पोखराको रमणीय र पर्यटकीय स्थल धम्पुस साँच्चै सुन्दर रहेछ। मनै लोभ्याउने हिमाल हेर्न थुप्रै पर्यटक त्यहाँ पुग्ने रहेछन्।
दसैं तिहार बीचको बिदामा पोखरा घुम्न जाने अधिकांश धम्पुस पुग्ने रहेछन्। विदेशीको तुलनामा आन्तरिक पर्यटकहरू त्यहाँ धेरै थिए।
पोखराबाट २२ किलोमिटरको दूरीमा रहेको यो ठाउँ जाने करिब ७ किलोमिटर बाटो पिच हुन बाँकी छ।
अफरोड भएकाले यात्रा रोमाञ्चक बनेको थियो। बेला-बेला मुटु नै सिरिङ्ग पनि हुन्थ्यो। धम्पुस हेम्जादेखि उकालो लाग्नुपर्दोरहेछ। गाडी वा बाइकमा भन्दा समूहमा मिलेर पैदल यात्रा गर्दा यसको रोचकता बढी हुनसक्ने पैदल यात्रीले बताए। अन्नपूर्ण पदमार्गको प्रवेशद्धारमध्ये एउटा धम्पुस पनि हो।
रिसोर्टका म्यानेजर अशोक केसीले मानिसहरू धम्पुस भिलेज विशेष गरी माछापुछ्रे हिमाल हेर्न आउने गरेको बताए। यहाँबाट माछापुछ्रे हिमालको वास्तविक आकृति देखिन्थ्यो।
पोखराका प्रायः स्थानबाट माछापुछ्रे हिमाल देख्न सकिन्छ तर यहाँबाट भने झनै नजिकै देखिन पाइने हुँदा धम्पुस धेरैको रोजाइमा पर्ने स्थानीयहरूले बताउनुभयो। त्यहाँ गुरूङ र मगर समुदायको बाहुल्यता रहेछ। अर्को महत्वपूर्ण र आकर्षक पक्ष भनेको रातको समयमा क्याम्प फायरको भरपूर मनोरञ्जन लिन सकिन्छ।
कास्कीको हेम्जा हुँदै घट्टेखोलाको उकालो लाग्यौं। अफरोड बाटोबाट करिब ७ किलोमिटर लागेपछि धम्पुस पुगिने रहेछ। रातको समयमा घुम्तीसहितको उखडवाखड बाटो! असाध्यै डर लाग्थ्यो। तर माछापुच्छ्रेको सौन्दर्यले मनमा डेरा जमाइसकेको अप्ठ्यारा बाटो पनि पार गर्ने हिम्मत आयो।
हामी त्यहाँ पुग्दा साँझको ८ बजिसकेको थियो। बाटोमा झ्याउँकिरीले झ्याउँ-झ्याउँ गरेको आवाज मात्रै सुनिन्थ्यो। होटलका सञ्चालक हामी आउने प्रतीक्षामा क्याम्प फायर गरी कुरेर बसिरहेका थिए।
आगो ताप्दै तातो लोकल कुखुराको मासुभात खायौं। पाहुनालाई गरिएको स्वागतसत्कारले मनै पग्लियो, आफ्नै घरमा बसेजस्तो अनूभुती भयो।
खाना खाँदै गर्दा हिमालको सिरेटोले साउती मार्थ्यो जुन अनुभूती बिरलै पाइन्छ। हिमालको काखबाट देखिने सुन्दरता अरू कहाँ पाइएला र?
खाना खाएको केहि समयसम्म आगो ताप्यौं र सुत्यौं।
माछापुछ्रेलाई नजिकबाट हेर्न मन थियो। त्यसैले बिहान पाँचै बजे उठ्यौं। हिमालले समयअनुसार फरक-फरक रंग देखायो। सूर्यको पहिलो किरण पर्दा सुनौंलो, घाम लाग्दै गएपछि सेतो हिमाल। हामी छक्कै पर्यौं!
यति नजिकबाट हिमाल हेर्ने मौका यसअघि कहिल्यै मिलेको थिएन। होटलको कौसीमा तीन घण्टा बसेर हिमाल हेरिरह्यौं। जति हेरेपनि धित मरे पो!
मनमनै नेपालमा जन्मिएकोमा गर्व महशुस भयो। अनि जोडले चिच्याएँ- वाऊऽऽऽ माछापुछ्रे! वाऊऽऽऽ नेपाल! म कति भाग्यमानीऽऽऽ!
अन्य ठाउँमा आग्लोले ढोका बन्द हुने सिष्टम हराइसकेको स्थिति छ। धम्पुसमा भने यस्ता परम्परागत शैलीलाई पछ्याएको देखेँ। जो पर्यटकका लागि अति नै मौलिक परम्परा हुन्।
हिमालको सिरेटोले मनै छुन्थ्यो। चारैतिर हिमाल, कस्तो रमाइलो! तर ९ बजेतिर बिस्तारै हिमाललाई कुहिरोले ढाक्यो। त्यसपछि बिहानको खाजा खाएर हेम्जातिर फर्कियौं।
धम्पुस गण्डकी प्रदेश, कास्की जिल्लामा पर्छ। माछापुछ्रे गाउँपालिका-७ मा रहेको यो ठाउँमा थुप्रै ऐतिहासिक एवं पर्यटकीय स्थल जस्तै भूमे मन्दिर, नेवोताल, वराह, सिद्दवराह मन्दिर छ।
धम्पुस समुन्द्र सतहबाट १ हजार ६५० मिटरको उचाइमा अवस्थित छ। अक्टोबर, नोभेम्बर र डिसेम्बरमा आउँदा घुम्न उपयुक्त हुन्छ।
सुन्दर ठाउँ धम्पुस बाह्य एवं आन्तरिक पर्यटकका लागि समेत पर्यटकीय गन्तब्य बनिरहेको छ।