आहा! मन र मस्तिष्कले तपोवनको शान्तमय धरामा नौला नौला अनुभवहरू बटुल्दै छन्।
डाइनामिक ध्यान सकेर केहीबेरको शवासनपछि शरीर निकै ऊर्जावान भएको महसुस गर्दैछु। घडीले नौ बजेको संकेत दिन्छ।
उत्साह र उमंगले गर्दा पेटपूजा गर्नुपर्छ भन्ने कुरा पनि भुसुक्कै बिर्सिएकी छु। रमाइलोले गर्दा नै होला खाजा खाने समय भड्किएको पनि अत्तोपत्तो छैन। हामी निकै भाग्यमानी रहेछौं।
हामीलाई अर्को आनन्ददायी खबर प्राप्त भएको छ। केही साधक साधिकाहरूले आज स्वामी आनन्द अरूणबाट दीक्षा पाउने सु-अवसर पाएका रहेछन्।
गीता दिदी भन्दै हुनुहुन्छ, 'कति भाग्यमानी हो! यो अवसर हतपति मिल्दैन थियो। तर कस्तो संयोग परेछ आज त! बिहानै दीक्षाको कार्यक्रम पनि रहेछ। लौ! दीक्षाको आनन्द पनि उठाउनु होस्।'
म पनि भित्रभित्र मख्ख परेँ।
आहा! आज त प्रत्यक्ष देख्न पाइने भएँ दीक्षा समारोह। मैले सामाजिक सञ्जालमा देखेकी थिएँ दीक्षा दिएको बेलाका आश्चर्यजनक घटनाहरू भएको। ती दृश्यहरू देखेर मलाई निकै कौतुहल र जिज्ञासा उत्पन्न भएको थियो। ती दृश्य देखेर अझ शंकाको त दुबो नै मौलाएको थियो। तर अहिले मन बढो रोमाञ्चित र कौतुहलमय भएको छ।
हेर्दाहेर्दै स्वामी आनन्द अरुणको आगमन भयो। उच्च आसनमा बस्नुभएको स्वामी आनन्द अरुणलाई निर्निमेष हेरिरहेकी छु।
उहाँका वाणीहरू मेरा कानले स्वाद मानी मानी सुनिरहेका छन्। स्वामीजीको मुहारमा ऊर्जा र कान्ति छरपष्ट पोखिएको देख्छु। एक किसिमको सकारात्मक ऊर्जा मसम्म आएर ठोक्किन्छ। मेरो तत्वदर्शी गुरूलाई हृदयतः आभार व्यक्त गर्दैछु। म प्रत्येक तत्वदर्शी गुरूहरूमा आफ्नै गुरूको छवि हेर्ने गर्छु। हे गुरूदेव मेरा यी सम्यक दृष्टि अझ तेजिलो हुँदै जाओस्। मेरा हात प्रार्थनामा करबद्ध भएका छन्। त्यसैत्यसै म आनन्दित भएकी छु। मलाई पनि नयन बन्द गरेर आफैंभित्र घण्टौं हराउन मन लागेको छ।
म मेरो गुरूलाई बारम्बार नमन गर्दैछु। यो सकारात्मक ऊर्जालाई महसुस गर्न सक्ने क्षमता ममा जागृत गरिदिनुभएकोमा हृदय गदगद भएको छ। आन्तरिक शान्तिमा गोता लगाउने अभ्यास मेरा गुरूले मलाई पहिले नै नसिकाएको भए कहाँ यो सुन्दर माहोलमा म यसरी भिज्न सक्थेँ र? त्यसैत्यसै फूलको थुंगा जस्ती भएकी छु।
यो सुन्दर वातावरणमा आफैंभित्रको शान्ति, आनन्द र सुखमा चुर्लुम्म डुब्न सकेकी छु। अचानक मेरो मस्तिष्कमा अरूण स्वामीले लेखेका पुस्तकहरू याद आउँछन्। तपोवनको त्यो पावन भूमिमा म ती सिद्धयोगीहरूको अस्तित्व खोज्न थाल्छु।
योगीहरूका जीवन कथाहरू मेरो मन र मस्तिष्कमा चल्मलाउन थाल्छन्। म सत्यलाई बुझ्न सक्दिनँ। म हायलकायल भएकी छु। कतै ओशोले पनि मलाई नजिकबाट हेरिरहेका छन् कि भन्दै आँखा चारैतिर नचाउँछु।
म सोच्न थाल्छु अरबिन्द स्वामी, मस्तराम बाबा, योगानन्द, शिवपुरी बाबा, रामकृण परमहंस झैं ओशोको पनि दिव्य शरीर तपोवनको यो सुरम्य संसारमा त समाहित छैन? 'सन्त दर्शन' र 'सन्त गाथा' का अद्भूत योगीहरूका अनुहारहरूले मलाई बोलाउन थाल्छन्। योगीहरूको जीवन कथाहरू मस्तिष्कमा पुनरावृत्ति भएर चकित चकित भएकी छु। स्वामीजीका अमृतमय वचनहरू ध्यानपूर्वक श्रवण गरिरहेकी नै छु। ध्यानको महत्त्व आजको समयमा कति आवश्यक छ भन्ने विषयमा गम्भीर चर्चा हुँदैछ।
यसैबीच तपोवनकै एक जना स्वामीले वैज्ञानिकहरूको समूहबाट ध्यानको प्रयोगपछि समाजमा आएको रूपान्तरण र अपराधको दरमा आएको कमी शीर्षकमा एउटा स्लाइड सो देखाउनु भएको छ, जुन निकै मननीय लाग्दैछ।
अब हामी नयाँ साधकहरूलाई दीक्षा दिएको प्रत्यक्ष कार्यक्रम हेर्दैछौं। बेल्जियमबाट आएकी युवतीको पालो अगाडि छ। ती युवतीको ओशो र नेपालप्रतिको प्रेम देखेर म त नतमस्तक भएकी छु। दीक्षा दिँदा स्वामीजीले ओशोको माला ती युवतीलाई लगाइदिएर निधारमा स्पर्श गर्दा ती युवती भुइँमा रुँदै पुर्लुक्क ढलिन्। दुवैतिरबाट पुराना साधकले दह्रोसँग समातेका थिए तर ती पुराना साधकहरू पनि स्वामीजीको स्पर्शमा आशीर्वाद पाएर त होला रुँदै कराउँदै जमिनमा पछारिन पुगे। म हेरिरहेकी छु यी रहस्यमयी दृष्यहरू।
आहा ! आँसु र हाँसोको भाषा नै विश्वव्यापी रहेछ। म ती विदेशी युवाहरूको आँखाबाट उनीहरूको हृदयसम्म पुगेर फर्किन्छु। युक्रेनको युवालाई देखेर मेरो मन भुतभुताउँछ 'मान्छे विकासको उपल्लो तलामा पुगेपछि आखिर विनाश नै खोज्दो रहेछ।'
प्रायः युवाहरू युक्रेन, टर्की, बेल्जियम, इसराइल र रूसबाट आएका छन्। हे ईश्वर! यो विश्वमा शान्तिको धुन फैल्याउन सके कस्तो हुन्थ्यो? बारूदको धुवाँभन्दा कैयौं गुणा शक्तिशाली छ शान्तिको धुन। प्रेमको धुन। सहयोगको धुन। सद्भावको धुन। मेरा आँखामा युद्धको पिरो धुवाँ मडारिएर फुत्त पस्छ। मान्छेले सबै कुरा बनाइसक्यो। मान्छेले गर्न नसक्ने असम्भव कामहरू पनि गरिसक्यो तर हाय! मेरो ईश्वर! मान्छे किन मान्छे बन्न सकिरहेको छैन? अरूण स्वामी भन्दै हुनुहुन्छ 'दुई खुट्टे पशु पनि मान्छे जस्तै हुन्छन्।'
सायद मान्छेको विनाश यिनै दुई खुट्टे राक्षसहरूले गर्दैछन् कि क्या हो? हेर्दाहेर्दै दीक्षा ग्रहण गरेका नवदीक्षितहरू बग्रेल्ती भुइँमा ढलेको देख्दा मेरो मनमा तर्कको माखेसाङ्लो अल्झिन पुग्छ। म हेर्दैछु चकित पार्ने दृष्यहरू। म सुन्दैछु छक्क पर्ने आवाजहरू। अघिसम्म शान्त भएर बसेका मान्छेका कैयौं क्रन्दन र आँधीहरू।
नवदीक्षितहरू कोही विदेशबाट उच्च शिक्षा हासिल गरेर आएका युवायुवतीहरू छन्। कोही नेपालका नाम चलेका सरकारी, गैरसरकारी संस्थामा काम गर्दै आएका सुझबुझ राम्रै भएका शिक्षित कर्मचारीहरू छन्। समृद्ध मान्छे वास्तवमा शान्त हुन अपरिहार्य छ। त्यसैले होला आफ्नै हृदयमा बन्द भएको शान्तिको अपार सागर बोकेर छट्पटाइरहेका छन्।
सबै जना त्यो परमशान्तिसम्म पुग्ने साँचो पत्ता लगाउन प्रयासरत छन्। त्यसैले शान्तिको साँचो लिन तपोवन आएका छन्। आजको मान्छे वास्तवमा खोक्रो छ। आजको मान्छे बाहिरबाट जति जोडजोडले कराए पनि ऊ भित्रभित्र निकै कमजोर छ। मान्छे भौतिक रूपमा सम्पन्न र समृद्ध भए पनि मानसिक रूपमा दरिद्र, दीनहीन र दुःखी छन्। मान्छेको वेशभूषा, भाषा, भूगोल, मान, सम्मान, वैभव, धन, सम्पत्ति त सबै छद्म मात्र रहेछ। शान्ति र आनन्द नै वास्तविक रहेछ।
आजको आधुनिक संसारले मान्छेलाई सबै कुरा दियो।
मान्छे मख्ख छ तर ऊ यो कुराबाट अनविज्ञ छ। मान्छेबाट मान्छेले मान्छेलाई नै खोसिसक्यो। मान्छेलाई थाहा नै छैन। ऊ आफूबाट आफैं लुटिएको कुरा। साँच्चै भन्ने हो भने आज आफैंभित्र मान्छे भौंतारिएको छ। आफ्नै आँखामा पट्टी बाँधेर आफैंलाई खोज्दैछ।
मान्छे सकारात्मक कुरा गर्नै बिर्सिँदैछ आज। ऊ नकारात्मक कुरा गर्न अभ्यस्त हुँदै गएको छ। त्यसैले पनि होला यो संसारले मान्छेलाई सकारात्मक हुनै दिँदैन। मान्छेलाई बुझ्न त हाँसो र आँसुको मार्ग नै काफी छ। मान्छे कोरोना महामारीबाट त बरू बाँचेर आएका छन् तर आफ्नै मन र मस्तिष्कको डरलाग्दो खाडीमा फनफनी घुम्न विवश भएका छन्। शान्ति आजको माग मात्र होइन आधारभूत आवश्यकता हो। शान्ति विकल्प होइन अपरिहार्य हो।
मेरो अगाडि नाचिरहेको त्यो विदेशी युवक टर्कीको रहेछ। दोभाषेको माध्यमबाट त्यो युवक बोल्दै थियो।
अहो! युद्धको पीडा बोकेर तपोवनमा शान्तिको सास फेर्न आएको त्यो विवश युवकलाई हेर्दै गर्दा मेरा आँखाहरू रसिला हुँदै गए। आजको मान्छे किन विनाशको मार्गमा होमिँदै छ। युद्धको प्यास कहिले समाप्त होला? किन मान्छे मान्छे कै विनाश गरेर सन्तुष्ट हुँदैछ? आखिर मान्छेले के पाउन यो अमानवीय क्रियाकलाप गरिरहेको छ? मन निकै भावुक हुँदैछ।
आँखा अगाडि शान्ति र आनन्द प्राप्त गर्न मान्छे यसरी तडपिएको दृष्यले पुनः मलाई आशावादी पनि बनाउँदै लग्यो। मेरो मस्तिष्कमा यो सुमधुर भजन गुन्जिरह्यो
'दीप जलोस् घर घरमा अन्तर हृदय आँगनमा, यो देशमा सारा विश्वमा।'
दीक्षाको रहस्यमयी क्रिया बुझेर बुझ्न नसकिने छ। स्वयम् आफूले अनुभूत नगरी केही नबुझिने देखेर म ट्वाल्ल परेर हेरिरहेकी थिएँ। मान्छेको मन नै शत्रु मन मै मित्र त्यसै भनिएको होइन रहेछ। मेरो शान्त र सकारात्मक मन साधना कक्षबाट बाहिर निस्किने बित्तिकै, संसारको चुम्बकले स्वाट्ट तान्न पो थाल्यो।
हेर्दैछु, मेरो मन निकै विद्वान पल्टिन थाल्यो। अहंकारले फुल्दै गयो। गुरूकृपाले मैले मेरो मन बरालिएको थाहा पाइहालें। हेर्दाहेर्दै मेरो मन बढो जान्ने भएर प्रश्न, वादविवाद र तर्क गर्न पो थाल्यो। मेरो मनले आफूलाई निकै बुद्धिमान् ठानेको देखेर मैले झट्ट लेखनाथ बालाई बोलाएँ –
'कहाँ थियो बास, अघि म को थिएँ,
कसो हुँदा यो पिंजरा लिंदो भएँ
कहाँ छ जानु कुन साथ लिइकन,
तँलाई मालुम छ कि यो कुरा मन?'
मेरो मन अझ उफ्रिँदै थियो। फेरि अर्को पंक्ति बाले कानैमा फुस्फुसाए-
'असत्य संसार सदैव देखिने
छ सत्य जो सो कहिले नदेखिने
विचित्र उल्टो परिपञ्च यो किन
तँलाई मालुम छ कि यो कुरा मन?
'कहाँ छ बैकुण्ठ कहाँ छ रौरव
विचार को गर्दछ कर्मको सब
यथार्थ तत्व छ शास्त्रको कुन
तँलाई मालुम छ कि यो कुरा मन?'
तपोवनको त्यो पावन भूमिमा पूर्ण रूपले नयन बन्द गरेर लेखनाथ बासँग कुराकानी गर्दै थिएँ।
म त झसंग भएँ, गीता दिदीले पछाडिबाट काँधमा झक्झक्याउँदै भन्नुभयो, 'अब खाजा खान भान्सातिर जाऔं अनिता।'
क्रमशः
यो पनि:
साधना गर्दागर्दै रुने, कराउने र चिच्याउने साधकहरू!
(अनिताका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)