चन्द्रागिरि डाँडाबाट काठमाडौं हेरेर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने योजना बनाएको भनिन्छ।
आखिर चन्द्रागिरिबाट त्यस्तो के देखेर पृथ्वीनारायण शाह लोभिए?
म यही प्रश्नको उत्तरको भेउ पाउन चन्द्रागिरि जाने तर्खरमा थिएँ।
थानकोटबाट सात किलोमिटर दुरीमा रहेको यो डाँडा समुद्री सतहबाट २५२० मिटर माथि छ। कलंकीको जाम र धुलो एक्लै झेल्ने कसको हिम्मत?
त्यसैले यात्रामा साथ दिन सहकर्मी अनुषा अधिकारीलाई निम्त्याएँ। अब स्कुटर उनले हाँकिहाल्छिन्। आफू मजाले पछाडि बसेर 'भ्यू' हेर्दै जाने हो!
अनुषा र म झन्डै एक वर्षअघि सैलुङ पनि गएका थियौं। सेतोपाटीको मेरो 'ट्राभल' सहयात्री अनुषा भने पनि भयो। चन्द्रागिरि पनि सँगै जान जुर्यो। या भनौं मैले जानीजानी जुराएँ।
खैर, हामी स्कुटरमा झम्सिखेलबाट रिङरोड हुँदै कलंकी पुग्यौं। अनि सुरू भयो सडकमा ट्याँट्याँ र टुँटुँ। ठूलो ट्रक पन्छाउँदै, खाल्डो छल्दै हामी अलिअलि रोकिँदै, अलिअलि सररर चन्द्रागिरि नगरपालिका पुग्यौं। अब मात्र केही किलोमिटरमाथि हामीलाई केबलकारले पर्खिरहेको थियो।
'त्यहाँ माथि डाँडामा हेर त,' अनुषाले परको डाँडामा औंला सोझ्याउँदै देखाइन्, ‘चन्द्रागिरि डाँडा त्यही हो। हामी त्यहीँ जान लागेको।'
मैले सोचेभन्दा नजिकै रहेछ। गुड्दागुड्दै एकछिनमै हामी चन्द्रागिरि डाँडा जाने मुख्य गेट पुग्यौं।
'आइ लभ चन्द्रागिरि' लेखेको फोटोबुथ देखेपछि साथीहरूले लकडाउनअघि घुमेर राखेका तस्बिर याद आयो। लकडाउनयता भने भर्खरै केबलकार सुरू भएको हो। भीड ठीकै थियो।
काउन्टरमा केबलकार चढ्न तोकिएको मूल्यसूची रहेछ। नेपालीलाई एकतर्फी भाडा ४१५ रूपैयाँ, दुईतर्फी ७०० रूपैयाँ।
एकै दिनमा फर्किने हुनाले हामीले दुईतर्फी टिकट लियौं। आइ लभ चन्द्रागिरिअगाडि एउटा-एउटा फोटो खिचायौं। अनि पर्खाइ केबलकारको।
'आयो, आयो' भन्दाभन्दै हाम्रो नम्बरको केबलकार आयो। हामी चढिहाल्यौं।
अनि 'गयो, गयो' भन्दाभन्दै केबलकारले जमिन छोड्यो।
अब हामी आकाशमा उड्न थाल्यौं। तारको भरमा झुन्डिएको डब्बामा बसेर हामी बादल माथिमाथि चढ्दै थियौं। सिसाबाट बाहिर हर्दा तल जंगल, माथि आकाश र वरिपरि हुस्सु-कुहिरो देखियो।
फेददेखि टुप्पोसम्मको केबलकार यात्राको दुरी २.५ किलोमिटर छ। एक किलोमिटर माथि पुग्नै आँट्दा हुस्सु धमिलिँदै गयो। अनि देखिन थाल्यो काठमाडौं सहर।
घरैघरको थुप्रोले भरिभराउ काठमाडौं टाढाबाट राम्रै देखिने रहेछ।
अर्कोपट्टी माथिबाट तल आइरहेको केबलकार देखेर हामी उत्साहित भयौं। त्यो फर्किनु भनेको हामी अब केही मिटरमा माथि पुग्नु हो।
मात्र एक मिनेट बाँकी थियो....केही सेकेन्ड अरू... अनि पुगियो।
काठमाडौंको खाल्डाङखुल्डुङ सडकमा हिँडिरहेको बानी, केबलकारमा चालै नपाउने सरर यात्राले विदेश पुगियो क्या हो जस्तो पनि भयो! जे होस् केबलकार मनपर्यो है!
बाहिर निस्किएको, हामीलाई लिन चन्द्रागिरि हिल्स रिसोर्टबाट माइक्रोबस आइसकेछ। ढिला नगरी अन्तिम सिटमा बस्यौं।
छिनभरमै हामी चिल्लो बाटो हुँदै रिसोर्ट पुग्यौं।
अलिअघि पानी पर्लाजस्तै मौसम थियो, हेर्दाहेर्दै घाम चर्कियो। यहाँको मौसम र देशको राजनीतिको केही भर नहुने रहेछ। एकैछिनमा के हुन्छ अत्तोपत्तो नाइँ!
घाम लागेर रिसोर्ट पछाडिका पहाडका टाकुरा क्या टल्किए। फोटो नखिची आँखै मानेनन्। उफ्रिँदै, दौडिँदै, बस्दै एकसेएक पोजमा फोटा खिच्यौं।
पहाडको बीचैबीच थियो काठमाडौं सहर। छर्लंग देखिने। सुन्दर, शान्त र विशाल।
मेरो मनमा भने रोहित शाक्य र त्रिशला गुरुङको गीतको बोल गुन्जियो-
काठमाडौं सहर, अनौठो छ रहर
यो भीडमा पनि, एक्लिने यो लहर
काठमाडौ सहर, थोरै छन् रहर
लेखेकै होला, हामी भेट्ने प्रहर...
गीत र लेखको प्रसंग ठ्याक्कै नमिले पनि पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट काठमाडौं हेरी नेपाल एकीकरण गर्ने योजना बनाउनुको केही भेउ पाएँ झैं भयो। यति लोभलाग्दो दृश्य देखेपछि किन आँखा नलागोस् काठमाडौंमाथि!
हेरेर मनै भरिएको थिएन, पेट भर्ने बेला भइसकेछ। लाग्यौं बुफे खान रिसोर्टको डाइनिङ रूमतिर।
दामी दृश्य हेर्दै खाना खायौं। मज्जा आयो!
खाएर हामी रिसोर्टको कुनाकाप्चा घुम्न थाल्यौं। रिसोर्ट अगाडि इन्फिनिटी स्विमिङपुल रहेछ। पानीको कुनै सीमा नभएझैं देखिने भएकाले यसलाई यो नाम दिइएको रे।
त्यसभन्दा तल हेलिप्याड छ। हेलिराइड गर्न छुट्टै सात-आठ हजार रूपैयाँ पर्ने रहेछ।
ठूलो बगैंचा, आरामदायी होटल रूम, राम्रो आतिथ्यले यात्रा यादगार बन्दै थियो।
तर के गर्नु, फर्किनु थियो। केहीबेर घुमघाम गरेर ढिला नगरी रिसोर्टबाट चेकआउट गर्यौं।
फेरि केबलकार भएतर्फ मोडियौं।
त्यहाँबाट टावरसम्म हिँडेर जान मन लाग्यो। लमकलमक पाइला बढायौं। छिटो पुग्न पक्की बाटो छाडेर, हाइकिङ रूट समात्यौं।
दस मिनेट उकालो भर्याङ हिँडेपछि ठ्याक्कै चन्द्रागिरि मन्दिर पुगियो। मन्दिर अगाडि पृथ्वीनारायण शाहको स्मृतिमा मूर्ति ठडिएको थियो। वरिपरि फूल र मनमोहक बगैंचाले मन्दिर उज्यालो देखिने।
साँझ परिसकेकाले मन्दिर बन्द भइसकेछ। हामीले बाहिरबाहिरैबाट पूजा गर्यौं।
फेरि छिटोछिटो केबलकार गेटतर्फ हानियौं।
त्यहाँ नजिकैबाट चित्लाङ जाने बाटो देखियो। यो यात्रा भने अर्कोपटक गरूँला भन्दै बाटोबाट आँखा हटायौं।
केबलकार गेटमा आ-आफ्नो टिकट बोकेर बाहिर उभिरहेका थियौं, हेर्दाहेर्दै हाम्रो पालो आयो।
जब हामी बसेको केबलकार फेरि जमिन छाडेर आकाशमा तैरिन थाल्यो तब बल्ल हाम्रो छोटो-मीठो चन्द्रागिरि भ्रमण सकिएको भान भयो।
दिनभरीका रमाइला पल मनमा झुन्ड्याउँदै, तारमा झुन्डिएको केबलकारसित हामी पनि तल-तल-तल तानियौं।
सबै तस्बिर/भिडिओः सुसन चौधरी/सेतोपाटी