मौसम खुलेका बेला मेरो घर नजिकबाट मकालु हिमाल र आसपासको हिमशृङ्खला प्रष्ट देखिन्छ। म जन्मेको, रोएको, हाँसेको, खेलेको र हुर्के-बढेको परिवेशको साक्षी हो, मकालु हिमाल।
'त्यो हिमालको नाम मकालु हो र यो विश्वको पाँचौँ अग्लो शिखर हो' भन्ने थाहा पाउँदासम्म पनि मलाई त्यहाँ पुग्ने रहर पलाइसकेको थिएन।
गाउँमा रहँदासम्म यो हिमाल हुनु एउटा दैनिकी थियो। सामान्य कुरा थियो, दालभात खानु जस्तो। होइन, दालभात अहिले खानु जस्तो। त्यो बेला दैनिक दालभात खान पाउनु असामान्य कुरा थियो, हाम्रा लागि।
हिमाल हुनु, हिमाल देखिनुभन्दा बढी थिएन। हुनुले त्यसको महत्व राख्छ। सम्बन्ध र लाभ खोज्छ। मकालुसँग रोजी-रोटी वा कुनै रोजगारी जोडिएको थिएन। बरु, ऊ हाम्रो मौसम खुल्ने मानक थियो।
उसलाई हेरेर हजुरआमाले अब पानी पर्ने/नपर्ने अड्कल्नु हुन्थ्यो। उसलाई छोएर आउने बतासमा जाडो नाप्नुहुन्थ्यो। ऊ हाम्रो टाढाको सौन्दर्य थियो। घामजस्तै, जूनजस्तै।
एसएलसीपछि मेरा प्वाँख पलाए। गाउँमा अटाएर बसिरहन सकिनँ। अहिले पखेटा फटफटाउन थालेका छन्। सानोतिनो उडान भर्न सक्ने भएको छु।
म हल्काफुल्का ट्रेक हिँड्न थालेको थिएँ। गोसाइकुण्ड र मनाङ एकसर्को हिँडिसकेको थिएँ। एक दसैँ ताका गाउँमा भएको बेलामा एउटी छिमेकी फुच्चीले मकालु देखाएर सोधी– 'दादा! त्यो हिमालको फेदमा चाहिँ के छ?'
ओहो! मैले यसलाई त नोटिस नै गरेको रहेनछु। त्यसपछि मेरो लिस्टमा मकालु बेसक्याम्प पनि थपियो।
मेरो जागिर गाईघाट, सोलु हुँदै काठमाडौँ पुग्दा म खुम्बु, कालिञ्चोक, तिलिचो, लोमान्थाङ, अन्नपूर्ण बेसक्याम्प, मार्दी बेसक्याम्प, रारा-कर्णाली र सुदूरपश्चिम समेत पुगेँ। गत चैतमा जागिर विराटनगर आइपुगेको छ।
यता आएपछि वैशाखमा भोजपुरको मुन्दुम ट्रेल हिँडें। आफ्नै ठाउँ चाहिँ किन हिँड्दैनस्? भन्ने प्रश्नले निरन्तर चिमोटिरहन्थ्यो। ट्याम्केदेखि सिलिचुङ पहाडसम्म डाँडै-डाँडा एक हप्ता हिँडेपछि आजकाल अलि सन्चो महसुस गरेको छु।
दसैँसँगै वर्षायाम सकियो। हिलोमैलो सकियो। बादल फाट्यो। तुवाँलो हट्यो। निलो आकाश फेरि स्वतन्त्र भयो। दसैँले रङ्गिएका साथीभाइका फेसबुकका भित्तामा हिमाल टल्कन थाले। पहाड र फाँटका सुन्दर दृश्य देखिन थाले। ममा छटपटी सुरु भयो।
कार्तिकको १ गते। दिउँसो तीन बजेतिर चिरन्जीवी सरलाई फोन गरेँ। 'मकालु जाने हो?'
उहाँले तिहारमा फर्किसक्नुपर्ने छ, भन्नुभयो। भाइटिका १० गते थियो। मैले आइपुगिन्छ भनेँ।
२ गते बिहानै हामी मकालु बेसक्याम्प पदयात्राका लागि विराटनगरबाट निस्कियौँ।
कार्तिक १ गते चिरन्जीवी सरलाई फोन गर्नु अघिसम्म मकालुको योजना थिएन। ट्रेकिङ रुट बारे बुझ्ने, गुगल हेर्ने तथा जानेहरूको अनुभव खोज्ने समय नै भएन। ६\७ दिनमा पुगेर आइएला भन्ने अनुमान थियो। पुगेर आउने केही साथीले त्यसै भनेका थिए।
विराटनगरबाट खाँदबारी १७७ किलोमिटर हो। फाट्टफुट्ट बाहेक बाटो राम्रो छ। नराम्रो हिँड्नुपर्ने चाहिँ त्यहाँदेखि उता हो, नुमसम्म। त्यो ४३ किलोमिटर बाटो एकदमै सकसपूर्ण छ। पूरै अफरोड। अफरोडका सबै किसिमका अप्ठ्याराका नमुना त्यहाँ भेटिन्छन्।
किमाथांका नाकामा चीन जोड्ने कोशी राजमार्ग हो यो। सडक नुमबाट हेदाङ्ना हुँदै अरुण नदीको तीरैतीर किमाथांका तिर लाग्छ। मकालुतिर जानेले नुमदेखि सडक छाडेर पैदल हिँड्नुपर्छ। बाटो खुट्टाले नाप्नुपर्ने हुन्छ।
खुट्टाले नापिने बाटोको दूरी नाप्ने खुट्टाअनुसार फरक पर्छ। नाप्ने इकाई किलोमिटरको सट्टामा 'यति घण्टा, यति दिन' हुन्छ। त्यसमा पनि खासगरी तीन वर्ग हुन्छन्। राम्रो हिँड्ने, ठिकै हिँड्ने र विदेशी टुरिष्ट। तीनै थरीका लागि नापो फरक-फरक हुन्छ।
नुम पुग्दा पौने चार भयो। प्रहरी चौकीमा मोटरसाइकल राख्यौँ। कच्ची अफरोड बाटोमा मोटरसाइकलको पछाडि बसेर आउँदा के-के भयो? त्यो चिरन्जीवी सरले भन्नुहुनेछ।
त्यो दिन, थोरै भए पनि हिँडौँला भन्ने थियो। त्यसमा दुइटा फाइदा थिए। एउटा बाटो छोट्टिने र अर्को भोलि बिहानैदेखि हिँड्नलाई वार्मअप हुने। तर सेँदुवा नपुगी बास बस्ने ठाउँ नपाइने रहेछ। त्यसका लागि राम्रो हिँड्दा ४ घण्टा लाग्ने। हामी नुममै अड्कियौँ।
प्रहरी भाइ विशाल खवासले होटल खोजिदिए। कोपिला होटलमा बास बस्यौँ। संयोगले होटलकी कोपिला दिदी मेरो साथीको आफन्त हुनुहुँदो रहेछ। हामीलाई सजिलो भयो।
'मकालु बेसक्याम्प हिँड्नुभएको'?
'हजुर दिदी।'
'अनि तिहार छैन र यसपालि?'
'किन? आइपुगिन्न र?'
'यति बेला गएर आइन्छ त?'
'कति दिन लाग्छ र?'
'खै! चितवन तिर घर भन्थे, ५-६ जना। यहीँ बसेर गएका हुन्। आज आठ दिन भो, आइपुगेका छैनन्।'
मनमा एउटा गतिलो भुइँचालो आयो। मज्जाले हल्लाएर गयो।
विराटनगरबाट हिँड्ने बेलामा गुगलले निकै दिन लाग्ने त देखाएको थियो। तर त्यो तालिका दिनमा ७-८ घण्टाभन्दा बढी नहिँड्ने गरी बनाइएको हुन्छ। त्यसमा हिँड्ने समय बढाएर दिन घटाउन सकिने मेरो अनुमान थियो।
अस्ति पुगेर आउने साथीलाई सम्झन्छु। आवाज रिप्ले गर्छु- '६/७ दिनमा आइपुगिन्छ दाजु, मज्जाले...।'
दिदी यता भन्दै हुनुहुन्छ– 'म तीन पटकसम्म बेसक्याम्प पुगेको छु। बाटोमा कहिल्यै बिरामी परिनँ। लेक लागेन। तैपनि घटीमा ८ दिन त लाग्यो नै।'
दिदीकी बुहारी थप्छिन्- 'म त ८ दिनमा कहिल्यै सकिनँ। १० दिन लाग्यो मलाई।'
यो हिसाबकिताब नुमदेखि नुमसम्मको मात्रै हो। हामीलाई त यहाँदेखि फर्केर पनि जानु छ। घुमाई फिराई उनीहरू हामीलाई दुइटा विकल्प सुझाइरहेका छन्– कि तिहारको माया मार, नत्र यहीँबाट फर्क।
तिहार माया मार्दा के हुन्छ? चिरन्जीवी सरलाई धोका हुन्छ।
उहाँले माया मार्दा के हुन्छ? उहाँ चार दिदी-बहिनीको एउटै भाइ। दिदी-बहिनी रुन्छन्।
फर्किने त? यहाँ आइपुगिसकेपछि फर्किने कुरा हुन्न। सकेको प्रयत्न गर्ने। जहाँसम्म पुग्न भ्याइन्छ, त्यही पुगेर फर्किने। मतलब, हरेक समय हतार गर्ने।
तीन गते बिहान साढे ५ बजे हामी म्याराथुन ट्रेकका लागि मैदान उत्रियौँ।
ट्रेकको सुरु दिन। सुरुमै ओरालो झर्नुपर्ने। ठाडो ओरालो। अरुण नदीसम्म। नदी तरेपछि उहीँ रुपको ठाडो उकालो, सेँदुवासम्म।
ठाडो ओरालो बाटो हेर्दा सजिलो तर हिँड्न गाह्रो हुन्छ। खुट्टा थथर्किन्छ। घुँडा दुख्छ। पिँडुला दुख्छ। खुट्टा मर्किने, फर्किने जोखिम हुन्छ। खुट्किले ओरालो स्वस्थ ट्रेकका लागि हानिकारक छ।
सर्सर्ती एक घण्टामा झरिने ओरालो झर्न हामीले दुई घण्टा लगायौँ। यिनै खुट्टाले एक हप्ता हिँड्नु थियो। हतियारको धार जोगाउन सके धेरै काट्न सकिन्छ। हामीलाई सुरुमै भुत्ते हुनु थिएन।
उकालोमा दुई बुढ्यौली भेटिए। दुई बुढी आमाहरू एक\एक पोको बोकेर नुमतिर हिँडेका। बारीमा फलेका अम्बक र केरा बेच्नलाई।
'भनाना, भनाना..' आमाले झोलाबाट निकालिन्।
'भनाना कसरी हो?'
'ए... साहेब भनेको त होइन पो र छ। बिसको तीनटा'। आलमुनियमको लौरो टेकेको देखेर उनले हामीलाई विदेशी भन्ठानिछन्।
बिस\बिस रुपैँयाका अम्बक र केरा किनिदिएर पचास\पचास रुपैँया दियौँ। आमाहरू साह्रै खुसी देखिए। मुजा परेको अनुहार बीचबाट मुस्कान फुल्यो। पत्र-पत्र पारेर गुलाब फुलेजस्तै। मलाई त्यो दृश्य मोबाइलमा खिच्न नपाएकोमा पछुतो छ।
हामी हिँड्यौँ। उनीहरू चौतारीमा सुस्ताइरहेका थिए। हामीसँग हतार छ। उनीहरूसँग छैन। पुग्नुपर्ने ठाउँको निधो भएपछि हतार हुन्न। पुग्ने समय नजिकिँदै गएपछि हतार हुन्न। हिँडेको उमेरभन्दा हिँड्ने उमेर कम हुनेलाई हतार हुन्न।
घर सेँदुवा हो। उमेर ७० आसपास छ। नुम पुग्न ३\४ घण्टा लाग्ला। फर्किन उति नै समय लाग्छ। लगेको पोको जम्मै बेच्दा ४\५ सय आउला। त्यतिले यो महंगीमा के गर्जो टर्ला? यी आमा बारीमा फलेको २५\३० दाना अम्बक बोकी बिहानभरि हिँडेर बजार पुग्छन् र बेलुका नुन किनेर फर्किन्छन्। यसरी उनको सिङ्गै पुस्ता बित्यो। देशका कुनै पनि परिवर्तनले उनको दैनिकी परिवर्तन गर्न सकेन।
शासनमा बस्नेहरूलाई भुइँमान्छेको स्थिति हेर्न हतार छैन। हिँड्नै नखोज्नेलाई हिँड्नुपर्ने हतार हुन्न।
सेँदुवा नपुग्दै चितवनका ती छ जना भेटिए। नवौँ दिनमा त्यहाँ आइपुगेका रे। उनीहरूले हामीलाई अरु हतार थपिदिए।
सेँदुवामा खाना खाएर उकालो लाग्दा झापाबाट आएको एउटा जोडी भेटियो। उनीहरूले दश दिन लाग्यो भने। हाम्रो हतारको झोला अझै गह्रौँ भयो।
पहिलो दिन सेँदुवा क्याम्प स्किप गरेर हामी बास बस्न दोस्रो क्याम्प टाँसीगाउँ पुग्यौँ।
टाँसीगाउँबाट हिँडेको दिन हामी खोङ्मा डाँडा क्याम्प काटेर ठूलोडाँडा (सिप्तुङ्ला पास) बस्यौँ। त्यो दिन १५७० मिटरबाट एकैदिन ४२६५ मिटर चढेका थियौँ।
अघिल्लो दिनको हिँडाइले मज्जाले थकाएछ। भोलिपल्ट हिँड्नै सकेनौँ। टाँसीगाउँबाट डाँडाखर्क निस्कनै चार घण्टा लाग्यो। डाँडाखर्कबाट खोङ्मा पुग्दा दिउँसोको दुई बज्यो।
खोङ्माकी सुवेदी दिदीले बास बस्न ठूलोडाँडा पुग्न सक्नुहुन्न भनिन्। हिजै मात्र भक्तपुरका छ भाइ यहाँबाट दिउँसो एक बजे नै हिँडेका तर ठूलोडाँडाको उकालो चढ्न नसकेर फर्केर यहीँ बास बसेको कुरा सुनाइन्। उनका छिमेकीले सही थापे। शरीरले त त्यहीँ बस् भन्दै थियो तर हतारले मानेन। हामी उकालो लाग्यौँ।
भ्यु टावरको उकालो कटेपछि दुई केटा भेटिए। २२\२५ वर्षका जस्तो देखिने। बाक्लो ज्याकेट, मफलर लगाएका तर ओठमुख सुकेर हरियो भएका।
'यो उकालो त केही होइन। अब झन् डेन्जर-डेन्जर उकाला छन्। घाम अस्ताएपछि हिउँजस्तो बतास चल्छ। आँखा हेर्नै सकिँदैन। लेक लागेर बिरामी परिन्छ। ठूलो डाँडा पुग्न अझै ३\४ घण्टा लाग्छ। बीचमा बास बस्ने ठाउँ पनि छैन। माथि हिउँ परेको छ। लास्टै जाडो छ। दाइ तपाईंहरू नजानू।'
हामी करिब ४००० मिटरको हाराहारीमा थियौँ। तलबाट ह्वात्तै माथि आएको हुनाले हलुका टाउको दुख्ने हुन थालेको थियो। इनर्जी मेन्टेन नभएर चाँडै थाक्न थालेको थिएँ। उकालो हिँड्न नपरे हुन्थ्यो भन्ने लागिरहेको थियो। त्यही बेलामा ती साथीले आगोमा घ्यु हालेर गए।
मैले हतारतर्फ हेरेँ। ऊ चुपचाप थियो। हतार भनेको आफूलाई सजिलो हुँदा मात्र लाग्ने चिज रहेछ।
अरु दुई डाँडा कटेपछि ठूलोडाँडा पुगियो। खोङ्माबाट तीन घण्टा लाग्यो। प्रतिडाँडा एक घण्टा।
भोलिपल्ट बिहान घाम झुल्केपछि हिँड्यौँ। दोबाटे झर्न दुई घण्टा लाग्यो। त्यहाँबाट जाँते ओडार दुई घण्टा। जाँते ओडारमा वरुण नदी भेटिन्छ। नदीलाई पछ्याउँदै पुगिने हो, मकालु बेसक्याम्प।
दोबाटेमा खाएको फ्राई राइस (बासी भात) ले याङ्लेखर्कसम्म धान्यो। याङ्लेमा आलु उसिन्न लगाएर खायौँ।
प्रसिद्ध शिवधारा धाम याङ्लेखर्कभन्दा पारिपट्टि हो। अग्लो भिर र जाने बाटो अप्ठ्यारो भएकोले त्यहाँबाट जान ३\४ घण्टा लाग्छ। जान, दर्शन गर्न र आउनका लागि एक दिन थप छुट्याउनुपर्ने हुँदा त्यता नजाने निधो भयो। शिवधारालाई तलैबाट नमस्कार गरी हामी तादोसातर्फ लम्कियौँ।
छ गते बिहानै तादोसाबाट लाङमाले हुँदै उकालो लाग्यौँ। चार घण्टा हिँडेपछि शेरसोङ्ग हिमताल कटेर मैदान पुग्यौँ। त्यहाँ पुगेपछि मात्रै देखियो, मकालु हिमाल। त्यो ठाउँ ४७०० मिटर उचाइको हो।
अब बेसक्याम्प पुग्न बाँकी समय डेढ घण्टा मात्रै हो। तादोसामा होटलकी दिदीले भनेकी थिइन्- मकालु देखिने शेरसोङ्ग र बेसक्याम्पबाट उस्तै-उस्तै हो। दूध (सेतो) पोखरीको दर्शन गर्ने भए मात्रै माथि जानू, नत्र त्यहीँबाट फर्किँदा हुन्छ।
हाम्रो हतारलाई राम्रो बहाना मिल्यो। हामी त्यहिँबाट फर्कियौँ।
बाह्र बजे फर्केका हामी बास बस्न बेलुका फेमाताङ आइपुग्यौँ। सात गते बेलुका पुनः टाँसीगाउँ पुगेका हामी आठ गते दिउँसो दुई बजे नुम पुग्यौँ। नुमदेखि हिँडेको साढे पाँच दिनमा हामीलाई हतारले नुम नै ल्याइपुर्यायो।
एड्भेन्चर रुट
यो ट्रेकिङ रुटले सबैभन्दा पहिले १५८० मिटर उचाइको नुमडाँडाबाट ५\६ सय मिटरको अरुण नदीमा झार्छ। त्यसपछि सिधैँ उकालेर ४२६५ मिटरको सिप्तुङ्ला पास पुर्याउँछ। फेरि तुरुन्तै ३५०० मिटरको फेमाताङमा ओराल्छ। अनि मात्रै विस्तारै-विस्तारै उकालो जान पाइन्छ।
यी उकाला र ओरालाहरू धेरैजसो भर्याङजस्ता छन्। ढुङ्गाका खुट्किला छन्। उक्लनुपर्ने डाँडा हेर्दा नजिकै देखिन्छ तर पुग्दा घण्टौँ बित्छ। ओर्लनुपर्ने ठाउँ त्यहीँ मुनि देखिन्छ तर झरिसक्दा दुखेर खुट्टा नै झर्लान् झैँ हुन्छ।
सेँदुवाबाट टाँसीगाउँसम्म चाहिँ ठाडो उकालोबाट अलि राहत पाइन्छ। त्यहाँ पुगेपछि डाँडाखर्क टाउको माथि देखिन्छ। त्यसको सिधैँ माथि खोङ्मा डाँडा। खोङ्माको उचाइ ३६१० मिटर छ। यो लेक लाग्न सुरु हुन सक्ने उचाइ हो। त्यसैले समायोजनका लागि यहाँ एक दिन आराम गर्न सुझाउने गरिन्छ।
खोङ्मादेखि सिप्तुङ्ला पास सम्मको भाग यो ट्रेककै सबैभन्दा कठिन मानिन्छ। डाँडैडाँडा, धारैधारको बाटोमा ठाडो उकालो चढ्नुपर्ने हुन्छ। वेगले बहने निकै चिसो हावाको सामना गर्नुपर्ने हुन्छ। उचाइमा भएकोले चाँडै थाकिने, बढी स्वाँ-स्वाँ हुने, डिहाइड्रेसन हुने र टाउको दुख्ने हुनसक्छ। ४२६५ मिटर धेरै उचाइ त होइन, तर होचो ठाउँबाट एक्कासी आइपुग्दा शरीरले प्रतिक्रिया जनाउन सक्छ।
सिप्तुङ्गला पासमा दुइटा होटल छन्। हामी बास बस्न त्यहीँ पुगेका थियौँ। हामीले क्याम्प स्किप गर्दा त्यो दिन दोबाटे पुग्नुपर्ने थियो तर सकेनौँ। दोबाटेको उचाइ ३८७० हो।
डाँडामा चिसो अत्यधिक थियो। तापक्रम राति माइनसमा ओर्लँदो रहेछ। निकै सकस भयो। सिरकले मुख छोपेर सुत्दा निसास्सिने भयो। नछोपौँ, चिसोले हुरुक्कै। बाक्लो ज्याकेट लगाएरै सुतियो। तीन वटा सिरक खापियो। अनि के चाहियो? चल्न, चटपटाउन भए पो। भोलिपल्ट ज्यान दुखेर हैरान।
दोबाटेबाट तल झर्दा ठाउँ-ठाउँमा बाटो अप्ठ्यारो छ। बरुण नदी भेटेपछि त एक घण्टा पहिरोमा हिँड्नुपर्छ। बेलाबेलामा खसिरहने पहिरोले कुनै पनि बेला खसाएर बरुणमा मिसाइदिन सक्छ। टेक्ने ठाउँ खोज्दै बीचबाट कोतरिएको बाटो घरी तल घरी माथि गर्छ। हामी उँसगै नागबेली भइदिनुपर्छ र हरबखत माथितिर आँखा चनाखो पार्नुपर्छ। अझ पानी पर्यो वा ठूलो हावा चल्यो भने त पहिरो खस्यो-खस्यो।
त्यहीँ भेटिएका एक फ्रान्सका नागरिक भन्दै थिए– म मनास्लु, अन्नपूर्ण र सगरमाथा बेसक्याम्प पुगेको छु। तर यो ट्रेक ती सबैभन्दा एडभेन्चर रहेछ।
याङ्लेखर्कबाट पारिपट्टि शिवधारा धाम छ। यस भेगको यो प्रशिद्ध तीर्थस्थल हो र मकालु ट्रेकिङको एउटा भाग पनि। नुममा कोपिला दिदीकी बुहारीले भनेकी थिइन्- 'हतार भए बरु, बेसक्याम्प नजानू, शिवधारा चाहिँ नछुटाउनु है!'
मकालु पुगेर फर्केका केही साथीले सुझाएका थिए- 'शिवधारा जसरी पनि जानू है।'
अग्लो भिरका बीचमा शिवधारा छ। गुफाजस्ता आकृतिको बीचबाट पानी झर्छ। मूल फुटेर पानी झर्ने त्यस्ता गुफा तीन वटा छन्। अरु दुईको नाम चाहिँ पार्वती र गणेश राखिएको छ। यी ठाउँ करिब ४२०० मिटर उचाइका हुन्।
यहाँको धार्मिकताको त आफ्नै महत्व छ नै। अर्को रोमाञ्चकता भनेको यहाँ पुग्ने बाटोको छ। टेक्ने ठाउँ समेत नभएर ढुङ्गामा फलाम ठोकेर बनाइएको बाटो यहीँ निर हो। दर्शन गर्नभन्दा पनि भिरको एडभेन्चर अनुभव गर्न माथि जानेहरू यहाँ थुप्रै भेटिन्छन्।
याङ्लेखर्क ३५६० मिटरमा छ। त्यहाँबाट बाटो नजानिँदो पाराले उकालिन्छ। ठाउँ -ठाउँमा चढ्नुपर्ने उकालोले ह्वात्तै माथि लैजान्छ। यस्तो स्टेप लाङमाले नपुगुञ्जेल आइरहन्छ। लाङ्माले भन्दा माथि लागेपछि भने ठाडो उकालो सकिन्छ। तर हिँड्न सजिलो चाहिँ हुँदैन। जमिनको उचाइ ४५०० मिटरभन्दा माथि पुगेको हुन्छ।
हामी शेरसोङ्गसम्म मात्रै पुग्यौँ। त्यो ४७०० मिटरमा हो। बेसक्याम्प पुग्न थप तीन सय मिटर चढ्नुपर्छ र डेढ सय जति झर्नुपर्छ। लाङ्मालेबाट बेसक्याम्प करिब पाँच घण्टाको बाटो हो, हिँड्न सक्ने मान्छेलाई। नसक्नेहरूले दिनभरि घस्रनुपर्ने हुन्छ, कमिला जसरी।
त्यस बीचमा खाने-बस्ने ठाउँ छैन। खानेकुराको जोहो आफैले गर्नुपर्छ। हावा बेस्कन चल्छ। हिमाललाई शिरमाथि राखेर हिँड्दा चिसो निकै हुन्छ। ४०२० मिटरको तादोसामै चिसोले मेरा आँखा सुन्निएका थिए। बेसक्याम्प त ४८७० मिटर हो। यहाँ पुग्दा निकै ख्याल गर्नुपर्ने हुन्छ।
अघिल्लो दिन फेमाताङको पहिरोमा छाडिएका बेल्जियमका नागरिकलाई हामीले फर्किँदा याङ्लेखर्कमा भेट्यौँ। उनले त्यो दिन त्यहीँ आराम गरेका थिए। चिरन्जीवी सरले एकछिन कुरा गर्नु भयो उनीसँग।
उनलाई मकालु ट्रेक एकदमै एडभेन्चर लागेको छ। भूगोलको नयाँपनले तानेको छ। वनस्पतिको विविधता देखेर मख्ख छन्। चल्तिका अरु रुट छाडेर मकालु नै आएकोमा उनी खुसी देखिन्छन्।
सुन्दरता
पारिलो घाम छ। म शेरसोङ्ग बगरमा ढुङ्गाको सिरानी लगाएर पल्टिन्छु। भोक, थकान र अल्टिच्युटले मलाई गलाएको छ। टाउको विस्तारै झमझम गर्दै छ। साथमा अक्सिमिटर छ। अक्सिजन लेभल सत्तरीको आसपास देखाउँछ। फेरि नाप्छु, साठीभन्दा उभो जाँदैन। अर्को पटक अर्कै देखाउँछ। तीन पटक नापेपछि बल्ल ढुक्क लाग्छ। मेसिन बिग्रिएको छ, म ठिक छु। यस्तो बेलामा गलत हुनुभन्दा, हुँदै नहुनु राम्रो हुन्छ।
शेरसोङ्ग हिमतालको आडैमा उसैगरी तुत्से हिमाल लमतन्न परेको छ। यहीँ हिमाल हो, जसलाई मेरो गाउँबाट हेर्दा मकालु हिमालको छेवैमा तेर्सो परेर बसेको देखिन्छ। म त्यसैलाई आकाशतिर फर्केर हेर्दैछु। उत्तरतिर मकालु हिमाल छ, सिधा उभिएको।
हिमालमा मलाई हिमालदेखि बाहेक अर्को केहीले लोभ्याउँछ भने त्यो आकाश हो। सेता हिमालसँगैको खुला निलो आकाशले हुरुक्कै बनाउँछ। म फेरि हुरुक्क हुन आइपुगेको छु। म हुरुक्क भइरहेको छु।
कसैले समयलाई टक्क रोकिदेओस्। दिमागबाट सांसरिकता सर्लक्कै जाओस्। हतारहरू जलेर खरानी होउन्। म ध्यान गरुँ, तपस्या गरुँ र लीन होऊँ चरम शान्तिमा! यो शून्यतामा आइपुगेर फेरि भागदौडमा सामेल हुन जान नपरोस्।
पश्चिमपट्टि होङ्कुको चुचुरो छ। चुचुरो मुनिको आइसफल्समा देखिएको निलो बरफले मलाई तानेको छ। निलो बरफ शुद्व पानीको श्रोत हो। हिमाल चढ्नेहरूले यसैलाई तताएर पिउने गर्दछन्। तर पाउन सजिलो भने छैन। सेतो बरफको पत्र-पत्र खोतलेपछि बल्लतल्ल भेटिन्छ यो।
लाङमालेबाट यता आएदेखि आफूलाई एउटा हिमाली सुरुङमा प्रवेश गरेजस्तो अनुभव हुन्छ। खुला र फराकिलो सुरुङ। हिमाल नै हिमालले घेरिएको। वरिपरि सेता हिमाल अनि माथिबाट कञ्चन निलो ढक्कन!
उसो त हिमाल याङ्लेखर्कबाटै सुरु हुन्छ। स-साना हिमालहरू छेवैमा छन्। याङ्लेखर्क वारिबाट हेर्दा शिवधारा पट्टिको पाटो साह्रै मनमोहक देखिन्छ। बायाँपट्टि छेवैमा दुई हिमाल तँ अग्लो कि म? भने जसरी उभिएका छन्। हिउँमुनिबाट उस्तै सेता झरना खसेका देखिन्छन्। छेउमा कालो चट्टानको पहाड छ। तलपट्टि हरियो वन छ। भिरको घाँसको अर्कै रङ्ग छ। कुनै कुशल चित्रकारको सीप र कौशलले बनाएको क्यानभासभन्दा कम छैन, त्यो दृश्य।
बरुण उपत्यका सुन्दरताको अर्को प्रतीक हो। सेतो हिमाल र गड्गडाएर बगेको नदी एकै हेराइमा देख्न पाइन्छ। नदीका झरनालाई पछाडि राखेर फोटो खिच्न मन लाग्छ। भित्तामा देखिने कोणधारी वनमा नजर टक्क अडिन्छ। नदीमा मिसिन भिरबाट हामफाल्ने झरनाहरूले पाइला रोकिरहन्छन्। बगरका राता ढुङ्गा निकै रहस्यमयी लाग्छन्।
याङ्लेखर्क भन्दा माथिको बगर फराकिलो छ। त्यसले गर्दा उपत्यका पनि फराकिलो बनेको छ। नदीको तल्लो भागमा फाट्टफुट्ट देखिने राता ढुङ्गाले यहाँ बगर भरिएको छ। वारिदेखि पारिसम्म राताम्य देखिन्छ। ढुङ्गाको रङ्ग पूरै रातो त हैन, तर मिलाएर कसैले अबिर छर्किए झैँ लाग्छ।
शिवधाराकै आँगनमा ढुङ्गाको यो प्रकृतिसँग धार्मिकता वा विज्ञान के जोडिएको छ, मलाई थाहा छैन। तर के चाहिँ थाहा छ भने, यी राता ढुङ्गा देखेर तपाईं अवश्य केही बेर रोकिनुहुनेछ।
खोङ्माबाट सिप्तुङ्गला पास पुग्नुअघि सानो पोखरी छ। पास कटेपछि चाहिँ ठूलो पोखरी। उचाइले थकाएको बेला ती पोखरीका दृश्यले उर्जा भर्छन्। दृश्यमा हिमालका लहरहरू पोतिन आइपुग्छन्। घाम मिसिन आइपुग्छ। चराचुरुङ्गी रङ्ग भर्दछन्। धरातल र वनस्पतिको पृष्ठभूमिले चित्र पूर्ण बनाइदिन्छ।
वरिपरि डाँडा बीचको ठूलोपोखरी आफैमा एउटा उपत्यका हो। हामी त्यहीँ सानो तर सुन्दर उपत्यका ओर्लन्छौँ, पार गर्छौं र उक्लेर जान्छौँ।
टाँसीगाउँबाट डाँडाखर्क उक्लँदै थियौँ। बाटो नजिकै मैले रातो रंगको कुनै जनावर देखेँ। झुलुक्क जीउ मात्रै देख्न पाएँ। ऊ ओझेल भैहाल्यो। वरिपरि निगालोको घारी थियो। शरीरको रङ्ग, चाल र बनोटअनुसार मलाई रातो पाण्डा हो कि भन्ने लाग्यो। फेरि यो यता पाइन्छ कि पाइन्न भनेर दोधार भएँ। एकैछिनपछि डाँडाखर्कमा होटलकी दिदीलाई सोध्यौँ। म सही रहेछु।
तासोमा माथिको लालीगुराँस घारीमा डाँफे देख्न पायौँ। फर्किँदा दोबाटेमाथि मुनालजस्तो देखिने चराको हुल नै भेट्यौँ। कालिज र नचिनेका अरु चराचुरुङ्गीहरू बाटोमा पटक-पटक भेटिरह्यौँ हामीले।
बेलाबेला बाटो काट्ने मुसाहरू र हावामा कावा खेलिरहेका हिमाली काग त अन्य ट्रेकमा पनि देखिन्थे तर उचाइमा हिँड्दा यति धेरै जीवजन्तु भेटेको चाहिँ पहिलो पटक हो मैले।
ट्रेकिङ रुट धानेको सेँदुवा
ल्हाक्पा शेर्पाले तादोसामा होटल चलाएर बसेको १२ वर्ष भयो। सुरुमा सानो टि हाउस खोलेकी थिइन्। सुरु लगानी जम्मा दुई लाख थियो। विस्तारै हिँड्ने मान्छे बढ्दै गए। कमाइ बढ्यो। आँट बढ्यो। अहिले यो रुटमा राम्रोमा गनिने होटल छ उनीसँग। पन्ध्र/बिस जना पाहुनाले राम्ररी खान बस्न सक्छन्।
उनको घर सेँदुवा हो। १४ वर्षको छोरा र ११ वर्षकी छोरी छिन्। दुवै काठमाडौँमा होस्टेल बसेर पढ्छन्। श्रीमानले कहिल्यै साथ दिएनन्। ऊ अर्कै घरजम गरी बसेका छन्। ल्हाक्पा तादोसामा एक्लै बसेर होटल चलाउँछिन्।
सुरु-सुरुमा एक्लै बस्दा डर लाग्थ्यो। बहिनीहरू सानै थिए। उनीहरूलाई साथी बनाइन्। उमेर भएपछि तिनीहरूको बिहे भयो। उनलाई पनि बानी पर्दै गयो। भन्छिन्- 'डराउनुपर्ने भनेको मान्छेसँग हो। डराउनुपर्ने गरिका मान्छे यता आइपुग्दैनन्।'
टाँसीगाउँभन्दा माथि आवाद वस्ती छैन। नम्बरी जग्गा छैन। ट्रेकिङ रुटमा जे-जे चाहिन्छ, त्यो सबै तलबाटै आपूर्ति हुन्छ। तल भनेको टाँसीगाउँ र खासगरी सेँदुवा हो। हिमाल चढ्ने शेर्पा, भारी लैजाने पोर्टर, बाटो देखाउने गाइड, बाटो बनाउने श्रमिक, होटल चलाउने लगानी सबै सेँदुवाले धानेको छ।
नुमदेखिको खाद्यान्नको भारी खच्चडले सेँदुवासम्म बोक्छ। त्यो भारी सेँदुवाबाट थाप्लोमा बोकेर आवश्यकताअनुसार बेसक्याम्पसम्म पुर्याउने काम पनि सेँदुवाले नै गर्छ।
चेन होटल
फर्केको दिन हामीलाई फेमाताङ आइपुग्दा झमक्कै साँझ पर्यो। होटलका मान्छे सुत्नै लागिसकेका रहेछन्। झोला बिसाएपछि साहुनीले सोधिन्- 'हिजो कहाँ बस्नुभयो?'
'तादोसा।'
'त्यहाँको बैनी त याङ्ले आको थ्यो रे त।'
'अँ, याङ्लेमा उहाँको आफन्तकोमा आउनुभएको रैछ, हामीले लिएर गयौँ।'
'ऊ एक्लै गयो?'
'हैन, त्यहीँकी एउटी बहिनीलाई साथी लिएर जानुभयो?'
'अस्ति कहाँ बस्नुभयो?'
'ठूलो डाँडा।'
'कसकोमा?'
'सुरुकै होटलमा। निलम दिदीकोमा।'
'बिहान कहाँ खानुभयो?'
'दोबाटेमा।'
साहुनीले हामीलाई हिँडेदेखि त्यो दिनसम्म कहाँ-कहाँ बसेको र कहाँ-कहाँ खाएको भनेर केरकार पारिन्। तर यस्तो सोधपुछ पहिलोपटक थिएन। दिउँसो लाङ्मालेमा खाना खाँदै गर्दा यी नै प्रश्नको उत्तर दिनुपरेको थियो। तादोसाको दिदी बारे यिनै सवाल सोधिएका थिए। हिजो दोबाटेमा बस्ने भाइले पनि सोधेका थिए- कहाँ बसेर आउनुभयो?
खाना खाँदै गर्दा साहुनीले थपिन्, 'भोली बिहान बस्न कहाँ पुग्नुहुन्छ?'
'टाँसीगाउँ पुग्ने भनेको हो।'
'त्यहाँ मकालु बरुण होटलमा बस्नु है! पुग्नुभएन भने डाँडाखर्क मुनिको गोठमा बसे पनि हुन्छ, बस्ने ठाउँ छ।'
नुमबाट हिडेँको दिन च्याक्से डाँडामा चिया पसलको दाइले टाँसीगाउँमा मकालु बरुण होटलमै बस्नु है, भनेका थिए।
नुममा कोपिला दिदीले भनेकी थिइन्- यो रुटमा चेन होटल छन्। अर्थात्, फरक-फरक ठाउँमा एउटै मान्छेका होटल। त्यहाँकै एक जनप्रतिनिधिले हरेक क्याम्पमा होटल राखेका छन्। यो शृङ्खला टाँसीगाउँदेखि बेसक्याम्पसम्मै छ। ती होटल उनकै परिवारका सदस्यले चलाउँछन्।
हामी जाँदै गर्दा भेटिएका केही फर्किनेहरूले भनेका थिए- 'चेन होटल तुलनात्मक रुपमा केही महंगा छन्।' हामीले क्रस चेक गर्यौँ। दोबाटेमा खाना खाँदा तिरेको मूल्य त्यहाँभन्दा एक दिन टाढाको तादोसामा तिरेको मूल्यभन्दा महंगो थियो।
चेन होटलले हाम्रै होटलमा जाऊ मात्र भन्दैनन्। प्रतिस्पर्धीको चियोचर्चो र निगरानी पनि गरिरहन्छन्। ठूलो डाँडाकी निलम दिदी, तादोसाकी ल्हाक्पा दिदीहरू यस्तो निगरानीमा परिरहन्छन्।
हामी जहाँ-जहाँ बास बस्न पुग्यौँ, त्यहाँ भिडभाड थिएन। तर भिडभाड हुँदा र विदेशीहरू पनि भएको बखतमा चेन होटलले नेपालीलाई विभेद गर्छ भन्ने पनि सुन्यौँ। पुगेर आउने हाम्रै केही साथीले त्यो अनुभव सुनाए। एकजना मात्रैले होटल चलाउने र रातिसम्म खाना बनाएर खुवाउँदा नेपालीको पालै नआउने हुने रहेछ।
यो समस्या सबैभन्दा बढी दोबाटेमा दोहोरिने रहेछ। त्यहाँ एउटा मात्रै होटल छ। यताबाट जानेहरू सिप्तुङ्ला पास काटेर दोबाटे झर्ने र फर्किनेहरू पनि सिप्तुङ्लाको बेसक्याम्पका रुपमा दोबाटे बस्ने हुँदा भिडभाड हुँदो रहेछ।
नेपाली भएकै कारण नेपालभित्रै हुने विभेद बारे लेख्दै गर्दा मलाई अनौठो लागेको छैन। मेरा यिनै आँखा हुन् जसले खुम्बुको नाम्चेमा एउटा कमसल होटलको बोर्डमा देखेको छ– 'यहाँ नेपालीहरूलाई खान-बस्नको राम्रो व्यवस्था छ।'
तीता कुरा
सेँदुवामा बाटैमा मकालु बरुण राष्ट्रिय निकुञ्जको बोर्डले रोक्छ र सय रुपैँया तिराउँछ। कारण प्रवेश शुल्क। तर मैले सय रुपैँया तिरेँ कि तिरिनँ भनेर बाटोमा कसैले चेकजाँच गरेन। म फर्किएँ कि फर्किनँ भनेर पनि कसैले हेरेन। फर्किँदा मैले प्रतिबन्धित कुनै वस्तु पो ल्याएँ कि! कसैले सोधखोज गरेन। अर्थात्, निकुञ्जले मसँग लिएको सय रुपैँया सिर्फ पैसा उठाउने काम मात्रै हो।
रुटमा एउटा पनि संकेत चिन्ह छैनन्। बाटोमा संकेत चिन्ह हुनु भनेको हराउनबाट जोगिनु मात्र होइन, म ठिक छु है भन्ने आत्मविश्वास पनि हो। पुगेका ठाउँको उचाइ सहितको जानकारीले यात्रामा हौसला थप्छ। यो जानकारी बोर्ड राख्ने जिम्मेवारी निकुञ्जको हो कि होइन? होइन भने अन्नपूर्ण संरक्षण क्षेत्रले आफ्नो क्षेत्रका रुटमा किन राख्छ? तपाईं किन राख्नुहुन्न?
बाटोमा एक ठाउँ बाहेक अन्त कतै पनि फोहोर फाल्ने ठाउँ छैन। पहिलो त भर्खर-भर्खर ट्रेक हिँड्न थालेका हामीमा जथाभावी फोहोर फाल्नुहुन्न भन्ने संस्कार नै छैन। तर जे जतिमा छ, उनीहरूलाई त ठाउँ दिनुपर्यो नि! जब तपाईं निश्चित दूरीमा फोहोर राख्ने ठाउँ दिनुहुन्छ, तब सचेत नागरिकले अन्त फालिएका फोहोर पनि जम्मा पारिदिन्छन्।
हामीले खाएका जंक फुडका खोल जम्मा पारेर झोलाबाट डस्टबिनमा हाल्दा होटलका मान्छेले छक्क परेर हेरे। के त्यो लाजमर्दो स्थिति हैन?
नुमदेखि सेँदुवासम्म खच्चडबाट सामान ढुवानी गरिन्छ। खच्चड र मान्छे हिँड्ने रुट एउटै छ। बाटो गन्हाएर हिँडिनसक्नु हुन्छ। झन् टन्टालापुर घाम लागेका बेला उकालो बाटोमा परियो भने त घाममा बाफिएको पिसाबको गन्धले भाउन्न बनाउँछ।
तपाईंलाई सेँदुवादेखि टाँसीगाउँसम्मको बाटोमा केही केटाकेटीहरूले 'नमस्ते, चकलेट?' भनेर दिक्क लगाउनेछन्।
पेमटासी
नाम पेमटासी शेर्पा। घर टाँसीगाउँ। उमेर १८ वर्ष। पेशा भारी बोक्ने।
डाँडाखर्कको ओरालोमा उसले परिचय दियो। बा भारी बोक्छन्। घरमा आमा र भाइ-बहिनी छन्। ऊ पाँच कक्षा पढ्दापढ्दै भारी बोक्न हिँड्यो। त्यसपछि फर्किएर स्कुल गएन। भारी लिएर बेसक्याम्पसम्म पुगेको छ।
एकदिन आफ्नै पाइतालाले मकालुको टुप्पोमा टेक्ने सपना छ ऊसँग। त्यहीँ लाइनमा अर्को पनि सपना छ, यहीँ ट्रेकिङ रुटमा उसले आफ्नै होटल खोल्नेछ र टन्न पैसा कमाउनेछ।
खोङ्मामा चिया खाँदै थियौँ। पेमटासी छेवैमा आएर बस्यो।
'यो तपाईंहरूसँगै टाँसीगाउँ जान्छ।'
एउटा मान्छे बोल्यो– 'मेरो छोरो हो।'
हाम्रा बोकेका बिस्कुट उब्रिएका थिए। होटलमा वरिपरि भएका मान्छेलाई बाँडिदियौँ। त्यो मान्छेले सित्तैमा बिस्कुट खान पाएको खुसीमा छोरा चाहिँलाई भनेको थियो, उहाँहरूलाई नछोडी लैजानू।'
हामी ओरालो हिँड्यौँ। पेमटासीले 'हिँड्दै गर्नू, म भेटिहाल्छु' भन्यो। एकैछिनमा ढुङ्गो बत्तिएसरी आइपुग्यो।
'अंकल, झोला म बोकिदिन्छु।'
उसले तेस्रो पटक भनेपछि चिरन्जीवी सरको झोला बोक्न दियौँ। उहाँलाई अलि गाह्रो नै भइरहेको थियो। मलाई ठिकै थियो। उसलाइ दुःख नदिउँ भन्ने लाग्यो।
हामी विस्तार-विस्तार झर्दै गयौँ। ऊ केटौले मान्छे! घरी अघि-अघि खुर्र दौडन्थ्यो र पर्खन्थ्यो। घरी भारी बिसाएर पछि बस्थ्यो। अन्तिम पटक डाँडाखर्कबाट ओभरटेक गर्यो र भन्यो- म तल गोठमा पर्खिन्छु है।
गोठमा उसलाई बोलाउँदै हामी अघि लाग्यौँ। झमक्क साँझ पर्यो। हामीसँग त लाइट थियो तर ऊसँग छ कि छैन भन्ने चिन्ता भो। एकछिन कुर्यौँ पनि। आउँदै गरेको संकेत कतै नदेखिएपछि फेरि लम्कियौँ। खोला पुग्ने बेलामा बल्ल उज्यालो बाल्दै आइपुग्यो ऊ। लाइट बल्ने पावर बैंक रहेछ ऊसँग।
'अंकल कति पर्छ यो पावर बैंकको?'
'किन? तिम्रो होइन र यो?'
'मलाई लाङमालेको हजुरबाले देको हो।'
मैले उसको हातको पावर बैंक नियालेर हेरेँ। त्यस्तै ५\७ हजार पर्ने अनुमान लगाएँ।
टाँसीगाउँ पुग्दा ठ्याक्कै सात बज्यो। पेमटासीले डाँफे होटलमा पुर्यायो। हामीलाई उसको मायाले पगाल्यो। हातमा पाँच सय रुपैयाँ हालिदियौँ।
खुट्टा साह्रै दुखेको थियो। बाहिर बेञ्चमा आराम गरेर बस्यौँ। होटलकी दिदी र पेमटासी एकछिन शेर्पा भाषामा कल्याङमल्याङ गरे। हामीले केही बुझेनौँ। अन्तिममा पेमटासीले त्यो पावर बैंक त्यही छाडेर गयो।
माथि कोठामा चढ्यौँ। कपडा फेर्नलाई मैलोबाट बचेका कुनै छन् कि भनेर झोला खोतलखातल पार्यौँ। त्यहीँ बेला चिरन्जीवी सरले भन्नुभयो- 'मैले अस्ति किनेको नयाँ ट्राउजर (ट्रयाक) नै छैन।'
ओहो! कहाँ छुट्यो त फेरि? कहाँसम्म थियो?
'बिहान फेमाताङबाट हिँड्दा हेरेरै हालेको हो।'
'कतै पेमटासीले त लगेन?'
'विचरा! त्यसले के लग्यो होला र!'
'कुन, त्यही सेतो ट्राउजर?'
'हैन, कालो। लौ! मोबाइल चार्जरको वायर पनि छैन।'
'वायर कुन रङ्गको थियो?'
'सेतो।'
पेमटासीमाथि मलाई शंका लाग्यो। होटलकी दिदीलाई बोलाएँ।
'दिदी! यो केटो कस्तो मान्छे हो?'
'अलि फटाहा-फटाहा खालको छ। यो मेरो पावर बैंक अस्ति भक्तपुर तिरको भाइहरूले लिएर गएको थियो। तिनीहरूको भारी बोकेर जाने यही पेमटासी हो। कसरी हो, पावर बैंक हात पारेछ। अहिले माग्दा नदिन पो खोजेको।'
'तपाईंको पावर बैंकमा तार थियो?'
'थिएन।'
यसअघि पनि उसले बोकेको झोलाका सामान हराएका र पछि उसको घरमा भेटिएका घटना रहेछन्।
अब म शतप्रतिशत भएँ। सामान पेमटासीले नै झिक्यो।
अघि जंगलमा पावर बैँक नियाल्दा मैले सेतो रंगको वायर देखेको थिएँ। झोला झिक्दा ढाकरको कुनामा कुनै कालो कपडा पनि नोटिस गरेको थिएँ। त्यो कपडा त्यही ट्राउजर हुनुपर्छ।
उसको घर जान बिस मिनेट लाग्ने रहेछ, ओह्रालो। चिरन्जीवी सरलाई के गर्ने? भनेर सोधेँ। सामानको मायाभन्दा पनि उसले फेरि यस्तो नगरोस् भनेर जानुपर्छ भन्नुभयो।
होटलकी सानी फुच्ची अघि लागिन्। दुखेका खुट्टा अख्रिएका थिए। फेरि बल्झिए।
घरमा चकमन्न थियो। पिँढीमा अघिको ढाकर भेटियो। ढाकरभित्र ट्राउजर। पिलिक्क पेमटासी देखापर्यो।
'झोलाबाट अरु के-के झिकिस्?'
'यी यत्ति हो,' उसले गोजीबाट वायर निकाल्यो। हाम्रो अरु सामान हराएको थिएन।
प्रमाणसहित चोर भेटियो।तर हामीसँग कानुन थिएन। कानुन खोज्न नजिकै प्रहरी थिएन। आफ्नो सामान लिएर छाडिदियौँ।
अघि मायाले पग्लिएको मन अब ढुङ्गा भैसकेको थियो। पाँच सय रुपैयाँ फिर्ता लियौँ।
भोलिपल्ट फर्किँदा प्रहरी चौकी सेँदुवामा फलानो मान्छेलाई नोटिस गर्नु है भनेर उसको फोटो सहितको विवरण दिएर आयौँ।
ठूला सपना पालेको पेमटासी उल्टो बाटो हिँडिरहेको छ। यस्तो बाटो ऊ कहिलेदेखि हिँड्यो होला? कोबाट सिक्यो होला? के त्यहाँ अरु पनि हिँड्छन् यसरी नै?
निलम दिदीले भनेकी थिइन्- 'आजकाल मकालु ट्रेकमा सामान चोरी हुन्छ भनेर धेरैजसो हिमाल चढ्नेहरू हेलिकप्टरमा सामान सिधैँ बेसक्याम्प पुर्याउँछन्।'
मैले बल्ल उनको कुरा पत्याएको छु।
पेमटासी कहिलेसम्म यस्तो बाटो हिँड्छ होला! मलाई अहिले उसका सपनाहरूको माया लागेर आएको छ।
उपसंहार
घुम्न\डुल्न सबैले चाहने तर थोरै मान्छे मात्र निस्कने विषय हो। ती निस्कने मध्येमा पनि साह्रै कम मात्र ट्रेक हिँड्ने गर्दछन्। तर जो-जो हिँड्छन्, तिनीहरूको अनुभूति अद्भुत हुन्छ।
घुम्नु भनेको अनुभूति गर्नु हो। यो दृश्य हेर्नुभन्दा धेरै बढी हो। यहीँ अनुभूति हो जसले हरेकपटक सम्झँदा आफूलाई त्यहीँ पुर्याउँछ।
नेपाल वास्तवमै सुन्दर छ। विश्वका राम्रा-राम्रा कुराहरूको टुक्रा जोडेपछि बल्ल नेपाल बन्छ। हामीसँग समुद्र बाहेक सबथोक छ। घुम्ने ठाउँहरू अथाह छन्। कति त पत्ता लाग्नै बाँकी छन्।
हामीसँग नभएको भनेको पूर्वाधार विकास र चेतनास्तर मात्रै हो। दैनिक जीवनमा यत्राबिघ्न अभाव भोगिरहेका हामीलाई अलिकति बढी दुःख गर्न कत्ति गाह्रो छैन।
ट्रेक जानलाई विदेशीलाई जस्तो धेरै दिन छुट्याउनु पनि पर्दैन। दुई\तीन दिनमै हिमाली क्षेत्र पुगिहालिन्छ। घुम्ने र फर्कने दिन जोड्दा ६\७ दिनमा सकिने ट्रेकहरू धेरै छन्। कतिपय ठाउँ त ३\४ दिनमै पुगेर आउन सकिन्छ।
धेरै दिनदेखि योजना बनाउने, धेरै साथी समेट्न खोज्ने हुँदा धेरैजसोका घुम्ने योजना असरल्ल पर्छन्। यो अनुभव मेरो पनि छ। आजकाल चाहिँ म ५\७ दिन समय निकाल्न सकिने भयो भने फुत्त निस्कने गरेको छु।
मलाई उचाइसँग समस्या छ। ४००० आसपासमै लेक लाग्न थाल्छ। एकैचोटी माथि जान सक्दिँन। एकदमै चाँडो इनर्जी घट्छ। तर पनि ट्रेक जाने भनेपछि शरीरमा स्फूर्ति आइहाल्छ। मौसम खुलेपछि आफूलाई नियन्त्रण गर्नै सक्दिनँ। म अम्मली भएको छु आजकाल, हिमालको अम्मली।
हिँड्न चाहिँ खोज्ने तर हिँडी नहाल्ने बानीले धेरैपटक उचालेको खुट्टो तलै टेकिन्छ। जाने भनेपछि हिँडिहाल्नुपर्छ। हिँडेपछि, हिँडेको हिँड्यै। एक पटक हिँडेपछि त पल्किहालिन्छ। अनि विस्तारै ट्रेकको बानी लाग्दै जान्छ।
मेरा यति गन्थन पढ्दै गर्दा तपाईंले मनमा कुनै ट्रेकको योजना बनाउनुभयो नि हैन? घुम्नुस् है। देशका सुन्दर कन्दराहरूले तपाईंलाई पर्खिरहेका छन्।