मानिस आफैंमा प्रकृतिको सन्तान भएता पनि ऊ प्रकृतिबाट विमुख भएर बाँच्दछ। प्रकृतिसँग एकाकार हुन र प्रकृतिको काखमा लुटुपुटु गर्न केहीले मात्र समय निकाल्छन्। यही कुरालाई मध्यनजर गर्दै केही साथीसँग सल्लाह गरी मर्दी हिमाल ट्रेक गर्ने योजना बनायौं।
भाइटीकाको दिन थियो, टीका लगाएर योजना अनुरूप पाँच जनाको टोलीले मर्दी ट्रेकका लागि निस्कियौं।
साँझ ६ बजे काठमाडौंको नयाँ बसपार्कबाट बाग्लुङ जाने रात्रीबस चढ्यौं। पोखराबाट २८ किलोमिटरमा रहेको काँडे भन्ने ठाउँमा बसले भोलिपल्ट एकाबिहानै झारिदियो। अनि त्यहीँबाट सुरू भयो हाम्रो ट्रेक।
काँडेको एक होटलमा चिया पिएर ६ बजेतिर अस्ट्रेलियन क्याम्पतर्फ उकालो लाग्यौं। करिब डेढ घन्टा उकालो हिँड्दा पूर्वतर्फ सुनौलो सूर्योदय देखियो। सूर्यका किरणहरू परेसँगै सुन्दर हिमालका छटाहरू देखिन थालिसकेका थिए।
करिब साढे सात बजेतिर हाम्रो टोली २१५० मिटरको उचाइमा रहेको अस्ट्रेलियन क्याम्प पुग्यो। यो सुन्दर बस्तीबाट माछापुच्छ्रे हिमाल एकदमै सुन्दर देखिएको थियो। हामीले यहाँ ब्रेकफास्ट गर्दै हिमाली दृश्य अवलोकन गर्यौं। नीलो आकाशमा सेता हिमालहरू मुस्कुराउँदै थिए।
हाम्रो टोली गीत गाउँदै र मीठा-मीठा गफ गर्दै हिँड्थ्यो। साथीहरू कहिले हाँस्थे त कहिले यत्तिकै ठूला आवाजमा चिच्याउँथे। सबैले बेलाबेलामा माथिबाट फर्कंदै गरेको पर्यटकसँग समय र बाटोको अवस्थाबारे बुझ्ने गर्दथे।
करिब डेढ घन्टापछि देउराली पुग्यौं। त्यहाँ एकैछिन विश्राम गरेर जंगलको बाटो लाग्यौं।
उक्त दिन सकेसम्म ३ हजार मिटरको उचाइमास्थित लो क्याम्प पुग्ने हाम्रो लक्ष्य थियो। देउरालीबाट फरेस्ट क्याम्पतर्फ जाँदै गर्दा बाटोमा छोटो बाटो भनेर लेखिएको बाटो हिँड्दा साथीहरू झनै लामो र घुमाउरो बाटो हिँड्न पुगेछन्।
करिब थप डेढ घन्टा ढुंगाले बनेको भर्याङ चढेपछि बतासे भन्ने स्थानमा रहेको होटलमा खाना खाने निर्णय गर्यौं। आधा घन्टाको अन्तरालम हाम्रै अगाडि तयार पारेको दाल, भात र आलु मिसाइएको सागको तरकारीसँग भात मज्जाले खायौं। हामीले मज्जाले खाना अत्यन्तै स्वादिष्ट मानी खाएको देखेर साउनीले 'अर्को कुकरमा थप भात पकाऊँ?' भनेर समेत सोध्नुभएको थियो।
खाना खाएपछि २६०० मिटरमा रहेको फरेस्ट क्याम्पतर्फ लाग्यौं। तीन बजेतिर फरेस्ट क्याम्प पुग्यौं। त्यहाँबाट लो क्याम्प पुग्न थप साढे दुइ घन्टा लाग्ने हुँदा जाने कि नजाने दोधारमा पुग्यौं। अन्त्यमा लो क्याम्प भन्दा १ घन्टा तल पर्ने २७०० मिटरमा स्थित रेस्ट क्याम्पमा बास बस्ने निर्णय भयो। अनि रेस्ट क्याम्पका एक होटलका साहुसँग कुरा गरी कोठा बुक गर्यौं।
साँझ परिसकेको हुँदा साथीहरू थाकेका थिए। करिब सवा ४ बजेतिर रेस्ट क्याम्प पुग्यौं। त्यहाँ जम्मा दुइटा होटल रहेछ। हातैले माछापुच्छ्रे छुन सकिन्छ जस्तो लाग्थ्यो। फ्रेस भएर तातो चियाको चुस्की लिँदै हामी हिमालको सुःखोनुभूति लिन थाल्यौं। अस्ताउँदै गरेको सूर्यले माछापुच्छ्रे पुरै गुलाबी रङमा परिणत हुँदै गरेको साक्षात्कार गर्ने सौभाग्य पायौं।
होटलको किचनअगाडि ठूलो डाइनिङ थियो। त्यहाँ नेपाली हिटर थियो जसले उक्त ठूलो कोठालाई न्यानो बनाएर राखेको थियो। होटल साहुले मादल दिएपछि हामीले महफिल जमायौं। बिस्तारै अन्य टोली पनि मिसिए। हिमालको काखमा एक अविस्मरणीय संगीतमय साँझ बितायौं।
अर्को दिन बिहानै उठी खाना खाएर गन्तव्यतर्फ लाग्यौं। अघिल्लो दिनको थकाइ मरिसकेको थियो। प्राकृतिक छटाबीच गीत गाउँदै र गफिँदै हिँड्दा डेढ घन्टामै लो क्याम्प पुग्यौं। त्यहाँ गाउँपालिकाले प्रवेश शुल्क भनेर प्रति व्यक्ति सय रुपैयाँको टिकट तोकेको रहेछ।
अर्को डेढ घन्टामा ३२१० मिटरको उचाइमा रहेको बादल डाँडा पुग्यौं। ठाउँ यति मनमोहक थियो कि ट्रेक गर्ने प्रत्येक पर्यटक त्यहाँ पुगेपछि केही क्षण टोलाउने रहेछन्। यहाँबाट माछापुच्छ्रेसहित मर्दी र अन्नपूर्ण साउथ एकै पटक देखिने रहेछ।
हाम्रा साथीहरू हिमश्रृंखलाको दृश्यावलोकन गर्दै यहीँ रहेको होटलमा खाना खायौं। करिब डेढ घन्टा प्रकृतिसँग रमायौं।
बादल डाँडाबाट उकालो लागेपछि लालीगुराँसको वन आयो। चैत वैशाखमा यहाँ रातो, सेतोलगायत अन्य रंगका लालीगुराँसका फूलैफूलले ढाकिने कुरा स्थानीय एक दिदीले बताउनुभयो।
हाम्रो हिँडाइसँगै विस्तारै प्रकृतिको फरक बनावटहरू देखिन थाले। उचाइ बढेसँगै हरिया रूखहरू देखिन छाडे। सानासाना बुट्यानहरू देखिन थाले। छुट्टै प्राकृतिक सौन्दर्यता देखिँदै थियो। करिब अढाइ घन्टा उकालो हिँडेपछि हाइ क्याम्प पुग्यौं।
हाइ क्याम्प यो रूटको सबैभन्दा अन्तिमको बास बस्न मिल्ने स्थान हो। यहाँबाट हिमालहरू अत्यन्तै नजिक देखिन्छन्। यस स्थानमा एक दर्जनजति मात्र होटल रहेछन्। तिहारपछि लगत्तैको समय भएकोले आज यहाँ ५ सय पर्यटक आउने कुरो होटल संचालकले बताए। २० जना क्षमता भएका प्रत्येक होटलले क्षमताभन्दा साढे दुई गुणा बढी पर्यटकलाई सेवा दिने कुरा चुनौतीपूर्ण रहेको उनीहरू बताउँदै थिए। तथापि सकेको व्यवस्थापन गर्दै थिए भने पर्यटकले पनि त्यहाँको अवस्था बुझेर सामान्य सुविधामै चित्त बुझाएका थिए।
भोलिपल्ट हामी सबेरै साढे दुई बजे उठ्यौं। ब्याग होटलमै छोडेर मोबाइलको टर्च बाली उकालो लाग्यौं। अँध्यारोमा उकालो लागिरहेका दर्जनौं मोबाइलका लाइटले धेरै मानिसहरू हिँडिसकेको बताउँथ्यो। त्यहाँ पुगेका हरेक पैदलयात्रु ४२०० मिटर उचाइस्थित रहेको भ्यू-पोइन्टबाट हिमश्रृंखलाबीचबाट हुने सूर्योदयको सुखनुभूति लिन अँध्यारोमा लौरो टेकेर उकालो लाग्दै थिए।
चिसो सिरेटोबीच अँध्यारोमा लठ्ठी टेकी मोबाइलको उज्यालोको भरमा उकालो लाग्दा लेकका कारण केही बेरको हिँडाइमै थकान महसुस हुथ्यो। अगाडि-पछाडि हिँडिरहेका पैदलयात्रु पनि थकाइ मार्न थुचुक्क बस्थे।
यस्तैमा हाम्रो समूहको एकजना साथीको दुवै खुट्टा दुख्न थाल्यो। उसको खुट्टा मालिस गरिदियौं। दुखाइ केही घटे पनि उसलाई ज्यादै गाह्रो भएको स्पष्ट देखिन्थ्यो। केही समय हिँडेपछि उसको दुखाइ थप बढेकोले बाटोमा टाँगिएका ध्वजा निकालेर सोही कपडाले उसको दुवै खुट्टामा बाँधिदियौं। उसलाई सहज भएपछि फेरि अगाडि बढ्यौं।
सँगै हिँडेको एक साथी बिरामी भएपछि हामी बिस्तारै अगाडि बढ्यौं।
थकाइ मार्दै अगाडि बढ्दै गरे पनि केही समयपछि उसलाई टाउको दुख्ने र वाकवाकी आउने समस्या सुरू भयो। उसलाई लेक लागेको भनेर सहजै अनुमान लगायौं। एक जना बहिनीले दुई पोटा लसुन दिनुभयो। लसुन खाएपछि केही असज त भयो तर उसलाई गाह्रो हुन भने छोडेको थिएन। केही अगाडि हिँडेपछि अवस्था झन् थप जटिल देखियो। त्यसैले उसलाई माथि नलैजाने र अर्का एक साथीलाई हामी नफर्कुन्जेल त्यहीँ राख्ने सल्लाह गर्यौं।
तर साथीले बिस्तारै भए पनि जान्छु भनेपछि केही समय विश्राम गरेर उकालो लाग्यौं।
हाइ क्याम्पबाट हिँडेको करिब साढे तीन घन्टामा भ्यु पोइन्ट पुग्यौं। बिस्तारै उज्यालो हुँदै थियो। पूर्वबाट बिस्तारै घाम उदाउँदै थियो। घाम परेसँगै हिमश्रृंखलाहरूको सुन्दरता विविध रंगमा अंकुरण हुँदै थिए।
अहो! कस्तो अद्भूत, अनुपम दृश्य। यो त साक्षात स्वर्गै रहेछ। त्यहाँ पुगेका कतिपय पर्यटकको आँखामा खुसीको आँसु छचल्किएको देखिन्थ्यो। तीन दिनको हिँडाइबाट प्राप्त भएको यो सुखद पल हाम्रो मानसपटलमा जीवनभर नमेटिने सुन्दर सम्झना बनेर बसिरहने छन्।
त्यहाँ आधा घन्टा बिताएपछि हामी दुइ घन्टा माथि ४५०० मिटरको उचाइमा रहेको मर्दी हिमाल बेस क्याम्पतर्फ अगाडि बढ्यौं।
बिरामी साथीको हिँडाइको गति कम थियो, त्यसैले हामी पनि ऊसँगै बिस्तारै अगाडि हिँड्यौं। जति अगाडि पुग्थ्यौं त्यति नै आफूलाई भाग्यमानी महसुस गर्दै थिएँ। हिमाललाई यति नजिकबाट कहिल्यै पनि देखेका थिएनौं। प्राकृतिक सुन्दरता के हो भन्ने त्यहाँ पुगेपछि साक्षात्कार गरी महसुस गरेका थियौं।
करिब दुई घन्टा हिँडेपछि बेस क्याम्प पुग्यौं। माछापुच्छ्रे हिमाल यति नजिक थियो कि आफ्नै हातले हिमालको हिउँ टिपेर टीका लगाउन सकिन्छ जस्तो भान हुन्थ्यो। चारैतिर माछापुच्छ्रे, मर्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गंगापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल हेर्दै रमाउँदै, गाउँदै र फोटो खिच्दै हामीले करिब एक घन्टा बितायौं।
त्यसपछि करिब साढे तीन घन्टा ओरालो हिँडेपछि १२ बजेतिर हाइ क्याम्प फर्केर खाजा खायौं। त्यहाँबाट ब्याग बोकेर बादल डाँडा हुँदै लो क्याम्प पुग्यौं। करिब पाँच बजेतिर सिदिङ पुग्यौं र सुमो चढ्यौं।
डेढ घन्टामा पोखरा पुगी काठमाडौंसम्म रात्रीबसमा यात्रा तय गर्ने योजना थियो। तर बसपार्क पुग्दा टिकट नभएको जानकारी पायौं। तर भाग्यवश एक टुरिष्ट बसको क्याबिनमा पाँच सिट पायौं, सोही बसमा हामी फर्कियौं।
जीवनमा अनेकौं यात्रा गरिएको छ र गरिने छ। देश विदेश घुमिएको छ र घुमिनेछ। तर मर्दी हिमाल ट्रेकको यो यात्रा जीवनमा घटेको सुन्दरतम घटनामध्ये एक हो। घच्चा घमासान र दिकदारीयुक्त नियमित जीवनबाट मुक्त भई केही दिन भए पनि छुट्टै संसारमा विचरण गरी फर्कंदा सबैले आफैंलाई फ्रेस भएको महसुस गरिरहेँ।