जीवन भनेको एक यात्रा न हो। यात्राबीचका सुखदु:खका अनुभवले नै जीवनलाई जीवन बनाउने हो।
हामी जीवनलाई यात्रा भन्छौं तर हामी प्राय: जीवनलाई बन्धक बनाएर गुजार्छौं। जीवनलाई नदी भनेर परिभाषित गर्छाैं तर सीमित घेराभित्र बाँधिएको पोखरीझैं हुन्छौं।
जीवन भनेको संघर्ष भन्छौं तर दु:ख र समस्यादेखि भाग्छौं। कहिल्यै अलिकति अग्ला पहाड उक्लने साहस गर्दैनौं। अलिकति आँधी हुरी, तुफान, अलिकति चर्काे घाम र या चिसोसँग सहयात्रा गर्न डराउँछौं।
जीवनलाई मिठो बनाउने नयाँ नयाँ अनुभवले नै हो। नयाँ-नयाँ भोगाइले नै हो। कति कुराहरू घरको बन्द कोठामै बसेर अनुभव गर्न पाइन्छ, कति कुराहरू जागिर गर्ने अफिस कोठामै पनि छन्। कहिलेकाहीँ त्यति नै पर्याप्त लाग्छ जीवन बुझ्नलाई।
तर जीवन बुझ्नलाई हामीले भोगेका अनुभवमात्र पर्याप्त हुँदैनन्। हामीले बाँचेको अफिसयल लाइफले बुझाउने जीवनको पाटो अर्कै छ। व्यक्तिगत जीवनमा हामीले बुझेको जीवनको पाटो अर्कै छ।
जब हामी आफूलाई पूर्णरूपमा सीमारहित खुला आकाशमुनि छोडिदिन्छौं। आफूलाई प्रकृतिसँग घुलाइदिन्छौं। खाने र बस्ने कुनै योजना नबनाई आइपर्ने समस्यासँग जसरी नि जुध्न सकिन्छ भन्ने मुर्ख्याइँ बोकेर निस्कन्छौं।
आफू बाँचिरहेको ठाउँ वा भूगोल भन्दा पर जहाँ कैयौं मान्छेहरू फरक जीवन बाँचिरहेछन्। जहाँ प्रकृतिको रंग फरक देखिन्छ, बग्ने नदीको प्रवाह अर्कै महसुस हुन्छ। बहने हावाको स्पर्श फरक हुन्छ। उकालो चढ्दाको थकाइ पनि सुन्दर लाग्छ। धुलामाटोसँग पनि एक किसिमको प्रेम गाँसिन्छ। हामीले अर्थहीन र वा उद्देश्यविहीन बाँचिरहेका देख्ने मान्छेहरूको मुहारमा पनि कति लोभलाग्दो र महंगो हाँसो देखिन्छ।
अनेक अभाव र संघर्षमा पनि मान्छे कति अविचलित भएर बाँचिरहेको र हाँसिरहेको देखिन्छ अनि लाग्छ आफ्ना जीवनमा कहिलेकाहीँ आउने उतारचढाव त पानीका फोका भन्दा बढ्दा केही रहेनछन्।
दसैं तिहार आउनु भन्दा करिब महिना दिन अघिदेखि नै काठमाडौंलाई गाउँ कहिले पुग्ने भन्ने हतारोले छुन्छ। बसको सिट पाइएला/नपाइएला भन्ने पिरलो हुन्छ।
मलाई यो वर्ष दशैंमा अर्कै ठाउँ पुग्न मन लाग्यो। गाउँघर इष्टमित्र सधैं भेटेको हो। नयाँ देश नयाँ परिवेश पनि पुग्नुपछै कहिलेकाहीँ। फेरि घुम्नको लागि बिदा पनि त यही समय हो।
दुबई, थाइल्याण्ड, मलेसिया अरू कता कताका टुर प्याकेज हेरें इन्टरनेटमा। पैसाको उपाय लागेन। एउटा सामान्य नेपाली। देशकै नेपालकै रारा पुगेको छैन, मुस्ताङ पुगेको छैन के थाइल्याण्डको प्याकेज हेर्छस् भनेर आफैंसँग जंगिएर मुस्ताङ जाने निधो गरेँ दशैंपछिको तिहार बिदामा।
एउटा ट्रेकिङ ब्याग। ब्यागभित्र दुई तीन जोर कपडा र खत्रांगखुत्रुंग बोकेर दुई जना साथी चारैतिर सेतो हिउँको भित्ता र माथि निलो आकाशले छानो बनाएको गाउँ सबैले भन्ने गरेको हिमाल पारिको जिल्लाको यात्रामा निस्कियौं।
रात्रि बसले बिहान बेनी बजारमा खसालिदियो। टिकट नै त्यहीँ सम्मको थियो लैजाओस् पनि कता। बस त मुक्तिनाथसम्म नै जान्थे, प्याकेजमा पनि भाडामा पनि तर हिँड्नको सौखिन म मान्छे कहाँ गाडी मोटरलाई टेर्थें र!
बेनीबाट हिँड्दै मुस्ताङ जाने भूत सवार भयो दिमागमा। एकछिन बेनी बजारलाई चक्कर लगायौं बिहानको चिया खाजा पनि खाने बहानामा।
कुन बाटो हो कति घण्टा लाग्छ मुस्ताङ जान भनेर सोध्दा न बाटो सम्झेर साध्यै न समय। यसको अर्थ दुई/तीन दिन लाग्छ।
बीचमा भाडाको बस पनि पाइँदैन। प्याकेजको गाडी पनि। हिँड्यौं जहाँ पुगिन्छ, पुगिन्छ भनेर।
झोलामा केही खाने कुराका प्याकेट जबरजस्ती कोच्यौं र काली गण्डकीलाई दायाँ पारेर हिँड्यौं।
कच्ची बाटो। राम्रोसँग दोहोरो गाडी चल्दैनन्। दायाँ/ बायाँ अग्ला अग्ला पहाड दायाँ पहाडको काखमा वेगसँग बगेको काली गण्डकी। कता कति देखिने त्यै वरिपरिका झैं देखिने मान्छेको आवतजावत। हामीजस्तो पैदल हिँडेर मुस्ताङ पुग्ने यात्री त कोही कतै देखिँदैन।
केही पर पुगेपछि शरीर अलि थाकेजस्तो पो भयो। दुई तीन दिन पो लाग्छ भनेका छन् हिँडेर पुग्न कसरी सक्नु!
अब हाम्रो निर्णय बदलियो। जहाँ-जहाँ जे गाडी पाइन्छ चढ्ने गाडी नपाइने ठाउँमा हिँड्ने।
पिकअप गाडी चलेको देखिन्थे तर प्राय:जसो रिजर्भमा नै जाँदा रहेछन्। रित्तो त नपाइने पाइए पनि भाडा नै ६ सात हजार भन्दा रहेछन् एक जनाको।
जुन जुन पिकअप आउँछन् हात दिन थाल्यौं।
कोही दुई किलोमिटर पर जाने भेटिए पनि चढ्यौं अलि परसम्म मात्रै हो भन्नेमा पनि चढ्यौं। कतै एक दुई सय रुपैयाँ दियौं कतै पर्दैन भाडा भने धन्यवाद दिएर हिँड्यौं।
बाटैमा एउटा सानो होटल भेट्यौं। खाना त्यहीँ खायौं।
बाटोमा हिँड्दा दायाँ-बायाँ जता जे-जे राम्रो देखिन्छ, उतै उतै बरालिँदै हिँड्यौं। भेटेका मान्छेसँग कुरा गर्दै हिँड्यौं। राम्रो देखिने दृश्यहरूलाई क्यामेरामा कैद गर्दै हिँड्यौं। प्याकेज वा भाडाको बसभन्दा आफूखुसी हिँड्नुको मजा यही त रहेछ।
एउटा पिकअप भेटियो रित्तो। तातो पानी सम्मको बार्गेनिङ गर्यौं दुई जनाको दुई हजार भन्यो।
हिँड्ने साहस हराइसकेको थियो। चढ्यौं।
तातोपानी पोखरी बाटैमा रहेछ यसो हेर्याैं खासै केही जस्तो लागेन त्यही पिकअपसँग सहमति गर्यौं, ठाउँ-ठाउँमा हामी ओर्लर्दै फोटो खिच्दै गर्छौ रोकिदिनु। २ हजार रुपैयाँ थप दिन्छौं मुक्तिनाथसम्म पुर्याइदिनु भनेर।
चालकले भने- कागबेनीबाट तीन किलोमिटर हिँड्नुपर्छ त्यहाँसम्म पुर्याइदिन्छु।
हामी हिँड्न तयार भयौं।
जोमसोम एयरपोर्ट पुगेपछि जब चिसो हावाको झोकाले हिर्काउन थाल्यो। मुस्ताङ आयो भन्ने लाग्यो। हावाको हिर्काइ निर्मम भएर पनि कति मिठो लाग्यो। म त्यही ओर्लेर नीलगिरी हिमाललाई पृष्ठभूमिमा पारेर तिहारको शुभकामना सन्देशको भिडिओ बनाएँ।
दायाँतिर स्यान्तांग खोलाको फराकिलो बगर। विशाल बगरको माझमा देखिने पानीको मसिनो धार। त्यसलाई काखी च्यापेको अग्ला तर हरियो कम भएका सुख्खा पहाड। त्यो माथि हामीलाई ठाडो उभिएर नियालिरहेको चम्किलो नीलगिरी हिमाल।
दुईतिर अग्ला अग्ला पहाडको बीचमा बगेको नदी र त्यसको विपरीत हुइँकिरहेको हाम्रो गाडी रोकियो रुप्से झर्नाको छेऊमा। चालक खाना खान अलिमाथितिरको होटलतिर लागे, हामी झरनाको स्वाद लिन।
उक्लँदै गयौं हामी। पहाड झन् अग्लिँदै गए। कालीगण्डकी लम्बिँदै र गहिरिँदै गयो। सडक झन् खुम्चँदै गयो। कच्ची सडक बीचमा भयानक खाल्डाखुल्डी। भित्रैबाट हेर्दा लाग्थ्यो ठूलो बसका चार पांग्रा यो सडकमा कसरी अटाउँछन् होला। झन् नदीको छेउतिर अलिकति भासिएको देख्दा र गाडी अलिकित कोल्टे पर्दा त बाबै आङै सिरिंग भएर आउने।
लेटाङदेखि माथि लागेपछि संसार अर्कै लाग्न थाल्यो।
बिस्तारै मान्छेको पातलो. बस्ती पनि हराउन थाल्यो। दायाँ/बायाँ अग्ला अग्ला काला पहाड सायद हिउँ रित्तिएर होला। फेदमा चारैतिर बालुवैबालुवाको फाँट। लाग्यो म कुनै मरूभूमिको यात्रामा छु।
पहाडमाथि हरियो नदेखिने तर ठाउँ/ठाउँमा गुजुम्म परेका खै केका बुट्यानहरू। सायद पानी परेपछि हरियो हुन्छन् होला। त्यो दृश्यले मनलाई चपक्क पार्दै लग्यो।
मुस्ताङको अन्तिम सिमाना लोमान्थाङ रहेछ। जाने भए हिँड्नुस् भने चालकले र जान त गाह्रो भएन त्यही भाडामा १००० रुपैयाँ थपे हुन्छ भनें। तर फर्कंदा सितिमिति पिकअप पनि नपाइने पाइए भाडा असाध्यै महँगो पर्ने अर्काेतिर हिँड्दैमा मात्र समय जाने कतैतिरको आनन्द लिन नपाइने देखेर हामी मुक्तिनाथ नै उक्लने निर्णय गर्यौं।
कागबेनीबाट माथि उक्लँदा झण्डै पाँच बज्दै थियो। घाम ढिकढाक पुग्दै थियो। चारैतिर मरूभूमि जस्तो तर चिसो हावाको वेगले मानौं कि भुइँमा पछारिहाल्छ जस्तो। मोबाइल निकालेर एकहातले सेल्फी खिच्न थाल्यो हातमा मोबाइल अडाउनै मुश्किल।
पैदल हिँड्ने यात्री थोरैमात्र थिए। ट्याक्सी र बाइकबाट आर्लेर फोटो र भिडिओ खिच्दै थिए यात्रीहरू।
घामको किरण नपरेको हिमाल सेतै थियो घामको किरण परेको भाग पहेंलो आगोको राप जस्तै चम्किलो।
माथि उक्लेर तलतिर हेर्दा कहीँकतै फापर फुलेको हो कि के हो रातै फुलेका बुट्यान। हामी हिँडिरह्यौं। घाम हराउँदै गयो। चिसोले ज्यान कठ्याग्रिँदै गयो। मुक्तिनाथको दुई किलोमिटर अगाडि एउटा होटलमा बास बस्यौं।
बिहान आठ बजेतिर मुक्तिनाथको दर्शनको लागि हिँड्यौं। तर दायाँ/बायाँ सेता हिमाल अनि तलतल देखिने स्याउका बगैंचा, अनि दायाँबायाँ पहेंला पातले भरिभराउ रूखको बीचमा कालोपत्रे सडकको यात्रा कहाँ छिटो छिटो हिँड्न मन लागोस्! हामी पाइला पाइला हिँड्दै, रोकिँदै अघि बढ्यौं।
स्याउका बगैंचाले मन तान्यो। हामी ओर्लियौं बाटो तल। ग्याल्जेन गुरूङले आफ्नो स्याउ बगानमा स्वागत गरे। बुटाभरि लटरम्मै फलेका कतै राता र कतै हरिया स्याउ हाँगाभरि छन्। कति स्याउ भुइँभरि असरल्ल छन्। भुइँको स्याउ टिपेर खान पाए पनि कति मज्जा हुन्थ्यो भन्ने लोभ लाग्छ।
ग्याल्जेनले जति मन लाग्छ टिपेर खानुस् न भन्छन्। आहा त्यो आफ्नै हातले छानी छानी टिपेर खाएको स्याउको स्वाद। म त कथा लेख्ने मान्छे उनी मेरो कथाका पात्र भए। उनका जीवनका कथा उधिन्न थालेँ।
ग्याल्जेनले घरमा लैजान्छन् हामीलाई। पविारसँग भेट गराउँछन्। बैठकमा बसाल्छन्। चिया सोध्छन्। हामी तातो पानी माग्छौँ। उनका कथा सुन्छौं।
छुट्नेबेला हातमा स्याउका झोला राखिदिन्छन्। ग्याल्जेनका बाबा आमाले दिएको आशीर्वाद र माया कहिल्यै बिर्सन सक्दिनँ म।
खच्चर, घोडा, भेडा, बाख्रा र स्याउसँग बगिरहेका छन् यहाँ कैयौं ग्याल्जेनका कथाहरू।
हिमालको जीवन दुखमय छ। अभाव छ। गरिबी छ। तर त्यहाँ ग्याल्जेनजस्ता कतिको माया पायौं उनीहरूभित्रको सरलता र हार्दिकताले मलाई त्यहाँ गरिबी छ भन्ने लागेन।
हामी केही दिन त्यहाँ बस्छौं। त्यहाँको सुन्दरताले तान्छ। हिउँसँग खेल्न मन लाग्छ तर जीवनभर त्यहाँको हिउँसँग संघर्ष गरेर बाँचिरहेका मान्छेहरूको हिउँसँगको प्रेम त्यति सुमधुर हुँदोरहेनछ। उनीहरू काठमाडौं घुम्न आउँछन्। एउटा मान्छे बिरामी पर्दा ५ लाख खर्च गरेर हेलिकप्टरमा काठमाडौं पुर्याउनुपर्छ। उनीहरू भन्छन्- तपाईंहरू एक दुई दिन घुम्न आउँदा रमाइलो लाग्छ एक महिना बस्नुस् छट्पटी हुन्छ तपाईंहरूलाई।
वास्तवमा हो पनि। त्यही ठाउँमा हामी जन्मेर त्यहीँ बसिरहेका भए के त्यो ठाउँलाई हामी स्वर्ग ठानेर रमाइरहन सक्थ्यौं होला र?
बिहान एघार बजेतिर मुक्तिनाथको प्रवेशद्वार पुग्छौं।
हिमालको काखमा अवस्थित सुन्दर शान्त मानौं कि आफैंमा ध्यान गरिरहेको ऋषि हो मुक्तिनाथ।
जहाँको काखमा दुई दिन दुई रात आफूलाई सुस्ताएर फर्कियौं कर्मभूमि काठमाडौंतिर।