अमेरिका डायरी–१० (अन्तिम भाग)
अमेरिकाबाट नेपाल फर्कनुअघि मसँग दुई रात मात्रै बाँकी थिए। कोरोना महामारीका कारण विमान चढ्नुभन्दा पहिला कोरोना नेगेटिभ भएको पिसिआर रिपोर्ट अनिवार्य थियो।
मैले सम्भव भएसम्म साथीभाइ र आफन्त भेट्ने अनि नयाँ ठाउँ घुम्ने नीति लिएको थिएँ। मलाई डिसेम्बर २२ को बिहानै उड्नु थियो। तर २० को बेलुकासम्म मैले पिसिआर परीक्षणका लागि 'स्याम्पल' दिन पाएको थिइन। रिपोर्ट आउन एक दिन पूरै लाग्थ्यो। मसँग अब सिंगो एक दिन मात्रै बाँकी थियो।
म उड्ने ठाउँ भर्जिनियाको डालस अन्तर्राष्ट्रिय विमानस्थल हो। तर म भने डेलावेरको नेवार्कमै थिएँ। पिसिआर परीक्षणका लागि मेडिकल सेन्टरहरूमा अपोइन्टमेन्ट मिलाउन सौरभ भाइले भरमग्दुर प्रयास नगरेको होइन। तर कतै पनि समय पाउन नसकेपछि म अप्ठ्यारोमा परेँ।
पिसिआर परीक्षण नै नगरे मेरो लापरवाही ठहर्थ्यो र म जहाज चढ्नबाट बञ्चित हुन्थेँ। सजायस्वरूप मेरो टिकट रद्द हुन्थ्यो। अनि मैले पुनः टिकट किन्नुपर्ने हुन्थ्यो। मेरो एक मनले यस्तै आर्थिक दण्डबारे सोचिरहेको थियो अर्कोतिर 'परीक्षण गर्न पाए पनि नतिजा के आउने हो' भन्ने चिन्ता छँदै थियो।
म यसै पनि अमेरिकामा दिन नबिराइ धेरै ठाउँ घुमेको थिएँ। धेरै मान्छेका बीचमा गएको थिएँ। म गएकै कार्यक्रममा सहभागी केहीलाई कोरोना पोजिटिभ देखिएकोले सुरक्षित हुन आग्रह गर्दै मलाई पनि इमेल आएको थियो।
'कोरोनाका कारण आज अमेरिकामा यति जनाको मृत्यु भयो' भन्ने खबर पनि अखबारहरूले छापिरहेकै थिए। आफ्नै 'ट्राभल हिस्ट्री' सम्झँदा मात्रै पनि मलाई सास फेर्नै गाह्रो भएजस्तै भयो।
कोरोना पोजेटिभ भयो भने म कहाँ बस्ने होला? मलाई आतिथ्यता दिनेले के भन्ने होलान्? यस्तै सोच्दा सोच्दै मनमा अर्को एउटा सोच आयो।
अमेरिका उड्नुभन्दा अघिल्लो साँझ चन्द्रशेखर दाइसँग काठमाडौंमा मेरो भेट भएको थियो। भेटमा उहाँले वासिङटन डिसीस्थित नेपाली दूतावासमा कार्यरत कुमार खरेल सरबारे केही राम्रा कुरा सुनाउनुभएको थियो। 'यस्तो अप्ठ्यारो पर्यो' भनेर तुरुन्तै मैले कुमार सरलाई फोन गरेँ।
उहाँले 'बेथेस्डामा एउटा नेपाली क्लिनिक छ' भन्नुभयो अनि डाक्टर अनिल सुवालको नम्बर दिनुभयो। मैले डाक्टर सुवालसँग सम्पर्क गरेँ। क्लिनिक विनचेस्टरमा सरेको रहेछ।
भन्नुभयो, 'भोलि बिहानै आउनुभयो भने बेलुकीसम्म रिपोर्ट दिन्छौं।'
त्यसपछि भने आधा ढुक्क भएर म वासिङटन डिसीतिर लागेँ। मलाई एमट्रयाकमा चढाउन आएका सौरभ र शशी विलमिङटनबाट बिदा भएपछि म एक्लै भएँ।
रेल त चढियो तर पूर्व गयो कि पश्चिम केही थाहा नहुने। चलेजस्तै नलाग्ने। कतै हिँडेकै पो होइन कि? मलाई ठाउँमा पुर्याउने हो वा होइन? युनियन स्टेसन काटेर अघि त बढिएन?
यस्ता धेरै जिज्ञासा मनमा आएपछि मोबाइलमा म्याप हेर्दै आफैंलाई सान्त्वना दिएँ। बाल्टिमोर आएपछि भने आधा ढुक्क भएँ। लाग्यो–मेरो यात्रा सही दिशामै हुँदैछ।
रेलमा चढेका मान्छे सबै आ–आफ्नै धूनमा थिए। सफा र आरामदायी बस्ने ठाउँ। कोही मुभी हेर्दै थिए। कोही मोबाइलमा मस्त। रेल रोक्दैपिच्छे स्टेसनको नाम सुनिन्थ्यो। यसपछि यो ठाउँ आउँछ पनि भन्थ्यो। अरू नाम नबुझे पनि युनियन स्टेसन भनेको कसो नबुझिएला भन्दै सबै सुनिरहेँ।
साढे एक घन्टा यात्रा गरेपछि म डिसीस्थित युनियन स्टेसन ओर्लेँ।
युनियन स्टेसनको भव्यता भनेर भन्नै नसकिने खालको थियो। युनिक! यति बेला लिन आउनू भनेर मैले अनितालाई पहिल्यै भनेको थिएँ। उनले मलाई तीन ठूला झन्डा भएमुनि बस्नु भनेकी थिइन्। बाहिर निस्केर केहीबेर कुर्दा मैले अद्भूत अमेरिका आँखामा अनुभव गरेँ। ५० वटा तारा भएका ती अमेरिकी झन्डाभन्दा धेरै माथि मैले 'नौ लाख तारा' हेरेँ।
त्यस रात म स्प्रिङफिल्ड पुगेर बहिनी अनिताको घरमा सुतेँ। बिहानै ज्वाइँ सुवासले मलाई डा. सुवालको क्लिनिक लैजानुभयो। हामी हुँदाहुँदै उक्त क्लिनिकमा पुग्ने सबैजसो नेपाली नै थिए। पिसिआर परीक्षणका लागि स्वाब र एक सय डलर अर्थात् १२ हजार रूपैयाँ दिएर हामी त्यहाँबाट हिँड्यौं।
त्यस दिन दिनभर मैले वासिङटन डिसी घुम्ने योजना बनाएको थिएँ। एक्लै। विनचेस्टरबाट डिसी जाँदै गर्दा हामी बाटैमा पर्ने नेपाली दूतावास पुग्यौं। अमेरिकामा भएको आफ्नै देशको मुकाम। घेरबारबिनाको घरभित्र छिरेर मैले कुमार सरसँग केही तस्बिर लिएँ।
त्यहाँबाट निस्केर सुवासजीले मलाई वासिङटन डिसीको केन्द्रभागमा छोडिदिनुभयो। मलाई डिसीमा रहेका संग्रहालय घुम्ने ठूलो रहर थियो। एकपछि अर्को गर्दै वरपरका संग्रहालय पुगेँ।
इतिहासप्रति गर्व गर्न सिकाउने संग्रहालयमा रहेका चिज वस्तु, तिनको प्रयोग र व्याख्या सुन्दा समय बितेको पत्तै भएन। नेसनल म्युजियम अफ अमेरिकन हिस्ट्री घुमेपछि भने अमेरिका रातारात बनेको होइन रहेछ भन्ने बुझेँ।
अमेरिकालाई समृद्ध बनाउन धेरैको रगत र पसिना बगेको छ। धेरैको त्याग र समर्पण छ। धेरैको बुद्धि र विवेक लागेको छ। र संग्रहालयमा स–सम्मान ती सबै फेहरिस्त दुरुस्त राखिएका छन्।
मलाई मजा लागेको कुरा के भने घुम्दै जाँदा एक दुई स्टेप तलमाथि जानुपर्ने भए त्यसबारेमा पनि होसियारी अपनाउन भनेर केही लेखिएको हुन्थ्यो। थाहा नपाएर कोही अल्झियो वा लड्यो भने अनावश्यक तनाब बेहोर्नुपर्छ भनेर त्यसो गरिएको हुनुपर्छ। विकासमा मिसिएको मानवीय संवेदनाले मलाई अमेरिका झनै राम्रो लाग्यो।
हामीकहाँ भने अझै पनि अवस्था, परिस्थिति र अरूलाई दोष दिएर उम्कन खोज्ने प्रवृत्ति कायमै छ। आफू उत्तम र अरू खत्तम भन्ने सोच ज्युँदै छ। सोचेँ–नेपालमा बसेर विरोध मात्रै गर्नेले अमेरिकाको 'अ' पनि बुझेको छैन होला।
हिउँ त त्यहाँ पनि पर्छ, यहाँ पनि पर्छ तर त्यसले जीवनलाई कति सहज र अप्ठ्यारो बनाउँछ भन्ने कुरा महत्वपूर्ण हुँदो रहेछ। बोल्न त त्यहाँ पनि पाइन्छ र यहाँ पनि। तर लोकतन्त्रको तराजुमा कुन कति गह्रुँगो र कुन कति हलुंगो भन्ने कुराले अर्थ राख्दो रहेछ।
देश 'जे वादी' भए पनि मानवमूल्य नै अमूल्य मानिएको छ त्यहाँ। लाग्यो– जीवनभन्दा भोटले राम्रो भाउ पाउने व्यवस्था रहेसम्म हामी समृद्ध हुनै सक्दैनौं।
जीवन रहे मात्रै भोट बाँकी रहने हो भन्ने कुरा जानेर पनि हामीले किन बुझ पचाएको होला?
यही सोच्दै म डिसी मेट्रोको सिल्भर लाइन पुगेँ। मेट्रो स्टेसन एक अर्कै संसार जस्तो थियो। माटो मुनिको बाटो। अद्भूत।
जब मेट्रो रन्केर भर्जिनियाको रेस्टन पुग्यो म नजिकैको स्टारबक्समा छिरेर रेस्ट गरेँ। कफी खाँदै गर्दा म्यासेन्जरमा बजेको घन्टीले भने म झसंग भएँ।
कसैले लेखेको थियो–'हाई! आइ लिभ इन डिसी एन्ड स सम अफ योर पोष्टस् फ्रम डिसी।'
उक्त सन्देश सरिता बर्तौलाको थियो। सरिताजी र म कुनै समय युवा अभियानका सहकर्मी थियौं।
मैले लेखेँ– 'ओ! आइ मिस्ड इट।'
हुन पनि भोको ज्यान बोकेर दिनभरि म एक्लै डिसी घुमेको थिएँ। त्यसै दिन ज्योति देवकोटा दाइसँग डिसी वरपर भेट्ने सल्लाह त भएको थियो। यद्यपि उहाँको समय मिलेन र आउनु भएन। तर मलाई भने क्यापिटल हिलको पछाडि नजिकै बस्ने साथीसँग भेट्न नपाएकोमा खल्लो भयो। मैले स्टारबक्सको तितो कफीमा चिनी हालेर घुटुक्क पारेँ।
मलाई लिन भुवन दाइ त्यहाँ आउँदा रात झमक्क भइसकेको थियो। घर जाँदा भाउजूले खाना तयार पारिसक्नुभएको थियो। खाना खाइवरि सुटकेस कसेँ। सुत्नुअघि कोरोना नेगेटिभ भएको इमेल आइसकेको थियो। त्यसपछि मज्जाले सुतेँ।
भोलिपल्ट बिहानै भुवन दाइले मलाई डालस अन्तर्राष्ट्रिय विमानस्थलमा छोडेर फर्के पनि अमेरिकाबारे केही प्रश्नले मलाई पछिसम्मै छोडेनन्।
बाटोमा पर्ने ग्यास स्टेसनमा रोकिएर आफ्नो गाडीमा आफैं तेल भरेपछि दाइले मलाई केही नगद दिँदै भन्नुभएको थियो–'आमाको हातमा हालिदिनू।'
त्यति बेला मभित्र पनि परिवार प्रेम र देशभक्ति पलाएको थियो।
अनि आफैंलाई सोधेको थिएँ– पैसा ठूलो कि प्रेम? समृद्धि ठूलो कि आत्मीयजनको सामीप्यता? सुख ठूलो हो कि शान्ति?
विमानस्थलमा मलाई जहाजसम्मै पच्छ्याउने प्रश्न भने अमेरिकी प्रणाली, वातावरण, सामाजिक सद्भाव र विश्व शासनबारे थिए।
सोचेँ– हरेक कुरा पद्धतिमा चलेको अमेरिकी पद्धतिले कुनै दिन काम गर्न छोड्यो भने के हुन्छ होला?
अमेरिकामा हुने भौतिक फोहोरको उत्पादन र वातानुकूलनको असर वातावरणमा कति परेको वा पर्ने होला?
बहुजनयुक्त अमेरिकी समाजमा सामाजिक सद्भाव कति र कहिलेसम्म कायम होला?
र आफू समृद्ध हुँदै गर्दा अमेरिकी 'गभर्नेन्सका ग्रिभान्सेस' के के होलान्?
प्रश्नै प्रश्नले 'लोडेड' भएर जहाजमा 'लोड' भएको म १२ घन्टा उडेपछि कतार पुगेँ। हमाद विमानस्थलबाट काठमाडौं जाने कतार एयरवेजको थोत्रो जहाज चढ्न बसमा बसेर अलिक टाढा जाँदै गर्दा हाम्रो समृद्धिले हामीलाई गिज्याइरह्यो।
मलाई भने काठमाडौंबाट कर्णालीतिर गइरहेजस्तो भयो।
पढ्नुहोस् अमेरिका डायरी भाग १- दुई दिनका लागि अमेरिका जान ५ वर्षको भिसा!
भाग २- आकाशमा उड्दै बिहानको ३ बजे 'डिनर'
भाग ३- 'ड्रेडलक' भएकी उनलाई मैले भनेँ– म पनि बब मार्लीको फ्यान हुँ नि!
भाग ४- अमेरिका जाँदा दुइटा जहाज छुटेपछि...
भाग ५- मायामीमा बितेका रंगीन ६ घन्टा!
भाग ६- शानदार अमेरिका!
भाग ७- अमेरिकामा आफ्नै देश सम्झिँदा
भाग ८- नेपाली ममः र अमेरिकी कोक
भाग ९- अमेरिकामा नेपालको झन्डा देख्दा
(कमलराज लम्सालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटरः @prakritipurush