यही फागुन २१ गते शनिबार बिदाको दिन, घमाइलो त्यसमाथि लामो समय पदयात्रा नगरिएको तृष्णा मेट्न पदयात्रामा जाने निर्णय गर्यौं। गन्तव्य बनेपादेखि ओपी हुँदै नगरकोट र फर्कँदा घिमिरे गाउँ नाला हुँदै बनेपामा विसर्जन गर्ने उद्देश्यसहित हामी बिहान १० बजे बनेपा चारदोबाटोबाट हिँड्यौँ।
केही समयको अन्तरालपछि पदयात्रामा लागेका हुनाले र काभ्रे जिल्लाकै पहिलेदेखि कहलिएको पदमार्ग भएको हुँदा पनि हामीमा उत्साह बेग्लै थियो। बिहान चण्डेश्वरी माताको दर्शन गरेर हामी अगाडि लम्कियौँ। चण्डेश्वरी मन्दिरदेखि ओपीसम्मको पट्यारलाग्दो पिच बाटो हिँडेपछि चप्लेटी डाँडोलाई दाहिना पारी ओपी बस्ती उभो लाग्दा पहयात्राको रौनक बढेको भान हुँदोरहेछ।
रवि र ओपी सधैँ सँगै सुनेको हुँदा, यो बस्ती एक छुट्टैं गाउँ होला भन्ने लागेको थियो। तर ओपी माथिल्लो र रवि तल्लो बस्ती रहेछ। ओपीको उकालो लाग्दै गर्दा चप्लेटी र रवि क्षेत्रको पनि अवलोकन गर्यौँ। ओपी गाउँ भिरमा रहेको सानो बस्ती हो, यसको उच्च भागबाट हेर्दा पुर्वपट्टि पाँचखाल र धुलिखेल क्षेत्र उत्तरतिर मनोरम हिमश्रृंखला पश्चिमपट्टि भक्तपुर र काठमाडौँको केही खण्ड, दक्षिणतर्फ बनेपा र बेथानचोक नारायणथानको मनमोहक ३६० डिग्री दृश्य देखिन्छ।
हामीलाई यस यात्राको मुख्य आकर्षण नै यही ठाउँ लाग्यो। यस ठाउँमा पाँचखाल उपत्यका र हिमश्रृंखलाको सुन्दर दृश्यमा एकछिन रमाएपछि हामी फेरि उभो लाग्यौँ। धुलिखेल र भट्टेडाँडाबाट देखिने सम्पूर्ण दृश्य देखिए पनि पर्यटकीय हिसाबले त्यति धेरै विकसित नभइसकेको ठाउँ रहेछ ओपी।
मनन गरेँ- 'जसरी भट्टेडाँडादेखि काभ्रे भञ्जाङमा पर्यटकीय होटल र लज विकसित हुन थालेका छन्, त्यसरी नै गोसाइथान बनेपादेखि उपल्लो ओपीसम्म पर्यटकीय सुविधा सहितका स्थल, होटल र उचित प्रचार भए क्या काइदा। झन् यो श्रृंखला पश्चिममा नगरकोट र पूर्वमा फसकोट नमोबुद्ध हुँदै बल्थलीसम्म भए सुनमा सुगन्ध।
निःसन्देह वातावरणीय प्रभाव, सम्भावना र चुनौती, पर्यटक चाप वृद्धि आदि बारे गहन अध्ययन त अत्यावश्यक नै भयो। तर पनि भोलिको दिनमा नेपाललाई पर्यटकीय गन्तव्य मानेर उर्लने पर्यटक जमातलाई उपत्यकाबाट निकै नजिक यस क्षेत्रमा पर्यटकीय स्थलको यस्तो चेन अवधारणाले, उनीहरूका लागि प्रकृतिसँग रम्न उत्तम गन्तव्य नहोला भन्न सकिन्न।'
यस्तै कुरा मनमा खेलाउँदै काशीभन्ज्याङ झर्यौँ। पाखैभरी फुलेका पहेँलो तोरी र त्यसको बास्नाले पैदलयात्रा क्रममा छुट्टै ऊर्जा दिइरहेको थियो। काशीभन्ज्याङबाट उभो लाग्दा थकाइलाग्दो उकालो, टन्टलापुर घाम, हरेक भञ्ज्याङ भिरपाखामा उराठ लाग्दो डोजरे विकास, वैकल्पिक छोटा पदमार्ग पहिल्याउँदै, कहिले लामो बाटो परेकोमा विस्मात गर्दै, उत्साहको लागि फागुन चैत्रमा घपक्क फुल्ने राष्ट्रिय फूल लालिगुराँस हामीलाई पानीको विकल्प बनी सहयोग गरिरहेको थियो।
उकालो लागिरहँदा हामी धेरै खण्ड बनेपा नगरपालिका, केही मण्डनदेउपुर नगरपालिका त माथिल्लो भेग महामञ्जुश्री नगरकोट नगरपालिका हुँदै अगाडि बढ्ने क्रममा पहाडको उच्च भागमा अवस्थित जलजले तालले हामीलाई लोभ्यायो जुन इलामको माई पोखरीको झल्को दिने खालको तर त्योभन्दा सानो थियो।
पहाडको उच्च भेगमा जङ्गलको बीचमा रहेको यो तालले वर्षायामको पानी आफूमा संकलन गरी सुख्खा याममा तल्लो भेगको गाउँ बस्तीलाई प्यास तृप्त गर्दो हो। तैपनि संरक्षण अभाव र अव्यवथित हुँदा अलिक मन खिन्न भयो। सुख्खा यामको समय यस्ता उचाइमा संकलित पानी, योभन्दा मुनि रहेको भिरपाखाको बस्तीमा रहेका पानीको मुहानको श्रोत हुन्छ। वातावरणीय हिसाबले पनि यस्ता पोखरीको धेरै महत्व हुन्छ। यही क्रममा हामी दिउँसो २ बजे नगरकोटको टावर पुग्यौँ।
नगरकोटको टावरबाट दक्षिण तिर गुल्टेरै गए पनि पुगिने नाला नै हो भन्नेमा हामी विश्वस्त थियौँ। बाटोको दोधारको परवाह नगरी झर्यौँ दक्षिणतिर घिमिरे गाउँ, गिरि गाउँ हुँदै नाला। यो बाटो झर्दा त निकै चाँडो फेदमा पुगेको भान भयो। डेढ घण्टामा नै नगरकोटको टुप्पोबाट नालाको प्राचिन नेवार बस्ती पुगियो।
यस पैदल यात्रा अलिक धार्मिक पनि बनाउन नाला करुणामाई र संरक्षणको पर्खाइमा रहेको प्रसिद्ध नाला भगवतीको दर्शन पनि गरियो। नालाको बजार हिँड्दै गर्दा फेरि मनन गरेँ- 'बुढापाकाहरू भन्थे अरनिको राजमार्ग पहिले नाला हुँदै पाचखाल तिब्बतसम्म छुने हिसाबले बनेको परियोजना हो रे। भौगोलिक हिसाबले पनि उपत्यका छिर्न नाला हुँदै भक्तपुर निस्कन अहिलेको राजमार्गभन्दा सहज हुनुले यो कुराको थोरै भए पनि पुष्टि गर्छ। तत्कालीन समय नाला क्षेत्रमा यसको ठूलो विरोध भयो रे।
हाम्रा उर्वर भूमिमा यस्तो परियोजना आए, अन्नबालीको संकट हुन्छ भन्ने एकथरीको तर्कले परियोजना भौगोलिक हिसाबले अलिक कठिनै ठाउँबाट (हालको साँगा हुँदै बनेपा) हुँदै अघि बढेको रे। आजको दिनमा अरनिको राजमार्ग छोएको बनेपा र आजको दिनको नाला हेर्दा मनमा अनेकन प्रश्न उठ्नु स्वभाविक पनि हो। यी सबै 'रे' को कुरा, 'सुनेको' कुरा। यसको विश्वसनियतालाई इतिहासकै हवाला गरियो। तत्कालीन समयमा नाला क्षेत्रमा अवसर र असरको बहसमा, असर अवसरमाथि हाबी भयो होला।
कुनै क्षेत्रको विकासको लागि एक दूरदर्शी सर्वमान्य (बुझ्ने र बुझाउन सक्ने) व्यक्ति भए, यस्ता अवस्थामा असरमाथि अवसर नै हावी हुने प्रचुर सम्भावना हुँदो हो। देश नै अहिलेको अवस्थामा कुनै एक वैदेशिक परियोजनालाई लिएर दुई खण्डमा विभाजित भइरहँदा सर्वमान्य त्यस्तो एक व्यक्तिको खाँचो राष्ट्रिय स्तरमा नै तड्कारो आवश्यकता भान हुन्छ।'
नालादेखि बनेपाको पट्यार लाग्दो पिचमार्ग यात्रा गरी साँझ ५ बजे बनेपा चारदोबाटोमा पुगी हामीले हाम्रो पैदलयात्रा टुङ्गायौँ। यो एकदिने पैदलमार्गको उचित प्रचार-प्रसार र यसलाई अझ पैदलयात्री मैत्री बनाउने सके स्थानीय विकासको लागि मद्दत पुग्नेमा द्विविधा छैन।
पैदलयात्रामा सदाझैं साथदिने मित्रद्वय रत्न र सुवासलाई धेरै धेरै धन्यवाद।