अघिल्लो साताको आइतबार साँझपख मेरा यी पैतालाले पहिलोपटक जिरी टेके। गाडीबाट ओर्लिएर जिरी बजार हेर्दा पाँच वर्षदेखि देखिरहेको सपना पूरा भए झैं लाग्यो।
यो ठाउँ अनेक नामले चर्चित, नेपालको स्विट्जरल्यान्डदेखि पुरानो गेटवे-टु-एभरेष्ट वा सगरमाथा प्रवेशद्वारसम्म। लुक्लामा विमानस्थल बन्नुअघि हिमाल चढ्नेहरू यही जिरी बजार हुँदै आफ्नो यात्रा सुरू गर्थे। पर्वत आरोहणमा आवश्यक सम्पूर्ण सामग्री यही बजारबाट खच्चडलाई बोकाइन्थ्यो। जिरीबाट नाम्चे बजार पुग्न झन्डै नौ-दस दिन लाग्थ्यो रे। २०२१ सालमा लुक्लामा विमानस्थल बनेपछि चाहिँ जिरी बजार पर्वतारोहीका लागि भन्दा पर्यटकको आकर्षण केन्द्र बन्दै गयो।
यस्तैयस्तै व्याख्याले त हो यहाँ एकपटक पुग्नैपर्छ भन्ने लागेको मलाई।
काठमाडौंबाट १९० किलोमिटर टाढा पर्ने दोलखा जिल्लामा रहेको जिरी बजार र समग्र जिरीकै इतिहास खोतल्ने हो भने पक्कै पनि लोभलाग्दो छ। समय कम भएकाले यसपालि यतातिर लागिएन। भ्रमणकै कुरा गरौं।
तीन दिने जिरी भ्रमणको हाम्रो यात्रा शंखमूलस्थित उजामा क्याफेबाट सुरू भयो। मिडियाकर्मी साथीहरू र युवा कविहरूको टोलीसहित हामी झन्डै २१ जना थियौं। हामी उजामा क्याफेकै सह-संस्थापक लीलाराम खड्काको नेतृत्वमा जाँदै थियौं।
आइतबार बिहान साढे ७ बजे हाम्रो टोली यात्राका लागि तयार भयौं। को-कहाँ बस्ने, सबै बन्दोबस्तको जिम्मा लीलाराम दाइकै। तीन वटा स्कार्पियो तयार थिए।
सहकर्मी अनुषा अधिकारी र मेरा लागि जिरी नयाँ गन्तव्य थियो। गाडीमा कवि टोलीसहित हामी ८ जना थियौं। बाटोमा एक-अर्काबीच चिनाजान भयो। कुराकानी चल्यो। सबैको मुहारमा जिरी यात्राप्रतिको चमक झल्किन्थ्यो।
हाम्रो पहिलो स्टप काभ्रे जिल्लास्थित खावा थियो। बिहानको नास्तामा रोटी-तरकारी खाएर हामी मुडेतर्फ हुँइकियौं। अघिसम्म फाट्टफुट्ट कुराकानी भएको हामीबीच कुराकानी बढ्दै गयो। अन्ताक्षरी चल्यो। राजनीति, सामाजिक, साहित्यिक, अनेक विषयमा कुरा भयो।
कुरैकुरामा कतिबेला पाँचखाल-दोलालघाट-खाडीचौर हुँदै मुडे पुगियो पत्तै भएन। मुडेमा बिहानको खाजा खान ओर्लियौं। लामो यात्रापछिको भोक पनि मिठो हुँदो रहेछ। खाना निकै स्वादिलो थियो। त्योभन्दा स्वादिलो र आनन्दको दृश्य ठाउँको थियो। काठमाडौं भन्दा मुडे निकै चिसो रहेछ। झन्डै एक घन्टा खानपानमा समय बिताएपछि अबको हाम्रो यात्रा चरिकोट हुँदै जिरीतर्फको।
'खै हाम्रो टोली? ल जाम्-जाम्,' हरिजी हरेक स्टपमा यही भन्नु हुन्थ्यो। उमेरले हामी जस्तै देखिने हरिजी गाडी बडो मजाले हाँक्नुहुन्छ।
मुडेबाट खाना खाएर चरिकोटतिर लाग्दा ओरालैओरालो। अघिको खाना लाग्यो क्यारे! गाडी चढेपछि हामीमध्ये धेरै जना झुपक्कै निदायौं। तर बीच बाटोतिर पुगेर फेरि अन्ताक्षरी खेल्न ब्युँझिहाल्यौं।
बाटोमा स-साना झरना देखिए। आकाश खुलेको भए हिमाल प्रष्ट देखिन्थे। बादल लागेकाले देख्न पाएनौं। काठमाडौं फर्किँदा भने देख्यौं। अनि गाडी रोक्दै टन्न फोटो खिचायौं। त्यहाँबाट गौरीशंकर श्रृंखला देखिने रहेछ।
हामी जिरी बजार पुग्दा साँझ परिसकेको थियो। त्यहाँ पुग्दा जुन आनन्द भयो, थकान यसै हरायो। एकैछिन म टक्क अडिएँ अनि आँखाले भ्याउन्जेल टाढासम्म चारैतिर नियालेँ। कति आनन्द, शीतल अनि स्वच्छ हावा! मन हल्का हुँदै थियो।
'अब फ्रेस भएर बजार डुलौं है!' लीला दाइ हाम्रो बसाइ, खानपिन सबैको पूरा ख्याल राख्न व्यस्त हुनुहुन्थ्यो। हामी पत्रकारहरू होटल ग्याबिला र कवि टोली होटल पारसमा बस्ने कुरा भयो। झन्डै दस घन्टा यात्रा सँगै गरेका हामी त्यहाँ छुट्टियौं। अनुषा र म ग्याबिलातर्फ लाग्यौं। बाँकी होटल पारसतर्फ।
हाम्रा सहकर्मी नवीन दाइ पनि पुग्नुभयो। सबै फ्रेस भएर बजार डुल्ने कुरा भयो।
बजार सानो थियो। तिहार नजिकैको बजारमा दियो, अबिर, झिलिमिली बत्तीलगायत सामग्री बिक्रीमा थिए। किन्नेहरू पनि उत्तिकै। पन्ध्र-बीस मिनेट बजारमा बिताएर हामी होटलतर्फ लाग्यौं।
होटल पुग्नेबित्तिकै हामीलाई याकको चीज खान दिइयो। शुद्ध याकको भन्थे। स्वाद पनि भिन्नै हुने रहेछ।
बेलुकीको खानापछि भोलि बिहानै ७ बजे भेट्ने तालिकासहित आ-आफ्ना कोठातर्फ लाग्यौं। थकाइ थियो सायद, त्यो रात मस्त निदाइयो।
सोमबार बिहान साढे ६ बजे। कोठाको झ्यालबाट बाहिर हेर्न खोजेँ। झ्यालका ऐनामा शित छपक्कै। काठमाडौंभन्दा चिसो जिरी। शितले छोपिएको झ्यालका शिशामा रमाउँदै आफ्नो नाम लेखेँ। एकैछिन त्यसैमा लठ्ठिएँ।
'गुड मर्निङ दाइ। ढिला भयो कि कसो?' भर्याङ झर्दै लीला दाइलाई देखेपछि मैले भनेँ।
हामी समयमै रहेछौं। बाँकी साथीहरू सबै जम्मा भएपछि जिरी बजारबाट नजिकै रहेको जिरेश्वर महादेव मन्दिरतर्फ लाग्यौं। गाडीबाट जम्मा दस मिनेटको बाटो यहाँ हिँड्दै जाँदा लगभग ४० मिनेटमा पुगिने रहेछ। जिरेश्वर महादेव मन्दिर नेपाली हिन्दु धर्मावलम्बीमाझ प्रख्यात छ। नेपालसँगै भारतका हिन्दु तिर्थारू पनि यहाँ पुग्ने रहेछन्।
बाटामा मैले थुप्रै जंगली फूलहरू देखेँ। फूलहरूको मलाई बडो सौख छ। भेटे जतिथरीका फूल टिपेँ। नाम कुनैको थाहा छैन। तिनको गुच्छा बनाएँ। जंगली फूलको गुच्छा कति राम्रो बन्यो। नवीन दाइलाई भनेर गुच्छासँग टन्नै फोटा खिचाएँ। त्यो गुच्छा काठमाडौंसम्मै बोकेर ल्याएकी छु।
जिरेश्वर मन्दिरबाट फर्कनेक्रम जंगलमा पाँचऔंले पनि देखेँ। औषधिका रूपमा प्रयोग हुने पाँचऔंलेबारे सुनेकी मात्र थिएँ। पहिलोपटक देखेकी मैले त चिनेकी थिइनँ। नवीन दाइले चिनाइ दिनुभयो।
मन्दिरको ठ्याक्कै उपल्लोपट्टी सानो चिया बगान रहेछ। हाम्रा आँखाले त त्यो देखेकै थिएन। पछि लीला दाइले भन्नुभएपछि बल्ल चाल पायौं।
मन्दिरबाट होटल फर्केर बिहानको नास्ता गर्यौं। फापरको रोटी थियो, शुद्ध मह र आलु-चना तरकारीसँग। स्वादले खायौं।
अनि लाग्यौं गाई फार्मतिर। हामी बसेको होटलबाट जम्मा १५-२० मिनेटको पैदलमा पुगिने फार्म ठूलो फाँट नजिकै थियो। छेउ किनारामै जिरी खोला कलकल बगिरहेको। यहाँ आइपुगेपछि जिरीलाई नेपालको स्विट्जरल्यान्ड किन भनिने रहेछ महशुस भएझैं भयो। साँच्चै फाँटको बीचबाट वरिपरि हेर्दाको दृश्य निकै लोभलाग्दो थियो।
'भूवैज्ञानिक एवम् फोटोग्राफर टोनी हेगन जिरी आउने पहिलो विदेशी थिए रे। उनले पहिलोपटक यो दृश्य देख्दा ज्युरिक भन्ने शब्द निकालेछन्। स्विट्जरल्यान्डको ज्युरिक सहरको याद दिलाएपछि यो ठाउँको नाम नै ज्युरिक अफ नेपाल भन्न थालिएछ,' परपरसम्मको दृश्य देखाउँदै लीला दाइले भन्दै हुनुहुन्थ्यो, 'पछि स्विस सरकारले नै जिरी विकासमा विभिन्न योजना बनायो। चीज कारखाना, प्राविधिक स्कुलदेखि सडक निर्माणसम्मा मद्दत गर्यो।'
जिरीको नाम यस हिसाबमा पनि विश्वका धेरै कुनामा फैलिएको छ। स्थानीय भाषामा बुझ्दा 'जि' ले घना र 'री' ले जंगलको अर्थ दिने रहेछ। अर्थात् जिरी भनेको घना जंगल।
ज्युरिक अफ नेपालको दृश्य अवलोकन गर्दै जाँदा बाटोमा केही स्थानीयसँग भेट भयो। उनीहरूसँगको छोटो कुराकानी पनि मिठो थियो।
'स्विट्जरल्यान्ड जस्तो लागेन त?' भन्ने उनीहरूले प्रश्नसँगै भने, 'अब स्विट्जरल्यान्ड पुग्नुभयो भने यो त जिरीजस्तै रहेछ भन्नू है!'
हामीलाई रमाइलो लाग्यो। स्विट्जरल्यान्ड नै नदेखेको, कसरी भन्नू है!
तर हाम्रो आफ्नै जिरीका फाँटमा रमाउँदै, खोला किनारमा खेल्दै हामी फर्कियौं।
जिरीमा घुम्नलायक यस्ता थुप्रै ठाउँ छन्। जस्तै जिरी ताल, बुद्ध पार्क, हलेश्वर र स्टोन पार्क, ढुंगेश्वर महादेव, लौतरी झरना, हनुमन्ते डाँडा, नाँगी डाँडा, रमिते डाँडा, टोनी हेगन पार्क, तेन्जिङ हिलारी मेमोरियल पार्क इत्यादि। एकैदिनम सब घुम्न पक्कै सम्भव छैन।
बुद्ध पार्क जाने मौका भने मिल्यो। गाई फार्मबाट फर्किएर, बिहानको खाना खाएर हामी झन्डै ४ बजेतिर बुद्ध पार्कतर्फ लाग्यौं। २,३८४ मिटर उचाइमा रहेको बुद्ध पार्क हामी पुग्दा शान्त थियो। जिरी बजारबाट हिँडेर यहाँ पुग्न झन्डै ४५ मिनेटको बाटो छ। गाडीमा त्यस्तै १५ मिनेट। यहाँबाट तल बस्ती देख्दा निकै आनन्द लाग्यो। साँझ भइसकेकाले हुस्सुले पार्क र बुद्धको ठूलो मन्दिर छोप्दै थियो।
त्यो वातावरणले कसको पो मन नलठ्यायोस्! माथिमाथि हुस्सुले डाँडै ढाक्दै गर्दा हामी भने तलतल ओरालो लाग्दै थियौं। बाटोमा पिङ देख्यौं। एकैछिन भए पनि खेल्ने कुरा भयो। मलाई पिङ खेल्न डर लाग्छ। तर त्यो बेला पिङको झट्कासँगै माथि-माथि पुग्दा उडे झैं लाग्यो।
सबै तस्बिरहरूः नवीनबाबु गुरुङ/सेतोपाटी
झपक्क साँझ परेपछि हामी होटलतिर लाग्यौं। आज त खानामा ढिँडो रहेछ। कुखुराको झोल मासुसँग तात्तातो ढिँडोको स्वाद पनि बेग्लै।
खाना खाएपछि हामी फेरि एक फन्को जिरी बजार घुम्ने भन्दै लाग्यौं। हिजोभन्दा आजको बजार अलि भिन्न लाग्यो। हिजो नौलो बजार आज चिने झैं थियो। त्यहाँको हावा, पानी अनि वातावरण प्रिय हुँदै थियो। बजारमा जतिसँग कुरा गर्यौं, सबै निकै आत्मीय भावमा उपस्थित थिए।
त्यो जिरीमा अन्तिम रात थियो। 'भोलि त फर्किनुपर्छ' भनेर एक मनमा नराम्रो लाग्दै थियो। अर्को मन यात्रा स्मरणीय भयो भन्नेमा सन्तुष्ट।
मंगलबार बिहान ७ बजे होटलको डाइनिङ रूममा हामी सबै जम्मा भयौं। दुई दिनसँगै बिताएका हामीमध्ये धेरै जनाबीच कुरा भएको थिएन। लीला दाइको पहलमा हामी सबैले पालैपालो आफ्नो र जिरी यात्राबारे भन्यौं। यसैबीच खाजाका लागि टेबलमा रोटी-तरकारी आइपुग्यो। खाजा खाँदै कुराकानी लम्बियो।
अब त छुट्टिने समय भइसकेछ। बिहान १० बजे होटल सञ्चालक केशर जिरेलले उपस्थित हामी सबैलाई खादा ओडाएर बिदाइ गरे।
भन्दै थिए, 'फेरि-फेरि आउनू है।'
जिरीको कोसेली, माया अनि थुप्रै याद बोकेर हामी काठमाडौंतर्फ लाग्यौं।
मनमनै भनिरहेँ, 'मौका मिले अलि समय लिएर फेरि आउनेछु।'