धेरै अघिदेखिको रहर थियो प्याराग्लाइडिङ गरेर हावामा उड्ने।
हाम्रो पोखरा सहर साहसिक खेलमध्ये प्याराग्लाइडिङका लागि प्रख्यात छ। कामको सिलसिलामा धेरैपटक पोखरा पुगेँ तर के कारणले हो कुन्नि, रहर पूरा हुन पाएको थिएन।
म अवसरको प्रतीक्षामा थिएँ।
यता काठमाडौंमा प्याराग्लाइडिङ चलाउन परीक्षण भइरहेको थियो। यही कात्तिक ९ गते चन्द्रागिरिमा प्याराग्लाइडिङ सञ्चालनमा आयो। त्यस बेला दसैं मनाउन म दोलखा पुगेकी थिएँ।
यसपालि जसरी भए पनि चन्द्रागिरिको प्याराग्लाइडिङमा उड्छु भन्ने सोच बनाएँ। प्याराग्लाइडिङ गर्न हतार लाग्यो। दसैं मनाएर काठमाडौं आएपछि नियमित काममा फर्किएँ।
दसैं र तिहारबीचको समयमा उड्ने योजना थियो। कहिले समयको त कहिले साथीको मेसो मिलिरहेको थिएन। गत शनिबार अचानक योजना बन्यो। मेरो मन उड्न थालिहाल्यो। घडीको सुई ढिलो भएको हो कि जस्तो लाग्न थाल्यो। प्याराग्लाइडिङमा उडेर आकाश, हिमाल, जंगल र सहर नियाल्ने रहर जागेको धेरै भएको थियो।
प्याराग्लाइडिङमा उड्दा कुनकुन पक्षमा ध्यान दिने होला भन्ने चासो भयो, इन्टरनेटमा खोजी गरेँ।
आकाशमा हावासँगै उड्ने भएकाले शरीरमा हावा नछिर्ने लुगा लगाउनुपर्ने रहेछ। चस्मा पनि लगाउँदा राम्रो हुने रहेछ। यसअनुसार सामान तयार पारेँ। यति गरिसकेर सुत्दा कति बेला बिहान होला जस्तो भयो।
सूचनाअनुसार बिहान ६ बजे निस्किएर जोरपाटीबाट स्कुटरमा थानकोटतिर हुइँकिएँ। काठमाडौंमा चिसो निकै बढिसकेछ। बिहानको चिसो हावा खाँदै ४५ मिनेटमा थानकोट पुगे। चन्द्रागिरि जाने बाटोमा साथीहरूको प्रतीक्षा गरेँ।
केही बेरमा साथीहरू आइपुगे। पाँच जना, यात्रा रमाइलो हुने नै भयो।
त्यही ब्रेकफास्ट लियौं। एड्भेन्चरबारे आआफ्नो धारणाको कुरा पनि भयो। अझ रमाइलो त के भने हामी पाँचै जना पहिलोपटक प्याराग्लाइडिङमा उड्न लागेका। सबैको एउटै कुतूहल थियो– हाम्रो प्याराग्लाइडिङ उडान कस्तो होला!
यही विषयमा गफ गर्दै थियौं, प्याराग्लाइडिङ सुरू गर्ने कम्पनी बाबु एड्भेन्चरका सञ्चालक सानुबाबु सुनुवार टुप्लुक्क आइपुगे। चन्द्रागिरिमा प्याराग्लाइडिङ सञ्चालन गर्ने उनै हुन्। उनले प्याराग्लाइडिङमा आफ्नो अनुभव सुनाए। ६ वर्षको निरन्तर प्रयासबाट यसपालि प्याराग्लाइडिङ सुरू गरेका रहेछन्। निकै खुसी देखिन्थे।
जल पर्यटनबाट सुरू भएको उनको व्यावसायिक यात्रा अहिले प्याराग्लाइडिङ उडानमा छ। उनको कम्पनीले प्याराग्लाइडिङ उडाउने तालिम पनि दिँदो रहेछ। तालिम स्कुल स्याङ्जामा रहेछ। हाल तालिममा नेपाली र विदेशी दुवै रहेछन्।
साहसिक पर्यटनमा सानुबाबुको व्यावसायिक यात्रा लामै रहेछ। चिया पिउँदै गर्दा उनले आफ्ना केही अनुभव सुनाए।
उनी त्यही दिन स्याङ्जा पुग्नु रहेछ। एउटा सामूहिक फोटो खिचायौं। प्याराग्लाइडिङमा रमाइलो गर्नुस् है भन्दै उनी त्यहीँबाट बिदा भए।
आआफ्ना सवारीसाधन पार्किङमा छोडेर हामी चन्द्रागिरिबाट चित्लाङ जाने बाटोतिर अघि बढ्यौं। गाडीमा चालक सहित ६ जना थियौं। चन्द्रागिरिको भालेश्वर महादेव जाँदा केवलकारबाट त्यो बाटो देखेकी थिएँ, यात्रा गरेकी थिइनँ। बाटो कच्ची थियो। खाल्डाखुल्डीमा हल्लिँदै, हाँस्दै र हसाउँदै अघि बढ्यौं।
करिब एक घन्टामा देउराली भन्ज्याङको उडान क्षेत्र पुग्यं जंगली डाँडामा रूख काटेर उडान सुरू गर्ने ठाउँ बनाइएको रहेछ, चारैतिर हरियाली, जंगलमुनि चित्लाङ गाउँ। दुई हजार तीन सय मिटर उचाइबाट प्याराग्लाइडिङ सुरू हुने रहेछ।
टेकअफ (प्रस्थान) स्टेसनमा त्रिपाल बिछ्याइएको थियो। त्यहीँ एकछिन बसेर थकान मेटायौं। केही फोटो खिच्यौं, खिचायौं। प्याराग्लाइड गराउन तीन जना पाइलट तयार थिए। पहिला को उड्ने त!
पहिलो उडान हेरेर दोस्रो पटक उड्ने मेरो सोच थियो तर तीनवटा उडान एकै पटक हुने भयो। म पाइलट कृष्णबहादुर सुनुवारको उडानमा परेँ। उडानपूर्व पाइलट नवीन गुरूङले उडान अवधिमा ध्यान दिनुपर्ने पक्षबारे जानकारी गराए। हामी ध्यानमग्न भयौं।
सँगै उड्न तयार तीन वटा ग्लाइडमध्ये पाइलट कृष्णबहादुरले हाम्रो उडान पहिलो बनाइदिए।
मेरा लागि एड्भेन्चर धेरै नयाँ पनि थिएन। यसअघि हट एयर बलुनमा उडेकी थिएँ। बन्जी जम्प गरेकी थिएँ। स्काइ साइक्लिङ र जिपलाइनको मजा पनि लिएकी थिएँ।
हरेक खेलका आफ्नै नियम र विशेषता हुने नै भए। पाइलटले हेलमेट र प्यासेन्जर हार्नेस लगाइदिए। केही फोटो खिचे।
जंगलको डाँडाबाट उडानका लागि तयार भएपछि भने मन केही चिसो भयो, कताकता डर लागेजस्तो। पाइला रोकिन्छन् कि जस्तो भयो। जति नै आँट गरे पनि शरीरले भुँइ छोड्ने भनेपछि मनमा कताकता डर भइहाल्ने रहेछ।
पाइलटले सोधे– उडानका लागि तयार हुनुहुन्छ?
तयार रहेको भन्ने जवाफ पाएपछि दुईचार पाइला अघि बढाउन भने। पाइलटले प्याराग्लाइड टेकअफ गरे। अनि सुरू भयो आकाशको यात्रा। केही सेकेन्डमै हामी हावासँगै उड्न थाल्यौं।
बाल्यकालमा लिंगे पिङ खेलेकी थिएँ। प्याराग्लाइडबाट भुँइ छोड्दा ठ्याक्कै लिंगे पिङकै जस्तो अनुभव भयो।
हामी हावाको बेगसँगै पर, झन् पर पुग्यौं, निकै माथि पुग्यौं। हावाको वेग र उड्ने दिशाको तालमेल मिलेपछि उडान रोमाञ्चक बन्दै गयो।
मनको डर एकै छिनमा हरायो। पाइलटले दुबै हात फिजाएर आनन्द लिनुस् भने। हार्नेसमा समाएका दुबै हात छोडिदिएँ। आकाशमा स्वतन्त्र उडेको महसुस भयो। मानौं, चरो जसरी नै उड्दै छु।
ओहो! कति रमाइलो! चारैतिर पो देखिन्छ त!
बादलभित्र र बाहिर लुकामारी भयो। हिमालको दृश्य आँखैअगाडि छर्लंग भयो।
मैले सोधेँ– यी हिमालहरू कुनकुन हुन्?
पाइलटले इशारा गर्दै नाम भने– गणेश, मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण...।
बिहानको समय थियो, आकाशमा बादल र तुवाँलो थिएन। खुलेको आकाशबाट देखिएको हिमशृंखलाले मन लोभ्यायो, हर्ष भरियो। हावाको वेग दक्षिणबाट उत्तरतर्फ थियो। आकाशबाट काठमाडौं उपत्यकासँगै मकवानपुरका विभिन्न ठाउँ देखिए। पाइलटले ठाउँहरू चिनाए। यात्राको रमाइलो सुनाए।
प्याराग्लाइडिङ उडानको अर्को आनन्द पनि रहेछ। निश्चित उचाइमा पुगेपछि पाइलटले ग्लाइड उल्टोसुल्टो घुमाउने रहेछन्। यसो गर्दा असीम आनन्द हुँदो रहेछ। उड्दै गर्दा मलाई र्याफटिङको आनन्द स्मरण भयो।
पाइलटले पहिलोपटक ग्लाइड उल्टोसुल्टो घुमाउँदा केही पनि भनेका थिएनन्। अचानक पाराग्लाइड उल्टिँदा म डराएँ, अलिकति चिच्याएँ। एड्भेन्चरको मज्जा नै यही हो भन्दै पाइलट मुसुक्क हाँसे।
यही आनन्दको क्षण क्यामरामा खिच्न मन लाग्यो। उनले प्याराग्लाइड फेरि उल्टोसुल्टो घुमाए। गो-प्रो तेर्स्याएर बोल्दै फोटो र भिडिओ खिचेँ। प्याराग्लाइड उल्टिँदा सुरूमा हल्का झसंग भयो। सुल्टो हुनासाथ अनौठो आनन्द! चित्लाङको आकाशमा पाइलटले प्याराग्लाइड सात पटक उल्टोसुल्टो घुमाए।
पाइलटले सोधे– अझै हान्ने?
अर्थात् अझै उल्टोसुल्टो घुम्ने?
मलाई हलुका रिंगटा लागेजस्तो भयो। अब पर्दैन भन्ने इशारा गरेँ। उडानका क्रममा धेरै फोटा खिच्यौं।
सँगै उडेका साथीहरू आकाशमै भेटिए। तीन वटा प्याराग्लाइड एकै पटक आकाशमा उड्दै थिए।
मैले पोखराको सराङकोटबाट उडेका प्याराग्लाइड पहिलोपटक देख्दाको क्षण सम्झेँ।
धेरैले प्याराग्लाइडिङ भन्नसाथ सम्झिने पनि पोखरा नै हो। अब काठमाडौंकै नजिकको चन्द्रागिरि डाँडो केबलकारसँगै प्याराग्लाइडिङका लागि पनि प्रसिद्ध हुने देखिएको छ।
भरपुर रमाइलोसँगै मैले प्याराग्लाइडिङमा हुने घटना–दुर्घटनाका बारे आकाशमै पाइलटलाई सोधेँ।
उनका अनुसार दुर्घटनाको बढी सम्भावना सोलो (एकल) उडानमा बढी हुँदो रहेछ। उनले पाइलट र यात्रु दुबैले उडान मापदण्डअनुसार उडान गरेमा सुरक्षित हुन्छ भन्ने विश्वास दिलाए।
यस्तै गफ गर्दै हामी चित्लाङको जमिनतर्फ नजिकिँदै गयौं र उडेको ३५ मिनेटमा चित्लाङ रिसोर्टअगाडि अवतरण गर्यौं। प्याराग्लाइडिङको यो उडानमा यसअघिका अन्य एड्भेन्चरभन्दा भिन्नै अनुभव भयो।
हाम्रो उडान पहिलो भएकाले अवतरण पनि पहिला नै भयो। अवतरणपछि केही स्थानीयवासीसँग कुरा गर्ने अवसर मिल्यो। उनीहरू प्याराग्लाइडिङ अवतरण गर्ने क्षेत्रमै भेटिएका थिए। खासमा उनीहरू हेर्न आएका रहेछन्।
चन्द्रागिरिबाट उडेर चित्लाङ अवतरण हुने प्याराग्लाइडिङ सुरू भएपछि स्थानीयहरू उत्साहित भएका रहेछन्। चित्लाङमा नयाँ होटल र लजहरू खुल्न थालेका रहेछन्। काठमाडौं–चित्लाङ सडक पक्की बन्ला कि भन्ने आशा स्थानीयको रहेछ। उनीहरूले कच्ची बाटोको सास्तीको बयान गरे। बाटो पक्की भएपछि चित्लाङ निकै राम्रो पर्यटकीय स्थल बन्ने उनीहरूको विश्वास रहेछ।