छुट्टी भन्नेबित्तिकै यो मन चंगा हुन्छ। कहाँ कहाँ उडौंझैं हुन्छ। कहीँ कतै नयाँ ठाउँको अनुभव लिन खोज्छ मन। बडो बरालिन खोज्छ। मन न हो पलभरमै कहाँ कहाँ पुग्छ। न रोकेर रोकिन्छ। न बाँधेर बाँध्न सकिन्छ। उड्छ निरन्तर। आफ्नै तालमा। बेतालमा। कहिले समुन्द्र वारि। कहिले समुन्द्र पारि। कसैले रोक्न सक्दैन यसलाई। पंख फिजाएर उड्छ बेतमास स्वतन्त्र भएर।
लामो समयपछि बालसखा ठाकुर खरेलले फोन गर्यो जापानबाट। उसलाई पनि अमेरिकामा समर छुट्टी मनाउन मन रहेछ। मैले अगस्ट ५ तिर आउनको लागि सल्लाह दिएँ।
उसले पनि आफ्नो भिसा अप्लाई त्यसैगरी गर्यो। भिसा पनि लाग्यो। ठाकुर र भाउजू(उर्मिला) ले टिकट पनि लिए। पेशाले मेकानिकल इन्जिनियर थियो। लामो समय भयो जापानिज कम्पनीमा काम गर्न थालेको उसले।
घुम्न भनेपछि सबथोक बिर्सने मान्छे हुँ। घुम्नु नै मेरो सबथोक बन्छ। यो पटक दिक्षान्तको (छोरा) समर छुट्टी हुने बेलासम्म ठ्याक्कै कहाँ जाने निधो भएको थिएन। साथीभाइहरूले लस ऐन्जलस, हलिवुड, लस भेगास र ग्र्यान्ड क्यान्यन जानको लागि सिफारिस गरे।
आफू नगए पनि ती ठाउँहरूको बारेमा धेरै सुनेको थिएँ। अन्त्यमा ती ठाउँहरूमा जाने निधो गरें।
यो वर्षको समर घुमघामको लागि छ महिना अगाडि नै ११ दिनको बिदा लिएको थिएँ।
अगस्ट ५ देखि १६ सम्म थियोे बिदा। भाइ र बुहारी ( लेखराज र सुष्मा) हामीसँगे जाँदै थिए। दुई जना भाइहरू (कमल र डि बि) सानफ्रान्सिस्कोबाट जोडिँदै थिए घुमघाममा।
यो पटकको घुमघाम विशेष हुने वाला थियो। बालसखा ठाकुर आउँदै थियो जापानबाट। बचपना दोहोरिने वाला थियोे। ठाकुर र उर्मिला भाउजू अमेरिका आउने दिन पनि आयो। अगस्ट ५ बेलुका ८:३५ मा सानफ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड थियो। हामी बुढाबुढी उनीहरूलाई स्वागत गर्न एयरपोर्टतर्फ लाग्यौं।
पहिलो पटक अमेरिका आएका थिए उनीहरू। बाटोमा ट्राफिक जामले गर्दा हामी झन्डै एक घण्टा ढिलो पुग्यौं एयरपोर्टमा।
पर्खाइमा बस्दाको झन्झट बडो नमज्जाको हुन्छ। के गर्नु ट्राफिक सधैं यस्तै हुन्छ यो एयरपोर्टको बाटोमा। एयरपोर्ट बाहिर कुरिरहेका ढुकुर जोडी जस्ता खरेल जोडीलाई स्वागत गरियो। खासमा स्वागत पनि स्वागत जस्तो थिएन। बुके र खादा दिनै पाइएन। एयरपोर्ट सिक्युरिटीले गाडी राम्रोसँग रोक्न समेत दिएन। खादा र बुके घरमै आएर दिइयो।
खाना हामी एयरपोर्ट जानुअघि नै तयार गरेका थियौं। एकछिन फ्रेस भएपछि हामी दुई साथी स्कुलले जीवनमा फर्कियौं। दुई रुपैयाँ लगेर राप्ती सिनेमा हल र गणेश सिनेमा हलमा फिल्म हेरेको सम्झियौँ। घरको बोटको बेलौती (अम्बा) नखाएर स्कुलको गेट अगाडि बेलौती बेच्न राखेका मिर्चवा दाइसँग किनेर खाएको सम्झियौँ। मिर्चवा दाइको नुन खुर्सानी भने बबाल हुन्थ्यो। बडो खट्टा। ट्वाक्क जिब्रो पड्किन्थ्यो। स्कुल र हाइस्कुलमा पढ्ने बेलाका कुराहरू फ्ल्यासब्याक हुन सुरू भए बिस्तारै। स्कुलमा साथी नआउँदा उनीहरूको स्कुल हाजिरी आफैंले गरिदिएर कक्षा शिक्षकलाई झुक्याएको याद गर्यौं।
भाले जुधाइ, चुङ्गी, कबड्डी, चोर-पुलिस, सलाइको तास, सलाईलाई धागोमा बाँधेर टेलिफोन गर्ने, टिनको ढोका काँटीले प्वाल पारेर हाफ टाइममा (मध्यान्तर) बाहिर सुटिङ गरेर कोठाभित्र सेतो सर्टमा फिल्म हेरेको सबै कुरा आउन थाले आँखामा झलझली। त्यति बेला पढ्ने बेलाका साथीहरूमध्ये केहीका नाम र केहीका बाल चेहरा याद आउन थाल्यो।
लामो जहाजको यात्राले होला उर्मिला भाउजूलाई निद्राले च्याप्दै थियो। भोलि गोल्डेन गेट पुल हेर्ने जाने सल्लाह गर्दै सुत्यौँ सबैजना।
थाकेर र अबेरसम्म बसेर होला सबै मस्त सुतेछौँ। उठ्ने बेला झन्डै नौ बज्दै थियोे। खाना खाएर निस्कने बेला ११ बजिसकेको थियो।
गोल्डेन गेट हाम्रो अपार्टमेन्टबाट पैंतालीस मिनेटको दूरीमा पर्छ। मध्याह्नतिर गोल्डेन गेट पुगियो। पार्किङ सधैं समस्या हुन्छ त्यहाँ। आधा घण्टा कुर्दा पनि पार्किङ पाइएन। जसोतसो पछि एउटा पार्किङ पाइयो। ट्राफिक उस्तै थियो। समर त्यसमा पनि आइतबार। भीडभाड धेरै हुन्छ। क्यालिफोर्नियाको सान्फ्रान्सिस्को आएपछि गोल्डेनगेट पुल पुगेर फोटो नखिचेर जाने मान्छे बिरलै हुन्छन्। काठमाडौं पुगेर पशुपतिको दर्शन गरेजस्तै हो। गोल्डेन गेट पुल पुग्नू। नपुगे त यात्रा अधुरो झैं हुन्छ। गोल्डेनगेटको आफ्नै महिमा छ।
आधुनिक संसारको सात आश्चर्यमध्ये गोल्डेन गेट पुल पनि पर्दछ। सबभन्दा ठूलो पुल भ्यू टावर, शक्तिशाली सस्पेन्सन पुल, युनिक कलरमा यो पुल पनि पर्दछ। दोस्रो विश्व युद्धमा पुलको सुरक्षाका लागि बनाइएका किल्लाहरूले पर्यटनलाई थप आनन्द बनाउँछ। हामीहरू झन्डै दुई घण्टा बढी गोल्डेन गेट पुलमा र किल्लामा घुम्यौं। विभिन्न दिशाबाट पुलको फोटो खिच्यौं। केही सेल्फी खिच्यौं। त्यसपछिको हाम्रो गन्तव्य थियो नापा भ्याली वाइनरी। क्यालिफोर्निया अमेरिकाकै वाइन बनाउने राज्यको अग्रपंक्तिमा आउँछ। घडीले ३ बजेर तीस मिनेट भएको संकेत गरिसकेको थियो। गोल्डेन गेटबाट नापातिर हिँड्यौं।
एक घण्टापछि नापा वाइनरी पुगियो। वाइन गार्डेन बाहिरबाटै अवलोकन गरियो। वाइन टेस्टिङ बन्द भैसकेको रहेछ। त्यहीँ पनि हामीहरूमध्ये कोही पनि वाइन टेस्ट गर्ने थिएन। नापा घुम्दै साँझ परिसकेको थियो। भोलिपल्ट छिट्टै गरेर लस एन्जल्सतिर जानु थियो। हामी घर फर्कियौं।
घुम्न जानको लागि सविना (श्रीमती) र सुष्माले (भाइ-बुहारी) अघिल्लो दिन नै केही नमकिन, रोटी र मुलाको अँचारहरू बनाएका रहेछन्।
आइस बाकस पहिले नै तयार थियो। केही सोडा र रेडबुलहरूले टन्न थियो बाकस। चिप्स र चुइगम पनि बिर्सेको रहेनछ बगालले। घुमघामको पूर्वतयारी पूर्ण थियो। अगस्ट ७ तारिख, सोमबार खाना खाएर हिँड्ने सल्लाह भयो।
कमल र डि बि भाइ सान्फ्रान्सिस्कोबाट आए। उनीहरू आएपछि मात्र हामी भाडाको गाडी लिन गयौं। गाडी पहिले नै बुक थियो। खाना खाएर लस एन्जल्सतिर लाग्यौं। हाम्रो ठाउँबाट (सान्टारोजा) जिपिएसले चार सय तीस माइल देखायो। त्यहाँ पुग्न छ घण्टा एक्काइस मिनेटको समय देखायो।
डि बि भाइले बिस्तारै गाडीलाई वन वो वन साउथको फ्री वे भित्र छिराए। गाडीले आफ्नो फुल स्पिड लियो पर माइल सिक्स टी फाइभ। घुमघाम टोली नौ जनाको थियो। सबै दङ्गाली। गाडीभित्र सल्लाह भयो हाम्रो पहिले लस एन्जल्सको कहाँ कहाँ जाने भनेर। लस एन्जल्समा तीन रातको बसाइ थियो। होटल पहिले नै बुक गरिसकेका थिए कमल भाइले।
लस एन्जल्समा युनिभर्सल स्टुडियो, हलिवुड र डिज्नी ल्याण्ड हेर्ने सल्लाह भयो। ठाकुरलाई हल्का असजिलो भयो। हावापानी परिवर्तनले गर्दा होला उसलाई चिसोले समात्यो। बाहिर लास्टै गर्मी थियो। गाडीमा एसी लगाइयो। एसीको चिसोले उसलाई छिट्टै पिसाबले सताइ हाल्थ्यो। ठाउँ ठाउँमा रेस्ट एरिया अथवा ग्यास स्टेसन ( पेट्रोल पम्प) खोज्दै हिँडियो बाटोभरि। नाममात्र ठाकुरको बेच्यौँ हामीले। गाडी रोक्यो कि पिसाब सबैलाई लाग्थ्यो।
लेखराजले डि बि भाइ र कमल भाइलाई चिसो रेड बुल र चिसो पानीको अफर गर्न थाल्यो।
ड्राइभरलाई नै पिसाब लागे त सबैलाई मौका आउँछ भनेर। केटोले बेला बेला कमर्सियल रमाइलो गरिहाल्थ्यो। बाटो काटेको थाहै भएन। रमाइलो गर्दै हिँड्दा। शौचालय साह्रै फोहोर हुने रहेछन् हाइवेमा। ठाकुर र उर्मिला भाउजूले जापानभन्दा अमेरिका फोहोर रहेको कुरा गर्नुभयो। जापानमा हरेक पार्क होस् हाइवे शौचालय धेरै सफा हुन्छन् रे!
बाटोमा ट्राफिक जामका कारण छ घण्टाको दूरी दस घन्टा लाग्यो लस एन्जल्स पुग्न। मध्यरातमा होटलमा पुगियो। सबैलाई निद्रा च्यापिसकेको थियो। भोक कसैलाई थिएन। थियो त खाली निद्रा। सबै आ-आफ्नो कोठातिर सुत्न गयौं।