'दाइ म फाल हाल्न सक्दिनँ, मलाई धकेल्दिनुस् न!' भन्दै थिएँ मेरो तेस्रो प्रयासमा!
आधा खुट्टा हावामा अनि आधा कुस्मा बन्जी ब्रिजमा हुँदा मेरा दुवै खुट्टा अनि हात कापिरहेका थिए। लाग्छ कि २०७२ वैशाख १२ फेरि फर्कियो। त्यहीमाथि मुटुका चालहरू तल स्वतन्त्र बगिरहेकी कालीगण्डकीको छालभन्दा बढी आतंकित थिए। शरीरभरि कम्पन अनि पराकम्पन आउने क्रम जारी थियो। मुख सुकेर गृष्मयामको उजाड खोलाको बगरझैं भएको थियो।
कानले विभिन्न आवाजहरू एकपछि अर्को गर्दै सुनिरहेका थिए। पर एक हुल मानिसहरू 'यो बैहिनी त हेर्दा निडर लाग्थ्यो त' भनी गुनगुनाइरहेका थिए। एउटी आन्टीले 'नानी मेरो चौध वर्षकी छोरीले त गरिन्' भनेर सम्झाउँदै थिइन्।कोही 'बिचरा यो नानीले सक्दिन जस्तो छ डरले पेट अगाडि, खुट्टा पछाडि भइसक्यो' भनिरहेका थिए।
छेउकै बन्जी गराउने दाइले 'अब पनि हजुरले फाल हाल्नु भएन भने हजुरको टिकट रद्द हुन्छ, हामीले धकेल्न मिल्दैन ल अब आफूले नै फाल हाल्दै आफूजस्तै राम्रो बन्जी गर्नुस् हस्? ऊ त्यो घरलाई टाउको सिधा अनि दुवै हात फैलाएर हेर्नुस्, टाउको र छाती अघि बढाउँदै फाल हाल्नुस्' भन्दै दाइले काउन्ट डाउन रेडी ३,२ ...'गर्दै गर्दा मलाई मेरा डरहरूले एकै साथ गिज्याउन थाले।
चारैतिरबाट 'डरपोक, डरपोक। खुब सबैलाई डरभन्दा अगाडि जित छ भन्दै प्रेरणा दिन आएकी होइन अहिले आफैं रूझेको बिरालोझैं भइस् त!' आकाशवाणी भएझैं भइरहेको थियो।
दाइको २ ले म त यहाँ मेरो डरलाई जित्न पो आएकी।कोसिस पनि नगरी हार मान्दै पो रहेछु भन्ने भयो। ३ बन्जी गो भन्दा मेरा पंखहरू आफैं खुले।
मन अनि मष्तिक दुवै शान्त भए। आँखाहरू खुल्न चाहेनन्।
एकैछिनमै मैले आफूले आफूलाई हावामा पाएँ। परेलीहरू खुले, डरको बन्धन फुकाएर हावामा आफूलाई एकदम स्वतन्त्र पाएँ।
पानीमा त पौडी नखेलेकी मैले पहिलो पटक हावामा पौडी खेलिरहेकी थिएँ।
पर्वत र बागलुङ जिल्लाका साक्षी दुईतिरका पहाडहरू पनि एकअर्कामा भलाकुसारी गर्दै 'यहाँबाट फर्किएपछि हामीजस्तै अटल, अझर अनि शालिन भएर फर्किनू, दु:खमा कहिले नआत्तिनू, सुखमा कहिले नमात्तिनू, हार कहिले नमान्नू, हिम्मत नहार्नू है' उनीहरूका मौन शब्द मेरा अन्तष्करणहरूले अनुभूत गरिरहेका थिए।
मैले पनि हस् भन्दै ज्ञानी बच्चाझैं मुस्कानले इंगित गरेकी थिएँ।
तल सुसाइरहेकी कालीगण्डकी नदी मेरो छालभन्दा ठूलो मुटुको अनियन्त्रित चाललाई जित्दै मलाई भेट्न को आउँदै रहिछिन् भनेर आफ्ना शालिग्रामहरूसँग कुरा गर्दै मलाई चिहाइरहेकी थिइन्।
नदीले पनि मलाई चाहे समय अनि परिस्थिति जस्तोसुकै होस्, हामीले हाम्रो पाइला अलिकति पनि डगमगाउनु हुन्न, दु:खसुख गर्दै जीवनका छालहरूलाई छिचोल्दै अघि बढ्न पर्छ, रोकिन हुँदैन नदीजस्तै बगिरहन पर्छ भन्ने पाठ सिकाइन्।
हावामा पौडी रहँदा मनमा दौडिरहेका अनेकन डरहरूले मसँगै फाल हानी सकेर कालीगण्डकीकै छालहरूमा समाहित हुने बाचा गर्दै मलाई त्यहाँबाट साहस अनि हिम्मतको पाठ सिकाउँदै मेरा डरहरूले मलाई बिदाइ गर्ने भए।
ममाथि आकाशतर्फ आउँदै गर्दा गजक्क परिरहेको आकाशले वाह वाह गर्दै ताली बजाइ रहेको अनुभूति भयो।
सूर्यले 'अरे तिमी किन डराएकी म पनि त साँझमा डुब्छु अनि बिहानीमा उदाउँछु। म त कहिले आत्तिनँ। डुब्छु तर अर्को दिन अवश्य उदाउँछु पनि। हार मान्नु पो भएन हार्दैमा कहाँ जिन्दगी सकिन्छ र! कोसिस गर त फेरि जित्ने छौ' भन्दै मीठो पाठ सिकाउनु भएका सूर्यदेवलाई भित्रैबाट नमन गरें।
यसरी प्रकृतिसँग नजिकबाटै साक्षात्कार गर्ने मौका मिल्यो।
साना-साना डरले गालेका मेरा शरीरलाई ऊर्जाशील अनि अझै सशक्त बनाउने मौका मिल्यो।
डरले थुनेर राखेका मेरा रहरका ढोकाहरू खुलेर जीवनमा अनेकन प्रहरहरू जागे।
बन्जी जम्प सकेर बाहिर आइसक्दा मैले दाइलाई सोधें, 'दाइ मजस्तै डराउने अरू कोही पनि थिए र?' दाइले डराउनेहरूको होइन हिम्मत गर्नेहरू मात्र ठाउँ हो यो भन्नुभयो।
अब लाग्यो म पनि हिम्मतवाली नै भएर फर्किंदै छु।
घुमफिर सकेर आफ्नो दैनिकीमा पुन: फर्किएपछि सिस्टरले 'डाक्टर मैले तपाईंलाई मानें अरे अस्ति कोरोनाको बुस्टर डोज लगाउँदा त्यस्तो डराउनु भएको, ३ जनाले समातेर लगाइदिनु परेको थियो, तपाईंले कुन मुटु लिएर बन्जी जम्प गर्नुभयो त्यो पनि विश्वकै दोस्रो गहिरो बन्जी जम्प गर्ने ठाउँ कुस्माबाट?
साँच्चै मैले ठूलै छलाङ मारेकी रहेछु भन्दै मनमनै खुसी हुँदै 'सिस्टर मलाई मेरा यस्तै-यस्तै डरहरूले अघि बढ्नबाट रोकिरहेका थिए। सबै डरहरू एकैचोटि कालीगण्डकीमा बिसाएर आएकी छु, अब म डराउँदिनँ!'
फेरि पनि बुस्टर डोज लाउन परे हाँसी हाँसी लगाउँछुभन्दा सिस्टर मुसुक्क हाँस्नुभयो।
त्यसैले कोही पनि नबिराउनुस्, नडराउनुस्। डरहरू त रोगका जड हुन्। अनि हिम्मत सफलताका ओखती। हो नराम्रो काम गर्न डराउनुपर्छ, तर राम्रो काम गर्न डर बाधक कहिले बन्न भएन।
त्यसैले अन्तत: एउटा मुक्तक राख्दै हजुरहरूको हिम्मत बढाउँदै आफ्ना अनुभवलाई यही बिट मार्न चाहन्छु।
'कोसिस गर्नेको कहिले हार हुन्न रे,
लडेर उठ्नेको प्रतिकार हुन्न रे,
घोडा चढ्ने नै लड्ने हुन् साथी त्यसैले...
पहिलो खुट्किलो नचढी जित स्वीकार हुन्न रे।'