एकल यात्रा गर्दा जिन्दगीलाई नजिकबाट नियाल्ने मौका पाइयो। प्रकृतिमा हराउँदाको आनन्द होस् या डर अगाडिको जित। हरेक अप्ठ्यारा कुराहरूले गतिलो पाठ सिकाएर जाने रहेछन्।
बिहानको झण्डै साढे आठ बजेतिर कलंकीबाट गुड्न सुरू गरेको बस साढे दस बजेतिर त्रिशुली पुगेर रोकियो। म होटलको खानाभन्दा घरको खाना रूचि मान्छे। त्यसैले घरबाटै ६ वटा गहुँको रोटी, भिन्डी र आलुको भुजिया तरकारी अनि अलिकति गाँजरको हलुवा साथमा लगेकी थिएँ। लामो यात्रामा हिँड्दा पहिलो दिन दिउँसोको खाना प्रायः यस्तै हुन्छ।
बस अन्य समयभन्दा एक घण्टा ढिलो गरेर तीन बजेमात्रै धुन्चे बजार पुग्यो।
हुन त जिन्दगीमा धेरै यात्रा गरियो। हिमालको चिसो हावा स्वाद, पहाडको हरियाली र तराइका फाँट यी आँखाले धेरै देखे, यी पाइलाले धेरै हिँडे। तर यो यात्रा अन्य समयको भन्दा निकै फरक हुनेवाला थियो। किनभने म पहिलोपटक सोलो ट्रेक जाँदै थिएँ। साथीभाइको हुलमुलसँग यात्रा गर्दा र आफू आफैंसँग यात्रा गर्दाको फरकपन महसुस गदै थिएँ।
मनमा उत्साह थियो, चनाखो बन्नुपर्ने बाध्यता अनि समयलाई भेट्टाउने हतारो उस्तै थियो। बसबाट ओर्लनेबित्तिकै हतारिँदै कच्ची बाटोतिर लम्किएँ। किनभने म गोसाइँकुण्ड भेट्न हिँडेको थिएँ।
करिब ३ सय मिटर अद्धि बढेपछि मभन्दा अघि ९ जना केटाकेटीको झुण्ड देखें। एक्लै हुने हो कि भनेर ढुकढुक गरेको मन केही हदसम्म ढुक्क भयो। लम्केर उनीहरू छेउ पुगें। आफैं बोल्न सुरू गरें, 'हेल्लो ह्याप्पी न्यु इयर गाइज!'
सबैले एक साथमा ह्याप्पी न्यु इयर फर्काए। तीमध्ये एकले सोध्यो, 'सोलो हो दिदी?'
मैले 'हो' भनें।
उनीहरू 'वाउ' भने।
अर्कोले सोध्यो, 'आज कहाँसम्म पुग्ने नि?'
जवाफ दिएँ, 'पहिलो पटकको बाटो खासै अन्दाज छैन, देउराली पुग्छु होला।'
उनीहरूको त्यो दिनको गन्तव्य पनि देउराली नै रहेछ।
भर्खरका केटाकेटी। सबैको आ–आफ्नै गफ। आफू छिटो हिँड्नपर्ने मान्छे, उनीहरूको हिँडाइका तालमा ताल मिलाउन सकिनँ। उनीहरूलाई छाडेर अगाडि लम्किएँ।
एक्लो हिँडे पनि म त्यो यात्राभर एक्लो थिइनँ। सफा कञ्चन घट्टे खोलामा कलकल पानी बगिरहको, चर्को घामले रूखमा नयाँ पालुवा पलाउन उक्साइरहेको, खोला वरपर वनभोज खाने समूह उन्मात्त भएर रमाइरहेका। यी र यस्ता तमाम दृष्यको दृष्यपान गर्दै मेरा पाइला अगाडि बढ्न थाले।
लामो कोरोनाको चपेटापछि नयाँ वर्षमा मान्छेहरूको खुसी छचल्किएको प्रष्ट देख्न सकिन्थ्यो। जति अगाडि बढ्दै गयो, चराको चिरबिर, गोसाइँकुण्डबाट बगेर आएको चिसो पानीले मलाई स्वागत गरिरहेजस्तो लाग्दै थियो।
यात्रामा बटुवा पनि थरिथरि भेटिने। घट्टेखोलाभन्दा माथि एउटा सानो चिया खाजा घर छ। त्यहाँ खाजा खाएर दुई जना मूलपानीतिरका भाइहरू उकालो लाग्ने तयारीमा रहेछन्।
एक जना नेपाल टेलिकममा काम गर्ने, अनि अर्को फुटबलर।
सोलो यात्रामा हिँडेको थाहा पाएर हौसला दिए, सँगै जान प्रस्ताव पनि राखे। उनीहरूको यो तेस्रो गोसाइँकुण्ड यात्रा रहेछ।
फुटबलर भाइको हिँडाइ ठिकै थियो तर टेलिकमवाला भाइको हिँडाइ निकै सुस्त। हरेक पाइलामा स्वाँ स्वाँ गरिरहेका थिए। मेरो भने मध्यम रफ्तार थियो। उकालो नाक ठोस्ने थियो।
हैट! जस्तोसुकै हिँड्नेलाई पनि यो उकालोमा त बल लगाउनैपर्छ। हिँडेको झण्डै २ घण्टापछि करिब ५ बजेतिर हामी तीन जना देउराली पुग्यौं।
धाराको चिसो पानीमा हातमुख भिजाएँ। यात्रा अझै छोट्याउन पाए अर्को दिनलाई सहज हुन्थ्यो कि जस्तो लाग्यो। तीनै जनाको सहमतिले हामी फेरि उकालो उक्लन थाल्यौं।
चन्दनबारी पुग्ने लक्ष्य बोकेका थियौं, झमक्क साँझ पर्यो धिम्सामा। त्यहाँका होटल व्यवसायी छिरिङ घोडासहित पाहुना कुरेर बसेका रहेछन्। उनको लालीगुराँस होटलमै हामीले त्यो रातको बास बस्यौं।
होटलभित्र झण्डै २५ जना अरू यात्री थिए। फलामे चुल्होमा आगो दन्काएर चियासँगै गफ लडाउन सुरू गर्यौं। केही काठको टुङ्गुनामा जानी नजानी गीत गाउन थाले,
आज र मैले भातै र खाएँ तिहुन त गाभाको
के माया गर्थेउ तिमीले साइँली म जस्ता जाभाको।
त्यो रातको निन्द्रा गज्जबको भयो। बिहान ६ बजेमात्रै निन्द्रा खुल्यो। नित्यकर्म सक्ने बित्तिकै उकालो लागें। बाटोमा भेटिएका दुई भाइ त्यहीँ छुटे। एक्लो हिँड्दाको मनमौजी निर्णयले भित्रभित्रै मुस्कुराएँ।
समूहमा हिँड्दा छिटो भन्दाभन्दै समयले नेटो काटिसक्थ्यो। निर्णय लिन समस्या पर्थ्यो। गफमा भुल्दा प्रकृतिसँग रमाउने समय मिल्थेन। एक्लो हिँड्दाको फाइदा मनमनै गन्दै यात्रा अघि बढाएँ।
वरपर पहाड रातको हिउँले सेताम्मे भएको थियो। चिसो मौसम भए पनि थोरै उकालो लाग्दा ज्यान तातिहाल्यो। झोलामा बोकेको खुर्पानीको स्वाद लिँदै, सेता, गुलाबी रंगका लालीगुराँससँग गफ गर्दै लोक्ता फूलको सुगन्ध सुँघ्दै मनसँग गफ गर्दै हिँड्न थालें।
अति सुन्दर प्रकृति अनि म प्रकृतिको उपासक। प्रकृतिको सुन्दरतामा लठ्ठिँदै चन्दनबारी पुगेको पत्तै पाइनँ। सफा सुन्दर र शान्त। काठले बनेका हरिया निला पाहुना घर। अघिल्लो रात अलि बल गरेर यतै बस्नुपर्ने रहेछ जस्तो मनमा लागिरह्यो।
केही उकालो र केही तेर्साे बाटो हुँदै फेरि म घना जंगलको बाटो पुगें। कसैले पछिबाट घना जंगलमा पछ्याउँदैछ। मन धक्क फुल्छ। पाइला छिटो छिटो अघि बढाउँछु। तर जति नै पाइला अघि बढाए पनि मलाई भेटिहाल्छन्। सामान्य गफगाफ पनि मन शान्त हुन्छ। नुवाकोट अस्पतालमा काम गर्ने युवा रहेछन्। पछि-पछि उनका दुई बहिनीहरू कुरा गर्दै हिँडिरहेका रहेछन्।
जंगल कटेपछि चोलाङपाटी भन्ज्याङ आयो। चोलाङपाटी समुन्द्री सतहबाट ३५ सय पचास मिटर उचाइमा छ।
दुई होटलमध्ये एक मात्रै खुलेको रहेछ। बिहानको झण्डै नौ बजिसकेको थियो। भोक लाग्यो। मैले एक गिलास चौरीको दूध लिएर आफूसित भएको मल्टिग्रिन ब्रेड र गाँजरको हलुवा अनि एउटा स्याउ खाएँ।
अबको पालो लौरीबिनाको अप्ठ्यारो उकालो थियो। बुद्ध मन्दिरसम्म निकै कठिन उकालो चढ्न थालेको दुई घण्टापछि पछाडि फर्केर हेरें, सँगै आएका युवायुवती त तलै छुटेछन्। आफ्नै सुरूमा अघि बढिरहें।
गोसाइँकुण्ड दर्शन गरेर फर्कनेहरू क्रमश: बाटोमा भेटिन थाले। सरस्वती कुण्ड, भैरव कुण्डको दर्शन गर्दै हिँडे। बाटोमा भेटिएकाहरू मेरो सोलो यात्रामा हौसला थप्दै थिए।
म प्रायः गुगल अर्थ हेरिरहन्थे। त्यसैले कुण्ड चिन्न गाह्रो भएन। फोटो भिडिओ खिच्दै बिस्तारै अघि बढ्दै गएँ। अन्ततः अपरान्ह १२ बजे म गोसाइँकुण्ड पुगें।
ताल छेउ होटलको आँगनमा झोला बिसाएर टुसुक्क बसें। एकछिन अडेस लागेर वरिपरिको दृष्य नियाल्न थालें।
आहा! कति सुन्दर। आकाशे रंगको कञ्चन कुण्ड, चट्टानी हिमाल र निलो आकाशमा सेता फूल फुलेजस्ता बादल। हेर्दाहेर्दै एक बजिसकेछ। धत्तेरीका, अबको गन्तव्य सूर्यकुण्ड कुरिबसेको पो छ त! एक कप कफी पिएँ। आधा घण्टा कुराएर होटलवालाले तात्तो खाना खुवायो।
खाना खाएर आराम गर्दै थिएँ, बाटोमा छुटेका फुटबलर र टेलिकमवाला भाइहरू आइपुगे। दुबैको अनुहार सोहोरिएर न्याउरो बनेको थियो। उकालो बाटोमा सूर्यकुण्ड पुग्ने जोश बोकेका भाइहरू त लल्याकलुलुक्क भएछन्। उनीहरूको मन सूर्यकुण्ड उक्लन खोजिरहेको थियो, तनले साथ दिएको थिएन। केही समयसम्म उनीहरूको तनलाई पर्खिएँ तर अहँ, आँट आएन। त्यसपछि म एक्लै हिँडे सूर्यकुण्ड भेट्न।
आँखाले देखेको गोरेटो बाटो त्रिशूल धारा हुँदै माथि उक्लिएँ । झोला होटलमै छाडेकी थिएँ। साथमा एक बोतल पानी र लौरोमात्रै थियो। ज्यान हल्का भएकोले सजिलै माथि लागें। फर्केर हेर्दा निलो गोसाइँकुण्ड ढक्क स्थिर भएर आकाश हेरिरहेको थियो।
जाँदाजाँदै एक कुण्डको दर्शन भयो नाम बिर्सिएँ। बाटोमा एक हुल यात्री फर्किरहेका रहेछन्। उनीहरूले इशारा गर्दै भने- ऊ त्यो खोंचमा छ सूर्यकुण्ड।
म दंग पर्दै फोटो खिच्दै अघि बढिरहें। खोंचमा एक कुण्ड भेटियो। यही रहेछ भनेर भिडिओ खिचें। पर हेरेको अझै गन्तव्य नपुगेजस्तो आभास भयो। गुगल अर्थमा समेत भेटिएन। अनि खोज्न थालें सूर्यकुण्ड।
केही अगाडि बढेपछि टिलपिलाइरहेको दूधको कराइ देखेजस्तो भयो। कत्रो विशाल दूधको कराइ, उर्फ सूर्यकुण्ड। एक्लै चिच्याउन पुगेछु, ऊ सूर्यकुण्ड। धित मरून्जेल फोटो, भिडिओ कैद गर्न नपाई चिसोले ब्याट्री डेड भयो। दिन ढल्कँदै गयो। सूर्यकुण्डलाई एक्लो छोड्नै मन थिएन। के गर्नु, फर्कनै पर्ने बाध्यता! हतार-हतार गोसाइँकुण्ड भेट्न ओर्लिएँ।
तल गोसाइँकुण्ड सुनसान थियो। साढे ४ भएछ समय। २/४ जनामात्रै मानिसहरू थिए। चिसो र लेक लाग्ने डरले यात्रु गोसाइँकुण्ड खासै नबस्ने रहेछन्। दिन अझै बाँकी थियो। बसेर काम छैन भन्ने सोच आयो। खानाको पैसा तिरेर आएको पाइलाबाटै फर्किएर अगाडि बढ्न थालें।
फोटो/भिडिओ बिहानै खिचिसकेको। अलमल गर्नुपर्ने केही थिएन। घाम पहेंलो हुँदा बुद्ध मन्दिर पुगें।
हावा मजासँग चलिरहेको थियो, उडाउलाजस्तो गरेर। बाङ्गोटिङ्गो हुँदै ओरालो लागें। सकेसम्म चन्दनबारीमा बस्न मन थियो। त्यहाँको घरहरू निकै लोभलाग्दा थिए। तर त्यो सम्भव थिएन। मनमा भने खत्रा आँट पलाएको थियो, केही भएन भने रातभर हिँडिरहन्छु।
मनमा लोभ पनि थियो, जति हिँड्यो उति भोलिलाई सजिलो। लौरी बिनामा एउटामात्रै होटल थियो त्यो प्याक भइसकेछ। अब टार्गेट चोलाङपाटी थियो।
बाटोमा यात्रीहरू भेटिइरहे। एक्लो यात्रा भन्नेबित्तिकै सबैको मुखबाट एकपटक 'वाउ' भने निस्कन्थ्यो नै।
अँध्यारो बढ्दै गएपछि बाटोमा भेटिनेहरूसँग अगाडि कुनै ग्रुप छ या छैन सोध्न थालें।
सबैले चन्दनबारी बस्ने भनेर एक समूह गइरहेको बताए। म उनीहरूलाई भेट्न कुलेलाम दगुरें। मेरो कुदाइ लरतरो थिएन। साँझको झण्डै साढे ६ बजे चोलाङपाटी पुगें।
गोसाइँकुण्ड जाँदा चौरीको दूध खाएको होटलको साहुनी दाउरा लिन होटल पछाडि जाँदै रहिछन्। उनैलाई सोधें- चन्दनबारी जाने समूह कता पुग्यो?
उनले चोरी औंलोले देखाउँदै भनिन्, 'ऊ त्यो, पानीको ठाउँसम्म पुग्यो होला।'
चन्दनबारी पुग्न त्यहाँबाट २ घण्टा लाग्छ भन्ने मलाई थाहा थियो तर त्यो पानीको ठाउँ ठम्याउन सकिनँ। नजिकको दूरी होला भन्ठानेर फेरि यात्रा अघि बढाएँ।
मनमा त्यो समूह भेट्न पाए चन्दनबारीको रमाइलो दृष्यको रसपान गर्न पाइएला भन्ने लोभ थियो। गोधुली साँझमा बास छाडेर म जंगलको बाटो तन्किएँ। तर अहँ, जति तन्किए पनि मैले त्यो अगाडि हिँडेको समूहलाई भेट्न सकिनँ।
रात छिप्पिँदै गयो। जंगली जनावरका अनौठा आवाज सुनिन थाल्यो। मनमा डरले बिस्तारै डेरा जमाउँदै लग्यो। म पछाडि फर्कन सक्दैनथें, अगाडिको यात्रातिर पाइला बढाइरहें।
अप्ठ्यारो परिस्थितिमा आफ्नै मन पनि एक नहुँदो रहेछ। दुई मनमा द्वन्द्व चल्दोरहेछ। मेरा दुई मनहरू आपसमा घम्साघम्सी जुधिरहेका थिए। एक मनले गाली गर्थ्यो तँ मूर्ख, बेबकुफ। अर्का मनले सम्झाउँथ्यो, तेरो केही गल्ती छैन, चन्दनबारीको सुन्दरता नै त्यस्तै हो त के गर्नु!
एक मनले भन्थ्यो- तेरो अन्तिम दिन हो आज। जनावरको आहार बन्न लेखेको रहेछ तेरो खप्परमा।
अर्को मनले भन्थ्यो- केको मोह हो यो शरीरको। सुन्दर स्थलमा फूलको बोटमुनि ओछ्यान लगाएर पनि सुत्न सक्छु।
एक मनले भन्थ्यो- चितुवा बलियो हुन्छ कि भालु? चितुवा आयो भने त लौरीले नाकमा बेस्मारी हानिदिन्छु, अनि भालु आयो भने? त्यसको पनि नाकमै त हान्ने होला नि। अर्को मनले सोच्थ्यो- भूत प्रेत पनि त भड्केका होलान् यो जंगलमा? डन्ट ओरी मन्त्रले भगाइदिन्छु।
हत्तेरीका, फेरि यही पटक हेडलाइट बोक्न भुलेछु। मोबाइलको ब्याट्री त सूर्यकुण्डमै झ्याप भइहाल्यो। धन्न प्रकृतिले साथ थियो। जूनको प्रकाशले बाटो छर्लङ्ग देखिएको थियो।
चतुर्दशीको त्यो जून मेरो जिन्दगीको सबैभन्दा प्रिय जून बन्नपुग्यो। फेरि जुनेली उज्यालोमा साना रूखका बुटाहरू बाघ भालुजस्ता देखिने, मनै चिसो बनाउने खालका। मान्छेको जातलाई केही गरे पनि सुख छैन।
जूनको उज्यालोमा घडीको सुइँ घुमेको प्रष्ट देखिन्थ्यो। सवा सात भएछ। बाटोमा यात्री भेटिने आश मरिसकेको थियो। त्यही समयमा केही गुनगुन सुनियो। तीन जना यात्री चोलाङपाटी जाँदै रहेछन्। उनीहरू पछाडि आउँदै गरेका अरू ६ जना साथी कुरिरहेका थिए। उनीहरूलाई देखेर मन बलियो भयो।
उनीहरूले सोधें- ओहो तपाईं सोलो हो?
'हो' भनेर छोटो जवाफ दिएँ।
'अब चन्दनबारी कति छ?' उनीहरूले पालैपालो जवाफ दिए, 'यसैगरी हिँड्नुस् २५ मिनेटमा पुग्नुहुन्छ। हैन यसैगरी हिँड्नुस् ४५ मिनेट लाग्छ। हैन कहाँ भ्याउनु एक घण्टा लाग्छ।' उत्तर सकिएको थिएन, म हतारिँदै ओरालो लागें।
केही समय हिँडेपछि कुरिरहेकाहरूको छुटेको साथी भेटियो। यसरी एक्लै हिँड्न नहुने भनेर सम्झाए। उनीहरूले पनि अब २५ मिनेटमा चन्दनबारी पुग्ने बताए। अगाडिको समूह कता पुग्यो भनेर सोध्दा 'पुगिसकेको होला' भन्ने जानकारी दिए।
झण्डै २० मिनेटको बाटो हिँडेपछि परैबाट झिलीमिली बत्ती बलेको चन्दनबारी देखियो। शरीर छामें, अहम् सकुशल आइपुगें। मन खुसीले गद्गद् भयो। झिलिमिली देखिएको समयपछि अरू २५ मिनेट दगुरें अनि बल्ल जंगल छेउको सुन्दर होटल याक एण्ड नाकमा पुगें।
मभन्दा अगाडि आएको समूह २० मिनेटअघि मात्रै आइपुगेको रहेछ।
आगो वरपर बसेर ताप लिइरहेका उनीहरूको आँखा मलाई देखेर चनाखो भयो।
धिम्सामा बास बस्दा भेट भएका र तिनै नुवाकोटे युवायुवती रहेछन् ती। सूर्यकुण्ड पुगेर मानिस त्यहाँ देखेर 'इलुजन' जस्तै लाग्यो भनेर कुरा गर्दै थिए उनीहरू।
मेरो हिम्मतको तारिफ गर्न थाले।
म मख्ख परेर उनीहरूको गफ सुन्न थालें। आफ्नो तारिफ कसलाई मन पर्दैन हैन र?
आफ्नो सोलो यात्राको रोचक कहानी उनीहरूलाई पनि सुनाएँ। उनीहरूले पनि बडो मज्जा मानेर सुने। मिठो खाना अनि हिटिङ पाइपले न्यानो भएको कोठा। त्यो रात आरामसम्म निदाएछु।
भोलिपल्ट ६ बजे होटल साहुसँग बिदा भएँ। चन्दनबारीमा चिजको फ्याक्ट्री थियो। त्यहाँ पुगेर २ केजी चौरीको घ्यू र आधा केजी चिज किनेर झोलामा हालें। झण्डै साढे नौ बजेतिर घट्टेखोला आइपुगें। काठमाडौं आउने बसले कुरिरहेको रहेछ, त्यहीबाट बस चढें र तेस्रो दिन बेलुकी काठमाडौं आइपुगें।
यो मेरो पहिलो एकल यात्रा अविस्मरणीय र सुन्दर रह्यो। समय र परिस्थिति सधैंभरि एकनासका हुँदैनन् र सधैं उस्तै साथ दिँदैन भन्ने कुरा यो यात्राले अनुभूति गर्ने मौका पाएँ।
यो यात्रालाई सहज र जानकारीमूलक सुझाव दिने र बिचबीचमा नेटवर्क लाग्दा यात्रा विवरण ख्याल राखिदिने मेरा रेगुलर हाइकिङ, ट्रेकिङका मित्रहरू राजन जी र किरणजी प्रति धेरै धन्यवाद।
पहिलो यात्रा निकै रोमाञ्चक बन्यो। एक्लो हिँड्दा समयमै बास बस्नुपर्ने रहेछ भन्ने ज्ञान पनि पाइयो। फेरि पनि सोलो ट्रेकिङ जानेछु तर समयमै बासस्थानमा बसेर आनन्द लिनेछु ।