धेरै दिन भएको थियो कतै नगएको, कुनै पदयात्रामा नगएको। त्यसैले च्छो रोल्पा पदयात्रा जाने निर्णय गरें। हुन त आफ्नै जिल्लाको ठाउँ भए पनि जानलाई मौका पाएको थिइनँ र धेरैपछि समय जुर्यो।
२०७८ साल कात्तिक ६ गते प्रस्थान गर्ने निर्णय गरियो। मलाई त्यो पदमार्गमा साथ मेरो भाइ किशोरले दिएको थियो। पहिलेदेखि दाजुभाइको कुरा नि मिल्ने र अनि ठ्याक्कै समय व्यस्तताबाट समय पनि जुरेको। च्छो रोल्पा पदमार्ग दोलखाको गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत पर्छ।
त्यहाँबाट गौरीशंकर हिमाल, राम्दुंग हिमाल, यालुंग हिमाल, बेदिंग गो हिमाल साथै अरू धेरै हिमालको अवलोकन गर्न पाइन्छ। हाब्रे, घोरल, हिम चितुवा, रातो पाण्डा, डाफे, हिमाली थार आदि जीवजन्तु तथा चराचुरुंगीको अवलोकन गर्न पाइन्छ।
पहिलो दिन ३ वटा गाडी फेर्दा
बिहान मिर्मिरे उज्यालोसँगै हामी गाडीको खोजीमा कोटेश्वरतिर लाग्यौं। धेरै समय गाडी खोजिसकेपछि बल्ल बल्ल एउटा छ्येतछ्येत गोंगर (छ्येतछ्येत चाहिँ च्छो रोल्पा पदमार्गमा बस यात्राको अन्तिम गन्तव्य हो।) लेखेको गाडी पायौं।
ल, यही गाडी हो भनेर हामी लाग्यौं पदयात्रामा।
यो मेरो लागि तेस्रो पदयात्रा थियो भने किशोर भाइको लागि पहिलो। केही समय बसको यात्रा तय गरेपछि कन्डक्टर दाइ भाडा उठाउँदै आए तर भाडा भने चरिकोटसम्मको मात्रै लिए। चरिकोटबाट छ्येतछ्येत करिब ६० किलो मिटर जतिको दूरीमा छ तर बस भने चरिकोटसम्म मात्र जाने रैछ।
हामी चरिकोटमा उत्रेर फेरि नयाँ बस चढ्यौं सिगटी जाने। चरिकोट पछिको दोस्रो ठूलो बजार हो सिगटी। सिगटी बजार दोलखाको सदरमुकाम चरिकोटबाट करिब ३० किलोमिटरको दूरीमा उत्तरी भागतिर पर्छ। तामाकोशी नदी र सिगटी खोलाको दोभानमा रहेको यो सिगटी बजारबाट बिगु गुम्बा, माथिल्लो तामाकोशी जलविद्युत आयोजना तथा लपची पदमार्ग, च्छो रोल्पा पदमार्ग, देउ ढुङ्गा जान सकिन्छ र हामीले २ घण्टाको सिगटीसम्म बसको यात्रा तय गरेपछि त्यो ठाउँबाट अर्को बस फेर्नुपर्ने हुन्छ। सिगटी बजारबाट तेस्रो बस फेरेर बल्ल २ घण्टाको यात्रापछि साँझ ५ बजे बल्ल छ्येतछ्येत पुगियो।
हाम्रो यात्रा छ्येतछ्येत सम्मको मात्र थिएन। २ घण्टाको पदयात्रा अझै तय गर्नुपर्ने थियो। छ्येतछ्येतबाट सिमीगाउँको यात्रा। राति सात बजे तामाकोशी तरेर करिब एक हजार मिटर ठाडो सिँढीको नाक ठोक्किने उकालो चढेपछि बल्ल बल्ल पुगियो सिमी गाउँमा रहेको पाल्देन दाइको होटल।
३ वटा बसमा १० घण्टाको यात्रा र २ घण्टाको ठाडो उकालोको पदयात्रा गरेर सिमी गाउँ पुग्दा हामी दुवै जना थकित थियौं।
दोस्रो दिन १३ घण्टाको हिँडाइ
अघिल्लो दिनको थकानले गर्दा होला दोस्रो दिन साढे ६ बजेतिर उठिएछ। मुख धोएर, हात खुट्टा पखाल्दै गर्दा पाल्देन दाइको आमाले खाजा बनाइसक्नुभएको रहेछ र खाजा खाएर सिमी गाउँलाई र पाल्देन दाइको न्यानो आतिथ्यतालाई बिदा गर्दै लाग्यौं उकालो।
रोल्वालिंग खोलाको तिरैतिर, हावाको स्पर्शसँगै हाम्रो पाइला अघि बढिरह्यो। लगभग ३ घन्टाको हिँडाइपछि हामी पुग्यौं सुर्मुचे। जहाँ एउटा मात्र होटल कोही कोही पर्यटक त्यही बस्ने तर धेरैजसो पर्यटक सिमी गाउँको बास बसेर खाना खान कि त्यहाँ पुग्ने कि त सुर्मुचेबाट अझै करिब डेढ घण्टाको यात्रा तय गरेर क्याल्चे भन्ने ठाउँमा पुग्दा रहेछन्।
हामीले सुर्मुचे मै खाना खाने तय गर्यौं र त्यहाँ अरू २ पदयात्रीहरूको समूह भेटियो। उहाँहरू खाना खाएर निस्किन लाग्नुभएको रहेछ। उहाँहरूको यात्रा बेदिंगसम्मैको रैछ। लगभग ७/८ घण्टाको यात्रा थियो तर हाम्रो यात्रा भने दोधांगसम्मको थियो लगभग २ घण्टा ३० मिनेटको।
तर ती दुई ग्रुपले जाऊँ भनेपछि हाम्रो यात्रा नि दोधांगबाट बेदिंगकै भयो। सुर्मुचेबाट करिब ७ घण्टाको यात्रापछि हाम्रो यात्रा राति ८ बजे बेदिंग टुंगियो। हामी दाजुभाइले त्यो दिन लगभग १३ घण्टाको यात्रा गरेछौं।
तेस्रो दिन हाम्रो अन्तिम गन्तव्य र मीठो सूर्यास्त
बेदिंग गौरीशंकर गाउँपालिकामा पर्ने रैछ। त्यहाँ त कुनै जनावरलाई काट्न या मार्न पाइन्न रैछ। किम्बदन्तीअनुसार बौद्ध धर्मका गुरू पद्मसंभव त्यो बेदिंगमा आएर ३ महिना तपस्या गर्नुभएको थियो रे र साथै भगवान शिव पाइला पनि त्यही परेको थियो रे। ६० देखि ७० घरधुरी रहेको बेदिंगलाई रोल्वालिंग उपत्यका पनि भनिँदो रहेछ।
बेदिंग भन्नेबित्तिकै सगरमाथा चढ्नेहरूको गाउँ भनेर पनि चिनिने रैछ। प्राय: घरहरूबाट परिवारको एक जनाले भए नि सगरमाथा चढेका रैछन्।
अघिल्लो दिन हामी बिहानको सात बजे उठेर मुख धोएर आफ्नो काम सकाएर खाजा खायौं। त्यहाँबाट करिब ८ बजे खाना ना गाउँमा खानेगरी निस्कियौं। पहिलो दिनमा जम्मा दुई जना मात्र भएको हामी त्यही पदयात्रामा चिना परिचय भएर लगभग ३ पदयात्रीहरूको समूह लगभग २५ जना जति एउटै नै भयौं।
लगभग ३ घण्टाको यात्रापछि हामी आइपुग्यौ ना गाउँ। सेता हिमालहरूको बीचमा सानो गाउँ। धेरैजसो होटलमात्र भएको चिसो हावा चल्दा सुनापाती र हिमाली धुपीको बास्ना नाकमै ठोक्किने। करिब ११ बजे पुग्यौं जोसेफ फुर्बा होटल ना गाउँ। समुन्द्री सतहबाट करिब ४००० मिटर उचाइमा यो गाउँ अवस्थित छ।
खाना र बस्ने बास स्थान मिलाएर हामी लाग्यौं यो हाम्रो पदयात्राको हाम्रो अन्तिम गन्तव्य च्छो रोल्पा हिमताल।
हिमालहरू पग्लिएर जम्मा भएको पानीले बनेको यो ताल लगभग ४५८० मिटर उचाइमा छ। अचम्म यहाँ हेलिकप्टरले ल्याएको डोजर सम्हालेर राखिएको छ साथै थोरै मात्रामा बिजुली पनि उत्पादन हुने बनाइएको रहेछ।
डोजर राख्नुको कारण च्छो रोल्पा ताल फुट्ने सम्भावना धेरै मात्रामा भएको हुँदा त्यो जोखिम न्यूनीकरण गर्न राखिएको रैछ। साँच्चै नै सुन्दर रैछ च्छो रोल्पा ताल ठूलो ताल हिमनदीको पानी जम्मा भएर बनेको यो ताल हिमालहरूको आकृति तालमा पर्दा त मन नै हर्षित र साथै च्छो रोल्पाको विपरीततिर देखिएको मनमोहक सूर्यास्त हिमालको चुचुरोमा ठोक्किँदा मन नै लोभ्याउने। लगभग एक घण्टा मीठो सम्झनापछि फर्कियौं हामी ना गाउँ नै।
चौथो दिन याकको मीठो मोही
नाबाट बिहानै आफ्नो झोला बोकेर झर्यौ तलतिर आफ्नो इच्क्षा पूरा भएसी सबैको मुहारमा एक किसिमको चमक आएको थियो र त्यही चमक लिएर झरियो बेदिंगतिर अनि हाम्रो बिहानको खाना बेदिंगमा हुने भयो। त्यो पनि वोर्ल्ड गिनिज बुक रेकर्ड होल्डर पेम्बा दोर्जी शेर्पा दाइको होटलमा।
पेम्बा दोर्जी शेर्पा दाइले ८ घण्टामा सगरमाथा चढेर विश्व कीर्तिमान राख्नुभएको थियो र साथै एकै परिवारबाट सबैभन्दा धेरै जनाले सगरमाथा चढेको भनेर नि किर्तिमान राख्नु भएको रैछ।
उहाँको आमाले खाना बनाउनुभयो आमाको गफ र याकको मीठो मोहीसँग भात खाँदा त छुट्टै आनन्द आयो। त्यो दिन लगभग ५ घन्टाको यात्रापछि हामी क्याल्चेमा बस्ने भयौं।
पाँचौं दिनपछि खसीको मासु
हामी पाँचौं दिन क्याल्चेमा बास बसेर सिमी गाउँतिर लाग्यौं। करिब ३ घण्टाको ओरालोपछि हामी पुग्यौं सिमी गाउँ। खाना खाएर आज त्यहीँ बसेर थकाइ मार्ने निर्णय गरियो।
हामी भाग्यमानी हो कि के हो त्यो होटलमा त्यही दिन खसी काटेको रैछ। मासु नखाको धेरै दिन त भाको थिएन तर पनि थकानले गर्दा खसीको मासु र भात भनेसी दुई थाल गएछ।
छैठौं दिन गौरीशंकर हिमाल हेर्ने अन्तिम दिन
बिहान ६ बजे छ्येतछ्येतबाट बस छुट्ने रैछ र सिमी गाउँबाट छ्येतछ्येत जानलाई ४५ मिनेटको ओरालो झर्नुपर्ने र जुन हामीसँगै आउनुभएको दाइहरूले आजको दिन पनि त्यहीँ बस्ने निर्णय गर्नुभयो।
हाम्रो समय थोरै नै छुट्टाएर आएकोले आजैको दिन काठमाडौं पुग्ने पर्ने थियो। फेरि दाजुभाइ मात्र पर्यौं र सिमी गाउँबाटै ६ बजे निस्कियौं बस भाको ठाउँमा तर हामी छ्येतछ्येत पुग्दा बस गैसकेछ। सिगटी बजारबाट १० बजेसम्म काठमाडौंका लागि बस जान्छ भन्ने थाहा थियो फेरि चरिकोटबाट दिउँसो २ बजेसम्म बस जान्छ भन्ने पनि थाहा थियो तर हामीलाई सिगटी पुग्दै दिउँसो को ४ बज्छ भन्ने थियो।
दाजुभाइ रोडरोडै हिँड्दै थियौं एक्कासि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको गाडी आयो। सहयोग माग्यौ बिना कुनै हिच्किचाहट उहाँहरूले हामीलाई सहयोग गर्नुभयो।
अन्तिम सिगटीबाट काठमाडौं जाने गाडी पायौं गौरीशंकर हिमाललाई पर छोड्दै हाम्रो यो पदयात्रा यही टुङ्ग्याएर फर्कियौं आफ्नै कर्मथलो।
च्छो रोल्पा ताल अहिले युवा तथा पर्यटकको नजरमा एक राम्रो गन्तव्य परेको छ। छोटो समय र थोरै पैसामा पूरा हुने यो पदमार्ग अहिले सबैको नजरमा पर्न गएको छ।
साथै यहाँबाट टासी लाप्चा पास पदयात्रा पनि गर्न मिल्ने भएकोले यो नेपाली पर्यटकका लागि मात्र नभई विदेशी पर्यटकका लागि पनि एक उत्कृष्ट गन्तव्य बन्न पुगेको छ।
गौरीशंकर गाउँपालिका, दोलखा जिल्ला, पर्यटन बोर्ड तथा विभिन्न धात्री निकायजस्तै एनजिओ तथा आइएनजीओ मिलेर पदमार्गमा सिँढी निर्माण, ठाउँ-ठाउँमा नाम र उचाइ थाहा पाउनलाई बोर्ड र साथै फोहोर फ्याँल्ने ठाउँ बनाएर झनै मनमोहक बनाउनुभाको रैछ।
सायदै यो पदमार्ग भविष्यमा एक उत्कृष्ट गन्तव्य बन्न सक्छ र पर्यटकको नजरमा पहिलो रोजाइमा पर्छ भन्ने मा कुनै दुईमत छैन तर सीमित होटलहरू भएको कारणले अबको भविष्यमा यो पदमार्गको पर्यटक धान्न नसक्ने देखिन्छ।
साथै पदमार्गको बीच-बीचमा चिया घर, खाजा घरको व्यवस्था हुनुपर्ने देखिएको छ।