हाम्रो ताङतिङ गाउँ आन्तरिक पर्यटन केन्द्र बन्दै गएको छ। यहाँबाट देखिने हिमाल र गुरुङ जीवनशैलीले मोहित बनाउँछ। गाउँमा चहलपहल बढ्दै जाँदा ताङतिङको शिर ‘क्रपुडाँडा’मा पनि भिड लाग्न थालेको छ।
हिउँ खेल्न पोखराबाट नजिकैको गन्तव्य हो क्रपु (२,९४० मिटर)। सधैं हिमालसँग आँखा जुधाउँछ क्रपु। डाँडामा पुग्नेहरू फर्किन मान्दैनन्। क्रपुले मोहनी जालमा बाँधिराख्छ। क्रपुको नाम गुरुङ भाषाबाट रहन गएको हो भन्ने जनश्रुति छ। ‘क्र’ भनेको गुरुङ भाषामा टाउको हो। अग्लो उच्च भागमा रहेको हुनाले तथा ‘क्र’ टाउको जस्तै शिरमा रहेको हुनाले यो ठाउँको नाम क्रपु रहन गएको हो।
डाँडाबाट लमजुङ र कास्कीका धेरै गामबेसी देखिन्छन्। राती बिजुलीको उज्यालोमा खुलेको पोखरा झलमल्ल देखिन्छ। बिहानै सूर्योदय हेर्न पाइन्छ। एकै ठाउँमा उभिएर अन्नपूर्ण हिमशृङ्खला, माछापुच्छ्रे, लमजुङ हिमाल, मनास्लु हिमाललगायत दर्जनौ हिउँचुलीसँग पिरती गाँस्न पाइन्छ।
क्रबुमा वर्षैभरि घुम्न सकिन्छ। बर्खामा भुईंफूल, असोज–कात्तिकमा छर्लङ्ग हिमाल, मंसिरदेखि फागुनसम्म हिउँ तथा हिमाल र चैतबैशाखमा लालीगुराँसको सौन्दर्यमा गम्किन्छ क्रपुडाँडा।
लालीगुराँसको वैंशमा रमाउन पनि पाइन्छ। गुराँसको घारी बिचमा छ क्रपु। लेकाली खर्कहरू, चराचुरुङ्गीको चिरबिरले बर्डवाचिङ टुरिजमको संभावना उजागर गरेको छ।
अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको बीचबाट प्रायः आइरहने हिउँ पहिरो हेर्नलाई पनि क्रपुडाँडा। पुसदेखि फागुनसम्म ताङतिङ मास्तिर बाक्लो हिमपात हुन्छ। त्यतिबेला हिउँ खेल्न पोखरा र आसपासबाट सयौं युवा आउँछन्।
क्रपुमा पुग्दा तन र मनमा ऊर्जा मिल्छ। व्यस्त दैनिकीबाट ह्याङ्आउट हुने सुन्दर गन्तव्य हो क्रपुडाँडा। डाँडा नजिकै धर्मशाला छ। क्रपुबाट १० मिनेट पदयात्रामा कुत्मीडाँडा (३०९० मिटर) पुगिन्छ।
कुत्मीडाँडा नेचुरल भ्यूटावर हो। कास्कीको मादी गाउँपालिका–२ ताङतिङ गाउँको शिरमा रेहेको क्रपु स्वर्गको टुक्रै हो। यो लमजुङ र कास्कीको सीमामा पर्दछ।
पर्यटकीय गाउँ ताङतिङ(१,६६५ मिटर) प्राकृतिक तथा ऐतिहासिकस्थल नौचुडाँडा (२,०४७ मिटर) नौलाचे (२,२०० मिटर) हुँदै क्रपुमा पुगिन्छ। क्रपु जाने बाटोमा आँखा अगाडि हिमाल, लालीगुराँसको घारी तथा हरियाली बाक्लो जंगलको स्वाद लिन सकिन्छ।
यात्रामा चराचुरुङ्गीको चिरबिर, जंगली जनावरको आवाज मज्जाले सुन्न पाइन्छ। घना वनजंगल, चिसो हावापानी, हिमालसँगको सामिप्यता, सुन्दर गुरुङ गाउँ यात्राको विशेषता हुन्।
जब ताङतिङ पुगिन्छ तब मन फुरुङ्ग हुन्छ। मनमा उत्साहको दियो बल्छ। क्रपुमा पुगेपछि त झन् नाचुँनाचुँ लाग्छ।
क्रपुडाँडा लमजुङ र कास्कीको ट्रान्जिट पनि हो। लमजुङ र मनाङ पदयात्रा, तमुहरूको आदिम थलो क्हाेंलासोथर र दूधपोखरी जानलाई पनि क्रपुडाँडाको बाटो प्रयोग गर्न सकिन्छ।
पोखराबाट ताङतिङ, क्रपु, चोरोडाँडा (३,३०० मिटर) हुँदै खोला क्लि ताङतिङ पदमार्ग, ताङतिङ, क्रपुडाँडा याङ्जाकोट पदमार्ग तथा क्रपुडाँडाबाट लमजुङका सुन्दर गाउँहरु सिङ्दी, पसगाउँ, भुजुङ घनपोखरा घलेगाउँ हुँदै बेसीसहर पुग्न सकिन्छ।
कास्कीको याङ्जाकोट, भाचोक, वार्चोक तथा लमजुङको सिङ्दीबाट पनि पदयात्रामा क्रपु पुग्न सकिन्छ।
ताङतिङ चम्किसक्यो। छोटो समयमै ताङतिङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन हामी सफल भएका छौं। अब क्रपुुलाई चम्काउँदैछौं। मादी गाउँपालिकाको सहयोगमा क्रपुडाँडामा पर्यटन पूर्वाधार विकासका काम हुँदैछ।
ताङतिङमा १४ वटा होमस्टे र ७ वटा होटल सञ्चालनमा छन्। विशेष गरेर शुक्रबार र शनिबार आन्तरिक पर्यटक खचाखच हुन्छन्। क्रपुडाँडामा पनि खाना र बासका लागि टेन्ट सुविधासहितका ३ वटा होटल खुलिसके।
पर्यटकीय राजधानी पोखरा नजिकैको ताङतिङ र क्रपुडाँडा घुम्न सबैलाई चुल्हे निम्तो छ है ! आउँदा मेरो मोबाइल नं ९८५६०२८८२७ सम्पर्क गरेर आउनु भयो भने हामी आवश्यक सहयोग गर्नेछौं।
कसरी पुग्ने ?
पोखराको काहुँखोलाबाट ताङतिङसम्म सार्बजनिक बस तथा जीप चल्छन्। २१ किलोमिटर कच्ची सडकमा अढाई घण्टा बस यात्रा वा डेढ घन्टा जीप यात्रा। मोटरबाइक गाउँमै पुग्छ। ताङतिङबाट हिँडेर क्रपुडाँडा पुग्न ४ घन्टा, जीप वा बाइकमा १ घण्टा लाग्छ।
(हिमालय मिलन मावि ताङतिङका प्रधानाध्यापक एवं पर्यटन अभियन्ता गुरुङ ‘ताङतिङ मेरो गाउँ’ पुस्तकका लेखक हुन्।)