगायौं। घोडा करिब ८ बजेतिर आइपुग्यो। भरत जीलाई घोडामा चढाएर रोशनजी र म हिँड्यौं।
रोशनजी र म चाहिँ बीचबीचमा राम्रो दृश्य देखिनेबित्तिकै फोटो खिच्दै अगाडि बढ्यौं। घोडा तबेलाबाट हिँडेको करिब ३ घण्टा जतिमा लाङटाङ भ्याली आइपुग्यौं।
लाङटाङ भ्याली पूरै परिवर्तन भएछ। २०७२ सालको भूकम्पले पुरानो भ्यालीमा ढुंगा माटोबाहेक केही थिएन सबै पहिरोमात्र। अलिक पर नयाँ भ्याली बसेको रहेछ। हामी घोडावाला साउजीको घर पनि पुग्यौं। घोडावाला साउजीको घर पनि लाङटाङ भ्यालीमा नै रहेछ।
गोरेटो बाटो सेतो मनमोहक हिमाल हुँदै अगाडि बढिरहेका छौं।
लाङटाङ भ्यालीमा खाना खायौं खाना खाई आराम गरी हामी केन्जिङ गोम्पातर्फ लाग्यौं। करिब ३ घण्टा जति लाग्ने रहेछ लाङटाङ भ्यालीबाट केन्जिङ गोम्पा पुग्न। अगाडि जाँदै थियौं लाङटाङबाट अगाडि विश्वको अग्लो स्थानमा रहेको हार्डरक क्याफे रहेछ। त्यहाँ भरत जीले हामीलाई पर्खिराख्नु भएको रहेछ। त्यहाँ तातो तातो कफी पियौं अनि अगाडि गन्तव्यतर्फ लाग्यौं। घोडावाला दाइसँग गफ गर्दै अगाडि बढ्यौं।
यहाँको जीवनस्तर पर्यटनले माथि उकासिएको पायौं। केन्जिङ गोम्पा पुग्नु अगाडि हाइड्रो पनि देख्न पाइयो। लाङटाङ भ्याली र केन्जिङ गोम्पा झपक्कै बनाइएको थियो हाइड्रोले। करिब ५ बजेतिर केन्जिङ गोम्पा पुग्यौं भरतजीलाई घोडाले छाडेर फर्किसकेको थियो।
म त केन्जिङ गोम्पा सानो टि हाउस जस्तो होला भन्ठानेको सबै घर ढलान पक्की भएको काठमाडौंभन्दा सुविधायुक्त ठाउँ पो रहेछ।
चिसो निकै बढेको छ होटलमा सामान राखी रिफ्रेस भयौं। कफी पियौं। खाना खायौं। करिब ९ बजेतिर सुत्ने कोठामा आयौं।
बिहान फेरि केन्जिङ री चढ्नुपर्ने रेष्ट नपुग्ने हो कि भनी सुत्नतर्फ लाग्यौं। राति रोशनजीको छोरी बिरामी भएको खबर आयो। फेरि भरतजी पनि हिँड्न नसक्ने हामी केन्जिङ री नचढ्ने भयौं। बिहान करिब ६ बजेतिर उठेर ब्रेकफास्ट गर्यौं अनि फर्किनतर्फ लाग्यौं।
लाङटाङ भ्यालीमा खाना खायौं। जाँदा हामीले बाटोमा भेटेको ग्रुप एउटा पौड्याल परिवार थियो। त्यो परीवारलाई पनि हामीले लाङटाङ भ्यालीमा भेट्यौं। सँगै खाना खाई हामी अगाडि बढ्यौं आजको हाम्रो गन्तव्य भनेको लामा होटलसम्म हो। घोडा तबेला पुगेर खाजा खायौं। लाङटाङ भ्यालीबाट चिज पठाइदिएको थियो। घोडा तबेलाको साहुजीलाई त्यहाँ दिई खाजा खाइ अगाडि बढ्यौं। भरतजीलाई हिँड्न अप्ठ्यारो भएको हुनाले हामी पछाडि नै बिस्तारै हिँड्यौं। पौड्याल परिवारलाई अगाडि पठायौं। लामा होटलमा हामीलाई पनि रूम बुक गर्दिनका लागि करिब ६ बजे पुग्दा पौड्याल परिवार हामीलाई पर्खेर बस्नुभएको रहेछ। होटल सारै भिडभाड पर्यटकको सिजन भएर पनि होला। रोशनजी र मैले १/१ बोतल बियर पियौं। अरूले जुस पिउनुभयो केही समयपछि खाना खायौं।
हामीलाई घोडा तबेलाको साहुजीले 'लामा होटलमा गाडीको कन्ट्याक हुन्छ लामा होटलबाट १ घण्टा जतिमा रिजर्भमा गाडी आउँछ, त्यहाँ गएर कल गर्न लगाउनु' भन्नुभएको थियो।
भरतजीको लागि भए पनि गाडीको लागि हामीले निकै मेहनत गयौं। लामा होटलको साहुजीले गाडीलाई राति फोन गर्नुभयो।
बिहान पूजा सकेर आउने कुरा भयो। हामी त यति खुसी भयौं कि हाम्रो ४।५ घण्टा बच्ने भयो हिँड्न नपर्ने भयो शरीरले आराम पाउने भयो भनी निकै खुसी भई सुत्न गयौं।
बिहान खाजा नास्ता गरी गाडीलाई कन्फर्म गर्न खोज्दा गाडीको साहुजीको फोन नै लागेन। पछि फोन लागेपछि कल रिसिभ नै भएन। निकैबेरसम्म पर्खियौं। गाडीको कुरालाई अन्त्यमा केही सीप नलागेपछि हामी हिँड्नतर्फ नै लाग्यौं। करिब ३ घण्टा जति हिँडेपछि ब्याम्बोमा पुग्यौं। त्यहाँ चिया खाएर हामी स्याफ्रुबेंशीतर्फ लाग्यौं।
पौड्याल परिवारले चिनेको गाडी रहेछ हाइड्रोको गाडी बोलाउनुभयो। हाइड्रोमा हामी चाहिँ ग्रुपको फोटो खिच्न लाग्यौं। ग्रुपको फोटो खिचिसकेपछि गाडी आउन ढिला भयो। हामी सल्लाह गरी हिँड्न थाल्यौं। थोरै अगाडीसम्म पुगेपछि गाडी आयो हामीलाई लिन, भरत जी र पौड्याल परिवार अगाडि र बाँकी पछाडि ढालामा चढ्यौं। ड्राइभरले यति स्पिड चलाएकोले रोड नै यही गाडीको लागि बनाएको जस्तो। करिब १० मिनेट जतिमा हामी स्याफ्रुबेंशी होटल पुग्यौं। रिफ्रेस भई खाना खायौं। खाना खाइसकेपछि नुवाकोट जानको लागि गाडी खोज्न थाल्यौं। गाडी नभेटेपछि हामी टाटा सुमोमा नुवाकोटतर्फ लाग्यौं। करिब ३ घण्टा जतिमा नुवाकोट पुग्यौं, ५ बजिसकेको थियो। त्यहाँ खाजा खाइसकेपछि रोशन जीको गाडीमा टोखाको बाटो हुँदै करिब ९ बजेतिर काठमाडौं पुग्यौं।