सानो छँदादेखि नै गाउँबाट देखिने पहाड र हिमाल नजिकबाट हेर्ने धोको थियो। ती टाकुरा र त्यहाँका दृश्य, बाटाघाटा, त्यहाँका मान्छे, रहनसहन, खानपिनबारे मनमा अनेकौं जिज्ञासा हुन्थे। पढेका र सुनेका; कति सत्य, कति काल्पनिक; कथाका आधारमा कल्पना गरेका ती दृश्यहरू सपनामा पनि आउँथे।
स्कुलमा पढ्दा नै फिल्म र भिडियो हेर्न थालेको थिएँ। तिनमा पहाडका र हिमालका सुन्दर दृश्य देख्न पाइन्थ्यो। कतैकतै हिमालका निकै ठूला तस्बिर पनि देख्न पाइन्थ्यो। स्कुलका किताबमा र सामान्य ज्ञानमा हिमाल र पहाडका विवरण पढ्दा त्यहीँ पुग्न मन लाग्थ्यो।
आठ कक्षामा पढ्दा हेटौंडाको पार्क, चिडियाखाना र दस कक्षामा पढ्दा लुम्बिनी घुम्ने अवसर मिलेको थियो; त्यो पनि शैक्षिक भ्रमणमा। ती ठाउँमा शैक्षिक भ्रमण जान पनि घरमा ठूलै कसरत गर्नु परेको थियो।
बाह्र कक्षाको परीक्षा दिएपछि बल्ल काठमाडौं आउने मौका जुर्यो। रात्रिबस चढेको हुनाले बाटाको दृश्य केही पनि हेर्न पाइएन, बिहान उज्यालो हुँदा काठमाडौं।
त्यसयता काम विशेषले धेरै पटक काठमाडौं गएँ। बाटाको पहाडी दृश्य पनि हेर्न पाएँ। ती पहाडी थुम्कामा हिँडेरै पुग्न र घुम्न मन लाग्थ्यो। कति पटक त योजना पनि बनाएँ तर समय, परिस्थिति केले हो फुत्त हिँड्ने मौका परेन। यतिकैमा थुप्रै वर्ष बित्यो।
गएको वैशाखमा गाउँघरतिर जाँदा स्कुल पढ्दाका साथी मुकेश सिंहलाई भेटेँ। हामीले केही पहाडी र हिमाली क्षेत्र घुम्ने योजना बनायौँ। स्थानीय चुनाव सकिएपछि हामी पोखरा हुँदै हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ लगायत अन्य केही ठाउँ जाने पक्का भयो।
म ती ठाउँका दृश्यबारे गुगल वा युट्युबबाट जानकारी नलिई पुग्न चाहन्थेँ। म आफूलाई नै ‘सरप्राइज’ दिन चाहन्थेँ। मैले बाटोको बाहेक केही पनि जानकारी लिइनँ।
बाटाघाटाको दृश्य हेर्दै जानुपर्छ भनेर हामीले बसयात्रा रोज्यौं। हामीले जेठ तेह्र गतेका लागि चार दिनअगावै जनकपुरबाट पोखरा जान टिकट काट्यौँ। अपराह्न करिब सवा दुई बजेतिर रामानन्द चोकबाट बस खुल्यो। साथी मुकेशले गाउँबाट आएर ढल्केवरमा बस समाते।
पोखरा जाने लामो दूरीको बस एसीवाला शानदार होला भनेको त गाउँमा चल्ने जस्तै थोत्रो परेछ, त्यसमा पनि अन्तिम सिट।
मलाई बस यात्रामा बान्ता हुने समस्या छ। अझ सुविधायुक्त बस नहुँदा त बान्ता नभई छोड्दैन। बस देख्नासाथ मलाई बान्ताको डर भयो। केही महिनाअघि काठमाडौं गएका बखत त्रिभुवन विश्वविद्यालय जानु पर्ने थियो। छोटो दूरीमा पनि मेरो यात्रा पूरा पाएन।
पोखरा यात्राको दिन बिहानैदेखि मनमा बान्ताको डर पसेको थियो। खाना पनि थोरै खाएको थिएँ। राति साढे दस बजेतिर हामी मुग्लिङ पुग्यौँ। निकै भोकाएका थियौँ। मुकेशले मजाले खाना खाए। मैले डराईडराई थोरै खाएँ। बिहान सवा तीन बजे पोखरा पुग्यौँ। मनमा डर भए पनि मलाई समस्या परेन।
पोखरा बसपार्कमा उत्रिनासाथ पानी पर्न थाल्यो। अनजान सहरमा हामी अलमलमा पर्यौँ। पानी रोकिएपछि गुगल म्यापमा फेवा ताल खोज्दै हिँड्यौँ। केहीबेर हिँडेपछि फेरि बेजोड पानी पर्न थाल्यो। हामी एउटा घरअगाडि छज्जीमुनि बस्यौँ। आधा घण्टासम्म पनि पानी नरोकिएपछि हामीले ट्याक्सी चढ्ने निर्णय गर्यौँ।
त्यति सबेरै पनि प्रशस्तै ट्याक्सी चलेका थिए। करिब दस मिनेटमा फेवाताल पुग्यौँ। मानिसको चहलपहल सुरु भइसकेको थियो। सिमसिमे पानी पर्दै थियो।
तालतिर अघि बढ्दै जाँदा फेरि सिमसिमे पानीको गति बढ्यो। हामी सानो ठाउँमा ओत लाग्यौँ, अरू काम के गर्नु र! मोबाइल चलाउन थाल्यौँ। छेउछाउमा निकै वटा कुकुर थिए। मलाई कुकुरसँग डर लाग्छ। कुकुरलाई बाटो छोडिदिन्छु। कहिलेकाहीँ त बाटो नै बदल्छु।
पाँच बज्यो। पानी रह्यो। उज्यालो फैलियो। हामी फेवातालतिर अघि बढ्यौँ। तालको किनारमा फ्रेस भएर मोबाइल चार्ज ग¥यौँ। त्यतिन्जेल फेवाताल सुनसान थियो। मैले त ताल यति ठूलो होला भनेर सोचेकै थिइनँ। तालमा जताततै डुंगा, पारिपट्टिको डाँडाको दृश्य उस्तै मनमोहक!
तालको सुन्दरता बढ्दै गयो। एउटा चिया पसलमा पसेर तालको कुरा गर्दै चिया खायौँ। लगत्तै तालबाराही जान डुंगाको टिकट काट्यौँ। पूजा सामग्री किन्यौँ।
म हातले चलाउने डुंगा पहिलो पटक चढ्दै थिएँ। मनको एउटा कुनामा डर लाग्दै थियो, कतै डुंगा डुब्यो भने! म पौडी खेल्न जान्दिनँ। थोरै थोरै डर लाग्दालाग्दै उत्रिने समय भयो। सिमसिमे पानीमा भिज्दै तालबाराही मन्दिर पुग्यौँ। डुंगायात्रा निकै रमाइलो भयो।
तालबाराहीबाट फेवातालको दृश्य खुब रमाइलो लाग्यो, तालको बीचमा मन्दिर! फेवातालको असली मजा मन्दिर पुगेरमात्र आयो। बिहानै पनि मन्दिरमा बाक्लो चहलपहल थियो।
सानो पूजा र दर्शन सकेर फेरि डुंगा चढ्यौँ। फर्कंदा चाहिँ मैले माछा देख्ने कोसिस गरेँ। यति ठूलो तालमा ठूल्ठूला माछा हुनु पर्ने हो तर अहँ, मैले देखिनँ।
फेवाताल घुमेर धित मरेपछि सहकर्मी मित्र युवराज श्रेष्ठलाई फोन गरेँ, फोन उठेन। हामीले फेवा तालबाट नजिक घुम्ने ठाउँहरू गुगलमा सर्च गर्यौँ।
हामी बस चढेर गुप्तेश्वर महादेव गुफा पुग्यौँ। गुफाको प्रवेशद्वारको बाटो निकै आकर्षक रहेछ। गुफा घुम्दा झन् रमाइलो। भित्र निर्माण कार्य चल्दै थियो। सायद निर्माण सम्पन्न भएपछि घुम्न झन् रमाइलो होला।
हामी डेविज फल्स अर्थात पाताले झरना पुग्यौँ, गुप्तेश्वर गुफाको नजिकै। अहिलेको घुमफिर सकियो। खाजा खाँदै गर्दा मैले केही साथीहरूलाई फोन गरेँ।
युवराज आफन्तको निधन भएकाले गाउँतिर गएको थाहा भयो, फोन उठेन। अर्का पूर्वसहकर्मी अनुप पौडेलको फोन लागेन। अर्का पत्रकार साथी श्याम राणासँग फोनमा कुरा भयो तर भेट नजुर्ने भयो। उनले विन्ध्यवासिनी मन्दिर, चमेरे गुफा र महेन्द्र गुफा जाने बाटोबारे फोनमै जानकारी गराए।
पाताले झरना नजिकै एउटा पसलमा पस्यौँ। मुकेश एउटा चस्मा किन्न चाहन्थे। के ठानेर हो कुन्नि, पसलमा बसेकी युवती हिन्दी भाषामा बोलिन्, ‘ओ भैया, लिजिए, क्या लेंगे।’ उनले अलिक जोड गरिन्।
ती युवतीको बोली मलाई मन परेन, झनक्क रिस नै उठ्यो। मैले भनेँ, ‘भैया कसलाई भन्नुभयो? हामी त हिन्दी बुझ्दैनौं, के भन्नुभएको फेरि भन्नुस त।’ युवती नाजवाफ भइन् अनि नेपालीमै बोलिन्।
त्यही पसलमा हामीले केही सामान किन्यौँ। ती युवती र मेरो संवाद हुँदै गर्दा पैतीस वर्ष जति उमेरका देखिने एक युवक हामीलाई सुन्दै थिए। उनले हामी कहाँबाट आएका हौँ भन्ने सोधे। म यसरी सोध्नेलाई ठाउँ चिन्न सजिलो होस् भनेर प्रायः जनकपुर नै भन्ने गर्छु। म बोल्न नपाउँदै मुकेशले बटेश्वर गाउँपालिकाबाट आएको भने।
ती युवकले त हामीसँग बटेश्वरको स्थानीय चुनावबारे सोधीखोजी गर्न थाले। उनले बटेश्वर र जनकपुरतिर काम गरेका रहेछन्। बटेश्वरका धेरै मानिस चिन्दा रहेछन्। हामी पोखरा आउनुको उद्देश्य पनि सोधे। उनले पुम्दीकोटस्थित शिवमन्दिर र शान्ति स्तुप घुम्न नछुटाउनू भनेर सुझाब दिए।
हामी पहिले पुम्दीकोट जाने भयौँ। ट्याक्सी चालकले भाडा तीन हजार रुपैयाँ लाग्छ भने। हामी बस चढेर जाने भयौँ। छोरेपाटनबाट पुम्दीकोट जाने बस पाइन्छ भनेर तिनै युवकले हामीलाई उपाय दिए। छोरेपाटन पुग्दा बिहानको दस बज्यो।
पुम्दीकोट जाने बसबारे थप कुरा थाहा पाउन मैले एउटा किराना पसलमा सोधेँ, ‘दाइ, पुम्दीकोट जाने बस कति बजे आउँछ?’ उनले जानकारी दिए, ‘साढे एघार बजे तक बस आ जाना चाहिए। लेकिन कुछ कह नही सक्ते। ठेगान नही रहता है।’
म नेपाली भाषा बोल्दैछु, पसले व्यक्ति हिन्दीमा जवाफ दिन्छन्! यो के भएको! हामी जिल्ल पर्यौँ।
उनले हाम्रो घरठेगाना सोधे। मैले जनकपुरबाट आएको बताएँ तैपनि उनी हिन्दीमै बोले। उनी हिन्दीभाषी पो रहेछन् जस्तो लाग्यो तर तुरुन्तै थाहा भयो, नेपालीभाषी नेपाली रहेछन्।
लगत्तै अर्को एउटा किराना पसलेसँग पनि बसबारे सोध्यौँ। उनले पनि हामीलाई हिन्दी भाषामै जवाफ दिए।
पसलेसँग कुरा हुँदै थियो, नजिकै रहेका एकजना ट्याक्सी चालक हामीसँग कुरा गर्न आए, हिन्दी भाषामै बोले। उनले ‘ओ भैया’ भनेर बोलाए। मेरो मन भित्रैदेखि तिरमिरायो, के भनिस् अरे भनेर झगडा नै गरूँ जस्तो भयो। आफूलाई सम्हालेँ।
अब चाहिँ मैले आफूलाई आफ्नै देशमा बिरानो ठानेँ। हेपेको ठानेँ। भारतीय ठानेर हिन्दी बोलेका हुन् कि मधेसको मान्छेसँग हिन्दी बोल्नुपर्छ भन्ने ठानेर हो, थाहा भएन।
मैले नेपाली भाषामा सोध्ने तर हिन्दीमा जवाफ पाउने घटना काठमाडौंमै पनि व्यहोरेको थिएँ धेरै पटक।
जनकपुरमा म अब पहाडमा मधेसीलाई पहिलेजस्तो दुव्र्यवहार हुन छाड्यो। मधेमा पनि भेदभाव हुनु हुँदैन भनेर तर्क गर्थें। बढी बुझक्कड ठानिने मेरो तर्क र मेरो भोगाइ पोखरामा उल्टो परेको थियो। पहिलेको तुलनामा कम त अवश्य भएको छ तर हटिसकको रहेनछ।
मैले फेरि श्यामलाई फोन गरेँ। करिब आधा घण्टापछि उनी आइपुगे। भेटको खुसियालीमा चिया खायौँ। बसको टुंगो भएन। हामी टयाक्सी चढेरै पुम्दीकोट जाने भयौँ। शिवमन्दिर जान अर्का एकजना युवक पनि बस पर्खेर बसेका थिए। उनी पनि हामीसँगै यात्रा गर्ने भए। ट्याक्सीमा तीन जना भयौँ।
अब बल्ल पहाडको यात्रा गरेको अनुभूति भयो। सिमसिमे पानी पर्दै थियो। बाटो हिलाम्मे थियो, छिनछिनमा घुम्ती आउँथ्यो। ट्याक्सी चालक बिन्दास स्वभावका रहेछन्। उनीसँगको रमाइलो गफले भेदभावको अनुभूति बिर्साइदियो।
करिब पौन घण्टामा पुम्दीकोट पुग्यौँ। त्यहाँ विशाल शिवमूर्ति रहेछ। मन्दिरको पछाडिपट्टि डमरुको ठूलो प्रतिरूप बनाइएको रहेछ।
चारैतिर बनाइएका शिवलिंगले मन्दिरको दृश्य आकर्षक बनाएको देखिन्थ्यो। ठाउँ अग्लो भएकाले पोखरा सहरको केही भाग मजाले देखिँदो रहेछ। निर्माण सम्पन्न भइनसकेकाले मन्दिर प्रवेशको अवसर जुरेन।
त्यहाँबाट फेरि ट्याक्सी चढेर हामी शान्ति स्तुप पुग्यौँ। ट्याक्सीबाट ओर्लेपछि सिँढी चढ्दै निकै माथि जानुपर्दो रहेछ। स्तुप पुग्दा थकान महसुस भएको थियो। शान्ति स्तुप परिसरको शान्ति अनि त्यहाँबाट देखिने फेवाताल र पोखरा सहरको दृश्यले थकान यसै उत्रियो।
शान्ति स्तुपबाट फर्केर छोरेपाटनबाट गुफा जान हामीले बस समात्यौँ। करिब डेढ घण्टामा बसले हामीलाई महेन्द्र गुफा छेउमा उतारदियो। त्यहाँ खाना खाएर पहिले चमेरे गुफा गयौँ।
गुफा छिर्न टर्च लाइट बोक्नु पर्दो रहेछ। गुफाभित्र चमेरै चमेरा होलान् भनेको त थोरैमात्र रहेछन्। फर्किने बेला थकाइ मार्न गुफाबाहिरको गोलघरमा बसेर म र मुकेश गफ गर्दै थियौँ।
त्यहाँ पनि उही कथा दोहोरियो। हामीजस्तै एक पर्यटक नेपालीभाषी पुरुषले हिन्दी भाषामा हाम्रो घरठेगाना सोधे। मैले नेपालीमै जवाफ दिएँ। उनी हिन्दीमै बोल्दै थिए, हामी त्यहाँबाट हिँड्यौँ।
महेन्द्र गुफामा निकै रमाइलो भयो। विन्ध्यवासिनी मन्दिर बाटोमै पर्छ भन्ने जानकारी खाना खाएको ठाउँमा पाएका थियौँ। केहीबेर हिँड्नु पर्ने रहेछ। दिनभरको यात्राले थकित थियौँ। मुकेशले हिँड्न मन गरेनन्, हामी मन्दिर नगई बस चढेर सोझै जिरो प्वाइन्ट पुग्यौँ।
मुस्ताङ जाने बस सिर्जना चोकबाट छुट्दो रहेछ। त्यहीँको मार्फा गेस्ट हाउसमा टिकट काउन्टर रहेछ। हामीले भोलिपल्ट, जेठ १५ गते, बिहान ७ बजेका लागि टिकट काट्यौँ र त्यही होटलमा बस्यौँ।
बेलुकीपख पोखराका साथीहरू अनुप र युवराजको फोन आयो। युवराजले बेलुकीको रमाइलो दृश्य हेर्न फेवातालको किनारमा बोलाए। हामी गुगल म्यापको सहाराले पैदलै पुग्यौँ।
अनुप त्यहीँ आइपुगे। पत्रकार साथी वासुदेव मिश्रलाई पनि भेट्यौँ। साँझमा फेवाताल क्षेत्रको दृश्यले दिनभरिको थकान र मनको सन्ताप शान्त गरिदियो। युवराजले मुक्तिनाथ जाँदा लेक लाग्नबाट बच्ने उपाय बताए।
बिहान साढे सात बजे जोमसोम जाने बस आइपुग्यो। म अनजान यात्रीका रूपमा जोमसोम र मुक्तिनाथ पुग्न चाहन्थेँ। यो यात्राबारे मैले केही पनि सोधखोज गरिनँ।
बसको झ्यालबाट हेर्दै जाँदा थाहा भयो, लुम्ले आइपुगेछ, देशभरिमै सबैभन्दा धेरै पानी पर्ने ठाउँ! बस पर्वत जिल्लाको बाटोमा अघि बढ्दै थियो। पौने ११ बजे मोबाइल खोल्दा मुस्ताङमा तारा एयरको विमान बेपत्ता भएको समाचार रहेछ, मन झस्कियो।
मेरो दिमागले केही महिनाअघि भारतका चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपिन रावत विमान दुर्घटनामा परेको कुरा सम्झ्यो।
बेपत्ता भएको विमान सकुशल भेटिएको समाचार मैले आजसम्म पढेको छैन। दुर्घटनामा सिडिएस रावत र उनका परिवारजनको ज्यान गएको थियो।
पोखरासम्मको यात्रामा बान्ताले हैरान भए विमानबाट जोमसोम जाने सोचाइ थियो। मैले ई–सेवाबाट विमानको टिकट हेरेको थिएँ। सिट बाँकी थियो तर बुक गरेको थिइनँ। सकेसम्म म बसमै यात्रा गर्न चाहन्थेँ। विमान चढ्नै पर्ने भए पोखरामै टिकट बनाउने सोच थियो।
पोखराबाट विमानमा मुस्ताङ जाने सम्भावनाबारे सञ्जीवलाई भनेको थिएँ। सञ्जीव मेरा भाइ हुन्, फुपूका छोरा। दुर्घटनाको समाचार थाहा पाउनासाथ सञ्जीवले धेरै पटक फोन गरे तर नेटवर्कको समस्याले उनीसित कुरा हुन पाएन। म विमान नचढेको कुरा चाहिँ उनले थाहा पाए।
विमान दुर्घटनाले मन बिथोलिए पनि बसयात्रामा पहाडी दृश्य र हिमालका टाकुरा नजिकबाट नियाल्न पायौँ। बाटो त मैले सोचेको भन्दा निकै खराब रहेछ, बस कालीगण्डकीमा खसिहाल्ला जस्तो। बाटो जति नै खराब भए पनि बसमा मलाई बान्ताको समस्या भएन।
यात्रा सहज भए पनि बसका कन्डक्टरको व्यहार उही हिन्दीवाला थियो। नेपाली भाषामै कुरा गर्दा पनि हामीलाई ‘भैया’ भन्थे, हिन्दीमा बोल्थे। मलाई त उनीसँग बसमै झगडा गर्न मन लागेको थियो। यहाँ पनि धेर्य गरेँ। मुकेश पनि आश्चर्यमा थिए। उनलाई पनि चुपचाप बस्ने बानी परेको रहेछ।
जोमसोम नजिक हुँदै गर्दा चिसो बढ्दै थियो। एक युवा यात्रु जोमसोमको जाडोबाट बच्न बाक्लो ज्याकेट र टोपी लगाउँदै थिए।
उनले हामीसँग मुक्तिनाथको जाडोको बयान गरे। हामीले धेरै बाक्ला लुगा बोकेका थिएनौँ, उनको कुराले मन थोरै डरायो। युवराजको सल्लाहअनुसार ठिकैका लुगा थिए।
करिब साढे पाँच बजे हामी जोमसोम पुग्यौँ। हामी आएको बसका चालकले पाँच सय रुपैँया भाडामा मुक्तिनाथ पु¥याउने बताए। यसैअनुसार सल्लाह भयो।
स्याउ फलेको दृश्य हाम्रा लागि पहिलो र नौलो थियो। चारैतिर पहाड र हिमालमात्रै देखिनु पनि पहिलो र नौलो दृश्य थियो, धवलागिरि पर्वतमा हिउँ टल्केको दृश्य बयान गर्नै कठिन!
यस्तो मनमोहक दृश्य थियो। जोमसोममा हावा बेजोड चलेको थियो। हामीले विन्डचिटर लगायौँ। जोमसोम आसपासका ठाउँ घुम्दै मुक्तिनाथ जाने हाम्रो योजना थियो।
साथी अनुपले हामी जोमसोम जान लागेको खबर मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई सुनाएका थिए। मैले उनलाई फोन गरेँ तर विमान दुर्घटनाको रिपोर्टिङमा व्यस्त रहेकाले तत्कालै भेट नहुने भयो।
जोमसोम त सुनेअनुसारको होइन रहेछ जस्तो लाग्यो। मैले त निकै ठूलो बजार ठानेको थिएँ तर खोलको किनारमा सानो बजार रहेछ। केही बेर बजार र वरपर घुमेर फोटा खिच्यौँ। बजारमा विमान दुर्घटनाको चर्चा भए पनि वरिपरिको मनमोहक दृश्यले मेरो मन खुसी थियो।
एक जना युवक खसीबाख्रा चराएर आउँदै गरेका देखिए। खसी पनि भेडा जस्तो बाक्लो रौँ भएका! तराईमा यस्तो हुँदैन। प्रकृतिले नै मिलाएको होला। त्यही बाक्लो रौँले त होला तिनलाई जोमसोमको हावा र चिसोबाट बचाउने।
साँझ सवा ६ बजेतिर जोमसोमबाट मुक्तिनाथका लागि बस खुल्यो। त्यहाँ पनि बाटो गतिलो थिएन तर वरिपरिको दृश्य हेर्नुको आनन्द वर्णन गर्न असाध्य थियो। कागबेनी छाडेपछि पिच गरेको बाटो आयो। राति साढे ८ बजेतिर हामी मुक्तिनाथ बस स्टेन्ड पुग्यौँ।
बसबाट ओर्लिंदा मलाई धर्ती नै घुमेको जस्तो लाग्यो। भूकम्प आएको हो कि क्याहो भनेर मुुकेशलाई सोधेँ। मेरो कुरा त मजाक उडाइदिए। जाडो निकै थियो।
अँध्यारो बाटोमा मोबाइलको लाइट बालेर होटल खोज्न हिँड्यौँ। एकै छिनमा उज्यालो बाटो भेटियो। होटल पनि भेट्यौँ। टाढासम्मको दृश्य हेर्ने लोभले माथिल्लो तलाको कोठा रोज्यौँ। मेरो भुइँ अझै घुम्दै थियो। आफ्नो समस्या होटेलमा सुनाएँ।
त्यहाँ एक युवती थिइन्। उनी भैरहवाबाट आएकी रहिछन्, पेसाले स्टाफ नर्स। उनले लसुन र चिनीपानी खान सुझाब दिइन्। होटलले तुरन्तै लसुन दियो। नभन्दै मलाई केही शान्ति मिल्यो।
दिनभर बसको यात्रा, थकित थियौँ, राति ११ बजेतिर निदायौँ। बिहान खासै चिसो थिएन। मौसम सामान्य थियो। झन्डै आधा घण्टा हिँडेपछि मुक्तिनाथ मन्दिर पुग्यौँ। वरपरका डाँडा नांगा थिए, वनस्पतिविहीन। किताबमा पढेझैँ मरुभूमिजस्ता डाँडामा विरुवाका नाममा कतैकतै पातलो गरी झुप्पा जस्ता देखिने बुट्यान थिए।
हामी बिहान साडे सात बजे मन्दिर पुग्दा भिडभाड थिएन। श्रद्धालुहरू स्नान गर्दै थिए। धारामा पानी निकै चिसो थियो। हामीले नुहाउने आँट गरेनौँ। मन्दिरको गेट आठ बजेपछि मात्र खुल्यो। हामी मन्दिर परिसर घुम्दै फोटो खिच्दै गर्दा दर्शनार्थीको लाम निकै लामो भएको थियो।
लाइनमा नलागी अलिक टाढैबाट मुक्तिनाथको दर्शन गरेर चित्त बुझायौँ र बौद्ध गुम्बा घुम्न गयौँ।
गुम्बा परिसरबाट टाकुराहरू मनमोहक देखिए। फर्किंदा मुक्तिनाथ परिसरको महादेव मन्दिर पनि दर्शन ग¥यौँ। फर्किने बेला शालिग्राम र मफलर किन्यौँ।
हिन्दीको भूत मुक्तिनाथको त्यो उचाइमा पनि सवार थियो। सडक किनारमा पसल राखेर बसेका व्यापारीहरू हामीलाई ‘भैया’ भनेर बोलाउँथे। ‘भैया’ सुन्दा दुव्र्यवहार गरेको जस्तो लाग्थ्यो तर तीन दिनमा हामी बानी परेछौँ।
बिहान ९ बजे ट्याक्सी चढेर जोमसोमतर्फ हिँड्यौँ। जोमसोमबाट दुम्बा ताल र नेपाल चीनको सीमा केरुङ नाका र तातोपानी हुँदै फर्किने हाम्रो योजना थियो। हाम्रो यो इच्छा अधुरै रह्यो।
उसै दिन हामी पोखराका लागि बस चढ्यौँ, हिजो आएकै बस। पछाडिको सिटमा बसेर गफिँदै गर्दा भाडा उठाउँदै उनै कन्डक्टर आए जो हिजो थिए। ‘भैया’ भन्दै उनले भाडा मागे।
मैले अलिक रिसाएको भावमा सोधेँ, ‘भाइ तिम्रो घर इन्डिया हो? हामी हिन्दी भाषा बुझ्दैनौँ। के भनेको हो, नेपालीमा भन।’ उनी जिल्ल परेजस्ता देखिए अनि नेपाली भाषामा बोले।
हाम्रो नजिकै बसेका दुई जनासँग पनि ती कन्डक्टरले हिन्दी भाषा बोले। तीमध्येका एक जना शिक्षक रहेछन्। उनले पनि झपारे। कन्डक्टर ट्वाल्ल परेर नाजवाफ भए।
कच्ची सडकको जोखिमपूर्ण यात्रा कष्टकर थियो। बेलाबेला कानमा ‘भैया’ गुन्जिन्थ्यो र एक किसिमको निराशा पैदा हुन्थ्यो, मनमा आक्रोश पनि। लगत्तै बाहिरी दृश्यले त्यो निराशा हावाले पतिंगर उडाएझैँ उडाउँथ्यो।
बेलुकीपख पोखरा आइपुग्यौँ। जनकपुरबाट आइपुग्दा झैँ पानी परिरहेको थियो। उही होटलमा बस्यौँ जसमा एक दिन अघि बसेका थियौँ। सहकर्मी युवराजसँग होटलमै भेट भयो। भोलिपल्ट बिहानै सावा पाँच बजेको बस समातेर हामीले पोखरा छाड्यौँ।