केही ठाउँ यस्ता हुन्छन्, जहाँ पटक–पटक जाने रहर मनमा उम्लिरहन्छ। फरक–फरक सिजनमा प्रकृतिसँग घुलमिल भएर रमाउने, क्यामेरामा क्षणलाई स्थायी बनाउन खोज्ने लालसा जागिरहन्छ। त्यस्ता ठाउँमध्ये शैलुङ मेरो मनको एक विशेष गन्तव्य हो। दोलखाको शैलुङ गाउँपालिका र रामेछापको शैलुङदोरम्बाको सीमा रेखामा ३१४८ मिटर उचाइमा उभिएको शैलुङ डाँडा साँच्चिकै प्रकृतिको अनुपम वरदान हो। यहाँ पुग्ने रहर मनलाई जति रोक्न खोजे पनि बारम्बार तानिरहन्छ।
वर्षायाममा बाटो अलि बिग्रिन्छ, तर त्यो कठिनाइले यात्रा रोकेको हुँदैन। चरिकोटबाट सुवास बस्नेत र म मोटरसाइकलमा यात्रा थालेका थियौँ। बाटैभरि झरना, खोला–नाला र हरियाली वनजंगलले हामीलाई थुमथुम्याइरहेका थिए। क्यामेराले हरेक दृश्य कैद नगरी अघि बढ्नै दिएन, त्यसैले चरिकोटदेखि मुडे पुग्न झण्डै तीन घण्टा लाग्यो। तर त्यो ढिलाइ नै हाम्रो यात्रा र सम्झनाको गहिराइ थियो। सुवासजीले भर्खरै ल्याएको नयाँ ह्वाइट लेन्स परीक्षण गर्ने उत्साहमा थिए भने, म भने वर्षाको हरियाली शैलुङलाई क्यामेरामा उतार्ने रहरमा थिएँ।
मुडे बजारमा मसली दिदीको होटलमा पस्यौँ। दिदीले माया गरेर मासु बारम्बार थपी दिनुभयो, हामीले पनि ‘नाइँ’ भन्न सकेनौँ। बाहिर मौसम सफा थियो, वर्षायाम भए पनि प्रकृतिले हाम्रो यात्रा सहज बनाइदिएको थियो। केही समय शैलुङ गाउँपालिकाको रिपोर्टिङमा बित्यो। त्यहाँका स्वास्थ्य शाखाले गरेका नयाँ कामबारे संयोजक विष्णु बहादुर कार्कीले विस्तृत जानकारी दिनुभयो। त्यहाँबाट कालापानीतर्फ मोटरसाइकलमै अघि बढ्ने योजना थियो, तर बाटो निकै बिग्रिएकोले नागी–बोत्ले हुँदै पैदल यात्रा अघि बढ्यौँ।
खेतबारीमा किसान व्यस्त देखिन्थे— कतै आलु खनेर सकेका थिए, कतै बन्दकोपी रोप्दै थिए। शैलुङ गाउँपालिका आलु र कोपीकै लागि प्रसिद्ध छ। विशेषगरी ‘मुडेको आलु’ नामले देशभर चिनिने आलु यहीँ उत्पादन हुन्छ, तरकारी पनि प्रशस्तै उत्पादन हुन्छ। जसको वार्षिक कारोबार करिब एक अर्बभन्दा बढी हुने रहेछ। स्थलगत रिपोर्टिङमा किसानसँग प्रत्यक्ष कुरा गर्न पाउनु, मेरो लागि यात्राभन्दा कम थिएन।
कालापानी पुग्नुभन्दा आधा बाटोमै शैलुङ इको भिलेजका सञ्चालक दिनेश श्रेष्ठले सँगै गाडीमा जान आग्रह गर्नुभयो। पानीले बाटो अवरूद्ध भएकाले हामी बोलेरोमै अघि बढ्यौँ। कालापानीमा उहाँकै शैलुङ इको भिलेजमा बास बस्यौँ। आश्चर्य लाग्दो कुरा के भने, वर्षायामको बीचमा पनि शैलुङ आएका पर्यटकले इको भिलेज लगायत शैलुङका होटलहरू भरिभराउ थियो— ८० जनाभन्दा बढी पर्यटक त इको भिलेजमै बसिरहेका थिए। २०७४ सालमा तत्कालीन अध्यक्ष भरत दुलालको पहलमा बनेको शैलुङ ग्रेटवालले पनि पर्यटक तानिरहेको कुरा स्थानीयहरूले सुनाए।
शैलुङबासी आज पनि त्यसका लागि दुलाललाई धन्यवाद दिन्छन्। शैलुङ इको भिलेजमा शैलुङ मार्सीको चामलको भात खान पाइँदो रहेछ। यहाँका होटलहरूमा सबै अर्गानिक पाइने। आलु, काउली, खुर्सानी, मूला प्राय: यही गाउँपालिकाभित्र उत्पादन हुने भएकाले बाहिरबाट ल्याउनु नपर्ने।
यसपटक मेरो विशेष रहर भने बिहानै शैलुङ डाँडाको टुप्पोमा उभिनु थियो। बिहान ५ बजे जब डाँडामा पुगेँ, त्यहाँको दृश्यले मन झनै बन्धक बनायो। चिसो हावा चलिरहेको थियो, तर हातमा क्यामेरा राख्न मनले मान्दैनथ्यो। करिब तीन घण्टाको बसाइँमा पनि फोटो खिच्ने रहर मर्दैनथ्यो। थुम्काथुम्कामा चौरी गाई रमाइरहेका थिए, काठमाडौं लगायतका स्थानबाट आएका पर्यटक प्रकृतिको सौन्दर्यमा हराइरहेका थिए। कोही भ्यूटावर चढेर भिडिओ खिच्दै थिए, कोही छ्योर्तेन वरिपरि परिक्रमा गर्दै। छ्योर्तेन पनि शैलुङकै सान बढाउने स्मारक बनेको रहेछ, जुन कुमार थोकरको पहलमा बनेको हो।
सबै थुम्का पुग्न नसके पनि, हरियालीमा हराएको शैलुङ डाँडाले मन अझै अघाएको छैन। त्यसैले होला— शैलुङ मेरो लागि एउटा यात्रा मात्र होइन, पुनः बोलाउने रहर बनेर उभिएको छ।
-1755937848.jpg)
-1755937848.jpg)
-1755937847.jpg)
-1755937847.jpg)
-1755937844.jpg)
-1755937844.jpg)
-1755937842.jpg)
-1755937842.jpg)
-1755937844.jpg)
-1755937846.jpg)
-1755937843.jpg)
-1755937846.jpg)
-1755937843.jpg)