यात्राका पुजारीहरू घुम्नको सोख अति राख्छन्। बाँदरदेखि मनुष्यसम्मको विकास क्रममा यात्राले निकै महत्वपूर्ण स्थान ओगटेको छ।
एउटा ठाउँदेखि अर्को ठाउँसम्मलाई बुझ्न,नवीनतम आविष्कार गर्न र मनोरञ्जनको प्यादा पिउन घुमफिर अति आवश्यक छ।
हिँड्नका लागि यी एकजोर खुट्टा हुँदैन्थे होलान् त मान्छेहरू कति जोड घटाउको बहसमा उत्रिएर जिन्दगी तहसनहस पार्थे होलान्।
आफ्ना उल्झनहरू फुकाउन, हाँसोका खित्काहरू छोड्न मानिसले ट्रेकिङ जाने मौका नपाए त कति गुम्सिएर बस्दा थिए होलान्।
आफ्नो बारीको मात्र होइन रनबनका फूलहरूका सुगन्ध महसुस गर्न समेत भ्रमण अपरिहार्य छ। पढेर मात्र हुन्न जीवन जगत् अनन्तकालसम्म बुझ्न झोली बोकेर उकाली ओराली गर्नैपर्छ।
नयाँ वर्ष २०७८ सँगै पाँच दिने योगको तालिमका लागि सुदूपश्चिमका पहाडी जिल्लामा रहेका हामी चिकित्सकहरूलाई धनगढीमा निमन्त्रणा गरियो।
बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म योगका सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान लिइयो र यो तालिमको विश्रामस्वरूप सुदूरपश्चिमको अध्यात्म,योग र ध्यानको केन्द्र खप्तड घुम्न जाने निधो गरियो।
चार जना चिकित्सकको टोली तयार भयौं।
डा.छविन्द्र,डा.प्रीति, डा.वर्षा र मसहित हामी खप्तड लाग्नुअघि कञ्चनपुरको चाँदनी दोधराको झोलुंगे पुल र लिंगा महादेवको भ्रमण गर्यौं। डडेल्धुरा बास बस्ने हिसाबले हामीले वैशाख ८ गते अत्तरियाबाट २ बजेको माइक्रो बस समात्यौं।
धेरैजसो खप्तडका यात्रीहरू डोटीको सदरमुकाम सिलगढीबाट झिग्राना हुँदै पदयात्रामा निस्कन्छन्। तर हामी बाटो सहज हुने र नयाँ ठाउँ देखिने बहानामा बझाङको तमैल हुँदै यात्रा तय गर्ने मुडमा थियौं।
उग्रतारा मन्दिर र अमरगढीको भ्रमणपछि हामी बझाङको गाडी दिउँसो १बजेतिर चढ्यौं। लास्ट सिटमा हामी कोचाकोच हुँदै बसे पनि बाहिरी सुन्दरताले त्यति कष्ट अनुभव हुन दिएन। खोड्पे हुँदै बैतडीलाई समेत उछिन्दै हामी साँझ पर्ने बेलामा तमैल पुग्यौं। त्यो रात त्यहीको होटलमा बास बस्यौं। रातभरि पानी पर्यो। १० गतेको दिन बिहानै उठेर खप्तडको यात्रा तय गर्यौं। माथि दारुगाउँसम्म जीप रिजर्भ गरेर गयौं। बाटो केही चिप्लो भए पनि जसोतसो पुग्यौं। त्यसपछि हाम्रो ट्रेकिङ सुरू भयो।
३-४ घण्टाको उकालोपछि त्रिवेणी गेष्ट हाउस पुग्यौं। केहीबेरको बसाइपछि खप्तड राष्ट्रिय निकुञ्जको इन्ट्री पोइन्टमा टिकट काट्यौं।
२२ किमिको उकालो हामीले ४ घण्टामा पार गर्यौं। बाटोमा अलि अलि हिउँ देखिन्थे। जब बाजुरा जिल्लामा रहेको खप्तड घोडा दाउन्न पाटनमा पुग्यौं एक्कासि हावा चल्न थाले।
पानी समेत सिमसिम परेको हुनाले एकछिन विश्राम गरेर हामी प्लास्टिक ओढेरै निकुञ्ज मुख्यालय निकट अवस्थित होटलतर्फ लाग्यौं।
धेरैचोटि हेरिएको र पुग्नै पर्ने ठाउँका रूपमा रहेको खप्तड पुग्दा मन नै हर्षित थियो हामी सबैको।
२२ वटा पाटनहरू रहेको खप्तडमा थरीथरीका चराचुरुंगीदेखि लिएर जडीबुटी र वनस्पति समेत पाइने गरिन्छ। गुराँसको परछायामा रमाउँदै वसन्त ऋतुमा पुगेका हामीहरूलाई पुस-माघको जस्तो हिउँ समेत हेर्न मिल्ने सौभाग्य मिल्दै थियो। अपि र सैपालको मनोरम दृश्यलाई आँखै अगाडि सजाउँदै पुगेका हामीलाई खप्तडले चिसो चिसो स्वागत गर्यो।
३२७६ मिटरसम्मको उचाइमा रहेको यस निकुञ्जले बाजुरा,डोटी,बझाङ र अछामको भूमि समेटेको छ।
वैशाख १० गतेको रात हामीले खप्तडमा नै काट्यौं। बस्ने बासहरू प्याक भए पनि खानाको रु३५० र कोठाको रु५०० तिर्ने गरी जसोतसो मिलायौं र बिहानै उठेर घुम्ने बाचा गर्दै सुत्यौं।
११ गते बिहान उठ्दा पूरै खप्तड हिउँले ढाकिएको थियो। प्रकृतिको सुन्दर काखमा सेतो च्यादर ओढेर बसेको जस्तो देखिन्थ्यो खप्तड।
३०४३ मिको हाइटमा भएका कारणले पनि स्वास्थ्य असहजता महसुस हुँदै थिए तर २०० वर्ग किमिमा फैलिएको खप्तड घुम्ने चाहना मनमा असीमित थियो। त्यसैले घामले ललाटहरूमा स्पर्श दिन साथ हामी खापर दहका लागि हिँड्यौं।
किम्वदंती अनुसार दुई भागमा बाँडिएको यस दहमा साउनको अन्तिममा तल्लो गाउँमा मेलाको डोली लैजाँदा दहमा पूजा गरेर लैजानुपर्ने विश्वास रहेछ। खप्तड दह भनेर समेत चिनिने त्यस दहबाट हामी होटलका लागि हिँड्नसाथ हिउँ पर्यो।
खप्तडको विशेषता नै एकैछिनमा पानी-हिउँ अनि एकैछिनमा घाम लाग्ने रहेछ। त्यसपछि हामी लाग्यौं खप्तड बाबा आश्रमतर्फ। स्कन्ध पुराणमा समेत चर्चा हुने यस स्थलमा खप्तड बाबाले जीवनको लामो कालखण्ड बिताएका थिए। योग,ध्यान र साधना गरेर बसेका खप्तड बाबाका योग विज्ञान,धर्म विज्ञान जस्ता पुस्तकहरू लोकप्रिय छन्।
यो अध्यात्मिक भूमिलाई अन्तर्राष्ट्रियकरण गर्न पाए कति साधकहरूको गन्तव्यस्थल बन्न सक्थ्यो होला भन्ने कुरा आश्रम पुग्दा आभास भयो।
त्यसपछि ढिलो नगरीकन हामी त्रिवेणीधामतर्फ लाग्यौं। केही छिनको तेर्सो हिँडाइपश्चात् केदार ढुंगा हुँदै गंगा,जमुना र सरस्वती खोलाको संगममा पुग्यौं।
सरस्वती त्यहाँ अदृश्य बग्दी रहेछिन्। यस धाममा जेठको गंगा दशहराका बेला ठूलो मेला लाग्छ। रातभर डेउडा नाचगान गर्दै बिहान त्रिवेणीमा नुहाइधुवाइ गरेसँगै पाप पखालिएको विश्वाससहित तिर्थालुहरू आफ्नो बाटो लाग्दा रहेछन्।
हामीले पनि केही जप ध्यान एवं मन्त्र पाठ गर्यौं र छिटो छिटो फर्की हाल्यौं।
फेरि पानीले सतायो। प्लास्टिक ओढेरै अब खप्तडलाई बाई बाई भन्ने अवस्थामा पुगेका थियौं। छ न त सहस्र लिंग,नागढुंगा,जेठीबहुरानी ढुंगा आदि गन्तव्य बाँकी नै थिए तर अत्यधिक चिसो र यी गन्तव्य टाढा भएका कारण ओर्लिएर तमैल नै पुग्ने अठोटका साथ फर्कियौं।
बाटोमा फर्किंदा खप्तडबाट गाई गोरु फर्काएर ल्याएका गोठाला भाइबहिनीहरूसँग गफिँदै आउने मौका मिल्यो। सुविधायुक्त होटलको कमीले पर्यटकहरू धेरै बास बस्न नसक्ने अवस्था रहेको कुरा यहाँ खप्तड आएपछि मलाई महसुस भयो।
अझ यस गन्तव्यसँग बाजुराको बडिमालिका ,अछामको रामरोशन र मुगुको रारासमेत जोडेर टुर प्याकेज बनाउन सकिने रहेछ भन्ने भान भयो। खप्तड छान्ना गाउँपालिकाको दारुगाउँ आएपछि जीपमा बसेर रात परिसक्दा समेत कच्ची र हिलो बाटो पार गर्दै हामी तमैल फर्कियौं।
स्लिपिङ ब्याग र ड्राइफुड्स नलगेकोमा हामीलाई पछुतो लागेको थियो तर हाइअल्टिट्युड सिकनेस हुनबाट बच्न औषधि चाहिँ हामीले पर्याप्त लगेका थियौं।
नेपाली सेनाले ठाउँठाउँमा राखेको संकेत चिन्ह र जानकारीमुलक बोर्डले हामीलाई हराउनबाट बचायो र यात्रालाई धेरै हदसम्म व्यवस्थित पनि बनायो। यसका लागि मुरीमुरी धन्यवाद नेपाली सेनालाई।
गर्नपर्ने कुराहरू धेरै छन् तर पनि प्रकृतिको समिपमा पुग्दा धेरै गुनासो गर्ने मन भएन र त हामी तमैलबाट आ-आफ्नो जिल्लाको कार्यस्थलतर्फ फर्कियौं। जसरी चार जिल्लाको संगम थियो खप्तड उसैगरी चार जिल्ला बाजुरा,बझाङ,अछाम र डोटीमा कार्यरत हामी चारै जना चिकित्सक आफ्नो जिल्लातर्फ सोझियौं।
कोरोनाको दोस्रो लहरले छपक्कै छोप्दै थियो त्यसैले ढिलो नगरी डोटी सिलगढीमा शैलेश्वरी मन्दिरको दर्शन गर्दै म १२ गते कोल्टी बाजुरा फर्किएँ।
सुनेका र देखेका चिजभन्दा महसुस गरेका चिजहरूको बढ्ता मोह जाग्छ। त्यसैले त होला खप्तडको अन्तर जागृति महसुस गरेर फर्किएको धेरै दिनसम्म ती भाइब्सलेले छोडेन।
खचाखच भरिएका दैनिक सेड्युलहरूमा ङिच्च दाँत देखाएर गिज्याइरहेको हुन्छ हाम्रो लोसे र फोस्रे जिन्दगीले।
तर अलिकति पनि समय निकालेर घुम्न निस्किएनौं भने के अर्थ रहला यो भौतिक शरीरको? यात्रामा खर्चिने पैसाहरू खर्च होइनन् आम्दानी हुने गर्छन्! कति कृतज्ञता र सजिवताहरू हामीभित्र खदिलो भएर भरिन्छन् भनेर साध्य छैन।
प्रकृतिको फैलावट नै मानव विस्तारका लागि भएको हो। यात्रा नगरी कसरी विस्तार हुन सकिएला र?
तपाईं यदि पुग्नुभएको छैन भने भूस्वर्ग खप्तडमा अवश्य पुग्नुहोला। जुन सुकै मौसममा गए पनि केही न केही लाली त जरूर थपेर आउनुहुनेछ।