सम्झनाको पोखरीमा डुबुल्की मार्नु, फूलको पराग लिएर बतास माझ मिसिनु, जूनकिरीको धिपधिप उज्यालोमा बेला बेला आफूलाई नियाल्नु र साना साना मिठासमा जीवनको मिठास प्राप्त गर्नु नै त खुसी रहेछ।
अक्सर कुनै न कुनै रूपमा हामी यात्रा गर्ने गर्छौं तर सबै यात्रा सम्झनामा रहँदैनन् र सबै यात्राले आफ्नोपनको महसुस पनि हुँदैन।
यो पटकको यात्रा अस्ट्रेलियाको सिड्नीमा आफ्ना छोराछोरीको माध्यमबाट आउनु भएका अभिभावकहरूसँग यात्रा गर्ने मौका पाएर मनको खुसीले वेग मारिरहेको थियो।
हुन त योभन्दा पहिला पनि पटकपटक अभिभावकहरूसँग सुन्दर स्थानहरू समुन्द्री तटहरूको यात्रा गरिसकेकी थिएँ। साँच्चिकै यो पटकको यात्रा उषाले बिउँताएको सुनौलो बिहानी जतिकै प्रिय रह्यो मानसपटलमा।
आज ब्लु माउन्टेनसम्मको हाम्रो यात्रामा कार्यक्रमको आयोजक अभिभावक समाज रहेको छ।
अस्ट्रेलिया सिड्नीको अवर्नस्थित अभिभावक समाज भनेर नेपाली अभिभावकहरूको समिति छ सो समाजले हरेक दिन सांँझमा अवर्न पार्कमा भजन किर्तन गर्नुका साथै नेपालबाट आउनु भएका अभिभावकहरूलाई न्यानो माया र रमणीय अवस्था सृजना गरेर अभिभावक नेपाल फर्कनु पूर्व बिदाई कार्यक्रम समेत गरेर अभिभावकत्वको रमाइलो वातावरण प्रदान गरिरहेको छ र स्वयं म पनि यो समाजमा जोडिने अवसर पाएकी छु।
आजको यात्रामा समाजका अध्यक्ष शशी राईज्यूको निर्देशन अनुसार हामीलाई अवर्न पार्कमा बिहानको साढे दस बजेसम्म उपस्थिति भैसक्नु पर्ने उर्दी जारी गरिए अनुसार म समयभन्दा अलिक छिट्टै दस बजे नै पुगें।
म पुग्नुअघि दुई जना दाजु र एक जना दिज्जु पुगिसक्नु भएको रहेछ। उहाँहरूसँग मेरो पहिले परिचय भएको थिएन तर नेपाली अनुहार र सबै जनामा घुम्न जाने उत्सुकता छपक्कै देखिन्थ्यो। उहाँहरूलाई पहिला नचिनेको हुँदा झ्याप्पै बोल्नु अघि उहाँहरूलाई नियालेँ।
यात्रा गर्दा बोक्ने झोला र पानी जस्ता सामानको दृष्यले उहाँहरू पक्कै हाम्रै ग्रुपमा हुनुहुन्छ भन्ने सोचेँ र कुराकानी र परिचय गर्न म आफैं तम्सिएंँ। कुराकानी गर्दागर्दै अन्य सहभागीहरू पनि आइपुग्नु भयो।
यात्राको हर्ताकर्ता अभिभावक समाजका अध्यक्ष हुनु भएकोले उहाँलाई कुरिरह्यौं। उहाँ स्वयंले साढे दस बजे समय तोके पनि एघार बजे आइपुग्नु भयो। हामी एक घन्टा अघि आउनेलाई एक घन्टा कुर्नु त जुलुम नै भयो नि तर अस्ट्रेलिया आउनु भएका अभिभावकहरूले अध्यक्ष ज्युको सक्रियतामा न्यानो माया र आत्मीय सम्पर्कमा रहन पाउनु भएको छ।
प्रत्येक आइतबार अध्यक्षले कुनै झिजो नमानी अभिभावकहरूलाई लिएर अस्ट्रेलिया सिड्नीका रमणीय स्थानहरूमा घुमाउन लैजाने गर्नुहुन्छ। सबैभन्दा खुसीको कुरा अध्यक्ष आफू पटकपटक पुगेको ठाउँमा पनि आगन्तुक अभिभावकहरू लिएर घुमाउन कुनै अप्ठ्यारो नमानी आफू अभिभावकको पनि अभिभावक बन्नु भएको छ।
उहाँको प्रेम र स्नेहले अभिभावकहरू नेपाल फर्कने बेलामा हुने बिदाई कार्यक्रममा असाध्यै भावुक बन्नु हुन्छ।
आजको यो यात्रामा हामी अभिभावकका पनि अभिभावक चौरासी वर्षीय बुवा पनि सहभागी हुनु भएको छ। उहाँको स्फूर्ति देख्दा साँच्चै उहाँ अझै पनि युवाहरूभन्दा कम जोशिलो हुनुहुन्न।चौरासी वर्षीय बुवा समेतको उपस्थितिले हाम्रो हिँडाइको उत्सुकता अझै चुलिएको थियो।
हामी अवर्नबाट ट्रेन चढेर हाम्रो ग्रुप ब्लु माउन्टेनतर्फ लाग्यो। बीचमा अझै एउटा ट्रेन र बस चेन्ज गरेर साढे एक घन्टामा ब्लु माउन्टेन पुग्यौं।
यो पटकभन्दा अघि पनि म ब्लु माउन्टेन छोरी ज्वाइँसँग पुगिसकेकी थिएँ।
ब्लु माउन्टेन अत्यन्त चिसो हुने ठाउँ त्यसमाथि अझै पानी परेर कुहिरो लागेको बेला छोरी ज्वाइँसँग म पुगेकी थिएँ।
यो पटक भने ब्लु माउन्टेनले हाम्रो स्वागतको निम्ति त्यहाँ चल्ने चिसो पवनलाई रोकेको थियो। आकाशमा बादलका छाना हटाएर आफ्ना नीला आँखाहरूले हामीलाई हेर्न अह्राइरहेको थियो र घामका मधुर तापले हामीलाई पटक्कै चिसो महसुस हुन दिएको थिएन। अहिले पनि यी दृष्य अनि प्रकृतिको प्रेमिल मौनता मुटुभरी साँचेर आँखामा बाँचेको छ।
ब्लु माउन्टेन स्थित 'थ्री सिस्टर' अलिक पर अरू पहाडदेखि अलग्ग भएर उभिएको तीन वटा पहाडकै थुम्कालाई भनिँदो रहेछ। थ्री सिस्टर थुम्काहरूको नजिकै आगन्तुकहरू उभिएर प्रकृतिको रसास्वादन गर्न पहाडको माथिल्लो भागमा कौसी बनाए जसरी बनाइएको अति रमणीय स्थान छ।
सो कौसीमा उभिएर हेर्दा तल निकै तल रूखैरूख र जंगलको गहिरो फाँट देखिन्छ जस्तो कि माथि आकाशमा जहाज चढेर हेर्दा देखिने भुइँ, पहाडका अग्ला होचा रूखै रूखका ताँतीहरू, बाटेका डोरी जस्ता देखिने नदीहरू र नीलो समुन्द्र देखिए जस्तो ब्लु माउन्टेन पनि कौसीबाट हेर्दा रूखै रूखका हरियो समुन्द्र जस्तै देखिएको थियो तल फाँटहरू।
कौसीभन्दा पर अलग्ग देखिने तीन वटा सुलुक्क उभिएका साना साना पहाडलाई थ्री सिस्टर नाउँ दिइएको छ सो ठाउँलाई तीन बहिनी नामकरण गर्नुको कारण प्राचीन किम्बदन्ती अनुसार त्यस ठाउँमा कटुम्बा जनजातिका सदस्य तीन बहिनी अति सुन्दर थिए। ती तीन बहिनी मेहनी, बिमलाह, गुनेडु नामका केटीहरूको सम्झना जीवित राख्न यो पहाडको सुन्दर दृष्यलाई थ्री सिस्टर नाउँ दिइएको कथन छ।
हामी सडकदेखि पर कौसीमा पुग्ने ठाउँहरूको बाटोमा ठूला ठूला चुच्चे ढुंगाहरू उभ्याइएका छन्। ती प्रत्येक ढुंगाहरूमा कविता जस्ता हरफहरू कोरिएका छन्।
ढुंगामा यति मीठा हरफहरू लेखिएका छन् कि- एउटा विशाल खाडीभित्र जुन दयालु दृष्य देखिएको छ, त्यो मेरो निम्ति एउटा अत्यन्तै भव्य उपन्यास जस्तो छ।
अर्को ढुंगामा लेखिएको छ- जब म इको पोइन्ट पुगें, पुतलीको परिवर्तित र सुनौलो पखेटाबाट धुलो गुज्रिएको थियो।
यति सुन्दर हरफहरू पढ्दै दृष्यावलोकन गर्न पाउँदा मन त्यसै त्यसै फुरुङ्ग हुँदै थियो।
हामी गाउँ घरमा पहाड जंगलतिर जाँदा पहरासँग ठोक्किएर फर्कने स्वरलाई रमाइलो मान्दै चिच्याउँदै 'ए फलाना' भन्दै बोलाउने गर्थ्यौं। त्यसैगरी आफ्नै स्वर फर्केर आउने पहरालाई इंगित गरेर इको पोइन्ट भनेर सो ठाउँको जानकारी गराइएको छ। केही साथीहरू चिच्याउँदै रमाइलो गरिरहनु भएको देख्दा पुराना स्मृतिहरू ताजा भइरहेका थिए।
कौसीदेखि छेवैको कच्ची र जंगलको बाटो हुँदै थ्री सिस्टर पहाड थुम्काको फेदीसम्म पुग्न सकिन्छ। सो जंगलमा पाइने जंगली जीवहरूको सानो सानो प्रतीमा बाटोको छेउ पहाडको भित्तामा राखेर त्यहाँ भेटिने जीवहरूको जानकारी गराइएको छ। कच्ची बाटो सकेर तल थुम्कोसम्म पुग्ने ठाउँमा ढुंगाकै गेट र ढुंगाले छापेको बाटो हुँदै साँघुरो ठाडै ओह्रालो तल झर्नु पर्ने रहेछ।
ओह्रालो झर्दा एकातर्फ पहराको भित्तो छ भने अर्कोतर्फ ठाडै पहराको भीरलाई कम्मरभन्दा अलिक माथि जति उचाइ भएको फलामको रेलिङ लगाएको छ सो बाटोमा दुई जना मुस्किलले अट्ने ठाडै ओह्रालो झर्यौं र फेदी पुगेर केही तस्बिर लिएर फेरि हामी सोही बाटो नै ठाडै उकालो उक्लियौं र कौसीतर्फ लाग्यौं।
अस्ट्रेलियामा सबभन्दा पहिला आएका पूर्वजहरूको आगमन वर्ष र कुन स्थानबाट आएका हुन् भन्ने समेतको शिलालेख राखिएको छ ब्लु माउन्टेनमा।
थ्री सिस्टरको छेउबाट बाटो काटेपछि जंगल जस्तो बगैंचा देखिन्छ। सो बगैंचामा ब्लु माउन्टेन स्थापित गर्दा बनाइएका सडकहरूमा काम गर्ने कामदारहरू जसले अति मेहनतका साथ घाम पानी नभनेर सो स्थान बनाएको हुँदा उनीहरूको सम्मान र सम्झनामा एउटा ठूलो शिला र कामदारहरूका मानिस जत्रै कदका प्रतीमा स्थापित गरिएको छ।
सो प्रतीमा कोही ढुङ्गा बोकेको, कोही घन र छिनोले ढुंगा फुटाइरहेको, कोही बन्दुक लिएर उभिएका जस्ता र कोही निर्वस्त्र भएका प्रतीमा स्थापित छन्। सबै दृष्यले साँच्चै नै इतिहास रच्ने र सफल समाज बनाउनेहरूप्रति सम्मान स्वरूप शिर निहुँरिन्छ।
थ्री सिस्टर आधिकारिक रूपमा १९३२ मा खुला गरिएको रहेछ।
यात्राको क्रममा मैले केही त लेख्नुपर्छ सोचेर सबै स्थानका तस्बिर लिँदै हिँडिरहेकी थिएँ। अभिभावक ग्रुपमा सँगै यात्रा गर्नु भएका अभिभावक समाजका कोषाध्यक्ष मनोज थापाज्यूले मलाई वरपरका सुन्दर दृष्यहरू र त्यहाँका थप जानकारी गराउँदै साथै हिँडिरहनु भयो।
मलाई ब्लु माउन्टेनसँग आधारित बुकलेटदेखि कौसीबाट पर देखिने केबुलकार र वर्षा वनमा विभिन्न प्रकारका जडीबुटी अन्यत्र एकदम कम पाइने तर त्यस वर्षा वनमा महत्वपूर्ण जडिबुटीहरू समेत पाइने कुराहरूको जानकारी दिनुभयो।
ब्लु माउन्टेनको रोमान्चकारी दृष्यले मनभित्र प्रेम प्रस्फुटित भैइरहेको थियो। प्रकृतिको सुन्दर कला त्योमाथि प्राचीन आदिवासीहरूको अथक मेहनतले यो स्थान अति रमणीय बनेको छ।
हामी थोरै अगाडि जंगलजस्तो पार्कमा सबैले आफूले ल्याएका खानेकुराहरू वनभोजको शैलीमा बाँडेर खायौं र रमायौं। केही अभिभावकहरू तस्बिर लिनमा तल्लीन हुनुभयो, केही खाने पिउनेमा र चौरासी वर्षीय बुवासहित केही अभिभावकहरू टिकटक बनाउनमा व्यस्त हुनुभयो। म भने साथीहरूसँग केही तस्बिरहरू लिएर त्यहाँ फुलेका लालीगुराँसमा आँखा गढेको थियो र लालीगुराँसका फूलहरू खोज्दै ती विभिन्न रंगका लालीगुराँसलाई तस्बिरमा कैद गर्न व्यस्त रहेँ।
हामी फर्कंदा दिनले कोल्टे फेरिसकेको थियो। साँझको पाँच बजे हामी फेरि बिहान गए जसरी नै फर्कने बस र ट्रेन चढ्यौं।
फर्कंदा मनमा लाग्यो खुसी हामीभित्रै छ केवल खुसी हुन जान्नुपर्छ।
हाम्रा दिनहरू एकएक गरी क्रमशः हामीबाट पार हुँदैछन् र एकदिन हामीबाट हाम्रा दिनहरू छुटी जानेछन्। त्यसैले व्यस्त जिन्दगीबाट थोरै समयलाई यात्रामा जोड्ने प्रयास गर्नुपर्छ। यात्रा जीवन बुझ्ने एक अध्याय हो भने प्रेम जीवन जिउने बलियो आधार हो।
यात्रा, प्रेम र स्नेहले हृदयका धमनीहरूबाट मस्तिष्कमा निर्जीव हुन लागेका उत्साहलाई फेरि बिउझाउँछ र यात्राले सम्बन्धलाई बलियो पार्छ। त्यसैले यात्रा र प्रेम जीवनको सबभन्दा सुन्दर क्षण हुन्।