मलाई लाग्थ्यो मान्छेहरू किन त्यस्तो दुःख गरेर चिसोमा ठूलो झोला बोकेर स्याँ स्याँ गर्दै लौरो टेक्दै ट्रेक जान्छन्?
आफैं गएपछि थाहा भयो त्यसरी हिँड्नको मज्जा।
मलाई पहिलादेखि नै ट्रेक जाने मन थियो अहिलेसम्म कहीँ गएको थिइनँ। धेरैचोटि योजना बनाइयो तर विभिन्न कारणले पूरा हुन सकेको थिएन। यो पालि त्यस्तो धेरै योजना गरेको त होइन। मेरो भाइ, मामाको छोरा किरण अधिकारीसँग भेट भएको बेलामा गैदिम् कतै भन्ने कुरा हुँदाहुँदै बनेको योजना। तर यहीँ जाने भन्ने टुंगो भाएको थिएन।
दुवै जनाको पहिलो ट्रेक भएकोले टाढा नजाम् भनेर छोटो ट्रेक छान्ने क्रममा गोसाइँकुण्ड जाने निधो भयो। गोसाइँकुण्डमा शिव भगवानले विष पिएको बेला खरो भएर त्रिशूलले हानेर पानी निकालेर त्यही पल्टेर आराम गरेको भन्ने मान्यता रहेछ।
मौसम खुला भयो भने त्यही कुण्डमा शिवजीको आकृति प्रत्यक्ष रूपमा देख्न नि सकिने रैछ रे। मुख्य त जनैपूर्णिमाको बेलामा मेला लाग्ने ठाउँ हो तर सुन्दर ठाउँ जुनसुकै बेला राम्रो देखिन्छ। घुम्न, हेर्न, मनन गर्न, सधैं रमाइलो हुन्छ। त्यही भएर अहिले मेरो परीक्षा सकिएको भाइको पनि अनि मौसम पनि ठिक्क त्यसैले जाने निधो गरियो।
पहिलो दिन चैत १४ गते
हामीलाई त्यो दिन काठमाडौंबाट हिँडेर सकेसम्म माथि गएर बस्न थियो। भाइ मसँगै बस्यो, हामी बिहान ५ बजेपछि कोटेश्वर मेरो कोठाबाट पठाओ गरेर ५:४० मा माछापोखरी पुगेका थियौं। रसुवागढीसम्म जाने बस ठिक्क रैछ, हामीलाई धुन्चेसम्म मात्रै जान थियो।
यात्रुको खोजीमा हामीलाई तानातान गर्दै थिए बसका स्टाफहरू जुन अगाडि जान्छ त्यसैमा जाने भनेर एउटा बसमा चढ्यौं। ६९० रुपैयाँ रैछ एक जनाको धुन्चे सम्म। गाडी हिँड्न लाग्यो करिब १० बजे हामी रसुवाको घुम्तीबजार पुग्यौं, त्यहाँ खाना खानलाई बस रोकियो। हिमाली भेगको चिसो चिसो मौसम सुरू भइसकेको थियो। खाना खाएर हामी त्यहाँबाट हिड्यौं। १२ बजेतिर धुन्चे पुग्नै लाग्दा लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेशको लागि टिकट काट्न पर्ने रैछ। एक जना नेपालीको एक सय रुपैयाँ।
हाम्रो पैदल यात्रा १२ बजे धुन्चेबाट सुरू भयो। सुरूमा तेर्सो नै थियो अलिपरसम्म। अलि अगाडि पुगेपछि माथिबाट झर्दै गरेको दुई जना अंकलहरूसँग भेट भयो। उहाँहरू पनि गोसाइँकुण्ड पुगेर फर्किनु भएको रैछ, तीन दिनमा।
हामी उकालो लाग्दै गर्दा माथिबाट झर्ने धेरै मान्छेहरूसँग भेट हुन्थ्यो सबैसँग कुरा हुन्थ्यो। कसैलाई धेरै गाह्रो भएको देखिन्थ्यो त कोही एकदम फूर्तिको साथ झर्दै हुनुहुन्थ्यो। हामी सबैसँग सल्लाह माग्दै कुरा गर्दै अगाडि बढ्दै थियौं।
जति उकालो लाग्यो त्यति नै रमाइलो हुँदै थियो त्यो घट्टेखोलाको आवाज, चराहरूको चिरबिर चिरबिर लालीगुराँसको मनमोहक दृश्य, यी सबै कुराहरूले थकान नलाग्ने बनाउँदै थिए।
हामी बस्दै, थकाइ मार्दै, फोटो खिच्दै, खाँदै, उकालो चाँडै थियौं। मिनिगोसाइँकुण्ड त्यही छेउको सानो झरना हुँदै हामी उकालो लाग्दै गर्दा एक जोडीसँग भेट भयो कुरा गर्दै जाँदा थाहा भयो कि उहाँहरू धुन्चेमा छोरीलाई जचाएर माथि चन्दनबारी जाँदै हुनुहुँदो रैछ जहाँ होटल गर्दै आउनु भएको रहेछ।
माथि जाँदै गर्दा हामीले उहाँहरूकै होटलमा बस्ने निधो गर्यौं। बाटोमा हामी कहिले फोटो खिच्न रोकिन्थ्यौं। करिब ६ बजेतिर हामी होटल ग्रीन हिलमा पुग्यौं।
६ घण्टाको लगातारको चिसो हावामा पैदल यात्रापछि थकित थियौं। दाइ त झन् आफ्नो १८ महिनाको छोरीलाई बोकेर आउनु भएको थियो। हामी सुत्नबाहेक केही गर्न नसक्ने थियौं तर दाइले हाम्रो लागि एकदम मीठो खाना तयार गर्नुभयो। खानासाथ दुवै जना निन्द्रा देवीको शरणमा पर्यौ।
दोस्रो दिन चैत १५ गते
मलाई बिहान चाँडै निन्द्राले छोड्यो, भाइलाई बोलाएँ, फ्रेस भएर दाइलाई चिया बनाउन अनुरोध गरेर चिया र बिस्कुट खाएर हाम्रो दोस्रो दिनको पदयात्रा तय गर्न लगियो।
चिया, खाना, बस्न गरेर जम्मा २००० रुपैयाँ तिरेर ७ बजे हामी गोसाइँकुण्डमा शिव भगवानको दर्शन गर्नलाई अगाडि लाग्यौं।
आजको यात्रामा हामी गोसाइँकुण्ड पुगेर फर्किने योजनाको साथ सुरू गर्यौं, अलि माथि जाँदै गर्दा लाङटाङ हिमाल देखिन थालिसकेको थियो। अझै माथि जाँदै गर्दा हिउँले ढाकेको बाटोहरू आउँदै थिए। बिहानै भएर होला चिसो हावा त्यति थिएन। आज पनि हाम्रो यात्रा फोटो खिच्दै, बाटोमा भेटेको यात्रीहरूसँग कुरा गर्दै, आराम गर्दै, खाँदै, अगाडि बढ्दै थियो।
चोलङ्गपाटी नपुग्दै बाटोको छेउछाउमा बाक्लै हिउँ देख्न सकिन्थ्यो। चोलङ्गपाटीसम्म धेरै उकालो थिएन तर पनि गाह्रो हुने नै भयो। हिँडेको तीन घण्टापछि हामी लौरीबिना पुग्यौं। त्यहाँ पुग्नभन्दा अगाडिदेखि नै बाटोभरि एकदम बाक्लो हिउँ थियो। अझ हिउँ पग्लेर बाटो हिलो पनि थियो कहीँकतै त।
लौरीबिना ३९०० मिटरको उचाइमा लाङटाङ हिमाल खुला आकाश हेर्दै खाना खाएपछि, अझै धेरैमाथि जान थियो हामीलाई।
दुई भाइको खानाको १००० तिरेर एकछिन होटलको दिदीसँग कुरा भयो, खाना-बस्नको दर चाहिँ राष्ट्रिय निकुञ्जले नै तोकेको हुन्छ रे, जग्गाको भाडा बुझाउन पर्ने रैछ तोकेकोभन्दा बढी लियो भने कारबाही पनि हुन्छ रे। त्यहाँ पुग्दा हिजो भेट भएको दुई जना साथीहरू नि पुग्नुभएको रैछ, कहिले अघि, कहिले पछि थियो उनीहरूसँगको यात्रा पनि।
अब पूरै हिउँले ढाकेको, ठाडै उकालो बाटो लाग्न पर्ने थियो हाम्रो गन्तव्य पुग्नलाई।
खुला आँखाले हेर्न नसक्ने गरी हिउँ थियो बाटोमा त्यही माथि जुत्ता चिप्लेला कि भन्ने डर त छँदैछ। जसोतसो हामी बुद्ध मन्दिरमा पुग्यौं। त्यसपछि बाटो अलि अलि तेर्सो अलि अलि उकालो थियो, हिँड्ने बाटोमा हिउँ पनि कम थियो, तर दिउँसो हुँदै गएकोले चिसो हावा चल्न सुरू भइसकेको थियो, सामुन्द्रिक सतहबाट उचाइ पनि बढ्दै थियो। त्यही सँगै टाउको दुख्न सुरू भइसकेको थियो। थकाइ लाग्ने त भइहाल्यो। २ बजे हाम्रो आँखाले पहिलो पल्ट गोसाइँकुण्ड देख्न पायो।
समुन्द्री सतहदेखि ४३८० मिटरको दूरीमा रहेको ताल अत्यन्तै सुन्दर शान्त भएर हामीलाई स्वागत गर्न बसेको थियो मौसम एकदम खुलेको थियो, राम्रो घाम लागेको थियो, तर पनि मेरो त नुहाउने सोच थिएन, भाइ चाहिँ तलदेखि नै एकचोटि त डुब्नुपर्छ दाइ भन्दै थियो। त्यति दुःख गरेर त्यस्तो पवित्र ठाउँमा पुगेपछि ननुहाइ बस्न नै सकिएन दुवै जनाले पालैपालो नुहाइयो शिवजीलाई जल चढाइयो पूजा गरियो।
त्यो पानीबाट निस्किएपछि त पूरै ज्यानको थकान टाउको, ज्यान दुखाइ सबै कुरासँगै पखलिएछ। एकदम फ्रेस भइयो।
संयोगवश हामीले गोसाइँकुण्डमा शिवको दर्शन गरेको दिन चैते दसैंको दिन रैछ। अनि एकछिन ज्यान अलि तातो हुने बेलासम्म बस्यौं। अनि त हुस्सुले गर्दा पूरै छोपियो अलिकति अगाडिको पनि केही नदेखिने गरी, हिउँ पर्न सुरू भइहाल्यो भयो।
हामीले आफैंलाई भाग्यमानी ठान्यौं। हामीले सबै घुम्दा, स्नान गर्दासम्म मज्जाले घाम लागेको थियो। राम्रोसँग कुण्ड वरिपरिको दृश्य हेर्न पाइयो।
सँगै अरू अंकलहरू हुनुहुन्थ्यो। एक जना अंकल चाहिँ २०३८ सालमा २० वर्षको हुँदा जानु भाको थियो रे, त्यो बेला बाटो छोटो थियो रे। अहिले लामो भएछ रे, सायद उहाँको उमेर बढेर बाटो नि बढेको होला। हामीले उहाँलाई अहिलेको उमेर सोध्दा आफैं हिसाब गरन भन्नुभयो।
कुण्डकै छेउको एउटा होटलमा पसेर चिया तातोपानी खाएर झर्ने कुरा भयो हाम्रो। हामीसँग प्रशस्त समय थियो तल झर्नलाई, अनि अघिल्लो दिन भेटेको मान्छेहरूको सल्लाह बमोजिम हामीले त्यहाँ नबस्ने निर्णय गरिसकेका थियौं।
राति सास फेर्न नै गारो हुन्छ रे लेक लागेर, कोही कोहीले त बान्ता नि गर्नु भएछ, धेरै गाह्रो भएछ। चिया पिएर अलि ज्यान तातो भाको महसुस गर्दै, हिउँसँगै हाम्रो तलतिरको यात्रा सुरू भयो। दुई कप चिया र पानीको ५०० रुपैयाँ तिरियो, सबै सामान धुन्चेबाट खच्चडमा कि त मान्छेले बोकेर लग्नपर्ने भएकाेले महँगो हुने रैछ।
उकालो लाग्दा देखिएका मनमोहक हिमालयका दृश्यहरू अहिले सबै हुस्सुले ढाकेको थियो, अलि अगाडिको बाटो नि देख्न मुश्किल थियो।
ओरालो झर्न झन् गाह्रो त्यही माथि हिउँमा लडिन्छ कि भन्ने डर, हामीले काठमाडौंदेखि लागेको खाजा चकलेट खाँदै झर्यौं। जाँदा जस्तो ढिला भएन किनकि हामीलाई फोटो खिच्न थिएन, फोटो खिच्ने बस्ने जस्तो मौसम पनि थिएन। करिब साढे तीन घण्टाको लगातार ओरालो झरेपछि हामी अघिल्लो दिन बसेको होटलमा नै आइपुगियो। चन्दनबरी। अघिल्लो दिनको जस्तै चियापछि खाना खाएर सुतियो। तर आज हिजोको जस्तो निन्द्रा परेन, थकान त्योभन्दा बढी थियो। कोसिस गर्दागर्दा ढिला निदायौं।
तेस्रो दिन चैत १६ गते
एउटै होटलमा बसेको भएर अघिल्लो दिनको दरमा पैसा तिरेर चिया खाएपछि हाम्रो धुन्चे सम्मको यात्रा सुरू भयो। हामी ओरालो झर्दै गर्दा बाटोमा हिमाली भेगका यातायातको साधन खच्चड भेट हुन्थ्यो। हामीलाई ३ घण्टा लाग्ने बाटो उनीहरू एक घण्टामा हिँडिसक्थे त्यो नि टन्नौं भारी बोकेर।
तल आएपछि गर्मी भएर लुगा फुकाल्न र एकछिन आराम गर्न बस्दा हिजो कुण्डमा भेट भएको अंकलहरू नि आइपुग्नु भयो। त्यहाँबाट गफ गर्दैगर्दै साढे ११ तिर धुन्चे आइपुगियो। जति हिँडे पनि कैले नपुग्ने ठाउँ, त्यही नजिकै देखिन्छ तर पुग्न धेरै समय लाग्ने।
धुन्चे पुगेर खाना खाइयो, अनि हामीलाई काठमाडौंसम्म जान त छँदैछ। तर उता जाने बस सबै गइसकेछन्। अबको विकल्प भनेको त्रिशूली सम्मको बसमा गएर अरू फेर्दैफेर्दै काठमाडौं पुग्ने मात्रै थियो। तर सच्चा मनले भगवानको दर्शन गर्न गएपछि, भगवानले नै व्यवस्था गरेको जसरी एउटा स्कोर्पिओ स्याप्रुबेशीबाट आउँदै गरेको कुरा थाहा भयो। त्यहीसँग कुरा गरेर काठमाडौं आउने कुरा भयो अहिले हामी तीन जना भइसकेको थियौं, हिजोको दुई जना अंकलमध्ये एक जना चाहिँ हामीसँग नै आउनु हुने भयो। धुन्चेमा साढे ३ घण्टा बसेपछि बल्ल हाम्रो काठमाडौंको यात्रा सुरू भयो। त्यो गाडिवाला दाइले एक जनाको १५०० को दरले भाडा लिनुभयो हामी ७ बजेतिर माछापोखरी आइपुग्यौं।
हाम्रो पहिलो ट्रेक सफलताको साथ पूरा गरेकोले दुवै जना खुसी थियौं। थकान साथै उत्साह नि त्यत्तिकै थियो। अलिकति भए पनि नेपाल र नेपालीलाई बुझ्न पायौं। यात्रामा भेटिएको विदेशीहरूले नेपालको तारिफ गरेको देख्दा झन् खुसी मिल्थ्यो। तपाईंहरू पनि पदयात्रामा जाने छोटो दूरीको कम खर्च लाग्ने ठाउँ खोज्दै हुनुहुन्छ भने गोसाइँकुण्डको यात्रा एकदमै उपयुक्त हुन्छ। हामीले जस्तै तपाईंहरूले पनि धेरै कुराको अनुभव गर्न सक्नु हुन्छ।