प्रसंगवस
पञ्चायतकालमा हो, कसैका जीवनी पढ्दा होस् कि किताब, अन्तिममा विदेश भ्रमणको प्रसङ्ग आउँथ्यो।
यसले च्वास्स छुन्थ्यो मलाई।
र, कविता या लेख छापिँदा परिचयको अन्तिममा आउने विदेश भ्रमणमा भारतबाहेक कुनै देशको नाउँ लेखियोस्, म यस्तै सोचेर बस्थेँ।
हुलाकको तालिममा भाग लिन जाँदा २०३७ सालमै एक जना नवचिनारू मित्रले सित्तैमा विदेश भ्रमण गर्न प्रस्ताव नगरेका पनि हैनन्।
उसबेला देशमा झिटीगुण्टाको प्रचलन थियो। मेरा मित्र सम्भवतः महिना या दुइ महिनामा भुत्ल्याएको कुखुराजस्तो भएर थाइल्याण्ड जान्थे र, फर्किंदा ऊनैऊनले सुमरो भएको भेंडोजस्तो भएर फर्किन्थे। तिनले जिउमा सक्दो लुगा लाउँथे, अझ दुई– चार, दश तोला कति हो सुन पनि ल्याउँथे। त्यसपछि कपडाको ठूलो जेब्रा झोला।
हो, यस्तै काम गर्ने भरियाको रूपमा मित्रले मलाई प्रस्ताव गरेका थिए, जसलाई मैले अस्वीकार गरेर आफ्नो परिचयको एक हिस्सा लेख्न उसैबेला छुटाएको थिएँ।
झिटीगुण्टाको सुविधा भएकै समयमा कुनै एक जना विख्यात नेपाली लेखकका छोरालाई थाइल्याण्डमै हुनुपर्छ, प्रहरीले गोली हानेर मार्यो।
अवैध व्यापारको क्रममा उनी मारिएपछि गाउँले हाम्री चेलीले पतिको वियोगमा अन्न पानी नखाई छ महिनासम्म शोकमा डुबेर देहत्याग गरिन्। अर्का एक गायकको दाम्पत्य जीवन पनि विदेशगमनले नै बर्बाद भएको थियो।
यी दुवै घटना थाहा पाएपछि मलाई भरिया भएर विदेश जाने रहर नजागेको हो वा आँट नगरेको हो, थाहा पाउँदिनँ। पञ्चायतकालभरि विदेश भ्रमण, तै पनि सहज थिएन।
बहुदल आएपछि विदेश जानेको लर्काे नै लाग्न थालेपछि माथि उल्लिखित परिचयखण्ड पनि हराउँदै गयो। अब त छोराछोरी विदेशमा छन् भने विदेश जानु र पँधेरा जानु उस्तैउस्तै भैसकेको छ।
र, हामी पनि त्यही उस्तैउस्तैमा परेर विदेश यात्रामा निस्किएका हौं।
तेल भिसा कि टोपी भिसा
हिजोआज मजदूरी, अध्ययन र व्यापारिक कामबाहेक विदेश जाने प्रयोजनका लागि दुइटा भिसाको प्रचलन व्यापक छ , टोपी भिसा र तेल भिसा।
यी दुई भिसाको व्याख्या गरिरहनु आवश्यक पनि छैन। अध्ययन गर्न जाने छोराछोरीबाट यस्ता भिसा सजिलै आउँदा पनि रहेछन्।
हाम्रा लागि दुबै भिसा सहजै प्राप्त भए।
हामीलाई टोपी भिसा तीन वर्षअघि आएको थियो, जतिबेला देश कोरोनाले भयावह अवस्थामा थियो। चैत १२ गते हामी चढ्ने जहाजको टिकट। परन्तु १० गते नै लकडाउन घोषणा।
खासमा पहिलो भिसामा मैले जान मन पनि गरेको थिइनँ। मनले नै नचाहेको यात्रा व्यवहारले पनि निषेध गर्ने रहेछ, भयो पनि त्यस्तै।
देखिने उद्देश्य दीक्षान्त भए पनि अन्तर्य त घुम्नु नै थियो।
पढाइलाई अवमूल्यन कदापि गर्दिनँ, गर्नु पनि हुँदैन।
तर, एकाध विद्यावारिधिवाहक विद्वानबाट व्यक्त भाषा, शैली, विचार र, छुद्र्याइँ पढ्दा– सुन्दा ‘गुरू’को पहिलो अक्षरको उकार विलुप्त पारेर ओकार स्थापित गरूँजस्तो झोंक चल्ने अवस्था बनेको थियो।
यस्ता स्वनामधन्य महाशयका भाषाशैलीभन्दा बरू आफ्नै बाल्यकालीन गोठाले मित्रहरूको तात्कालीक भाषाशैली नै शिष्ट र सौम्य लागेका बेला अंगुर अमिलो भएर नखाएको प्रसङ्गमा भ्रमणलाई मिलान गर्दै, जान त्यति मन नगरेकै हो।
त्यसै पनि खास खास विषयबाहेक अष्ट्रेलियको पढाइ अष्ट्रेलियाभरि मात्र हो, रहेछ। अनि अहिलेको विश्वमा स्नातकोत्तरसम्मको पढाइलाई सामान्य रूपमै लिइने हुँदा छोरीको स्नातक तहको नर्सिङको दीक्षान्त समारोह औसत नै भएको मैले ठानेँ। र, जाँदा पनि ठीकै, नजाँदा पनि ठीकै, के को टाउनु दुखाउनु...’ भन्नेमा पुगेँ।
अनि आयो तेल भिसा।
नितान्त आफूसँग जोडिएको विषय।
एउटा गौरवपूर्ण उत्सवमय अवसर। हामी परिवारका लागि अपार हर्षबढाइँ। मौकालाई आफू अनुकूल बनाउनको लागि नपर्ला? यसपालि त जाने, तर......!
छोरी–ज्वाइँ र छोराले पहिले गरेकै आनाकानी सम्झेर यसपालि तर, किन्तु, परन्तु केही नसुन्ने भए। अझ शिष्टताले त सुनोस् पनि कसरी? हाम्रा वर्षाैदेखिका अमूर्त र अव्यक्त चाहलाई व्यवहारतः बल्ल मूर्त रूप दिँदै थिई।
धर्तीमा एक छोरी मान्छे ऊ, आमा हुँदै थिई। पृथ्वीमा एक नयाँ सदस्यको रूपमा शिशुलाई जन्माउँदै थिई। अनि त्यही शिशुलाई पहिलोपल्ट काखमा लिएर आमा भएको खुसीमा मुस्कुराउने बन्दोबस्त मिलाउँदै थिई।
त्यतिका खुसी एकापसमा साटासाट गर्न हामी नगई हुन्थ्यो के त!
ठूलो हवाइजहाजमा पहिलोपल्ट
स्कूले जीवनकालमै पनि विदेशमा बस्नेहरूले कस्तो खाँदा हुन्? उनीहरूले कस्तो हग्दा हुन्? उनीहरूका बालबच्चाको पालनपोषण कसरी कसले गर्दाे हो? कस्ता घरमा बस्दा हुन्? जस्ता प्रश्नहरू एकपछि अर्काे गर्दै बर्सिन्थे।
बाल्यकालमात्र हैन, किशोरावस्थामा पनि प्रश्नहरूका उत्तर नै हुँदैनथे र, थारा को थारै हुन्थे प्रश्न।
अलि पछि चाहिँ जहाजमा पुग्थ्यो सोचाइ। लामो दूरीको जहाजको यात्रा ! दिसा पिसाब आयो भने ....?
मित्रहरू भन्थे, ठूलो, भयङ्कर हुन्छ जहाज।
अनि कल्पना गरिन्थ्यो– कत्रो भयङ्कर ? घर जत्रो कि, स्कुल जत्रो कि, ओडार जत्रो ?
अरूलाई तेस्र्याउने बाल–किशोर वयका तमाम प्रश्नहरू समयक्रमसँगै लुप्त बनेर कतै न कतै रहिरहँदा रहेछन्। मसँग पनि ती, त्यसै रहेका थिए। ती कौतुहल विदेश भ्रमणपछि साथीभाइमाझ गरिने गफका विषय हुन्छन् भन्ने थाहा भएकै पनि हो।
यिनै र यस्तै कुरा खेलाउँदै विमलालाई लिएर म अन्तर्राष्ट्रिय विमानस्थल पुगेँ।
कर्मचारीहरूले हाम्रा पोकापन्तुरा जाँचपडताल गरिसकेपछि विदेशगमन निम्ति राहदानीमा सरकारी छाप लगाई दिए। हामी भित्र छिर्यौं ।
अब, हेर्दाहेर्दै हामी राष्ट्रियबाट अन्तर्राष्ट्रिय भयौं। हामीसँग आवश्यक देखिएका राहदानीदेखि अन्य सरकारी कागजपत्र अङ्ग्रेजी भाषाका थिए। अङ्ग्रेजी आफैं अन्तर्राष्ट्रिय। हाम्रा वेशभूषा पनि अन्तर्राष्ट्रिय। साथमा भएको मुद्रा अन्तर्राष्ट्रिय। र, हामीलाई विदेश यात्रा गराउने जहाज पनि अन्तर्राष्ट्रिय !
यात्रु प्रतिक्षालयमा पुग्यौं।
मैले यही मौकामा अन्तर्राष्ट्रिय सुविधा वाइफाइ जोड्न खोजेँ।
तर...
पछि पो झल्याँस्स भएँ र, आफैंलाई भनेँ– नेपालमा बसेर अन्तर्राष्ट्रिय सुविधा खोज्छस् केटा?
पन्ध्रौं चुलीले खेलाएको चाकाचुली
झण्डै तीन महिनाको अष्ट्रेलियाको बसाइ।
खाली समय।
यो बूढेसकालमा घरीघरी उनीसँगै चराले जस्तो चुचो जोडेर बस्ने कुरा पनि भएन। सँगै बस्दा हाँसपरिहास पनि कति गर्नु ? त्यसैले अध्ययन गर्न किताब बोकेको थिएँ आधा दर्जन। तिनै किताबमध्येको पहिलो किताब थियो खिमलाल गौतमको पन्ध्रौ चुली।
फेरि, मलाई गाडीमा होस् कि जहाज, त्यहाँ पढ्नुको आनन्द भनिसाध्य हुन्न। किताबमध्ये पनि अझ, नयाँ किताबबाट विशेष सुगन्ध आउँछ। त्यो सुगन्धले ऊर्जा दिन्छ। ऊर्जाले आनन्द दिन्छ।
अनि म, आनन्दका लागि यात्रा गर्दैछु।
किताब हातमा छ, पन्ध्रौ चुली।
विमलालाई बाहिरको दृश्य आतेसलाग्दो हुने भएकाले झ्यालतिर आफू बसेको थिएँ र, किताब पढिरहेको थिएँ।
खिमलाल सगरमाथा मापन गर्न पृथ्वीको जुरोमा चढ्दै थिए। म आत्मिक आनन्दमय उत्सवमा सहभागी हुन समुद्रकिनारतर्फ झर्दै थिएँ।
उनको प्राप्ति र खुसी हाम्रो पनि थियो।
तर हाम्रो प्राप्ति र खुसी केवल हाम्रै लागि मात्र।
उनी सगरमाथाको नयाँ उचाइ नापेबापत समाचारमा आउँदै थिए, म मेरा खुसीलाई फेसबुकका भित्तामा पोष्ट्याउने सुरसारमा थिएँ।
पढ्दै जाँदा अचानक घटना मोडियो।
बडो उत्साहका साथ पेज नम्बर १९१ पढिसिध्याएपछि पढ्न रोकिएँ।
मलाई ऐँठन भयो। भुङ्ग्रोले भन्दा ज्यादा आशङ्काले मन पोल्यो। समुन्द्रमाथि उडेको जहाज समुन्द्रमै डुबेजस्तो भयो।
किताबलाई मैले हाते व्यागमा थन्क्याएँ र, सम्हालिनेतर्फ सचेष्ट भएँ।
किनभने म त छोरीको गर्भमै मेरा निम्ति नाति नाउँले सुशोभित नव आगन्तुक शिशुको पृथ्वीमा पहिलो स्वागत गर्ने पूर्व तयारीका लागि पो अष्ट्रेलिया जाँदै थिएँ त!
अनि त्यस्तो वियोगको कथा कसरी पढ्न सक्थेँ, म ?
अष्ट्रेलियाको मौसम, नेपालको राजनीति
खै, कुन कारणले हो, नेपालको तुलनामा अष्ट्रेलियाको मेलबर्नबाट आकाश सफा– नीलो देखिँदो रहेछ।
घाम पनि नजिकै लागेजस्ता। घामको किरणले आकाश रातो देखिँदा धर्ती भने अँध्यारो हुन्थ्यो।
जनवरी महिनामा स्थानीय समय ८:१५ मा रात पथ्र्याे। समय हाम्रामा जस्तो स्थिर नहुँदो रहेछ। राज्यले नै समय मिलान गर्दाे रहेछ।
जहाजबाट उत्रिएर छोराछोरी र ज्वाइँसँग भेट भएपछि छोराले एउटा खुसखबरी भन्दै, सुनायो –प्रचण्ड प्रधानमन्त्री भयो त!
सामान्य आदरार्थी शब्दको हेक्का नराखी उसले सुनाएको खबर सत्य थियो।
घर आइपुगेर फेसबुक खोल्दा अष्ट्रेलियामै बस्ने कुनै मित्रले लेखेका थिए – अष्ट्रेलियाको मौसम र नेपालको राजनीति उस्तै भयो।
वास्तवमा भयो पनि त्यस्तै। चुनावमा एउटा गठबन्धन, सरकार बनाउँदा अर्कै।
त्यो पनि रातारात परिवर्तन।
हाम्रो राजनीति हामीलाई थाहा भएकै हो, कुरै सकियो।
तर अष्ट्रेलियाको मौसम ठ्याक्कै हाम्रै राजनीति जस्तै! मौसम पुर्वानुमान गर्ने निकायको सूचना नपढी बाहिरफेर निक्लिनै नहुने रहेछ।
उखपात गर्मी थियो, समुद्र जाने तय भयो।
समुन्द्रमा पुगेपछि चिसो सिरेटो।
गाँठे! सिरेटो पनि काँडाजस्तै तिखो हुने के! पाखुरा पिँडौलाका मासी छेडेर हड्डी पनि भ्यायो। सामान्य खालको ज्याकेट त फास्स न फुस्स।
आफ्ना नेताबाट धोका खाएका हामी, उता मौसमबाट पनि उस्तै धोका पायौं।
कुनै दिन ज्याकेट लाएर गयो, पुगिसक्दा गर्मीले उखरमाउलो हुने। धन्न, गाडी र पसलमा चिस्यान थियो र हाइसञ्चो भयो।
अँ, घाम पनि उस्तै कडा लाग्ने।
छत्रेटोपी, चश्मा र सनक्रिम नलगाए त तपस्यारत शिवजीले सुरभि नाउँका गाईलाई हेर्दा आँखाको तेजले गाई सेताबाट कैला भएझैँ घामले डढेर मानिस पनि कैलो (कालो) होइने!
यता हाम्रो आकाश हेरी उताको आकाशको ओजनतह पातलोजस्तो मानें। खासमा त्यहाँ बस्ने मानिसले छत्रेटोपी, चश्मा र क्रिम किन दल्छन् भन्ने विषय त्यहीँ पुगेपछि मात्र थाहा पाइने रहेछ।
छोरीले गर्मीमा लाउने पातला लुगा लिएर आउनु भनेकी थिई। छोरीले भनेकै मानेको भए, उनीहरूले बचत गरेका धेरैजसो डलरको अतिरिक्त रकम त लुगामै खर्च हुने रहेछ।
नाउँ आफ्ना जस्ता, विमानस्थल अरूका
अष्ट्रेलिया जानुअघि जीबा लामिछानेको देश देशावर पढेको भए म पनि मनसहित यात्रा गर्ने रहेछु।
अष्ट्रेलिया उड्नुअघि एक मित्रले भनेका थिए –भाषाको समस्या हुन्छ भने नेपाली टोपी लाएर मात्र जानुस् है! कुनै न कुनै विमानस्थलमा नेपाली हुन्छन् नै। अनि तिनीहरूले तपाईंलाई आरामले सहयोग गर्छन्। त्यति भएन भने, ‘एस्क्युज मि’ र ‘प्लिज ज, हेल्प मि’ भन्नुस्, तपाईंलाई ढोकैसम्म पुर्याइदिन्छन्!
मन नै यता छोडेपछि तत् तत्मा ध्यान पुगोस् पनि कसरी ?
फेरि, कमजोरी देखाउनु पनि किन?
यात्रा अवधिमा जाँदा र आउँदा गरी मैले चार वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेँ। प्रयोग गरेका तिनै विमानस्थलमध्ये इन्डोनेसियाको बाली विमानस्थल नै स्तरीय थियो। त्यसपछि मात्र थाइल्याण्डको सुवर्णभूमि र मलेसियाको क्वालालम्पुर।
कालोपत्रेको अवस्था हेर्दा निकै कमजोर चाहिँ मेलबर्नकै थियो।
विदेशमा पुगेपछि आफूजस्तै अनुहारलाई सोधिने पहिलो प्रश्न नै, ‘तपाईं पनि नेपाली हो ?’ हुँदो रहेछ।
जब उसले हो भनेर जवाफ दिन्छ, खुसी त खै, कताबाट गुजुल्टो परेर पो निक्लिँदो रहेछ! त्यसपछि त भेटिएको नेपाली आफ्नै नाताभित्रको सदस्यजस्तो।
मानिसजस्तै अर्काे गजब लागेको कुरा हो, विमानस्थलको नाउँ।
मेलबर्न विमानस्थलको नाउँबाहेक मैले प्रयोग गरेका थाइल्याण्डको सुवर्णभूमि, इन्डोनेसियाको बाली र मलेसियाको क्वालालम्पुर सबै आफ्नै देशका नाउँ जस्ता। हाम्रै हर्कपुरजस्तै क्वालालम्पुर भएपछि के चाहियो अरू ? बाली, सुवर्णभूमि नाउँ नेपाली नलागेर भो त!
अझ विमानको नाउँ नै गरूड !
भाँती नपुर्याउने र नाउँ जुराउन नजान्ने त हामी पो रहेछौं!
मोबाइल हेरेर सुत्थेँ, घडी हेरेर उठ्थेँ
थाइल्याण्डसम्म जाँदा अधिकत्तर यात्रु नेपाली थिए। थाइल्याण्डबाट मेलबर्न जाँदा भने, नेपाली चालीस प्रतिशत जति भयौं।
हातमा बाँधेको घडीले मेलबर्न पुग्दा पनि नेपालकै समय दियो।
मोबाइल चाहिँ नक्कले, थाइल्याण्ड पुगुन्जेल नेपाली र स्थानीय समय नै दियो।
तर मेलबर्न पुगेपछि भने मोबाइल पनि पूरै अष्ट्रेलियन अर्थात् ‘अजी’ (स्थानीयलाई अजी भनिँदो रहेछ ) भयो। नेपाली समय किन दिन्थ्यो, उसको नाउँ नै मोबाइल भएपछि।
नेपालभन्दा अष्ट्रेलियाको समय पुस–माघमा ५ घण्टा १५ मिनेट र चैत उता ४ घण्टा १५ मिनेटको फरक। समय नेपालको भन्दा छिटो। सुखी नेपाली समृद्ध नेपाल उतै मिलेको देखिन्थ्यो। यता त नारा मात्रै। नेपालभन्दा समय मात्र छिटो हैन, प्रगति पनि छिटो रहेछ। नभए किन ओइरिन्थे सोहोरिएर मानिसहरू?
हामी घडीको समयअनुसार ३:१५ बजे दिउँसो मेलबर्न पुग्यौं। उता झमक्कै साँझ परेको थियो।
अब मैले घडी र मोबाइललाई कामको भाग लगाएँ। घडीसँग समय हेर्ने, मोबाइलसँग समाचार।
दुबैलाई काम दिएपछि म पनि खुस।
मोहन मैनालीले किताबमा एकठाउँ लेखेका छन् –सुतेरै मर्निङ वाक गर्छु......यस्तै केही। मलाई पनि तीनसल्ली घाम आउन्जेलसम्म सुतेरै मर्निङवाक गर्ने जाँगर चल्छ!
यस्तो कर्मलाई अल्छ्याइँ भन्दा फरक नपर्ला।
मैले अल्छ्याईँ र चतुर्याइँबाट एउटा सरल उपाय निकालेँ –मोबाइल हेरेर सुत्ने, घडी हेरेर उठ्ने!
खाना मीठो, पानी नमीठो
हिमाली देश नेपालको सबैभन्दा राम्रो पक्ष हो हावापानी। खानेकुरा त नकुरा गरूम!
हिमाली बस्तीदेखि पहाडहुँदै तराईका फाँट घुमेको म, अँजुलीमा थापेर खाएको गँगटे धाराको पानीको स्वाद ताजै छ। घुमाउने चौतारीमा वरपिपलले हम्केको पंखाको चिसो हावाको याद अझै बिर्सेको छुइनँ।
एक एक घण्टाको दूरीमा फरक फरक मौसमको अनुभव बटुल्न पाइने मौसमको बयान त कति गर्नु, गर्नु ?
म बसेको इटहरी पहाडको काछमा पर्छ। सयौं वर्षअघि सप्तकोशीको बहाव चारकोशे जङ्गलको छेउभएर पूर्वतर्फ बग्ने गथ्र्याे र ब्रह्मपुत्र नदीमा गएर मिसिन्थ्यो, भनिन्छ।
यस क्षेत्रमा अहिले पनि बीस/पच्चीस फिट पाइप गाड्नासाथ मीठो खानेपानी निक्लिन्छ।
म यही ठाउँको चिसो पानी खाएको मानिस, अष्ट्रेलियाको कुइगन्धे पानीमा बानी पर्नै सकिनँ।
पानी, साँच्चै बेस्वादिलो!
कुइगन्धे किन भनेको भने, मेलबर्नमा दुई वटा पानीको बाँधमा पुग्दा फेवाकै झल्को दिने तर आकारमा अलिक साना ताल हेर्न पाइयो। मेरो अनुमानमा त्यो पानी समुद्रबाटै ल्याइएको हुनुपर्छ।
मैले जहाजबाट पनि पानी भरिएका लामो दूरीका नहर देखेको थिएँ। त्यसरी जम्मा गरेको पानी निर्मलीकरण गरेर वितरण गरिन्छ भन्ने सुनेपछि मलाई अरू पनि चासो बढ्यो।
हामीले खाने पानी यही हो त?
अझ अर्काे कुरा पनि थाहा पाएँ। पानी महँगाइका कारण स्थानीय सरकारले पानी खेर जान नदिँदो रहेछ।
कसरी ?
दिसा पिसाब गरेपछि फल्सले तानेर लैजाने पानी होस् कि भाँडा माझ्दा वा नुहाउँदाको पानी होस्, त्यस्तो पानी जाने छुट्टै पाइप हुँदो रहेछ। त्यसरी गएको पानीलाई फेरि शुद्धीकरण गरेर अर्काे पाइपमार्फत् घर-घर पठाइँदो रहेछ। त्यसरी आएको पानीचाहिँ गाडी धुन, फूलबारीमा हाल्न वा घरबाहिरको जमिन पखाल्न प्रयोग गरिँदो रहेछ।
यति सुनेपछि उहिल्यै खैरे नेपाल घुम्न आएको प्रसंगमा प्रचलित चुट्किला ‘जस्तो खायो त्यस्तै आयो, फेरि खायो त गन्हायो’ को याद आयो।
जब पानीको यस्तो कथा सुनेँ, मलाई बसुन्जेल पानी सम्झेर दिङ्दिङ् लागि नै रह्यो।
मुद्रा दह्रो भए मुद्दा बिक्ने रहेछ
सहरका घर र रमझमले मलाई सम्मोहित बनाउन नसकेको बुझेपछि सविन बाबुले बस्ती नभएको बाटो भएर डुलाउन लैजानु हुन्थ्यो। सेतो सुख्खा बालुवा, सेताम्मे काँसका बुट्यान, केही ससाना रूखका पोथ्रा। म ती ठाउँ भएर जाँदा अनायासै सप्तकोशीको किनारैकिनार सेतै फुलेका काँसघारी पुगेको परिकल्पना गर्थें र, आफ्नो देशको नियास्रो मेट्थेँ। कुनैबेला कञ्चनपुर–रुपनगरबाट पश्चिमतर्फ गइरहेको अथवा फर्किरहेको छु भनेर चित्त बुझाउँथें।
छोरा सिष्टमलाई विदेश पठाएपछि चिया पसलमा साथीभाइको गुनासो हुन्थ्यो –देश सिष्टममा चलेन भनेर के गुनासो गर्नु ? बद्री सरले नै सिष्टमलाई अष्ट्रेलिया पठाउनु भो।
साथीहरूले ठट्टा गरे पनि अष्ट्रेलिया साँच्चै सिष्टममा चलेको रहेछ।
भनिन्छ, बदमास आप्रवासीहरू पनि कानूनले आफैं बाँधिन्छन्।
अनि के देखियो भने, त्यहाँ बस्ने धेरैजसोलाई नगद र निद्राले कहिल्यै नपुग्दो रहेछ। त्यसो हुँदा को आयो को गयोसँग ‘छु मतलब’!
हामी बसेको इलाकामा नेपाली, भारतीय, पाकिस्तानी र चिनियाँ बस्दा रहेछन्। महादेश नाघेपछि देशको प्रश्न हराउँदो रहेछ। सबै जसोले आफूलाई एसियाली भन्न रुचाउँदा रहेछन्।
मैले कुरैकुरामा थाहा पाएँ, अष्ट्रेलियामा चिनियाँहरूलाई लेखपढमा विशेष सहुलियत हुन्छ। त्यहाँ सञ्चालित सवारीचालक अनुमतिका लागि लिइने परीक्षामा चिनियाँलाई उनीहरूकै भाषामा लेख्न छुट रहेछ।
विराटकै शैली सापटी लिँदा –मुद्रा दह्रो भएपछि मुद्दा पनि बिक्ने रहेछ!
दिसा धुने कि पुछ्ने ?
घर पुग्नासाथ छोराले मलाई चर्पी र नुहाउने कोठामा लिएर गयो।
पहिले, चर्पी देखाउँदै भन्यो –दिसा पिसाब गरिसकेपछि यहाँ थिच्नुपर्छ, दिसा पुछ्ने कागज यता छ। नेपालमा जस्तो दिसा धुन पानीको प्रयोग हुँदैन। पुछिएन जस्तो लाग्यो भने यता चिसो कागज पनि छ। तल खसेको दिसालाई फल्समार्फत पानीको मद्दतले तानेर लैजान्छ र सफासुग्घर बन्छ।
नन् स्टप मलाई यसरी सम्झायो, म आधुनिक प्रविधिबाट पूरै अनविज्ञ छु।
खासमा म त्यस्तै पनि भएँ ।
अहिले पनि सुदूर गाउँघरतिरका केटाकेटीहरू दिसा गरिसकेपछि दिसा धुँदैनन्, कुनै ढुङ्गा या सेउलाले पुच्छन्। अझ कति केटाकेटी त आफ्नो दिसालाई दूबो वा हरियो घाँस भएको चउरमा मजाले दल्छन् र सफा गर्छन्।
बाल्यकालीन यस्ता गतिविधिबाट स्वयम् आफू गुज्रिएको अवस्था अझै स्मृतिमा छँदैछ।
र, यस्तो क्रियाकलापलाई चियाइरहेका सहरीया बालबालिकाहरूले पक्कै त्यस्तालाई पाखे वा असभ्य भन्लान्। मौका पर्दा आफू पनि त्यसै कसो भनिएला नै।
तर, अरूलाई हियाउन मौका पर्खेर बसेको आफैंलाई मेलबर्नमा दिसा पुछ्नुपर्ने अवस्था आइलाग्यो। हाम्रो संस्कारले दिसा गरेर धोइएन भने अशुद्ध मान्छ। किनभने, ‘पुछ्ने’ कर्म हाम्रो हुँदै होइन। हामी त लिप्ने, पोत्ने र धुने कर्म गर्छौं। त्यसमा पनि दिसा त धुने नै हो– हाम्रो परम्परित कर्म। भलै बाल्यकालमा पुछिएको होस्।
हामी संस्कार र संस्कृतिमा यति अभ्यस्त भइसकेका छौं कि, कुनै दिन मुख नधोइ खाइयो भने नकाम गरियो भनेर झस्किन्छौं।
तर मेलबर्नमा त मुख हैन, चाक नधुने जो कुरा छ।
धुने संस्कार संस्कृतिबाट हुर्केको एक वयस्क म, गहिरो सङ्कटबाट गुज्रिनु पर्ने अवस्था सिर्जना हुँदैछ। दिसा पुछेपछि म अशुद्ध हुँ या शुद्ध, त्यो भिन्नै कुरा भयो। तर सिकसिको लागेर मलाई असहज हुने कुरा भने अकाट्य छ।
कुरैकुरामा भन्यो –फल्सको सर्वप्रथम निर्माण र प्रयोग दुबै अष्ट्रेलियाबाटै भएको हो भन्ने त थाहा छ नि!
आफूलाई पुच्छ्ने कि धुने चिन्ताले सताएको थियो। अँ पनि भनिनँ। हँ पनि भनिनँ।
अब मैले दिसा पुछ्ने सिकसिकोबाट बच्न खानामा ध्यान दिनुपर्ने हुन्छ। खानामा गडबडी भएर झाडापखाला चल्यो भने समस्या खडा हुन्छ। समस्या भगाउन नुहाउनुपर्छ।
म, यी समस्या आउन नदिन खाना ठिक्क खान थालेँ।
झट्ट सुन्दा यो समस्या सामान्य मानिएला। अझ कतिले त हँसिमजाकको रूपमा लेलान्। कतिले उल्याउलान् पनि। तर, उमेरले बैसठ्ठीको सीमा पार गरिसकेको मेरा लागि दिसा पुछ्ने प्रक्रिया कसरी सहज हुन सक्छ र? अनि यो विषय कसरी केही होइन भन्न सक्छु म ?
छोराले सम्झाइ सकेकै थिएन, मुर्मुरिँदै बक्न थालेँ –खैरे हो ! आफू, कागजले गुहू पुछ्ने तिमीहरूले, हामीलाई हात धुन सिकायौ, हगि?