‘किन सगरमाथा चढ्ने प्रयास गरिरहेछौ?,’ धेरै पटक सगरमाथा चढ्ने प्रयास गर्दा पनि असफल भएपछि बेलायती हिमाल आरोही जर्ज मालोरीलाई सोधिएको प्रश्न हो यो।
उक्त प्रश्नको जवाफमा उनले भनेका थिए रे, 'किनकि त्यो त्यहाँ छ।'
त्यसैगरी म एक साइकलयात्री, त्यसैले मलाई थोरोङ्ला पास वा भन्ज्याङले चुनौती दिइरहेझैं लागेको थियो- म यहाँ छु, धेरै विदेशी र नेपालकै कतिले मलाई पार गरेर अन्नपूर्णको फन्को मारिसके, तँ नआउने?
यो चुनौती कति खपिरहने; भो अब त अति भो, जानु पर्यो भन्ने मनमा लाग्यो।
यसो गर्दा आफ्नो शारीरिक र मानसिक तन्दुरूस्ती प्रमाणित हुने अवसर पनि!
५४१६ मिटरमा रहेको थोरोङ्ला भन्ज्याङ विगत १० वर्षयता साहसी साइकल यात्रीले पार गर्न थालेका छन्। यो भन्ज्याङ पार गरेपछि अन्नपूर्ण पदमार्ग, अझ भनौं साइकलयात्रीले साइकलमार्ग हुँदै एक फन्को मार्छ।
अन्नपूर्ण साइकल मार्गलाई कठिनाइ मापनमा १० मध्ये ८ तोकिएको रहेछ। यो
मार्गको आधा भाग जिप ट्र्याकमा छ, तर त्यहाँ धेरै जोखिमयुक्त ठूला चट्टानहरू सहितको साँघुरा घुम्ती र पहिरोले छियाछिया पारेका बगररूपी बाटो पर्छ। उच्च उचाइमा अक्सिजनको कमीले पनि कठिनाइ उल्लेखनीय रूपमा थप्छ।
अक्सिजनको कमीले कहिलेकाहीँ ४०% सम्म पुग्ने उकालोमा साइकल धकेल्दा त्यान्द्रोबाट सास फेरेजस्तै हुने रहेछ।
रोडेल पहिलादेखि तयार नै थिए। धनले पनि जाने इच्छा गरे। रोडेल र धनसँग ६/७ वर्षदेखिको चिनाजानी हो। दुवै सफल व्यवसायी र साइकलयात्राका सौखिन हुन्। तीन जना भए त पुगि गो। दिन तय गर्ने सिलसिलामा मौसमको पूर्वानुमानको तथ्यांक आधारमा मे महिनाको तेस्रो हप्ता जाने तय गरियो।
तिथिमितिमा हाम्रो एकमत भएपछि अब तयारीमा लाग्यौं।
म र रोडेलले साइकल नै नयाँ किन्यौं। यस्तो कठिन यात्रामा जाने खालको साइकल सामान्य खालको हुन्न। यस्तो विशेष साइकलबारे थाहा नहुनेले अनुमान पनि गर्न गाह्रो पर्ला साइकल कति महँगो हुन्छ भनेर। दोस्रो हाते (सेकेन्ड ह्याण्ड) कार नै किन्न पुग्छ त्यसको मूल्यले।
नयाँ साइकलले नयाँ जोश थप्यो। बोक्ने झोला, उपयुक्त जुत्ता, न्यानो लुगा, हिउँमा हिँड्न मिल्ने क्र्यमपन, हाते पन्जा, टोपी आदि सामान ठमेलको ट्रेकिङ पसलमा किन्यौं।
काठमाडौंबाट लमजुङको ङ्ग्यादी भन्ने ठाउँसम्म पुग्न गाडीको जोरजाम गरियो। साइकलको औजार, जगेडा ट्युब, हावा हाल्ने पम्प, चेन लिंक पनि बोक्यौं। यात्रा २०२३ को मे २१ काठमाडौंबाट लमजुङ जिल्लाको ङ्ग्यादीसम्म गाडीमा जाने अनि त्यस अगाडि थोरोंग्ला पार गरेर म्याग्दी जिल्लाको तातोपानी पुग्दासम्म साइकल चलाउने कार्यक्रम बन्यो।
तोकिएको दिन ७ बजे काठमाडौंलाई बाई-बाई गरी थानकोट, डुम्रे हुँदै झन्डै दिउँसोको १:३० बजे बेंसीसहरमा पुगियो र त्यहीँको बरण्डा होटलमा खाजा खाइयो। ङ्ग्यादी पुग्न नेपालकै पहिलो सुरूङको बाटो भएर आउनु पर्दो रहेछ, झन्डै १५० मिटर लामो।
ङ्ग्यादी रहेछ मर्स्याङ्दीको तिरमा। नदीको सुसाइ निद्राको लागि कर्णप्रिय नै लाग्छ मलाई। सुन्दै निदाइएछ। बिहानै निद्रा खुल्यो। विभिन्न प्रकारका चराचुरूंगीको मधुर आवाज सुनियो, जुन काठमाडौं बस्ने हुनाले यी खालका त्यति सुन्न पाएको थिइनँ। कुन कुन चराका आवाज हुन् भनेर सोध्दा लजका भाइले बताए- कोइली, सारंगा, ढुकुर, कालिज र अरू पनि। मानिस, जीवजन्तु, चराचुरूंगी, खोलानाला सबैको सन्तुलित उपस्थिति नै सुरक्षित वातावरण हो भन्ने सम्झायो फेरि। लाग्यो - म सन्तुलित पर्यावरणको स्वाद लिन पाइरहेछु।
मनाङतिर बिहानमा टन्न खानु भन्छन्। हामीले बिहानी खाजा-ब्रेकफास्ट टन्न खाएर बलियो भई साइकल यात्रा सुरू गर्यौं। अबको ८-९ दिन साइकलको काठीमा बसेर पसिना निकालेर प्याडल चलाउने अनि प्रकृतिसँग रमाउने, त्यति नै हो हाम्रो लक्ष्य।
बाटो बिस्तारै उकालो लाग्दै थियो। नेपालको भौगोलिक बनावटले उचाइमा परिवर्तन आएसँगै मानिस, जीवजन्तु, चराचुरूंगी, खोलानाला, तापक्रम, भू-बनोटमा परिवर्तन महसुस हुन्थ्यो। पैदल हिँड्ने बाटो बाहुनडाँडा हुँदै जाने रहेछ। बाहुनडाँडा राष्ट्रकवि माधव घिमिरेको घर भन्ने थाहा पाइयो।
साइकलको प्याडलमा बल लगाउँदै स्याङ्गे, जगत हुँदै छ्याम्जे पुग्यौं। बुग्छहरा भन्ने ठाउँमा निकै राम्रो झरना रहेछ, खाना खान रोकियौं त्यहीँ।
गाडीमा आएका अरू दुई तीन टोलीसँग यहाँ भेट भो। एक टोलीमा भारतको कलकत्ताका यात्री थिए भने अर्को प्राग, चेकोस्लोभाकियाका। दुबै टोलीसँग कुराकानी भयो। मैले मेरी छोरी पनि प्राग गैसकेको र म पनि नेदरल्याण्डमा स्नातकोत्तर पढ्दा जान मन लागेको देश हो भनेर बताएँ।
साइकलयात्री भएकाले हामीलाई महत्त्व दिएर कुराकानी गरेको हुनुपर्छ, नत्र विदेशीहरू नेपाली यात्रुसँग खासै चासो दिएर कुरा गरेको मेरो अनुभव छैन खासगरी पैदल यात्रामा। किनभने उनीहरूले पहिल्यै सबै अध्ययन गरेर आएका हुन्छन्, उदाहरणको लागि नेपालीलाई भन्दा विदेशीलाई हिमालको नाम थाहा हुन्छ, ठाउँ थाहा हुन्छ अनि किन वास्ता गर्नु!
बुग्छहराबाट बाटो ठाडो उकालो लाग्छ र केही माथि नै मनाङ र लमजुङ जिल्लाको सिमाना म्यार्दी खोला भेटिन्छ, जहाँ बेली पुल राखेको रहेछ। अबको बाटो पूरै चट्टानी रहेछ। अक्करे ढुङ्गा, अनौठा पत्रे चट्टान र भिरैभिर हुँदै गएको छ सडक। सडक मास्तिर कालै पहाड छ। तलतिर मर्स्याङ्दी नदी बगेको सेतो छाल मात्र देखिन्छ। ओ
हो, कस्ता पहाड हुन् यी! कति साह्रा न साह्रा! कति अरिमट्ठे चट्टान होलान्! बाटो बनाउन कस्तो गाह्रो भयो होला! तलबाट हेर्दा माथिको बाटो एउटा धर्को मात्र देखिन्छ, कसरी जाने जस्तो लाग्छ। यही चट्टानबाट झरना निस्केको ठाउँ-ठाउँमा देखिन्छ। पहाडका घुम्तीहरूमा कतै पहिरो खसेका छन्। कतै चट्टानहरू ध्यान गर्न बसेजस्तो बाटोमा भेटिन्छन्। बाटो साँघुरो, चट्टानी र कच्ची भएकोले सानो फोर ह्विल गाडी मात्र चल्न सक्दोरहेछ। अधिकांश सार्वजनिक गाडी महेन्द्राको बोलेरो रहेछन्। अधिकांश चालकहरू २२/२५ वर्षे जोशिला युवाहरू हुँदा रहेछन्। पाका उमेरकाले आँट गर्न नसकेर होला।
सडक बनाउँदा जमिन कस्तो छ, कहाँबाट सडक लाने हो विचार गर्नैपर्यो। त्यसले गर्दा सडक कहिले नदीभन्दा निकै माथि पुग्दोरहेछ भने कहिले नदीको ढिकमा आइपुग्ने! नदी निकै तल बगेको बेला छ/छैन पत्तै नहुने अनि सडक नदी छेउ पुग्दा नदीको सुसाइ र गर्जन निकै चर्को सुनिने। यसरी खोला पछ्याउँदै, मनाङ जिल्लाको पहिलो बस्ती ‘ताल’ पुगियो।
तालमा एक जर्मन परिवारसँग छोटो कुराकानी भयो, उनीहरू मनाङबाट फर्किंदै गरेका ! मेरो साइकल घुरेरे हेरे। टायर र सस्पेन्सनमा आँखा अड्याए। टायर देखाएर पहाडमा यस्तै चाहिन्छ भने, सस्पेन्सन पनि निकै राम्रो रहेछ भने खाल्डाखुल्डीको लागि, साइकल मा अनुभवी लाग्यो। मैले हो-मा-हो मिलाएर टाउको हल्लाएँ र बिदा भएँ।
तिमाङ पुग्ने बेलामा बाटोभरि पानीको छिटा आएर जिउ समेत भिज्ने खालको बडेमानको झरना थियो। बास बसेको ठाउँ तिमाङमा साना जलविद्युत निर्माणका लागि सिमेन्ट बोक्ने र दैनिक ज्यालादारीमा काम गर्नेलाई ज्याला बाँड्ने काम भैरहेको थियो। ब्रेकफास्ट लिँदै छलफल सुन्ने मौका मिल्यो। ज्याला बाँड्नेले १,२,३,४,५ भन्दै ५०/१०० को नोट गन्दै ९ घण्टा १५ मिनेटको रु १७३५ दिए। ज्याला बुझ्ने चारै जना महिला थिए। पुरूष कामदार एउटै नाइँ! किन होला पुरूषको खडेरी?
भोलिपल्ट यात्रा तिमाङबाट मनाङको सदरमुकाम चामेको लागि थियो। एक जना तराई मूलका यादव थरका हट्टाकट्टा व्यक्ति बाटोमा भेटिए। कुराकानीको सिलसिलामा खुल्यो-उनी धनुषाका, मनाङको एक स्कुलका शिक्षक रहेछन्। मैले कोट्याएर सोधेँ - यो भेगमा बसेपछि त निकै रमाइलो होला, घर जान मन लाग्दैन होला नि?
उनले पनि इसारामा हो भनेर टाउको हल्लाउँदै भने, 'यहाँको हावापानी र प्रकृतिले दिन गएकै थाहा हुन्न। आठ वर्ष भैसक्यो आठ दिन जस्तो लाग्छ।'
मेरो फोटो खिचे उनले शायद अनौठो लाग्यो होला साइकलमा आएको देखेर।
चामे बस्तीको पुछारबाट फु र नार भन्ने दुई बस्ती जाने बाटो छुट्टिन्छ। त्यही ठाउँमा ठमेलको एक जना पुरानो मनाङे भाइ (राम) सँग जम्काभेट भयो। मैले चिनेँ। उनले पनि धन्य मलाई चिने, धेरै भैसकेको थियो भेट नभएको।
उनी गुम्बा पूजाको सिलसिलामा आएका रहेछन, मनाङबाट फु र नार जान। मेरो घर ठमेल टोलमा धेरै मनाङेहरू बस्थे। उनीहरूलाई राजा महेन्द्रले बैंकक र हङकङमा व्यापार गर्न करमा छुट दिएकाले २०३६ साल ताका निकै राम्रो व्यापार गरे। धेरैले जग्गा जमिन जोडे।
राम गुरूङ भाइलाई उनकै जिल्लामा अकस्मात् भेट्दा यी पुराना दिनहरू सम्झेर रमाइलो अनुभव भयो। एक पटक भेटेको मानिस कुन बेला कहाँ फेरि भेटिन्छ अचम्म लाग्ने गरी! लगभग चार दशकपछि उनलाई उनकै गाउँमा भेटेँ त!
बाटो उकालो नै उकालो थियो। चट्टान फोडेर एउटा जिप मात्र जाने बाटो। जिउलाई सास्ती भए पनि गन्तव्य त पुग्नु नै थियो। त्यसकारण अघि बढ्नुको विकल्प थिएन। दुई जना साथीहरू अलि बलिया थिए, अगाडि लागे। उमेर मभन्दा १० वर्ष कान्छा। उमेर बलवान हुँदो रहेछ। मैले सम्झेँ, हाम्रा नेपाली दाजुभाइहरू खुब पसिना बगाउन सक्ने बेला खाडी र मलेसियामा पसिना बगाउँछन्, अनि थाकेर सुइँय्य सुस्केरा फाल्ने बेलामा आफ्नो देश आइपुग्छन्। तिनीहरूलाई उमेर छँदै नेपालको विकासमा योगदान दिने वातावरण दिन नसक्दा तिनका पसिनाको निलो मर्स्याङ्दीले खाडी र मलेसियाको विकास सिंचन गर्दैछ। शुष्क सुस्केराले कसरी होला नेपालको विकास!
ढुकुर पोखरी पुगियो। देखियो एउटा ठूलो पोखरी अनि भेडाहरू पनि टन्नै चरिराखेका। मनमा मलाई लाग्यो यो नाम त स्थानीय होइन, आयातीत हुनुपर्छ। सोधखोज गर्दा हो रहेछ। यो ठाउँको स्थानीय नाम क्यो-थेब रहेछ। त्यो भनेको ठूलो पोखरी नै रहेछ गुरूङ भाषामा। अब चाहिँ मेरो खुल्दुली मेटियो। मौलिकतालाई कायम गर्ने हो भने यसरी नाम बिगार्नु हुन्न। काठमाडौं यसको ज्वलन्त उदाहरण हो। यहाँको टोल (त्वा: नेवारीमा ) हरूको नाम पूरै तोडमोड गरिएका छन् ; यसले मौलिकता हराउँछ। जस्तै: नेवारी ठबहि: अहिले ठमेल बनेको छ; वोङ्ग इन्द्रचोक बनेको छ, र यस्तै-यस्तै।
बाटैमा गुम्डे आयो। मनाङ जिल्लाको एयरपोर्ट यहाँ रहेछ। मनाङ पुग्ने बाटो नबनुन्जेल यो एयरपोर्ट संचालनमा रहेको एक स्थानीय चिया पसलेले जानकारी दिए।
अहिले रेस्क्यु हेलिकप्टरहरू कहिलेकहीँ आउनेबाहेक यसको उपयोग हुने गरेको छैन। यही अवस्था नेपालभरिमै छ। लगभग बाइस वटा विमानस्थल जस्तै खोटाङको लामिडाँडा सडक बनेपछि प्रयोगमा नआएका समाचार सुन्न पाइन्छ। स्वाभाविक पनि हो। नेपाली जनताको आयस्तरले महँगो भाडा तिरेरे विमान चढ्न सक्दैनन् गाडीको विकल्प पाएमा। बरू, बाटो यात्रा जोखिमपूर्ण भए पनि यसैमा भर पर्न बाध्य छन् जनता।
गुम्डे छोडेपछि तल्लो पिसाङ हुँदै मनाङ सजिलै पुगियो। बाटो समथर थियो। मनाङ्गको प्रवेशद्वार पुगेपछि बस्ती सुरू हुन्छ। मनाङ ३५४० मिटरको उचाइमा अवस्थित छ। यहाँसम्म आइपुग्दा एउटा गन्तव्यमा पुगेजस्तो अनुभव हुन्छ। कथंकदाचित् थोरोङ्ला नपुगे पनि सन्तोष लिने ठाउँ छ।
यो उचाइमा पुगेपछि अक्सिजनको कमी हुन्छ, त्यसकारण यहाँ एकदिन अक्सिजन अनुकूलन गर्नुपर्ने हुन्छ। यो उचाइमा समुद्रको सतहमा हुनेभन्दा ६७ प्रतिशत मात्र अक्सिजन उपलब्ध हुने जानकारी पाइयो।
हामी यहाँ एकदिन बस्ने निर्णयमा पुग्यौं। यहाँ लेक लाग्ने सम्बन्धमा अभिमुखीकरणमा सहभागी पनि भयौं। अल्टिच्युड सिकनेसलाई नेपालीमा लेक लाग्ने भनिन्छ। यसबाट जोगाउन डायमोक्स भन्ने औषधी दिइँदो रहेछ। हामीले डायमोक्स खाने कि नखाने भन्ने बारेमा निकै छलफल गरेर नखाने निर्क्यौल गर्यौं। अब आउने दिनमा बलियो भएर मात्र नहुने पक्का छ।
अक्सिजनको कमीलाई सन्तुलन गर्दै जानु पर्नेछ। यसको लागि, पानी प्रशस्त पिउनु पर्ने ( दिनको ४ लिटर कम्तीमा ) रहेछ। अनि आगामी दिन अझ कष्टप्रद हुने प्रस्टै छ। त्यसको लागि सकेसम्म खानाले शक्ति आर्जन गर्नुपर्छ भन्ने पनि हेक्का राखियो। शरीरको ऊर्जालाई पुनर्भरण गरेको महसुस भयो मनाङको खाना र बसाइले। याकको म:म: गार्लिक सुप, सिनामोन रोल, कफी, फापरको प्यान केक, भिर मौरीको मह आदि सम्झनलायक रह्यो।
मनाङ बस्ती बाक्लै छ। यहाँ कामदारहरू मध्यपश्चिमका जिल्लाहरू जस्तै बाजुरा, अछामबाट आएका मानिसहरू भेटिए, किनभने यहाँका मानिसहरू धेरैजसो काठमाडौंमा बस्छन् व्यापारका लागि।
मैले एक जना बाजुराबाट आएका कामदारलाई थोरोङ्ला जान लागेको बताएँ। उनले मेरो योजनाप्रति त्यति उत्सुकता देखाएनन्।
उनले झट्ट भने, 'हेर्नुस्, आफैंलाई दु:ख हो, अनकन्टार पहाड मात्र छ, पानी एक बोतलको पनि २०० लिन्छन्। केही भयो भने के गर्ने, कसैले बचाउँदैन। एउटी कुहिरे बुढी लेक लागेर उनकै बुढोको अगाडि मरी, कसैले केही हेर्दैन। बेकार छ जानु, पैसाको मात्र नाश!'
मैले सुनेँ अनि धन्यवाद भनेर हिँडें।
सोचेँ - जसलाई खान लाउनको जोहो गर्न नै धौ-धौ छ यो हामीले गर्ने साहसिक साइकल यात्रा/पदयात्राको के मतलब! किनभने उनीहरूको लागि प्रत्येक दिनको गर्जो टार्नु नै बेसरी साहसिक काम हो। नेपालीमा उखान नै छ - आ-आफ्नो गम पाकेको केरा!
दिउँसो ४ बजेतिर एकछिन आकास खुल्यो यहाँबाट अन्नपूर्ण तेस्रो ७५५५ मिटर र गंगापूर्ण ७४५५ मिटर उचाइका चुचुराहरू छर्लंगै देखिए। एउटा ताल दुई वर्षअघिको गंगापूर्णको हिउँ पहिरोले ल्याएको लेदोले पूरै पुरेको रहेछ। यो ताल मनाङको एउटा आकर्षणको केन्द्र थियो रे।
यस्ता प्राकृतिक सम्पदालाई जगेर्ना गर्न पनि वातावरण जोगाउनु पर्छ भन्ने जागरण आउनु पर्छ। जागरण आउनु भनेको कुरो जान्नु मात्र होइन, अभ्यासमा ल्याउनु हो। जानेको कुरा अभ्यासमा ल्याउन हामी प्राय: निकै पछाडि हुन्छौ। तल्लो मनाङमा जुन बाढी गएको थियो, त्यसमा यो ताल पुरिनाले निकै क्षति पुर्याएको हुनुपर्छ।
यस्तै च्छो-रोल्पाको हिमपहिरोबाट दोलखा जिल्लामा प्रभाव पर्छ भन्छन् विज्ञहरू भने यहाँ पनि त पर्यो होला नि ताल पुरिनाले, बढी परेको पानी रोकिने ठाउँ भएन मात्र होइन, त्यही तालको पानी पनि एक्कासि पोखिएर बग्यो होला। वातावरण खल्बलिँदा कोही अछुतो रहने छैन यो पिँढी मात्र होइन भविष्यको पनि।
खानसार हुँदै तिलिचो
मनाङबाट खाङसार हुँदै तिलिचोतिरको बाटो लागियो। खाङसार कटेपछि सेरेखर्क ४०४० मिटरको उचाइमा रहेको ठाउँ हो। यहाँ पुगेपछि मजाले हिउँ पर्यो। तिलिचो तालको पानी हिउँ जमेकोले रमाइलो नहुने अड्कल काटियो। बरू एकदिन उचाइसँग अनुकूलन गर्ने निधो गरियो सेरेखर्कमै।
यात्रा गर्दा सबै कुरा पहिले योजना बनाएअनुसार हुन्न। यात्रा गर्दा समय र परिस्थितिअनुसार हेरफेर गर्नुपर्छ अनि मात्र यात्रा सफल हुन्छ र उद्देश्य पूरा हुन्छ।
सेरेखर्कको एकदिनको बसाइमा भारतीय पर्यटकहरूका दुई टोली भेटिए। एक टोली कर्नाटक राज्यबाट आएका एक परिवारको भने अर्को टोली कलकत्ताबाट आएका ९ जनाको। यी दुवै टोलीसँग राम्रो कुराकानी गरियो।
नेपाल र भारत भौगोलिक सीमाले छुट्याएको छ; खानपिन, वेशभूषा, भाषा, संस्कृति, धर्मजस्ता कुरामा हामीबीच धेरै समानता छ। त्यसले गर्दा हामीहरू सजिलै घुलमिल हुन्छौं। यति घुल्न हामीलाई अरू देशका नागरिकसँग हुन अलि गाह्रो हुन्छ। हामी साइकलमा आएकाले हामीप्रति उनीहरूले सम्मान पनि जताए। हामीलाई तल मनाङमा देखेको र बुढी औंला ठड्याएर गुड लक्को संकेत गरेको भनी स्मरण गराए। एक जना कलकत्ताबाट आएका हिरक सिन्हा अधिवक्ता रहेछन्। उनले इलामका दीपक तिम्सिनालाई कलकत्ताको जेलबाट छुटाउन वकालत गरेको भनेर फोटाहरू देखाए।
थोरोङ्ला भन्ज्याङ्गतिर
सेरेखर्कबाट याकखर्क गयौं। याकखर्कमा यार्सागुम्बा टिप्न आएका गोरखाको दुर्गम ठाउँ माछाखोलादेखि माथि केरौजातिरका मानिसहरूको हुल हामी बसेकै होटलमा बसेका थिए। केही वर्षअघि मनाङेले यार्सागुम्बा खोज्न आएका केही गोरखालीलाई भिरबाट खसालेर मारेका थिए, तर पनि बाध्य गोरखाली आउन छाडेका रहेन छन्। मानिस बाँच्नका लागि जस्तोसुकै जोखिम लिन तयार हुन्छन् भन्ने कुराको प्रमाण थियो यो।
केरौजाको खानेपानी योजना बनाउने सिलसिलामा म गैसकेको हुनाले कुराको मेसो मिल्न आयो। गुरूङ थरका मानिससँग निकै लामो कुराकानी भो।
कुराकानीको सिलसिलामा उनले भने, 'कीरा (यार्सागुम्बा) टिप्न पालिकालाई २१ हजार रुपैयाँ तिरेपछि एक महिनाको स्वीकृति पाइन्छ। अहिले १० दिन भैसक्यो त्यति कीरा भेटिएको छैन। हिउँ ढिलो परेकोले यसपालि राम्रो होला जस्तो छैन। २/४ वटा भेटिन्छ, बेचिन्छ अनि त्यसैबाट खान र बस्न ठिक्क मात्र। कीरा जमिनमुनि पलाउँँछ, बढ्छ अनि जमिनमाथि सिङ निस्केपछि मर्छ, त्यही सिङ खोज्दै टिप्ने हो,’ उनले प्रस्ट्याए ।
अक्सिजनको कमी भएकोले निद्रा गहिरो भएन।
काठमाडौंमा एकचोटिमा चाहिने जति अक्सिजन तान्ने फोक्सोले यहाँ दुई चोटिमा बल्लबल्ल मात्र त्यति अक्सिजन तान्न सक्नेझैं लाग्यो हावामा नै अक्सिजन पातलो हुने हुँदा। तर अहिलेसम्म धन्न टाउको दुखेको थिएन। अथवा, अहिलेसम्म टिकियो भन्ने लाग्यो। केही गडबडी महसुस भए मनाङ फर्कने सोचाइमा थियौं, खतरा मोल्ने कुरै छैन।
याकखर्कबाट अगाडिको यात्रा चाहिँ जोखिम र 'नो रिटर्न' वाला थियो, फर्केर जानु परेमा एक्लै भइने र धेरै दिन लाग्ने। मानसिक दबाब अलि थपियो। ४१०० मिटरबाट ४९०० मिटरस्थित हाइ-क्याम्पको यात्रा कठिन थियो- बाटो साँघुरो, ठाउँ-ठाउँमा पहिरो, अनि साइकल पनि आधाउधि ठेल्नुपर्ने। ५ पाइला सारेपछि स्याँ-स्याँ हुने। शनिबारको दिन थियो। घरमा सृजना (पत्नी) ले नगरकोटमा मज्जाले पिकनिक खाँदै होलिन्, आफ्नो भने यो हालत छ! थुक्क भन्न त मन लागेन, किनकि म उनको करले आएको होइन, आफ्नै रहरले आएको!
हाइ-क्याम्प पुग्नुअघि थोरोङ्ला बेस क्याम्प पुगियो, र दाल भात खाइयो। मलाई बोल्न पनि अल्छी लागिसकेको थियो, शक्ति कम भएर होला। मेरो हुकुम चलेको भए म त्यो रात त्यहीँ बस्ने सोचाइमा थिएँ तर दुई जना साथीहरूले मेरो प्रस्ताव मानेनन्। यस्तो चिसो ठाउँमा बस्नुभन्दा चाँडै थोरोङ्ला काटेर न्यानो जोमसोममा पुग्नुपर्छ भन्न थाले। मेरो केही लागेन। समूह बनाएर हिँडेपछि आफूले भनेको मात्र कहाँ चल्छ र !
२ घण्टा त पूरै नाक ठोक्किने ठाडो उकालो। अब त ३ पाइला ३ पाइला मात्र हिँडेर अडिनु पर्ने भयो! स्याँ-स्याँ हुने। साइकल ठेल्न पो गाह्रो भो त! आफ्नै मात्र जिउ भएको भए त्यति गाह्रो हुन्नथ्यो। यो उकालोमा बुग्छहरामा भेटेका चेकोस्लोभाकियाका २ जना फर्किंदै गरेका भेटिए। पासमा घुँडासम्म आउने हिउँ छ भनेर सुनाए। दु:ख पाइने भो भोलि पास काट्दा भन्ने पीर लाग्यो। कस्तो साहसी भन्ने तारिफ सुन्दै आएको, चुनौती स्वीकार गरेर आएको! अहिले भने मेरो मनमा कतै मूर्ख काम वा दुस्साहस त गरिएन भन्ने मनमा आयो साइकल ल्याएर!
हिउँमा आफैं मात्र त हिँड्ने अनुभव छैन, त्यसमाथि छ साइकल डोर्याउन वा बोक्नुपर्ने! हाइ-क्याम्प पुग्नेबेलामा झन्डै ५० मिटरको दूरी कटाउन ३० मिनेट लाग्यो। अक्सिजनको महत्त्व राम्रै अनुभव भो, अलि कम हुँदा जीउलाई कति असजिलो र कमजोर बनाउने रहेछ!
हाइ-क्याम्पमा एउटा लज रहेछ तर कोठाको अभाव थिएन, सिजन अन्तिम-अन्तिम भएकोले होला। विभिन्न देशका मानिसहरू बास बसेका। नर्वे र सिंगापुरका यात्रुसँग कुरा गरेँ। नर्वेका जवान यात्रु मनास्लु बेस क्याम्पमा हिउँ परेकोले फर्केका रहेछन्।
उनको कुरा सुनेपछि प्रतिकूल परिस्थितिमा आफ्नो स्वास्थ्यको ख्याल राख्नु गन्तव्यमा पुग्न एकोहोरिनुभन्दा बेस हो भन्ने सन्देश मिल्यो। फिलिपिनो ७ जनाको टोलीलाई मनाङमा भेटेको थिएँ, यहाँ पनि भेट भो।
उनको टिमको एक जनालाई लेक लागेकोले, पास पुग्न ५०० मिटर दुरी बाँकी हुँदा फर्केछन्। रातभरि आराम गरेर भोलि फेरि प्रयास गर्ने उनीहरू योजना रहेछ। त्यहाँ त विदेशी नै विदेशी पो भेटिए!
तीन देशका यात्रीहरूसँगको छलफलले मलाई मेरो रणनीति कस्तो थियो अनि भोलि के गर्ने भनी पुनरावलोकन गर्न धेरै मद्दत मिल्यो।
मेरा दुई साथीहरूको विचार कहिलेकहीँ मभन्दा अलि फरक पनि हुन्थ्यो। म अलि पाको भएको कारण म सम्झाउने गर्थें, उनीहरू मानेनन् भने म अलि फरक निर्णय पनि गर्थें। फर्केर हेरि ल्याउँदा मेरो समग्र रणनीति सही नै रहेको लाग्यो र आफैंलाई ज्ञानी सम्झेर स्याबासी दिएँ पनि। अन्यथा लेक लाग्न पनि सक्थ्यो किनभने मलाई ४२०० मिटरको उचाइमा लेक लागेको अनुभव थियो।
यहाँसम्म आउँदा विभिन्न खालका पदयात्रीहरू भेटिए। एक्लै वा दुई जना आएका, परिवारसँग आएका, ठूलै समूहमा आएका। यसबाट मलाई के लाग्यो भने जे गर्ने हो, आफ्नो अनुकूलताअनुसार गर्ने हो। यो ठीक, यो बेठीक भन्ने हुन्न रहेछ।
भोलि थोरोङ्ला पास छिचोल्ने दिन अर्थात् यात्राको महत्त्वपूर्ण दिन मन खुसी त थियो नै, चुनौती पनि महसुस भैराखेको थियो।
स्वास्थ्यको अवस्था राम्रै थियो, कुनै गडबडीको महसुस थिएन, त्यसैले उत्साही नै थियौं भोलिका लागि। रातभरि स्वाँ-स्वाँ गर्दै लामो सास फेरिरहेका थियौं- सासमै केन्द्रित थियो रातभर। पटक पटक ओढ्ने र पन्छाउने गरी रात काटियो।
बाक्लो सिरक स्वाँ स्वाँ गर्दा छातीले भारी महसुस गर्यो। पन्छायो कि चिसो अनि ओढ्यो कि स्वाँ स्वाँ बढी आउने। बिहानै ३ बजे उठेर ४ बजेसम्ममा हिँड्ने सल्लाह भो, अलार्म बजेपछि ३ बजे नै उठियो। लिटो र तातो पानी ब्रेकफास्टको रूपमा ग्रहण गरियो। अनि ५ बजे हिँडियो। ४९०० मिटरबाट ५४१६ मिटरको उचाइमा पुग्नु थियो। ३ पाइला ३ पाइला सार्दै अघि बढियो।
बाटोको अधिकांश भागमा हिउँ जमेको थियो। क्र्यम्पोन ( हिउँमा हिँड्न लगाउने उपकरण ) लगाएर हिउँमाथि क्यार-क्यार आवाज आउने गरी बिस्तारै हिँडियो। मौसम १०० प्रतिशत राम्रो। योभन्दा राम्रो मौसम हुनै सक्दैन जस्तो। निलो आकाश, हावा कम चलेको। अन्रपूर्ण दोस्रो पूरै देखियो।
झन्डै ३० जना जति थिए पासतिर लाग्नेहरू। पास पुग्ने उत्साहले अगाडि बढ्न ऊर्जा दिइरहेको थियो। झन्डै ३ घण्टा हिँडेपछि थोरोङ्ला पास पुगियो। मन प्रसन्न भयो। चारै दिशातिरबाट फोटो खिचियो।
साइकल उचालियो, साइकलसहित चढेको प्रमाण तथा सम्झनाको लागि। त्यो महत्त्वपूर्ण क्षण थियो मेरो साइकलयात्रा जीवनको, सबभन्दा उचाइमा कठिनाइले पुगेको गन्तव्य!
तातोपानी हुँदै काठमाडौं
एक घण्टा जति पासमा बिताएपछि ओरालो लागियो। ओरालो पनि अप्ठ्यारै थियो। अधिकांश चट्टानी ढुंगाका टुक्राले छरेका साँघुरा बाटा। त्यो दिन मुक्तिनाथको बब मार्ले होटलमा बसियो। संगीतका सौखिन होलान् होटल मालिक अनि बब मार्लेको नाम राखेका होटलको।
होटलको कौसीबाट धौलागिरी हिमाल र मुक्तिनाथको मन्दिर, झारकोट गाउँ अनि भारतीय पर्यटकहरू घोडा चढेर मन्दिरसम्म जाँदै गरेका दृश्य हेर्दै याकको स्टेक र गोर्खा बियरसँग मस्ती गरियो। राति अक्सिजनको कमी हुने कुरै भएन, गहिरो निद्रा लाग्यो।
भोलिपल्ट तातोपानीसम्म साइकल चढेर नै आइयो झन्डै ८० किमी दूरी पार गरेर। तातोपानीबाट हामी तीन जना पिकअप जिपमा साइकलसहित रातभरि ११ घण्टाको यात्रा गरेर काठमाडौं फर्कियौं।
समग्रमा यो यात्रालाई सम्झँदा मलाई के लाग्छ भने साइकलमा यो यात्रा गर्नु निकै कठिन हो, तर गरियो। साहस र कोसिसको एक चुली बन्यो यो यात्रा। यो यात्राबाट जीवन दर्शनका पाना थपिए, पहाडी र हिमाली क्षेत्रमा वातावरणीय परिवर्तनको प्रभाव देखियो भने प्रकृतिको सुन्दरता आँखाले खुबसँग पिउन पाइयो। साथीभाइको साथले कति काम गर्छ भन्ने पनि अनुभूति भयो। प्रत्येक व्यक्ति आफ्नो 'कम्फर्ट जोन' (सजिलो कुरा) बाट बाहिर ननिस्की फरक अनुभूति गर्न पाइन्न, जसरी नमरी स्वर्ग देखिन्न।