कसैलाई भेटिरहूँ झैं लाग्ने,
कसैलाई देख्नै नपरोस् झैं लाग्ने,
कतै गइरहूँ झैं लाग्ने,
कतै भने जानै नपरोस् झैं लाग्ने,
खै के हो, के हो यो मन पनि।
मेरो मन पनि खै के हो कुन्नि, बालसखा कुन्दनलाई भेटिरहूँ झैं मान्छ। अनि उसको घर भएको सहर धरान पनि जान मच्चिइरहन्छ।
यसरी मन मच्चिएपछि जाने तयारी गर्न थालेँ। धरान जानुको अर्को पनि उद्देश्य बनाएँ — सहरभित्र र सेरोफेरो साइकलमा घुम्ने।
म धरान ३ महिना बसेको थिएँ, ४७ वर्षअघि। कुन्दन र म झन्डै ५० वर्षअघि झापाको भद्रपुरमा तीन वर्ष सँगै थियौं। मेरो दाइ नेपाल बैंकमा मेनेजर हुनुहुन्थ्यो। कुन्दनको बुबा भद्रपुरमा सिनेमा हल चलाउनुहुन्थ्यो। दाइको धरान सरूवा भएसँगै म छाताचोकस्थित बैंकको कार्यालयमा मेरो दाइ र भाउजूसँग बसेको थिएँ।
त्यसताका धरानबाट धनकुटा पैदल नै गर्नुपर्थ्यो। कुन्ती मोक्तानले 'कतिन्जेल गर्छौ दाजु धरान धनकुटा' भनेर गीत गाए पनि धनकुटेलाई पैदल हिँडेर धरान-धनकुटा नगरी सुख थिएन। बेलायती सहयोगमा बनेको हालको सडक बन्न बाँकी थियो।
बैंकको भवनको कौसीबाट फुस्रेतिर बिहानै फर्केर हेर्दा त्यो डाँडामा घाम परेपछि टिलिक्क टल्केर आँखा खान्थ्यो। टल्किने कारण थियो, घर छाउने जस्ता पाता बोकेर हिँडेका भरियाको पिठ्युँमा रहेको जस्तापातामा घाम परेर टल्किनु। भरिया दाइहरूले ६ फिट लामो ३ फिट चौडा जस्ता पाटा सिजिआइ शीट ५-६ थानलाई एकमुष्ट डोरीले बाँधेर पहाडतिरका धनकुटा, हिले, बसन्तपुर, संखुवासभाको चैनपुर, तेह्रथुमको म्याग्लुङसम्म लान्थे। धरान सम्झेँ कि यस्तो दृश्य सम्झिहाल्छु।
सडक बनेपछि धरानबाट यस्तो टल्काइ दृश्य देख्न हराएको होला। मेरो मानसपटलमा भने ताजा र मोहक दृश्यको रूपमा नै छ। पुरानो यादले तान्यो मलाई धरानतिर।
म साइकलमा यात्रा गर्न रूचाउने मान्छे। जाने निधो गरेपछि त्यहाँका साइक्लिस्ट को को छन् भनी सोधखोज गर्न लागेँ। बिजोयसँग सम्पर्क भयो। उसले धरानको साइकल यात्रामा मलाई लोकल गाइड बनी साथ दिने एक जना खोजिदिने भयो। मैले कुन्दनलाई आफ्नो यात्राको कार्यक्रम सुनाएँ। ऊ पनि निक्कै उत्साहित भयो।
नहोस् पनि किन?
एक अभिन्न, प्रिय बालसखा उसको सहरमा उसलाई भेट्न आउन खोज्दैछ र त्यही बेला साइकलमा पुरानो याद ताजा गराउन धरानको र वरिपरिको फेरो मार्छु भन्दैछ।
अंग्रेजी नयाँ वर्ष मनाएर जाने मन भयो। जनवरी २, २०२२ मा विराटनगर उडेर जाने टिकट लिएँ। काठमाडौंबाट एक्लै जाने भएकाले जाने दिन तथा अरू तयारीका लागि अरूसँग कुरो मिलाउनुपर्ने थिएन। खाली परिवारसँग मात्र मिलाउनु थियो।
योभन्दा पहिले फाप्लु पनि यस्तै प्रकृतिको यात्रा गरिसकेकाले यात्रा तयारीमा अभ्यस्तता भइसकेको थियो। यसो भनूँ आच्छ्युँ खाएँ, बाँच्छ्युँ खाएँ झुसे बारूलो भनेझैं फाप्लुजस्तो हिमाली भेग साइकलमा यात्रा गरिसकेको हुँदा धरान यात्रा के नै गाह्रो होला र भन्ने अनुमान गरेँ।
बुद्ध एयरको जहाजबाट ५० मिनेट उडेर साढे ४ बजे विराटनगरमा उत्रिएँ। साइकलमै नै धरान जाने भने पनि समय घर्केकाले एक भ्यानमा चढेँ। भ्यानमा अरू दुई जना थिए धरान जाने यात्रु। एक जना थिए लिम्बू थरका अवकाशित ब्रिटिस लाहुरे। गफगाफ चल्यो। धरानमै घरबास गरी बसेका रहेछन्। काठमाडौंबाट ओखतिमुलो गरी फर्किँदै गरेका उनी तेह्रथुममा जन्मेर लाहुरे भई देश खाई शेष परेपछि धरानमा जीवन थन्क्याउने मेलोमेसो मिलाएका रहेछन्।
कुन्दनसँग झन्डै ३३ वर्ष पछिको भेट थियो यो। धरान घुम्नु भनेको नितान्त नयाँ ठाउँ घुम्नु थिएन मेरा लागि। ४७ वर्ष र ३० वर्षअघिको सम्झना गर्दै अहिले कस्तो भएछ भनी तुलनामा रमाउनु वा दिक्किनु थियो। त्यही नै गर्ने गरी पहिलो दिन धरान वरिपरि घुमघाम गर्ने योजना बनाएर एक्लै निस्किएँ।
कुनै रहस्यमय भनिएको फिल्म हेर्दा अब के होला भन्ने जिज्ञासा लागेझैं भयो।
मेरो पहिलो जिज्ञासा थियो — चतरालाइनको स्कुल तथा विजयपुर डाँडाका मन्दिरहरू।
सबभन्दा पहिले सिधै विजयपुर डाँडामा रहेको दन्तकाली मन्दिर र बुढा सुब्बा पुगेँ। दन्तकाली मन्दिर धरान सहरको केन्द्रबाट करिब तीन किलोमिटर टाढा रहेको विजयपुरमा छ। अहिले यो स्थान पुग्न राम्रो कालोपत्रे सडक बनिसकेको छ। त्यति बेला पैदल यात्राको विकल्प थिएन।
मन्दिर परिसर खासै फरक नपरे पनि वरिपरि बस्तीहरू निकै बाक्लो पाएँ। जंगल अति नै पातलिएको वा हराइएको देखेँ। मन्दिर परिसरमा ठूला ठूला रूखहरू शोभायमान रहेकै छन्।
धरान एक बजारबाट एक उपमहानगरपालिकाको हैसियतमा उक्लिएको छ। पूर्वी नेपालको पहाड सकिएर तराई सुरू हुँदा पहाडियाहरू सरेर बसेको यो पुरानो ठूलै बस्ती रहेको इतिहासले बताउँछ। बिक्रम सम्वत् २०१५ मै नेपालको चौथो नगरको हैसियत पाएको रहेछ यसले। म ४७ वर्षअघि धरान बस्दै यो नगर पञ्चायत थियो। धरानमा मुलुकको पूर्वी भेगका युवाहरूलाई ब्रिटिस सेनामा भर्ती गर्ने केन्द्र २०२० सालतिरै स्थापित भइसकेको थियो। यो भर्ती केन्द्रलाई 'घोपा क्याम्प' भनेर चिनिन्थ्यो। हाल सो क्याम्प रहेको स्थानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको रहेछ।
दन्तकाली मन्दिरबाट फर्केपछि भानु चोकतिरको माहोल हेर्न मन लाग्यो।
त्यहाँ पुग्दा ४७ वर्षअघि कोल्ड ड्रिंकका सानासाना पसलहरूमा गोर्खा भूतपूर्व सैनिकहरू बियर तान्दै बस्ने गरेको दृश्य याद आयो। त्यति बेला उनीहरूलाई देखेपछि कस्तो मस्ती गरिराखेका भन्ने मनमा आउँथ्यो। त्यति बेला मेरो त न उमेर पुगेको थियो न पैसा नै थियो बियर पिउन।
त्यसपछि म सिधै चतरालाइनको पब्लिक स्कुल हेर्न गएँ जहाँ मैले तीन महिना पढेको थिएँ। मानिसलाई पहिलाका सम्झनासँग यदि दु:खदायी थिएनन् भने गाँसिन पाउँदा अति खुसी लाग्छ, त्यो मलाई पलपलमा भइरह्यो धरान हुँदासम्म।
त्यति बेला चतरा जाने बस यहीँबाट छुट्ने हुँदा नाम नै चतरालाइन रहेको रहेछ। स्वाभाविक रूपमा अहिले बाटोको अवस्था राम्रो भएछ। अरू कुरा लामो समयको अन्तराल बाक्लो धुलोको तह बनेर विस्मृतिले छोपिएछ।
त्यसपछि छाता चोकबाट माथितिर लागेँ। सय मिटरमाथि पुगेपछि कुन्दनको जन्मघर पुगिन्छ, बाटो छेउमै छ। ढुंगेल प्रेसको सम्झना आयो मलाई ४७ वर्ष अगाडिको। अहिले त्यो प्रेस चालु देखिन।
कुन्दनको घर काठको थियो, राम्रो थियो। घरको रङ अलि खुइलिएको निलो रङको भएको सम्झना छ।
कोठामा जान बार्दलीबाट बाटो राखिएको थियो। त्यो घर २०४५ सालको भूकम्पले भत्काएछ र त्यहाँ नयाँ घर बनाएछन्। २०४५ भदौ ५ गते बिहान सबेरै गएको ६.९ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु नजिककैको उदयपुर जिल्ला रहेकाले यहाँ धेरै क्षति भएको थियो।
त्यसपछि नेपाल बैंक रहेको भवन हेर्न गएँ। त्यहाँबाट छड्के बाटोतिर लागेँ। यो सडकका छेउछाउका सुनचाँदीका गहना पसल हेर्दै, पुरानो दिन सम्झिँदै पुरानो बजारतिर मोडिएर ओरालो लागेर भानुचोक हुँदै बिपी अस्पताल पुगेँ।
साथीसँग लामो अन्तरालमा भेट्न पाउँदा सारै मज्जा आउने। त्यसैले भनिएको होला, अमृतम् प्रिय दर्शनम्।
सुत्ने व्यवस्था बिपी अस्पतालकै पाहुना गृहमा मिलाए कुन्दनले। अति व्यवस्थित रहेछ। पाहुना गृहलाई होटलको स्तरसँग दाँज्ने हो भने झन्डै चारतारे हाराहारीमा आउने खालको। सयौं रोपनी जमिनमा फैलिएको छ यो अस्पताल। हरियाली प्रशस्त, चौर पनि ठूलो, चराचुरूंगीको आवाज सुनिने, गाडीको आवाज त्यति नआउने। रात आरामसँग काटियो। मिठो खाना अनि घनिष्ठ साथीसँग पुनर्मिलन धरान बसाइ बडो सुखद रहेको मनले दोहोर्याइरह्यो।
यो अस्पताल भारतीय सहयोगमा खुल्ने भयो भन्दा धरानका मात्र होइन, पूर्वी नेपाल नै अति खुसी भएको थियो। अस्पताल निकै प्रतिष्ठित थियो स्वास्थ्य सेवा दिन मात्र होइन, डाक्टर तथा अन्य स्वास्थ्यसेवीहरू उत्पादन गर्नमा। तर राजनैतिक हस्तक्षेपले यो अस्पताललाई पनि चिलको पन्जाले झैं चरप्प अँठ्यायो। त्यसैले अस्पतालको अवस्था ओरालो बाटोमा छ।
धरानमा आजभोलि थरीथरीका कफी पसल खुलेछन्। त्यसमध्ये एउटा रोजियो। बिहानै बिजोय आए सबै व्यवस्था मिलाउन। बिजोय र उनका दुइ साथी अनि साइकलको पथप्रदर्शकसँग भोकको सातो जाने गरी ब्रेकफास्ट गरियो। पथ प्रदर्शनका लागि उनले धरानकै नामुद साइकले अनिशलाई मनाएका रहेछन्। अनिशले एक जना साथी पनि ल्याएका थिए उनकै उमेरका। म त अब राजाले वा नेताले झैं अगाडि पछाडि मानिस राखेर पो धरानको सेरोफेरो घुम्ने भएँ भनेर दंग।
साथी/गाइड बन्न आएका उनीहरू दुई जना २० / २२ वर्ष जतिका युवाहरू, अनि म ५० नाघेको जवान अधवैंसे। ब्रेकफास्ट खाइसकेपछि बिजोयको समूहले बिदा गरे हामीलाई।
म हर्षित थिएँ बिजोयको बन्दोबस्तीबाट। हामी चतरातिर लाग्यौं। ४७ वर्षअघि चतरा जान गाह्रो भएको सम्झिन्छु बाटो खराब भएकाले। गाडी बाटोमा फसेको खबर सुन्न परिरहन्थ्यो। त्यसैले त्यो बेला चतरा जान पाएको थिइनँ। चतरा जान धरानबाट सिधैभन्दा नहरको बाटो बढी चलनचल्तीमा थियो। अहिले धरानबाटै राम्रो बाटो बनेछ।
बाटोमा आयो खोलामाथि लामो पुल। अघि बढ्यौं, सडक कतै पिच कतै ग्राभेल। अनि कतै जंगल कतै बस्ती। घरहरू आकर्षक, पूरै काठका। पहिलो तल्लामा बार्दली अनि फूलका गमला लहरै सजाइएका। यस खालका घर सिन्धुलीको भिमानदेखि गाईघाट, बसाह, चतरा हुँदै धरान छेउछाउसम्मै देखेको छु मैले। अर्थात भित्री मधेसमा यस्तो घर निकै छन्। काठ प्रशस्त पाइएर त होला। बार्दलीमा वा घर वरिपरि गमलामा फूल सिँगार्ने मन र कला दार्जिलिङ्गे देखासिकी रे। साइकल यात्राको स्वाद नै यस्ता रमाइला दृश्य, परिवेश नजिकबाट पान गर्न पाइने, नपुगे रोकिएर नै छुन, गफिन पाइने।
चतरा मेरो लागि नौलो ठाउँ थियो। त्यसकारण कस्तो होला भन्ने कौतुहल थियो। चतराको बजार पुगेपछि बाटो बाँडिन्छ। मध्यपहाडी लोकमार्ग पश्चिमतिर लाग्छ अनि लाग्छ बराह क्षेत्रको बाटो उत्तरतिर। मध्यपहाडी लोकमार्गमा कोशी खोलामाथि पुल बनेको छ। हामी उत्तर लाग्यौं। बाटो कच्ची। मात्र ५ किलोमिटर चलाएपछि बराह क्षेत्र पुगियो। वातावरण भजनले गुन्जायमान थियो। बराहक्षेत्र महत्त्वपूर्ण तीर्थस्थल हुनाले यस्तो हुने नै भयो।
बराहक्षेत्र नेपालको चार धाममध्ये एक मानिन्छ। मन्दिर शिखर शैलीका, चार पाँच वटा हुँदा हुन्, गनिएनछ। पूजा सरजामका पसल लश्करै थिए। सानो सानो चिया पसल निक्कै थिए। नेपालमा जहाँ गए पनि चिया पसल भेटिन्छ। चियाको तलतल र भोक मेटाउन पाइहालिने दुर्गम ठाउँमा जाँदा समेत। एउटा पसलमा पस्यौं र अँगेनामै बसेर चिया र सेल रोटी खाइयो, खुब मज्जा आयो।
फोटो पनि निक्कै खिचियो, कोशी किनारमा सम्झनाका लागि। कोशी नदीमा सानो र्याफ्टिङ बोट पनि देखियो। खोटाङको कुन्नि कुन ठाउँसम्म जान्छ रे। केपी ओलीले पानी जहाज चलाउँछु भनेको यही होला भनेर ठट्टा गरियो।
चतराबाट फर्किँदा धराननजिकै बाटोमा एक केशवती महिलासँग पनि फोटो खिचियो सम्झनाका लागि। उनलाई केशवती किन भनेको भने केशको मामिलामा सम्झनै पर्ने, दृष्टान्त दिइदिई सुनाउन हुने- घुँडाभन्दा तल पिँडौंलासम्मै पुगेको रहेछ केश। स्याम्पूको त दोहोलो नै काढिन्छ होला भनेर जिस्क्याइयो पनि।
चतरा, बराह क्षेत्रको यात्रा रमाइलो गरी बिपी अस्पताल आइपुगेपछि टुंगियो। यो यात्राको रहर मनमा म हरेक पटक धरान जाँदा यो ठाउँ जान मन लागे पनि मौका जुर्न सकेको थिएन।
भेडेटार धरान घुम्न आउने हरेक पर्यटकको एक गन्तव्य हुन्छ। म किन छाड्थेँ! ४७ वर्षअघि सडक बनेको थिएन, जाने कुरै भएन। ३० वर्षअघि भने भेडेटार हुँदै धनकुटा, हिले र बसन्तपुरसम्मै पुगेको थिएँ। यसपालि मेरो सोचाइ हिलेसम्म साइकलमा जाने थियो। हिलेमा ३ हप्ता बसेको सम्झनाले मलाई तानेको थियो। त्यहाँको तोङ्बाले मोहनी लाएकै हो।
बिहानै ब्रेकफास्ट खाएर तीन जना भेडेटारतिर उक्लिन लाग्यौं। फुस्रे पुगेपछि पुरानो बस्तीलाई बायाँ पार्दै नयाँ बाटो हुँदै उकालो लागियो। फुस्रेमा पहिले सेनाको ब्यारेक पनि थियो। मैले एक रात बिताएको पनि हुँ ब्यारेकमा सेनाको अफिसर हुँदा। भेडेटारको बाटोमा होटल र रेस्टुरेन्टहरू अनगिन्ती बनेछन्, साथै नयाँ पनि बन्दै थिए।
उहिले नेपालको जनसंख्या थियो एक करोड। अहिले झन्डै ३ करोड पुगेको छ। मानिसको संख्या र आवश्यकता तथा मन बढेपछि मानिस बढी पौरखी बन्नै पर्यो। अनि पहाडको भित्ता फोर्न, कोपर्नै पर्यो। वातावरणीय सन्तुलन कसरी गर्ने भन्ने ख्याल राख्नै पर्यो। दिगो विकासको अवधारणा, आजको आवश्यकता पूरा गर्ने तर भविष्यका सन्ततिको आवश्यकता पूरा गर्न चाहिने पर्यावरण जोगाउने मन्त्र अँगाल्नै पर्यो। अचेल नेपाली पनि सचेत हुँदै गएझैं लाग्छ यस मामिलामा।
भेडेटार डाँडामा छ, शीतल हुन्छ। त्यसैले गर्मीमा विराटनगर, जोगबनी र भारतको फार्बेसगन्जदेखिका मानिस आउँदा रहेछन् शीतल खान। अर्थात् भेडेटार भएको छ गर्मीको हिल स्टेसन।
भेडेटार जान फुस्रे कटेपछि उकालो नै उकालो। सायद साइकलेलाई उकालो अलि बढी नै हेक्का हुन्छ गाह्रो हुने भएकाले। आधा बाटो पुगेपछि अलि तेर्सो बाटो आयो। अलिकति ओरालो पनि आयो, मन भुलाउन ललिपप दिएझैं बच्चालाई। तुरून्तै उकालो सुरू भयो। फेरि उही बलपूर्वक पेडल घुमाउन पर्यो।
बाटोमा रूख टन्न भएकाले अत्यासलाग्दो चाहिँ भएन। बेलायत सरकारले बनाइदिएको यो बाटो हालसम्म पनि राम्रै अवस्थामा छ।
नढाँटी भन्ने हो भने यो बाटो साइकलका लागि उपयुक्त होइन रहेछ। बाह्रपांग्रे, चारपांग्रे र दुईपांग्रेले ओकलेको बाक्लो धुवाँ छिटो छिटो सास फेर्दा सिधै फोक्सोमा प्रवेश, डाँडाको शुद्ध हावा खानु त कताकता धुवाँ पो खाइरहनु पर्यो। तैपनि अघि त बढ्नु नै थियो, भेडेटार नपुगुन्जेल जतिसुकै असिनपसिन भए पनि। पानी पिउँदै, पसिनाबाट निस्केको पानीको क्षतिपूर्ति गर्दै बढियो अगाडि। पुग्न लाग्दा मज्जाको घुम्ती रहेछ, सात घुम्ती जस्तै। माथि भेडेटार भनेर लेखिएको ठाउँमा रोकिएर फोटो सेसन चलाइयो। आखिर अरूलाई देखाउन र आफ्नै स्मृति ताजा गर्न फोटो चाहिने नै हो।
१४२० मिटरको उचाइ रहेछ भेडेटारको। भेडेटारमा निकै बाक्लो बस्ती बसिसकेछ, जताततै घरैघर अनि खाना पसल। मेरो आँखाले डाँडामाथिको भ्युटावर देख्यो। एकछिन मनमनै गाली गरेँ नीति बनाउने र कार्यान्वयन गर्नेलाई। भेडेटार हुस्सुका लागि प्रख्यात छ, खासगरी वर्षा याममा। हुस्सु नलाग्दा अग्लो ठाउँबाट त्यसै दृश्य देखिन्छ। हुस्सु लागे जति अग्लो भ्युटावर भए पनि केही देखिने होइन। पहिले आउँदा हुस्सु थियो। अनि तोङ्बा तानिएको थियो। यो पटक जाडो याम भएकाले हुस्सु थिएन।
भेडेटार पुगुन्जेल भुँडी रित्तिइसकेको थियो। अनिशले एउटा रेस्टुरेन्टमा लगे। थुक्पा यहाँको सबैले रूचाउने परिकार भन्ने थाहा पाइयो। बिहान, दिउँसो र बेलुका पनि खाएको देखियो। मैले नि थुक्पा नै खाएँ। थुक्पा निक्कै मिठो थियो। फरक स्वादको। यहाँसम्म आउँदा धुलो र धुवाँ प्रशस्तै खाइयो। धुलोधुवाँ खाँदै हिले जाने काम नगर्नु नै जाती, यस्तो विचार गरेर हिले जाने कार्यक्रम हापियो, संशोधन गरियो।
बरू सिंगल ट्रयाकको बाटो फर्कने सोच बनाइयो। १४२० मिटरको उचाइबाट ३४९ मिटरको धरानसम्म डाउनहिल साइक्लिङ गर्ने निर्णय गरियो। यस्तै बाटो रोज्ने हो साइकलेहरूले। तर बाहिरबाट आएकोलाई यस्तो बाटो थाहा हुने कुरो भएन। अनिश स्थानीय हुन् र प्रख्यात साइकले पनि। त्यही कारण मलाई यो ट्रयाकबाट साइकल चलाउने अवसर मिल्यो।
यो ट्रयाकमा विविधता थियो। बाटो कच्ची, ससाना बस्ती भएको, वर्षाको पानीले जमिन काटेको, ससाना झाडी, मोडहरू नि निक्कै। अनिशले भ्लग बनाउने सोचेछन् यो बाटोबाट झर्दाको। उनी कमेन्ट्रीसहित भिडिओ खिच्दै कुदाइरहेका थिए। एक ठाउँमा त डरलाग्दो पहिरो रहेछ। आफ्नै जिउ सम्हालेर पहिरो तर्न पनि हम्मेहम्मे पर्ने। मेरो साइकल त अनिशले बोकेर तारिदिए।
यही ट्रयाकमा एक रिसोर्ट पनि भर्खर खुलेको रहेछ, धराने जनतालाई रमाइलो गराउन। हामी केही बेर रोकिएर रमायौं। झन्डै ५ बजेतिर धरान पुगियो। यात्रा रमाइलो र उपलब्धिमूलक रह्यो।
बिजोयले एक दिन यात्रा लम्ब्याउन अनुरोध गरे। कुनै अर्जेन्ट फोन आउने अवस्था थिएन। कुनै कामको डेडलाइन पनि थिएन। दस-पाँच अफिस पनि थिएन। मैले हुन्छ भनेँ। बिजोय र उनको साथीहरूले बिहानैदेखि घुमघाम र खानपिनको कार्यक्रम राखेछन्। बिजोयसँग सुवास, गोभिन अनि अमित पनि साथमा थिए। बिहानको ब्रेकफास्ट थुक्पा, दिनभर ककटेल र पोर्क सेकुवा खायौं। स्थानीय मानिससँग स्थानीय परिकार, भरपुर रमाइलो।
समग्रमा, धरान यात्राको समीक्षा गर्दा कुन्दनले गर्दा धरानको यात्रा जुर्यो भने बिजोयले यो यात्रा सफल गर्न भूमिका खेले। धरानको विगत र वर्तमानको भिन्नता नजिकैबाट नियाल्न पाएँ। बाल्यकालमा बसेको ठाउँ अहिले कस्तो भयो होला भन्ने खुल्दुली थियो, मेट्न पाइयो। नयाँ ठाउँ पनि हेरियो, ठाउँ हेर्न सबभन्दा प्रभावकारी साधनमा। कुन्दन र बिजोयल नबिर्सिने गुन लगाए!
मैले त्यो गुन तिर्ने मौका पाउँला कि नपाउँला!