प्रकृतिबाट उत्पन्न मानव शरीर स्वाभाविक रूपले प्रकृतिमै बढी रमाउँछ। भौतिक विकासको शिखरतर्फ तीव्र गतिमा उक्लिँदै गरेको मान्छे यो समयमा अत्यन्त व्यस्त छ। उसलाई मान, सम्मान, सम्पत्ति आदिको दौडमा दौडिइरहनु छ, सक्दो अगाडि पुग्नु छ जति थाके पनि। त्यसैले उसलाई प्रकृतिसँग समागम गर्ने फुर्सद कम छ। तर सबैलाई यो लागू हुँदैन। धेरै मानिसहरू नियमित जीविकालाई पन्छाउँदै बेलाबेलामा प्रकृतिसँग मिसिन पुग्छन्। केही अगाडिको विश्वव्यापी कोरोना महामारीपछि मानिसहरूमा प्रकृतिप्रतिको मोह पक्कै बढेको छ।
सहरको नियमित जीवनबाट छुटकारा लिन म लगभग हरेक ३/४ महिनामा काठमाडौं खाल्डोबाट बाहिरिने गर्छु। यस्ता बेलामा मिलेसम्म टाढा, दुर्गममा, सबै खाले संचार सम्पर्कबाट टाढा रहने कोसिस गर्छु। यसो गर्नाले शरीरमात्र नभई मन पनि स्वस्थ बनाउने र भौतिक सुख मात्र सर्वोपरि हैन रहेछ भन्ने बोध गराइरहने स्वयं अनुभव छ।
धेरै टाढा जान नमिल्दा उपत्यकाबाहिरका गाउँबजारका मित्र आफन्तहरूकहाँ गएर एक दुई दिन भुल्दा पनि पुनर्ताजगी हुन्छ।
यसपटक सोलुखुम्बुको दूधकुण्ड जाने निधो थियो। दूधकुण्डबारेका जानकारीहरू विभिन्न व्यक्ति, वेबसाइट र युट्युबका भिडिओहरूबाट पाइयो। धार्मिक स्थल भएको हुनाले जनैपूर्णिमा पारेर जाने प्रारम्भिक निधो भयो। काठमाडौं र मूल थलो खोक्सेली (हलेसी तुवाचुङ न.पा. ४, खोटाङ) बाट गरी दर्जन बढीको टोली भइयो।
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नं १ टाक्सिन्दुको उत्तरी उच्च हिमाली भेगमा अवस्थित दूधकुण्ड धार्मिक तथा पर्यटकीय स्थल हो। यो हिन्दु तथा बौद्धमार्गीहरूको आस्थाको स्थान हो।
काठमाडौंबाट २७० किमी पूर्व पर्ने सोलुखुम्बु सदरमुकाम सल्लेरी बजार पुग्न अधिकांश सहज पक्की बाटो छ। एकदिनमै आरामले पुगिन्छ। बिपी राजमार्गको मनमोहक संरचना, सुनकोशीको गडगडाहट, सडक सुविधाले नगदे कृषिमा भएको बढोत्तरी र सहरोन्मुख गाउँबजारको दृश्यले मन लोभिन्छ। काठमाडौंबाट ३ घण्टा जतिमा पुगिने खुर्कोटबाट बिपी राजमार्ग छाडी मध्यपहाडी राजमार्ग हुँदै उदयपुरको घुर्मी बजार पुग्न २ घण्टा जति लाग्छ।
सुनकोशीको तिरैतिर जाने यो बाटो बिपी राजमार्गभन्दा कमसल छ, तर अधिकांश खण्ड पक्की नै छ। घुर्मीबाट सुनकोशीको पक्की पुल तरेर ओखलढुंगाको उकालो लाग्नुपर्छ। पत्ताले, चिलाउने, उत्तिस आदिका घना जंगल र बाटोमा पर्ने पुराना चर्चित बजारहरू मानेभञ्ज्याङ, केत्तुके, गुरूङ डाँडाहरूमा केही क्षण बिसाएर सहरोन्मुख ग्रामीण बजारका दृश्य हेर्न सकिन्छ। बजारहरूमा स्थानीय उत्पादनहरू बिक्रीमा राखिएका हुन्छन्।
ओखलढुंगाबाट करिब ५० किलोमिटरको दूरीमा रहेको सल्लेरीतर्फको यात्रा भने केही सुस्त हुन्छ। उचाइ बढ्दै गएपछि बाटो केही साँघुरो हुन्छ भने हुस्सु लागेर सवारी साधनको गति घटाउनै पर्ने हुन्छ। हुस्सु नलागेको बेला भने टोड्के, ठाडे, धापजस्ता ठाउँहरूबाट अत्यन्त मोहक दृश्यहरू हेर्दै जान सकिन्छ । बाटोमा सवारी साधनको खासै चाप हुँदैन। ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट केही ओरालो झरेपछि उदयीमान पर्यटकीयस्थल पत्ताले पुगिन्छ।
फाँटिलो ठाउँमा रहेको पत्तालेबाट मौसम खुलेको बेला सगरमाथा लगायतका हिमश्रृंखलाहरू देख्न सकिन्छ। यहाँ सुविधा सम्पन्न होटलहरू थपिने क्रम जारी छ। पत्तालेबाट १ घण्टा जतिमा २५ किमी दूरी पार गर्दै जिल्ला सदरमुकाम सल्लेरी पुगिन्छ। किन्न भुलिएका आवश्यक सामग्री सल्लेरी बजारमा सहजै उपलब्ध हुन्छन्। त्यहाँबाट करिब २ घण्टाको कच्ची बाटोबाट रिङ्मो वा टाक्सिन्दु पुगेपछि पैदल यात्रा सुरू हुन्छ।
सगरमाथा बेस क्याम्पसम्मको लामो पदयात्राको सुरूआती स्थल सोलुखुम्बुको फाप्लुबाट लुक्ला जाने निर्माणाधीन सडक मार्गमा पर्ने समुद्र सतहदेखि ३१८० मिटर उचाइमा रहेको टाक्सिन्दुबाट हिँडाइ अनुसार सामान्यतः १६ घण्टाको अधिकांश उकालो बाटो पार गरेपछि ४६०० मिटरमा अवस्थित दूधकुण्ड पुगिन्छ। टाक्सिन्दुबाटै लुक्लातिर र दूधकुण्डतिर जाने बाटो छुट्टिन्छ।
रिङ्मो वा टाक्सिन्दुबाट पदयात्रा सुरू गर्दा कामोडाँडासम्म लौठसल्लाका बडेमानका अग्ला र मोटा रूखका साथै धुपी र लालिगुराँसको जंगलैजंगल पदयात्रा हुन्छ। चिसो मौसम, झ्याउँकिरीको संगीत, तल कतै सुसाइरहेको खोलाको आवाजले जीवनका सारा धपेडी बिर्साइदिन्छ। हुस्सु लाग्ने र बेलाकुबेला पर्ने पानीले हिलो हुने हुँदा जुकाबाट पनि सचेत हुनुपर्छ। ३८३९ मिटर उचाइको कामोडाँडा पुग्न लगभग ४ घण्टा लाग्छ। त्यहाँ भर्खरै बनेको नुम्बुर रिट्रिट होटलले गर्दा अन्य मौसममा जाने पर्यटकहरूका लागि सहज हुने भएको छ। त्योबाहेक २/३ ठाउँमा चौंरी गोठ र अस्थायी टहराहरू छन्।
कामोडाँडापछि भने घना जंगल हराउँछन्। सल्ला हराउँछन्, लालीगुराँसका बोटहरूको उचाइ घट्छ र धुपीका बोट पनि साना देखिन्छन्। साना साना पोथ्रापोथ्रीमा फुलेका लेकाली रंगीविरंगी फूलहरू देख्न थालिन्छ, चिन्नेले लेकाली जडिबुटीहरू पनि भेट्छन्। हल्का उकालो, अनि तेर्सो र ओरालो बाटो हुँदै जम्ले खोला हुँदै सानो बेनी पुग्न लगभग ४ घण्टा लाग्छ। त्यसपछि केहीबेर उकालो र त्यसपछि ओरालो हिँडेपछि तीनतिरबाट अनगिन्ती संख्यामा झरेका खोलाहरूको संगम, सहस्रबेनी पुगिन्छ। सहस्रबेनीको उचाइ ४०३० मिटर छ। त्यहाँ पनि एउटा अस्थायी होटल छ।
सहस्रबेनीबाट भने लगातार उकालो हिँड्नुपर्छ। उचाइ बढ्दै जाने र उकालो कठिन हुनाले यो बाटोमा लेक लाग्ने सम्भावना बढी हुन्छ। मकै भटमास खाँदै, लसुन कागती चपाउँदै र सकेसम्म आराम गर्दै, पानी पिउँदै हिँड्नु पर्छ। ३ घण्टा जति हिँडेपछि भूतकुण्ड आइपुग्छ। ढुंगैढुंगाले छेकिएको यो तालको पानी कालो र अँध्यारो देखिन्छ। दूधकुण्ड जाँदा मात्र यो कुण्ड हेर्नु, फर्किंदा नहेर्नु भन्ने जनश्रुति रहेछ। उकालो लाग्दै गर्दा भेटिने रंगीविरंगी फूलहरूको बास्नाले लेक झन् लाग्छ भनिन्छ, त्यसैले सचेत भएको राम्रो।
भूतकुण्डबाट पौने घण्टा जतिको उकालो हिँडेपछि गंगा जमूना तालसँगै दूधकुण्डको मेलास्थल आइपुग्छ। त्यहाँ ७/८ वटा अस्थायी बासस्थल र २ वटा पक्की शौचालय छन्। जनैपूर्णिमाको मेला लागेको बेला सबै बासस्थलहरू खचाखच भरिएका हुने रहेछन्। त्यसबाहेक यात्रुहरूले पोर्टेबल टेन्ट ल्याउँदा रहेछन्। जनै पूर्णिमाको दिनमा त्यहाँ अनुमानित एक हजार जनजातिको भीड हुँदो हो। त्यहीँबाट उत्तरतिर नुम्बुर, खाटाङ र कार्यालुङ हिमालको मनमोहक दृश्य देखिन्छ, जति हेरे पनि हेरिरहुँ लाग्ने। पूर्वतिरको हिमाली डाँडोमा भने हनुमानले आकाशतिर फर्केर नमस्कार गरेजस्तो आकृति देखिँदो रहेछ।
त्रेता युगमा हनुमानले सञ्जीवनी बुटीको पहाड यसै स्थानबाट लगेको भन्ने जनश्रुति रहेछ। जुन लागेको समयमा यी सबै दृश्यहरू हेरेर अघाइँदैन रहेछ।
बासस्थलबाट १५/२० मिनेटको दूरीमा अवस्थित छ ४६०० मिटर उचाइमा अवस्थित दूधकुण्ड। तुलनात्मक रूपमा दूधजस्तो सेतोपानी भएकाले यस कुण्डलाई दूधकुण्ड भनिएको हुनुपर्छ। कुण्डको सुरू बिन्दुमा बौद्ध र हिन्दुमार्गीहरूका पूजास्थल छन् भने अर्को भागमा केही माथि महाकुण्ड र त्यसमुनि मन्दिर छ। कुण्डलाई देब्रेतिरबाट परिक्रमा गर्ने केही कठिन खालको बाटो रहेछ।
नुम्बुर, खाटाङ र कार्यालुङ हिमालबाट निस्कने पानीको ताल बनेको दूधकुण्ड सोलु खोलाको मूल मुहान हो। जनै पूर्णिमामा विशेष मेला लाग्ने दूधकुण्डको पदयात्रा हिउँ पर्ने समयबाहेकका लागि अत्यन्त रोमाञ्चक हुन्छ।
उच्च हिमाली क्षेत्र हुनाले हिँडाइ र बसाइ अवधिभरि मौसमको भर हुँदैन। घरि घाम लाग्ने, घरि हुस्सु बादलले ढाक्ने र घरि वर्षिने भैरहन्छ। मौसम खुलेको समयमा हिउँले शिर ढाकेका नुम्बुर, खाटाङ र कार्यालुङ हिमालहरू आँखै अगाडि विशाल आकारका देखिन्छन्।
जाँदा १६ घण्टाजति लागे पनि फर्कंदा भने १२ घण्टाजतिको पैदल हिँडाइमा टाक्सिन्दु वा रिङ्मो फर्कन सकिन्छ। दुवै ठाउँमा बस्ने राम्रो सुविधा छ।
पदयात्रा पर्यटनको प्रचुर अवसर भए पनि संरचनाहरूको विकास सुस्त भएकाले यो रूटमा हिँड्दा बन्दोबस्तीका सामान आफैं बोक्नु सहज हुन्छ। पदयात्रा सुरू भएपछि खानपिन केही महंगो हुन्छ। तलबाट बोकेर लगेको चामल, स्थानीय आलुको तरकारी, सिमी (गेडा) को दाल, सूच्या (हिमाली भेगमा पाइने उवा, नुन हालेर बनाइएको), कालो चिया, कफी, चाउचाउ, थुक्पा आदि खान पाइन्छ। सादा खानाको एक छाकको रू. ८०० सम्म पर्न सक्छ।
फर्कंदाखेरी समयले भ्याएसम्म सानासाना चोकबजारहरू हेर्न, डाँडाको चौरमा सुस्ताएर तल तलसम्म हेर्न, स्थानीय बजारका उत्पादनहरू हेर्न, किन्न र युगकवि सिद्धिचरण श्रेष्ठको 'मेरो प्यारो ओखलढुंगा' बजार घुम्न नबिर्सनुहोला। पुरानो ओखल, कविको शालिकलगायत दृश्यावलोकनका लागि विभिन्न संरचनाहरू निर्माण भैसकेका र हुँदैगरेका छन्।
यो यात्रामा जानुअघि स्थानीय निकाय वा सम्पर्क सूत्रसँग बुझेर बाटो र बासस्थलबारे तत्कालिक अवस्था बुझी जाँदा बेस। एक हप्ताभन्दा कम लाग्ने दूधकुण्डको यात्राले तपाईंलाई अर्कै ठाउँमा पुगेर फर्केको महसुस हुनेछ, यो ग्यारेन्टी।
लाग्ने समय
काठमाडौंबाट सल्लेरी - २७० किमि, १ दिन (जिप वा मोटरसाइकल)
सल्लेरीबाट रिङ्मो/टाक्सिन्दु (३१८० मिटर)- डेढ/दुइ घण्टा (जिप वा मोटरसाइकल)
टाक्सिन्दुबाट केरूङपाटी (३४६९ मिटर) - २ घण्टा उकालो
केरूङपाटीबाट सरकारीपाटी - १ घण्टा उकालो
सरकारीपाटीबाट कामोडाँडा (३८८९ मिटर) – १ घण्टा उकालो
कामोडाँडाबाट जम्लेखोला – २ घण्टा सहज बाटो
जम्लेखोलाबाट सानो बेनी – डेढ घण्टा सहज बाटो
सानो बेनीबाट सहस्रबेनी (४०३० मिटर) – २ घण्टा उकालो अनि ओरालो
सहस्रबेनीबाट भूतकुण्ड – साढे ३ घण्टा
भूतकुण्डबाट दूधकुण्ड (४६०० मिटर) - आधा घण्टा
दूधकुण्डबाट टाक्सिन्दु/रिङ्मो – लगभग १२ घण्टा
बोक्नु पर्ने सामान
- हिँड्दा लगाउने हल्का र बास बस्दाको लागि बाक्ला लुगा
- हल्का खालका जुत्ता, लठ्ठी, रेनकोट
- लसुन, कागति, ड्राइफुड, चकलेट, वेफर, मकै भटमास, आदि खाजा र तातोपानीको थर्मस
- सहजताअनुसार स्लिपिङ ब्याग/टेन्ट/हल्का म्याट्रेस (यी सामाग्री नबोके चौंरी गोठको उपलब्धतामा बास बस्नु पर्छ)
- टर्चलाइट, पावर बैंक, सलाइ, लाइटरआदि
- लेक नलाग्नेलगायतका प्राथमिक औषधी
लाग्ने अवधिः ५ दिन
अनुमानित खर्चः लगभग १५ हजार प्रति व्यक्ति