चित्लाङको ढुङ्गेधाराको पानी पिएर बसेका बेला देखिएको दृश्यबाट प्रेरित भएर महाकवि लक्ष्मीप्रसाद देवकोटाले मानवतावादी कविता ‘कुन मन्दिरमा जान्छौ यात्री…’ लेखेका रहेछन्।
***
हामीले ३ किलो जति खुर्सानी जम्मा १७० रूपैयामा किन्यौं। सस्तोमा खुर्सानी पाएर हामी पनि दंग, ती दिदीबहिनी पनि आफूले भनेकै मूल्यमा बेच्न पाएर दंग। चित्लाङ, कुलेखानी र टिस्टुङ बिबिधताले भरिएका ठाउँ। एक दिनमा यी ठाउँ घुम्न भ्याइन्नँ। कम्तिमा तीन दिन छुट्टयाउनुपर्ने रहेछ। म फेरि चित्लाङ जानेछु अनि मार्खुका माछा खाएर कुलेखानीमा डुंगा पनि चढ्नेछु।
सुमन थापा ‘संगम’
‘जीवनको सानो एक हिस्सा कसैलाई दिन मिल्थ्यो भने म तिमीलाई नै दिन्थेँ,’ बारम्बार हृदयको एउटा कुनाबाट प्रकृतिसँगको प्रेमिल संवाद थियो। आफ्नै हृदयले गरेको त्यो संवाद सुक्ष्म ढंगले सुनिरहेकी थिएँ म आफैं।
बिहानको ठिक ११ बजे हामीलाई लिन बुकिङ गरेको स्कार्पियो नयाँ वानेश्वर घर अगाडि आइपुग्यो। अनि हामी चित्लाङ यात्रामा निस्कियौं। स्कार्पियोले गति लिँदै थियो। गतिसँगै यात्रा सुखद् अनुभूति गराइरहेको थियो यो गीतले।
‘उकाली ओराली गर्दै, आँखाभरि रहर भर्दै .... खोला नदी सागर तर्दै ...’
हामी चन्द्रागिरिको बाटो हुँदै उकालो लाग्यौं। चन्द्रागिरि छेवैछेउ भएर जीप हुइँकिँदै थियो। चित्लाङको सुन्दर परिकल्पनामा त्यो हुइँकाईसँगै अझ तेज हुँदै मनले यात्रा गरिरहेको थियो।
धुलाम्मे बाटो, कतै खाल्टाखुल्टी त कतै एक छेउबाट पहिरो खसेर नाङ्गो भएको पहाड कतै परसम्म देखिने सुन्दर हिमाल।
हिमाल देखेर हामी रोकियौं। त्यो सुन्दर हिमालको काखमा भएको अनुभूति गर्दै केही तस्बिरहरू लियौं तर टाढा भएकोले तस्बिरमा त हिमाल कता हो कता बिलायो!
फेरि हाम्रो यात्राले गति लियो। तर भर्खरै ग्राभेलिङ गरेको बाटो त्यसमा पनि फनक्क मोडिने गरि बनेको घुम्तीको चिनोस्वरूप कतैकतै एक्लो रूखलाई प्रकृतिले उभ्याएको थियो। हेर्दा नै आनन्द लाग्ने!
ती घुम्तीहरू हेर्दा डर पनि लागिरहेको थियो।
चन्द्रागिरिको छेवैछेउ हिँड्दा पनि एउटा तीर्थस्थल परिक्रमा गरेझैं भइरहेको थियो। चन्द्रागिरि आफैंमा पवित्र तिर्थस्थल पनि हो। काठमाडौं उपत्यकाबाट तराईहुँदै भारत ओहोरदोहोर गर्ने पुरानो नाका पनि हो चन्द्रागिरी।
चन्द्रागिरि भञ्ज्याङ (२२५० मिटर) उचाईमा पर्छ। भञ्ज्याङको शिरमा भालेश्वर महादेव बसेका छन्। त्यहीँ महादेवको दर्शन गर्न तिर्थालुहरू चन्द्रागिरि पुग्छन्। पहिले केवलकारको ब्यवस्था थिएन र मानिस हिँडेरै पुग्थे। अचेल भने केवलकारको ब्यवस्था भएकाले भालेश्वर रमणीयस्थल बन्न पुगेकोछ।
आन्तरिक पर्यटकहरू भालेश्वरहुँदै चन्द्रागिरिको फेँदीमा रहेको चित्लाङ उपत्यका घुम्न पुग्छन्। हामी पनि त्यहीँ रमणीय उपत्यकातिरको यात्रामा थियौं। ट्राभल प्याकेजमा गएको भएर हामीलाई सोझै रिसोर्ट लगियो। चित्लाङ नजिककै टिस्टुङस्थित ‘अध्याय रिसोर्ट’ मा पुग्यौं हामी।
दामन र कुलेखानीको बिचमा रहेको रिसोर्टमा शान्त वातावरण छ। अर्जुनसिंह ठकुरीले २०७३ सालमा खोलेको रिसोर्ट बाइस रोपनीमा फैलिएको छ। यहाँ ४८ कोठा छन् र सत्ताइस युवाले रोजगार पाइरहेका रहेछन्। रिसोर्टको कुल लागत १५ देखि १८ करोड रूपैयाँ रहेको सञ्चालक ठकुरीले जानकारी दिए।
हामीले प्रतिव्यक्ति ५५ सय रूपैयाँको प्याकेज किनेका थियौं। रिसोर्टले दिने सुविधा मनोरञ्जन सबै राम्रो लाग्यो। हामी पुगेपछि वेलकम ड्रिंक्स दिइयो अनि हामीलाई हाम्रो कोठामा लगियो। कोठामा तातोचिसो पानीको सुविधा, हिटर, एसी सबै उपलब्ध छ।
हामीले फ्रेस भएर खाजा खायौं। खाजामा ६ किसिमको परिकार थियो। खाजा खाएर हामी जीप लिएर चित्लाङ बजार घुम्न निस्कियौं।
चित्लाङ बजार पुगेपछि होमस्टेमा बस्नु अझ रमाइलो हुन्छ भन्ने सुनेँ। हामी रिसोर्ट प्याकेजमा गएको कारण होमस्टेमा बस्न सकेनौं। तर मैले चित्लाङ सामुदायिक होमस्टेका अध्यक्ष राधाकृष्ण बस्नेतलाई बुझ्दा होमस्टेमा एक रात प्याकेजको १५ सय रुपैयाँ लाग्ने रहेछ।
नेपाल भ्रमण वर्ष २०११ देखि चित्लाङ सामुदायिक होमस्टे सञ्चालनमा आएको रहेछ। अहिले २६ वटा होटल/रिसोर्ट छन् भने सामुदायिक होमस्टेका ८ घर सदस्य छन्। पर्यटकीय सुविधाका होटल वा होमस्टेमा आरामले बस्न पाइन्छ।
मकवानपुर जिल्लाको थाहा नगरपालिका–९ मा पर्छ चित्लाङ। उत्तर-दक्षिण फैलिएको चित्लाङ उपत्यका लाम्चो आकारमा छ। यहाँ नेवार, तामाङ, क्षत्री, बाहुन समुदायको बसोबास छ। नेवारमा पनि गोपाली जातीका नेवार बढी भएको कुरा स्थानीय नेवार महिलाले बताए।
हामी घुम्ने क्रममा नेवार दिदीबहिनीहरू डल्ले खुर्सानी टिप्दै डोकोमा राख्दै हुनुहुन्थ्यो। हामीले सोध्यौं, ‘दिदी! खुर्सानी किलोको कसरी दिनुभा’छ?’
एकछिन अलमल्ल परेझैँ उहाँले भन्नुभयो, ‘हरियो खुर्सानी किलोको एक सय र रातो सत्तरी रूपैयाँ।’
सस्तो मूल्य सुनेपछि हामीले रातो र हरियो गरि एक-एक किलो माग्यौं। तर त्यहाँ त अन्दाज गरेर दिने चलन रहेछ। डोकोमा भएको खुर्सानी त सबै स्वार्रै हाम्रो झोलामा खन्याइदिनुभयो। त्यो खुर्सानी तौलमा लगभग ३/४ किलो थियो होला!
मंसिरको महिना जताततै डल्ले खुर्सानीको सिजन रहेछ। हामीले अनुमानित ३ किलो जति खुर्सानी १७० रूपैयामा किन्यौं। सस्तोमा खुर्सानी पाएर हामी पनि दंग ती दिदीबहिनी पनि आफूले भनेकै मूल्यमा बेच्न पाएर दंग।
चित्लाङमा ट्राउट माछा फार्म, तलेजु भवानी कोत, सातधारा, त्रिगजुरेश्वर शिवालय, बाख्रा फार्म, स्वच्छन्द भैरवलगायत थुप्रै सम्पदा छन्। त्यो सम्पदा मध्ये पनि हामी साहित्यमा रूचि राख्नेलाई त महाकवी देवकोटाले पानी पिएको ढुंगेधारा अझै महत्व हुनेनै भयो तर यी सबै ठाउँमा घुम्न हामीसँग समय थिएन।
रिसोर्टबाट खाजा खाएर निस्कँदा अबेर भइसकेको थियो साँझ परिसकेकाले हामी फेरि कुनै दिन धक फुकाएर चित्लाङ घुम्ने गरि आउँला भनेर फर्कियौं र बजार देखि अलिक पर गाउँको कुनामा रहेको रिसोर्टमा पुग्यौं।
हामी एकरात बसाइका लागि मात्र त्यहाँ पुगेका थियौं। रिसोर्टले भोलिपल्ट बिहान हामीसहित लगभग सत्तरी जनाको टोलि लिएर हाइकिङ गरायो। रिसोर्टबाट उकालो हुँदै दमाईडाँडा पुगेर फेरि ओरालो झरेर कुन्छाल गाउँ पुग्यौं। पुरानो नेवार वस्ती रहेछ कुन्छाल।
कुन्छालबाट माथि उक्लिएर सडक छेउमा निस्कियौं र फेरि १०८ वटा भर्याङ ओर्लिएर बज्रबाराही मन्दिर दर्शन गर्यौं। हामी कहिल्यै नहिँडेका कारण एक घण्टाको हाइकिङ गर्न ३ घन्टा लाग्यो। सानी छोरी थाकेपछि उनलाई त काठमाडौंमा पाइने ‘पठाओ अनि टुटल’ को सम्झना आएछ र सोधिन्, ‘मम्मी यता पठाओ पाइँदैन? अब म त हिँड्न सक्दिनँ।’
अब के गर्नु बल्लतल्ल बज्रबाराहीबाट उक्लिएर सडक छेउमा पुग्यौं त्यहाँ टेम्पोको सुविधा रहेछ। पदयात्रामा निस्केको मान्छे आखिरीमा त टेम्पो सफारी गरेर पो रिसोर्टमा पुग्यौं। पुगेर खाना खाइसकेर निस्कँदा २ बजिसकेको थियो । रिसोर्टले कुलेखानीमा डुंगा सवारको कुपन दिए पनि हामी डुंगा चढ्न भ्याएनौं।
चित्लाङ, कुलेखानी र टिस्टुङ विविधताले भरिएका ठाउँ रहेछन्। एक दिनमा यी ठाउँ घुम्न भ्याइन्न। कम्तिमा तीन दिन छुट्टयाउनुपर्ने रहेछ। म फेरि चित्लाङ जानेछु अनि मार्खुमा माछा खाएर कुलेखानीमा डुंगा पनि चढ्नेछु भनेर फर्किएँ।
थुप्रै सम्पदासहित चित्लाङमा बाख्राको दूधबाट बनेको चिज र नासपाती खेती पनि प्रख्यात रहेछ! खेतीकिसानी यहाँको मुख्य आम्दानीको स्रोत।
चित्लाङ शितल ठाउँ हो। हामी बसेको रिसोर्टबाट कुलेखानी बाँध साढे एक किलोमिटरको दूरीमा पर्ने रहेछ। हामीले बाँध हेर्यौं। आर्मीको निगरानीमा कुलेखानीको बाँध हेर्न पाइन्छ तर तस्बिर खिच्न पाइँदैन। र वर्तिर भने डुंगा चढ्ने सुविधा छ।
पहिलापहिला राणाहरू गर्मी छल्न चित्लाङ आउने गर्थे रे! तत्कालीन राजा विरेन्द्रले पनि कुलेखानी खुब मन पराएका थिए रे!’
सबैभन्दा खुसीको कुरा त साहित्यकर्मीका लागि चित्लाङ ऐतिहासिक स्थल नै हो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात कविता ‘कुन मन्दिरमा जान्छौं यात्री’ चित्लाङमै लेखिएको रहेछ! चित्लाङको ढुंगेधाराको पानी पिएर महाकवि सुस्ताइरहेका बेला एउटा मोटो मान्छे डोलीमा चढेर चन्द्रागिरि भञ्ज्याङतिर उकालो लागेछ।
हाम्रा महाकविलाई उत्सुकता भएछ यो मान्छे कहाँबाट किन आएको होला? उनले सोधेछन्। त्यो मोटे काठमाडौंको पशुपतिनाथ दर्शन गर्न भारतबाट आएको थियो रे। यसरी अर्काको काँधमा चढेर धर्म कमाउन आएको मान्छेलाई देखेपछि देवकोटाले उक्त कविता रचेका थिए भनेर चित्लाङका बुढापाका सुनाउँछन्।
हामीले त्यो ढुंगेधाराको पानी त पिउन पाएनौं तर तपाईँ चित्लाङ जानु भयो भने महाकविले पानी पिएको ढुंगेधाराको पानी अवस्य पिउनुहोस् है!
अर्को कुरा इतिहासविद्को भनाईअनुसार चित्लाङको इतिहास गज्जबको छ। मौर्य सम्राट अशोकसँग जोडिएको इतिहास। सम्राट अशोक ईसापूर्व २७३ मा लुम्बिनी घुमेपछि आफ्नी छोरी चारुमतीलाई लिएर काठमाडौं आएका थिए रे। तिनताका काठमाडौं पस्ने नाका अर्थात चित्लाङमा उनले एउटा चैत्य बनाए जुन अहिले पनि छ। त्यसलाई ‘अशोक चैत्य’ भनिन्छ। त्यही चैत्यसँग लङ मिलाएर घरहरू बनाइएको थियो। त्यसरी लङ मिलाएर बनाइएको कारण चैत्यलङ भन्दाभन्दै चित्लाङ भन्न थालिएको रहेछ।
यात्रामा यात्रीले यात्रा नछोडेझैं मैले मेरै गति र लयलाई नछोडी ती घुम्ती, मोड र त्यहाँका स्थानीयहरूसँग म यात्रारत थिएँ। ती रूख, पहाड र खोलासँग मनले मितेरी गाँसिसकेको थियो।
मैले ढुङ्गेधाराको पानी पिउन नपाएको साटो प्रकृतिको अनेक दृष्यलाई मन भरी अटाउने गरि आँखाले पिइरहेकी थिएँ तर मन अझै भरिएको छैन।
समय मिलाएर फेरि एकपटक आउनेछु भनेर म चित्लाङसँग बिदा भएकी हुँ। आखिर काठमाडौंबाट धेरै टाढा पनि त छैन, काठमाडौंको थानकोट पार्क पछाडिको गोदामबाट जम्माजम्मी १२ किलोमिटर दूरीमा न पर्छ चित्लाङ।