नदेखिएका र नपुगेका ठाउँ पुग्न साह्रै मज्जा हुन्छ। जिन्दगी भन्नु नै यात्राहरूको समिश्रण न हो।
विश्वप्रेमको भाव सिक्न, सिकाउन, ओइलिएका मनहरू फक्रिन फक्राउन आफ्नो ग्राह्य गुण छाडेर उड्न पर्छ। नवीन झल्का र सन्देशहरू फिजाउँदै उड्दा विकसित भइन्छ।
यात्रा कुनै देखासिकी होइन, न त प्रभाव हो, यो त मात्र वर्तमानमा बाँच्ने कला हो।
यही कुरालाई मध्यनजर गर्दै हामी मादी गाउँपालिका कास्कीका कर्मचारीहरू यसै गाउँपालिकाको वडा नं १ मा अवस्थित कोरी पुग्ने निर्णयमा पुग्यौं।
चिकित्सा कार्यका लागि मादी गाउँपालिकाको वडा नं १० स्थित थुम्सिकोटमा आइपुगेको धेरै भइसकेको थियो। तर आफ्नै गाउँ ठाउँ पनि चाहना हुँदाहुँदै पनि पुग्न पाइएको थिएन। यो चोटि संयोग मिल्यो र हामी जाने तरखर गर्यौं।
भदौ ३० गते थुम्सिकोटबाट अर्का विनोद डा साब र म पोखरा हुँदै ताङतिङ लाग्यौं। अरू कर्मचारी साथीहरू सबै सिकलेसका हुनुहुन्थ्यो। त्यसैले ३१ गते सिकलेसमा भेट भएर जाने कुरा थियो। हाम्रो त्यो दिनको बास ताङतिङ नै भयो। मौसम पूर्वानुमान शाखाले तीन दिनका लागि झरी पर्ने सूचना दिइसकेको थियो।
त्यसैले पनि हामीले थुम्सिकोटदेखि नै झरीको सामना गरिरहेका थियौं। अरू त अरू ताङतिङबाट हिँड्ने दिनको दश बजिसक्दा समेत झरी रोकिएको थिएन। तै पनि हाम्रो तयारी मनसुन ट्रेक भएकाले ताङतिङको तल मितेरी पुल ओर्लियौं र सिकलेसको उकालो लाग्यौं।
मादीलाई तरेपछि छुट्टै जोसका साथ अघि बढे पनि हामीलाई झरीले अलिअलि रूझाइरहेको थियो। माथि छाता र प्लास्टिक ओढ्नु पर्ने बाध्यता, तल खुट्टामा जुकाले टोक्ने व्यथा सबैलाई सहेरै हामी धान खेत उक्लँदै सिकलेस पुग्यौं र फेरि तल ओह्रालो लाग्यौं।
कोरीको बाटो पछ्याउँदै हामी सिकलेस हाइड्रोपावर पुग्यौं जहाँ मादीको दोभान थियो। हाम्रा साथीहरू हामीलाई छोडेर धेरै माथि पुगिसकेका थिए। उनीहरूलाई रात नपर्दै भेट्टाउनुपर्ने बाध्यता थियो। किरण सरले बेला बेला 'कहाँ पुग्नु भो?' भन्दै फोनमा दिनुभएको ढाडसले थप ऊर्जा दिँदै थियो।
दर्के झरी र ठाडो उकालोको सामना गरेपछि बल्ल तल्ल हामी तसा भन्ने ठाउँ पुग्यौं र साथीहरू भेट्टायौं। आजको हाम्रो बास त्यही हुनेवाला थियो। त्यो रात सबै थकानहरू भुलेर हामीले गर्नु सम्मको रमाइलो गर्यौं। हामी नौ जनाको टोली पुरूष र महिला दुवै गरेर रात आधा भइसक्दा समेत नाचिरह्यौं। आगोलाई बीचमा राखेर कहिले गुरूङ नाच नाचियो त कहिले हाम्रै आफ्नै लोकभाका।
आजकालको जमानामा राजनीति नबुझे पनि बुझेझैं गर्ने, एक अर्काको चियोचर्चो गर्नेहरू धेरै भइसके। तर साँच्चै अर्थमा प्रकृति बुझ्ने हृदयहरू कति होलान् है? कलकल बग्ने प्रकृतिको प्रवाह आत्मसात गर्नेहरू कति होलान् है? माकुराको जालो जस्तै जिन्दगीमा यता उता झुण्डिँदा झुण्डिँदै पनि चेत नपाउनेहरू कति धेरै होलान् है!
हामी हाम्रै अतिआवश्यक खोला नाला, वन, जंगल, हिमाल, पहाडका कुरा नगरेर, यिनै चिजहरूमा मन नडुलाएर किन अन्त अन्त भागिरहेका होलाऊँ है?
असोज १ गते बिहानै हामी तसाबाट खाना खाएर कोरीतर्फ लाग्यौं। अर्को सानो टिम पनि हामीसँगै जोडियो। जहाँ भर्खर १२ पास गरेर अमेरिका जाने तयारी गरेका दुई जना नानीहरू थिए। उनीहरुको कोरी घुम्ने इच्छा देखेर म छक्क परेको थिएँ। हामी जति माथि लाग्थ्यौं उति चिसो बढ्दै थियो।
अरू त अरू बनेका सिँढीहरूमा उक्लँदा जुकाहरू भुइँबाट पनि र रूखबाट पनि एकोहोरो आक्रमण गर्न तम्तयार थिए। दुइटा हात भगवानले दिएका थिए, एउटाले छाता ओढ्न पर्यो, अर्कोले लौरो टेक्न पर्यो। जुका कुन हातले टिप्नु? जहाँ थकाइ लाएर बिसाउन खोज्थ्यौं त्यही जुकाले आक्रमण गर्थ्यो।
एउटा होइन दुइटा होइन एकैचोटि २० वटा सम्मले रगताम्मे हुने गरेर चुस्थे। सायद कुन दिन झरी पर्ला र पदयात्रीहरू आउलान् भन्ने पर्खाइमा थिए होलान् जुकाहरू।
मेरा खुट्टाहरूप्रति म अहिले पनि नतमस्तक नै छु। यति लामो उकाली ओरालीमा जुकाले टोक्दा टोक्दै पनि मिठो गन्तव्यमा पुर्याएर सकुशल घर ल्याइपुर्यायो।
मनसुन ट्रेकमा यो चोटि मैले सिकेको कुरा बुट जुत्ता लगाउन हो। सायद बुट जुत्ताले लगाएको भए मेरा खुट्टाहरू जुकाबाट जोगिन्थे र जुकाहरू भोकै रहन्थे।
हामी निरन्तर उकालो लाग्दै अल्पाइन फरेस्टतर्फ पुग्यौं। जहाँ बोट बिरूवा कमै देखिन्थे र जंगली भालुको जोखिम देखिन्थ्यो।
३८०० मि को उचाइको कोरी पुग्न हामीलाई धेरै सकस भयो। यो अवस्थाको सिर्जना पानी परेरै भएको हो भन्न चाहिँ सकिन्छ। पानी परेपछि साना बोटबिरूवाले बाटो छेक्ने भए अनि बाटो चिप्लो भएर उक्लन गाह्रो हुने नै भयो।
जुका र हिलो त प्राइम फ्याक्टर नै भए। चर्को घाम लागेको भए पनि उक्लिन त गाह्रै हुन्थ्यो तर सबै मौसममा ट्रेकको विशेषता फरक-फरक हुन्छ भन्ने जनाउ भने प्राप्त भयो।
कोरी पुगेको दिन झमझम पानी परिराख्यो। खासै मौसम खुलेन। आगो वरिपरि सेकिएर टेन्टभित्र छिर्न हामी हतारो गरिरहेका थियौं। आगो माथि झुण्डिएका सेकुवा मासु पनि चाखियो। मिठो भात तिउन खाएर अर्को दिन बिहानै बाख्रा काटेर खाने निधोका साथ हामी सुत्यौं।
असोज २ गते बिहानै पनि खासै हिमाल खुल्न सकेन। तर अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालका केही भाग देखिँदै छोपिँदै थिए। सागर सर, दौलत सर, किरण सर, वडा सचिव सर र म बाख्रा ल्याएर तयार पार्न लाग्यौं। दिउँसो मासुको झोलसँग मिठो खाना खायौं। केही फोटो खिच्यौं। केही लेडिज टिम टिकटक बनाउनतर्फ लाग्नुभो। हामीले हेरेरै मज्जा लियौं। फर्किने नफर्किने दोधारका बीच हामी सोही दिन तीन बजे तसा बास बस्ने गरी फर्कियौं।
सानो पाटन क्षेत्र जहाँ फुलेका अनगिन्ती फूलहरूले कोरी जाने जो कोसैलाई आकर्षण गर्न सक्छ। बाटैभरि देखिने संकेत बोर्डहरूले पहिलो चोटि जाने यात्रीलाई सहज समेत बनाएको छ।
यो गन्तव्य त्यति प्रख्यात वा बाहिर मिडियामा आएको गन्तव्य होइन तर भर्जिन ठाउँहरू जहाँ धेरै मान्छेहरू पुगेका हुँदैनन्। त्यस्ता ठाउँमा पुग्नुको मज्जा बेग्लै हुन्छ। सूर्योदय र सूर्यास्तमा घामका प्रकाश जब हिमाललाई चुमेर पाटनका घाँसमा आइपुग्छन् तब स्वर्गीय आनन्दको आभास हुन्छ।
साँझ पर्ने बेलामा तसा आइपुगेपछि फेरि हाम्रो नाचगान सुरू भयो। भोलि बिहानै छुट्टिने निधोमा हामी सबै टिम धितमरून्जेल नाच्यौं, रमायौं। सोमबारको दिन बिहानै चिया चुस्की लिएर हामी दुई जना चिकित्सक तसाबाट ओर्लियौं र सिकलेस उक्लियौं। अनि सिकलेस गाउँलाई नभेटिकनै मादीको तीर सोधा गाउँ निस्कियौं। अनि मादी तरेर ताङतिङबाट आउने गाडी चढेर पोखरा हुँदै थुम्सिकोट पुग्यौं र यात्रा सिध्यायौं।
यसरी पाँच दिनको मनसुन पदयात्रा सकाउँदा मनमा धेरै कुरा खेलिरहे र केही न केही छुटे जस्तो भान भइराख्यो। हामीलाई मादीको पुलसम्म पछ्याउने काले कुकुर जसले डरलाग्दो वनमा हामीलाई धेरै सुरक्षा प्रदान गर्यो, उसलाई हामीले धेरै मिस गर्यौं। उक्लिँदा सजिलो होस् भनी मेहनतले पन्छाइएका झाडीहरू र ठाउँ-ठाउँमा बासका निम्ति बनेका होटलहरूप्रति आभार छ।
व्यवसाय एउटा पाटो होला तर पदयात्रीलाई सहजता दिनसक्नु नि निकै महत्वपूर्ण कुरा हो जसका निम्ति यात्री कुरेर बसेका ती होटल व्यवसायीको मन कहिल्यै रित्तो नहोस् भन्ने कामना गर्दछु।
विशेष धन्यवाद हाम्रो टिमलाई जसले कुनै पनि हालतमा हामी दुई जनालाई छुटाउन चाहेन, सँगै समेटेर झरनाको झल्को, हिमालको हाँसो र चराचुरूङ्गीहरूको चेष्टा प्रदान गर्ने जमर्को गरिरह्यो।
कोरी डाँडा, प्रकृतिको नमूना हो जहाँ पारिबाट हिमालले घाँसे मैदान हेरेर घोत्लिरहेको हुन्छ भने यताबाट मनसुनमा फुलेका फूलहरू हिमाल हेर्दै मुस्काइरहेका हुन्छन्। च्याङ्ग्रा, भेंडा, बाख्रा, लेकका मान्छे र यी सबैको सुरक्षार्थ खटिएका भोटे कुकुरको त कहाँ बयान गर्न सकिएला र? त्यसैले कोरी घुम्न नछुटाउनुहोला।