फरक फरक कला र संस्कृति, फरक परिवेश, चिसो तथा शान्त वातावरण। शैलुङमा पुग्ने जोकोहीले पनि पक्कै यस्तै महसुस गर्छन्। अझ स्थानीयले दिएको माया, घण्टौं परबाट हामीलाई नै भेट्न आएको सुन्दा मन नै भावुक बन्यो।
दुई दिनको बसाइका क्रममा मैले यस्तै अनुभव गरेको थिएँ शैलुङमा। अझ शैलुङका स्थानीयले गरेको स्वागत तथा आतिथ्यता जहाँकहीँ पक्कै पाइँदैन।
स्पार्क कारले हरेक वर्ष गर्दै आएको स्पार्क एड्भेञ्चरको शैलुङ संस्करणमा हामी गएका थियौं। चौंरीसँग रात बिताउने यस किसिमको कार्यक्रममा म यसअघि सहभागी भएको थिइनँ।
कार्यक्रम संयोजक अमरदीप भट्टराईले मलाई दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा जानका लागि निम्ता दिनुभएको थियो। म प्राकृतिक सामिप्यमा रमाउने मान्छे हुँ।
'नेचरसँग कनेक्ट' हुने भएकाले पनि उहाँको प्रस्तावलाई मैले सिधै हुन्छ भनें।
म निकै उत्साहित थिएँ शैलुङ जानका लागि।
शैलुङ जानुभन्दा दुई दिनअघिसम्म म अस्वस्थ भएर एन्टिबायोटिक खाँदै थिएँ। मलाई निमोनियाको लक्षण देखिएको थियो। तै पनि शैलुङ नगई मनले धरै मानेन। शैलुङ जानकै लागि मैले आफ्नो मनलाई दरिलो बनाइरहेको थिएँ। अन्य दिन म बिहान सात बजे आसपास उठ्थें। तर शैलुङ जाने दिन उत्सुकता र आतुरीले असोज ११ गते भने म बिहान ५ बजे नै तयार भइसकेको थिएँ।
स्पार्कको गाडीले मलाई पिकअप गरेको थियो। सन्दर्भगत भिडिओ र अन्य जानकारी बटुल्दा पहिले नै शैलुङको बारेमा थाहा हुने र आफूलाई 'सप्राइज' फिल नहुने भएकाले धेरै जानकारीहरू नबटुली म सिधै शैलुङ लागें।
हामी धुलिखेलको मिरावेल रिसोर्ट पुग्दा पञ्चे बाजाले स्वागत गरियो। एक मन त त्यहीँ नाँचुनाँचु लागेको थियो। धुलिखेलमा स्वागतका क्रममा एक जनाले फूलहरूमध्ये पनि गुलाफको फूल रोजेरै दिनुभएको थियो। यो निकै रमाइलो लाग्यो।
हामी एउटा गाडीमा चार जना गएका थियौं। गाडीमा रमाइला कुराकानी गर्दै गर्दै गयौं। एड्भेञ्चर यात्रा भएकाले अफरोड ड्राइभको मज्जा पनि लिन पाइयो। सबै गाडीहरू लस्करै गुडेको देख्दा निखिल दाइको भैरव फिल्मको सिनको झल्को आएको थियो। म गाडीको अगाडिको सिटमा रहेको थिएँ, तलतिर छंगाछुर भिर यस्ता दृश्यले मलाई कहिलेकाहीँ हरर मूभिको याद दिलाइरहेको थियो।
हामीलाई विभिन्न ठाउँमा त्यहाँका स्थानीयले स्वागत गर्नुभएको थियो। अझ माथि शैलुङ पुग्नै लाग्दा खोलाखर्कमा सगुनस्वरूप प्याला दिनुभएको थियो। मैले यसअघि रक्सीजन्य पदार्थ सेवन गरेको थिइनँ। सगुनको रूपमा दिइसकेपछि मैले लिएँ। थोरै सुरूप्प पारेको प्याला घाँटीदेखि चरर पोल्दै पेटसम्म पुग्यो। यस्तै सुच्या (नुन र घ्यु मिश्रित चिया) पनि पिउने अवसर मिल्यो।
त्यतिखेर नै अँध्यारो भइसकेको थियो। खोलाखर्कबाट शैलुङ निकै नजिक देखिएको थियो। शैलुङको भ्युटावरमा बालिएको बत्ती निकै नजिक देखिएको थियो। भ्यु टावरको बत्तीलाई पछ्याउँदै संगीतको धुनमा साथीहरूसँग गफिँदै करिब ४५ मिनेट पैदल यात्रामा हामी शैलुङको थुम्कामा पुग्यौं। माथि पुगेपछि सरर आएको हावाको झोकाले हान्दा मेरो शरीर नै रिचार्ज्ड भएको महसुस भयो।
मैले शैलुङमा आउनकै लागि ड्रोन किनेर ल्याएकी थिएँ। ड्रोन सिक्ने मौकासमेत शैलुङले दियो। यसअघि म रिसोर्टहरूमा सफारी टेन्टमा भने बसेको थिएँ। यस किसिमको क्याम्पिङ टेन्टमा बस्ने अवसर पहिले मिलेको थिएन।
हामीले खाना खाँदा मैले एउटा कुरा महसुस गरें। यस क्षेत्रमा नुन कम खानुहुँदो रहेछ। काठमाडौंमा हामी छिटो छिटो रिसाउने कारण नुन चर्को खाएर नै होला। यहाँ आएपछि नुन कम खाइयो।
रातको समय निकै चिसो थियो। सायद केही प्राविधिक गल्तीले होला हाम्रो टेन्टमा हावा छिरिरहेको थियो। तै पनि हामीले यसै नै रात बितायौं। बिहानीपख हुँदै गर्दा मस्त निदाइएछ, बिहानको सूर्योदयले हामीलाई छाडेर गइसकेछ। हामीले पहिलो दिन त्यहाँ सूर्योदय मिस गर्यौं। त्यसबाहेक शैलुङमा देखिएका हरियाली थुम्काहरू, पारी देखिएका हिमाल तथा बादलका दृश्यहरूले मनलाई रोमाञ्चक बनाइरह्यो। यस समयमा मैले मेरा बाबाममीलाई निकै नै सम्झिएँ। उहाँहरूलाई पनि यस ठाउँमा लिएर आउन पाएको भए हुन्थ्यो भन्ने भइनै रह्यो।
शैलुङको तल मन्दिर र गुफा छ भने माथि गुम्बा छ। हामीले यी सबैको अवलोकन गर्यौं। हिन्दु र बुद्ध धर्मावलम्बीहरूको तीर्थस्थलको रुपमा परिचित शैलुङ आधात्मिक रुपमा मात्रै हैन प्राकृतिक रुपमा पनि निकै धनि छ। यी ठाउँहरूमा समय बिताउँदा निकै नै आनन्दित महसुस भयो।
मलाई हरेक स्थानमा गएर केही न केही याद रहिरहन्छ। करिब ५ घण्टा हिँडेर हामीलाई भेट्न आउनुभएको थियो। यसले निकै नै खुसी बनायो। बालबालिका वा युवामात्र हैन हामीसँग नाच्न र रमाइलो गर्न जेष्ठ नागरिकहरू पनि उत्तिकै लालायित देखिनुहुन्थ्यो। यसले हामीलाई शैलुङको माया नजिकबाट चिन्ने र महसुस गर्ने अवसर पनि दियो। सायद शैलुङ नआएको भए यी सबै माया हामीले पाउँदैन थियौं। शैलुङमा चरिरहेका चौंरी र चौंरीका साथमा रहेका चौंरी गोठालाहरूको माया साँच्चिकै अविष्मरणीय थियो। यहाँ बस्दा 'वाइल्ड स्टे विथ चौंरी' नाम अनुसारको बसाइ भयो।
स्पार्क कारले गरेको यस किसिमको कार्यक्रममा सहभागी हुन पाउनु नै निकै सुखद् कुरा हो। यसरी घुम्ने ठाउँमा म नछुटौं भन्ने लागेको छ। अघिल्लो पटक लमजुङको भुजुङमा म जान पाएको थिइनँ।
यस ठाउँमा फोहोरमैला गर्नु हुँदैन । हामीले पनि अन्तिम दिन त्यहाँका फोहोर मैला आफैं सफा गर्यौं। हामीले विकासका नाममा शैलुङको सौन्दर्यलाई असर गर्ने गरि काम गर्नुहुन्न। तर यहाँसम्म आउनका लागि भने पक्की सडक बनाउन सक्नुपर्छ। स्वर्ग जाने बाटो पक्कै सहज बनाउनुपर्छ अब।