म बच्चै हुँदा खुब हल्ला सुनिन्थ्यो। ठूलो ताल फुट्छ रे, अनि तामाकोशी नदीमा बाढी आएर छेउछाउको सबै बगाउँछ रे भनेर।
त्यही बेलादेखि मलाई कस्तो रहेछ त्यो सबै बगाउने ताल हेर्न मन लागेको थियो। मेरो भतिज निर्वेश भण्डारी र मैले करिब ३ वर्ष अगाडिदेखि नै प्लान गरेका थियौं यो ट्रेकको तर कहिले कोभिड, त कहिले डेंगीले गर्दा सरेको सर्यै। यो पालि जाने टुंगो लाग्यो।
सुरूदेखि मैले र भतिजले प्लान गरेको भए पनि पछि ७ जनाको टोली तयार भयो जान। टोलीमा हामी अनिश सर, रविन दाइ, निराजन सर, किरण, नानी अनि हामी काकाभतिज।
लोकन्थलीमा सबै जना भेटेर शुक्रबार बिहान ७ बजे हाम्रो यात्रा सुरू भयो।
धुलिखेलमा बिहानको खाजा खाएर अगाडि बढियो।
बीचमा रोक्दै, बस्दै, फोटो खिच्दै करिब १ बजेतिर दोलखाको सदरमुकाम चरिकोटमा पुगेर हाम्रो ट्रेकका लागि चाहिने केही सामान किनियो। अनि दोलखा भीमेश्वरको दर्शन गर्दै हाम्रो यात्रा सिंगटीतिर अगाडि बढ्यो।
सिंगटीमा गौरीशंकर संरक्षण क्षेत्रको प्रवेशको लागि टिकट काट्न पर्ने रैछ। तर टोलीमा हामी ३ जना दोलखाकै भएर हामीलाई परेन, अरूको काटियो।
तामाकोशी नदीको तिरैतिर जाँदै गर्दा रोडमै झर्ने आकर्षक भोर्ले अनि नदीपारि भएको छेत छेत झरना हुँदै हामी हाम्रो रोड यात्राको अन्त्य हुने ठाउँ छेत छेत बजार पुग्यौं।
अनि सुरू भयो हाम्रो पैदल यात्रा।
तामाकोशी नदीलाई पार तर्दै गर्दा उकालो बाटो सुरू भइसकेको थियो। स्वीस सरकार र संस्कृति पर्यटन मन्त्रालयको सहयोगमा यो पदमार्गको स्तरोन्नति गरिएको रहेछ। जसले गर्दा हिँड्न र बाटो थाहा पाउन धेरै सजिलो। छेत छेतबाट ठाडै उकालो पार गरेपछि बल्ल सिमी गाँउ पुगियो। ठूलै बस्ती रैछ। हाम्रो बस्ने ठाउँ पुग्न अझै हिँड्न पर्ने थियो। कोदो फुलेको बारीबारी हिँड्दै बल्ल मितिनी दिदीको होटलमा पुगियो।
थकान जति भए पनि साथीहरूसँग रमाइलो गर्न त कहाँ छोडिन्थ्यो र? राति धेरै बेरसम्म तास खेल्दै, गफ गर्दै बस्यौं अनि भोलिदेखि त झन् धेरै हिँड्न छ भनेर सुत्न लागियो। बिहान दिदीकोमा नास्ता गरेर दोस्रो दिनको यात्रा सुरू भयो।
उकालो, ओरालो बाटो, जंगल, खेत, डर लाग्दो ओडार, अरमुट्ठे कालो भिर, ठूला ठूला चट्टान, तिनै चट्टान चिर्दै निस्केका साना ठूला खोला झरनाहरूसँग भेट हुन्थ्यो अनि फेरि छुटिन्थे। चराको चिरबिर चिरबिर। रंगीचंगी फूलहरू। खोला बजेको आवाज। यस्ता कुराहरूले हामीलाई हिँड्ने शक्ति मिलिरहेको थियो।
बाटोमा झोलुङ्गे पुल, काठको पुल, पक्की पुल प्रशस्त भेटिन्थे, जसले हाम्रो आवतजावतलाई निकै सहज बनाउँथे।
उत्तिसे, सुर्मुचे हुँदै क्याल्चे पुग्दा हाम्रो खाना खाने बेला भइसकेको थियो। त्यहाँ खाना खाएर हामीले आज बेदिङसम्म पुग्ने टुंगो लगाएका थियौं।
क्याल्चेबाट अलिकति अगाडि डिलबाट दोङदाङ देखिन्थ्यो। हामीलाई आफ्नै ज्यान पनि भारी भइसकेको थियो, झोलाको त कुरै नगरौं, दोङदाङ होटलको दाइसँग हामी सँगसँगै आएका थियौं तलदेखि नै। चिनजान थियो। हाम्रो अघिल्लो दिन लागेको र नचाहिने कपडाहरू त्यही छोड्यौं। झोला अलि हलुका भयो।
गङ्गोर खोलाको तिरैतिर लाग्दै गर्दा एउटा झोलुङ्गे पुल भेटियो। फोटो खिचाइयो। थकाइ मारियो। त्यति बेलासम्म हामी ७ जनामा २ जना पछाडि नै छुटिसकेका थिए। अब उनीहरूसँग आज बस्ने ठाउँमा नै भेट्ने कुरा भयो। बेलुका बस्न होटल खोज्नलाई हामी अगाडि बढ्ने भयौं।
ट्रेकिङको सिजनको बेला धेरै मान्छे हिँड्ने समय बस्ने ठाउँ पाइएन भने त त्यो चिसोमा रात बिताउँदा धेरै गाह्रो हुन्छ भनेर आगडि लागियो।
त्यो झोलुङ्गे पुल, अनि त्यसपछिको बाटो एकदम गाह्रो नाक नै ठोक्किने ठाडो उकालो। खुट्टाहरू मान्दैन थिए उकालो चढ्न तर, तेस्रो बाटो छँदै थिएन। साथीहरूसँग गफ गर्दै, गीत सुन्दै, गाउँदै, फोटो खिच्दै, थकाइ मार्दै, खाजा खाँदै गर्दा पनि थाङ्दिङ पुग्न धेरै नै सकस परेको थियो।
त्यसपछिको बाटो त्यस्तो गाह्रो थिएन त्यही पनि आजको बास बस्नलाई अझै ३ घण्टा जति हिँड्न पर्ने थियो।
हामीले त्यहाँ इनर्जी ड्रिंक्स सहारा लियौं आजको बास स्थानसम्म पुग्नका लागि। हामीले गाङ्गोर खोलासँग धेरैचोटि साक्षात्कार गरिसकेका थियौं अझै अलिकति बाटो खोलासँगै हिँड्न पर्ने थियो।खोला कुर्लिंदै तलतिर जाँदै थियो, हामी स्याँ स्याँ गर्दै मास्तिर लाग्दै। हिँड्दै गर्दा साना साना पुराना घरहरू देखिए, ल आयो बेदिङ भन्ने सोचेको होइन रहेछ।
अझै कति हिँड्न पर्ने हो थाहा थिएन। बाटोमा भेटेको भरिया दाइहरूलाई सोद्धा अब ३० मिनेट भन्नुहुन्थ्यो। फेरि ३० मिनेट हिँडेर सोद्धा पनि ३० मिनेट नै भन्नुहुन्थ्यो। बाटोमा विभिन्न झण्डाहरू, ढुङ्गामा कुदेर लेखिएको अक्षरहरू, ढुङ्गाबाट लुकेर निस्केका छहरा, फुलेका फूलहरूले हामीमा नभएको इनर्जीलाई रिचार्ज गर्थ्यो।
खोलासँगै ठोक्किएर आएको सिरसिर हावाले चिसोको आभास गराउथ्यो। ठूला रूखहरू भेटिन छोडिसकेका थिए। सानासाना पोथ्रा, जसले गर्दा सास फेर्न नि मेहनत गर्नुपर्ने भयो। एउटा लामा गेट, छेउमा स्कुलसँगै वेदिङ गाउँको सुरूआत भयो। मनमा खुसी छायो अब ज्यानले आराम पाउने भयो भनेर।
बेदिङ पुग्दा झमक्क साँझ परिसकेको थियो। अहिले सिजन भएर होटल पाउन गाह्रो। झन् यो रूटमा नेपालीभन्दा विदेशी पर्यटकहरू धेरै हिँड्ने।
धेरैजसो विदेशीहरू च्छो रोल्पा हुँदै ताशी लाप्चा पास भएर सोलुखुम्बुको नाम्चे बजार पुग्ने रैछन्।
बाटोमा नेपालीभन्दा धेरै विदेशीहरूसँग भेट भयो। गफगाफ भयो। उनीहरूले गरेको नेपालको तारिफ सुनियो। खुसी लाग्यो। नेपालीहरूले हल्ला गर्छन् भनेर विदेशी बसेको होटलमा हामीलाई रूम दिन गाह्रो माने। धेरै होटल बुझ्न पर्यो। एउटा दिदीले हल्ला नगर्ने सर्तमा बस्न दिनुभयो। यो दिनको हाम्रो यात्रा धेरै नै भएको थियो। ज्यान थाकेर केही गर्न नसक्ने भएको थियो। खाना खाएर सुत्नबाहेक केही गर्न सकिएन।
बिहान उठियो, आज हाम्रो अन्तिम गन्तव्य पुग्ने दिन।
दिदीकोमा चिया खाएर यात्रा सुरू गरियो। बाटो धेरै गाह्रो थिएन तर उचाइ बढ्दै गएको भएर सास फेर्न गाह्रो हुँदै थियो। ना गाउँमा पुगेर खाना खाएर जाने प्लान बनायौं। हामी अघिल्लो दिन बसेको होटलको दिदीको बैनीको होटल रैछ ना गाउँमा फोन गर्न खोजेको तर लागेन।
वेदिङमाथि नेटवर्क नआउने रैछ। बत्ती पनि थिएन। बिहानको घामसँगै चाँदीको टोपी लगाएका हिमालहरू देखिन थालिसकेका थिए। गौरीशंकर हिमालले हामीलाई बेलाबेला बादलबाट निस्केर जिस्काउँथ्यो। बिहानको न्यानो घामले हाम्रो ज्यान तताउँदै थियो। उपत्यकाजस्तो बाटो। सँगै बगेको गाँगोर खोला। ढुंगा छापेको बाटो। बाटोमा थरीथरी फुलेका फूल। हिउँ पग्लेर चट्टान चिर्दै निस्केका झरना। यिनीहरूलाई नियाल्दै अगाडि बढ्दा, गन्तव्य नजिकिएको पत्तो नै भएन। चौरीको बथान। उनीहरूको घाँटीमा झुण्डाइएको घण्टीको आवाजले हाम्रो यात्रालाई झनै मिठास प्रदान गर्थ्यो।
ना गाउँ पुगियो खाना खाएर बस्दा धेरै समय लाग्छ हिँड्न नि अल्छी लाग्छ भनेर खाजा खाएर लागियो माथितिर।
ना गाउँमा पनि धेरै होटलहरू छन्। बास पाउन धेरै गाह्रो थिएन त्यहीमाथि हामी बिहान नै पुगेका थियौं। बेलुका त्यही बस्ने भएर झोला त्यहीँ छोडियो। हिँड्न सजिलो हुने आश भयो। जति माथि पुग्यो त्यति गाह्रो हुँदै थियो हिँड्न पनि सास फेर्न पनि। तै पनि हाम्रो यात्रा जारी नै थियो। दिउँसो साढे एक बजेतिर हामीले च्छो-रोल्पा ताल देखियो।
विशाल। शान्त। सुरम्य। स्थिर। रोल्वालिङ हिमश्रृंखलाको काखमा फिँजारिएर हामीलाई स्वागत गर्न बसेको ताल देख्दा मन फुरूंग भयो। नेपालको सबभन्दा ठूलो हिमताल। दोलखा जिल्लाको उत्तरी भेगमा ४५८० मिटर उचाइमा रहेको ताल साँच्चै एकदम सुन्दर रहेछ। मेरो सानैदेखिको रहर पूरा भयो। तर त्यो बेला सुनेको जस्तो हल्लाजस्तो फुटिहाल्ने चाहिँ लागेन।
ठाउँ-ठाउँमा पानीको सतह नाप्ने यन्त्रहरू राखेको रहेछ। पानीको सतह बढ्यो भने सूचना दिनलाई साइरन पनि राखिएको थियो। यदि फुट्यो भने मान्छेहरू सुरक्षित ठाउँमा जाऊन् भनेर। तर अहिले खासै त्यस्तो देखिन्न थियो। हुन त प्रकोप आउन कति बेर लाग्छ र? केही भर नै हुन्न।
तालको छेउमा बसेर आँखाले सबै नियालेँ। फोटो खिचियो। केही साथीहरूले पौडी पनि खेले। त्यहाँ एउटा दाइले होटल खोल्नु भाको रैछ।
तालको छेउमा बसेर चिया खाने रहर पनि पूरा भयो। बसेर खाइयो। एकछिन रमाइलो गरियो। अब फर्केर ना गाउँ पुग्न थियो। केही साथीहरू भने दूधकुण्ड जाने भनेर तम्सिए र उकालो लाग्ने र ओरालो झर्ने टोली छुट्टियो। म र अरू दुई जना चाहिँ तल झर्नेमा पर्यौं। माथि गएर आउनेले दूधकुण्ड झन् छुटाउनै नहुने ठाउँ रैछ भनेर तारिफ गर्दै राति अबेर ना गाउँमा आइपुगे। तर धेरै दुःख पाएछन् बाटो थाहा नपाएर, रात परेर।
चिसो हावाले हान्न सुरू गरिसकेको थियो। यसो मास्तिर हेर्दा, अस्ताउन लागेको घामले बिहान देखेको चाँदीजस्तो हिमाल अहिले सुनजस्तो देखिन लागेको थियो।
बाटोमा चौरी गाईको बथान, चराहरू आहार खोज्दै गरेको दृश्य झन् मनमोहक थियो। सुन्दर ठाउँहरू जति बेला नि सुन्दर देखिने बिहान छुट्टै रौनक थियो, बेलुका छुट्टै, राति झन् आकाशमा प्रष्टसँग मिल्की वे देखिन्थे। राति अबेर सबै जना जम्मा भएर खाना खाएर एकछिन गफियौं। अब भोलिदेखि फेरि ओरालो लाग्न पर्ने थियो।
ना गाउँबाट फेरि यात्रा सुरू भयो, आज झर्दा अलि धेरै मान्छेहरू भेटिन लागेका थिए। सायद शनिबार यात्रा सुरू गरेका हुनुपर्छ। सबैको अनुहारमा थकान र उत्सुकता प्रष्ट देखिन्थ्यो। धेरैसँग कुराकानी हुन्थ्यो। बाटो, लाग्ने समयबारे जानकारी गराउन। ओरालो झर्दा धेरै गारो हुँदैन। हामीले यात्रा सफल गरेकोले होला स्फूर्ति पनि त्यत्तिकै थियो।
अलि राम्रो ठाउँ भेटे गीत बजाएर नाच्दै। राम्रो सिन देखिए बसेर फोटो, भिडिओ खिच्ने, सफा पानी भेटे पसेर पौडिने गर्दै बास बस्न क्यालचे पुगियो। आज बास बस्ने ठाउँमा चाँडै पुगेको थियौं, नत्र जहिले राति हुने।
अघिल्लो दिनको जसरी नै हामीले हाम्रो पदयात्रालाई अन्त्य गर्यौं छेतछेतमा। हाम्रो त्यो दिनको बास चरिकोटमा भयो हाम्रो योजनाअनुसार नै। चरिकोटको बसाइ पनि धेरै रमाइलो भयो। हामीले यात्रामा रमाइलो गर्न कहीँ पनि छोडेका थिएनौं। हरेक पलहरू यादकार छन्। हरेक समय अविस्मरणीय छन्। सबै पाइला सम्झिन लायकका छन्।
मलाई घुम्ने भनेको नै ट्रेकिङ जाने हो जस्तो लाग्न थालिसकेको छ। जहाँ हरेक पाइलामा नयाँ कुरा देख्न सकिन्छ। हामीले फेर्न हरेक सास छुट्टै फेर्न पाइन्छ। केही घन्टा मा नयाँ संस्कृति भेटिन्छ। खाने कुरामा नौलो स्वाद खाइन्छ। आफैंलाई प्रकृतिमा हराउन सकिन्छ। बुझ्न सकिन्छ। आफ्नै जिल्ला भए पनि मेरो घर र त्यो ठाउँमा धेरै कुराहरू फरक पाए। धेरै हिमाल, पहाड, खोला, छहरा, जंगल, उकालो ओरालो, खेतबारी, फूलहरूको आनन्द लिँदै पदयात्रा गर्न चाहनेहरूको लागि च्छोरोल्पा, दूधकुण्ड ट्रेक एकदम नै उपयुक्त हुनेछ।