धुलिखेलको हजार सिँढी चढेर उत्तरपट्टि नजर लाउँदा हिमश्रृंखलाका दृष्यहरू आकाश गंगाको नीलो खास्टो ओढेर खिस्स हाँसेको देख्दा कम्ती रोमाञ्चित भइन्नथ्यो।
यो देख्दा घुम्न जाऊँ धुलिखेल भन्ने गीतको बोलले मेरो ध्यान यसैगरी प्रकृतिको रंगीन तस्बिरतिर मोडिदिएको थियो।
सुनेको भन्दा देखेको, देखेकोभन्दा प्रत्यक्ष अनुभूति गरेको रोमाञ्चकताको गन्तव्यमा पुग्न पोखरीबाट उठेर नदीसँगै बहनु पर्दो रहेछ। प्रकृतिसँगै मेल गराउँदै लैजानु जीवनको एउटा गति पनि हो। जीवन भन्नु नै यात्रा, अनुभव र भोगाइहरूको संगालो हो।
जीवनलाई मिठो बनाउने भनेको नै नयाँ नयाँ अनुभव र भोगाइले नै हो। जागिरको सिलसिलामा १७ वर्षसम्म धुलिखेलमै बितेकोले उपत्यका छाडेर अन्यत्र जिल्लाको अनुभव संगाल्न सकेको थिइनँ।
गोरखा जिल्लामा पाइला टेक्ना साथ ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहरको रूपमा रहेको गोरखा जिल्लाको चिनारी गराउने गोरखा दरबार, गोखरकाली, गोखनाथ र मनकामना दर्शन मेरो पहिलो नजरमा परेको थियो।
मनकामनाको आमनेसामने दक्षिणपट्टि अग्ला डाँडामा रहेका उपरदांगगढी र इच्छाकामना मन्दिरको चर्चाले मेरो ध्यान यतातिर आकृष्ट गर्यो।
२०७९ साल चैत महिनाको दोस्रो हप्ता। बिहान ६:३० बजे कार्यालयका हामी ७ जना सहकर्मी साथीहरू रञ्जु वाग्ले, शर्मिला पोखरेल तिमल्सिना, दीपा थापा मगर, राजु भुसाल, नारायणी खरेल र चालक प्रकाश महर्जन समेत इच्छाकामनातिर शुभसाइत गर्यौं। विशेष ठाउँको अवलोकन र अनुभूति लिने उत्सुकताले एक प्रकारले हामी पुलकित भएका थियौं।
बेनिघाटदेखि फिस्लिङसम्मको झण्डै २० किमीको दूरी पार गर्दा बहेको चिसो सिरेटोको समेत पत्तै भएन।
फिस्लिङ पुगेपछि काठमाडौंतिर बाट आउँदा बायाँ मोडिन पर्छ इच्छाकामना जान। यहाँदेखि नै उकालो उक्लिन सुरू हुन्छ।
फिस्लिङबाट करिब ८ किमी घेग्रानको उकालो चढेपछि बल्ल पिच भेट्न सकियो। पिचबाटो टेकेपछि भने पर-परका डाँडाकाँडासम्म नजर लाउँदा यात्रा नै नटुंगिए हुन्थ्यो भन्ने लाग्यो।
ठाउँ-ठाउँमा सुन्तलाको व्यावसायिक खेती गरिएको रहेछ। यहाँका किसान तरकारी खेतीतिर पनि उत्तिकै आकर्षित भएका पाइयो।
फिस्लिङबाट थोरै माथि उक्लिएर बोटबाट टिप्दाटिप्दैकोे सुन्तला घर घरमा कोसेलीको रूपमा समेत लिएर जाँदा सबैको जिब्रोमा झुण्डिने अवसर पाएको छ इच्छाकामनाको सुन्तलाले पनि।
मुना पलाउँदै गरेका हरिया रूख बोट विरूवा, गगनचुम्बी हिमालबाट बहेर आउने चिसोसँगै बहेली खेल्दा आमाको न्यानो काखमा खेलौना लिएर हर्षित भएको अवोध बालकजस्तै भयौं।
गुरूजीले गाडी रोकेपछि मात्रै थाहा भयो इच्छाकामनाको छेउमै आइपुगेछौं। हाम्रो यात्रा विश्राम हुँदा पेटका अंगप्रत्यंगले आफ्नो यात्रा सुरू गर्न थाले। इच्छाकामनाको पूजाआजा गरी दर्शन गरेपछि मात्रै पेट पूजा गर्ने सोचले वरिपरि नजर लाउँदा एउटा मात्र पसल देख्यौं। त्यही पसले कहाँ लोकल कुखुरा र ढिडो सहितको खाना तयार गर्न लगाइयो। एउटा लोकल भालेको २ हजार पाँच सय पर्ने यहाँको चलनचल्तीको मूल्य रहेछ।
सिँढीको थोरै उकालो छाडेर भर्खरै मात्रै ट्र्याक खोलिएको तेर्सोतेर्सै मोटरबाटो हुँदै इच्छाकामनातिर अघि बढ्यौं। सुरूमै अगाडि झ्याम्म परेको रूखको फेदमा चारैतिर पर्खालले घेरिएकोे शिवालयको मन्दिर रहेछ।
भक्तजनहरू यिनै शिवालयको पूजाआजा गरेरमात्र इच्छाकामनाको मन्दिरतिर प्रवेश गर्न अघि बढ्दा रहेछन्।
पुनर्निर्माणको अन्तिम चरणमा रहेको इच्छाकामना मन्दिरलाई भक्तपुरका कालिगढबाट झ्यालढोका र टुँडालहरूमा आकर्षक बुटाहरू कुद्न लगाइ काष्ठकलाले झकिझकाउ पार्न लागिएको रहेछ।
दुई तले छानो भएको यो मन्दिर निर्माणको क्रममा रहेकाले यसभित्र रहेकी देवीलाई थोरै अगाडि कुटीमा सारिएको रहेछ।
यिनको पूजाआजापछि यसै मन्दिरको परिसरमा रहेका गणेश भिमसेनलगायत अरू देवीदेवताको पनि दर्शन गरियो।
यो मन्दिर रहेको डाँडालाई कफेक डाँडा भनिँदो रहेछ। यसको ठ्याक्कै उत्तरपट्टि रहेको पारिलो डाँडामा मनकाना मन्दिरलाई प्रष्ट देख्न सकिन्छ। मनकामना, गोखकाली तथा तनहुँकी छिम्केश्वरी र सत्रसय फाँटकी देवी, इच्छाकामनाका ७ दिदी बहिनीमध्येका हुन् भन्ने जनविश्वास रहिआएको छ। बाँकी २ बहिनी मुग्लिनमा हाँसी खेली नुहाउँदैमा उज्यालो भएको पत्तो नपाउँदा गन्तव्यमा पुग्न नसकेर त्यही अलप भएछन्।
जनश्रुति अनुसार मनकाना र इच्छाकामना दिदी बहिनीमाको ठूलो भन्ने घमण्ड रहेछ। यसै भनाभनमा इच्छाकामनाले मनकामनालाई तँकहाँ आउने भक्तजनले सुंगुरको बली चढाउन भनिछन् रे। मनकामनाले तँलाई पनि भक्तहरूले मेरो जतिको श्रद्धा र भक्ति नगरून् भनेर इच्छाकामनालाई सरापिछन्। यातायात र प्रचार-प्रसारको अभावमा दर्शनार्थीहरूको आवगमनमा वृद्धि हुन नसक्दा मनकामना जत्तिकै महत्व बोकेर पनि उत्कृष्ट पर्यटकीय गन्तव्य बोकेको इच्छाकामना ओझेलमा परेको भनेर किंवदन्तीमा विश्वास गर्नेहरूलाई यस भनाइले बल पुगेको देखिन्छ।
पुजारी गुरूङका अनुसार धेरै वर्षअघि गाई-बाख्रा हराउन थालेपछि गोठालाले भेटेको मूर्तिमा पूजाआजा गर्न सुरू गर्न गरियो। त्यसपछि गाई बाख्रा हराउन छाड्यो। त्यसै बेलाबाट पूजाआजा सुरू गर्न थालेदेखि अद्यपि यो चलन चल्दै आएको छ।
ऐतिहासिक कथन अनुसार सेनवंशी राज्य मकवानपुरको उत्तरी किल्लाको रूपमा रहेको इच्छाकामना सम्भवत पाल्पाली राजा मणिमुकुन्दसेनकै पालामा प्रतिस्थापन हुन गएको हो भन्ने छ।
हरेक वर्षको मंसिर महिनाको ठूलो एकादशी पछिको पञ्चमी तिथिमा इच्छाकामनामा मेला लाग्ने गर्दछ। रातभरि जाग्राम बसी बिहानीपख बली र घण्ट चढाइ पूजा गर्दा भक्तहरूको मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। दर्शन गर्न आउने भक्तहरूको मनोकांक्षा पूरा गरिदिने भएकोले यी देवीलाई इच्छाकामना भनिएको भन्ने जनमत छ।
यिनै देवीको महत्वलाई शिरोधार्य गर्दै इच्छाकामना गाउँपालिकाले यस मन्दिरमा मेला लाग्ने दिनमा सार्वजनिक बिदा दिँदै आएको छ।
१८०० मिटर उचाइमा रहेको यस मन्दिरबाट आठ वटा छिमेकी जिल्ला अवलोकन गर्नुको साथै बाह्रै महिना चिसो हुने भएकोले तराईबासीको लागि गर्मी र शितलहर छल्ने रमणीय ठाउँ पनि रहेछ।
यहाँबाट देखिने प्राकृतिक छटाहरू क्यामरामा कैद गर्न आँखाहरूलाई परपरसम्म डुल्न पठाइदिएँ।
अलिक पर पश्चिमोत्तर दिशामा रहेको चितवनको पुरानो सदरमुकाम उपरदांगगढी पाथीभरा देवीलाई साक्षी राखेर आन्तरिक पर्यटकलाई स्वागत गर्न व्यस्त थियो। समय अभावले हामीले त्यहाँको स्वागत अभिवादन लिन सकेनौं।
जिन्दगीको सबै खुसी एकैपटक समेट्न सकिँदैन पनि। उत्तरपट्टि देखिने गणेश, मनास्लु हिमाल तुँवालो भित्रको प्रतिबिम्वमा बादलका टुक्राले अर्को घुम्टो थपिदिएर निस्पट तुल्याइदिएको थियो। सधैंजसो बसन्त ऋतुमा राताम्मे देखिने वरिपरिका गुराँसका बोटहरूमा राता फूल फुलेको यदाकदा देखिन्थे। बसन्त ऋतुमा देखिने यी फूलहरू किन खुलेर हाँस्न नसकेका होलान्! मानिसले बोट बिरूवाबीचको अन्तर सम्बन्धलाई बुझ्न नसकेरै पो हो कि! दीगो विकासको सचेतनालाई अघि बढाउन सकिएन भने यसबाट सृजित हुने धुलो, धुवा बाढी पहिरोले बाँकी रहेका यी अवशेष पनि डाइनासरजस्तै लोप भएर जाने कुरामा दुई मत छैन।
प्रकृतिसंँग प्रेम गरेको अभिनयसँगै ओठमा मुस्कान र हातमा एक दुई थुंगा गुराँसाका फूलका गुच्छा लिएर आफूलाई क्यामरामा कैद गर्यौं। टिप्नेहरूले भन्दा हेर्नेहरूले बेसी माया गर्छन रे भन्ने सुनेको थिएँ। त्यसैले जथाभावी गुराँस टिपेर जंगलको शोभालाई कुरूप बनाउने काम गरिएन। लुम्लेको हावाले भनेझैं यहाँको हावाले पनि उसैगरी मन मष्तिस्क छोयो।
प्रकृतिले आँसु पिएर पनि हाँस्न सिकाउँछ भन्थे आज यो ठाउँमा आएर यस्तै अनुभूत गर्न सकियो।
इच्छाकामनासम्म केबुलकार लैजाने चर्चा पनि रहेछ। इच्छाकामना मन्दिरसम्मै पुग्ने १८ किमी ग्राभेल सडकमा पिच गर्न सकिएमा फिस्लिङबाट पौने घण्टाको दूरीमा रहेको इच्छाकामना यात्राले छेउछाउका मौसम अनुसारका सुन्तला, कांक्रो, पिँडालुजस्ता स्थानीय उत्पादनले आगन्तुकका कोसेली बन्ने अवसर पाउँदा स्थानियकै आय आर्जनमा थप टेवा मिल्ने देखिन्थ्यो।
शक्तिखोरदेखि फिस्लिङसम्मको निर्माण कार्य सम्पन्न हुन अझै २ वर्ष जति लाग्ने देखिन्छ।
४७ किमी लम्बाईको यो सडक पूर्ण रूपमा पिच भएपछि चितवनबाट काठमाडौं जाने/आउने क्रममा मुग्लिङ र नारायणगढको गर्मी र शितलहर छल्दै इच्छाकामनाको समेत दर्शन गर्ने रहर फेरि जागेर आएको छ।