‘कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो,
कुन सामग्रीले पूजा गर्ने साथ कसरी लाने हो?’
यो अंश महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कविताको हो।
चित्लाङका बासिन्दाहरू भन्छन्– महाकविले यात्री कविता गुर्जुधाराको सिँढीमा बसेर लेखेका हुन्।
चन्द्रागिरिबाट चित्लाङ जाँदा ओरालो सकिने फेदीमा रहेको ढुंगेधाराको नाम गुर्जुधारा हो। केही वर्ष अघिसम्म त गुर्जधारा नजिकै यात्री कविताको रचनागर्भबारे थाहा दिने बोर्ड पनि थियो रे। अचेल त्यो बोर्ड छैन। किन छैन भन्नेबारे स्थानीय बासिन्दा जानकार छैनन्।
त्यति वेलासम्म पनि तराईबाट काठमाडौं आउने मुख्य बाटो त्यही थियो। सिँढीमा सुस्ताइरहेका महाकविले पशुपतिनाथ दर्शन गर्न आएका भारतीय मानिसहरू देखे। कतिपय यात्रुलाई त भरियाहरूले बोकेका थिए।
तिनै तीर्थयात्रीलाई देखेपछि कविलाई कविता फुरेछ! ढुंगेधाराको सिँढीमै सुस्ताउँदै उनले कविता लेखेछन्!
यात्री कविताको यो प्रसंग मैले चित्लाङ जानुअघि पनि सुनेको थिएँ। कसैले लेखेको ब्लगमा, कसैले लेखेको फेसबुक स्टाटसमा। यो कथाले मात्र होइन चित्लाङ पुगेर फर्किनेहरूका फोटोमा देखिने त्यहाँको प्राकृतिक सुन्दरताले मलाई लोभ्याएको थियो।
एकदिन म भोलिपल्ट बिहानै चित्लाङ हाइकिङ जाने सोंच बनाएर सुतेँ।
मोबाइलमा सेट गरेको अलार्म बिहान साढे तीन बजेदेखि नै बजिरह्यो। एघारौं घण्टीमा म उठेँ। छिटोछिटो ब्रेकफास्ट खाएँ। झोलामा एउटा ओरियो बिस्कुट र कालो चस्मा राखेँ। अनि घरबाट निस्केँ।
कुखुराको मासु लिन हिँडेको एउटा गाडीले बसुन्धाराबाट स्यूचाटारसम्म छोडिदियो। सार्वजनिक यातायातका साधन चलेकै थिएनन्। बसपार्क र कलंकीबाट छुटेका लामा रूटका माइक्रो बसले लोकल प्यासेन्जर नलाने भने, कुनै पनि गाडी रोकिएनन्। थानकोटसम्म त हिँडेरै जान्छु भन्दै अघि बढेँ।
अर्को मनले सोचेँ। ओहो! त्यति टाढा हिँडेको मान्छे, अहिले नै सबै शक्ति खर्च गर्न हुन्न। गाडी कुर्न हात तेर्साएर उभिएँ। बत्तिएर आएको एउटा माइक्रोबस ‘नारानघाट नारानघाट’ भन्दै मेरो अगाडि रोकियो।
म मुग्लिन जाने हो भनेर ढाँटेँ। माइक्रोबसले चढायो। थानकोट–चेकपोस्ट नपुग्दै लौ न हजुर, मेरो त सामान छुट्यो भनेर झुट बोलेँ। त्यति बोलेपछि ५० रूपैयाँमात्र दिए पुग्यो। म माइक्रोबाट ओर्लें।
थानकोटको चेकपोस्ट ट्राफिक अफिसलाई दायाँ पारेर म उकालो लागेँ। शनिबार भएकोले होला, सबै मासु पसलअगाडि खसी खुइल्याउँदै गरेका दृश्यहरू देखिए। छेउमा कुकुरहरू मुख बाएर ढुकेका देखिन्थे, खान पाउने आशमा थिए।
पिचबाटो सकिएर कच्ची सुरू भयो। हातमा पूजा थाली लिएका दिदीहरूलाई चन्द्रागिरि जाने छोटो बाटो सोधेँ। यो माथ्लो बाटो नबिराई जानू, अलिक माथि सिँढी छ भनेर बाटो देखाए।
यही बेला हेल्मेटमा फुच्चे केमरा टाँसेका तीन–चार जना साइकले दादा कच्ची बाटोमा सकीनसकी पाइडल पेल्दै गरेका देखिए।
पक्का पनि चित्लाङ नै हिँडेका होलान! बिहानै बाढी आएको जस्तो देखिने खोल्सो तरेपछि सिँढी फेला पर्यो।
सिँढीको सिमेन्टी आलोजस्तो देखिन्थ्यो। कतैकतै बर्खाको पानीले बगाएको थियो। केही सय पाइला हिँडेपछि घना जंगल सुरू भयो। चरा चुरुंगीहरू चिरबिर चिरबिर गर्दै बिहान भइसकेको जानकारी गराउँदै थिए।
कति चरा मलाई देखेर हो कि, भुरूरू उडेर अर्को रूखमा बसाइँ सर्दै थिए। एउटा रतुवा मृगको एकोहोरो भुकाइले जंगलको शून्यता चिरिरहेको थियो। मृगको भुकाइ म पहिलो पटक सुन्दै थिएँ। यो मृग भुक्ने भएकाले नै अंग्रेजीमा ‘बार्किङ डिएर’ भनिन्छ।
यसरी किन भुकेको होला भनेर मनमा कुरा खेलाउँदा खेलाउँदै सिँढीको बाटो सकियो।
सिँढी सकिएपछिको बाटो त लेउ लागेको चिप्लो! कोही नहिँडेको भएर होला, बाटो नै छेकिनेगरी बाक्लो झार पलाएको थियो, अप्ठेरो उकालो!
बाटै ढाकेर उम्रिएको झारमा अड्किएको बिहानी शीतले मेरा जुत्ता भिजिसकेका थिए। गोडामा जुकाको आक्रमण भएको भेउ पाउन थालेको थिएँ। एउटा दुइटा त फालेँ। कति टिपेर सक्नु! माथि देउराली पुगेर फाल्नु पर्ला भनेर अघि बढिरहेँ।
रूखमा उम्रेका अर्किड (सुनाखरी) हेर्दै, फर्कंदा एकदुइटा लैजानु पर्ला भन्ने सोच्दै बुट्यान र झार समाउँदै उकालो चढिरहेँ। करिब एक घण्टामा देउराली पुगिने रहेछ। देउरालीबाट चन्द्रागिरि र चित्लाङ जान सकिन्छ।
चित्लाङ हाइकिङ जान चन्द्रागिरिसम्म सरर केबलकारमा आएर त्यसपछि हिँड्न पनि सकिन्छ।
बेलुका चित्लाङबाट फर्कंदा चन्द्रागिरि जाने योजना थियो तर बिहानीपख मन्दिरको दर्शन राम्रो हुन्छ भन्ठानेर भालेश्वर महादेवलाई भेट्न चिप्लो बाटो उकालो लागेँ।
भगवानलाई भेट्न कहाँ सजिलो हुन्थ्यो र! चिप्लो बाटो लड्दैपड्दै आधा घण्टामा ‘आइ लभ चन्द्रागिरि’ लेखेको ठाँउमा पुगेँ। अलि छिटै भएर होला पूजारी पनि कतै देखिनँ।
मौसम सफा थियो। चन्द्रागिरिबाट काठमाडौं निकै रमणीय देखिएको थियो। बादलमा लुकामारी खेलिरहेका हिमाली शृंखलाले अझ सुन्दरता थपेको थियो।
सायद पृथ्वनारायण शाहले ऊ बेला प्राकृतिक रमणीय काठमाडौं देखेर आफ्नो बनाउने योजना बनाएका थिए। उनको योजना सफल भयो। उनले काठमाडौं उपत्यका विजय मात्र गरेनन् समग्र देशको एकीकरण गरे।
पृथ्वीनारायण शाहले झैँ औँलो ठड्याएर उनीसँग सेल्फी लिएँ। भालेश्वर महादेव मन्दिरको घन्टा बजाएँ। ‘आइ लभ चन्द्रागिरि’ लेखेको बोर्डअगाडि उभिएर गार्ड दाइलाई फोटो खिच्न लगाएँ।
एउटा बोर्डले चित्लाङ जानेतिर देखाएको संकेत हेरेर देउराली झरेँ।
हरिया डाँडाहरूले घेरिएको सानो उपत्यका, चिटिक्क परेका घर, मार्खु निस्कन परसम्म फैलिएको बाटो, च्याउका टनेल, बन्दाकोपी र काउलीले छपक्कै ढाकिएका खेत, होम–स्टेका रंगीन छाना– देउरालीबाट हेर्दा चित्लाङ यस्तै देखियो।
माछा पनि चिप्लिने जस्तो, जंगलबीच लेउ लागेका ढुंगाको छोटो बाटो छिचोल्दै तल फेदी पुगेँ।
फेदीमा एक छिन आराम गरूँ, जुकाको स्थिति बुझूँ भनेर टुसुक्क बसेँ। सानाठूला गरेर जम्मा पन्ध्र थान जुका रगत चुस्दै रहेछन्। जुका टिपिसकेपछि ढुंगा छापेर बनाइएको बाटो हिँड्दै चित्लाङतर्फ अघि बढेँ।
‘चित्लाङ’ लेखेको बोर्ड नजिकै चिया पसलमा चिया पिएर मोटरको बाटो नछोडी मार्खुतिर लागेँ। चिया पसलमा कुरा हुँदा छोटो बाटोबारे पनि जानकारी पाएँ।
मकवानपुरको थाहा नगरपालिकामा पर्ने ऐतिहासिक ठाउँ रहेछ चित्लाङ! जता हेर्यो त्यतै हरियो, जो कोहीलाई मोहनी लगाउने हरिया डाँडाहरू, रमणीय ठाउँ। पौराणिक संस्कृति झल्काउने पुराना घर, नजिकै मन्दिरहरू।
स्थानीयवासीहरूका अनुसार, लिच्छिवि कालदेखि नै काठमाडौंलाई तराईसँग जोड्ने बाटो चित्लाङकै काखमा थियो। नुनतेल, लत्ताकपडा हरचिज चित्लाङकै बाटो राजधानी भित्रिन्थ्यो। राजादेखि राणासम्म, व्यापारीदेखि भरियासम्मको बास पनि चित्लाङमै हुन्थ्यो।
अहिले पनि चित्लाङमा त्यो समयको छनक पाइन्छ। पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाले भरिपूर्ण चित्लाङको नाम पहिले चित्रापुर थियो रे! पछि चैत्य जाने बाटो भएकाले यसको नाम चैतलोङ रहन गयो अनि अपभ्रंश हुँदै चित्लाङ नाम रहन गयो भन्ने विश्वास छ।
करिब तेइस सय वर्ष पुरानो यस गाउँमा लिच्छिवीकालीन वास्तुकला र सम्पदा भेटिन्छन्। ऐतिहासिक ठाउँ चित्लाङको बारेमा पछि एउटा लामो लेख नै लेखूँला। अहिले ढिलो नगरी मार्खुतिर नै लागौँ।
जनक प्राथमिक विद्यालयबाट अलिक पर, कुशेचौरबाट मोटरबाटो छोडेर गोरेटो बाटो हुँदै दाँयातर्फ लागेँ।
दिन निकै गर्मी भए पनि रमणीय प्राकृतिक दृश्यले ‘डाँडै हरियो, मनै हरियो’ भनेझैँ मन त्यसैत्यसै प्रफुल्ल भयो।
झ्याउँकिरीको एकोहोरो झ्याइँझ्याइँ गीत सुन्दै जंगलको बाटो हिँडेको बीस मिनेट जतिमा बाटोबाट अलिक माथि ‘विन्डोज एक्स्पी’ को वालपेपर सम्झाउने हरियो डाँडो देखेँ।
यस्तो राम्रो ठाउँ त एकपटक पुग्नै पर्छ भन्ने ठानेर मार्खु जाने बाटो छाडेर ‘विन्डोज एक्स्पी वालपेपर’ तिर उकालो लागेँ। त्यहाँ पुग्दा थाहा भयो, यो त चित्लाङको बहुचर्चित भेडा फार्म पो रहेछ!
नाम भेडा फार्म भनिए पनि बाख्रा चर्दै थिए। त्यहाँ भेटिएकालाई आफ्नो एउटा सिंगल फोटो खिच्न लगाएर मार्खुतिर सोझिएँ।
ठाउँ जति नै सुन्दर भए पनि सधैँ त्यहीँ बस्न नमिल्ने! त्यहाँबाट पन्ध्र मिनटमा ओरालो झरेर मार्खु पुगेँ।
इन्द्रसरोवरमा पानी नभएकाले मार्खु उजाड देखिन्थ्यो। म सन् २०१७ मा साइकल लिएर मार्खु आएको थिएँ। त्यो बेला जहाँ फोटो खिचेको थिएँ त्यहाँ फेरि फोटो लिएँ। होटेलवालाले भनेअनुसार लोकल माछाभात खाइवरि उही बाटो चित्लाङ फर्कें।
चित्लाङबाट काठमाडौं फर्कन रिजर्भ बस पनि पाइने रहेछ। काठमाडौंको धुलो धुँवा कोलाहलको उकुसमुकुसबाट पन्छिएर नजिकैको शान्त र रमणीय चित्लाङ हाइकिङ गर्दै एक रात यतै थकाइ मारेर अर्को दिन गाडीमा फर्कन चाहनेका लागि उत्तम गन्तव्य हुन सक्छ।
निजी सवारी साधन बाइक, स्कुटर लिएर पनि आउन सकिन्छ। यतिबेला देउरालीभन्दा थोरै तल ठूलो पहिरो गर्दा चन्द्रागिरि हुँदै चित्लाङ जाने बाटो बन्द छ।
नजिकै टिस्टुङ, मार्खु, कुलेखानी पनि भएकोले बसाइ लम्ब्याउन पनि सकिन्छ।
भेडा फार्मबाट मार्खुसम्मको ओरालो झर्दा अलिअलि दुख्न थलेको देब्रे घुँडा अझै दुख्न थालेको थियो।
चित्लाङबाट चन्द्रगिरिको उकालो सुरू हुने फेदीमा बसेर, पानी पिएर केही बेर आराम गरिसक्दा पनि कुनै कविता नफुरेपछि चन्द्रागिरि जान तेर्सो मोटोर बाटो पछ्याँए।
छोटो तर अप्ठेरो बाटोभन्दा लामो भए पनि सजिलो तेर्सो बाटो हिँड्दा आराम अनुभव भयो।
दुई घण्टामा देउराली पुगेँ। चित्लाङमा टिपेका बालखा नास्पाती खाँदै देउरालीबाट मोटर बाटो भएरै लगभग बयालीस किलोमिटर दूरीको हाइकिङ पूरा गरी गोदाम हुँदै चन्द्रागिरि बस स्टेसन पुगेँ।
तस्बिरहरू