विगत वर्षहरूझैं यसपालि पनि वनभोज कार्यक्रम तय गर्ने भन्ने विषयले मनभित्र एक किसिमको उत्सुकता छाएको थियो।
वनभोज कार्यक्रमको लागि आवश्यक पर्ने वातावरण, आवश्यक सरसामन, खानेपानी, शौचालय, यातायातको सहजता यसका पूर्व शर्त हुन्।
गोरखा जिल्लाका सम्भावित ठाउँहरूको लिष्ट तयार गरी छलफल गर्ने क्रममा अस्रांगमा नै वनभोज कार्यक्रम गर्ने प्रस्तावप्रति सर्वसम्मति भयो।
२०७९ चैत २५ गते शनिबारको दिन वनभोज कार्यक्रम गर्ने निधो गरियो।
मेरा पिता पुर्खाको जन्मथलो धावाबाट अस्रांगनजिकै पर्ने भएकोले त्यहाँको वस्तुस्थिति नजिकबाट नियाल्ने अवसर पाउँदा लिगलिगकोटको मनोइच्छादेखि विमुख हुँदा पनि खिन्न हुनु परेन।
दुई हप्ताअघि देखिको प्रतीक्षा मेरा लागि लामो लाग्यो। कोही कसैलाई पर्खनु पर्दाको पट्यारलाग्दो समयको याद आउन थाल्यो त्यसपछिका दिन।
यस बीचमा भमराले फूललाई चक्कर लाएजस्तै गरी गत वर्षका वनभोज कार्यक्रमका अनुभूतिका चित्रहरू झलझल्ती आँखा वरिपरि परिक्रमा गर्न थाले। आफैंले टेकिरहेको धर्तिमा फुलेका फूलहरूको थरीथरीका सुगन्ध, सांस्कृतिक रहनसहन, भूगोलको यथार्थता, सहकर्मी बीचको एकतालाई अझ नजिकबाट चिनाउने कडीको अर्को नाम हो- वनभोज कार्यक्रम।
ताजा हावाले स्वस्थ शरीर निर्माणमा भूमिका खेलेजस्तै स्वस्थ मनमस्तिष्कले सकारात्मक सोच पैदा गर्ने कार्यमा उत्तिकै सघाउ पुर्याउन सक्छ वन भोज कार्यक्रमले पनि।
मनमस्तिष्कमा उत्सुकता खेल्दा खेल्दैै निदाउन पुगेछु।
नजिकैको टेबलमा खुट्टा ठोक्किएर झल्यास्स ब्युँझिँदा पो निद्रामै मेरा अंगप्रत्यंगले नाचगानको रिहर्सल गरेको पाएँ।
मनको हुटहुटीको उपज नै सपना रहेछ।
हत्तपत्त नुहाई धुवाई गरें। तयारीका साथ बाहिर निस्कें। बाहिर रिमरिम उज्यालो। आकाशमा लाली पोतिँदै थियो। चराचुरूंगीको चिरचिर आवाज। मीठो आवाजमा काफल पाक्यो चरीले काफल पाकेकोे भाका गाउँदै थियो। सम्पूर्ण चराचर जगतलाई प्रकृतिले कुनै न कुनै रूपले अनुपम कला दिएका छन्।
बेनिघाटदेखि नै त्रिशूलीलाई दाहिने पारेर उसैगरी म पनि गाडीमा हुइँकिएँ। मानौं गाडीको यात्रा हैन बोटिङ गरेर प्रकृतिसँगै आत्मीयता जोड्दै त्रिशूलीलाई अंकमाल गरिरहेको छु।
सफा आकाश गंगामा बसन्तयामका हरिया मुनाले म हिँडिरहेको बाटोलाई अमरावती यात्राको झझल्को गराउँथ्यो।
भविष्यको सम्भावना बोकेर फिस्लिङ बजार उसैगरी मुसुक्क हाँसिरहेको जस्तो लाग्छ। यहाँबाट ४५ किमीको दूरीमा रहेको चितवनको शक्तिखोर बजारले पनि उसैगरी नयाँ जीवनको काँचुली फेर्दैछ।
दार्जलिङको समेत झझल्को गराउने यस सडकले ऐतिहासिक किल्ला उपरदांग गढी, सिकलेश जस्ता विभिन्न आकर्षक झरना र चेपाङ जातिको बाहुल्यतालाई नजिकबाटै नियाल्ने अवसर दिएको छ।
यसकोे समयमै स्तरोन्नति हुन सके मुग्लिङ—नारायणगढ सडक खण्डको चापलाई कम गर्न सकिन्थ्यो। फिस्लिङबाट १८ किमिको दूरीमा रहेकी इच्छाकामनालाई त्यहीँबाटै स्वस्ति गर्दै छिटोभन्दा छिटो यस सडकको सम्पन्नताको कामना गरेंं।
मुग्लिङ पुगेपछि अतितको तीतो यथार्थ सल्बलाउन थाल्यो। २०५२ सालतिरको कुरा हो। लोक सेवाको परीक्षाको अघिल्लो दिन काठमाडौं जाने क्रममा चिया नास्ताको लागि विश्राम लिनुपर्ने रामनगर, जुगेडीलाई त्यसदिन भने चटक्कै छाडेर गाडी सोझै मुग्लिङतिर हानियो।
मुग्लिङ पुगेर गाडीबाट झरेका मात्र के थियौं, कम्पनसहितको विस्फोटकको जस्तो आवाज पो सुनियो।
कालीखोला नजिकै ठूलो सुख्खा पहिरो गएको रहेछ। यसभन्दा अघि यस्तै पहिरोमा परेर यात्रीहरू त्रिशूलीको शिकार हुनु परेको घटना सम्झदा आङै जिरिंग भएर आयो। धन्य धन्य देवी भन्दै दुई हात जोडेर नजिकै रहेकी मनकामना माईसँग सकुशलताको प्रार्थना गरें।
परीक्षामा सहभागी भएर नतिजा सफल रहँदा भन्दा कालीखोलाको कालरूपि त्यो सुख्खा पहिराबाट उम्कन पाउँदाको त्यो क्षणले आज पनि कता कता नयाँ जीवन पाएँ भन्ने लाग्छ।
बेनिघाटदेखि सहेली खेल्दै आएको त्रिशूलीलाई मुग्लिङबाट बिदा गरिँदै थियो।
सर्पको काँचुलीजस्तै रहेछ जीवन र यात्रा। सुख दु:खको अनुभूतिमा हिँड्ने जिन्दगी एउटा यस्तै यात्रा हो। जिन्दगीको यात्रामा मन परेका सबै चिजवस्तु कुनै न कुनै समयको अन्तरालपछि यसरी नै छुट्दै जाने हुन्।
मुग्लिङको पुल तरेपछि स्वच्छ र सफा मर्स्याङ्दी नदी, दरौंदीलाई काखी च्यापेर गन्तव्यमा पुग्न बेतोडले हुइँकिरहेको थियो। पानी परेपछिको स्वच्छ र सफा आकाशजस्तै मर्स्याङ्दी नदीको त्यो नीलो बहाव देख्दा को पो मन्त्रमुग्ध हुँदैन होला र! प्रकृतिको संरक्षण मानिसले गर्न सके प्रकृतिले पनि मानिसलाई यसै गरी आनन्द दिइरहने हो।
सीमित स्वार्थको लागि नदीको दोहन गर्ने कार्यले प्रकृति र मानिस विचको सम्बन्धमा दरार उत्पन्न गरिदिएको छ। नदीमा मानव फोहोर मिसाउने ढलको निकास बन्द गरेर प्रत्येक घरमा सेप्टिक ट्यांकीको विशेष व्यवस्था गरी त्यसको व्यवस्थापनमा सरकार र स्थानीय निकायले पर्यावरणीय भूमिका निर्वाह गर्न सके प्रकृतिले दिने छहारीको शितलताले सधैंभर यसैगरी आनन्द दिँदो हो।
बसन्त ऋतुले ल्याएको बहारमा वरिपरिका रूखहरूले नयाँ नयाँ वस्त्र धारण गरेर नदीको सुसेली र मन्द मन्द हावाको लहरीमा एक किसिमको नृत्य अनुभूति गर्दै गन्तव्यतिर हुइँकिरह्यौं। एकपछि अर्को गर्दै पार गरेको दूरी गाडीको स्पिडो मिटरले नापी रहेको थियो।
मेरो असीमित मनको यात्रालाई नाप्ने औजार मसँग थिएन।
सपनाजस्तै मेरो मन जीवनको पूर्वार्द्धतिर दौडिरहेको थियो। जीवनको हरेक सफलता असफलतालाई नियालेर हेर्ने अवसर रहेछ यात्रा।
मर्स्याङ्दी नदीजस्तै सलल बगिरहेको मेरो मन गाडीको विश्रामसँगै एकाएक रोकिन पुग्यो। कडा चट्टानमाथि बनेको सडक समेत पहिरेकाले ट्र्याक खोलेर एकतर्फी सञ्चालन हुँदा सडक जाम भएको रहेछ।
गत भदौतिरको कुरा हो, मुग्लिङमा पहिरो गएर रोकिएकी श्रीमती लिन गएका एक मोटर साइकल चालक यही पहिरोमा परी मर्स्याङ्दी नदीसँगै कहिल्यै नफर्कने यो दु:खद् घटनाको स्मरण हुँदा यात्रासँग रमाउँदै आएको मेरो मन एकाएक निराशामा परिणत भयो।
सरकारी कामको सिलसिलामा हप्तैपिच्छे जस्तो गोरखा बेनिघाटसम्म गरिने यात्राले आफैंभित्र प्रश्न चिह्न बर्साइरहे।
लाली पोत्दै गरेको घाम फक्रेको जवानी देखाउँदै डाँडा माथिबाट हामीलाई चियाउँदै थियो। मर्स्याङ्दीबाट आएको चिसो हावासँग बहेलिँदै गरेको यो मनलाई घामको तातो रापले यात्रामा अरू रोमाञ्चकता थपिदियो।
मनकामना माईसँग सफल यात्राको कामना गर्दै आँबु खैरहनीबाट गोरखा पुग्न दाहिनेतर्फ मोडियौं। सधैं चहलपहल देखिने गोरखकाली टायर उद्योग मुकदर्शक भएर एकोहोरिरहेको थियो। कुनै जमानामा एसियाको बजार लिएको टायर उद्योग कुशल अभिभावक गुमाएजस्तै विक्षिप्त अवस्थामा छ।
मृत्यु शय्यामा पुगेको जीवन कुशल डाक्टरबाट पुनर्जीवित गराएजस्तै यसलाई कुशल अभिभावकत्व प्रदान गर्न सके वैदेशिक मुद्राको सञ्चिति र यस भेगका जन्ताको जीवनस्तरमा एउटा सुनौलो आयाम थपिने थियो।
हर्ष र विष्मात रूपी घामछाया यसैगरी मनभित्र रुलमलिँदै दरौंदीको किनारै किनार दौडिरहेको थियो। दायाँ बायाँका बोटबिरूवाका हरिया पातहरू हावाको स्पर्शले हरेक यात्रीको आगमनमा यसैगरी हात हल्लाइरहेको हुँदो हो। दरौंदीको सुसेलीबाट विमुख हुँदै गर्दा गोरखा सदरमुकामको दूरी १३ किमी मात्र बाँकी थियो। अंग्रेजी सि आकारको डाँडामा रहेको गोरखा बजार माथिको ऐतिहासिक दरबारले यस ठाउँको महत्व झल्काउँथ्यो।
१२ किमि हुँदै छेपेटारबाट गोरखा बजार निस्कने ग्रामीण मार्गलाई वैकल्पिक सडक बनाउन सके धार्मिक र ऐतिहासिकताको अवलोकनमा आउने यात्रीलाई सहज र किफायती हुने कुरामा सहजै अनुमान लगाउन सकिन्थ्यो।
सदरमुकाम पुग्दा बिहानको नौ बजिसकेको थियो। त्यहाँबाट आहाले, घ्याम्पेशाल हुँदै आरुघाट निस्कने पूर्वतर्फको बाटोतिर सोझियौं। पछ्याउँदै आएको १४ किमिको पिचबाटो छाडेर ग्राभेल गर्दै गरेको दक्षिण तर्फको असंग लाग्ने धुले बाटो समात्यौं। डाँडाको फेदीमा रहेको गुल्जार बस्तीमा स्थानीयसँग सोधीखोजी हुँदा हाम्रो अनुमान सही सावित भयो। सिँढी चढेर असिन पसिन हुँदै उकालो लागियो।
साथीहरूको बाक्लै उपस्थितिमा उज्यालोले बिहानीको संकेत गरिसकेको पाएँ। कोष नियन्त्रक सुवास अधिकारी सरको संयोजकत्वमा भएको वनभोज कार्यक्रमको प्रबन्ध व्यवस्थित रहेको पाउँदा आयोजक कमिटीलाई मनमनै धन्यवाद दिएँ।
स्वच्छ मौसम भएको बेला अश्रांग डाँडाबाट लिने आनन्द नेपालका अन्य ठाउँभन्दा कम छैनन्।
आगन्तुकहरूको लागि शौचालय, बिजुली र लिफ्टिङ गरेर खानेपानीको समेत प्रबन्ध गरेकोमा स्थानीयको सक्रियतालाई मान्नैपर्छ। यस ठाउँको प्रचार प्रसार हुन सके भिमसेन गाउँपालिकाको आयआर्जनको राम्रो स्रोत बन्न सक्थ्यो।
जताततै देखिने गाउँबस्ती, हरियाली तथा हिमालहरूको मनोरम एवम् सुन्दर दृष्यले सबैको मन फुरूंग बनाई दिने अस्रांग डाँडा आज भने त्यही सौन्दर्यता माथि घुम्टो ढाकेर तुँवालोले पूरै साम्राज्य फैलाएको थियो।
यसको सौन्दर्यताबाट विमुख हुनु पर्दा जन्म र यात्राको साइत जुर्नै पर्ने रहेछ भन्ने लाग्यो। धावा, लामिडाँडा , खान्चोक भन्ज्याङ हुँदै गामबेशी गरेका मेरा पितापूर्खाको पद चिह्न तिनै तुवाँलोभित्र नियालेर हेरें। ताप्केको उकालो उसैगरी सदरमुकाम जाँदा आउँदाको अतितको तीतो कथा उनेर उभिरहे झै लाग्थ्यो।
वनभोज कार्यक्रम त यसैगरी हरेक वर्ष होलान् तर आजकै दिन र जवानी फर्केर फेरि कहिल्यै आउने छैनन। सम्झनामा ती कुरालाई समेट्न हामी आफूलाई क्यामरामा कैद गर्यौं। अघिसम्म नियाल्दै गरेको सूर्य, डाँडामाथि टक्क अडेर बिदाईको अभिवादन गर्दैगर्दा हामी पनि आ-आफ्नो गन्तव्यतिर मोडिन अस्ताउँदो सूर्यसँगै फेदीतिर झर्यौं।