'पहिला देश अनि विदेश'को भन्ने नारा आत्मसाथ गरेर मैले देश दर्शनको यात्रा थालेको पाँच वर्ष भयो। वर्षको कम्तीमा दुई पटक नेपाल भित्रको कुनै न कुनै पर्यटकीय स्थानमा पुग्नैपर्ने नियममा मलगायत अरु तीन जना साथी बाँधिएका छौँ।
हामी आफ्नो अनुकूल मिल्नासाथ देशको कुनै एउटा कन्दरातिर निस्किहाल्ने गरेका छौँ। यो नियमले हामीलाई देश घुमाएको छ। घुमेका ठाउँको प्रचार-प्रसारमा सहयोग पुगेको छ। आन्तरिक पर्यटनमा थोरै भए पनि टेवा पुगेको छ।
मुन्दुम ट्रेलबारे पहिल्यै सुनेको थिएँ। मुन्दुम ट्रेलको प्रवर्द्धन र प्रचार-प्रसारमा लागेका रमेशकुमार राई मसँग फेसबुकमा साथी छन्। उनी मैयुङ-ट्याम्के-साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष समेत हुन्। उनैले विभिन्न समयमा गरेका सम्बन्धित पोष्टहरूलाई म नियालिरहेको हुन्थेँ। ती पोष्टले मुन्दुमको भोक जगाउने गर्थे। अर्कोतर्फ यो ट्रेल मेरो आफ्नै जिल्लाको भएकाले पनि मलाई 'आफ्नै ठाउँ किन घुम्दैनस्?' भन्ने प्रश्नले घेरिरहेको हुन्थ्यो।
यसपटक अवसर मिल्यो। म कार्यरत मन्त्रालयका सचिव ज्युले अचानक मुन्दुम हिँड्ने योजना बनाउनु भयो। घुम्न जाने भनेको भोलिपल्टै हिँड्यौँ। म यसपटक अफिसको टिमसँग हिँडेँ। मेरा नियमित साथीहरू छुटे।
मुन्दुम किरात धर्मग्रन्थको नाम हो। यहीँ पवित्र नामबाट ट्रेलको नामाकरण गरिएको छ। सिलिचुङदेखि मैयुङ हुँदै ट्याम्केसम्म र ट्याम्केदेखि खुवालुङ र तुवाचुङसम्मको किँराती सभ्यता, संस्कृति, इतिहास, र जनजीवनका अनेकन पाटाहरूलाई एकीकृत गर्ने यो ट्रेल महाभारत पर्वत शृङ्खलाको धारैधार भएर जान्छ। ट्रेलको फैलावट ठूलो भएता पनि हाल पहिलो चरणमा ट्याम्के-मैयुङ-सिलिचुङ खण्डलाई स्तरोन्नति र प्रवर्द्धनका कार्य गरी पर्यटकीय पदमार्गको रुपमा विकास गरिएको छ।
हामीलाई दुई वटा बाटो सुझाइएको थियो। एउटा चखेवा भन्ज्याङ (ट्याम्के नजिकै) बाट ट्रेल सुरु गरी हाँसपोखरी (मैयुङ नजिकै) पुग्ने र अर्को, सुन्तले (भोजपुर बजार नजिकै) बाट छोटो बाटो प्रयोग गरी हाँसपोखरी निस्कने। हामीलाई हाँसपोखरी भन्दा उताको ट्रेल छुटाउन मन लागेन। गाडीमा सोझै चखेवा भन्ज्याङतर्फ लाग्यौँ।
चखेवा भन्ज्याङ नपुग्दै तीन किलोमिटर यताबाटै छेउमा गोठेसिंह नामको होमस्टे छ। जसले आफू होमस्टे हुनलाई सरकारी अनुदान समेत पाएको छ। त्यहीँ बस्ने निधो भयो। कम शुल्कमा गुणस्तरीय सेवा पाउने अपेक्षा पनि थियो हाम्रो।
अधिकांश ट्रेल २७०० देखि ३४०० मिटरको उचाइको बीचबाट गुज्रन्छ। यत्तिको उचाइमा हिँड्दा न धेरै जाडो हुन्छ न पसिना नै आउने हुन्छ। न धेरै उकाली, न धेरै ओराली। बाटोमा भेटिने ठूला-ठूला नागी र लालीगुराँसको जंगल। एकनासको सिर्सिरे हावा र मनोरम प्राकृतिक वातावरण। तीन\चार दिन लगातार एकान्तमा हिँड्न पाइने अद्भुत ट्रेल।
यति जानकारी थियो मसँग। चखेवाभन्ज्याङ पुगेपछि अरु पनि थपियो-
प्रि-मनसुनको सिजन छ। हरेक दिन पानी पर्ने गरेको छ। यहाँ पानी पर्नु भनेको सँगै असिना झर्नु हो। बाटोमा होटल\पसल केही पाइँदैन। खानेकुराको बन्दोबस्त आफै गर्नुपर्छ। निश्वित ठाउँमा मात्रै पानी पाइन्छ।
पहिलो दिन कस्सिएर दिनभरि हिँड्न सक्यो भने बेलुका बास बस्न हाँसपोखरी पुगिन्छ। पुगिएन भने बास बस्ने ठाउँ छैन। दोस्रो दिन जंगलका रित्ता गोठमा रात बिताउनुपर्छ। आधा बाटोमा ट्रेल निर्माण गरिएको छ। बाँकी आधा गोरेटो बाटो छ। हराउने\भुलिने हुनसक्छ। फोन पनि कहीँ-कहीँ मात्रै टिप्छ।
'अस्ति नै, नजाऊ भन्दाभन्दै जबरजस्ती गएका मान्छे हिउँमा हराएर हामीले नै तीन दिनमा खोजेर ल्याउनुपरेको थियो। अहिले हिउँ नभए पनि असिना पर्छ। जंगलमा दर्शन ढुङ्गाजस्ता असिनाले कुट्यो भने के गर्नुहुन्छ? तपाईंहरू नजानुस्' होमस्टेका प्रकाश दाइले डर देखाए। उनकी श्रीमतीले होमा हो मिलाइन्।
आफूतिर फर्केर हेर्यौं। दुईजना बाह्र र पन्ध्र वर्षका केटाकेटी। दुईबाहेक अरुसँग ट्रेकिङको खासै अनुभव नभएको। पानी पर्यो भने न गतिलो ओडा छ, न त चाहिने कपडाको जोहो नै। स्लिपिङ ब्याग, टेन्ट, म्याटको कुरा त परै छाडौँ, मबाहेक अरुसँग ट्रेकिङ ब्याग समेत छैन।
उनले हामीलाई नजाऊ भन्नुको मूल कारण पनि यहीँ थियो।
उनीहरूले फेल भएर आउनेहरूको मात्रै कथा सुनाए। पास भएर जानेहरूबारे भनेनन्। यात्रामा हिँडेको मान्छेका लागि बाटोका ढुङ्गा पन्छाइदिनु पर्छ। झिक्रा थुपार्नु हुँदैन।
बलियो आत्मविश्वास बोकेका हामी सजिलै रोकिनेवाला थिएनौँ। युद्धमा हिँडेको सिपाहीलाई कसैले शत्रु बलिया छन् भन्यो भन्दैमा आत्मसमर्पण गर्नु हुदैँन। युद्ध नै नलडी हार्न हुँदैन।
आफूलाई सुनेर हिँडेको मान्छे, अरुलाई सुनेर अडिन सकेनौँ। अरुलाई सुनेर आफूलाई अलपत्र पार्नेहरू जिन्दगीमा मैले धेरै देखेको छु।
बिहान सबेरै उकालो लागेका हामी हिँड्नसाथ बाटो अलमलियौँ। जंगल पुगेपछि बाटो हरायो। जंगल भन्नु पोथ्राको वन, त्यसमाथि काँडेदार बुट्यान। घरी भेटिने र घरी छुटिदैँ गर्ने साँघुरो गोरेटो बाटो पछ्याइरह्यौँ। बाटो ढाकेर साउती मारिरहेका बुट्यानले हाम्रा कपडा र छालाका स-साना अंश लिइरहे। गोरेटोलाई ट्रेलको मूलबाटो भेट्न अढाई घण्टा लाग्यो।
उद्धव सर (सचिवज्यू) रमाइलो मान्छे। हरेक क्षणलाई इन्जोय गर्नुपर्छ भन्ने। अप्ठ्याराहरूबीच पनि मुस्कुराइदिने, गुलाबजस्तै।
टिकटकमा एकदमै रुचि छ उहाँको। यो उर्जाशील उमेरका भावनाहरू कैद गर्नुपर्छ, भन्नुहुन्छ। जसलाई हेरेरपछि उसैगरी इन्जोय गर्न सकियोस्। उर्जाहीन उमेरमा पनि तरंगित भएर बाँच्न सकियोस्। बाटो बिराएर, जंगलमा काँडाले कोतरेका क्षणहरूका बीचमा पनि उद्धव सरका टिकटक बनिरहे।
मलुवापोखरीमा हामीलाई मूलबाटो भेटाइदिएर गोरेटो मेटियो। मूलबाटो पुगेपछि अब हराइने चिन्ता हुँदैन। बाटो बिराइने पीर रहँदैन। अलमल नगरी हिँड्न पाइन्छ।
जीवनमा यस्ता कति गोरेटा होलान्, जसले आफूलाई क्रमशः मेटाएर हामीलाई मूलबाटोमा पुर्याइरहेका छन्? मैनबत्ती जसरी क-कसले उज्यालो दिएका होलान्? बाबु, आमा, श्रीमती... अरु को-को होलान्? तीमध्ये कतिलाई सम्झन्छौँ होला हामीले?
दायाँबायाँ भिरालो छ। एकापट्टि खोटाङ छ, अर्कोपट्टि भोजपुर। बीचमा गलैँचा ओछ्याएजस्तो बाटो बनाइएको छ। डाँडैडाँडा, धारैधार। कता-कता चीनको ग्रेटवालको सम्झना आउँछ, मलाई।
बाटो समथर चौर भएर जाँदा हरेक ३\४ मिटरमा दुईपट्टि ढुङ्गा गाडेर, बाटो यता जान्छ है, भनिएको छ। गाडिएका ती ढुङ्गा सिलिचुङ पहाडको आकृतिका छन्। आवश्यकताअनुसार ढुङ्गा बिछ्याइएको छ। ढुङ्गाले मान्छेका खुट्टा नदुखून् भनेर त्यसमाथि हरियो दुवो सहितको माटो बिछ्याइएको छ। माटो नबिग्रियोस्, भनेर दायाँबायाँ कुलेसो काटिएको छ। छेवैमा त्यही माटो निकाल्दा बनेका पोखरी छन्। ती पोखरी किँराती विभिन्न सांस्कृतिक चिन्ह आकारका छन्। तिनले एकातिर पशुपंक्षीको तिर्खा मेट्छन् भने, अर्कोतिर पर्यटकको मनको।
बस्ने प्रतीक्षालयहरू छन्, बिसाउने चौतारीहरू छन्। प्रदुषण नहोस् भनेर फोहोर हाल्ने छुट्टै खाल्टाहरू छन्। ठाउँ-ठाउँमा किँराती सभ्यता र संस्कृति चिनाउने चिनारीहरू छन्। जानकारीहरू छन्। जे-जे छन्, ती सबै मौलिक छन्। निर्माण प्रयोगमा ढुङ्गा छ, माटो छ, काठ छ। कहीँकतै पनि कंक्रिट देख्नु पर्दैन।
प्रकृति, संस्कृति र मौलिकता आपसमा जेलिएका छन्, मुन्दुम ट्रेलमा।
चखेवाबाट हिँडेको छ घण्टामा हामी धोत्रे देउराली पुग्यौँ। धोत्रे एउटा भन्ज्याङ हो। भन्ज्याङहरूले दुईतिरका होचा ठाउँबाट आएका बाटाहरूलाई जोड्ने गर्दछन्। बाटो हुँदै एउटा भूगोलको अपनत्व अर्कोतर्फ प्रवाहित हुन्छ। मान्छेहरूको दैनिकी प्रवाहित हुन्छ। जनजीवन प्रवाहित हुन्छ। त्यसले सांस्कृतिक अन्तरघुलन बढाउँछ।
धोत्रेमा एउटा चिया पसल र केही गोठहरू छन्। चिया पसलमा खाना पकाउन भनेका थियौँ। भात, साग र दाल समेत पाकेछ। हामीले गुन्द्रुकमा रुचि देखायौँ।
अगाडि बढ्यौँ। बेलुका हाँसपोखरी पुग्नु छ। धेरैबेर अलमल गर्न छुट छैन।
धोत्रै नजिकै मोटरबाटो देखियो। भर्खर ट्रयाक खोलेर भन्ज्याङसम्म पुर्याइएको। यो भोजपुरतर्फ पिखुवा खोलानिरबाट माथितिर जोडिएको बाटो रहेछ।
सामान्यतयाः बाटोले विकास लैजान्छ भनिन्छ। तर सबै अवस्थामा एउटै फर्मुला लाग्दैन। कहिलेकाहीँ विकासलाई विनाशले जित्छ। बाटोले के-के विकास गर्छ र के-के विनाश गर्छ? झुकाव कसको बढी छ? यीनलाई सन्तुलन कसरी गर्ने? यस्ता संवेदनशील प्रश्नहरूमा संवेदनशील नहुँदा नेपालका धेरै ट्रेकिङ रुटहरू ध्वस्त बन्ने गरेका छन्।
देशका हरेक क्षेत्रमा समृद्धिभन्दा पहिले विकृती किन आइपुग्छ?
दुई घण्टा हिँडेपछि आकाश गडगडाउन थाल्यो। जलजले सिमसार क्षेत्रबाट हरियो नागीतर्फ उकालो चढ्दै गर्दा वर्षात् सुरु भो। हतार-हतार गरी डाँडामा पुगेर हेर्दा नजिकै एउटा गाईगोठ देखियो। बाटो छाडेर हामी उता दौडियौँ।
गोठकी दिदी दही मथ्दै रहिछन्। हामीले पनि एकछिन रहर गर्यौँ, पालैपालो। बडेमानको तोलङमा आफूभन्दा अग्लो मदानी मथेर घिउ निकाल्न सजिलो के हुन्थ्यो! हामीले सकेनौँ र दिदीलाई नै छाडिदियौँ। बलभन्दा बढी सीप लगाउनुपर्ने रहेछ।
यात्राको दही त हामी नै मथिरहेका थियौँ। त्यो दिनको घिउ निकाल्न हामीले अरु आधा घण्टा हिँड्नु थियो। घडीमा चार बजेको थियो। हामीले गोठमा ओत लागेर पानी रोकिने प्रतीक्षा गरिरह्यौँ।
जिन्दगीमा आफ्नो लक्ष्यको घिउ निकाल्न मैले कति दही मथ्नुपर्ने होला! व्यवधानहरूले बाटो काटेर जाउन् भनेर, मैले अरु कति प्रतीक्षा गर्नुपर्छ होला!
चर्न गएका दुहुना चौँरी गोठ फर्किए र गोठ वरिपरि घुम्न थाले। दिदीले तिनीहरूलाई पालैपालो दोएर छाडिदिइन्। सिमसिमे पानीमा तिनीहरू फेरि चर्न हिँडे।
अँगेनामा ठूलो आगो बलिरहेकै थियो। एक कित्ली दूध बसाल्यौँ। दूध तात्यो। भित्र धुवाँले बसिनसक्नु भो। दूधको एउटा कप लिएर म बाहिर निस्केँ।
बाहिर गोठको आडैमा चौँरीको बाच्छो मरेको देखेँ। हेर्दा मरेको ३\४ दिन भैसकेको जस्तो देखिन्थ्यो। किन राखिरहेको यहीँ होला!
'दिदी! के भएर मरेको यो बाच्छो?'
'यस्तै हो, चौँरीको बाच्छाहरू मर्छ।'
'अनि कहिलेसम्म यसैगरी राखिरहने त यहाँ?'
'माउले चाटुन्जेल राख्ने। चाट्न छाडेपछि फाल्ने।'
'कठैबरी! कति दिनसम्म चाट्छ माउले?'
' ६\७ दिन सम्म।'
बाच्छाहरू चाहिँ के भएर मर्छन् होला?
मर्छन् हैन, मारिन्छन्।
हो ठिक पढ्नुभयो। मारिन्छन्। गोठधनीले मार्छन्।
किन?
चौँरी आफैमा हाइब्रिड हो। याक र लोकल गाईको क्रसबाट चौँरी जन्मन्छ। चौँरी र लोकल गोरुको क्रसबाट ती बाच्छा जन्माइन्छन्। यसो गर्दा बढी दूध आउने हुन्छ।
बाच्छो जन्माएपछि जसले सुरुमा उसको थुन तान्छ, उसैलाई मात्र दूध दिने चौँरीको स्वभाव हुन्छ। यदि सुरुमै बाच्छाले तान्यो भने, चौँरीले सकभर मान्छेलाई दूध नै दिँदैन। त्यसैले बाच्छालाई दूध चुस्न दिइदैँन। दूधे बाच्छाहरू दूधको स्वाद नै थाहा नपाई मर्छन्।
दोएको दूध खुवाएर पनि त बचाउन सकिन्थ्यो नि!
बचाएर पनि ती हाइब्रिड बाच्छाले प्रजनन गर्न सक्दैनन्। बहरहरू जोतिन र भारी बोक्न सक्दैनन्। मासुका लागि प्रतिबन्ध छ। हुर्केर पनि तिनीहरूले मान्छेलाई कुनै मूल्य दिन सक्दैनन्। नाफा नहुने कुरामा लगानी गर्न मान्छे तयार छैनन्।
गोठअगाडि छेवैमा एउटा काठको फल्याक बिछ्याइएको छ। फल्याकमाथि हरेक दिन एउटा कलिलो मृत शिशु लमतन्न परिरहन्छ। हरेक दिन उसकी सुत्केरी आमा आएर ममता बहाइरहन्छे। हप्तादिनपछि उसको भ्रम टुट्छ, र आउन छाड्छे। लगत्तै त्यहीँ फल्याकमा अर्को मृत शिशु आउँछ। करुणा बहाउन अर्की आमा आउँछे।
बाहिरी गोठको भित्तापट्टि यसो चिहाएँ। चित्राको बारभित्र केही अबोध शिशुहरू आफ्नो पालो कुरेर बसिरहेका थिए।
आधा कप दूध खान बाँकी थियो, भुइँमा पोखिदिएँ। उलुक-उलुक आउलाजस्तो भो। मुख बटारिएर आयो।
पानी रहने छाँट देखिएपछि त्यहाँबाट हामी हिँड्यौँ। साँझ पर्नै लागिसकेको थियो।
हाँसपोखरीमा २\३ वटा बास बस्न मिल्ने होमस्टे छन्। हामीले चाहिँ त्यहाँबाट करिव २०० मिटर माथिको ढुङ्खर्कमा रहेको दुर्गाधन राईको गोठमा जाने निधो गर्यौँ। हामी उनलाई फोन सम्पर्क गरेरै आएका थियौँ।
बेलुका उनका बुढाबुढी मिलेर दाल, भात र तरकारी बनाउने सुरसार गरे। हामीले कोदाको ढिँडो र गुन्द्रुक पकाउन लगायौँ।
राति अँगेनाको डिलदेखि ढोकासम्म म्याट ओछ्याइदिएर लहरै स्लिपिङ ब्याग राखिदिए। हामी त्यसैमा गुडुल्कियौँ।
भोलिको बास कहाँ हुने हो, टुङ्गो छैन। तर जहाँ पुगे पनि ओछ्यान नपाइने चाहिँ निश्चित छ। हामीसँग स्लिपिङ ब्याग थिएन तर नभई नहुने स्थिति थियो।
यही स्लिपिङ ब्याग खोज्ने मेसोमा दुर्गाधनसँग सम्पर्क भएको थियो।
उनले १० वटा स्लिपिङ ब्यागको सेट किनेर राखेका छन्। सेटमा ब्याग, म्याट र सिरानी। हामीजस्तै अभर परेर आउनेहरूलाई उनी भाडामा लगाउँछन्। प्रति गोटा, प्रति रात तीन सय रुपैयाँ। स्लिपिङ ब्यागको मूल्य बराबरको धरौटी राखेर मात्रै लिएर जान पाइन्छ।
'बाँध्ने तुना हराए, वा बिग्रिए\च्यातिए क्षति अनुसारको जरिवाना हुन्छ नि' उनी आफ्नो कडा स्वभावमा कडा नियम सुनाउँछन्।
उनले यी नियम यत्तिकै बनाएका हैनन्। मान्छेहरूले ब्याग भाडामा लिएर जाने र यता नफर्किने गरेको तीता अनुभव पनि छन्, उनीसँग।
बिहान सबेरै उठ्यौँ। यहाँ हरेक दिन पानी पर्छ र पानीले साँझ पर्खँदैन भन्ने हामीले जानिसकेका छौँ। हामीलाई पानी पर्न थाल्नुअघि जतिसक्दो धेरै बाटो काट्नु छ।
गोठमाथिको डाँडाबाट हाँसपोखरी सुन्दर देखियो। घामको उज्यालो भुइँमा खस्दै थियो। ढकमक्क फुलेको लालीगुराँसको वन उल्टिएर पोखरीमा पोखियो। निलो भुइँमा अनेक रङ्ग पोतिएको प्राकृतिक क्यानभासले हुरुक्क बनायो।
वैशाखको १४ गते दौडँदै थियो। तल्ला भेगका वनमा हिजो लालीगुराँसका बोटमात्रै थिए। फूल झरेर नयाँ पालुवा पलाइसकेका देखिन्थे। दिनभरि आँखाले गुराँस खोजिरहे। गुराँस चाहिँ विस्तारै माथि उक्लिँदै गएपछि हाँसपोखरी आइपुग्ने बेलामा मात्रै भेटिन थालेको थियो।
शान्त, चकमन्न र एकान्त जंगल। मनै आनन्दित पार्ने ठूला-ठूला हरिया नागीहरू। वसन्त ऋतुसँगै सेताम्य भएर भुइँभरि छरिएका भुइँफूल। अनि, अनेक रङ्ग भरेर माथि फूलेका अनेकन रंगीचंगी गुराँस। यी सबैको बीचमा सुलुत्त परेर बग्ने ट्रेलको सजिलो बाटो!
हरेक नयाँ दृश्यले हामीलाई तान्थे। दृश्यलाई हाम्रा क्यामेराले तान्थे। टिकटकले तान्थे। उद्धव सरको खुब केमेस्ट्री मिलेको जोडी। सरले 'आऊ बुढी नाचौँ' भनेपछि म्याडम पनि तुरुन्तै तयार भैहाल्ने। टिकटक बनाइहाल्ने। बाउआमा नाच्ने, अनि छोरो चाहिँ भिडिओ खिच्ने। कस्तो रमाइलो!
'बलौटे भन्ज्याङमा केही गोठ छन्। गोठमा मान्छे छन्। खाना बनाउन लगाएर खानु है,' दुर्गाधनले भनेका थिए।
गोठ थिए। मान्छे पनि थिए। तर हामी सबैलाई पुग्ने गरी पकाउने भाँडो थिएन। सानो भाँडोमा पालो गरेर सम्भव हुने पनि भएन। झोलामा मकै, भटमास, चिउरा, भुजिया आदि बोकेका थियौँ। पानीको धारो नजिकै बसेर मकै भटमास खायौँ।
अब, त्यहाँबाट हिँडेर लउरे भिरको उकालो नकाटुन्जेलसम्म बाटोमा पानी पाइने छैन। त्यो भनेको बलौटेबाट करिब पाँच घण्टाको दूरीमा हो। भएका पानीका बोतलमा अटाएसम्म पानी भरेर उकालो लाग्यौँ।
ह्याकुलेको उकालो नकाट्दै ट्रेलको सजिलो बाटो सकियो। एकनाश ट्रेलको शृङ्खला भङ्ग भो। अब बाटो चिनाउने कुनै संकेत चिन्ह पनि भेटिने छैनन्। बाटोले 'म यता जाँदैछु है' भन्ने छैन।
अब हामीले परम्परागत बाटो पछ्याउनु पर्ने भो। गाइवस्तुले बनाएका गोरेटोमा अलमलिनु पर्ने भो। वर्षातका भलले बनाएका कुलेसोलाई बाटो हो कि भनेर झुक्किनुपर्ने भो। बाटो हराउने हरिया नागीको पल्लो छेउमा पुगेर 'बाटो यता रहेछ' भनेर अर्को छेउमा पर्खेर बसेका मान्छेलाई चिच्याउनुपर्ने भो। बाटोका अप्ठ्यारा भिरमा आफूले समाउने हरेक बुटा र टेक्ने हरेक पाइलामा विचार गर्नुपर्ने भो। मूलबाटोमा दायाँ-बायाँबाट मिसिने शाखा बाटोहरूले आफूलाई मूलबाटो हुँ, भन्न सक्छन्। तिनीहरूलाई चिन्नुपर्ने भो।
हाम्रो गाडीचालक सुशीलका खुट्टामा फोका उठेछन्। म थप हिँड्न सक्दिँन, फर्किन्छु भने। उनलाई उकालोमा बढी नै स्वाँ-स्वाँ भैरहेको थियो। हामीले कर गरेनौँ। उनी फर्किए। अब यात्री आठ जनाबाट सात जना बाँकी भयौँ।
लउरेको भिर छिचोल्न हामीलाई सकस पर्यो। ठाडो भिरमा बाटो अप्ठ्यारो छ। जसोतसो एउटा डाँडा उक्लियो, माथि अर्को देखिन्छ। त्यति मात्रै होला भन्यो, अर्को नयाँ थपिन्छ। यही अन्तिम होला भन्यो अर्को झन् अग्लो देखिन्छ।
आफ्नो लक्ष्य ठ्याक्कै कहाँनिर हो भन्ने थाहा पाइएन भने मनोबल कमजोर हुने गरी बाटोले लतार्ने रहेछ।
हुस्सुले छपक्कै छोपेको बेला रावाधाप पुगियो। रित्ता गोठहरू भएदेखि मुनिपट्टि पानी छ भनेर दुर्गाधनले भनेका थिए। तर पानीको कुवानिरैबाट तेर्सो जाने बाटोले दुःख दिन्छ है भनेका थिएनन्। बाटो तेर्सो गयो र धारमा पुगेर ओरालो लाग्यो।
पहाडको शृङ्खला नछुटाई धारै धारको बाटो जानुपर्ने थियो हामीलाई। तर लउरे डाँडामा जोडिन आइपुगेको त्यो कुन चाहिँ पहाडको पछि लाग्यौँ भनेर ठम्याउन सकेनौँ। दश मिनेट हिँडिसक्दा पनि बाटोले अझै ठाडो ओरालो झर्न नछाडेपछि बाटो भुल्यौँ भन्ने निश्चित भयो।
दश मिनेटको ठाडो ओरालोको क्षतिपूर्ति गर्न आधा घण्टा लाग्यो। माथि निस्केर बल्लतल्ल दुर्गाधनलाई फोन लाग्यो। हामी त खोटाङको सुङ्देल तिर पो हिँडेछौँ।
गन्तव्य निश्चित हुँदाहुँदै पनि हिँड्ने बाटो प्रष्ट भएन भने हरबखत बाटैमा हराइने जोखिम रहन्छ।
चार बज्यो। अघि दुर्गाधनले अबको दुई घण्टामा निकास भन्ने ठाउँमा पुगिन्छ भनेका थिए। निकासमा मान्छे सहितका केही गोठ छन्। त्यहाँ पकाएर खान पाइन्छ। सुत्नलाई हामीसँगै स्लिपिङ ब्याग छ।
बिहानदेखि ड्राई फुड मात्रै खाएको ज्यान, बेलुका केही तातो खानेकुरा पाउने सम्झेर फुर्तिलो भो।
रावाधापबाट हिँडेको एक घण्टा पनि नभई आकाश गडगडाउन थाल्यो। हेर्दाहेर्दै पानीसँगै असिना पर्न थालिहाल्यो। पट् पट् पट् पटटटटटटट...
ओडाको नाउँमा एकसरो प्लाष्टिक थियो। त्यसले टाउकोदेखि घुँडासम्मको पानी त छेक्थ्यो तर असिनाले टाउकोमा उठाउने टुटुल्कोसँग उसको सरोकार रहने थिएन।
संयोगले केही पर एउटा गोठ जस्तो आकृति देखियो। हामी दौडियौँ।
त्यहाँ दुईवटा रित्ता गोठ रहेछन्। खोलामा बगेको कमिलाले किनाराको झार भेटेजस्तै भो हामीलाई।
असिनापानी रहला कि भनेर ओत लागेर बस्यौँ। धेरैबेर बस्दा पनि रोकिएन। हामीसँग अब नमिठो भित्रको मिठो विकल्प रह्यो, त्यहीँ गोठमा रात बिताउने।
गोठ साना र साँघुरा थिए। दुईमध्ये तल्लो चाहिँ अलि ठूलो हो कि जस्तो लाग्यो। त्यसैमा भित्र छिर्यौं।
गोठको छप्पर चित्राको छ। चारभित्ता चाहिँ ढुङ्गा-माटोको। बाहिर चलेको चिसो हुण्डरी सिधैँ भित्र पस्न पाउँदैन। बीचमा भित्तातिर अँगेनो छ। अँगेनोको डिलदेखि वारिपट्टि र छेउपट्टि अलिकति खाली ठाउँ र पारिपट्टि चाहिँ सानो खाट। भुइँका दुइटा तखता खाटमा जोड्न सकिने देखियो। जसोतसो हामी सात जना सुत्दा अटिने हिसाब आयो।
अँगेनामा आगो सल्कायौँ।गोठको बाहिरपट्टि भिजेका दाउरा थिए। ल्याएर भारमा सुकायौँ र बाल्यौँ। बाहिर लगातार पानी झरिरहेकै थियो।
बाहिर फराकिलो फाँट देखिन्थ्यो। फाँटमा पलाएका झार हेर्दा सिमसारझैँ लाग्थ्यो तर पानी थिएन। हामीसँग सञ्चित पानी कम थियो। फाँटको उत्तरपश्चिम कुनामा पानीको मूल छ कि भन्ने अनुमान गरे पनि नरोकिएको असिनापानीले जान दिएन।
खानेकुराको स्टक पनि कम थियो। जोसँग बाँकी जे-जे छ, निकाल्यौँ। अलिकति मकै, केहीँ फाँको चिउरा, एक प्याकेट बिस्कुट अनि थोरै काजु बदाम। भएको बाँडेर खायौँ। अघाउने गरी होइन, प्राण धान्ने गरी।
स्लिपिङ ब्यागभित्र छिरेपछि म निन्द्रा खोज्छु, मनका तर्कनाले बाटो छेक्छन्।
'ओहो! कसरी यो निर्जन अनकन्टारमा सुत्न आइपुगियो? कति बाटो आयौँ? कहाँ आयौँ? कता आयौँ? अब कति जान्छौँ? केही थाहा छैन। हामी सही बाटोमै त छौँ? त्यो पनि निश्चित छैन। अब त खानेकुरा पनि सकियो। हामी हराएका रहेछौँ भने?'
'धत्! यस्तो पनि सोच्ने हो? भोलि जे हुन्छ, राम्रो हुन्छ। यदि नराम्रै भैहालेछ भने पनि सामना भोलि नै गर्ने हो। बेकार 'आज'लाई किन दुःख दिनु? वर्तमानको उत्सव त यसरी मनाउनुपर्छ कि, भविष्यका अवरोधहरू पनि डराउन्।'
'हो नि! प्रकृतिको काखैमा आएर यसरी आफूलाई बिसाउन कहाँ पाइन्छ? यसलाई आनन्दित भएर महसुस गरौँ त, यस्तो अनुभूति अरु केहीसँग तुलना हुन्छ?'
घुमन्तेसँग अरुसँगभन्दा खास हुने भनेको यस्तै अनुभूतिहरूको संगालो हो। न त यो पढेर पाइन्छ, न किनेर नै!
बिहान चाँडै उठ्यौँ। एक जना बिउँझिएर सर्याक सुरुक पार्न थालेपछि सबैको निन्द्रा भाग्यो। रातभरिको पानीपछि आकाश खुलेको थियो। हामी झोला प्याक गरेर त्यहाँबाट निस्कियौँ।
हाँसपोखरीमा भेटेर सँगै हिँडेको गुराँसको वनले साथ छाडेको थिएन। बरु जति अगाडि बढ्यो उति धेरै मात्रामा गुराँस हामीसँग मिसिए। उति धेरै प्रजातिका मिसिए। हलुका रातो, सेतो, गुलाबी, प्याजी, निलो आदि थरीथरीका रङ्गहरू पाखा पखेरै ढाकेर घोलिएको दृश्यले हरक्षण मोहित पारिरह्यो। धेरै ठाउँ, धेरै पटक, हिँड्दा हिँड्दैका पाइला रोकिइरहे। तीनले हामीलाई थकान महसुस गर्नै दिएनन्।
डेढ घण्टामा निकास पुग्यौँ। यो तुलनात्मक रुपमा होचो ठाउँ हो। उचाइ करिब ३२ सय मिटर। साल्पा पोखरीतिरबाट बनाइएको ट्रेल पनि त्यहीँ जोडियो। हामी सही बाटोमै रहेछौँ।
त्यहाँ केही गोठ रहेछन्। र दुई गोठमा चाहिँ मान्छे पनि। एउटा गोठमा छिर्यौँ। एकजना शेर्पा दाइ,
उनकी श्रीमती र दुई जना स-साना केटाकेटी रहेछन्।
लेकमा त्यसै पनि चाँडो डिहाइड्रेसन हुन्छ। हामीले त हिजो दिउँसैदेखि पर्याप्त पानी खान पाएका थिएनौँ। एक कित्ली तातोपानी तताएर खायौँ। भोक मज्जाले लागेको थियो। खिर खाने सल्लाह भो। दाइले एकैछिनमा पकाइहाल्छु भने।
आधा घण्टा पनि नभई खिर तयार भो। दाइले थाल-थालमा पस्किए।
हेर्दा पहेँलो छ। खाँदा नुनिलो छ। छाम्दा दूधले पाकेजस्तो छैन। कतैबाट दूधको स्वाद छैन। कसैले मलाई यो खिर हो कि जाउलो? भनेको भए मेरो मत जाउलो तिर जाने थियो।
खिर बनाउन हामी आफै अघि सरेनौँ। खिरमा हाम्रो स्वाद चिनाएनौँ। उनलाई यसरी बनाउनुपर्छ है, पनि भनेनौँ। उनले आफ्नो तरिका र स्वाद अनुसारको बनाइदिए।
दाइले बेलुकाको बासीभातमा अलिकति दूध हालेर उमालेछन्। र त्यसमा नुन पनि थपिदिएछन्। हामीलाई त्यो खिर 'नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार' भनेझैँ भयो।
हिजो हामी बास बसेको ठाउँको नाम जलजले रहेछ। त्यो गोठ पनि यी नै शेर्पा दाइको रे। अब, जेठको पन्ध्रतिर त्यता सर्ने सोच रहेछ, उनको।
उच्च पहाडी क्षेत्रमा पशुपालन गर्ने मान्छेहरूले उचाइ र चरन क्षेत्र हेरेर विभिन्न ठाउँमा गोठ बनाएका हुन्छन्। हिउँदमा बसाइ होचा ठाउँमा हुन्छ। चिसो घटेसँगै गोठ क्रमशः माथि-माथि सर्दै जान्छन्।
पहाडको फेदीतिर घर-गाउँ हुन्छ। घर जाँदा घ्यु, छुर्पी बोकेर जान्छन्। फर्किँदा सामल तुमल बोकेर आउँछन्। घ्यु र छुर्पी बेच्न आजकाल समस्या छैन। व्यापारीहरू घरगाउँमै हुन्छन्। चिन्ता भनेको उनीहरूले कम मूल्य दिन्छन् कि, भन्ने मात्रै हो।
दुःख धेरै छ। तर धेरथोर आम्दानी पनि छ। धेरैका बालबच्चाहरू सहरतिर पढ्छन्। कम्तीमा सदरमुकामसम्म। छोराछोरीहरू फर्केर गोठ आउन छाडेका छन्। लेकमा बसेर अर्को पुस्ताले यसरी पशुपालन नगर्ने पक्कापक्कीजस्तै छ।
ट्रेल भेटिएपछि सजिलो भो। अब, साल्पा भन्ज्याङ पुग्न अढाई घण्टा मात्रै लाग्छ। त्यहाँबाट पोखरी पुग्न जम्मा पन्ध्र मिनेट। आजको बास त्यहीँ हुने हो। हामी फूर्तिला देखियौँ।
गुराँसै गुराँस बीचबाट सुलुत्त परेर ट्रेल अघिअघि उकालो लाग्यो। हामीले फेरि भरपर्दो गाइड भेट्यौँ। मख्ख परेर पछि लाग्यौँ।
हामी तीन दिन देखि गुराँसकै जंगलमा थियौँ। सुरुमा गुराँसका बोट मात्रै थिए। त्यसपछि थोरै फुलेका देखिए। जति हिँड्दै गयौँ, गुराँसको मात्रा उति थपिँदै आयो। एउटा भूगोलमा अघाउन्जेल हेरेर अर्कोतिर लाग्यो, उतापट्टि झन् धेरै देखिने। झन् धेरै रङ्गका। एकै बोटमा एकभन्दा बढी प्रजातिका गुराँस फूलेको पनि यहीँ ट्रेलमा देखियो।
जति हिँड्यो, उति गुराँस थपिने क्रम निरन्तर चलिरह्यो। यसले हामीलाई उत्प्रेरणाको काम गर्यो। हरेक मोडमा उत्साहित बनायो। हिँडाइको थकान बिर्साइदियो। गुराँस हेरेर भो पुग्यो, भन्न दिएन।
अन्तिम उकालो काटेर तेर्सो लागेपछि गुराँसको वास्तविक राज्य देखियो। बाटोको दायाँ-बायाँदेखि आँखाले भ्याउन्जेल सम्मको जंगल गुराँस फूलेर धपक्कै। बेहुलीझैँ कसैले सिँगारेजस्तो। कुनै चलचित्रमा कृत्रिम दृश्य हालेर देखाएजस्तो।
हामी रमायौँ। मन छछल्किएर आँखामा पुग्यो। शरीरको रोमरोम पुलकित भयो। पहिलो पटक ट्रेक हिँड्नु भएको प्रेम सर र म्याडम थकान चटक्कै भुलेर रमाउनु भो। छोरी मुग्ध भइन्। उद्धव सरका टिकटकले पूरापूर मनोञ्जन गरे। आफ्नो फूलेको बैँस देखाउन पाएर गुराँसहरू पनि उत्तिकै खुसी भए, सायद।
सबै पाखा पखेरा रात्ताम्ये थिए। हरेक बोटमा झरिला गुराँस मुस्कुराइरहेका थिए। ती मुस्कुराहटले यति मोहित पारे कि, उचालेका धेरै पाइला पटक-पटक रोकिए। केही फोटा खिचेँ, तर चित्त बुझेन। क्यामेराले कति नै पो देख्न सक्छ र? मलाई अन्याय गर्न मन लागेन।
क्यामेरा थन्काइदिएँ र बाटोको डिलमा थचक्क बसेँ। चिमोटेँ आफैलाई। भगवान्, यो सपना नभइदिओस्।
मलाई रन वन थर्किने गरी चिच्याउन मन लाग्यो। जंगलका सबै गुराँसले सुन्ने गरी 'म आएको थिएँ, अब गएँ है' भन्न मन लाग्यो।
साल्पा भन्ज्याङको अर्को नाम कुलुपोङ्खो हो। तेन्जिङ-हिलारी ट्रेकिङ रुट यहीँबाट सोलुखुम्बु छिर्छ। यो रुटमा मान्छेहरूको बाक्लै आवतजावत हुन्छ। यो निकै पुरानो मार्ग हो। सन् १९५३ मा तेन्जिङ र हिलारीहरू यतैबाट सगरमाथा हिँडेका थिए।
यो स्थानीयको जीवन-मार्ग पनि हो। पहिला सोलुखुम्बुको गुम्देलतिरका मान्छे सहर जान यहीँ भन्ज्याङ काटेर दोभाने हुँदै तुम्लिङटार निस्कन्थे। अहिले सोलुखुम्बुतिरैबाट गुम्देलमा मोटर बाटो आइपुगेको छ। भन्ज्याङका मान्छेले अचेल नुन-तेल उताबाट ओसार्छन्।
भन्ज्याङमा एउटा पसल छ। त्यहाँ खान र बस्न पनि मिल्छ। साल्पा दर्शन गर्न वा सिलिचुङ चढ्न आउनेले बास बस्नुपरे, त्यहीँ मात्र हो। अन्त विकल्प छैन।
हामी त्यहाँ पुग्दा दिनको बाह्र बजेको थियो। पसलमा एकजना शेर्पीनी दिदी थिइन्, पचपन्न वर्ष उमेरकी। दिदी बिहानै रक्सी पिउँथिन्, त्यसपछि दिनभरि बिन्दास। उनलाई गाइरहनु पर्ने, नाचिरहनु पर्ने। कसैले सँगै नाचिदियो भने औधी खुसी हुने। हामीले बसुन्जेल दिदीलाई नचायौँ। दिदीले हामीलाई नचाइन्।
दिदीले त्यहाँ पसल खोलेको एक्काइस वर्ष भयो। घर गुम्देलमा छ। श्रीमान् घरमा छन्। पहिले बुढाबुढी मिलेर पसल चलाए। अहिले उनकी छोरीले चलाउँछिन्। के काम परेर हो, त्यो दिन छोरीले घर जानुपर्ने भएछ। उनलाई पालो दिन दिदी भन्ज्याङ आएकी रहिछिन्।
दिदीले नौ छोराछोरी जन्माइन्। अहिले साथमा कोही छैनन्। कहिलेकाहीँ, यी नै छोरी आउजाउ गर्छिन्। छोराको काठमाडौँमा घर छ। बा-आमालाई बस्न बोलाउँछन्। उनीहरू यतै खुसी छन्।
'दिदीलाई त कति सुख छ है?'
'मलाई जति दुःख कसलाई छ?' हँसिली दिदीका आँखा एकाएक टल्पलाए।
भो! उनका आँखामा आँसु सुहाएन।
'सिन्धुलीगढी घुमेर हेर्दा...' गीत गाइदिएँ। दिदीले दुःख स्वाट्टै बिर्सिइन्।
दिदी एकैछिनमा घुलमिल भइन्। आफन्तजस्तो बनिन्। किचेनमा हामी आफै खटियौँ। पकाएर खायौँ। उनलाई पनि खुवायौँ।
खाना खाएपछि साल्पा पोखरीसम्म पुगेर आउने योजना थियो। हिँड्यौँ पनि। तर दुई मिनेट पनि टाढा नपुग्दै असिनापानी सुरु भयो। दौडिँदै पसल फर्कियौँ।
लगातार तीन घण्टा असिना पर्यो। आँगनमा असिनाको खात लाग्यो। डाँडा-काडाँ सेताम्ये देखिए। हिउँ परेजस्तै भो। यस्तो बिघ्न असिनाले हामीलाई बाटोमा कुटेको भए!
तीन दिनको लगातार हिँडाइले ज्यान थाकेको थियो। घुँडा दुख्न थालेको थियो। फर्किँदा उहीँ बाटो जान नपरे हुन्थ्यो भन्न थालेको थियो मनले।
नयाँ बाटो फर्किनलाइ हामीसँग विकल्प थियो। भन्ज्याङबाट चार घण्टा झरेपछि फेदीबाट गाडी चढ्न पाइन्छ। यो भोजपुरतर्फ हो। फेदीबाट कात्तिकेघाटसम्म जाने जीप लाग्छ। त्यहाँबाट तुम्लिङटार निस्किन सजिलो हुन्छ।
हाँसपोखरीबाट भाडामा ल्याएका स्लिपिङ ब्याग उतै फर्काउनुपर्ने थियो। दुर्गाधनको पनि विश्वास थियो- 'यत्तिको मान्छेहरूले बेइमान गर्दैन।'
ती स्लिपिङ ब्याग बोकेर हाँसपोखरी पुर्याइदिने मान्छे चाहिने भो, हामीलाई। अब भन्नेबित्तिकै कसले खोजिदिन्छ? फोन पनि सजिलो गरी टिपिरहेको थिएन।
अफिसमा फोन गरेर भद्र सरलाई व्यथा सुनायौँ। उहाँले निकैबेर कसरत गरेर एउटा फोन नम्बर पठाइदिनु भो। तल जौबारीबाट दुईजना भाइ आइदिने भए, हामीलाई पैतालाको खिल निकाले झैँ भयो।
भोलिपल्ट बिहान सबेरै ती भाइहरू हाँसपोखरीतिर लागे। हामी साल्पापोखरीतिर लाग्यौँ। साल्पापोखरी बहुधार्मिक तीर्थस्थल हो। बौद्ध, किँरात र हिन्दुहरूको पवित्र धाम।
पोखरीलाई सबैले एक फन्को लगायौँ। मसहित प्रेम सर र उद्धव सरले अगाडि ठिङ्ग उभिएको सिलिचुङ चढ्ने हिम्मत गर्यौँ। म्याडमहरू पोखरीमै रहनु भो।
अघिल्लो दिन साँझसम्म परेको असिना बिलिएकै थिएन। डाँडाकाडा सेताम्य थिए। पहाड चढ्न सुरु गर्दा त अलिअलि मात्रै थियो। पन्छाउँदै गयौँ। तर जति माथि गयो, असिनाको थुप्रो बढ्दै गयो। ठाडो भिरमा चार पाउ टेकेर माथि उक्लन सानो गोरेटो बाटो थियो। त्यो पनि असिनाले पुरिएपछि टेक्ने ठाउँ समेत भएन।
अलि माथि पुगेपछि घाम देखियो। घामले असिना पगाल्न सुरु गर्यो। त्यसपछि त न टेक्ने ठाउँ रह्यो, न समाउने। असिनाको खात पग्लेपछि टेक्दा भासिने भो। माटो चिप्लो भो। जुन झार समायो, त्यही पक्लक्क आउन थाल्यो।
प्रेम सर डराउनु भो। लुकाउँ भन्दाभन्दै पनि उद्धव सरको डर देखियो। बहुमतमा मेरो ठिटो जोश पनि लतारियो।
हरेक पाइलामा ज्यान जोखिममा पारेर जबरजस्ती गर्नुभन्दा दुस्साहस नगर्नु वेश लाग्यो। चखेवाबाट लिएर हिँडेको ट्रेललाई सिलिचुङको चुचुरोमा पुगेर बिसाउने योजना थियो, सकिएन। ३०० मिटर तलै बेवारिसे छाडेर आउनुपर्यो।
थाहा छैन म फेरि कहिले जान्छु! तर जहिले जान्छु, म मेरो ट्रेललाई चुचुरोमा जरुर पुर्याउनेछु।
संस्मरणको अन्तिम वाक्य लेखिसकेर म अहिले ओछ्यानमा पल्टेर फेरि मुन्दुम हिँड्दै छु। त्यो नागबेली पहाडको श्रृङ्खला, धारै-धार बग्ने सुन्दर ट्रेल, त्यो शान्त र एकान्त जंगल, ठूला-ठूला नागीहरू, नागीमा परपरसम्म चरिरहेका चौँरी भेडा र घोडाहरू, थकाइ नै बिना हिँड्न पाइने त्यो धरातल, ट्रेक हिँड्न सबैभन्दा उपयुक्त हावापानी र मौसम, अनि त्यो गुराँसको राज्य। वाह! अद्भुत!
म फेरि आउँछु, यार। जरुर आउँछु।