टेन्टको बास अनि आफैं पकाएर खान पाइने- क्याम्पिङ ट्रेकको मज्जा नै यही लाग्छ मलाई। गत मंसिरमा चुनावका लागि गाउँ (दोर्दी गाउँपालिका, लमजुङ) पुगेका बेला १८ वर्ष अगाडि सँगै एसएलसी दिएका हामी ४ जना साथीहरू छोटो तर उत्कृष्ट क्याम्पिङ ट्रेक 'लिपे लेक' जाने योजना बनायौं।
श्रीमञ्ज्याङलाई बेस बनाएर ट्रेकिङ सुरू गरेका हामीले उकालो चढ्दै चढ्दै लिपे लेक पुग्नुपर्ने थियो।
श्रीमञ्ज्याङबाट एक घण्टा पैदलयात्रा गरिसकेपछि देविस्थान मन्दिर पुग्यौं। देविस्थान मन्दिर निकै प्रसिद्ध दैवी शक्ति भएको मन्दिरको रूपमा परिचित छ। नवदुर्गामा विशेष पूजाआजा हुने यस मन्दिरमा निकै टाढादेखि अरू समयमा पनि भक्तजनहरू आउने गर्छन्। मन्दिरकै परिसरमा एक गुम्बा पनि छ। एकातिर बुद्धको पूजा हुँदै गर्दा अर्कोतर्फ देवीको पूजा गरिन्छ।
उकालो चढ्दै गर्दा हाम्रो गति सुस्ताउँदै थियो, तर मुटुको गति झन् वेगले चल्दै थियो। त्यहाँका अनुपम दृश्य तथा शितल वातावरणले शरीर थाक्दै जाँदा पुनर्ताजगी दिन्थ्यो।
कहिले ढुंगा छापेका सिँढी, कहिले जंगलको बाटो, कहिले कच्ची सडक छिचोल्दै हाम्रो यात्रा अघि बढ्यो।
देविस्थानबाट केही माथि गएपछि पुगिन्छ ओखारी गाउँ।
बाक्लो गुरूङ बस्ती, पुराना शैलीका घर अनि नाकै अगाडि लहरै हिमालहरू। ओखारी गाउँमा होमस्टेको प्रवर्द्धन गर्दै ग्रामीण पर्यटनको विकास गर्न पाए कत्ति राम्रो हुने थियो!
बाटो बाटोमा भेटिएका फरक दृश्यले उकालो काटेको पत्तै भएन। जोर्ने पुग्न २ किलोमिटर बाँकी हुँदा जिप भेटियो। त्यसैले जिप चढेरै जोर्ने पुग्यौं। समय कम भए सिधै जोर्नेसम्म जिपमा गएर पनि ट्रेकिङ सुरू गर्न सकिन्छ।
यात्राको पहिलो रात थकित शरीरलाई जोर्नेमै बिसाउने निधो गर्यौं। जोर्नेकै एक होटलमा हाम्रो बास भयो।
चिसो बढेकाले भेडीगोठ लेकबाट झर्दै जोर्ने आइपुगेको रहेछ। बिहान उठेर भेडीगोठ पुग्यौं।
आहा! कति सुन्दर भेडाहरूको बथान। भेडा चराउने बाजे त्यहाँ भेडा चराउनुका साथै बाँसको चोयाबाट ढकिया पनि बुन्दै थिए।
यस्तै, गोठालाहरू हँसियाले भेडाको रौँ (ऊन) काटिरहेका थिए।
८ बजेतिर खाना खाएर जोर्नेको होटलकी दिदीले भुटेको मकै, भट्ट बाटो खाजा दिएर हामीलाई बिदा गर्नुभयो। कोसेली पोको पारी हामीले फेरि यात्रा सुरू गर्यौं। आज हिजोभन्दा बढी उत्साह छ, किनकि आज हामी जसरी पनि लिपे लेक पुग्नुपर्ने छ। जोर्ने छाड्दै हामी उकालो लाग्यौं इलमपोखरीतर्फ।
त्यहाँबाट उकालो लाग्दै गर्दा माछापुच्छ्रे र अन्नपूर्ण हिम श्रृंखलाले तपाईंलाई नियालिरहेको दृश्य देख्न सकिन्छ।
जोर्नेबाट एक घण्टा हिँडेपछि हामी प्रसिद्ध तीर्थस्थल इलमपोखरी पुग्यौं। जंगलका रूख पोखरीको कन्चन पानीमा ऐना हेरेर बहिरहेका। आडैमा मन्दिर। उत्तरतर्फ सुन्दर हिमाल अनि हिमालको देब्रे काखमा लिपे डाँडा।
इलम पोखरी हिन्दू धर्मावलम्बीहरूको एक तीर्थस्थल पनि हो। इलम पोखरीमा चैते दशैंमा ठूलो मेला लाग्ने गर्छ। पहिले तामाङ बस्ती रहेको इलम पोखरीमा बौद्ध धर्मावलम्बीले चैत्य निर्माण गरेका छन्।
यहाँ क्याम्पिङ गर्नेगरी पनि आउन सकिन्छ। पहिलो रात होटलमा बास नबस्ने मनसायमा आउनेहरूका लागि इलम पोखरी क्याम्पिङको हिसाबले पनि राम्रो रहेछ।
इलम पोखरीसम्म आइपुग्दा ट्रेकिङ रूटका बाटो धेरै ठाउँमा भत्किएका रहेछन्। स्थानीय तह र सरोकारवाला निकायले ध्यान दिए जो कोही पर्यटकको यात्रा सहज हुने थियो।
इलम पोखरीको पश्चिमद्वारबाट झरेको पानी किसेदी खोलाबाट दोर्दी हुँदै मर्स्याङ्दीमा पुग्छ। इलम पोखरी कटेपछि पानी पाउन गाह्रो हुने भएकाले बोतलमा पानी भरेर निस्कियौं।
इलम पोखरीबाट लिपे लेकतर्फ करिब एक घण्टा हिँडेपछि दुइटा बाटो आइपुग्छ। लिपे लेकका लागि दायाँतर्फको बाटो जानुपर्ने हुन्छ। इलम पोखरीदेखि लिपे लेकको फेदीमा प्राय तेर्सो बाटो भएकाले सहज छ तर फेदीबाट लेक पुग्न भने नाकै ठोकिने ठाडो उकालो हिँड्नुपर्छ।
डाँडामा पुग्नै लाग्दा बाटोमा भेडी गोठहरू भेटिन्छन्। भेडीगोठ बेसी झरिसकेकाले हामीलाई पानी खोज्न अप्ठ्यारो पर्यो। रोसन र समीप पानी खोज्न जंगल गए। म र प्रशन्न साँझको तारतम्यको लागि योजना बनाउन थाल्यौं।
बेलुका आगो फुक्न सजिलो हुने केही दाउरा समेत लिएर हामी उकाली लाग्यौं।
अब एक घण्टा हिँड्नु थियो। हेर्दा नजिकै तर पाइला सार्नै गाह्रो। विस्तारै उकालो लाग्यौं। थकानसँगै सास फेर्नै गाह्रो हुने गरी स्याँस्याँ बनायो।
जब लिपे लेक पुग्यौं तब लाग्यो संसारकै उत्कृष्ट ठाउँमा पुग्यौं। १८० डिग्रीमा हिमालहरू त्यो पनि नाकै अगाडि। माछापुच्छ्रे, लमजुङ हिमाल, हिमचुली हिमाल, मनास्लु, गणेश, बुद्ध हिमालको अद्भुत दृष्यहरूले आल्हादित बनायो।
लिपे लेकको माथि पुग्ने बित्तिकै देखिने हिमालहरूको मनमोहक दृश्यले स्वर्गानूभूति भयो। लाग्यो, स्वर्ग भनेको नै यही हो।
लिपे लेकबाट काठमाडौंको शिवपुरीसमेत देख्न सकिने रहेछ। शान्त र आनन्दित लिपे लेकमा पुग्दा लाग्छ जीवनमा कम्तीमा एक पटक आउनै पर्ने ठाउँ हो यो।
लिपे लेक डाँडाको टुप्पामै क्याम्पिङ गर्ने योजना अनुसार टेन्ट लगायौं। ढुंगाको चुलो बनायौं। गुराँसको जंगलबाट सुकेका दाउरा ल्याएर आगो फुकियो। साथीभाइसँग रमाइलो गर्दै क्याम्प फायरमा रमायौं।
चिसोमा कफी पिउन मन लाग्यो। चिसोले गर्दा पानी उम्लन पनि करिब ४५ मिनेट लाग्यो। चाउचाउ उमालेर त्यसमा सयर (मोहीको रोटी) मिसाएर डिनर गर्यौं।
सुनसान लिपे लेकमा हामी ४ जना मात्रै थियौं। उत्तरतर्फ सेता हिमाल अनि दक्षिणतर्फ बस्तीहरूमा बत्तीको झिलीमिली मलाई मर्दी हाइ क्याम्पमा बसेको याद आयो।
रातभर चलेको सिरसिर बतासले टेन्ट उडाउलाजस्तो गर्थ्यो। हामी टेन्टभित्र स्लिपिङ ब्यागमा डल्लो पर्यौं। मस्त निन्द्रा त के पर्नु एउटा अविस्मरणीय याद भने बटुलियो।
लिपेमै ब्रेकफास्ट लियौं। प्राय: साथीहरूसँग हुँदा म भान्सेकै भूमिकामा हुन्छु। ब्रेकफास्टका लागि लगिएको पाउरोटी चिसोले खाऊँ कि नखाऊँ भयो। त्यहाँको ढुङ्गालाई फ्राइ पेन बनाएर त्यसमा ब्रेड टोस्ट बनाएँ। अनि त कसलाई नरूच्ने ?
यसै वर्ष दोर्दी गाउँपालिकाको लगानीमा लिपेमा पानीको व्यवस्था र सोलार सहितको ट्रस्ट बन्दै रहेछ।
टेन्ट पोको पारेर क्याम्पिङ एरिया सफा गरी फर्कन तयार भयौं। लिपे लेकबाट फर्कनका लागि भने दुइटा मार्ग छन्।
पहिलो, आएकै बाटो इलम पोखरी, जोर्ने हुँदै फर्कने।
दोस्रो, दाम्राङ हुँदै जाने र राउण्ड ट्रिपको आनन्द लिने।
हामीले भने पश्चिमतर्फको बाटो दाम्राङ हुँदै दोर्दीको नौथरशेराको बाटो फर्कने निर्णय गर्यौँ। यसो हुँदा राउण्ड ट्रिपको मज्जा पनि लिन सकिने भयो।
बाटो उकालो थिएन। केही राहत हुने भयो। गुराँसको जङ्गलै जङ्गल हिमाल हेर्दै झर्नु कम्ता रमाइलो हुँदैन। यो ट्रेकिङ रूटलाई 'गुराँस ट्रेक'का रूपमा पनि प्रवर्द्धन गर्न सकिन्छ।
पानीको स्रोत नचिनेर बाटोमा केही अप्ठ्यारो पर्यो। बाटोमा पानी जमेर आइस भएको थियो। त्यै आइसका टुक्रा पनि बाँकी राखिएन। बाटोमा चुत्रोका बोट निकै भेटिन्थे। अमिलो स्वादको चुत्रो खाएर जिब्रो रसिलो बनाएर हिँड्ने ऊर्जा बढाउँदै हिँडियो।
५ घण्टा पैदलपछि पुगियो दाम्राङ पोखरी।
पोखरीसँगै रहेको भेडीगोठमा गएर पानी पिउँदा अब त बाँचिएलाझैं भयो। दाम्राङ आफैंमा राम्रो गन्तव्य हो। जंगलको बीचमा पोखरी बनाइएको छ। जंगली जनावर र चराचुरूङ्गी पानी पिउन त्यहीँ आउँछन्। नयाँ वर्षमा ठूलो मेला लाग्छ। दाम्राङमा फलेको आलु निकै स्वादिलो हुन्छ। चैत वैशाखमा जाँदा काफल र ऐंसेलु मज्जाले खान पाइन्छ।
डुम्रे-बेशीसहर राजमार्गमा पर्ने उदीपुर वा भोटेओडारबाट नौथर-कामचोक हुँदै करिब २ घण्टामा जिपमा दाम्राङ पुग्न सकिन्छ। पूर्वी-लमजुङको पिकनिक गन्तव्यका रूपमा पनि दाम्राङलाई विकास गरिँदै छ। त्यसका लागि गाउँपालिकाले लगानी गरिरहेको रहेछ।
हिँडाइको जोड र घर्किएको समय अनुसार दाम्राङमा बास बस्नु उचित थियो। तर केही साथीको घरैमा पुग्ने हतारोले खाजा खाएर हामी कामचोक-ठूलाखेत हुँदै श्रीमन्ज्याङ फर्कियौं।
कसरी जाने लिपे लेक ?
काठमाडौंबाट लमजुङ जाने बसमा चढ्ने। लमजुङ र तनहुँको सीमामा पर्ने पौंदी बजारबाट दिउँसो साढे २ बजे जोर्ने बजार जाने जिप लाग्छ। सोही जिपमा जोर्ने पुगेर बास बस्ने त्यसपछि भोलिपल्टबाट ट्रेकिङ गर्नेगरी जाँदा सहज हुन्छ।
अथवा भोटेओडार झरेर जिपमा नौथर सेरा बजार गएर बस्ने। दोस्रो दिन सेरा बजारबाट श्रीमन्ज्याङ हुँदै जोर्ने पुगेर बास बस्ने।
के के लैजाने ?
टेन्ट, म्याट्रेस, स्लिपिङ ब्याग, न्यानो कपडा, पकाउने र खाने खानेकुरा एवं भाँडा, लाइटर, टर्च लाइट, पावर बैंक, पानी, प्राथमिक उपचार सामग्री, लठ्ठी र ड्राइ फ्रुट्स।
के ख्याल गर्ने ?
होटल एवं गाउँ नभएकाले क्याम्पिङ नै गर्नुपर्ने हुन्छ। समूहमा जाँदा राम्रो।
नछुटाउनुस् नजिकैको दूध पोखरी:
लिपे लेक आएका पर्यटकहरूलाई केही दिन अझै बसौं वा ट्रेकिङ गरौं भन्ने लाग्छ भने अझै पनि गन्तव्य छन् । जुन क्याम्पिङका लागि निकै राम्रा छन्। लिपे लेकको उत्तर पूर्वतर्फ अगाडि बढ्दा बुद्ध हिमाल देख्न सकिन्छ। त्यसको फेदीमा धार्मिक तथा ऐतिहासिक रूपमा प्रसिद्ध दूध पोखरी छ।
दूध पोखरीमा जनैपूर्णिमामा विशेष मेला लाग्ने गर्छ। दूध पोखरी लिपे लेकबाट २ दिनमा पुग्न सकिन्छ।